18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

अमेरिकाको स्वर्गद्वारी

नियात्रा खेमराज पोखरेल January 30, 2025, 3:57 pm
खेमराज पोखरेल
खेमराज पोखरेल

मार्च १६, २०२४ को दिन हो आज ।
मेरी श्रीमती सुशीला, भाइ रमेश, बुहारी शर्मिला र म क्यालिफोर्नियाको अबर्न गाउँतिर यात्रामुहाँ भएका छौँ । बाटैमा पर्ने स्याक्रामेन्टोमा साहित्यकार तथा अनेसासका केन्द्रिय वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्ले, साहित्यकार तथा कुशल प्रस्तोता कृष्ण गिरीलगायत नेपालीहरूले मसँगको एउटा अति छोटो भेटघाट कार्यक्रम राखेका छन् । त्यसो त मैले उहाँहरूलाई भौतिक रूपमा देखेको होइन, यही सामाजिक सञ्जालमा साहित्यका लर्कासर्कामा भेटियो र चिनियो । आज भौतिक भेट हुने कुरा छ । साहित्यमा लाग्दाको मजा यही छ कि संसारको जुनसुकै कुनामा पुगे पनि कोही न कोही चिनारु पाइन्छ । संसार नै आफ्नै गाउँजस्तो लाग्छ । बेसहारा होइन म भनेजस्तो लाग्छ । ममाथि अन्याय भएको छैन भन्ने अनुभूति हुन्छ । यो अनुभूति पनि जिन्दगी बाँच्न महत्त्वपूर्ण लाग्छ मलाई ।

स्याक्रामेन्टोमा नेपालीहरूले मिलेर नेपाली भाषा पाठशाला खोलेका छन् । सोही पाठशालाको एउटा कोठामा ससाना नानीबाबु, तिनका अभिभावक तथा शिक्षकका बिचमा म उभिएको छु । खादा ओढेको छु । परिचयात्मक कार्यक्रम हो यो । मैले एउटा छोटो लघुकथा सुनाएँ र छोटै मन्तव्य राखेर छोटो कार्यक्रम सकेका छौँ । लघुकथा जस्तै रह्यो यो कार्यक्रम । आयाममा लघु तर प्रभावमा दीर्घ ।

स्याक्रामेन्टोमा संख्यामा सानो भए पनि नेपाली भाषा, संस्कृति, सभ्यता मोह भने तीब्र रहेको पाएँ । व्यस्त जिन्दगीबाट समय निकालेर पाठशाला चलाउनु, बिनापैसा तिनमा संलग्न हुनु निकै ठूलो त्याग हो । म यसो सोचिरहेको छु कि किन विदेशिएका नेपालीमा नेपालमोह तीब्र हुन्छ ? नेपालका मान्छे चाहे कोठे गफमा होस् वा समारोहमा होस्, यो कुरा मन पराउन्नन् । ‘देशको यति चिन्ता भए किन छोडेको ? किन पलायनवादी भएको ?’ भन्छन् । तर पनि विदेशिएका मान्छे नेपालकै बारेको चिन्ता छोड्दैनन् । किन नेपाली भाषा, सभ्यता, संस्कृति तथा समग्र पहिचानका लागि मरिहत्ते गर्छन् ? किन होला ?

प्रथमतः जे गुम्छ त्यसकै चाह बढी हुन्छ भन्ने मनोवैज्ञानिक सिद्धान्तले काम गरेको होला भन्ने ठान्छु । नेपाल गुम्ने नेपालीलाई नेपालको माया, आमा गुमाएकालाई आमाको अभाव र सम्झना हुन्छ । त्यसैले परदेशमा दुई नम्बरको नागरिक भएर बस्दा अल्पसङ्ख्यक पीडाबोध हुने रहेछ । अनि पहिचान भनेकै आफ्नै भाषा, पहिरन, सभ्यता, संस्कृति हो रहेछ । यसै भएर पनि होला अमेरिकाका विविध ठाउँमा नेपाली मन्दिर बनाइएको छ । नेपाली भाषा पाठशाला चलाइएको छ । सकेसम्म नेपाली संस्कृति तथा संस्कारलाई उच्चतम प्राथमिकतामा राखेर मानिएको छ । यही कडीको रूपमा होला स्याक्रामेन्टोमा नेपाली भाषा पाठशाला खोलिएको होला । शुभकामना छ पाठशाला !

त्यहाँ भएका धेरै नेपालीहरूसँग कुराकानी गरेको छु । कुरा सुनेर दिक्क पनि लागेको छ । किनभने नेपालीहरू अलगअलग सङ्गठन बनाउने, झगडा गर्ने, भ्रष्टाचार गर्ने, तिगडमबाजी गर्ने गरि नै रहेका छन् अमेरिकामा पनि । यसरी विभाजित हुनु निकै दुःखद कुरा हो । स्याक्रामेन्टोमा पनि नेपालीका विविध सङ्गठनको अस्तित्व सुनेर दुःखी भएको छु । सान फ्रान्सिस्कोको रिचमन्डको नेपाली मन्दिरमा पनि यही भ्रष्टाचारको कुरा सुनेको थिएँ । मन्दिर बनाउन भनी पैसा उठायो । खायो । किन यस्तो हर्कत गर्छन् हँ नेपाली !

अँ त, वालवालिकाको पाठशालामा मैले बाल साहित्य सुनाउन सकिनँ । यो बेला मलाई आफूले बालसाहित्य सिर्जना नगरेको कुरा खट्कियो । बालसाहित्य सिर्जना गर्न कति प्रयत्न गर्छु, तर बालमनोविज्ञान बुझ्न नसकेर आँट गरिरहेको छैन । बालमनोविज्ञानभित्र पस्न सकिरहेको छैन । त्यसैले मलाई लाग्छ कि बाल साहित्य पढ्दा अत्यन्त सरल देखिन्छ तर सही सिर्जना भने निकै शिल्पी हुन्छ । साँच्चै बालसाहित्य सिर्जना गर्ने महान हुन् भनिठान्छु म ।

स्याक्रामेन्टो छोडेको लगभग आधा घन्टापछि अबर्न पुगेका छौँ । अबर्न जानुको तात्पर्य चाहिँ त्यहाँ गोराले स्थापना गरेको स्वर्गद्वारी पुग्नु हो । गाडी रोकिएपछि हेरेको त नेपाली भाषा मै ‘स्वर्गद्वारी’ लेखिएको सानो बोर्ड देखा परेको छ । गोराको मुलुकमा नेपाली अक्षर देवनागरी लिपिमा लेखिएको स्वर्गद्वारी साइनबोर्ड देख्दा म जस्तो नेपाली घुमन्तेको मन हररर खुसी हुने नै भयो ।

केही खुड्किला उक्लिएर मन्दिरको कम्पाउन्डमा पुगेका छौँ । पस्ता पस्तै एकातिर हनुमान मुद्राको गणेश एर्कातिर भैरवको मूर्ति भएको एउटै शीला देखिएको छ । अचम्म लागेको छ । योभन्दा पहिले यसरी मैले यस्तो एउटै ढुङ्गामा दुई आकृति भएको मूर्ति देखेको थिइनँ । मन्दिरप्राङ्गणमा तिब्बतीयन प्रकृतिका तोरण, काठमा कुँदिएका थाङ्का, कलात्मक खम्बा, आँखीझ्याल भएको मन्दिर, नेपाली शैलीको ढलौटको घन्टीले नेपाल नै पुर्याइरहेको छ हामीलाई । त्यसमाथि मन्दिरको टुँडालमा यौनासनका कलात्मक आकर्षणले झन रौनकता थपेको छ । ती यौनासनका टुँडालहरू तान्त्रिक विधिद्वारा राखिएका हुन् कि होइनन्, त्यो मलाई थाहा भएन । तर दुरुस्त तरिकाले टुँडालहरू राखिएको छ । मन्दिर वरिपरि बनाइएका पाटीले भने भादगाउँले स्वाद दिइरहेको छ । मान्छे बास बस्ने झिँगटीका छानो भएको पाटी छ ।

यसबाहेक नेपालका कलस, करुवा जस्ता पूजामा प्रयोग गरिने विशुद्ध सामग्रीको पनि व्यवस्था गरिएको देखेर निकै अचम्म लागेको छ । नेवारी परम्पराकै हिटीको स्वरूपमा मङ्गलहिटी धारा बनाइएको छ । भजन मण्डली केन्द्र छ । बाजागाजा छन् । काठमा कुँदेको थाङ्का झुन्ड्याइएको छ । अर्कोमा ग्रिन तारा समान्त भद्राआदिलाई पनि काठको कलात्मक थाङ्कामा नै देखाइएको छ । मेडिटेसन सेन्टर छ । ललितपुरका कलाकार हेमरत्न शाक्यले बनाएको अमिताभ बुद्धको मूर्ति छ । प्राङ्गणमा नेपालको झण्डासहित विश्वका केही देशका झण्डाहरू टाँगिएका छन् ।

खासमा भन्ने हो भने अमेरिकाको क्यालिफोर्नियाको एउटा भित्री गाउँ र त्यहाँ स्थापना गरिएको विशुद्ध झिँगटीको छानो भएको नेपाली शैलीको मन्दिर, त्यो मन्दिर रहेको ठाउँको अवस्थिति, प्राकृतिक रमणीयता आदि नै यात्रुको मन तान्न पर्याप्त छन् । त्यसमाथि धार्मिक आस्था पनि थपियो भने त सुनमाथि सुगन्ध नहुने कुरै भएन ।

त्यो मन्दिरको हेरचाह, पूजापाठ गर्ने श्रवण नामका व्यक्ति रहेछन् । हाम्रो टोली देखेपछि उनी हामीसँग आएर कुरा गर्न थाले । लामो कपाललाई पछाडिपट्टि लगेर बाँधेको, गालामा दाह्रीका सेता टुसा देखिने, सामान्य प्यान्ट सर्ट लगाएका र अति सामान्य देखिइरहेका छन् श्रवण ।

नेपालीहरूले कुरा सुरु गर्ने भनेको नाउँ, गाउँ, जात, थर आदि नै हुन्छ । अमेरिकामा भने यसरी सोधेको मन पराइँदैन । तर पनि हामीले सोध्यौँ ।
उनले नाम त बताए । तर थर बताएनन् पहिला । अनि हामीले सोधेपछि उनले भने, ‘अमेरिकामा त के थर भनेर सोधिन्न । भन्न पर्यो भने म कसैलाई श्रेष्ठ भन्छु, कसैलाई खत्री भन्छु ।’
उनको कुराबाट हामी झन् आश्चर्य चकित भएका छौँ ।
अनि उनले भने ‘मेरो कथा लामो छ हजुर ।’
हामीले उनको कथा सुन्ने विचार गर्यौँ ।

उनले बताए कि उनी प्युठान खलङ्गाका बासिन्दा हुन् । उनकी आमा श्रेष्ठ थरकी हुन् । उनले खत्री थरको शाही सैनिकसँग बिहे गरेर उनलाई जन्म दिइन् । उनको यो बिहे समाजमा मान्य भएन । त्यसपछि उनका खत्री पिताले अर्को बिहे गरेर हिँडे । कता गए थाहा छैन । आमाछोरा प्युठान खलङ्गामा रहेको माइती घरमा आश्रयमा पुगे । आर्थिक अवस्था पनि कमजोर, सामाजिक अवस्था पनि विपर्यास भएको अवस्थामा आफू एकल भए पनि मावली हजुरआमा जोगमायाले ती सवै कुरा चिर्दै पालनपोषण गरिन् ।

उनको कथा अमेरिकामा स्वर्गद्वारी स्थापना गर्ने अमेरिकन गोरा डेबिड फुल्टनसँग जोडिन्छ । फुल्टन सन १९६७ मा पिसकोर्पको भोलेन्टियर भएर प्युठान पुगेका थिए । र उनको डेरा उनै जोगमाया श्रेष्ठको घरमा थियो । त्यो बेला सन १९६० मा जन्मेका श्रवण सात वर्षका थिए । फुल्टनलाई नेपाली पढाउन तथा नेपाली जनजीवनका बारेमा तालिम दिन काठमाडौँबाट प्युठान पुगेका रामचन्द्र श्रेष्ठ र उनकी आमाले प्रेम गरे । हजुरआमाले आमालाई कन्याकुमारी भनेर बिहे गरेर काठमाडौँ पठाइदिएपछि श्रवण झन् एक्लो भए । बाबुको टुहुरो त छँदै थिए, आमाको पनि टुहुरो भए । अनि हजुरआमाले फुल्टनका काखमा राखेर ‘फुल्टन ! तिमी मेरो नेपाली भाइ हौ । यो टुहुरो मेरो नातिको जिम्मा तिमीलाई’ भनेर परमधाम पुगिन् ।

श्रवण आफ्ना जीवनका नागबेली बताउँदै पनि छन् । एउटा अजङ्गको कुकुर पालेका छन् उनले । र, त्यहाँ आएको कुकुरलाई अङ्ग्रेजीमा भन्दैछन्, ‘बी क्वाइट बेबी । आई एम टकिङ विथ गेस्ट’ कुकुरले बिनाप्रश्न पुच्छर हल्लाएर मानेको छ ।

डेभिड फुल्टन जम्मा तीन वर्ष प्युठानमा बसे । उनै डेभिड फुल्टनले श्रवणलाई काठमाडैँको परोपकार आश्रममा ल्याएर राखिदिए । श्रवण ७ वर्ष त्यहीँ बसे । परोपकार आदर्श माध्यमिक विद्यालयमा पढे । एसएलसी प्रथम श्रेणीमा पास गरे । पाल्पामा भएका अर्का पिसकोर्प जन पल र डेबिड फुल्टनले स्पोन्सर गरेर कलेज पढाए । महाराजगञ्ज क्याम्पसमा भर्ना भए । बायोलजी र फिजिक्स गाह्रो भयो । छोडे । म्यानेजमेन्ट पढे । र, सन १९८९ मा सान फ्रन्सिस्को पुगे । सान फ्रान्सिस्कोकै लिङ्कन विश्वविद्यालयबाट एमबिए पास गरे । ८ वर्ष प्रोफेसनल जागिर खाए । घर किने । कलेजको साथी अमेरिकन नेपाल पुगरे फर्केकी गोरीसँग माया बिहे गरे । ३० वर्षको सान फ्रान्सिस्कोको बसाइका क्रममा अमेरिकन श्रीमतीबाट छोरी जन्माए । डिभोर्स गरेर अलग भए । त्यसो भए पनि श्रवण भन्छन्, ‘हामी एकदम मिल्ने साथी हौँ । वर्षमा हामी कम्तीमा ३ पल्ट भेटिन्छौ । कहिले उनी यता आउँछिन्, कहिले म उता जान्छु ।’

श्रवणलाई नेपालको माया लाग्थ्यो । परिवारको माया लाग्थ्यो । हिजैदेखि नै अध्यात्मवादी थिए । विपश्वना जान्थे । पिता देखेनन् । भोगेनन् । आमासँग छुट्टिनु परेको मनोवैज्ञानिक पीडा तथा आफ्नी मावली बज्यै गुमाएको सम्झनामा उनी श्रवणकुमार भए । सान्फ्रान्सिस्कोको घर बेचे । आफ्नो भागमा परेको आधा पैसाबाट गोदाबरीको बोटानिकल गार्डिेन अगाडि जग्गा किनेर आमा घर बनाए । ४० छोरा—४० छोरीको रेखदेख गर्ने काम थाले । खास अनाथलाई शिक्षा दिने आमा घरको स्थापना गरे ।


हामीले सोध्यौँ, ‘काठमाडौँमा आमासँग भेट्नु भएन त ?’
उनी भन्छन्, ‘कन्या कुमारी भनेर आमाको अर्को बिहे भएकाले भेट्न पनि पाइएन । भेट्ने कुरा पनि भएन । बुवा त कता जानु भयो थाहा भएन । बुवाले पनि हामीलाई खोजी गर्नु भएन । हामीले खोज्नुको पनि केही अर्थ थिएन ।’

उनी एक छिन चुप लागे । कुकुरलाई सुम्सुम्याए अनि भन्न थाले, ‘जीवनको के भरोसा छ र हजुर ! आज छ भोलि छैन । आमाबाबुले छोडे, टुहुरो भएर हुर्किएँ । तर एक हिसाबले राम्रै पनि भयो । यो सवै देव दाइकै देन हो । अहिले यही मन्दिरमा बस्छु । पूजाआजा गर्छु । ध्यान तप गर्छु । सामाजिक धार्मिक काममा आनन्द आउँछ ।’

उनी लगातार बोलिरहेका छन् । जिन्दगीलाई अर्थ्याइरहेका छन् । पारपाचुके गरेर गएकी श्रीमतीलाई पनि असाध्य श्रद्धा गर्छन् । छोरीको उज्वल भविष्यको कामना गर्छन् । छोरीले अमेरिकामा गरेको प्रगति देखेर दङ्ग पनि पर्छन् ।

उनी भन्दैछन्, ‘यो मन्दिरमा मैले ‘करी विदाउट वरी’ प्रोग्राम चलाएको छु । नेपाली खाना शुद्ध क्वाँटी र भात पाहुनालाई खुवाउँछु । यहाँ जति दिन बसेपनि खानबस्नसुत्न पैसा लाग्दैन हजुर । कुनै खाले भेदभाव पनि छैन । होमसिक भएका नेपालीलाई आश्रय दिन्छु । यसैमा आनन्द छ । यसैमा आत्मा खुसी हुन्छ ।’

म सोचिरहेको छु । के सोच्छ मान्छेले आफ्नो जीवनलाई ?, के भयो भने मान्छे खुसी हुन्छ ?, पद ? धन ?, विदेश ? स्वदेश ? सन्तान ? धर्म ? कर्म ? बाबुआमाले त्यागेको बालक पितृभक्त मातृभक्त श्रवणकुमार बन्छ । सन्तानलाई राम्रोसँग हेरचाह, पालनपोषण गर्ने तथा समग्र जिम्मेवारी लिएर हुर्कार्एका सन्तान पितृमातृघाती हुन्छन् । खोइ खोइ । म श्रवणलाई केन्द्रमा राखेर आफ्नै सोचाइको घनचक्करमा परेको छु ।

हामीले सोध्यौँ, ‘यो स्वर्गद्वारी मन्दिर चाहिँ किन बनाएको गोराले ?’

श्रवण कुमार भन्दैछन्, ‘यही देव दाइले बनाएको हो । डेबिड फुल्टनलाई म देव दाइ, अमेरिकन दाइ भन्छु । पिसकोर्पमा काम गर्दा अमेरिकन दाइले प्युठान जाने बाटो डिजाइन गरेको हो । भालुवाङको बाटो देव दाइले नै डिजाइन गरेको हो । देव दाइले त्यो बाटो ठाडो उकालो नलैजाउँ खोलै खोला जाउँ भन्दा त्यो बेलाको माननीयले बाटो आफ्नो घरतिर लैजानका लागि घुम्ती बनाएर घुमाएको हो । के गर्नु ठूलो मान्छेसँग काम गर्न गाह्रो भन्छन् देव दाइ । यस्तो छ नेपालको चलन ।’

हामीले सोधेका छौँ, ‘अनि यो स्वर्गद्वारी मन्दिर नि ?’
उनी भन्दैछन्, ‘म त्यही भन्दै छु । डेबिड दाइ इन्जिनियर हुन् । उनको कुवा खन्ने कम्पनी छ । उनले आफ्ना झड्केलो बुवाको तेलको काम गर्ने आग्रहलाई नमानेर आफैँ कमाउने भनी इनार खन्ने व्यवसाय सञ्चालन गरेका हुन् ।’

आफ्ना खुट्टामा उभिने मानसिकता अमेरिकी विकासको सूत्र भएको कुरा मलाई थाहा छ । त्यसको नमुना डेबिड फुल्टन पनि देखिए ।
तर हामीलाई त अमेरिकाको यो गाउँमा स्वर्गद्वारीको मन्दिर किन बनाएको हो गोराले भन्ने कुरा सुन्नु थियो । त्यसैअनुरूप हामीले श्रवणलाई स्वर्गद्वारीको कुरा सम्झाइरह्यौ ।

उनी भन्दैछन्, ‘यो स्वर्गद्वारी मन्दिर सन २००२ मा बनाइएको हो । यसमा जति पनि देखिन्छ नि सत्तल, मन्दिर, धारो, शिवलिङ्गलगायत ईँटादेखि टायलसम्म नेपालबाट ल्याएको हो हजुर । स्वर्गद्वारीमा देव दाइले बाटाको पाटीमा बास बसेको सम्झना स्वरूप यी पाटी बनाइएको हो । ४० टन सामान नेपालबाट मगाइएको हो । देव दाइ काठमाडौँ उपत्यकाको पुरानो कलाकृतिबाट धेरै प्रभावित भएकाले यो मन्दिर बनेको हो ।’

हामीले सोध्यौँ, ‘यो मन्दिर बनाउने मान्छे काठमाडाौबाट नै ल्याएको हो ?’
उनी हौसिएर भन्दैछन्, ‘होइन नि हजुर । सामान सवै नेपालबाट ल्याएपछि यहाँ त जोड्ने कुरा त थियो । त्यसका लागि पनि देव दाइले अमेरिकन मान्छे पल बेन्जामिनलाई नेपालमा लगेर एक महिना बसाएर सिकेर आएर मन्दिर बनाएको हो नि हजुर । यस्ता सामान त अझै कति गोदाममा नै थन्किएका छन् ।’

उनी अलिकति हौसिएका पनि छन् । द्रवीभूत पनि भएका छन् । र भन्छन्, ‘म संसार त्यागेर जोगी भएको होइन, अनाथ असहायको श्रवणकुमार हुँ । यही देवदाइसँग नजिकमा छु । ३८ वर्षदेखि हामी सँगै छौँ । १५ वर्षदेखि म यहीँ स्वर्गद्वारी मन्दिरमा छु ।’

यसै बेला उसको मोबाइल बज्यो । ऊ भन्न थाल्यो, ‘डोन्ट बी वरी, आई एम विथ नेपाली गेस्ट । कमिङ सुन ।’
डेबिडकी आमाको फोन रहेछ । एउटै ठूलो कम्पाउन्डमा डेबिडको घर, मन्दिर र आमाको घर छुट्टै रहेछ ।
श्रवणले भने, ‘डेबिडकी आमा १०० वर्षकी हुनुहुन्छ । अलग्गै घरमा बस्नु हुन्छ । आफ्नो काम आफैँ गर्नु हुन्छ । आफैँ पकाएर खानु हुन्छ । ग्राइन्डरको बिर्को लागेन अरे, आएर बनाइदेऊ भनेर फोन गर्नु भएको ।’

एफ ! सय वर्षको उमेरमा आफ्नो काम आफैँ गर्ने । वाह !

ठाउँको प्राकृतिक वातावरण, शान्त जीवन तथा त्यहाँभित्र देखिने चित्रले मोहित पारेकै छ । यसै बिच
४ जना नेपाली युवायुवतीको प्रवेश भयो मन्दिरमा । ती बिहा गर्न ठाउँ बुक गर्न आएका रहेछन् । गेस्ट हाउसमा बसेर माछामासु, रक्सी पनि खान पाइने । तर काटमार गर्न भने नपाइने नियम बनाइएको रहेछ । अर्थात् मन्दिर हिन्दुको त्यसमाथि पनि शिवलिङ्गको तर प्रवेश सवै जातधर्म सम्प्रदाय, शाकाहारी, मांसाहारी सवैका लागि बराबर । तब न मन्दिर ! तब न आध्यात्मिक समानता । भौतिक समानता !

हामी निक्लँदै छौँ । डेबिड आफ्नै बडेम्माको अफिसमा बसिरहेका रहेछन् । गएर भेट्यौँ । नेपालीमा फरर बोल्ने डेबिडसँग फोटो खिच्यौँ । र, मैले उनलाई सोधेँ, ‘स्वर्गद्वारी मन्दिर किन बनाउनु भएको ?’

उनले उत्तर दिए, ‘स्वर्गद्वारीमा बसेको, नेपालको कलाकृति मन परेको, व्यापार गर्न सामान नेपालबाट ल्याएको अनि स्याम्पलका रूपमा यो मन्दिर बनाएको ।’

डेभिडको अफिस एकपल्ट सरर हेरेपछि हामी घरमुहाँ भयौँ ।

अमेरिका

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।