सार
दुई सय वर्ष जति पुरानो जोसमनी मत नेपाली माटोको मौलिक आध्यात्मिक विचारधारा हो । सन्त शशिधरले आविष्कार गरेको यस मतले निर्गुण भक्तिका माध्यमबाट ईश्वरको आराधना गर्ने मात्र नभई धर्मलाई विधिविधानको जटिलताबाट मुक्त गरी मानवीय व्यवहारमा उतार्न सहज हुने काइदाहरू अवलम्बन गरेको छ । उनै शशिधरले प्रतिपादन गरेको समावेशी समाज सुधारपरक मतका सापेक्षताबाट योगमाया उपन्यासको अध्ययन गरी प्रस्तुत अनुसन्धान तयार गरिएको छ । निलम कार्की निहारिकाद्वारा लिखित यस उपन्यासको विश्लेषणका लागि सोही मतलाई सैद्धान्तिक आधारका रूपमा लिइएको छ । उपन्यासका साक्ष्यहरूलाई प्रमाणका रूपमा पेस गरी जोमनी मतको प्रभाव निरूपण गर्नका लागि विश्लेषणात्मक र व्याख्यात्मक विधिको प्रयोग गरिएको छ । उपन्यासको विश्लेषणका क्रममा जोसमनी मतका नौवटा मूलभूत विचारलाई ग्रहण गरी सोही कोणबाट अनुसन्धेय कृतिको विश्लेषण गरी जोसमनीहरूको उदारपरक र निर्गुण भक्तिवादी मान्यताको प्रभाव उपन्यासमा प्रस्ट रूपमा परेको छ भनी निचोड स्थापना गरिएको छ । जोसमनी मतका आधारमा उपन्यासको विश्लेषण पहिलो बाजी भएको हो भन्ने दाबीलाई यस कार्यको उपलब्धी ठानिएको छ ।
मुख्य शब्द : निर्गुण, कुण्डलिनी, सुधारपरक, जलसमाधि, अग्निसमाधि, वाणी
१. विषयप्रवेश
नारीका संवेदनालाई आख्यानको केन्द्रमा राखेर उपन्यास लेख्न रुचाउने निलम कार्की निहारिका वि.सं.२०३१ सालमा पाल्पा जिल्लामा जन्मिएकी हुन् । नेपाली विषयमा पि.एच्डीअध्ययन पुरा गरेकी कार्की मूलतः उपन्यासस्रष्टा हुन् । उनको पहिलो रचना आमा कविता कक्षा छमा पढ्ने बेलैमा प्रकाशनमा आएको हो । उनका मौन जीवन (२०५१), नियतिको खेल (२०५३), तिमी म र उनी (२०५६), अर्की आइमाई (२०७०), चीरहरण (२०७२), योगमाया (२०७४), द्रौपदी अवशेष (२०७४) जस्ता औपन्यासिक कृति प्रकाशित छन् । हवन ¬(२०६२), कागजमा दस्तखत (२०६६), बेली (२०६८), र ४३ कथा (२०७६) कथासङ्ग्रह पाठकमाझ पुगिसकेका छन् । ब्रेन फिभर (२०६२) लामो कविता र निलम कार्की निहारिकाका कविता (२०६३) कविताहरूको सङ्कलन रहेका कृति हुन् । २०४४ सालदेखि हालसम्म पत्रपत्रिकामा फुटकर रचना प्रकाशित छन् । उनले साहित्य सिर्जना गरेबापत विविध पुरस्कार पनि पाएकी छन् । जसमा रेडियो नेपाल जन्मोत्सव कविता प्रतियोगितामा द्वितीय (२०५६), प्रज्ञाप्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता प्रतियोगितामा तृतीय (२०५७), हिम्सफाद्वारा आयोजित राष्ट्रिय कविता महोत्सवमा द्वितीय (२०५८), चीरहरण उपन्यासका लागि पद्मश्री साहित्य पुरस्कार (२०७२) र दीप गोविन्द स्मृति सम्मान २०७२, योगमाया उपन्यासका लागि मदनपुरस्कार २०७४ उनले हालसम्म प्राप्त गरेका पुरस्कार हुन् । द्रौपदी अवशेषलाई गंकी धुस्वाँ वसुन्धरा पुरस्कार (२०७८), राधादेवी सद्भाव स्रष्टा पुरस्कार (२०७७), योगमाया स्रस्टा सम्मान (२०७४), अर्की आइमाई उपन्यासका लागि सर्वोत्कृष्ट डायस्पोरिक महिला लेखक (२०७१), बेली कथा सङ्ग्रहका लागि नई गणेश दुर्गा पुरस्कार (२०७१) प्राप्त गरेकी छिन् । अन्तर्राष्ट्रिय नेपाली साहित्यिक संस्थासँग पनि आबद्ध उनी मूलतः सञ्चारकर्मी, सम्पादक, प्रकाशक, सामाजिक अभियन्ता र शोधकर्ता पनि हुन् । उनका आख्यानात्मक कृतिमा पौराणिक मिथकको आख्यानिकीकरण, सामाजिक कुसंस्कारको आलोचना र पितृसत्तात्मक समाजको चिरफार गर्नमा सीप खर्चिएको पाइन्छ । विविध पुस्कारबाट सम्मानित भएका उनका कृतिहरूमा आख्यानको प्रधानता रहेका कारण अन्य विधाका तुलनामा आख्यान विधामा उनले सिद्धि र सफलता पाएको देखिन्छ ।
योगमाया (१९२४–१९९८ भोजपुर) को जीवनीलाई आधार बनाएर लेखिएको ऐतिहासक उपन्यास भए पनि असमानता, विद्रोह, भ्रष्टाचार र कुरीतिहरू पनि मिश्रित भएर आएका छन् योगमाया उपन्यासमा । उपन्यासका यस्ता विविध विषयलाई गति दिने काम धर्म दर्शनका माध्यमबाट भएको छ । उपन्यासको धर्मदर्शन सन्त शशिधर (१८०४ प्रसूतपुर – १९०६ रेसुङ्गा) ले स्थापना गरेको जोसमनी मतमा उभिएको छ । उनले पुरोहितकेन्द्री धार्मिक नियमको सुधार गरी सबै जातजातिका लागि सुहाउँदो मतको स्थापना गरेका छन् र ओंकार परिवारमा सबै समुदाय लाई समेट्ने पवित्र लक्ष्य लिएका छन् ।
शशिधरको जोसमनी मतले नेपाली माटोको सुगन्ध बोकेको छ । निर्गुण भक्तिधारामा आधारित यस मतले परम्परागत धार्मिक पद्धतिमा सुधार गरेर नयाँ निर्णयात्मक सोच अगाडि सारेको छ । यसले सनातनप्रति रुढ रूपमा आस्था राख्नेहरूका कतिपय आडम्बरी र मानवद्वेषी अव्यावहारिक मान्यतालाई खुलेआम चुनौती दिएर सभ्य समाज निर्माणको गम्भीर सत्याग्रह आरम्भ गरेको छ ।
२. नेपाली माटोमा हुर्किएको मौलिक चिन्तन जोसमनी मत
जोसमनी मतका संस्थापक आचार्य सन्त शशिधर हुन् । उनी पूर्व पनि उनका गुरु र परगुरु हरिश्चन्द्र (प्रथम), हरिभक्त (प्रथम), हरिश्चन्द्र (द्वितीय) र धिर्जेदिल दास गरी चारवटा सन्ताहरूको गरूपरम्पार थियो भन्ने मत जनकलाल शर्माको छ (शर्मा, २०७७ ः पृ.५) । यी सन्तका अतिरिक्त लगभग तिन दर्जनजति सन्तहरूको गुरूपरम्पराबाट संरक्षित एवं संवद्र्धित जोसमनी मतका अनुयायी योगमाया पनि थिइन् । उनको परिचय जनकलाल शर्माले शक्तिमाई शीर्षकमा प्रस्तुत गरी स्वर्गद्वारी महाप्रभु अभयानन्द द्वितीयबाट गुरूपञ्जा (गुरुबाट प्राप्त हुने सन्तका पाँच लक्षण) लिई भक्तिमार्गमा औपचारिक रूपमा प्रवेश गरेकी थिइन् भनेका छन् । उनै योगमाया प्रमुख पात्र रहेको योगमाया उपन्यासको उनकै जिजुगुरुद्वारा प्रतिपादित नौ ओटा विशेषताका आधारमा विश्लेषण गर्ने काम यहाँ क्रमशः भएको छ । त्यस्ता विश्लेष्य आधारहरू निम्नानुसार रहेका छन् ः
निर्गुण परमात्माप्रति अखण्ड आस्था
सनातनी कर्मकाण्ड पद्धतिमा अविश्वास
शैक्षिक जागरणमा रुचि
सांसारिक मायामोहमा अनाशक्ति
आत्मसन्धान व्यक्तिको प्रमुख कर्तव्य
चोखो मानवताको रक्षा उपन्यासको दृढ आकाङ्क्षा
आडम्बरी प्रवृत्तिको विरोध
महावैराग्य (हठयोग)बाट लक्ष्यसिद्धिको योजना
धर्मलाई व्यावहारिक बनाउने सत्प्रयास
यिनै प्रमुख नौ ओटा प्रतिमानका आधारमा योगमाया उपन्यासको विश्लेषण गर्ने काम प्रस्तुत आलेखमा भएको छ । यस्ता विशेषताहरू निरूपण गर्ने क्रममा सर्वप्रथम सिद्धान्तलाई अगाडि राखेर त्यसलाई उपन्यासका तर्क र प्रमाणका आधारमा सत्यापन गर्ने काम गरिएको छ ।
३ जोसमनी मतका सापेक्षतामा योगमाया उपन्यास
पश्चिमी साहित्य समालोचना प्राणालीमा विभिन्न वाद, सिद्धान्त र शैलीवैज्ञानिक आधारमा समालोचना गर्ने परम्परा छ । त्यसकै अनुकरण गरी नेपाली सामालोचनामा कलम चलाउने काम लामो समयसम्म रहिराख्यो । उपन्यासको विषयवस्तु देशज छ, कलाको संयोजन पनि मौलिक छ तर फेरि यहाँको माटोमा हुर्केको औपन्यासिक चिन्तनको विषय परदेशी विचारबाट नियाल्न त्यति उपयुक्त लागेन त्यसकारण योगमाया उपन्यास पढेर सकेको लगभग एक वर्षसम्म निरन्तर घोत्लिँदा उपन्यास विश्लेषणका लागि जोसमनी मतको मौलिक आधार भेटियो । त्यसपछि सोही मतका आधारमा उपन्यासको विश्लेषण गर्ने योजना बन्यो । फलस्वरूप यो अनुसन्धानको कामले पूर्णता पायो ।
३.१ उपन्यासका घटनाको सारसंक्षेप
न्यौपाने परिवारकी चेली माया न्यौपानेलाई आसाम गई लिएर आउने योजनाबाट उपन्यासको कथावस्तु आरम्भ भएको छ । घरसल्लाह मिलेपछि मायाका भाइ अग्निधर न्यौपानेले आसाम गई एकसाता लगाएर मायालाई लिएर भोजपुर सानो मझुवा आइपुग्छन् । लगभग पचास वर्षको उमेरमा दौडिरहेकी माया सानोमझुवा आएपछि एकतारे बाद्ययन्त्र बजाएर भजन गाउँन आरम्भ गरेकी छिन् । उठबसका क्रममा गङ्गासँगको सम्बन्ध नजिकिएपछि आफ्नो कहानी पूर्वदीप्ति शैलीमा बताउन थाल्छिन् । घरको बुहार्तन खप्न नसकी रातको समयमा विवाहित घरबाट भागेको, भागेकी बुहारीलाई पुनः घरभिœयाउन धोद्लेका कोइराला परिवारले नमानेको, आफ्नै बाबु श्रीलालको घृणा, तिरस्कार र टोकसो सहन नसकी सत्रवर्षको उमेरमा (पृ.१०९) कँडेलसँग आसाम गएको, २३ वर्षजति उनीसँग जीवन बिताएपछि कँडेलको असामयिक निधन भएको, ४० वर्षको उमेरमा नैनकलाका बासँग विधवा विवाह गरेको र पुराणको प्रवचन सुन्ने क्रममा परपुरुषसँगको सम्बन्ध पापको कारक हो भन्ने बुझेपछि उनीबाट अलग भई गृहस्थधर्म बेगर बस्न थालेको कथा क्रमिक गतिमा अगाडि बढेको छ । श्रीमान्सँग अलगअलग बसेको एक वर्षभित्रै नैनकलाका बाको मृत्यु भएको घटना मायाका मुखबाटै वाचन भएको छ ।
मझुवाको माइतीमा बस्ने क्रममा जोसमनी मतका अनुयायी स्वर्गद्वारी महाप्रभु अभयानन्द द्वितीयबाट दीक्षा लिएको प्रसङ्ग उपन्यासमा रोचक रूपमा प्रस्तुत छ । त्यसपछि लगभग ५३ वर्षको उमेरसम्म विभिन्न ठाउँको तीर्थयात्रा गरी समय बितेको छ । अनन्तर उनले उफ्रौलीटारको शङ्खेश्वर मन्दिरमा एक महिनासम्म दुग्धाहार मात्र गरी निर्वस्त्र भएर तपस्या गरेकी छन् । नैनकलाको बिहे नौँ वर्षको उमेरमा गरिदिएर माइतीको घरसमेत परित्याग गरी उफ्रौलीटारकै कुटीमा बसी भक्तिनी वा ठुलीहजुर बनेर भजन कीर्तन गरी जनतामा जागरणको प्राण भर्ने काम सुरु गरेकी छन् । यसपछिको अवस्थामा योगमाया सन्यासी वा योगीका रूपमा चित्रित छन् । समाजमा रहेका अनेक कुप्रथा, थिचोमिचो, अन्याय, शोषण, छुवाछुत, नारी दमनकारी व्यवस्था, रुढिवादी परम्पराको सुरधारको कामनसहित र आत्मसन्धानको बाटो देखाएर धर्ममार्गबाट जनतामा चेतना भर्ने कामको आरम्भ उनीबाट भएको छ । कल्पवास, ग्रीष्ममा पञ्चाग्नी तपन, शिशिरमा जलतपस्या, शिशिरमा हिमतपस्या आदिबाट आफ्ना काम, क्रोध, लोभ, मोहलाई शुष्क बनाइसकेकी हुन् । आधादर्जनपटक तत्कालीन शासकलाई धर्मपत्रिका दिएर, मान्छे गएर भेटेर र आफैँ उपस्थित भएर समाज सुधार गर्नका लागि थोत्रा कानुन फाली नयाँ उपबृद्ध कानुन लागु गर्नका लागि बारम्बार घचघचाइ रहिन् । बहिरा शासकबाट झुटको खेती मात्र भएको र सधैँ धोका मात्र पाएको ठानी उनीहरूलाई चेतावनी दिनका लागि र अन्यायको जाँतोमा पिल्सिएका जनतालाई राहत दिनका लागि अग्नि समाधिको आयोजना गरिन् (पृ.४१८) । योगमायाको यो योजना राणाका फौजले असफल बनाइदिएका छन् । स्वेच्छिक मुत्युको मञ्जुरीमा ल्याप्चे लगाउनेहरूलाई थुनामा समेत राखेका छन् (पृ.४३०) । अग्निदाहमा जान चाहनेजति सबै जेलमुक्त भएपछि १९९८ असार हरिशयनी एकादशीका दिनमा ‘धर्मराज्य स्थापना’को माग राख्दै मायसहित अठसठ्ठी जनाले अरूणको भङ्गालोमा हामफाली जलसमाधि लिएपछि औपचारिक कथाको अन्त्य भएको छ । समाख्याताले योगमायाको जीवनी केन्द्रित साहित्य लेख्ने सामग्री खोज्ने काममा सहयोग गर्ने स्वर्गीय दाजु देवेन्द्रलाई सपनामा देखेको स्वप्नील यथार्थ उपन्यासको अन्तिम परिच्छेदमा छ ।
उपन्यासका यस्ता घटनानामा इतिहास, धर्म, दर्शन, मानवीय पीडा, राजनीति र साधनाको विस्तारपूर्वक वर्णन पाइन्छ । स्वात्मबोधका लागि हठयोगको अभ्यास गरिएको व्याख्या छ भने समाजका सडल परम्परा र राजनीतिको सुधारका लागि समेत हठकै प्रयोग गरिएको देखाइएको छ । यी घटनाले अध्यात्मको बाटोबाट पनि समाजका विकृतिहरूलाई फाल्न सकिन्छ भन्ने स्पष्ट सन्देश दिएका छन् ।
३.२ निर्गुण परमात्माप्रति अखण्ड आस्था
असहायको दैव सहारा भन्ने उक्ति नेपाली समाजमा खुबै प्रचलित छ । यही उक्ति योगमाया उपन्यासमा पनि चरितार्थ भएको छ । वैवाहिक जीवनमा अनेक उतार चढाव झेलेकी माया न्यौपानेका बारेमा बहुविवाह गरेका कारण समाजमा गलत धारणा विकसित हुँदै गयो । उनीमाथि बिनाआज्ञा पतिको घर छोडी हिँडेको आरोप मात्र लागेन १४ वर्षमै परपुरुषसँग लसपस गरेको लाञ्छना लगाइयोे । आसामे कँडेलसँग साहाराको खोजीमा भागेपछि बैँसले मात्तिएको आरोप लगाइयो । आसामबाट माइती घर मझुवा फर्किएपछि जैसिनी, पतिता, पोइटोकुई र बिग्रेकी भनी दोष लगाइयो । यसरी ओल्टै जातखसेकी पल्टै चरित्रहीन भनी वरिपरिका इष्टमित्रहरूले लाञ्छित गरे तर उनमा डर भने थिएन । यस अवस्थामा उनलाई माइतीको घरमा बसेर लामो जीवन सहज तरिकाले व्यतीत गर्न सजिलो थिएन । त्यसैको फलस्वरूप माइतकी छोरी हेला (बुहारीले भने एकदमै प्रेम गर्ने गरेकी) भएर बस्नुभन्दा ईश्वरीय मार्ग अवलम्बन गरी आध्यात्मिक बाटोतर्फ लाग्न बेस ठानी उनले कुटीमा बस्ने योजना बानाएकी थिइन् । तत्कालीन प्रतिकूल परिस्थितिमा बहुविवाहता, विधवा र एकल महिलाहरू सम्मानपूर्वक बाँच्न सक्ने अवस्थामा थिएनन् । उनी आसामबाट नेपाल नआउँदै अनेक पन्थका साधुको सङ्गत गरेकै थिइन् । आस्तिक भावना मनमा अभिवृद्धि गर्दै गएकी पनि थिइन् । त्यसकारण पनि कुटीमा बसी भक्तिमार्गमा प्रवृत्त हुने सर्वोत्तम उपाय सचेत योगमाले रोजेकी हुन् । उनी आसाममा रहेका समयदेखि नै ईश्वरीय आराधनामा तल्लीन थिइन् । त्यतिखेरदेखि दुःख भुलाउने साधनका रूपमा भक्तिमार्गलाई अवलम्बन गरेकी हुन् । त्यस भक्तिको व्यापक रूप भने भोजपुर आएपछि देखिएको छ । परमात्माप्रतिको उनको भक्तिमार्ग सङ्गत र परिस्थितिको चापबाट बरोबर रूपमा अभिसिञ्चित भएको छ ।
उपन्यासमा सुधारपरक आस्तिक भावानाले बढी प्राथमिकता पाएको छ भन्ने सङ्केत पूर्वार्धका प्रसङ्गमा पाउन सकिन्छ । योगमाया पात्रको छनौट र उपन्यासको आवरणले समेत यस विचारलाई थप बल दिएको छ । उपन्यासको आरम्भतिर माया न्यौपानेका परिचयबाट परिचित योगमाया विवाहित घर धोद्लेका घरको बुहार्तन खप्न नसकी भागेर हिँडेपछि जङ्गलको यात्राका क्रममा आकाशतिर हेरी ईश्वरीय सहारामा रात कटाएको घटना उल्लेख गरिएको छ । सानै उमेरदेखि बढी हिम्मतिलो स्वाभावबाट खारिएकी मायाले तार्किक कुराहरूलाई मात्र स्वीकार गरेको पनि देखिन्छ । यस मानेमा उनले ईश्वरलाई आस्थाको केन्द्र स्वीकार गरे तापनि ईश्वरीय उपासनाका परम्परागत पद्धतिप्रति ज्यादा रुचि रखी त्यसलाई सहसा अनुसरण गरेको भने पाइन्न । यस मानेमा उनमा आस्तिक भावना त थियो तर आम सर्वसाधारणको मानसपटलमा रहेको भन्दा भिन्नकिसिमको थियो भन्ने देखिन्छ । कँडेलको मृत्युपछि याने ४० वर्षको उमेरपछि भने उनमा ईश्वरीय भक्तिको उद्रेक जागेको छ । उनका भाइ अग्निधर न्यौपानेको परिवार, पशुपतिका पण्डित, गाउँले पण्डित र गङ्गाका दाजुभाइलगायत गाउँलेहरूमा आस्तिकताको भावना त छ तर निर्गुणी परम्परामा आधारित मोक्ष चिन्तनको जस्तो गहिरो छैन । त्योभन्दा फरक स्वर्ग र नरकसम्म सीमित विचार छ । यस आधारमा उपन्यासमा आस्तिक विचारले प्राथमिकता पाएको छ । कृतिको आरम्भतिर त्यो जोसमनी मतभन्दा फरक स्वर्गीय यात्रासम्म केन्द्र्रित छ । योगमायाको बाल्य र युवा कालमा जोसमनीको निर्गुण मतको प्रभाव कम छ । भोजपुर आएपछिको परिस्थितिमा भने थप मजबुत बन्दै गएको अवस्था स्पष्टसँग भेटाउन सकिन्छ ।
निर्गुण ईश्वरप्रति उपन्यासमा समर्थन छैन भन्ने ठाउँ छैन । ईश्वर निर्गुण भएको हुनाले त्यसलाई पूजाविधिको उपयोग गरी प्रसन्न तुल्याउन सकिन्न । न त त्यसलाई मन्दिरको चौगिर्दोभित्र तोरेर राख्न सम्भव छ । भलै ईश्वरीय चिन्हहरू प्रदर्शन गर्नका लागि उपन्यासमा मठ, मन्दिर, धर्मशाला र यज्ञमण्डपहरूको प्रयोग गरिएको छ तापनि मूल रूपमा उपन्यासको उद्देश्य बोकेर हिँड्ने पात्रहरू साकार भक्तितर्फभन्दा निर्गुण भक्तितिर ज्यादा झुकाउ राखेर घटना घटाउन अभ्यस्त देखिएका छन् । मायाका रूपमा परिचित योगमाया आसामबाट भोजपुर आउँदा तुम्बा लिएर भजन गाउने गरेको प्रसङ्ग उपन्यासमा कम रोचक छैन । उनी माइतीमा आएपछि आँखा बन्दे गरेर भजन गाएर छरछिमेकीलाई सुुनाउने गरेकी छन् । भोजपुरमा आउँदा उनको उमेर उत्तरार्ध अवस्थमा छ भने उनको स्वभाव पनि सामान्यभन्दा पृथक् प्रकृतिको देखिएको छ । भाइबुहारी गङ्गासँग बाहेक अन्य स्वजनसँग खुलेर बोलेको देखिन्न । आवश्यकता अनुसारमात्र बोल्नु, सांसारिक विषयप्रति कम लगाव भएको देखिनु, सुख, दुःख, प्रशंसा र निन्दा हुँदा समेत मनलाई समान रूपमा राख्न सक्नु परमात्माप्रति लगाउ देखिएका पहिला महŒवपूर्ण चिन्ह हुन् । आफूले आसाममा रहँदै साधुहरूको सान्निध्यबाट तुम्बा बजाउन र भक्तिमार्ग अवलम्बन गर्न जानेकोे उद्घोष ठुलीहजुर खण्डमा योगमाया स्वयम्ले गरेकी छन् (पृ.६९) । शङ्खेश्वर शिवमन्दिरमा एक महिनासम्म दुग्धाहार गरी तपस्या गरेर स्नातक भएका दिनमा ईश्वरका विविध नाम लिएर पुकारा गर्दै निर्गुण भजन गाएकी छन् । दया, धर्म, सत्य, अहिंसा, समानता जस्ता मानवहितका धार्मिक भावना ध्यानदृष्टिबाट प्राप्त भएका देखिन्छन् । असत्य, हिंसा विभेद, शोषणहरू अधर्म रहेको र तिनको पनि अध्यात्मिक चेतनाबाट सकारात्मक दिशामा परिवर्तन गर्न सकिने विचार सुष्ठु रूपमा प्रकट भएको छ । अनेक तरिकाबाट ईश्वरका विविध नाम लिएर प्रार्थना गर्न सकिए पनि आखिरी सत्, चित् र आनन्द स्वरूप ब्रह्म एकै छ भन्ने भाव अभिव्यक्त गर्न उपन्यास चुकेको छैन । हो, योगमायाको शङ्खेश्वर मन्दिरको यही कल्पबासपछि जोसमनी समर्थित सुधारात्मक भक्तियोगको आख्यानीकरण उपन्यासमा सघन बन्दै गएको छ । यसरी उपन्यासकी प्रमुख पात्र योगमायाको भक्ति सहजात वा संस्कारजन्य नभई सत्सङ्गतबाट अनुप्रणित हो भन्ने देखिन्छ ।
तपस्यापछिका अवस्थामा परब्रह्म परमात्माप्रतिको भक्तिपरक भजनकीर्तिनमा उत्साहपूर्वक सहभागी भएको देखाइएको छ । माया न्यौपाने मभुवाबेँसीका कुटीमा रहन थालेपछि उनलाई ठुलीहजुरबाट सम्बोधन गर्न (बस्नेतहरूले यो सम्बोधन सुरु गरेका) आरम्भ गरिएको छ । सत्व, रज र तमो गुणमध्ये रज र तमो गुणको प्रभावलाई शरीरमा आउन नदिई सत्वगुणको उद्रेक क्रमिक रूपमा बढ्दै गएको छ । धर्म, अर्थ, काम र मोक्षको पहिचान भएको अवस्था छ । ईश्वरले हरेक घडीमा परीक्षा लिइरहन्छ । उसको परीक्षामा खरो उत्रन सकिएको खण्डमा जन्ममृत्यको चक्करबाट अमलेख हुन सकिन्छ । जन्ममरणको चक्करबाट स्वाधीन हुनका लागि सत्कर्म, तपस्या र भक्ति आवश्यक छ (पृ.१४८) भनी मझुबेँसीमा जम्मा भएका दर्शकहरूलाई तपस्याबाट निस्किएको दिनको प्रवचनमा भनिएको छ । यस्तो प्रथम प्रवचन सत्रमा कुटीबासी, गाउँले, किसान, माझी (नजिकै माझीको बस्ती भएर मझुवाबेँसी भनिएको) र टाढाटाढाका गाउँगाउँबाट आएका उत्सुकहरू जम्मा थिए । सोही दिनदेखि हरेक साँझ कुटीमा नित्य हरिभजनको आरम्भ भएको छ (पृ.१४९) । योगमायामा मझुवाबेँसी तपस्यामा बस्नुपूर्व नै सत्सङ्गतको सहयोगले आध्यात्मिक निष्ठा बृद्धि गर्न टेवा दिएको देखिन्छ । यसरी भजनका माध्यमबाट ईश्वरको आराधना गर्नु जोसमनीहरूको विशेष गुण हो ।
अनुकूल र प्रतिकूल जस्तोसुकै अवस्थामा पनि ईश्वरप्रति अगाध आस्था राख्नु सच्चा भक्तिको लक्षण हो । हरेक साँझमा हुने भजनमा ओंकार स्वरूप शिवको प्रार्थना गरिएको छ (पृ.१५६) । अन्यायमा परेका नागरिक, पीडित महिला, दासबाट अमलेख भएकाहरू, शोषणमा परेका र समाजबाट अपहेलित भएकाहरूको आश्रयस्थल र आस्थाको केन्द्र योगमायाको कुटी रहेको छ । कुटीमा यस्ता मानिसको उपस्थिति अर्थपूर्ण छ । राज्य र सनातनी पूर्वाग्रहबाट डामिएकाहरूको पहिलोे आश्रस्थल कुटी नै हो । त्यसपछि मात्र भक्तिमार्गको केन्द्रमा परिचित भएको छ मझुवाबेँसी । भक्तहरूलाई सुखमा नमात्तिन र दुःखमा नआत्तिन अह्राइएको छ । यसको व्यावहारिक प्रयोग योगमायाबाट आरम्भ भएको छ । नैनकलाका रोगी र बूढा पतिको असामयिक मृत्युको खबर पाउँदाका अवस्थामा पनि उनको मन विचलित भएको छैन । उनका ज्वाइँको मृत्यु भएर छोरी बेसाहारा बनेको दुःखद् खबर पाउँदाका घडीमा पनि कुटीको भजन रोकिएको छैन । बरु अखण्ड मात्रामा भक्ति गर्नु मझुवाबेँसीका कुटीको विशेषता बनेको छ । ईश्वर प्रत्येक जीवभित्र रहन्छ । घरघरमा घ्यूको बत्ती बाल्नुभन्दा मनको बत्ती बालेमा सर्वव्यापक ईश्वर स्वहृदयमा आलोकित हुन्छ भन्ने धारणा उपन्यासमा प्रस्ट रूपमा आएको छ (पृ.२८९) । यसरी ‘मनको बत्ती’ भन्ने औपन्यासिक चिन्हले कुण्डलीबाट आत्मजागरलाई अप्रत्यक्ष रूपमा द्योतन गरेको छ । गरिब, पिछडिएका, शोषित, दुःखान्तमा परेका र अनेक जातपातका नाममा पीडितहरूलाई ईश्वरकै सन्तान मानी विना भेदभाव भक्तका रूपमा भजनमा प्रवेश गराइएको छ । ईश्वरलाई सुख दुःखको साथी मान्न आग्रह गरिएको छ । जन्म र मृत्यु मान्छेको अधीनमा नभएको हुनाले त्यसबाट निर्भय बन्न सक्ने उपायको सन्धान गर्न भनिएको छ । यसरी जन्ममृत्युको चक्करको तन्तु भक्तियोगको औजारले काटेर सुखदुःखमा समभाव राखी निर्गुण परमात्माको उपासना गरेमा सहज रूपमा मुक्त भइन्छ भन्ने भाव जोसमनी मतसँग निकट रहेको छ ।
उपन्यासको सम्बन्ध योगमायाको व्यक्तिगत जीवनीसँग बढी सम्बन्धित भएको हुनाले उनको चरित्रको प्रभाव जताततै भेटिनु स्वभाविक नै हो । सोही कारण योगमायाको ईश्वरप्रतिको आस्था केन्द्रीय कथ्यका रूपमा उपस्थित भएको छ । उनको ईश्वरप्रतिको भक्ति ५० वर्षको उमेरसम्म सामान्य तरिकाको छ भने त्यसपछि विधि र प्रक्रियाकोे भिन्नताबाट भक्तिको मात्रा प्रगाढ बन्दै गएको खुलस्त रूपमा पाउन सकिन्छ । जीवन र मृत्यु मानिसको अधीनमा नभएको हुनाले त्यसको भयलाई समूल नष्ट गर्न ईश्वरको परीक्षामा उत्तीर्ण हुन आवश्यक रहेको भरोसाकेन्द्री विचार उपन्यासमा धनात्मक छ । निर्गुण ईश्वरको चर्चा उपन्यासमा भएको र जोसमनीहरू पनि निर्गुण ईश्वरको आराधनालाई निःसर्त स्वीकार गर्ने हुनाले त्यसैको प्रभाव प्रस्ट देखिन्छ ।
३.३ सनातनी कर्मकाण्ड पद्धतिमा अविश्वास
मानिसले व्यावहारिक रूपमा कार्य सम्पन्न गर्नका लागि कठिन हुने, श्रम, समय र द्रव्य ज्यादा लाग्ने झञ्झटिला विधिविधानमा भने यस मतको रुचि रहेको छैन । पुरोहित्याइँ गरेर जीविकोपार्जन गर्नेहरूलाई त शशिधरले ‘ठगनके उपाइ’ भनी कविता लेखेर उछितो काडेका छन् । त्यस्ता सनातनप्रतिका आस्थाहरू उपन्यासमा साक्ष्यका रूपमा ठाउँठाउँमा भेटिएका छन् । अग्निधर न्यौपाने सनातन धर्मका कट्टर अनुयायी हुन् । जातभातमा ज्यादा विश्वास गर्ने न्यौपानेले धोतीपाटा कसेर भान्सा बसी ब्राह्मणोचित कर्मको परिचय दिएका छन् (पृ.२७) । “मायामा काया हाल्न सकिन्न गङ्गा (पृ.६७) ।” भनेर श्रीमतीलाई जैसिनी भनिएकी भान्जीले भान्सा छोएको निहुमा भान्साको खाना कुँडोमा लगेर हालिदिई कट्टरताको थप उदाहरण पेस गरेका छन् । सन्यास ग्रहण गर्नु अघि गङ्गाले पनि विधिमुताविक चोखिनिष्ट गर्ने, चोखो धोती फेरेर खाना बानाउने, शौच शयनमा प्रयोग भएका बस्त्रहरू प्रक्षालन पश्चात् प्रयोग गर्ने गरेकी छन् (पृ.५१) । उनको हरेक प्रातकालमा पितृलाई जल अर्पण गर्ने दैनिकी रहेको छ । चन्दनपुर विवाह गरेर गएकी नैनकलाका पतिको मृत्युपछि थाह पाउनेहरूले भाग्यलाई सरापेका छन् । विधवा भएकी नैनकलाको सेतो धोती, खाली खुट्टा र जङ्रङ्ग कपालको पहिरनले विरूप बनाएको छ । कट्टर अग्निधर श्रेष्ठ कनिष्ठ जातापातका पक्षधर हुन् । उनका दृष्टिमा दिदी माया न्यौपाने बहुविवाहिता, जात खेसेकी र पतिता थिइन् । उनको यस विचारलाई गङ्गाले शालीन तरिकाबाट खण्डन गरेकी छिन् । ‘घरको काम नबिगारी भक्तिनीको सेवा गरेर के बिराएँ’ भनी अग्निधरलाई प्रश्न गर्ने हैसियत उनमा बलियो बन्दै गएको छ । उनको जन्म, मरण र विवाह मानिसका लेखा हुन् भन्ने भनाइमा भाग्यमाथि प्रशस्त विश्वास छ । दैव, अदृष्ट, भाग्य, विधाता, लेखान्त जस्ता शब्द भाग्यकै समानार्थी हुन् र यस्ता शब्द उपन्यासमा प्रशस्त मात्रामा प्रयोग भएका छन् ।
नाबालक छँदै विधवा भएकी नैनकलाको कोरा पहिरिएको भङ्गिमाले हृदयलाई नराम्ररी चिराचिरा पारेको छ । नैनकला एक प्रतिनिधि पात्र मात्र हो ऊ जस्ता असमान विवाहका कारण विधवा भएका छोरीहरू प्रशस्त छन् समाजमा । उसैलाई दार्शनिक आँखाबाट हेरेर संसारमा जति भोग छ त्यति मात्र भोग्न पाइन्छ भन्छ उपन्यास । ईश्वरले कोरेको बाटोलाई कसैले फेर्न सक्दैन । बरु त्यो बाटो कर्माधीन हुन्छ । जीवनमा भोग्नुपर्ने कुरा नभोगी सुख छैन । यस लोेकमा जे गरिन्छ सोही परलोकमा लिएर जाने हो भन्ने मान्यतामा उपन्यास दृढ देखिएको छ । यस्ता स्वर्ग, नरक, दान, पुण्य र जातपातमाथि विश्वास गर्ने चलन जोसमनीहरूमा छैन । त्यसैले यस परिप्रेक्षमा उपन्यासका उल्लिखित सन्दर्भ सगुण उपासनासम्म मात्र सीमित छन् । स्वर्ग नरकभन्दा उच्चस्तरीय जीवनको निरूपण उपन्यासका यस्ता प्रारम्भिक घटनाका साक्ष्यमा भेटिएको छैन ।
कर्मकाण्ड पद्धतिमा व्याख्या गरिएअनुसारको छुवाछुत प्रथाका बिरुद्धमा उपन्यास खरो उत्रिएको छ । हातमा कुशको मुठा समातेर परलोक सुधार्ने जिम्मा केबल पुरोहितमा मात्र सीमित राख्न सकिन्न । पतिया गर्ने, जात खसाउने, चोखाउने, उपाध्याय, जैसी, क्षत्रीमा विभाजन गर्ने अनि नारी, गैरब्रह्मणलाई वेद अध्ययन (कुनै पनि शिक्षा अध्ययन गर्नबाट बञ्चित गर्ने) गर्न नदिने नियम सिधासाधा वेदको मूल मर्म विपरीत रहेको छ (पृ.१६७) । मान्छेका नाममा, काममा, जन्ममृत्युमा, धाराकुवामा, भोजनमा समेत भेदभाव गरी समाजरूपी झ्यालखानमा कैद भएका छन् गैरब्राह्मणहरू । उनीहरूका आवाजहरू दबाइका छन् । महिनामारी हुँदा नारीप्रति गरिने व्यवहार अशोभनीय छ । जन्मकै आधारमा छुतअछुत भनी ईश्वरका सन्तान र आफ्नै भाइलाई थिचोमिचोमा राख्ने चलन समाजमा व्याप्त छ । त्यसकारण विभेदको उकुसमुकुसबाट सास फेर्नै नसक्ने गरी भित्तामा पु¥याएका गैरब्राह्मणहरू, गरिब ब्राह्मणहरू जोसुकै जस्तोसुकै देश, काल, परिस्थिति, रङ, उमेर, राष्ट्रियता र नश्लले योगमायाका कुटीमा सम्मानपूर्वक बाँच्ने ठाउँ पाएका छन् । यो कुटीको पहिलो र अनिवार्य नियम हो । जीवन निर्वाहका लागि जुनसुकै जातिलाई प्राकृतिक स्रोतहरू समान रूपमा आवश्यक पर्छन् । उस्तै तरिकाले भोकप्यास लाग्छ । बाहिरी र भित्री स्वरूप पनि उस्तै हुन्छ । रक्तसञ्चार प्रणाली समेत समान छ । दुखाइ, हर्ष, पीडा र खुसीमा उस्तै मनोभावहरू आविर्भाव हुन्छन् भने जातका आधारमा समाजलाई किन विभाजन गर्न आवश्यक छ ? भनी दह्रोसँग जातिवादी समाजको भण्डाफोर उपन्यासले गरेको छ । यही अन्याय, तिरस्कार, असमानता र घृणालाई अधर्म र त्यसको विपरीतलाई धर्मका रूपमा परिभाषित गरिएको छ । भजन भइराखेका समयमा अलि टाढाबाट हेरिरहेकी काँहिली कमिनीलाई भजन समारोहमा प्रत्यक्ष सामेल गराई हाकाहाकी उसका हातको पानी खाएर छुवाछुतकोे काँडा उखेल्ने कामको सुरुवात योगमाया आफैँले गरेकी छन् (पृ.१६२) । उनको मत छ, घर, धारो, भाँडा, मन्दिर र मूर्ति समेत बनाउन हुने तर छुन नहुने नियम धर्म विपरीत छ । निर्जीव मूर्तिको पूजा गर्ने तर हृदय भएको सजीव मानवलाई बेवास्ता गर्ने चलन धर्मका बिरुद्धमा छ । मूर्तिपूजा, कर्मकाण्ड, दानपुण्य र अन्त्येष्टि कर्मसमेत भड्किलो बनाउने काम अन्त्य हुनुपर्छ । ऋणले चुर्लुम्म डुबिने अवस्था छ भने अनिवार्य ठानिएका वैदिक कर्म समेत कम गर्नुपर्छ । यस्ता कर्मबाट कर्मकता र प्रापकलाई भन्दा पुरोहितलाई ज्यादा लाभ हुने भएको हुनाले तिनमा सुधार आवश्यक छ । खराब पुरोहित्याइँ सुधारको आरम्भ उनीहरूबाटै गर्नुपर्छ भनी उनीहरूलाई प्रशिक्षण दिने काम गर्ने र खुलेआम शास्त्रार्थ गरेर अज्ञानीहरूमा चेतना भर्ने काम योगमायाबाट भएको छ (पृ.१७८) । यहीँबाट जातप्रथाको समर्थनका बिरुद्ध निर्मम रूपमा उत्रिएको पनि पाउन सकिन्छ । आन्हिकसूत्र र मनुस्मृति निर्दिष्ट श्रेष्ठ जातिसम्बन्धी चिन्तनको खण्डन पनि यहीँबाट सुरु भएको छ । उपन्यासमा यस्ता विभेद अज्ञानका कारण उत्पन्न हुने र ज्ञानको आलोकबाट तिनलाई सरल विधिमा ढाल्नका लागि आह्वान गरिएको छ । ज्ञानाधिगम हुनका लागि धर्म (सत्य र न्याय) को अनुसरण गर्नुपर्ने अपरिहार्य आवश्यकता देखाइएको छ । यस्तो औपन्यासिक चिन्तनभित्र धार्मिक कट्टरताका विरुद्ध सहज मार्गको अनुसरण गरिएको छ । यसरी जापातका बिरुद्धमा निर्ममरूपमा उत्रन सक्ने हिम्मत तत्कालीन समयमा जोसमनीका अनुयायीहरूमा ज्यादा मात्रामा रहेको छ । उपन्यासका विविध ठाउँमा त्यस मतको प्रभावकारी प्रयोग भएको छ ।
सन्त ज्ञानदिल दासले पूर्वी क्षेत्रमा चलाएको समाज सुधारको प्रखर प्रभाव उपन्यासकी पात्र योगमायामा परेको छ । समाजमा प्रचलित क्लिष्ट मात्र होइन कि असान्दर्भिक आचारहरू परिमार्जन गरी मानवको कल्याणमा समर्पित व्यावहारिक विधिविधानहरू मात्र स्वीकार गर्ने नियम योगमाया र उनका दादा गुरु ज्ञानदिलले अङ्गीकार गरेका छन् । ज्ञानदिलले स्वीकार गरेको जातीय समानता अङ्गीकार गरी गैर ब्राह्मणलाई नसाजन्य पदार्थ भक्षणकोे स्वीकृति दिएर त्यतै भुलाई जाति प्रथालाई बढावा दिएकोमा उपन्यासले आक्रोश ओकलेको छ । तत्कालीन समाजमा जातिवाद प्रतिष्ठित थियो भन्ने प्रमाण प्रेमनारयण, महानन्द, गञ्जबहादुर, गङ्गा अधिकारी र मोतीबहादुरहरूलाई जात घटुवा गरिका प्रसङ्गबाट निरूपण गर्न सकिन्छ । जातप्रथाबाहेक लैङ्गिक श्रेष्ठताको नियम पनि त्यस समयमा व्याप्त थियो । श्रीमान् श्रीमतीको मृत्युमा नारीलाई फरक र पुरुषलाई फरक नियम बनाइएको छ । ढाँट, छल, डर, धाकधम्की र ललाइफकाइपूर्वक गरिने बेमेल विवाहलाई उपन्यासले स्वीकृति दिएको छैन । कन्या हुँदै (रजश्वलापूर्व) बालिकाको विवाह गरिदिएर स्वर्ग जाने आकाङक्षाभित्र तीब्र आस्तिकता मात्र होइन ज्यादा अन्धविश्वासी चिन्तन पनि रहेको छ । छोरीहरू पराइघरमा निर्मम यातनाको शिकार हुने गरेका छन् । बाआमाहरू काउछो पन्छाएजसरी कानमा तेल हालेर खोक्रो इज्जतमा नाक ठडाएर बसेका छन् । विवाहित छोरीको गुनासो सुनेर तिनका दुःख बुझिदिने परिपाटि छैन । नारीको सामथ्र्यमाथि शङ्का गर्ने पुरुष पुरोहितदेखि लिएर बुहारी गङ्गासम्मलाई एकदमै निडरतापूर्वक तर्क गर्नसक्ने शक्ति योगमायामा रहेको छ । कमजोर आँक्नेहरूको त उनले सातो नै खाएकी छन् । विधुर वा विधवा यदि विवाहका लागि इच्छुक भएमा विवाह गर्न स्वीकृति दिनु पर्छ भन्ने जोडदार माग छ । महिलाहरूलाई कात्रोको जीवन भिराएर जडवत् व्यवहार गर्ने कुसंस्कारको घोर भत्र्सना उपन्यासले प्रत्यक्ष रूपमा गरेको छ । समाजका खाराब दुर्गुुणहरूलाई हटाएर विभेदरहित आदर्श समाज निर्माणको कामनालाई प्रस्तुत उपन्यासले सार्थक रूपमा निरूपण गरेको छ । यसकारण उपन्यास जोसमनी आदर्शवादको टेकोमा अडिएको छ ।
अभिचारका नकारात्मक विधानको बर्खिलाफमा जोसमनी मत उभिएको छ । उनीहरूले कर्मकाण्डका नियमहरूलाई अस्वीकार गर्ने मात्र होइन गरिबमारा दानपुण्यको निषेध गरेका छन् । उपन्यासमा सनातनी संस्कार अनुसार अग्निधर न्यौपानेको अन्तिम संस्कार त सम्पन्न भएको छ तर गरुडपुराण वाचन र श्रवणमा रोक लगाइएको छ । पुराणका अव्यवहारिक पक्ष र शोकमा झन् सन्ताप थप्ने विधिहरूको निषेध गरिएको छ । ‘ब्रह्म जानाति ब्राह्मण’ शास्त्रोक्त नियम भएको हुनाले कोही कसैले जन्मका आधारमा ब्रह्मण हुँ भन्छ भने त्यो सरासर गलत हो । कतिपय धार्मिक ग्रन्थले ब्राह्मणलाई जन्मजात उत्कृष्ट मानेकामा भने उपन्यासको विमति रहेको छ । गाउँमा पुराण कथाका वाचनका सिलसिलामा योगमायाले डटेर यस मतको पक्षमा बहस गरेकी छन् । चिसोका कारणले, कुपोषणले, न्यानो नपाएर अनि बृद्धाश्रममा पुगेका बाआमाको मृत्युमा शैयादान, गोदान, भूमिदान, स्वर्ण र बस्त्रदान गरेर बाबु आमालाई तारिँदैन बाबै ∕ बरु जीवित छँदै उनीहरूको सेवा गरेमा पुण्य लाभ हुन्छ र त्यो व्यावहारिक पनि छ भन्ने सन्देश अग्निधरको काजक्रियामा संलग्न पुरोहित्याइँका सन्दर्भबाट आक्रोशपूर्ण तरिकाले निहारिएको छ । यसो गर्नुको अर्थ निष्काम कर्म र मानवहितकारी गर्ने सादाचारी कर्मबाहेक अन्य बैतरणी आदि नदी भन्ने डरावना नियमले ज्ञानको ढोकालाई पिँधमा पु¥याउँछ । यसले पुरोहितलाई फाइदा त गर्छ तर मृतक र उसको परिवारले कुनै लाभ ग्रहण गर्दैन । उनीहरू झन् ऋणमा डुब्ने परिस्थिति सिर्जना हुन्छ । त्यसकारण कर्मकाण्डका यस्ता विधिविधान मानवीय जीवनका लागि व्यावहारिक छैनन् भन्ने चिन्तन जोसमनी मत हो । त्यो मतको प्रत्यक्ष प्रभाव योगमाया उपन्यासका पात्रहरूको व्यवहारबाट देखिएको छ ।
वैदिकहरूले वेदको मर्म बुझेर समाजका कुरीतिहरूको सुधार गर्नुपर्ने मात्र नभई समाजका अनावश्यक नियम हटाएर ज्ञानमार्गको प्रचारप्रसारमा ध्यान दिनुपर्छ भन्ने विचारमा समेत टेवा दियो । सोही विचारको प्रभाव योगमाया उपन्यासमा पनि देखिएको छ । उपन्यासअनुसार वि.सं. १९८४ सालतिर पण्डित प्रेमनारायणको पुराण वाचन यज्ञमा १८०० जति मानिसको उपस्थिति रहेको थियो (पृ.२३५) । यो उपस्थिति तत्कालीन परिवेशमा ज्यादै अर्थपूर्ण थियो । यो उपस्थितिले त्यहाँका मानिसलाई गोलबन्द त ग¥यो नै धार्मिक जागरण अभियानमा समेत योगदान दियो । उक्त धार्मिक जागरण अभियानमा किसानहरूले आफ्ना कर्मअनुसारका औजारहरू बोकेर उत्सुकतापूर्वक उपस्थित भएका थिए । भारतमा चलेको चर्खा आन्दोलन, आर्यसमाजी तुलसी मेहर श्रेष्ठको जागरण अभियान, प्रचण्ड गोर्खा नामक संस्थाको सक्रियता समेत सो समयमा राम्ररी बढेको थियो । सामाजिक अन्यायको जरो उखेल्न चाहने योगमायाको काममा रघुनाथ तिवारी, लोचननीधि तिवारी, कविप्रसाद गौतम, छविप्रसाद गौतमको साथसहयोग ज्यादा महŒवपूर्ण थियो । यसरी समाजका कुरीति, होची अर्घेलीहरू निर्मूल पारी समुन्नत समाजको निर्माण गर्नुपर्छ भन्ने भाव उपन्यासमा ध्वनित भएको छ । आकाश, हावा, पानी र माटोलाई प्रेम गरी त्यसमै लीन हुने मानवीय चोलामा जटिल विधिको उपयोग हटाएर सरल धर्मानुशासनको प्रयोग गरी गुणस्तरीय जीवन जिउनुपर्छ भन्ने जोसमनी मत उपन्यासमा प्रच्छन्न रूपमा व्यक्त भएको छ ।
स्वार्थप्रेरित कर्मकाण्डका विधिमा रहेका अव्यावहारिक पक्षको निरूपण गर्ने क्रममा उपन्यासले ब्राह्मणहरूको विरोध गरेको जस्तो देखिए पनि मूलतः गलत पुरोहित्याइँप्रति विमति रहेको साक्ष्यका आधारमा निचोड पाउन सकिन्छ । जातपातको कुरामा जसरी जोसमनी मत स्पष्ट छ त्यसरी उपन्यास पनि त्यसलाई अस्वीकार गरेर स्पष्ट बनेको छ । खासमा कर्मकाण्डले छुवाछुत, लैङ्गिकता र अव्यवहारिक विधिनिषेधको प्रक्रियालाई स्वीकार गर्ने हुनाले त्यसलाई निषेध गरेको जोसमनी मतले सरल आराधना पद्धतिलाई सर्वस्वीकार्य बनाउने काम गर्न छुटाइएको छैन । यसो हुँदा पनि उपन्यासको स्वाथ्यमा बाधा उत्पन्न भएको छैन र कोरा दार्शनिक पुराण बन्नबाट जोगिएको छ उपन्यास ।
३.४ शैक्षिक जागरणमा रुचि
जोसमनीहरूले जनतालाई शिक्षादीक्षाबाट दीक्षित गर्ने र चेतना विस्तार गर्ने काममा ध्यान केन्द्रित गरे । उनीहरूले गुरूपरम्पराबाट प्राप्त शिक्षा समाजलाई दिएर गुन लगाए । उनीहरूको सङ्गतको प्रभाव उपन्यासकी प्रमुख पात्र योगमायामा पनि देखिएको छ । योगमायाले स्वर्गद्वारी महाप्रभु अभयानन्द द्वितीयबाट गुरूपञ्जा (दीक्षा) लिएर जोेसमनी पन्थमा आबद्ध भई श्वेताम्बर ग्रहण गरेकी थिइन् । जतिबेला योगमायाले गुरुदीक्षा लिइन् सोही समयमा सन्त ब्रह्मदिल दासले पूर्वका किराँत बस्तीहरूमा जोसमनी मतको धडाधड बाँडिरहेका थिए । उनी गुरुहरूबाट प्रभावित योगमायाले पनि नेपालका विविध ठाउँमा पुगेर नवीन ज्ञानको प्रचारप्रसार गरिन् । देश दुनयाँमा फैलिएर रहेका साधारण अनपढ अशिक्षित अज्ञानीहरूलाई शिक्षाको दैलो उघारेर सचेततापूर्वक उद्बोधित गर्ने काम गरिन् । बद्रीनाथधाम तीर्थ घुमेर आउने समयमा योगमायाले कपाल समेत काटेकी थिइन् र समाजिक नातासम्बन्ध र जातिगत आस्था पूर्णरूपमा त्याग गरेको घोषणा गरेकी छन् । त्यसपछि उनका बाहिरी अलङ्कार मात्र परिवर्तन भएका छैनन् अपितु भित्री मानसिक चेतनामा समेत परिवर्तन आएको छ । त्यसपछि उनले गहिरो सोचमा परेको हराएको वस्तु नभेट्टाएर खोजीको उपाय पहिल्याउन चाहेको जास्तो व्यवहार देखाउन थालेकी छन् । उनमा कुनै दुविधा, विशाद, विस्मय, एकोहोरोपन र काल्पनिक कुनै तरङ्ग मनमा उद्वेलित भइरहेको भङ्गिमा देखाउन थालेकी छन् (पृ.१३६) । यो अवस्था भनेको ज्ञानको भोक जागेको तर कुन कुराको सेवनबाट त्यसलाई मार्न सकिन्छ भन्ने बाटो नपाएको अवस्था हो । त्यो बाटोको पहिचानका लागि दुविधाग्रस्त मनको विभ्रमलाई चिर्दै माइती घरको आवासलाई त्यागेर कुटीमा बस्ने निर्णयरूपी ज्ञानको टुङ्गोमा पुगेको पाउन सकिन्छ । स्वलक्ष्य सिद्धिका लागि हुरीको बेगलाई काखी च्यापेर एक्लो बृहस्पतिका समान शैक्षिक चेतनाको प्रकाशनबाट समाज परिवर्तनको रणमैदानमा उत्रिएको कुरा उपन्यासमा सार्थक रूपमा पहिल्याउन सकिन्छ । यसरी आफूले जानेको ज्ञान निश्वार्थ तरिकाले समाजमा बाँडेर सचेत तुल्याउनु जोसमनीहरूको मुख्य विशेषता हो ।
समाजमा व्याप्त गरिबी, अशिक्षा, शोषण र अन्यायग्रस्त समाजलाई चेतनाको आभाबाट आलोकित पार्नु पर्छ भन्ने भाव उपन्यासमा मिहीन रूपमा प्रस्तुत भएको छ । उपन्यासले दासदासीहरू, शोषित पीडितहरू, अछुत भनिएकाहरू, गरिब समुदाय, बालविधवाहरू, विधुरहरू, न्यायपीडितहरू, अत्याचारग्रस्त निमुखाहरू र सहूमहाजनको शोषणबाट उत्पीडनमा परेकाहरूलाई ‘तिमीहरू उठ, जाग, अन्याय नसहू, घरका बन्धनहरू तोड, सती जान बन्द गर’ भन्ने सुकिलो विचारको वकालत गरेको छ । यसरी समयसमयमा अन्यायको जाँतोमा पिल्सिएका जनतालाई ईश्वरीय भजनका माध्यमबाट एकताबद्ध गरी सचेत तुल्याएर प्राण भर्ने काम उपन्यासमा प्रत्यक्षतः गरिएको छ । अन्याय गर्दा पनि नगर, सहँदा पनि नसहू भनी आफू बाँच र मानवसहित सबै प्राणीलाई बाँच्न देऊ, समाजका खराबीहरूलाई पहिल्याउनका लागि र तिनमा राम्ररी सुधार ल्याउनका लागि आफैँले प्रयास गर्नुपर्छ भन्ने सुन्दर ज्ञानात्मक विचारहरू उपन्यासमा प्रशस्त मात्रामा पाइन्छन् । शिक्षाको प्रशस्तिगान मिहिन रूपमा लुकेर बसेको पाइने यस्ता विचारहरूभित्र बढी मात्रामा ज्ञानदिल दासको चिन्तन अन्तर्घुलित भएको देखिएको छ ।
योगमाया उपन्यासमा गुरूपरम्पराबाट दीक्षित बन्ने परम्परा कायम देखिएको छ । उपन्यासमा स्वाध्यायनका अतिरिक्त कथावाचन, योगवाणी प्रकाशन र पठित विषयलाई व्यवहारपरक बनाउने काम समेत सामूहिक रूपमा गरिएको छ । प्रमुख पात्र योगमायाले रचना गरेका वाणीहरू लेख्ने, गाउने, गौँडाहरूमा लगेर टाँस्ने र प्रचारप्रसार गर्ने काम तीब्र मात्रामा भएको छ । उपन्यासअनुसार योगमायालाई गुरु थापिन् गङ्गाले । उनैले देखाएको बाटोमा हिँडे प्रेमनारायण । पण्डित प्रेमनारायणले दुखुना र नैनकलालाई शिक्षा दिएर नारीशिक्षाको बीज रोपे (पृ.२८१) । डम्बरबहादुर र पण्डित गोपीकृष्णले पनि सर्वार्थ योगवाणी लेख्ने काममा मद्दत गरेर गुन लगाए । ठुलीहजुरले लेखेका जागरण वाणी खयरको मसीमा निगालोको कलम चोपेर नेपाली कागजमा लेखी मुकामहरूमा टाँसिए । काँशीमा गोप्य तरिकाले छपाइ गरेर ल्याएका पुस्तकहरू प्रशासनबाट धनकुटामा समातिए । मझुवाकै नजिकको मनकामना मन्दिरमा भारतबाट आएका आर्यसमाजी साधुहरूको सङ्गतपछि योगमायाको कुटी झनै सुधारको चाहनाबाट प्रज्वलित बन्यो (पृ.३०३) । महानन्दले छोरो हिरण्यलाई पढाउनका लागि काठमाडाँै पठाए । डम्बरबहादुरले छोरो लोकेन्द्रलाई वेद पढाउन पाए हुन्थ्यो भनी मरिहत्ते गर्थे । कुटीबासीहरूले थिचोमिचो र अन्यायले पिल्सिएका जनताको उन्मुक्तिका लागि देउसी भैलो खेली आफूहरू अग्निदाहमा खरानी भएर मर्न लागेको खबर गाउँगाउँमा सुनाए । दुखुनाले आमा गङ्गाले भनेका घटनाहरूको टिपोट गरेर कथा लेखी । आफूूले जस्तै तमाम नेपालबासी छोरीहरूले समान रूपमा शिक्षा प्राप्त गरुन् भन्ने आमाको चाहनालाई पुरा गर्न र उद्बोधनको क्रान्तिलाई सफल बनाउनका लागि जलसमाधि लिन लागेको उद्घोष गरी । अभयानन्दको गुरूपरम्पराबाट दीक्षित योगमाया र उनका कुटीपरिवार जोसमनी मतकै सुधारवादी विचारबाट प्रभावित देखिन्छ । समाजिक दासता र सांसारिक मोहबाट मुक्ति दिलाउनका लागि शिक्षाबाहेक दोस्रो अस्त्रको विकल्प छैन भन्ने विचार सजीव रूपमा प्रस्तुत छ । यसरी अशिक्षारूपी अज्ञान समूल नष्ट भएपछि मात्र जनताको घर सुखले भरिन्छ भन्ने चेतना जोसमनीहरूबाट प्रदत्त ज्ञान हो र त्यो उपन्यासमा स्पष्ट रूपमा प्रकट भएको छ ।
सामूहिक रूपमा योगमायासँग बस्ने कुटीबासीका लागि काइदाका समतामूलक नियम बनाइएको छ । त्यहाँ कसैलाई पनि भेदभाव नगरी सबैलाई सरोबर नियमन गरिएको छ । गाँजा, भाङ, धतुरो जस्ता नशालु पदार्थको सेवनमा बन्देज लागाइएको छ । मत्स्य र मांस जस्ता हिंसाजन्य भोजन आश्रममा बर्जित छन् । अघोरी, सक्कली नक्कली, जासुस र वैरागी जो जेजस्ता भए पनि साधु भेषधारी सबैले नियमपूर्वक आश्रममा बस्न पाउने व्यवस्था मिलाइएको छ । त्यसको समर्थनमा ठुलीहजुर याने योगमायाले भनेकी छन् ः
जातभात, ऊचनीच, धनी गरिब, जनाना मार्दाना, कोहीमा बन्देज छैन । लिङ्गभेद गर्दैनौँ । जाति र वर्ण विभाजनको पनि घोर विरोधी हौँ । अत्याचारका दुस्मन हौँ हामी धर्मका हिमायती(पृ.३७१) ।
यसरी कुटीको आश्रयमा आएका हरेक मानवलाई आश्रय दिने परम्परा त्यहाँ जीवित छ । आगन्तुकलाई आश्रमका नियम बुझाउने काम कहिले योगमाया आफैले, कहिले नैनकाला र कदाचित् गङ्गाले गरेका छन् । नियम विपरीत चल्नेहरूलाई पनि सुन्दर तरिकाले सम्झाइ बुझाइ गरी (नैनकलाको भने कडा मिजास छ) असल पथमा हिँडाउने काम प्रशस्त मात्रामा भएको छ । योगमाया ६८ वर्षकी पुग्दा चालिसवर्ष जतिको उनको धार्मिक अनुभव देखिएको छ । उनको धार्मिक विचार रुढ नभइकन परिष्कारपरक छ भन्ने अवधारणा उपन्यासमा पर्याप्त मात्रामा ध्वनित भएको छ । उनको यस्तो विचारबाट जोसमनी मतको परिष्कारवादी चिन्तनसमेत अभिव्यक्त भएको छ ।
जसरी जोसमनीहरूले जागरणको पाठ चेलाहरूलाई पढाए त्यसरी नै योगमायाले चोलाचेलीहरूलाई जागरण विद्या गहन तरिकाले प्रदान गरेकी छन् । उनको सुधारपरक विद्याबाट चेलाहरू प्रशस्त मात्रामा मोहित भएका छन् । ज्ञानको भोक, अशिक्षा, अन्यायको आगोबाट पिल्सिएका भक्तलाई सामाजिक उद्बोधनजन्य चेतना जागृत गराएर अत्याचारका बिरुद्धमा निर्भयतापूर्वक बोल्न सक्ने बनाउने काम उनीबाटै भएको छ । यही समतामूलक र समावेशी शैक्षिक परम्परामा जोसमनीको सचेत धर्मानुशरण गहिकिलो तरिकाबाट अनुप्राणित भएको छ । त्यसकै माध्यमबाट समाजलाई जागरुक बनाउँदै विकल्पका नयाँनयाँ बाटाहरूको अन्वेषण गर्ने शक्ति पाठकमा भर्नका लागि उपन्यास सक्षम देखिको छ ।
३.५ सांसारिक मायामोहमा अनाशक्ति
योगमाया उपन्यासले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर मानव कल्याणका लागि कर्म गर्न आह्वान गरेको छ । यसले मनमोहको डोरीमा अड्किएको मानव सम्बन्धको ग्रन्थी फुकाउने काम गरेको छ । मनमोहको डोरी च्वाट्ट चुँडाएर पारिवारिक सम्बन्धबाट विमुख भएकी योगमाया पचास वर्षकी पुगेपछि बाक्लै तरिकाले निर्मोही बनेको व्यवहारबाट देखएको छ । उनी आफूले जीवनमा भोगेको पारिवारिक प्रताडना र वैवाहिक जीवनको व्यर्थताको अवबोधपछि निस्पृह बढ्दै गएकी छन् । उनी माइतीकोे नाता सम्बन्धलाई तोडेर धोद्ले पुगिन् । धोद्लेका घरको नातालाई तोडेर फेरि माइती फर्किन् । माइतीबाट भागेर कँडेलसँग आसाम गइन् । कँडेलको मृत्यु भएपछि नैनकलाका बासँग बिहे गरिन् । उनीसँगको सम्बन्धलाई तोडेर योगमार्गमा हिँडिन् । नैनकलाको बिहेबारी सकिवरी मायामोहबाट मुक्त भएर आफूले जानेको ज्ञान जनमानसमा फैलाउने महान् कार्यमा तल्लीन भइन् । उपन्यासका यस्ता विविध सन्दर्भले मोहको डोरी क्रमिक गतिमा काट्दै जानुपर्छ, सच्चा ज्ञानले मात्र सम्बन्धको डोरीलाई च्वाट्ट काट्न सकिन्छ, ज्ञानको आविर्भाभाव भएपछि पूर्वसंस्कारहरू तिरोहित भई नयाँ संस्कारहरू जागृत हुन्छन् भन्ने भाव व्यक्त गरेका छन् । मानिसले भोगिरहेका सांसारिक विषयहरू मोहप्रद भएका हुनाले तिनको कम प्रयोगबाट मोहलाई घटाउन सकिन्छ । तिनीहरूप्रतिको आशक्ति कम गरी ज्ञानमार्गको बाटो अवलम्बन गर्नुपर्छ भन्ने जोसमनीहरूको विचारबाट उपन्यास उत्प्रेरित भएको देखिन्छ ।
जोसमनीहरूले आध्यात्मिक बाटोमा लागेका जनले परिवारको त्याग गर्नैपर्छ भन्ने मान्दैनन् बरु गार्हस्थ धर्मसँगसँगै आध्यात्मलाई पनि अगाडि बढाउन सकिन्छ भन्ने मान्यता राख्दछन् । फेरि सन्यास लिनै हुन्न भन्ने पनि उनीहरूको मत होइन । यीमध्ये सन्यासपन्थी मार्गलाई अवलम्बन गर्दै योगमायाले परिवार र नातासम्बन्धको मोहबाट मुक्त भएको घोषणा गरी गृहत्याग (माइती घर) गरेकी छन् । यसो गर्नु योगीहरूका लागि उपयुक्त नै हुन्छ । साही कारण उनले तपस्याबाट निस्किएपछि माइती घर फर्किन अस्वीकार गरेकी हुन् । उनले भनेकी छन्, “अब म यहाँबाट फर्कन सक्दिनँ । बाँचुञ्जेल यतै कुटीमा बस्ने, तपस्या गर्ने, भजन कीर्तन गर्ने र यतैयतै प्राण बिसाउने इच्छा छ मेरो (पृ.१४८) ।” उनको यस भनाइमा पारिवारसँग रहँदा आफूले सोचेको र चाहेको जसरी स्वतन्त्र भएर काम गर्न सकिन्न, परिवारप्रतिको मोह र जिम्मेबारी बढी हुन्छ, नातागोताको लावालस्करले योगपथमा अवरोध खडा गर्छ भन्ने विचार अन्र्तनिहित छ । यो भनेको नितान्त निर्लिप्त अध्यात्मवादी चिन्तन हो । यसमा आत्मिक उन्नतिका साथसाथै सामाजिक जागरणको योजना मनमनमा रहेको छ भनी देखाउन खोजिएको छ । यही पवित्र उद्देश्य पुरा गर्नका लागि उनी सहसा नेपाल आइन् र परिवार छोडेर आत्मजागरणमा लागिन् । उनको यस्तो चरित्रले भोगको निरसता मात्र नभई तीखो निरर्थकता समेत सानदार रूपमा प्रदर्शन गरेको छ ।
सुखमा हौसिने र दुःखमा रोइकराइ गर्ने सन्तहरूको स्वभाव होइन । उनीहरूले त साधानाबाट मनको संवेगलाई लियन्त्रणमा लिन जानेका हुन्छन् । जीवनमा आइपर्ने कठिन परिस्थितिलाई समेत ईश्वरीय परीक्षा वा नियमित आकस्मिकता ठानी सजिलै ग्रहण गर्ने बानी हुन्छ । समदर्शिता र सहनशीलता विकसित भएपछि आइपर्र्ने सुख दुःखका बाधाहरू अपसारित हुन्छन् । योगमाया उपन्यासमा पनि त्यस्तै भएको छ । ‘छोरी नैनकला विवाह गरेको एक वर्षमै बालविधवा भइन्’ भन्ने खबर ध्यानावस्थामा कुटीमा बसेकी योगमायालाई जिम्माल्नी आमैले सुनाउँदा पनि उनको चेहरामा कुनै अफशोष देखिएको छैन । छोरीको यस्तो दुःखद् परिस्थितिलाई सहजै पचाएकी छन् । यदि साधारण नारी भएको भए उक्त परिस्थिति सहसा सम्हालिन सक्ने अवस्था होइन । अधिक के कुरा योगमार्ग अँगालेकी सानीहजुर (गङ्गा) समेत शोकाकुल भएको अवस्थामा ठुलीहजुरमा कुनै शोकको लेस वा मानसिक अवशाद नदेखिनु असाधारण अवस्था हो र त्यो आध्यात्मिक रूपमा निकै अर्थपूर्ण छ । उनको गहबाट आँसुकोे थोपो खसेको छैन । शान्त र जडवत् स्थिर मुद्रामा जमेर बसेकी छन् (पृ.१५३) । यस अवस्थामा महात्मा बुद्धले समेत दुःखका कारण बताएका जन्म, मृत्यु, जरा र व्याधीहरूको प्रभावबाट आफू नितान्त अप्रभावित रहेको साक्ष्य सार्वजनिक गरेकी छन् । यसरी मनलाई कठोर रूपमा नियन्त्रण गरी स्वानुकूल चलाउन सक्नु चानचुने कुरा होइन । यसो हुन हठ साधनाबाट मानसिक शुद्धी र त्यसपछि वैराग्यको प्रगाढता बढेको हुनुपर्छ । वैराग्यको प्रगाढतासहित निर्मोही बनेको उनको अवस्थाले जोसमनी सन्त शशिधरको वैराग्याम्बर निर्दिष्ट विचारलाई अभिव्यञ्जन गरेको छ ।
उपन्यासमा यति धेरै पात्रको मृत्यु भएको छ मानौँ यो मृत्युपुराण हो । जसरी हिटलर र यहुदी उपन्यासमा हजारौँको मृत्यु भएको देखाइएको छ त्यसरी यस उपन्यासमा पनि सयौँको सङ्ख्याका पात्रहरूले मृत्युवरण गरेका छन् । यस्तो औपन्यासिक सन्दर्भले मृत्युसत्यलाई स्वीकार गरी गरी त्यसबाट निर्भय बन्नका लागि अध्यात्ममार्गमा हिँड्नका लागि आह्वान गरिएको छ । उपन्यासअनुसार रुखबाट लडेर अग्निधरको, बिफरका कारण तुलसा र गिरिको मृत्यु भएपछि गङ्गामा घोर वितृष्णा पैदा भएको छ । उनले एक्लै रोइकराइ गरेर जीवनलाई लतार्नुभन्दा मानव सेवा र ईश्वरभक्तिमा जीवन अर्पण गरी भक्तिनी भएर वितरागी जीवन बाँच्न चाहेकी छन् (पृ.२४५) । भक्ति र तपस्यामा अनुरक्त डम्बरबहादुर पनि मायामोह त्याग गरी गुफामा त्यागी बनेर बसेका छन् । लहरे खोकीका कारण मृत्यु हुनुपूर्व दाजुभाइ मिलेर उफ्रौलीटारको जग्गा योगमायाको कुटीलाई समर्पण गरी परोपकारी काम गरेका छन् (पृ.३१५) । यसरी उमेरको सुरुवाती चरणमा घरगृहस्थी चलाएर साधारण भक्ति गरी बसेका पात्रहरू जीवनको उत्तरार्धतिर पुगेपछि सत्सङ्गतबाट असङ्ग्रही बनेका छन् । उनीहरूमा त्यागको मात्रा उत्तरोत्तर बढ्दै गएको देख्न सकिन्छ । यसैबाट जोसमनीको असङ्ग्रहात्मक त्यागी जीवन आलोकित भएको छ ।
साधुहरूमा रुपियाँ पैसाको लोभ नहुनु त छँदै छ त्यसबाहेक देशका विभिन्न ठाउँ घुमी जनचेतना फैलाउने थप काम पनि जोसमनीहरूबाट भएको छ । यस मतमा दीक्षित भएपछि गुरुले सिकाएको ज्ञान यथासक्य अधिक ठाउँमा द्रुततर गतिमा फैलाउनु चेलाहरूको मुख्य कर्तव्य हो । घुमफिर गरेर नादको महत्ता प्रकाश पार्ने र विद्याध्ययनका लागि सबैलाई जागरुक पार्ने जोसमनिहरूको विशेषता उपन्यासमा पाइन्छ । प्रेमनारायणले मझुवाबेँसी, काठमाडौँ र कोकाह (बराहक्षेत्र) लगायतका ठाउँहरूमा पौराणिक प्रवचन गरेर जागरणको आरम्भ गरेका छन् । हुन त उनी सिम्लेतिर रहँदा पुरोहित्याँइ कर्म गर्दै हिँड्थे तर कालान्तरमा योगमायाको सङ्गतमा आएपछि कथावाचन मात्र गर्ने काममा तल्लीन भए । उनी योगमायाका वाणी जनस्तरमा फिँजाउने, जनताका मन जित्ने, घुलमिल हुने, बाजागाजा बजाएर गाउँसहरमा डुली जनताका मनमा निरन्तर सत्यासत्यका बारेमा चेतना भर्ने काममा व्यस्त हुन्थे । उनी पनि जीवनको उत्तरार्धतिर बनारस गएर सन्यास ग्रहण गरी दण्डी स्वामी बने । त्यसपछि झनै फुक्का फिरन्ता बन्न पुगेका उनीबाहेक योगमाया समेत विविध ठाउँमा घुमफिर गरेर आत्मज्ञानका सम्बन्धमा जागरुक पार्ने काममा तल्लीन बन्न पुगेकी छन् । यसरी घुमन्ते शैलीका माध्यमबाट जनतामा आस्तिक ज्ञान प्रेषण गर्नु जोसमनी निर्दिष्ट बहुस्थानिक विशिष्टता हो ।
जसरी पुराना लुगा त्यागेर शरीरले नयाँ लुगा लगाउँछ त्यसरी शरीरले पनि कर्मानुसार पुरानो शरीर छोडेर नयाँ शरीर लिन पुग्छ । मानिसले फेरिफेरि नयाँ शरीर लिइरहने कारण अज्ञानता वा मोह हो । त्यो मोहको घडा यहीँ फुटाउनुपर्छ । प्रायश्चित्त गरेपछि अज्ञानबस गरिएका यहाँका मोहप्रद कर्महरू सुधारिन्छन् । सज्ञानमा गरिएका कर्मको भने प्रायश्चित्त हुन सक्दैन (पृ.३७२) । मोहबाट विमुख भएका प्रेमनारायण पण्डित मुडुलो टाउको र खाली खुट्टामा हिँडेका छन् । योगमायाले श्री ३ जुद्धशमशेरले दिएको असर्फीलाई ग्रहण गरेकी छैनन् । गोपीकृष्णले ‘जालझेलकै संसार रहेछ भुलचुक माफ पाऊँ । म यो मयाजालको संसारबाट मुक्ति पाऊँ’ भनी अरूणमा हेलिएर चोला समाप्त पारेका छन् भने रत्नमान बस्नेतले नागरिकहरूको मुक्तिका लागि लड्दालड्दै जेलमा परेका छन् र त्यहीँ इहलीला सेलाएका छन् । उनीहरू सबैलाई छलकपटले भरिएको संसार मोहप्रद रहेको बोध भएको छ । जेलमा भेट्न गएका बखत गङ्गाले डिल्लीबहादुरलाई दुःख होला दाजु भनेपछि उनले उत्तरमा भनेका छन् ः
सुख, दुःख, मान, अपमान, मिठो, रुखो, सजिलो असजिलो, सुविधा असुविधा केवल मनका कारण उत्पन्न हुने परिवर्तन वा मोह हुन् । सजिलोसँगै सुविधाका लागि केवल आफ्ना लागि मात्र बाँच्नुभन्दा परोपकारका लागि जीवन अर्पण गर्न पाएकोमा खुसी छु । बरु अत्याचार सहनु परेकोमा कष्ट छ (पृ.४६९) ।
तातो, चिसो, नरम र गरमजस्ता सुविधाका वस्तुले शरीरलाई मौजी बनाउँछ । तपस्वीले शरीरलाई चाहिनेभन्दा बढी सुविधा दिन आवश्यक छैन । सुविधा जति बढी भयो त्यति मोहको बृद्धि हुन्छ । मोहलाई फाल्नका लागि साधना चाहिन्छ । साधनबाट मोहको जरो उक्किएपछि सर्वत्र सुखैसुख आनन्दै आनन्द रहन्छ भन्ने जोसमनीको निर्मोही दार्शनिक चिन्तन प्रेमनारायण, गोपीकृष्ण, योगमाया र डिल्लिबहादुरका आचरणबाट देखिएको छ ।
आफ्नो र पराइमा अभेद दृष्टि राख्दै प्राप्त र गत सांसारिक वस्तुमा अफशोष पैदा नभएको परिस्थिति उपन्यासमा चित्रित छ । निर्मोहको उत्कृष्ट लक्षण हो । मायामोहप्रतिको अनाशक्ति प्रदर्शन गर्ने कार्यमा योगमायासहित उनका अनुयायीहरू माहिर देखिएका छन् । अल्पज्ञानीहरूले भने बाहिरी आवरणलाई भक्तिको कारक ठानेका छन् । मनलाई राम्ररी तहलगाएर निर्मम बन्न सक्षम भएका योगमायाका प्रशस्त अनुयायीहरू कर्मकाण्डबाट ईश्वरको अन्वेषण गर्न प्रयत्नशील रहने अभिचारवादीहरूभन्दा ओजस्वी देखिएका छन् । त्यसैले उपन्यास देखावटी भक्तिलाई भन्दा व्यावहारिक भक्तिको उत्कृष्टतालाई द्योतन गर्न सक्षम भएको छ र मोहलाई ज्ञानको झिल्कोबाट अपसारण गर्न सकिने जोसमनी मतको अभिव्यञ्जना प्रदान गर्न सफल भएको छ ।
३.६ आत्मसन्धान व्यक्तिको मुख्य कर्तव्य
मानिसको नश्वर शरीररूपी खोलमा आत्मा अजरामर छ । मानिसले जे कर्म गर्छ त्यही आत्मासँग परलोकमा जान्छ । सदाचारबाट आत्माको अवरोधक तŒव मानसिक संवेगको नियन्त्रण हुन्छ । आत्मबोधका लागि पहिला धर्मार्थ, काम र मोक्षलाई बुझ्नुपर्छ । त्यसपछि ईश्वरले लिने हरपरीक्षामा खरो उत्रन सक्ने व्यक्तिले नै मुक्ति पाउँछ भन्ने जोसमनी मत उपन्यासमा कहीँ विचार वाक्यका रूपमा त कहीँ व्यावहारिक तबरबाट घटित भएर आएको छ । त्यसलाई क्रमशः योगमाया उपन्यासका पात्रका माध्यमबाट देखाउन सकिन्छ । योगमाया आसाममा रहँदा नै साधुहरूको सङ्गतमा थिइन् । उनी भाइ अग्निधरसँग सानोमझुवा आएपछि तुम्बा बजाएर मिठो धुन निकालेर भजन गाउने गर्थिन् । यसरी भजन गाएको देखेपछि बुहारी गङ्गाले भनेकी छन् “लौ दिदीले त साधुलेझैँ पो बजाउनु हुँदो र’छ (पृ.५९) ।” बुहारीको यस भनाइले पनि योगमायामा ईश्वरीय भक्तिको उद्रेक प्रारम्भ भइसको थियो भन्ने देखाउँछ । संसारका सबै वस्तु भोगेर, दुनियाँसित लडेर, आँट र शाहसलाई जितेँ भन्ठान्नु पनि भ्रम रहेछ । सत्य अर्कै रहेछ भन्ने अनुभूति गरेकी छु (पृ.७३) भन्ने उनको भनाइबाट उनमा आत्मबोधको गहिरो छाप परेको छ भन्ने देखिन्छ । सांसारिक वस्तुको भोग मात्रबाट पनि ज्ञानानुभव हुँदैन । ज्ञानको गहनता थाह पाउनका लागि त अज्ञानता हटेर जानुपर्छ । दुनियाँ संसारमा सब कुरा जित्ता जित्दै पनि जित्न बाँकी रहेको थियो स्व अभिमान । हो त्यही अभिमानलाई समूल नष्ट गरेपछि आत्मज्ञान अभिबृद्धि हुने विचार उपन्यासमा छ । योगमायाको यस अभिव्यक्तिले आत्माको खोजी मुख्य रहेछ भन्ने सूचना पाठकलाई दिएको छ भने स्वयम् पात्रलाई त्यसको मिठो अनुभूति अधिगत देखिएको भएको छ । उपन्यासको यस्तो आत्मसन्धानको विषय जोसमनी मतको ‘अलख जगाउने’ विचारसँग सम्बन्धित छ ।
मानिसको मुख्य कर्तव्य भनेको सांसारिक बाधाहरूसँग सिँगौरी खेलेर आत्मबोधका माध्यमबाट जीवनलाई सार्थक बनाउनु हो । उपन्यासमा आत्मबोध भएको देखिने शारीरिक र मनोगत चिन्हहरू छन् । उपन्यासकी पात्र योगमायामा दुबै चिन्हहरू आलोकित भएका छन् । उनी जोसमनी मतबाट दीक्षित भएपछि अधिक मात्रामा अन्तर्मुखी भएकी छन् । पारिवारिक नातालाई उच्छेद नगरिकन आफू सबैको हुन नसक्ने ठान्ने योगमायामा मनोगत लक्षण समेत प्रस्ट देखिएका छन् । उपन्यासअनुसार होहल्लाबाट टाढा रहन चाहने, आवश्यकताअनुसार मात्र बोल्ने, घरायसी काममा रुचि नहुने, सन्तान र परिवारप्रतिको मोह घट्दै गएको जस्ता लक्षणले योगमाया आत्मज्ञानाभिमुख भएको बुझाएका छन् (पृ.१२९) । आत्मज्ञानका लागि उनले तपस्या गरेकी छन् । त्यसपछि उनलाई आत्मा शरीरमा मुख्य रूपमा रहन्छ । शरीर नाशवान् र आत्मा अविनाशी छ भन्ने बोध भएको देखाएको छ । जीवनका हरेक चुनौतीलाई निर्भयतापूर्वक सामना गर्ने शक्ति प्राप्त भई आत्मसन्धानको बाटो उज्यालिएको छ (पृ.१४७) । त्यसपछि भौतिकताप्रति कम र ईश्वरप्रतिको प्रीति बलियो बन्दै गएको छ । ईश्वरप्रतिको प्रेम बलियो भएको अवस्था सांसारिकहरूको भन्दा भिन्न मनोगत चिन्तन र आचरणबाट देखिएको छ । जोसमनीअनुसार त्यही समाधि अवस्था हो । यस्तो आत्मसन्धानसम्बन्धी प्रखर विचार उपन्यासमा प्रवचनात्मक शैलीमा प्रस्तुत भएको छ । यस प्रकृतिको प्रवचन केवल दर्शन छाँट्नका लागि सिर्जना गरिएको नभएर पात्रको कार्यगत सार्थकताबाट अभिव्यञ्जित भएको देखिएको छ ।
आत्मज्ञान भएपछि सांसारिक दुःखले सताउँदैनन् । जन्म, मृत्यु, जारा, व्याधी, शोक, वियोग आदिले प्रताडित गर्दैनन् । मृत्युबाट मानिस निर्भय बन्छ तर जब संसारमा जीव सशरीर भएर जन्मिन्छ तब यस्ता अनगिन्ति दुःख आकस्मिक रूपमा आइलाग्छन् । उपन्यासका घटनामा त्यस्तै देखिएको छ । शीतलामाई (बिफर) को महामारीका कारण गङ्गाको छोरो गिरिको मृत्यु भएपछि उनलाई सम्झाउँदै योगमायाले भनेकी छन्, गिरि तिम्रो मात्र नभई ईश्वरको पनि छोरो हो । उनकै साथमा गयो । अब गिरिको चिन्ता छोडी संसारका बच्चाकी आमा बन । शोक गर्नु व्यर्थ छ किनकि जन्मसँगै मृत्यु साथ लागेर आएको हुन्छ । मानिस जन्मेकै दिनमा उसको मृत्यु निश्चित भएको हुन्छ । अब बरु अरू बाँचेका बालबच्चाहरूलाई कसरी बचाउन सकिन्छ भनेर सोच । योगमायाको यसकिसिमको आस्तिक विचारमा मानिसको जन्म र मृत्यु नियमित प्रक्रिया मात्र हो, त्यसको निर्धारण ईश्वरले जन्मपूर्व नै गरिदिएको हुन्छ र हरेक जीवत प्राणीलाई ईश्वरले पहिल्यै मारिसकेको हुन्छ, तसर्थ अगाडि वा पछाडि, रोग वा काल जेजसरी मृत्यु भए पनि त्यो मृत्यु हुने कारण मात्र हो, त्यसकारण स्वजनको मृत्युमा अवशादग्रस्त हुनु व्यर्थ छ भन्ने आध्यात्मिक ज्ञान योगमायाले गङ्गालाई दिएकी छन् । गरिको मृत्युपछि नै गङ्गाले सारा सम्पत्ति जेठाजुको छोरा महेश्वरका नाममा बकस दिएर आफू योगमायाले देखाएको बाटोमा हिँड्ने घोषणा गरेकी छन् (पृ.२४६) । यसरी शरीरको जन्ममृत्युमा दुःख भए पनि आत्मा अजरामर रहेको छ भन्ने तथ्य उपन्यासमा भेटिएको छ । फेरिफेरि दुःखदायक जन्ममृत्युको चक्करमा नफस्नका लागि सत्कर्मले पुनर्जन्मको चक्रलाई टुटाउनु पर्छ भन्ने मत उपन्यासको कार्याव्यापारबाट अभिव्यक्त भएको छ । उपन्यासको यस्तो चिन्तन जोसमनीको नाद फिराउने, आत्माको अलख जगाउने र मायाजालबाट मुक्त हुने विचारसँग सम्बन्धित रहेको छ ।
उपन्यासमा आत्माज्ञान अधिगत भएको अभिलक्षण प्रदर्शन गर्ने अरू पात्रहरू पनि छन् । उनीहरूमा त्यसको लक्षण विभिन्न कसबाट अङ्कित भएको छ । उपन्यासअनुसार गञ्जबहादुरले गृहस्थीहरूका सबै भोगहरू उपभोग गरी त्यसमा दुःख रहेको अनुभव गरेका छन् । यौवनावस्थाकी नैनकलाले आफूले भोगेकोे पतिवियोग मात्र होइन देखेभोगेका थप घटनाको निकट अवलोकनबाट सांसारिक मोहमा दुःख रहेको ठानी सन्यासी बन्ने घोषणा गरेकी छे (पृ.२६३) । प्रेमनारायण पण्डित आत्मसन्धानका लागि बारम्बार तपस्यामा बस्ने गरेका छन् । उनमा पनि जेलमा जाँदा वा जेलमुक्त हुँदासमेत हर्षविस्मात्को भङ्गिमा देखिएको छैन । कुटीमा बस्ने सबैले अनुकूल मिलाएर ध्यान गर्ने गरेका छन् । दुखुना पात्रमा पनि सङ्गतको गहिरो छाप परेको देखिएको छ । उपन्यासको अन्त्यमा उसले भनेकी छे, सत् कर्मले मोक्ष मिल्ने छ । असत्, अधर्मको हार भै एकदिन सत् अर्थात् धर्मको उदय अवश्य हुनेछ, हुनेछ (पृ.५१६) । दुखुनाको यस विचारमा मोक्ष चिन्तन प्रकृष्टरूपमा अभिव्यञ्जित भएको छ । उसका समेत समस्त आकाङ्क्षाहरू अपरिवर्तनीय अवस्थामा पुगेका देखिन्छन् । यसरी उपन्यासका पात्रहरूले मृत्यु आफ्नै नाकको टुप्पामा देखेका छन् किन्तु त्यसबाट हतास भने भएका छैनन् । दुखुनालगायतका अन्य पात्रहरू मृत्यूत्सव मनाउने कर्ममा निर्भयतापूर्वक लागेका छन् । उनीहरू जोजो जलसमाधिमा जानका लागि आतुर भएका छन् तीती धेरै जना मृत्युको भयबाट निर्भय बनेका छन् । मानिसका लागि डरलाग्दो ठानिएको मृत्युलाई सहर्ष स्वीकार गर्नु भनेको अज्ञानतालाई निमिट्यान्न पारी ज्ञानकोे आलोकबाट आलोकित हुनु हो । यस्तो अवस्थाले जीवनमुक्तलाई व्यञ्जित गरेको छ । यसरी पात्रहरू जीवित छँदै मृत्युलाई जितेका छन् र संस्कारलाई मेटाउनका लागि जलसमाधिमा शरीर सेलाएका छन् भन्ने भाव उपन्यासमा मिठो तरिकाले व्यक्त भएको छ । यस अवस्थामा जोसमनी मतअनुसारको आत्मज्ञानपरक चिन्तन मिहिन तरिकाबाट निरूपण भएको छ । यो भनेको कुण्डलिनी जागृत भई पिण्ड गएर अण्डमा मिलेको ज्ञान अवस्था हो । सहस्रारचक्रस्थित ब्रह्मको साक्षात्कार पनि यही हो । दुःखदायक मृत्युमाथिको विजय समेत यही हो । यसैलाई नाडीहरूको गतिरोध, प्राणवयुमाथि विजय, कुण्डलिनी जागरण, ब्रह्मरन्ध्रको भेदन, प्राकृतिक पदार्थ र चेतन तŒवको पहिचान भनिन्छ ।
आत्मा र ईश्वरको विषय निरूपण गर्नका लागि उपन्यासमा कहीँ प्रवचनात्मक शैली त कहीँ भजन र वाणी गाउने पद्धति अवलम्बन गरिएको छ । यस्ता शैलीको अवलम्बन गर्दा प्रशस्त सावधानी अपनाइएको छ जसले गर्दा उपन्यास रुखो दार्शनिक ग्रन्थ बन्न पाएको छैन । प्रवचन र भजन पनि विषयवस्तुलाई थप विस्तार गर्न, घटनालाई जीवनतता दिन, कथ्यलाई पोषण गर्न वा पात्रको जीवन दर्शनलाई स्पष्ट पार्नका लागि उपयोग भएका छन् । मोहको पासोलाई निर्लोभको हँसियाले काट्न सकिने जोसमनीको निस्पृहात्मक विचार उपन्यासमा प्रकृष्टतया निरूपण भएको छ ।
३.७ चोखो मानवताको रक्षा उपन्यासको दृढ आकाङ्क्षा
नारीप्रति सहानुभूति राख्नु जोसमनीहरूको आकर्षक विशेषता हो । उनीहरू लैङ्गिक आधारमा कोही कसैलाई भेदभाव गर्दैनन् । सिधा कुरा स्पष्ट विचार राख्नमा हिचकिच गर्दैनन् । उपन्यासका प्रमुख पात्रमा यस्तै विशेषता देखिन्छ । गङ्गाले निर्धक्कसँग श्रीमान्सँग आफ्ना विचार राख्छिन् । आसामबाट माइतीको घर सिम्लेमा आएपछि आमासमान बुहारीले बिनापूर्वाग्रह स्वागत गरेकी छन् (पृ.५५) । समयको त्यस कालखण्डमा उही कोखका छोरा र छोरीमा तीब्र भेदभाव देखिन्छ । छोरालाई कापीकलम किन्दिने र छोरीलाई डोको बुन्दिने चलन हटेको छैन (पृ.७१) । विवाह गरेर धोद्ले गएपछि मायालाई भेट्न भनी माइतीबाट वर्षौसम्म कोही माइतीपक्ष गएका छैनन् । बाआमाको न्यानो काख पाउनका लागि माया लालयित भएकी छन् । खबर पाएर वा ज्ञान जानेर लामो समयसम्म बाआमा भेट्न नआएपछि सबै परिवारको तिस्कार सहन नसकेर भागेकी छन् । छोरीलाई जसरी रापताप गरेर हुर्काउनु पर्ने उमेरकी कन्या योगमायालाई उनकी सासूले गरेको खराव व्यवहार कत्ति सह्रानीय छैन । उनलाई तनको भन्दा मनको दुःखले ज्यादा घोचेको छ । जीवन मरणको धारमा हिँडेकी मायाले आसाममा रहँदा घोचिएको मनमा खाटा उमारेकी त छन् तर मनमा चैन भर्न भने सकेकी छैनन् । त्यसैको पुष्टिका लागि उनी भन्छिन् “अब नयाँ सृष्टि गर्छु भन्नेमा छु, दुलही (पृ.७४) ।” उनको यस भनाइबाट केही नयाँ काम गर्ने भावी आकाङ्क्षा मायामा छ भन्ने पूर्व लक्षण पाहिल्याउन कठिन हुँदैन । उनका हरयात्रामा सहयोग गरिरहेकी गङ्गामा उनको प्रभाव विस्तारै हस्तान्तरित हस्तान्तरित हुँदै गएको छ । अग्निधर भैँसी खोज्न कुलुङ्तिर गएका बेलामा जातघटुवा भएको ठानिएकी मायासहति गङ्गाहरूले एकामेसै बसेर सहभोज गरे । त्यस्तो काम जातपातका पक्षपाती अग्निधरलाई स्वीकार्य थिएन तथापि उनकै घरबाट जातीय विभेदप्रतिको विद्रोह आरम्भ भयो । गङ्गाको यही सुधारपरक आनीबानी राम्ररी नियालेकी योगमायाले उनलाई समाज सुधारको यात्रामा सँगै लिएर अगाडि बढेकी छन् । योगमाया अमाजू मात्र होइन कि साथी र गुरु बनेर एकअर्काका जीवनलाई सहयोग गर्न कटिबद्ध भएका छन् । योगमायाको हिम्मत गङ्गा हुन् भने गङ्गाको गुरु योगमाया । यी दुईको यस्तो अन्योन्याश्रित सम्बन्ध छ जसले उपन्यासमा सकारात्मक उत्तेजना भर्नका लागि पर्याप्त मात्रामा सहयोग गरेको छ । मायालाई मानवप्रेमी योगमायाका रूपमा स्थापित गर्नुमा गङ्गाको महŒवपूर्ण हात रहेको छ । नारीमाथि हुने यस्ता प्रभृतिका दमनहरूको अन्त्य गरी पुरुषकै बराबार अधिकारसम्पन्न बनाउने लक्ष्य जोसमनीहरूको रहेको हुन्छ । त्यसकै सकारात्मक ऊर्जा उपन्यासमा अभिव्यक्त भएको पाइएको छ ।
नारीको लिङ्ग लिएर जन्मिएका कारण माइती र धोद्लेमा मायाले प्रशस्त मात्रामा थिचोमिचो सहनु परेको छ । उनले घराम्लेहरूको घृणाबाट आजित भएपछि प्रेम प्राप्तिका लागि पतिघर परित्याग गरिन् । बाको टोकसोबाट हैरान भएर समाउने हाँगो खोजिरहेकी उनले कँडेलको भरोसा खोजिन् । उनको पनि मृत्युभएपछि पट्यार लाग्दो एक्लो जीवनबाट राहत पाउनका लागि नैनकलाका बाका घरमा भित्रिइन् । उनीसँगका वैवाहिक सम्बन्धलाई परपुरुषसँगको सम्बन्धका रूपमा आफैले व्याख्या गरी त्यसको शुद्धीकरणका लागि नैनाका बालाई समेत छोडिन् । यी तिनओटा निर्णय गर्दा उनमा चिन्तनको विकास क्रमिक गतिमा भएको छ । उनको चौँथो निर्णय हो समाज सुधार गरेरै छोड्ने । यस्ता निर्णयभित्र समाज सुधार गर्नका लागि भन्दा व्यक्तिको स्वतन्त्रता रक्षाका लागि काम गर्नुपर्ने उद्देश्य सन्निहित छ । त्यस गौरपूर्ण चौँथो उद्देश्य पूर्ति गर्नका लागि राणा शासनको पहरामा शिर लगेर बजारेकी छिन् । उनको शिर फुटेको छ तर मनमौजी शासनको बहिरो कानमा झिर रोपिदिएकी छन् । शासकसँगको लडाइँमा निर्भयतापूर्वक देहत्याग गरेकी छन् । उपन्यासअनुसार मायाका उक्त चारओटा खतरनाक घुम्तीहरू छन् । ती घुम्तीहरूमध्ये पहिलोले उनलाई शाहसी पात्रका रूपमा स्थापित गरेको छ । दोस्रोले नारीसुलभ प्रेमिल पात्रका रूपमा र तेस्रोले धार्मानुयायीका रूपमा परिचित तुल्याएको छ । चौँथो घुम्ती खतरनाक छ जसले त्यागको महिमा द्योतन गरेको छ । तेस्रो मोड वा निर्णयपछि उनमा मानवताको आगो रन्किएको पाउन सकिन्छ । त्यही आगोले उनलाई जलाएर जलसमाधिको भेलमा मिसाएको छ । उनका यस्ता निर्णयले नारीहरू पुरुषका तुलनामा निर्णयात्मक र कार्यात्मक कहीँकतै पनि कमजोर हुँदैनन् । शारीरिक लिङ्गले व्यक्तिको आँट, शाहस र ऊर्जामा भिन्नता सिर्जना गर्दैन । नारीहरू पुरुषकै हाराहरीमा हरेक कर्म गर्न सक्षम हुन्छन् भन्ने नारीकेन्द्रित विचार उनका आचरणबाट आलोकित हुन्छन् । यस्ता सन्दर्भले महिला अधिकार र जनचासोका पक्षमा स्वतन्त्र आवाज व्यापक पार्ने जोसमनीको साकारात्मक विचार रामै्रसँग द्योतन गरेको छ । सनातनी धर्मशास्त्रका आधारमा उनका निर्णय गलत होलान् तर मानवीय स्वतन्त्रताका पक्षबाट भने उनका निर्णय व्यावहारिक रहेका छन् भनी अथ्र्याउन सकिन्छ ।
विवाह गरेर घरपरिवार छोडी धोद्ले गएपछि माया न्यौपानेलाई घरको न्यास्रोले बहुतै सताएको छ । सात वर्षकी बालिकालाई घरसल्लाह बेगर घरभन्दा धेरै टाढा विवाह गरेर पठाएपछि तडप र जलनले बालहृदय छियाछिया भएको छ । बाबुआमाको यादमा आँसुको धारा बगेको छ । आमा ∕ आमा ∕ भनेर हारगुहार गरेकी छन् । यस्तो क्रन्दनपूर्ण क्षणको कहानी भावुक पारामा योगमायाले गङ्गालाई सुनाएकी छन् । आमा चन्द्रकलाले टाढाको घर छ, छोरी आत्तिन्छे, नदिऊँ भनेर सल्लाह दिँदा बा श्रीलाल न्यौपानेले दिएको वचन मर्दले फिर्ता गर्दैनन् भनेर अटेरी गरे । श्रीमती र छोरीलाई समेत एक आखर नसोधी श्रीलाल न्यौपाने आफैँले छोरीको बिहेको निधो गरेका थिए । विवाहित घरमा न्यानो लाउनु थिएन । भरपेट खानु थिएन । सासुले मिठोमसिनो बोलीले होइन शब्दबाँणले प्रहार गर्थिन् । बुहार्तन कडा थियो । घृणा, हेला र तिरस्कारको लोखाजोख थिएन । कि भीर कि पासो वा अरूण नदीमा फाल हालेर मर्नु कि त माइतीमा गई शरण लिनुबाहेक दोस्रो विकल्प थिएन । उनले भीरको बाटोलाई नरोजी अपमान, तिरस्कार, घृणा र तीखा वचनलाई पिएर भए पनि अमूल्य जीवन सुरक्षित राख्ने दोस्रो विकल्प रोजिन् । यसबाट निराशाको अन्तिम परिस्थितिमा पनि समाल्हिन सक्ने आन्तरिक खुबी उनमा सानैमा देखियो । सात वर्षको उमेरमा बाको अनीबानीका बारेमा उनी जानकार थिइनन् । बा त्यति विधि निर्मम होलान् भन्ने हेक्का भएको भए उनले फरक निर्णय लिने सम्भावना पनि रहन्थ्यो । त्यसो भएन, उनी माइती फर्किइन् । उनीजस्ता छोरीहरू मात्र होइन बाहरूको निर्णयका अगाडि आमाहरूसमेत निरीह थिए । उनका बा श्रीलाल अत्यन्तै कठोर दिलका मानिस थिए । नाबालक छोरीको जीवनरक्षा होस्नहोस् कुटुम्बलाई दिएको वचन उल्लङ्घन भएमा इज्जत धुलीसात हुने ठानी तर्सिरहन्थे । उनी ढुङ्गा पनि पगाल्न सक्ने उनकी छोरीको व्यथालाई नजरअन्दाज गर्थे । छोरी चेलीहरूले जस्तोसुकै अमानवीय व्यवहार सहेर पनि घर खानै पर्ने भन्ने रुढ मानसिकताबाट ग्रस्त थिए । छोरीहरू जन्मेदेखि नै अभिसप्त हुन्छन्, उनीहरू गर्भमै मारिनु पर्छ, होइन भने जन्मेपछि त तड्पाईतड्पाई मार्नुपर्छ भन्ने बाहरूको मानसिकता थियो । छोरीको जन्म पुरुषको गुलामी गर्नका लागि भएको हो भन्ने सोच्थे । छोरी, बुहारी, आमा र श्रीमतीहरूलाई आफ्ना वचन र बा सत्ताको दास ठान्थे । सोही कारण उनको एकाकी निर्णय परिवारमा हावी भएको छ । समाजका आँखाबाट परिवारको शासन गर्न खोज्ने श्रीलालले तत्कालीन समयका सामन्ती पाराका बाहरूको प्रतिनिधित्व गरेका छन् । नारीलाई पुरुषहरूको दास बनाएर घरको चौघेरोमा सीमित पार्नु, धर्मको डर देखाएर परिवारकै शोषण गर्नुलाई कथित धर्म ठानेका छन् । स्वर्गको द्वार उघारेर नरकको ढोका बन्द गर्नका लागि छोरीको जीवन नरक बनाउने बालविवाहको काम उनीबाट भएको छ । श्रीलालजस्ता बाहरूले यही कुप्रथालाई परिपोषण गरेका छन् । यस्ता सडल विचारहरूका बर्खिलाफमा उपन्यास स्पष्ट तरिकाले उभिएको छ । छोरी भएर जन्मिनाका कारण खप्नु परेका खप्कीहरूको आक्रोशपूर्ण तरिकबाट दोहन गरिएको छ । छोरीलाई नरक र स्वर्गका द्वार मान्ने कर्मकाण्डी बाहरूलाई नराम्ररी घाटमै लगेर धोइएको छ । स्वर्ग र नरकको अस्तित्व नै अस्वीकार गर्ने जोसमनीहरू छोरीलाई विभेद गर्दैनन् । नारीलाई धर्मका बाधक होइन कि साधक मान्छन् । यही लैङ्गिक समानताको विचार उपन्यासमा घनीभूत भएर आएको छ ।
श्रीलाल न्यौपाने धर्मभीरु समाजका उपज हुन् । उनले श्रीमतीमा मात्र होइन छोरीमा पनि दमनको डकार लादेका छन् । धर्म हुने नाममा छोरीको बालविवाह गरिदिएर धर्मकर्मको गन्धे बान्ता गरेका छन् । उनकै सामन्ती संस्कार, घर माइतको कडा परिवन्द र अत्याचारकै कारण माया न्यौपानेबाट योगमायाको जन्म भएको छ । छोरीलाई सात वर्षको उमेरमा बिहे गरेर धोेद्ले दिएपछि १४ वर्षकी पुग्दा समेत उनलाई भेट्न कोही गएनन् । मायाको बिहे भएको कोइराला परिवारसमेत जडता, अन्धता र नकारात्मक चिन्तनबाट नराम्ररी ग्रस्त छ (पृ.१०१ र पृ.१०३) । आमा सरोबरकी सासु छोरी समान बुहारीलाई पशुवत् व्यवहार गर्न खप्पिस छन् । नारीहरू नारीबाटै प्रताडित भएका छन् भन्ने उदाहरण मायाकी सासुको व्यवहारबाट प्रदर्शन गरिएको छ । माया परिवारभित्रै बन्धक थिइन् । घरमा बिग्रेका कामहरूको अपजस उनका थाप्लामा आइलाग्थ्यो । छोरीलाई मताएको आरोपमा चन्द्रकलालाई टोकसो बढेको छ । श्रीलाल बिहेघर छोडी एक्लै भागेकोमा लिँडेढिपी कसी आशङ्काको डोरीमा पिङ खेलेका छन् । छोरीप्रति आफ्नो हृदयमा कुनै सहानुभूति नभएको देखाउन मात्र होइन वाणीगत र धार्मिक कट्टरताको हद प्रदर्शन गर्न कहीँ चुकेका छैनन् । उनले रिसको झोँकमा भनेका छन्, “एउटा फूल फुट्यो, फुट्यो (पृ.१०९) । उनको यस उक्तिमा परम्परागत धार्मिक आस्थाको ध्वाँस देखिएको छ । प्रेमको प्याला रित्तिएको छ । छोरी बाँचेकोमा आफूलाई कुनै गर्व नभएको घोषणा हो यो उनको । उनी कि कट्टर विधिको बाटोमा हिँड कि पोइको घर छोडेर धर्मलाई नमास भन्ने विचारबाट अनुप्रेरित छन् । उनीजस्ता बाहरूका लागि मानिसको जीवनरक्षाभन्दा पनि जातिगत अहम्को रक्षा गर्नु गरिमामय काम बनेको छ । बाका यस्ता हर्कत अभिभावकीय हिसाबा सही जँच्ने त छैनन् मानवीय हिसाबमा समेत कहीँ सुहाउँदा देखिन्नन् । सन्तानप्रति अशोभनीय उनका यस्ता व्यवहारबाट योगमाया विचलित नभई सत्य एक्लो हुन्छ भनी निरन्तर जीवनरथलाई गति दिइरहिन् । आत्महन्ता बनिन् । बरु उनलाई यसरी प्रताडित गरिरहनुको भिन्न अर्थ छ । बा र समाजका नजरमा पोइको घर छोडेपछि जैसिनी बन्न पुग्थिन् उनी । पुरुषसँग बोलेमा बात लाग्थ्यो छोरीलाई । घरखान नसकेकी काँतर बन्थिन् उनी । सिधै श्रीलालजस्ता बाहरूलाई उनले नरक लैजाने बाटो खनेकी थिइन् भागेर माइती आएर । सोही त्रासका कारण आमाछोरीको खेदो खन्थे उनका बा । बरु छोरी मरेको निको मान्ने तर खिइएर दिमागमा बसेको कुसंस्कार बदल्न नचाहने खराब आदत उनमा छ । छोरी जन्माउने तर तिनलाई मायाबाट सिञ्चन गर्न नसक्ने, जडवत् व्यवहार गर्ने बाहरूको बानीले उनीहरूको गैरजिम्मेबार स्वार्थी र एकलकाटे मानसिकताको उजागर गर्दछ । के बिहे गरेर दिएपछि छोरीप्रतिको कर्तव्य सकियो ? के यौवनको आँधीमा जन्माउनु मात्र आमाबाको कर्तव्य हो ? के मानिसले निर्णयलाई कहिल्यै लचिलो बनाउन सक्दैन ? छोरीले इज्जत बचाइदिएर मात्र पुग्छ दुनियामा ? छोराबिना स्वर्ग नपुगिने नै हो त ? छोरीले घर खान नसके आकाश नै खस्छ त ? यस्ता गम्भीर र परम्परागत पारिवारिक आस्थाहरूमाथि उपन्यासले गहिराइमा पुगेर प्रहार गरेको छ । पुरुषहरूको अहम्वादी सोचको मसिनो तरिकाले भण्डाफोर गरेको छ । जुन आजको सन्दर्भमा पनि त्यत्तिकै सान्दर्भिक छ । यसरी आडम्बर र अहम्ले नारीप्रति निकृष्ट बन्दै गएको बासमाजका काला पक्षहरूको उजागर उपन्यासले गरेको छ । जसले जोसमनीको लिङ्गमैत्री मनवतावाद विचारको सुन्दर तरिकाले पोषण गरेको छ ।
मानिसहरूलाई जातजातिमा विभाजन गरी वर्ण व्यवस्था बनाइयो । उच्च जात र निम्न जात भनिएकाहरूका लागि फरकफरक कानुन बन्यो । त्यसैको फलस्वरूप जातजातिमा भिन्नता कायम भयो र विभेदको आरम्भ पनि त्यहीँबाट भयो । यसरी वेदको नीतिविपरीत व्याख्या गरी एकल समुदायको फाइदाका लागि गरिएको जात व्यवस्थाको समर्थन जोसमनी मतमा गरिँदैन बरु जातिप्रथा नमानी मानवताको पक्षमा वकालत गरिन्छ । जसलाई उपन्यासका साक्ष्यबाट क्रमशः देखाउन सकिन्छ; काँहिली कमिनी भजनमा आओस् । सबैभन्दा नीच जातका मानिने अमलेखहरू कुटीमा आऊन् । जनाना मर्दानामा समानता छाओस् । मानिसको किनबेच बन्द होओस् । अन्न पच्चिसा हटिजाओस् । सतीका नाममा आमा, दिदीबहिनी, छोरीबुहारी र भतिजीहरू जिउँदै नपोलिऊन् भन्ने इच्छा योगमायाको तत्कालीन समयको परिवर्तनकामी अकाङ्क्षा हो । योगमायाले उपन्यासमा घोषणा गरेकी छन्, “हाम्रो जात भन्नु मानव हो । हामीले जानेको धर्म मानवता हो (पृ.१६२) ।” यस्तो पवित्र मानववादी विचार पश्चिमा गिर्जाघरबाट प्रवेश गरेको विचारमा आधारित नभई जोसमनीहरूको मौलिकतामा आधारित रहेको छ । सोही समय वि.सं. १९७५ ताका राणा शासनको गर्मी ज्यादा नै थियो । राणाकालमा प्रशासनिक र आर्थिक अधिकार हत्याउनका लागि सुरु गरेको नृशंस हतकण्डा थियो सती प्रथा । यो प्रथा राणा शासकहरूबाट विस्तारित भएर ब्राह्मण र क्षत्री परिवारमा झाङ्गिन पुगेको थियो । त्यसैले सतीप्रथाबाट यी दुबै परिवारका महिलाहरू नराम्ररी पीडित भएका थिए । उनीहरूको उन्मुक्तिका लागि निर्भयतापूर्वक अवाज बुलुन्द गर्ने जागरुकहरू जोसमनीका साधुहरू थिए । उनीहरूले तर्कसङ्गत ढाँचाबाट समाजका विकृति हटाउनका लागि शास्त्रको प्रमाणलाई समेत आधार लिएका छन् । उपन्यासमा माथि उल्लेख गरेका नारीद्वेषी घटनाप्रति उनीहरूको विमति रहेको छ । उनीहरूमा लोभ थिएन । डर थिएन । डर नभएकाले बन्धन हुने कुरै भएन । बन्धन नभएको हुनाले जडता गयो । जडताको उच्छेद ज्ञानबाट भयो । त्यसकारण समानताको वकालत गर्न सजिलो भयो ।
नेपालबासीको न्याय, समानता, भ्रातृत्व र सुशासनका लागि आवाज बुलन्द पार्नु जोसमनीको विशेषता हो । उनीहरूले दैहिक लाभ र स्वमहŒवाकाङ्क्षा पूर्तिलाई जीवनको लक्ष्य नठानी मानवताको रक्षा गर्दै प्रसन्नता र सुख बाँड्ने अधिकतम उद्देश्य राख्दछन् । नारीहरूलाई पनि दीक्षित गरी योगमार्गमा डो¥याउने काम गर्छन् । त्यस समयमा नारीहरू मात्र होइन नेपाली जनताहरू राणा शासनकोे मनपरितन्त्रबाट आजित भएका थिए । जनता कर तिर्ने टट्टुमा सीमित बनेका छन् । जनताका बोल्ने मुख, न्यायका ढोका र शिक्षालयका द्वारहरू बन्द अवस्थामा छन् । भाङ मिसिएको खिर खान दिएर सतीहरूलाई जिउँदै जलाइएको छ । पोलिन नमान्नेहरूलाई नदीबिचको सती ढुङ्गामा लगेर छाडिएको छ । सतीले रुन नपाउने जान्न भन्न पनि नपाउने हत्यारा चलन जीवित थियो । श्रीमान्सँग जिउँदै पोलिएर मरेमा सिधै स्वर्ग गइन्छ भन्ने धार्मिक भ्रम छरिएको थियो । दासका नाममा मान्छेको किनबेच प्रचलित थियो । सन्तान जन्माउन सक्ने दासी नारीहरूको मोल ज्यादा थियो । बिफरको महामारीका कारण मृत्यु नभएका घर थिएनन् । बालबालिका र ज्येष्ठ नागरिकहरू त्यसको महामारीबाट ज्यादा प्रताडित थिए । हरेक घरका आमाहरूको काख रित्तो बनेको थियो । महाजनहरूले कमारीसँगको अवैध सम्बन्धबाट बच्चा जन्माउने तर त्यसलाई अङ्गीकार नगरी धनका बलमा अर्कैलाई पोल्ने निर्लज्ज परम्पराको कमी थिएन । गरिबमारा तमसुकखोरी हाबी थियो । मुखियाहरूबाट सर्वजनिक जग्गाहरू हडपिएका थिए । जनताका यस्ता दर्दमा ढाडस दिने ठाउँ केबल मझुबेँसी बनेको थियो । त्यहाँ योगमायाको थमथमाइ मात्र थलापरेका मानिसहरूको सहारा बनेको छ । सतीप्रथा सम्भ्रान्तहरूले एकदमै पतिभक्त देखाउनका लागि रचिएको जाल हो । दासप्रथालाई मानव समाजको कलङ्क हो । मानवको स्वतन्त्र इच्छा मात्र होइन बाँच्ने निर्णय पनि स्वाधीन छैन । बाँचेर लाञ्छना सहनुभन्दा कतिपय नारीले सती गएर मर्न सजिलो ठानेका छन् । यस्ता अत्याचारबाट पीडितहरू बेसी मात्रामा गरिब, नारी, कथित निम्नजात र किसान मजदुरहरू पीडित बनेका छन् । कमारा कमारीबाट जन्मेको बच्चालाई समेत दास उपदास बनाउँदै जाने स्खलित मानसिकता महाजनहरूमा हावी बनेको छ । राज्यको डरले जनता उकुसमुकु बनेका छन् । मानवता थिल्थिलिएको छ । अमलेख भएकादेखि लिएर घरबाट खेदिएकासम्मको आश्रय योगमायाको कुटी बनेको छ । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जनतालाई समानता, न्याय र भ्रातृत्वको पाठ सिकाउने काम उपन्यासले गरेको छ । जुन जोसमनीको निर्भयपूर्वक समाज सुधार गरी प्रसन्नता र हर्ष बाँड्ने नियमबाट अनुप्राणित देखिन्छ ।
जनताहरूको भलो चिताई उनीहरूलाई प्रशासनिक र सांस्कृतिक उत्पीडनबाट राहत प्रदान गर्नका लागि योगमायाले अनवरत प्रयास गरिन् । उनको प्रयास त्यतिबेलासम्म रोकिएन जतिबेला उनले अरूणमा शरीरलाई विश्राम दिइनन् । आध्यात्मिक उन्नतिबाट आरम्भ भएको समाज सुधारको यात्रा नदीमा सेलाएपछि रोकिएको छ । उचनीच हटाएर सम्मुन्नत समाजको निर्माण गरी समुन्नत समजको निर्माण गर्नका लागि योगमायाले कयौँपटक शासकलाई गुहारेकी छन् तर शासकले सुनेका छैनन् । गाथगादी ताकेको आरोपमा आर्यसमाजीको आरोपमा माधवलाललाई देशनिकाला गरी छोराको नाम विद्यालयबाट कटाइएको छ (पृ.३१०) । प्रेमनारायणले जुद्धशमशेरलाई धर्मपत्रिका थमाएर आएपछि कुटीमा धर्मराज्य (समानता र न्याय) स्थापना हुनेमा ठुलो हौसला बढेको छ । गरिब र निमुखाहरूलाई गर्नैपर्ने सांस्कृतिक विधि जन्म, अन्त्येष्टि, विवाह, ब्रतबन्धलगायतका कृत्यहरू सम्पन्न गर्न एकदमै कठीन छ । अन्याय, धर्म, जात, पेशा र वर्णव्यवस्थाका खराब पक्षले गाँजेको समाजलाई सहअस्तित्वको भावले सिञ्चन गर्ने काम कुटीबाट भएको छ । सापे दमै, काइँली कमिनी, माझी, कमारा कमारी, माहिली नेवार्नी, ब्रह्मण र क्षत्रीहरू एकपरिवार भएर बसेका छन् । केही कसैलाई आउन जानका लागि रोकतोक लगाइएको छैन । यसमा परिश्रमको प्रशस्ति गाइएको छ । यहाँ समावेशी तरिकाको कुटीको बसाइ छ । साम्यवाद खोज्ने हो भने पनि यहीँ छ । यति प्रशस्त समाजपरक र चोखो मानवतावाद विचार जोसमनी मतमा आधारित समताको नियममा आधारित छ । यही उपन्यासको गहकिलो सौन्दर्य बनेको छ ।
मानवीय सेवामा निस्वार्थ समर्पित हुनु जोसमनीको अर्को विशेषता हो । उनीहरूले मानिसलाई कुने तरिकाबाट पनि भेदभाव नगरी मानिसको रूपमा सेवा गर्छन् । सन्त ज्ञानदिल दासले अब्राह्मणको खुट्टा धोएर जल खाएका कारण उनालाई जात घटुवा गरिएको थियो । त्यसैको प्रतिरोध स्वरूप उनले जातप्रथाका हिमायतीहरूलाई व्यङ्ग्य गरेर दार्जिलिङको सिङ्ला बजारमा दिउसै राँको बालेर जात खोजेका थिए । उनीहरूको यस्तो कर्मबाट मानवबाहेक अर्को तरिकाबाट मानिसलाई हेर्ने आँखा उनीहरूको मतमा थिएन भन्ने देखिन्छ । उनैको गुरुमतलाई स्वीकार गर्दै १९९० को भूकम्पमा परी घाइते भएका मानिसको सेवासुश्रुषा कुटीमा ल्याएर गरिएको छ । शीतलामाईबाट पीडित भएकाहरूलाई टुम्लिङटारबाट वैद्य बोलाएर ‘खोली हाल्न’ (गहत, भत र जाउलो ख्वाउने) लगाइएको छ । कुटीमा कसैमाथि पनि वाक्, निर्णय, इच्छा, नीति नियम लाद्ने काम भएको छैन । कसैलाई बहकाएर कुनै निर्णयमा जबजस्ती नगरी स्वतन्त्र छोडिएको छ । बरु उनीहरूले कुरीतिको अन्त्यका लागि धर्मभिक्षा माग्दा नाथे दौलत दिएर लोभ्याउन खोजिएको छ (पृ.३६७) । भोगाइअनुसार राज्य बहिरो छ । शासन अन्धो बनेको छ । न्याय मरेको अवस्थामा छ । मोजमस्तीको राज चलेको छ । त्यही भएर योगमायाको धर्मराज्यको माग पुरा हुन सकेको छैन । तिन पुस्ताका शासकहरूले धर्मराज्यका विषयमा माखो मार्न सकेनन् । यसको अर्थ योगमायालाई राम्ररी पत्याएनन् वा जनतालाई राहत दिनका लागि उनीहरूको चेत खुलेन । जनतालाई दासमा नै सीमित गर्न खोजे । पुस्ता दरपुस्तासम्म राणा शासनको कलङ्कको दाग निधारमा टाँसिरहे । त्यस बेलाको घाँडो शासनलाई नेपाली समाजले बिर्सन चाहेर पनि बिर्सन सक्दैन । मानवता थिल्थिलिएको अवस्थामा रहेको त्यस समयमा चेतनाको जुनकिरी बनेर जोसमनीहरू उदाएका थिए । त्यसैको चोखो प्रभाव प्रस्तुत उपन्यासमा समेत देखिएको छ ।
नेपाली समाजमा इतिहासदेखि चलिआएको आन्दोलन र परिवर्तनका नाममा मर्ने मार्ने चलन अद्यापि विद्यमान छ । ससाना हक अधिकारहरू संस्थागत गर्नका लागि मर्नुपर्ने बाध्यता कायम छ । मानवीय जीवन उकास्ने बाटो कोरिन सकेको छैन । नेपालीहरू विभेदबाट पोलिइरहको बिडम्बना अद्यापि जीवित छ । समाधिमा जानेहरूका आफन्तहरूको पीडालाई स्मरण गर्दा होस् वा रत्नमानका दुधे टुहुरा छोरा हरिबहादुरले सुनाएको यथार्थ घटना किन नहोस् दुबैले मर्ममा प्रहार गर्दछन् । योगमाया धोद्ले घरबाट भागेर आएपछि बाबुले गरेको व्यवहारले चर्मरोम जागृत गराउँछ । उपन्यासमा अन्य यस्ता घटना छन्, जसले मनलाई आकुलव्याकुल बनाउँछन् । मस्तिष्कमा विकल्पात्मक विचारहरूको उद्वेलन उत्पन्न हुन्छ । मन थाम्न गह्रो पर्छ । स्थायी भावहरू साधारणीकरण भएर मर्ममा कम्पन्न उत्पन्न गर्छ । आक्रोशपूर्ण व्यवहारको झड्काले मानवलाई नयाँ चिन्तनतर्फ अभिप्रेरित गर्दछ । यस मानेमा जोसमनीहरूको उद्बोधन यात्रा र योगमायामा त्यसको प्रभाव पारकाष्ठामा पुगेको छ । त्यसबाट समाजलाई नूतन तरिकाबाट उद्बोधित गरिएको छ । सांसारिक दुःखसागरको अन्त्य गरी नयाँ सिराबाट जीवन परिचालन गर्ने उद्योगको खोजी उपन्यासले गरेको छ । त्यसैको उदात्त मानवीय अभिव्यञ्जना उपन्यासमा राम्ररी अभिसिञ्चित भएको देखाउने काममा उपन्यासका तथ्य र प्रमाणहरू सफल भएका छन् ।
जोसमनी मत धार्मिक आध्यात्मिक विचार मात्र नभएर मानवलाई पूजा गर्ने सुन्दर विचारधारा हो । उनीहरूको मानव भक्तिमा आधारित निख्खर विचार उपन्यासमा सुन्दर तरिकाले प्रवाहित भएको छ । मानवका दर्दलाई समूल नष्ट गर्ने काममा जसरी जोसमनीहरू सफल भए त्यसरी उपन्यास पनि मानवका स्वाभाविक स्वतन्त्रता, न्याय, समानाता, भ्रातृत्व, त्याग र बलिदान जस्ता सकारात्मक ऊर्जाहरूको प्रवर्धनमा जुटेको छ । आध्यात्मका माध्यमबाट यति गहन तरिकाले मानव विकासको गुणगान गाउनु प्रशस्तै सह्रानीय काम हो । जोसमनीहरूको यही उदात्त मानवकेन्द्री विचाले उपन्यासमा प्रथमिकता पाएको छ । अध्यात्म मिश्रित मानवताको संरक्षण वर्तमान समयको समेत आवश्यकता हो भन्ने विचार उपन्यासकोे केन्द्रीय कथ्य बनेको छ ।
३.८ आडम्बरी प्रवृत्तिको विरोध
अन्धमानसिकताप्रति अनास्था राख्नु जोसमनीहरूको मूल विचार हो । त्यही विचारको उपन्यासका आरम्भतिरका घटनामा प्रबलता छ । जितबहादुर माझीले मसानसँग लड्ने हिम्मत रहेको बताएको छ । सँगै सुतेका मानिसको गोडा चिल्ला र फुस्रा बनाउन हुन्न भन्ने विचारमा योगमायाले असहमति जनाएकी छन् । धर्मभीरु समाजले विधवा विवाहलाई स्वीकार गर्दैन । तत्कालीन समाज कुमारीसँग मात्र पुरुषको विवाह हुनुपर्छ भन्ने विचारबाट ग्रस्त छ (पृ.११२) । पुरुषहरूले चाहेमा बहुविवाह गर्नका लागि र आफू विधुर भए पनि कुमारी विवाह गर्न छुट पाएका छन् । घरमा श्रीमती हुँदाहुँदै बिनाकारण दोस्रो, तेस्रो विवाह गर्न तम्सिएका छन् । तिनै पुरुषहरू फेरि बहुविवाहिता नारीलाई पतिया गर्ने, जात घटुवा गर्ने, समाजको इज्जतको कुरा गर्नेमा पहिला छन् । महेश्वरका बा पुष्पलाल यसका उदाहरण हुन् । छोराको बिहे गर्ने उमेरमा उनले तेस्रो बिहे गरेका छन् तर दिदी योगमायालाई नाक कटुवी भनेर लाञ्छना लगाएका छन् । अल्पज्ञानीहरूमा यस्ता ढोँग प्रशस्त निहित हुन्छन् । चेतनाको राम्ररी विकास नभएका अवस्थामा मसान, जादु, टुनामुना, तन्त्रमन्त्र र भूतप्रेत आदिमा विश्वास गरिन्छ । मर्दले जुन जातका जतिवटी विवाह गरे पनि जात नखस्ने पद्धति विभेदकारी छ । मर्दहरूले जनानाको इज्जतमा मात्र सबाल उठाइरहने काम बन्द गर्नुपर्छ । बरु मर्दले जुन जातको कन्यासँग विवाह गर्दछ पुरुषलाई सोही जातिको बनाएर नारीको जन्मघरमा बासाल्ने परिपाटि बसाल्दा समताको नियम त्यहाँबाट आरम्भ हुने वैपरित्य चिन्तन उपन्यासमा छ । विशेषगरी पाँचौँ परिच्छेदबाट सुधारपरक आन्दोलन मजबुद बन्दै गएको छ । १७ देखि ४० वर्ष उमेरकी योगमायाको कथा उपन्यासमा फट्किएको छ । ४० देखि ५० वर्ष उमेरमा हिँडिरहँदा ज्ञानदिल दास जस्ता जोसमनी सन्तहरूको धर्मसुधार आन्दोलनको प्रभाव प्रशस्त मात्रामा परेको छ । ४० वर्षको उमेरदेखि उनी साधु, सन्त, महात्मा र समाज सुधारकको सत्सङ्गतमा थिइन् । भारतामा आर्यसमाजी दयानन्द सरस्वतीको सुधारवादी अन्दोलनका विषयमा समेत जानकार योगमायाले आफूले भोगेको समाजका कलङ्कलाई सुधार गर्नका लागि अठोट लिई नेपाल फर्कने योजना बनाएको पनि उनका पछिल्ला परिवर्तनकामी कर्मका माध्यमबाट केलाउन सकिन्छ ।
पौरोहित्य विधिका विपरीत परिष्कृत नियमहरू निर्माण गरी त्यही पद्धतिका आधारमा जीवन सञ्चालन गर्नु जोसमनीहरूको मूल विचार हो । बिसौँ शताब्दीको उत्तरार्धमा यजमानहरूलाई कज्याउन सक्ने शक्ति भएका अधिकारी पुरोहित थिए । उनीहरूको मानसिकता सुधार नगरी समाजमा सुधारवादी नियम लागु गरेर परिर्वतन ल्याउन सम्भव थिएन । सोही कारण जोसमनीहरूले शुद्धीकरणको सुरुवात पुरोहितहरूबाट गरेका हुन् । उनीहरूलाई सम्झाइ बुझाइ गरेर वा विरोध गरेर समाजका अव्यावहारिक विधिविधानको परिमार्जनका लागि विशेष पहल गरेका छन् । धर्मको डरबाट शासित समाजको सुधार धर्मबाटै गर्न सकिन्छ भन्ने बुझेर योगमाया उत्तरार्धका दिनमा त्यसतर्फ बढी आकर्षित भएको पाइन्छ । जातभात, श्राद्ध, दानपुण्य, सतीप्रथा, विवाहबन्धन आदिलाई भजाएर धर्मका नाममा अन्धविश्वास फैलाइएकाप्रति आगोआगो बनेकी छन् योगमाया । जातका विषयमा आग्निधर अशिष्ट र खारो स्वभावका छन् । उनले भान्जीलाई समेत ‘जैसीका बा’न’ भनेर गाली गरेका छन् । अविवाहित, कर्म नचलेका र जात खसेकाहरूले छोएको खानुलाई निकृष्ट मान्छ धर्मशास्त्र । श्रीमती मरेको पैचालिस दिनमा पुरुषलाई बिहे गर्न स्वीकृति दिन्छ हाम्रो समाज । अर्कासँग बोले वा सँघार नाघेर एक्लै हिँडेमा नारीलाई बात लगाउँछ सोही समाज । नारीलाई आजीवन बालविधवा बस्न बाध्य बनाउने नियम पुरुषका तुलनामा अनुदार देखिन्छ । श्रीमान्को जुठो पुरा खानु, गोडा धोएर जल खानु, जीवनभर उसकै इच्छा भावनामा चल्नु र पुरुषका कठोर आँखाबाट मात्र नारीको मूल्याङ्कन हुनु अनुदार समाजका परम्परा हुन् । यस्ता औपन्यासिक सन्दर्भहरू समाजमा व्याप्त अज्ञानता, जडता, स्वेच्छाचारिता व्याप्त भएको खुट्याई अशिक्षा र धार्मिक विश्वासको आधिक्यका कारण मानवीय मूल्य हताहत भएको ठम्याउनका लागि पर्याप्त छन् । यस्ता अनुदार व्यवहारहरू मानिसका लागि जटिल छन् । तिनले मानिसको भलाइभन्दा बढी कष्ट दिने भएको हुनाले परिमार्जन आवश्यक छ भन्ने जोसमनी मत उपन्यासको मूल दर्शनका रूपमा रूपायित भएको छ ।
जोसमनीहरू साधना मार्गमा हठयोगलाई स्वीकार गर्छन् भने व्यावहारिक जीवन सञ्चालनका लागि हठवादलाई भन्दा व्यवहारपरकतालाई महŒव दिन्छन् । उनीहरू अहम्लाई अफाल्छन् । सामाजिक परिवन्दहरूमा सुधारको कामना गर्छन् । उपन्यासको आरम्भमा अग्निधरले गङ्गालाई योगमायाको छापबाट मुक्त बनाउनका लागि भरमजदुर प्रयास गर्छन् तर गङ्गाको शालीन अटेरीबाट उनी आजित बन्छन् । ससुरा श्रीलाल न्यौपानेको जस्तो एकलकाटे प्रवृत्ति नअपनाउन उनले खुलमखुला चेतावनी दिएकी छन् (पृ.१५०) । उनमा यस्तोकिसिमको साहस योगमायाकै सङ्गतबाट उत्पन्न भएको छ । गाउँघरमा अन्न दिँदा साना र लिँदा ठुला पाथी चलाउने चलनको विरोध छ । कात्तिके घाटमा डुङ्गा चलाएर जीविकोपार्जन गर्ने माझीहरूले योगमायाका कुटीलाई सहयोग गरेका कारण रातिमा बगाइएको छ । प्रेमनारायणले सुरुमा गोदान लिनेदिने का गरेका थिए । पछि उनी योगमायाको निकटताबाट सरल जीवन पद्धतितर्फ मोडिएका छन् । उनका दाजु रघुनाथमा भने योगमायाको चिन्तनको कुनै प्रभाव परेको छैन (पृ.३११) । योगमायाको सहज व्यावहारिक पद्धति भोजपुर क्षेत्रमा मात्र होइन काठमाडौँसम्म विस्तारित हुन पुगेको छ । उनीहरूले सुरुमा गलत पुरोहित्याइँ, शोषण, नाफाखोरी, लिङ्ग प्रभुत्ववाद, दास र सतीप्रथाका खराबीहरूको सुधारका लागि कठिन प्रयास गरेका छन् । उपन्यासको उत्तरार्धतिर पारिवारिक प्रमाङ्गीबाट देशको शासन चलाउने राणा शासकहरूका हत्या, आतङ्क, झुट, आडम्बर, ऐस आराम र मनोमानी प्रवृत्तिको सुधारतर्फ आकर्षित भएको छ योगमायाको कुटी । उनको कुटी निमुखाहरूको मुख, साहरा र ढाडस बनेको छ । कुटीमा ब्राह्मण जातको विरोध नभई गलत तरिकाबाट ब्राह्मणवादको व्याख्या गर्नेहरूसँग छ विरोध । विरोध पनि मतान्तर रहँदासम्म मात्र छ । मतान्तर हटेपछि विरोध समाप्त भएको छ । गञ्जबहादुर र नरेन्द्रबहादुर यसका उदाहरण हुन् । चाडपर्व, धर्मसंस्कृति मान्न चाहनेलाई र देउता पुज्न चाहनेलाई पनि बन्देज छैन तर त्यसमाभन्दा निर्गुण भक्तिमा ज्यादा सुख छ भन्ने सन्देश दिने काम योगमायाबाट भएको छ । उनले पुरुषहरू मात्र व्यासको आसमा बसेर प्रवचन गर्ने परम्परागत नियमविरद्ध विद्रोह गर्दै व्यासासनमा बसी प्रवचन दिएकी छन् । अपशब्दले गाली गर्नेहरूलाई समेत अज्ञानी ठानी माफी दिई सम्झाएर पठाएकी छन् । यसरी व्यवहारमा जटिल हुने धार्मिक, सामाजिक र सांस्कृतिक नियमलाई सरल सुलभ तुल्याउँदै लैजानु पर्ने विचार उपन्यासमा प्रत्यक्ष रूपमा प्रस्तुत भएको छ । यस्तो विचार जोसमनीको व्यावहारिक धर्मानुशासनसँग निकट रहेको कुरा औपन्यासिक तथ्यबाट पहिल्याउन सकिन्छ ।
ऐनकानुन मुखमा र दण्डपुरस्कार हातमा बोकेका शासकहरू अरूको हर्षमा दुःखी र अरूको दुःखमा खुसी हुने परपीडक ग्रन्थीबाट पीडित देखिएका छन् । उनीहरू मुखमा राम बगलीमा छुरा बोकी हिँड्थे । विश्वासकोे वातावरण थिएन । परिआएको खण्डमा ईश्वरका समेत आँखा छल्न खोज्थे । यस्तो परिस्थितिमा योगमायालाई दिन्छु भनेर कबोल गरेको ‘धर्मभिक्षा’ नदिनुमा कुनै आश्चर्य भएन । राणा शासकहरूका विरुद्ध योगमायाको लडाइँ चलिरह्यो । पहिलोपटक त उनी पारिवारिक बन्धनलाई उखेलेर स्वतन्त्र बाँच्न प्रयासरत रहिन् । दोस्रो प्रयासमा सांसारिक परिवन्दबाट उन्मुक्त भइन् । तेस्रो परिश्रमबाट भोजपुर आसपासका जनतालाई न्याय सिकाउनका लागि समय खर्च गरिन् । चौँथो मिहिनेत राणाशासकहरूको पिल्साइबाट देशका समस्त पीडितहरूको मुक्तिका लागि कर्म गरिन् । उनको यस्तो प्रयास जारिहेका सन्दर्भमा चारजना व्यक्तिहरू (चार सहिद) को गोली ठोकी हत्या गरिएको छ । त्यसपछि उनले राणाहरूले आफ्नै छातीमा गोली ठाकेको भन्ने औपन्यासिक अभिव्यक्ति भावी परिस्थिति पूर्वाकल समेत गरेको देखिन्छ । उनले पटकपटक पठाएको धर्मभिक्षाको माग पुरा नभएपछि मिठो, पिडो, लात बात जेजे दिनुपर्ने हो कार्तिक पूर्णिमासम्ममा दिनु भनी हदम्याद दिएर समाज परिवर्तनको बाटो नियालिरहेकी छन् । उनको त्यो सपना पुरा नहुने ठानी समूहिक रूपमा जलसमाधि लिने योजना अगाडि सारेकी छन् । अग्निसमाधिको असफलता जलसमाधिमा पुरा भएको छ । उनको एकल मृत्युले कम अर्थ राख्ने र सामूहिक मृत्युले मात्र ऐतिहासिक परिवर्तनको बीजारोपण गर्नसक्ने बुझेकी योगमायाले शासकहरूका सिंहासन जरैदेखि हल्लाइदिन समर्थ भइन् । आफूले जीवन त्याग गरेर पनि कुशल कर्मले जनमानसमा बाँचिरहिन् । उपन्यासमा आडम्बरी प्रवृत्तिको विरोध गर्नका लागि जुन उपाय अपनाइएको छ त्यसले पाठकको मस्तिष्कलाई दरो झट्का दिन्छ । बारम्बर सोच्न बाध्य पार्छ । पढ्दापढ्दै उपन्यासलाई रोकेर घोरिन थाल्छ के मानवले परोपकारका लागि यति हदसम्म परिश्रम गरेर जीवन अर्पण गर्न सक्छ ?
सभ्यसमाजको निर्माणका लागि धर्म, जात, लिङ्ग र वर्णको आडम्बरी जलप हटाएर निख्खर मानवलाई पुज्नुपर्छ भन्ने जोसमनी विचार उपन्यासमा प्रशस्त पाइन्छ । मानवतावादी विचारको झड्काबाट रन्थनिएको पाठक उपन्यासको निश्चित ठाउँ वा घटनाको पठनपछि प्रशस्त घोरिन बाध्य हुन्छ । यस्तो अवस्था त्यहाँ आउँछ जहाँ मानवको दर्द पराकाष्ठामा पुगेको हुन्छ । जब मानवको सहनशक्ति अन्तिम विकल्पमा पुगेको हुन्छ त्यहाँ उसका लागि ग्राह्य र त्याज्य केही बाँकी रहन्न । शासनको आडम्बर र परम्परान्ध समाजको कुकर्मका कारण मानवता यज्ञकुण्डमा वा अरुणको भुमरीमा हाम फाल्न तम्सिन्छ । यति निर्मम तरिकाले मानवता माथि प्रहार भएको छ त्यसैको निर्मम प्रतिक्रियामा जलसमाधि र अग्निसमाधि विकल्पका रूपमा उभिएको छ । यसभन्दा तल्लो तहको थिल्थिलिएको मानवता कहाँ हेर्न सकिन्छ ? सकिदैँन । यसरी समाजलाई आचारवान् आफू रहेको देखाउनका लागि जुनसुकै हतकण्डा प्रयोग गर्नका लागि पछि नपर्ने आडम्बरी पुरोहित्याइँ र पुरुषसत्तालाई उपन्यासले नराम्ररी धक्का दिएको छ । सो स्थापित सत्तालाई यथाशीघ्र सुध्रिएर समन्यायको बाटोमा हिँड्नका लागि कडा चेतावनी दिइएको छ । यस अवस्थामा केही न केही त सहारा बाँकी छ भनी आशाको दियो बालेर जनतालाई जगाउने काम जोसमनीले गरेका हुन् । त्यही विचार उपन्यास छ ।
३.९ महावैराग्य (हठयोग) बाट लक्ष्यसिद्धिको योजना
शङ्खेश्वर मन्दिरमा तपस्या गरेर ठुलीहजुरले हठयोगको पहिलो प्रयोग गरेकी छन् । त्यहाँ उनले दुग्धाहार गरी एक माससम्म तप गरेकी हुन् । घरबाट कसैलाई नभनी मन्दिरको ढोका बन्द गरी निर्बस्त्र भएर अलख जगाउने प्रयत्न उनले गरेकी छन् । उनको त्यो साधना मूलाधार चक्रबाट कुण्डलिनी शक्ति जागृत गर्नमा केन्द्रित देखिन्छ । दाहिने खुट्टाले योनी र गुदाको बीचभाग मूलाधारमा अँचेटी कुण्डलिनी जागरणको पहिलो प्रयोग गरेकी छन् । चौधौँ दिनमा बुहारी गङ्गालगायतका आफन्तले थाह पाएपछि मन्दिरको ढोका हानी बाहिर निस्कन अनुरोध गरेका छन् । उनी निर्बस्त्र भएको हुनाले सबै आगन्तुकहरूलाई विपरीत दिशातिर फर्कन लगाई आफू सकुशल भएको प्रमाण पेस गरेको उपन्यासमा रोचक कथा छ (पृ.१४४) । उपन्यासको पाठअनुसार उनको शरीरमा बस्त्र नभएको उल्लेख गरिए पनि त्यसले उपन्यासलाई भद्दा कामुक बनाएको छैन । बुहारीले दिएको एकसरो बस्त्रले शरीर लपेटेर मन्दिरबाहिर निस्किएको हुनाले पनि देख्नेहरूलाई समेत असर परेको छैन । यसरी हठपूर्वक साधना गरी अज्ञान रूपी कुण्डलिनीको जागरण गराएर आज्ञाचक्रसम्म पु¥याउने कर्ममा तत्पर हुनु जोसमनी अनुयायीहरूका लागि उपयुक्त छ । उनको यही पहिलो हठसाधनाले त्यस्तो झिल्को दिएको छ जसको प्रज्ञानबाट आलोकित भई उनी घर (माइती) फर्कन मानेकी छैनन् र आफू आफैँमा विभोर बनेकी छन् । हो यही अव्यक्त र अवर्णनीय लाभ हठयोगीहरूलाई प्राप्त हुन्छ । साधक योगीका यो विधि एकदमै खतरनाक र चुनौतीपूर्ण छ तर जति खतरनाक छ त्यति नै शीघ्र सिद्धि पनि दिन्छ भन्ने योगीहरूको मान्यता रहेको छ । योगमायाले भने त्यसलाई सजिलै पचाएको देखिन्छ ।
वेषभूषा परिवर्तन गर्नाले मात्र साधना सिद्ध हुँदैन । मठमन्दिरमा गएर वा जङ्गलमा गएर मात्र ईश्वरको आराधना हुने पनि होइन । मनमा लिसोझैँ टाँसिएर बसेका यावत् मायामोह, क्रोध, आशक्तिलाई तपस्याबाट नामेट पारेपछि हृदयाकाशमा परमात्माको मूल्य भेटिन्छ । सो परमात्माको मूल्य अन्वेषणका लागि योगमायाले वैशाखदेखि असोजसम्म पञ्चाग्नि तपन साधना गरिन् । कात्र्तिकदेखि अरूण नदीमा आधा डुबुल्की मारेर जलतपस्या र महालङ्गुर हिमालको टोढापमा तपस्या गरिन् । गङ्गाले समेत अत्याचारसँग लड्नका लागि ठुलीहजुरले देखाएको बाटोमा हिँड्ने बाचा गरी भक्तिमार्गको अवलम्बन गरिन् (पृ.२५१) । प्रेमनारायण दण्डी स्वामी भएपछि वैराग्यको घनत्व बढेका चिन्हहरू प्रशस्त देखिएका छन् । कम बोल्ने, खाना मन नगर्ने, धुम्धुम्ती बसेर टोलाउने र घरायसी काममा वास्ता नगर्ने गरेकै कारण उनका सन्तान समेत भएनन् (पृ.३५१) । उनको इच्छाविपरीत गरिदिएको विवाह पनि कारण थियो । फलस्वरूप उनले गृहस्थी जीवन सलक्क मिलाएर लैजान सकेनन्, बरू वैरागी भए । उनीबाट जायजन्म नहुनुमा यो पनि एक कारण थियो । जनाना, कमजोर, पुरुष वा गृहस्थ भन्नेजस्ता मोहहरू मनमा रहेसम्म तपको उद्देश्यपूर्ति हुन सक्दैन । योगबलबाट शक्तिसञ्चय गरी भित्री मनमा बज्रलेप भएर टाँस्सिएका यस्ता भावहरूलाई निर्मम तरिकाबाट प्रहार गर्न सक्नुपर्छ । त्यसरी बारम्बारको यौगिक साधनाबाट प्राहर भएको खण्डमा पूर्वसंस्कारहरू विस्तारै विस्तारै मनको गहिराइबाट बाहिरी सतहमा फालिन्छन् । लेस्सिएर बसेका खराब संस्कारहरू उप्किन थाल्छन् अनि यौगिक क्रियामा निखार आउँछ । असली निखारका लागि तपस्याको आवश्यकता पर्दछ अनि मात्र शरीरमा सकारात्मक परिवर्तनको आरम्भ र आभास एकैसाथ अधिगत हुन्छ । त्यो परिवर्तन आरम्भ भएको देखाउने चिन्ह बस्त्राभूषण नभई आशक्तिको अन्त्यबाट भएको व्यवहार परिवर्तन हो । त्यो ठुलीहजुर, सानीहजुर र दण्डी स्वामीजस्ता पात्रमा देखिएको छ । निर्लिप्त बनेका उनीहरूले संसारलाई जितेका छन् । यस्तै वैराग्यगत जोसमनी चिन्तनको अभिव्यञ्जना दिनु उपन्यासको उद्देश्य हो ।
धर्मभिक्षा प्राप्त गर्ने अभिलाषा पुरा नभएपछि चेतावनी स्वरूप अग्निसमाधिका लागि तयार हुनु हठयोगको दोस्रो प्रयोग हो । यस प्रकृतिको योगमा स्वलक्ष्य भेदनका लागि स्वशरीरलाई कष्ट दिनु परेमा वा शरीरमान हानी नै पुग्न जाने भएमा पनि निर्भय भई कार्य गरिन्छ । अभय, अजर र अमृत्यु स्वरूप आत्मबोध भएपछि एकबाजी सबैले मर्नुपर्छ, त्यसकारण किन डराउनु भनी कर्मरत बनिन्छ । चित्त नबुझेका नियमका बारेमा घनीभूत तरिकाले आवाज उठाउनसमेत पछि परिन्न । उपन्यासमा योगमाया र उनका अनुयायीहरूले त्यसै गरेका छन् । उनीहरूले लगभग आधादर्जनपटक भेटेर, लेखेर तार पठाएर शासन पद्धतिको स्थिति बसाल्नका लागि आग्रह गरेका छन् । शासकहरूका तिन पुस्ता फेरिए तर धर्मराज्य (विधिको शासन)को माग पुरा हुन सकेन । उनीहरूले अधमहरूको राज्यमा बाँच्ने काम व्यर्थ ठाने (पृ.४१८) । अन्यायपूर्ण तरिकाबाट बाँचेको सार नभएट्टाएपछि लगभग २४० जनाजति नबाँच्न निको मानी अग्निसमाधिमा जाने कठोर निर्णयमा सहीछाप गरिदिए । धनकुटा गौँडाको प्रशासनमा मरणेच्छु सबैको ल्याप्चेसहितको नाम प्रेषण गरियो (पृ.४२२) । अग्निदाहमा सामेल हुनेहरूको उत्साह आश्चर्यजनक रूपमा बढेको छ । मानौँ त्यहाँ भौतिक मृत्युको डर, चिन्ता र लोभभन्दा बेसी उत्साह र उत्सव चलिरहेको छ । आफू जलेर मर्न चाहेको खाल्डो आफैँले खनेका छन् । दाउरासहति टिनका टिन घ्यूको प्रबन्ध आफैँ गरेका छन् (पृ.४२५) । साहसिक र स्वेच्छिक मृत्युस्वीकार गरेकाहरू जाहन परिवारहरूसँग बिदा भएर आएका छन् । घरका वस्तुभाउ, श्रीसम्पत्ति मात्र होइन ढोकासमेत खुल्ला छोडेर बझुवाबेँसी झरेका छन् । यो मृत्यु महोत्सवमा सहभागी बन्नका लागि सयौँको सङ्ख्याका भक्तहरूलाई कुन कुराले आकर्षित गरेको थियो त ? कुन सम्मोहन कला वा जादुयी माया थियो योगमायामा ? जसको कारण एकोहोरिएका थिए त्यतिका भक्त र राजी भएका थिए सहजै देहत्याग गर्ने योजनामा ? त्यस्तो कुनै सम्मोहन उनमा केही थियो भने त्यो चेतना वा शिक्षाप्राप्त स्वतन्त्र आत्मज्ञान । थिएन भने पनि राज्यको व्यवस्था यति नृशंस बनेको थियो कि त्यसको मापन गर्ने कुनै तराजु थिएन । भक्त बनेकाहरू अधमरो बँचाइ बाँच्नुभन्दा पवित्र कर्मका लागि मरेर मुक्तिलाभ प्राप्त गर्ने वितरागबाट मोहित थिए । उनीहरूका दिमागलाई नित्यनैमित्तिक प्रवचनबाट परिष्कृत (ब्रेनवास) गरिएको थियो । लामो आध्यात्मिक सत्सङ्गतजन्य परिष्कारपछि उनीहरू तृष्णा, लोभ, लाभ, हानी र भविष्यप्रतिको चिन्ताबाट मुक्त भएका थिए । यही महावैैराग्यको अवस्थिति उपन्यासमा भेटिएको छ जुन जोसमनी सन्तहरूबाट अनुप्राणित थियो ।
राणा शासनको ज्यादतीले ऐँठिएका जनताहरू इच्छालग्दो बँचाइ बाँच्न सक्ने परिस्थितिमा थिएनन् । रोजाइको मृत्युबाट समेत मर्न नदिएर अग्निदाहमा जान रोकिदिएका थिए सरकारी फौज र मिलिसियाहरूले । बडाहाकिम माधवशमशेर राणाको प्रमाङ्गीमा बन्दी बनाइएपछि हठ, कट्टरता र साहसले युक्त योगमायाले उचो शिर पारेर आदेश सुनाउनका लागि आदेश दिएकी छन् (पृ.४४९) । आफूले देखेका र भोगेका सामाजिक बन्धन र शासनप्रणालीको विघटनका लागि उनले यसो गरेकी हुन् । उनीजस्ता योगमार्गमा हिँडेका जनहरूलाई नश्वर देहको त्याग वा बडाहाकिमको डर कुनै चिजले पनि असर गर्दैन । उनीहरूका लागि बडाहाकिमको आदेश कुनै ठुलो भूकम्प थिएन । उनीहरूका मनमा तृष्णाको तुच्छ जालो नभएका कारण राजा, फौज, सेना, सबका सब झिनामसिना वा भनौँ मामुली जनमा परिणत भएका छन् । अमर आत्माको बोध भएपछि नाशवान् शरीरलाई बन्दी बनाएर वा नबनाएर, फौज देखाएर वा नदेखाएर कुनै तरिकाबाट पनि भयभीत तुल्याउन सकिन्न भन्ने गाढा तरिकाको निर्भयता त्यागी योगमायाहरूबाट देखाइएको छ । त्यस्ता हठयोगीहरूमा र साधारण जनहरूमा यही फरक हुन्छ । माधवशमशेरसँग मुकाबिलाको औपन्यासिक घटनाक्रममा पाठकको संवेदना बारम्बार विदीर्ण बन्न पुग्छ । उत्साहको आगो रन्किछ । आफूलाई त्यहाँको कुनै पात्रको भूमिकामा खोज्न थाल्छ । त्यसपछि आत्मदहनको श्रृङ्खला विस्तारै विस्तारै मथ्थर हुन्छ । अन्त्यमा निर्भय आत्माको सत्यतालाई स्वीकार गरी लोककल्याणप्रति अनुरक्त हुन्छ । यही परोपकारी भावना जोसमनी मतानुकूल रहेको पाउन सकिन्छ ।
उपन्यासमा चित्रित मझुवाबेँसी समाजबाहिरको समाज थियो । अदालत बाहिरको न्यायालय र चिकित्सालय बाहिरको मल्हमपट्टी थियो । पुरोहित बिनाको धर्मकर्म, पारिवारिक भरोसा बाहिरको भरोसाकेन्द्र र समाजवाद भनौँ वा रामराज्य हो त्यसैको झल्को दिने स्वपौरखले निर्मित भयरिहत चेतनायुक्त सुधारपरक समाज थियो । यति चोखो विचारको बीजाधान गर्ने साधुहरू थिए जोसमनी । दासदासीको आश्रय, अन्यायमा परेकाहरूले न्याय माग्ने भरोसाकेन्द्र एवं बिफरको महामारीमा उपचारको केन्द्र बन्यो । यसरी सबैको सहारा बनेको बझुवाबेँसीमा दिनहुँ पौराणिक प्रवचन गरिन्थ्यो । गरुडपुराणलगायत अव्यवहारिक पद्धतिमरुको भने सुधारको अपेक्षा राख्ने मात्र होइन त्यसको नराम्ररी उघाड खाइएको थियो । पारिवारिक हेलामा परेकाहरू, बालविधवाहरू, सती बन्नबाट बँचेकाहरू, शोषित र पीडितहरूसमेतको भरोसाकेन्द्र पनि मझुुवाबेँसी बन्यो । यस्ता समाजबाट अभिसप्त बासिन्दाको सुविधा बढाउनका लागि मात्र नभई प्राण रक्षाका निम्ति पनि समर्पित थियो । यसरी परोकार र करुणाबाट ओतप्रोत मानवीय सेवाको भावना जोसमनी मतसँग सम्बन्धित छ । सोही मतबाट प्रेरित प्रस्तुत उपन्यासले अति सीमान्तीकृत र घृणाले डामिएका मानवको उपकार गर्ने अनुष्ठान निरूपण गरेको छ ।
रसियाली लेखक म्याक्सिम गोर्कीको आमा उपन्यासको क्रान्ति चेतका तुलनामा योगमाया उपन्यास अझ दर्बिलो देखिएको छ । त्यस उपन्यासमा प्रगतिवादी क्रान्तिको ज्वाला दन्किएको छ भने यस उपन्यासमा अध्यात्मवादी चिन्तनको उछाल उम्लिएको छ । उपन्यासअनुसार अग्निदाहमा जान चाहनेहरूका हातमा हत्कडी छ । कानुनको आँखा साँच्चै पट्टी लागेको अवस्थामा छ । भोजपुरको सिद्धकाली पाटीमा महिलाहरूलाई बन्दी बनाइएको छ भने पुरुषहरूलाई धनकुटा कारगारमा पुराइएको छ । यस अवस्थामा पनि थुनुवाबन्दीहरूलाई ‘म बन्दी भएँ’ भन्ने बोधले दुःखको उद्भव भएको छैन । अन्याय र थिचोमिचोलाई निमिट्यान्न पार्ने उद्देश्यमा कुनै परिवर्तन आएको छैन बरू ठुलीहजुर र सानीहजुर दुबैले चलाखी र कुटनैतिक तरिकाबाट काम फत्ते गर्न तम्सिएका छन् । सिद्धकालीको थुनाबाट भागेकी गङ्गाले काठमाडौँ पुगी बन्दीको रिहाका लागि शासकलाई अनुरोध गरेकी छन् । महालङ्गुर पर्वत टोढापको हिमालमा तपस्याका क्रममा नर्मदाको मृत्युभएपछि नैनकला एक्लै एकसाताको बाटो हिँडेर मझुवाबेँसी आइपुगेकी छ । टेकबहादुर बस्नेत धनकुटाको जेल फोरी भागेर साधुको भेषमा मझुवाबेँसी पुगेका छन् । नैनकला, दुखुना, गैँडेजस्ता बालबालिकाहरूकोे प्रशिक्षणस्थल पनि मझुवाबेँसी बनेको छ । यसरी योगमायाहरू आत्मबल, बुद्धिबल, विद्याबल र धैर्यशक्तिबाट काम निष्पन्न गर्न सिपालु देखिन्छन् । उपन्यासका धेरै पात्रहरू योगमायाको आदेश पालनामा कट्टर, उद्देश्य पुरा गर्नमा दृढ, स्वविचार प्रस्तुत गर्नका लागि स्वतन्त्र, अन्याय र शोषणका बिरुद्धमा एकमत र परोपकारी मानव सेवामा समर्पित देखिन्छन् । उपन्यासको यस्तो सुधारपरक चेतनामा जोसमनीको निर्भयताको र निस्पृहताको प्रभाव देखिएको छ । साथमा अन्यायको विरोध गर्ने, आवश्यक ठाउँमा हिम्मत प्रदर्शन गर्ने र उद्देश्यपूर्तिका लागि दत्तचित्त बन्ने बानी पनि पात्रहरूमा देखिएको छ ।
उपन्यासमा जलसमाधिबाट हठयोगको तेस्रो प्रयोग गरिएको छ । यस प्रयोगमा योगबलबाट प्राणत्याग वा जलसमाधिबाट मुक्त हुने भन्ने दुई विकल्पमध्ये दास्रो विकल्प चयन गरिएको छ । योगबाट प्राणाहुति गर्न सक्ने कमै देखिएका छन् । योगशक्ति बढी जानेका योगमाया र प्रेमनारायण हुन् (योगेनान्ते तनुत्यजेत्) । अन्य अनुयायी सबैलाई देहत्यागको यो विधि अव्यवहारिक हुने र हरेकको अलगअलग मृत्युको पनि सामाजिक मूल्य कम हुने ठानी सामूहिक जलसमाधिको योजना अघि सारिएको छ । यसबाट शासकहरूमा चर्को दबाब सिर्जना हुने मात्र नभई अन्यायी राणाशासनका विरुद्ध आन्दोलनको जग बसाल्न सकिने भावी आकाङ्क्षा उनीहरूको रहेको छ । अग्निसमाधिकै जस्ता नियम जलसमाधिका योजनमा पनि लगाइएको छ । सो योजनामा सामेल हुनका लागि सबैलाई स्वतन्त्र छोडिएको छ । इच्छुकको राजिखुसीमा मात्र समाधि लिन भनिएको थियो । कसैेलाई करकापमा राखिएको छैन (प्रेमनारायणलाई छोडेर किनकि उनलाई योगमायाले तिमी जानुपर्छ भनेकी छन्) । सामूहिक जलसमाधिमा जानेहरूका मनमा पिरभन्दा बढी उत्साह छ । यो त्याग वा हठको अर्को पराकाष्ठा हो । यो अवस्था शशिधरले भनेझैँ शब्दातीत छ । लोभ र तृष्णा मरिसकेको छ । राणा शासन त निमित्त मात्र बनेको छ । साधनाबाट मनलाई शुष्क र कठोर बनाइएको छ । योगमायाको निरन्तर शिक्षाबाट अनुप्रणित भक्तहरू साधारण मानिसहरूका लागि दुःसाध्य लाग्ने जलसमाधिमा सामेल हुन एकदमै सजिलोसित सहमत भएका छन् । हठयोगका माध्यमबाट गरिन लागिएको यस्तो आत्महानीमा अरुणको भङ्गालोसमेत निमित्त कारण बनेको छ । त्यागको अतिशय उद्रेकका कारण त्यागीहरूले शरीरबाट प्राण त्याग गर्नु अघि नै मृत्युलाई जितिसकेका छन् । यसरी वैराग्यमा प्रवृत्त भएका त्यागीमा मृत्युको भय समूल नष्ट भएको देखिनु अधिक आश्चर्यको कुरा भने होइन । यस्तो त्यागपरक योगमार्ग जोसमनीका विचारबाट उत्प्रेरित देखिएको छ ।
योगहरूको योग, साधनाहरूको साधना, भक्तिमध्येको श्रेष्ठ भक्ति हठयोग हो । जहाँ साधारण भक्तिको अन्त्य हुन्छ हो त्यहीँबाट हठयोगको आरम्भ हुन्छ । त्यसकरण योगको पराकाष्ठा वा चुनौतीको पनि चुनौतीका रूपमा हठयोगलाई स्वीकार गरिन्छ । जोसमनी परम्परामा आवद्ध भएका शाब्दी चेलाहरूले सहज योग विधिको प्रयोग गर्न सक्छन् भने गुरुमुखीबाट माथि लागेको शिष्य साधनाको उपल्लो दर्जामा उक्लिन पुग्छ । यही उपल्लो दर्जाको साधनाको कठिन प्रयोग उपन्यासकी पात्र योगमायाले गरेकी छन् । उपन्यासमा कल्पवाश, धुप र शीतबाधाको निराकरण, अग्नि प्रवेशको साहस र जल समाधि जस्ता चार तरिकाबाट हठयोगको विधि अपनाइएको छ । यस विधिको प्रयोगबाट आत्मसन्धानको प्रमुख कार्यमा योगमाया र प्रेमनारायणले राम्ररी सफलता प्राप्त गरेको पाउन सकिन्छ । उनीहरूमा जागृत वैराग्यले भक्तिसहित समाजसुधारको गुणस्तरीय काम अघि बढाउन प्रशस्त मात्रामा टेवा पुर्याएको छ ।
३.१० धर्मलाई व्यावहारिक बनाउने सत्प्रयास
जोसमनीहरूको धर्म (सकारात्मक ऊर्जा) र योेगमाया उपन्यासको धर्मको परिभाषा समान देखिन्छ । जोसमनीका अनुसार धर्म मानवका लागि उपयुक्त व्यवहार हो भने मानवीय व्यवहारको कुशलतापूर्वक आवलम्बन गर्न नसकिने मानवघाती चिन्तन अधर्म (नकारात्मक ऊर्जा) हो । धर्मको अनुशरण इहलोक र परलोक दुबैका लागि व्यवहृत हुनु आवश्यक छ । धर्म अझ बढी इहलोकको सुधारका लागि आवश्यक पर्दछ । एक महिना तपस्यामा बसेर बाहिर निस्किएपछि योगमायाले सबैका सामु भनेकी छिन् ‘हरेक मानवप्रति दयामाया देखाऊ, मानसिक र शारीरिक शुद्धिमा ध्यान देऊ, विकार, घमण्ड, शङ्का, असत्य र मायामोहमा फसेर पुनर्जन्ममा नपर, सत्यप्रकाश स्वरूप आत्मामा सत्कर्म भौतिक शरीरका असल कर्म प्रेषण गर ।’ उनको यस्तो विचारमा नैतिक आदर्श प्रकट भएको छ । यस्तो नैतिकता सुधारपरक पनि देखिएको छ ।
नश्वर शरीरमा बास गरिरहेको आत्मा नित्य छ । आत्मा नित्य भए तापनि त्यसमा शारीरिक कर्मको प्रभाव पर्ने हुनाले असल कर्म मन दिई आत्मालाई कि प्रकाशमय बनाउनुपर्छ । आत्माको शारीरिक र मानसिक शुद्धिका लागि अहिंसा, सत्य, अस्तेय, र अपरिग्रको पालना आवश्यक छ भन्ने विचार बारम्बारको प्रवचनमा योगमायाले भन्ने गरेकी छन् तर ब्रह्मचर्यको बारेमा भने कतै उल्लेख गरिएको पाइँदैन । कुटीमा बसोबास गर्ने नारीपुरुषको असावधानी भनौँ या स्वतन्त्रताका कारण एकाधले अवैध गर्भ बोकी सन्तानोत्पादन गरेका छन् । यस विषयमा आधिकारिक समाख्याताले चयन गरेको मुख्य पात्र गङ्गालाई मौन राखी अर्कै पात्रबाट यौनको विषय बोलाइएको छ । जोसमनीहरूले यौनको विषयलाई नितान्त वैयक्तिक इच्छा ठान्छन् । उनीहरूले ‘एकनारी ब्रह्मचारी’को सिद्धान्तलाई समेत अवलम्बन गर्छन् । उनीहरूले स्त्रीपुरुष एकआपसमा मिलेर मैथुन महामुद्राको प्रयोगबाट साधना सम्पन्न गर्न सकिने मत समेत जाहेर गर्छन् । यही कारण पनि मझुवाबेँसीका कुटीहरूमा यौनको विषयलाई व्यक्तिगत रुचिको विषय ठानी स्वतन्त्र छोडिएको थियो । मुख्यपात्रबाट मैथुनको विषयमा विचार प्रकट गर्दा साँच्चै मझुवाबेँसीमा त व्यभिचार थियो कि भन्ने उपन्यासको भाव हुन जाने डरले उपन्यासकारले गौणपात्रको प्रयोग गरी आलोचना गरेका सन्दर्भबाट उक्त विषय उप्काएका छन् । उपन्यासअनुसार बाटोमा हिँडिरहेकी शिवभक्तिनीकी छोरीसँग चिर्खुवा तरेर आउने बटुवाले भनेको छ, “मझुवाबेँसीमा मासुमा छेकबार छैन भन्छन् सबैले (पृ.४१३) ।”, “कुहेको माछाझैँ गना’छौ (पृ.४१४) ।” त्यस्तै उपन्यास लेखनको सामग्री सङ्कलन गर्दा डम्बरबहादुरका छोरा लोकेन्द्रबहादुरले भनेका छन् “त्याँ काँचोमासुको बन्देज थिएन भनेर हल्ला गर्थे पछिसम्म (पृ.५३५) । अर्की पात्र इन्द्रमायाले भनेकी छे, “हुन पनि त्यस्तै पर्न गो । एकाध घटना पनि घटे (पृ.४६८) । सबै नियममा कट्टर रहेकी योगमायाले आफूले गरेका पूर्वनिर्णय (उनकै भाषामा परपुरुष गमन ठानी पतिसँग गरिएको अलग सम्बन्ध) का विपरीत हुने गरी छाडा रूपमा यौन स्वतन्त्रता दिइन् भन्न सकिन्न । यस्ता महिलालाई निच देखाउनका लागि गरिने अनेक हर्कत र मुखालेहरूको मुखमा ठेडो खाँद्नका लागि गङ्गाले धनकुटा जेलमा रहेका प्रेमनारायणहरूलाई तिहारको टीको लाइदिएकी छन् (पृ.४६७) । गङ्गाको यस उक्तिबाट पुरुष श्रेष्ठ हुने समाजमा नारीलाई पतिता देखाउनु सामान्य हो भन्ने चिन्तन अभिव्यक्त भएको छ । अतः यस उपन्यासमा कुनै व्यावहारिक विषयलाई जटिल नबनाई सहज तरिकाले स्वीकार गरेर कर्म गर्दै गएमा रागको मात्रा कम बन्दै जाने र भोगको नश्वरता समेत अनुभव हुने जोसमनीहरूको विचार रूपायित भएको पाउन सकिन्छ ।
धार्मिक, सामाजिक, सांस्कृतिक र सामाजिक व्यवहारका कट्टरताहरूमा सुधार गर्नुपर्छ भन्ने जोसमनी साधुहरूको मान्यता रहेको छ । उनीहरूलेभैँ योगमाया उपन्यासले पनि धर्मका नाममा हुने विकृतिलाई स्वीकार गरेको छैन । सामाजिक कुसंस्कारहरूको भण्डाफोर गरेको छ । संस्कृतिमा रहेका खराबपनको सुधारका लागि आवाज बुलन्द पारेको छ । पुरोहित्याइँ प्रवृत्तिको विरोध गरेको छ । मानव किनबेच गर्ने दासप्रथा, नारीलाई जिउँदै जलाउने सतीप्रथा र गरिबमारा अन्न पच्चिसाको उछितो काडेको छ । वेदाध्ययन जातजाति र नारीहरूको मौलिक हक रहेको उद्घोष गरेको छ (पृ.१९१) । शिक्षा, न्याय, स्वतन्त्रता र भ्रातृत्वको विकासका लागि आवाज बुलन्द पारेको छ । दानपुण्य, अन्त्येष्टी क्रिया र जटिल कर्मकाण्डका विधिहरू सुधार गरी व्यावहारिक र सरल बनाउनु पर्छ भन्ने विचारमा उपन्यास दह्रोसँग उभिएको छ ।
धर्मको महत्ता परलोकका लागि भन्दा इहलोकका लागि ज्यादा आवश्यक भएको हुनाले धर्तीमा सदाचारपूर्वक निष्काम कर्म गर्नु मानवीय कर्तव्य हो भन्ने जोसमनी मत उपन्यासको वैचारि आधार बनेको छ । धर्म ईश्वरका लागि कम र मानिसका लागि ज्यादा आवश्यक रहेको किटानी गर्न उपन्यास चुकेको छैन । धर्मलाई पारलौकिक जटिल क्रियामा सीमित नगरी यसलाई सादाचारपूर्वक समाज परिचालनको सहज र समावेशी नियम वनाउन आवश्यक छ र यो समयानुसार परिमार्जन हुनु पनि आवश्यक छ भन्ने मान्यता उपन्यामा विस्तारित भएर आएको छ । धर्मले मान्छेलाई विभेद होइन कि समन्याय दिलाउन सक्नुपर्छ नत्र धर्मलाई मानिसहरूले परित्याग गर्दै जान्छन् भन्ने भावको घनत्व उपन्यासमा पाइएको छ ।
धर्मलाई कल्पनाको जालोमा उनेर होइन कि व्यवहारको पाइनबाट तिर्खानु पर्छ भन्ने जोसमनी विचार उपन्यासमा सशक्त रूपमा उपस्थित भएको छ । धर्मलाई कल्पनालोकबाट उतारी धर्मपथलाई शुद्धीकरण गर्ने काम राम्ररी भएको छ । जटिल प्रक्रिया हटाएर स्वार्थ बाझिएका धार्मिक सामाजिक कृत्यको निषेध गरी जीवनोपयोगी, सरल, सहज मात्र होइन समावेशी बनाउनुु पर्नेमा उपन्यासले जोड दिएको छ । यस्तो विचार जोसमनी मतको विचारसँग अधिक मात्रामा मिल्दो रहेको छ ।
३.११ उपन्यासका सीमाहरू
योगमाया उपन्यासले धर्मको शुद्धीकरण गर्नुपर्छ भन्ने नभई सरलीकरण पनि गर्नुपर्छ भनेको छ । उपन्यासले जुनसुकै हालतमा पनि मानवताको रक्षा हुनुपर्छ भन्नेमा जोड दिएको छ । यो उपन्यासको सुन्दर पक्ष भए पनि केही सीमाहरू रहेका छन् । त्यस्ता सीमाहरू विचारगत, सीपगत र भाषागत गरी तिन प्रकृतिका भेटिएका छन् । यहाँ तिनको सङ्क्षेपमा चर्चा गरिएको छ ।
जोसमनीहरूले निर्गुण ईश्वरलाई मात्र स्वीकार गरी आत्मा र परमात्मा अद्वैत रहेको विचार स्पष्ट रूपमा व्यक्त गर्छन् । उपन्यासमा भने ईश्वरीय अद्वैत विचारको चर्चा आएको छैन । सगुण ईश्वरको प्रधानता नहुने जोसमनी मतको आख्यानीकरण गर्दा सगुण विचरले समेत ठाउँठाउँमा प्राथमिकता पाएको छ । स्वर्ग र नरक यात्रासम्मको व्याख्या बढी छ । झिना मसिना पात्रहरूको समेत विस्तारपूर्वक चर्चा गरेको उपन्यासले योगमायाका पछिल्ला श्रीमान्को परिचय थप खुलाउन कञ्जुस्याइँ गरेको छ । अनुसन्धान गरी सामग्री सङ्कलन गरेर प्रस्तुत कृति लेखिएको हो भन्ने दाबा उपन्यासको अन्तिम भागमा लेखकको रहेको छ तर योगमाया १७ वर्षदेखि ४० वर्षसम्म के कसरी आसाममा बसिन्, नेपाल फर्कनका लागि के कुराले प्रेरणा दियो नभनीकन उपन्यासको कथा नैनकलाका बासँग बिहे भएको मात्र भनी फड्किएको छ । उपन्यासको आरम्भदेखि प्रभावकारी पात्रका रूपमा उपस्थित योगमालाई पुराण वाचनमा ‘परपुरुषसँगको संसर्ग पापको कारक हो’ भन्ने प्रवचन सुनाएर पतिपत्नी सम्बन्धबाट अलग भएको देखाइएको छ । उपन्यासकै पेज ६९ मा साधुको सङ्गत बाक्लै गरेको उल्लेख छ । हो त्यही सङ्गत अध्यात्मतर्फ मोड्नका लागि काफी छ । योगमाया धोद्लेबाट भागेर माइतीतिरको बाटो लागेपछि जङ्गलबाहिर निस्किएका अवस्थामा एकजना आमैले मोही पियाएकोमा ‘अक्षय तृतीयामा दान दिएसरह’ भए होला भनी आमैको मनस्थिति योगमायाका मुखबाट सर्वदर्शी भई भन्न खोजिएको घटना पनि कृत्रिम रहेको छ । भोजपुरे भक्तिनीहरू दोचा लगाएर महालङ्गुर पर्वततिर हिँडेको पनि सुहाएको छैन । नरेन्द्र बस्नेतले योगमायाको गलाबाट सेतो सर्प झरेको देखेकोे भन्ने कहानी र आँप चोरेको निहुँमा अग्निधरलाई पिट्ने गञ्जबहादुरलाई योगमायाको प्रभावले ज्वरो आएको भन्ने दुबै काहनी काल्पनिक प्रकृतिका छन् । उनको बर्खिलापमा लाग्ने अन्य दुईजनाको समेत मृत्यु भएको घटना वर्णन गरेर योगमायाको देवत्वकरण गर्न खोजिएको छ । कतिपय ठाउँमा योगमायाका कवितात्मक वाणीहरूको आख्यानीकरण भएको समेत देखिन्छ । उफ्रौलीटार सरेपछि पनि फेरि मझुवाबेँसीलाई नै परिवेशका रूपमा चित्रण गरिएको छ । त्यसले गर्दा परिवेशमा गञ्जागोल उत्पन्न भएको छ ।
उपन्यासमा भाषागत त्रुटीहरू प्रशस्त मात्रा छन् । तिनले अर्थको अनर्थ दिएका छन् । कहीँकहीँ अर्थसञ्चारमा समेत बाधा उत्पन्न भएको छ । चन्द्रबिन्दुको प्रयोग, विपर्यास, पदयोग र वियोग, सर्वनाम ‘तँ’ र निपात ‘त’मा समान लिपिको प्रयोग, प्रथम पुरुषका क्रियामा हुनुपर्ने अनुस्वारकोे कमी, पात्रका फरकफरक व्यक्तिगत विशेषताले भावको प्रवाहमा बाध उत्पन्न गरेका छन् । सार्थक शब्दमा वर्ण थपिन गएको र मात्रा छुट्न गएका कारण ठाउँठाउँमा अर्थप्रवाहमा बाधा पुगेको छ । यसले गर्दा खिरको भोजनमा बियाँको सकसले दनक दिएको अनुभव हुन्छ । उक्त कमजोेरीहरूलाई निम्न उदाहरणबाट देखाउन सकिन्छ ः
पदगत त्रुटिहरू
धोद्ले (पृ.८५) र घोद्ले, (पृ.७२, ८४) भीर (पृ.९६) भिर (पृ.९८), ल्याइदिएछ्न् (पृ.१०९), विधुवाँ (पृ.१९१), खाबो (पृ.१९८), अर्खेलो (पृ.१६६), गउँबूढा (२९१), त्यसबख त (पृ.२९७), बुडलिङ्ग (हुनुपर्ने बुङलिङ, पृ.३४१), नरेन्द (पृ.४७७) ।
पदावलीगत त्रुटिहरू
काडाघारी छेउ (पृ.८८), हिँड्न खोजे (हुनुपर्ने प्रथम पुरुष, पृ.१११), त्यतिबिधि (पृ.३०५), बाबु बाबू (पृ.३१४), मिला पत्र, मिलापत्र (पृ.२९९), ...सँगै क्ररिया बस्न नदिएको (पृ.२९९), कसैलाई पालेकी (हुनुपर्ने पोलेकी, पृ.४१३), सिल्मेबाट झरे (सिम्ले, पृ.४१७), आफूले अन्नाय नसह्नु (पृ.४२७), मिसिलियालाई अराई सिकाई गरेर... (पृ.४४४), शिव ∕ शिब ∕ (पृ.४५२), बास बसँ (पृ.४५५), राणाका विरोध दुई जनालाई...(पृ.४८३) ।
वक्यगत त्रुटिहरू
पहिलो थुम्कोमा निस्किएर पछि पानी पँधेरो कटहरेतिर जाने बाटो छुटिन्थ्यो (पृ.८१) ।
हिम्मतँलाई बलियो गरी कसेँ मनैमा (पृ.८९) ।
एक अँगालो चिसो सिरेटोले मुख घोइदियो (पृ.८८) ।
आँखा केराको हातोमा थे (पृ.८८) ।
घर्ती माइलो...सेते घर्ती...समाचार ल्याउने कुन हो (पृ.९८, १०३) ?
मलाई फुर्काई फुकाई काम लगाउँथे (पृ.११०) ।
यहाँ चोट लागे पनि दुख्थ्यो भन्न छैन (पृ.१२८) ।
तुलसाका बाल केही बोलेनन्, मुछेर पञ्चगाँस लिए (पृ.१३४ ।
महेश्वर हुत्तिएर आउँथयो (पृ.१४०) ।
१४८ पेजको संस्कृत श्लोकमा नै गल्ती छ । ...हृदयान्मापसर्पतु हुनुपर्ने ।
ए । फेरि, सबै ठाममा सती जादैन अहिले । सबैलाई जलाउन्न (पृ.१७५) ।
भक्तिनीको चिठी नपाएर हो कि, किन न हो (पृ.२२७) ?
उहाँले चोला फेरेर भीमशमशेर प्रधानमन्त्री र श्री ३ भए, नगर गुम्ने रछन् त्यस बेलाँ (पृ.२६६) ।
सती ाराम मन्दिर पाटीमा केही दिन रहने ...भएम् (पृ.२८९) ।
काँहिला त (तँ) हामीसँगै किरिपुत्री बस्न मिल्दैन (पृ.२९७) ।
अबे पुरा क्रियाकर्म गर्छु ( पृ.३००) ।
हामी पनि फोर्न सकिन्थेनउ ।
हामी पुग्दा दुखुना थिन् रघुनाथ पनि कता हिँडिसकिछ (पृ.३३१) ।
मायाका बाले भन्नु भाथ्यो–खेत पुराना गाउँमा डाँडाखेत... (पृ.४६३) ।
पातकीहरूले पाता कसरे ज्यान लिए... (पृ.४६५) ।
पृष्ठ सङ्ख्या ५१५ को चौँथो अनुच्छेदमा भाषिक त्रुटिका कारण अनुच्छेदको अर्थ प्रवाहमा बाधा उत्पन्न भएको छ ।
झ्याप्य ब्रेक लाउनु भो दाइले (पृ.५२०) ।
यसरी उपन्यासमा भएका असावधानीगत भाषिक त्रुटिहरू आगामी संस्करणमा सच्चिएर आउने अपेक्षा गर्न सकिन्छ । शिल्पगत सीमा र विचारजन्य सीमाहरूलाई समेत पुनर्मूल्याङ्कन गरी परिमार्जन गर्न सकिएको खण्डमा उपन्यासको गुणवत्ता थप मजबुद बन्ने अपेक्षा गर्न सकिन्छ ।
३.१२ निष्कर्ष
समाजलाई भद्रआन्दोलनका माध्यमबाट सुधार गर्न सकिएका खण्डमा मानिसको जीवन सुखमय बन्छ भन्ने सुधारवादी विचार जोसमनीहरूको रहेको छ । यस्तो जोसमनीहरूको विचार पूर्वाधुनिक कालका कवितामा स्वर्णीम अक्षरमा अभिव्यक्त भएको छ । उक्त दर्शनले परम्परावादी जनसमुदायका मन मस्तिष्कलाई हल्लाएर परिर्वनको नयाँ क्षीतिज उघारेको छ । उक्त दर्शनको सुधारवादी विचारलाई औपन्यासिक आख्यानमा उनेर प्रस्तुति दिने काम निलम कार्की निहारिकाबाट भएको छ । उनको विश्लेषित कृति योगमायामा जोसमनी मतका नौवटा विशेषता आलोकित भएका छन् । तिनमा मानतवताको प्रसस्ति गाउने मानवतावाद, सरल धार्मिक विधान र आडम्बरको सुधारको अपेक्षा जस्ता वशेषता पर्दछन् । जोसमनी मतले अवलम्बन गरेका समावेशिताका नियम उपन्यासमा सुन्दर तरिकाले रूपायित छन् । जातीप्रथाको विरोधसहित सामाजिक विकृतिका बिरुद्ध जोसमनीहरूले झैँ उपन्यासले पनि प्रस्टरूपमा आलोकन गरेको छ । त्यस्तै उपन्यासले आध्यात्मिक मार्गबाट समाजको रूपान्तरण गर्न सकिन्छ भन्ने विचार प्रक्षेपण गरेको छ जुन उपन्यासको मर्म हो । अध्यात्मको जगमा उभिएको मानवता र समानता एकदमै सुन्दर तरिकाबाट निरूपण भएको छ । दार्शनिक विचार प्रेरित उपन्यासका घटनाले पाठकका मनमा बारम्बार झड्का दिएका छन् । विकल्पका ज्वारभाटहरू उत्पन्न गरेका छन् । त्यसो हुँदा साधारण मानिसलाई असाधारण लाग्ने ठाउँ प्रशस्त मात्रामा छन् । त्यही भएर हठयोगको विधि उपयोग गर्ने योगमायाको चरित्रलाई पाठकले सितिमिति पत्याउन नसक्ने ठाउँ पनि छ तर यथार्थ घटनामा आधारित कथामा पारलौकिक विषयको मिश्रण भएको हुनाले अपत्यारिलो हुनबाट उपन्यास सुरक्षित छ । यसर्थ उपन्यासले आध्यात्मको बाटोबाट परमात्मको भजन मात्र गाएको छैन अपितु जोसमनीहरूले जस्तै समाजको उद्बोधनका लागि प्रशस्त मात्रामा सचेत प्रयत्न गरेको छ । आध्यात्मिक विषयको आर्थपूर्ण व्याख्या गरी त्यसकै चिन्तनको अन्तर्तहबाट समता, न्याय, बन्धुत्व, मानवता, चेतना र त्यागको प्रसस्तिगान उपन्यासले गरेको छ । यस्तो अध्यात्म मिश्रित सुधारपरक चिन्तन जोसमनीहरूको मौलिक चिन्तनसँग सम्बन्धित रहेको छ । समाजसुधाका विषयहरूमा अभयानन्द द्वितीयभन्दा अगाडिका सन्तहरूको विचार मिलेको छ भने यज्ञयज्ञादिको विषयमा अभयानन्दको प्रभाव परेको देखिन्छ । यसरी जोसमनी मतका आधारमा उपन्यासको पहिलोबाजी विश्लेषण भएको छ । यो नै यस समीक्षाको मुख्य उपलब्धी हो ।
सन्दर्भसामग्री सूचीः
शर्मा, जनकलाल, (२०७७), जोसमनी सन्तपरम्परा र साहित्य, काठमाडाँै ः अजम्बरी पब्लिकेसन ।
दास, शशिधर, (२०७७), ‘सच्चिदानन्द लहरी’, सङ्क., जनकलाल शर्मा, जोसमनी सन्तपरम्परा र साहित्य, काठमाडाँै ः अजम्बरी पब्लिकेसन ।
..................(२०७७), ‘वैराग्याम्बर’, सङ्क., जनकलाल शर्मा, जोसमनी सन्तपरम्परा र साहित्य, काठमाडाँै ः अजम्बरी पब्लिकेसन (२०७७) ।
..................(२०७७), ‘पाखण्ड खण्ड अखण्ड शब्द’, सङ्क., जनकलाल शर्मा, जोसमनीसन्त परम्परा र साहित्य, काठमाडाँै ः अजम्बरी पब्लिकेसन ।
.................. (२०७७), ‘अजप गीता’, सङ्क., जनकलाल शर्मा, जोसमनी सन्तपरम्परा र साहित्य, काठमाडाँै ः अजम्बरी पब्लिकेसन ।
दास, ज्ञानदिल, (२०७७), ‘उदय लहरी’ सङ्क., जनकलाल शर्मा, जोसमनी सन्तपरम्परा र साहित्य, काठमाडाँै ः अजम्बरी पब्लिकेसन ।
..................(२०७७), ‘रागवाणी’ सङ्क., जनकलाल शर्मा, जोसमनी सन्तपरम्परा र साहित्य, काठमाडाँै ः अजम्बरी पब्लिकेसन, पृ.३०६ ।
मोक्ष मण्डल, (२०७७), ‘निर्गुन’, सङ्क., जनकलाल शर्मा, जोसमनी सन्तपरम्परा र साहित्य, काठमाडाँै ः अजम्बरी पब्लिकेसन, पृ.२०३ ।
दास, अच्युतदिल, (२०७७), ‘निर्गुण’ सङ्क., जनकलाल शर्मा, जोसमनी सन्तपरम्परा र साहित्य, काठमाडाँैः अजम्बरी पब्लिकेसन, पृ.२४० ।
घेरण्ड मुनि, (२०२३), घेरण्ड संहिता, चौँथो संस्क., भाष्य., श्री स्वामीजी महाराज, मध्यप्रदेश, भारतः पीताम्बरा पीठ, सन् ।
परिशिष्ट १
कार्यव्यापारका सिलसिलामा मरेको देखाइएका पात्रहरू:-
मञ्चमा मृत्यु भएका पात्रहरूः जलसमाधि गएका अठसठ्ठी जना, अग्निधर, तुलसा, गिरि, गञ्जमान, आसामे कँडेल, नैनकलाका बा, नर्मदा, गोपीकृष्ण, रत्नमान, यदुकुमारीको छोरो, कान्छीआमा
नेपथ्यमा मृत्यु भएका पात्रहरू: नैनकालाका पति, बिफरको महामारीबाट मृत्यु भएका बालबालिका र बृद्धबृद्धहरू, कुटीका आमैहरू, भूकम्पबाट कमिलाझैँ मरेका मान्छेहरू ।