18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सन्दर्भिकाको सन्दर्भमा

कृति/समीक्षा परसुराम पौड्याल February 24, 2025, 1:36 pm

भारतीय नेपाली साहित्य संसारमा नवीन पौड्याल कुनै अपरिचित व्यक्ति होइनन्। बाह्रौँ श्रेणीमै हुँदा नब्बेकै दशकमा ‘सुमार्ग’ नामक हस्तलिखित पत्रिका सम्पादन गरिसकेका नवीन हुने बिरुवाको चिल्लापात भन्ने कुरा आजसम्म प्रकाशित तथा प्रकाशित उनका पुस्तक र पत्रिकाहरूले प्रमाणित गर्दछ। अभिरुचि अध्ययन अनि पेसा प्राध्यापन भएकाले होला, उनको कलम सिर्जनात्मक कार्यमा भन्दा निर्माणात्मक समीक्षात्मक कार्यमै बढी चलेको पाइन्छ। लालगेडीसरह आँखामै हाल्न पनि नबिझाउने स्वभावका धनी नवीन सबैका प्रिय छन्। नामै नवीन त्यसलाई सार्थक तुल्याउन उनी नयाँ नयाँ कार्य गर्न अग्रसर देखिन्छन्। विभिन्न महाविद्यालय विश्वविद्यालय सङ्घ संस्थाद्वारा आयोजित राष्ट्रिय र अन्तरार्ष्टिय सङ्गोष्ठीमा अनेकौं कार्यपत्र प्रस्तुत गरी आफ्नो लेखनधर्मितालाई सक्रिय राख्न सक्षम छन्।

अध्यवसायी नवीनको भारतीय नेपाली समालोचक सन्दर्भिकाको पाण्डुलिपि हात लाग्यो। सरसर्ती हेरेँ, आउने शोधार्थी विद्यार्थी अनि यस क्षेत्रमा रूचि राख्ने साहित्य निर्माताका लागि यो अवश्यै सन्दर्भिका झैँ झट्ट आफुलाई चाहिएका समालोचक-समालोचनाबारे सूचना प्राप्त गर्न सक्नेछन् भन्ने लागेको छ, यसमा कुनै संशय छैन ।

नवीन जहिले पनि पढ्ने र लेख्ने काममा व्यस्त देखिन्छन्। एउटा महाविद्यालयको संस्थापक कार्यवाहक प्राचार्य जस्तो दायित्वपूर्ण अभिभारा वहन गरेर पनि भाषा साहित्य भनेपछि घर-परिवारै बिर्सन्छन्। उनी एउटै कार्यमा केन्द्रित रही कार्य गर्नुभन्दा नयाँ नयाँ विषयमा कार्य गर्न सधैँ उत्सुक देखिन्छन्।

भाषा समाजमा हुर्कन्छ अनि व्यावहारमा बाँच्तछ। लेखनकाल विकसित भएपछि भाषा संरक्षण हुन थाल्यो। मौलिक परम्परामा बाँचेका भाषाले लेख्य रूप पायो, अनि वाङ्मय फुल्यो- फल्यो। व्यवहारमा चलेका भाषिक कोटिहरूको सङ्कलन तिनीहरूको अर्थबोध गराउन नै कोश अग्रसर रह्यो र अग्रसर छ पनि। यसैले कोशभन्दा मूल प्रविष्टिकै उच्चारण, व्याकरणिक सूचना, अर्थ, प्रतिशब्द प्रयोग आदिजस्ता विवरण प्रस्तुत गरिएको ग्रन्थ भन्ने बुझिन्छ। सबै कोशमा दिएका सूचना समानुपातिक रूपमा प्रस्तुत गरिएको हुन्छ भने किटान गर्न सकिदैन। कोश निर्माताले कोशनिर्माणको उद्देश्य आवश्यकता र उपयोगितालाई हेरेरै सूचना पस्किएका हुन्छन्। आकारप्रकार उद्देश्य क्रम भाषासङ्ख्या विषयक्षेत्र, अर्थ आदिका आधारमा नै कोशको प्रकार छुट्ट्याइएको हुन्छ। कोश निर्माणको सम्पूर्ण प्रक्रिया नै कोशका प्रकारमा आधारित रहेको देखिन्छ। कोश अनेकार्थी शब्द भए तापनि नेपाली भाषामा कोश र कोष-का लागि व्यवहारमा चलेका रूप हुन्। प्रचलनका दृष्टिमा कोशले जुन व्यापकता लिएको छ, त्यसको तुलनामा कोषको प्रचलन न्यून छ। यसरी प्रायः कोश निर्माताले कोशलाई नै धेर प्रयोग गरेका छन्। तर प्रयोक्तालाई भने यी दुईवटा रूपमा कुन मान्नुभन्ने दोधारे स्थितिले कहिले छोड्न सक्ला, शोधकै विषय छ।

कोशका सन्दर्भमा कोशले नै प्रदान गरेको धारणा यस्तो छ- कुनै निश्चित क्रम, नियम, तथ व्याकरणिक व्यवस्थाअनुसार शब्दहरू भेला पारी प्रत्येक शब्दका अर्थ लेखिएको ग्रन्थ शब्दकोश अनि कोष – “झिल्लीले बेरिएको र जीवन रसको केन्द्रसमेत भएको शरीरमा रहने मासपिण्ड वा कण...”। यी दुवैमा पाइने समान अर्थ भने भण्डार, ढुकुटी, खजाना आदि रहेको छ। शब्दकोशभित्र कोश र कोष दुवै रूप पाइए पनि विवक्षागत अर्थ भने दुवैमा केही भिन्न रहेको पाइन्छ। प्रकार्यका दृष्टिले पनि ‘कोष’ भन्दा ‘कोश’ नै प्रचलनमा बढी प्रयोग गरिसकिएकाले अनि कोशमा निहीत अर्थका दृष्टिले पनि कोशलाई नै स्वीकार्न सकिने सम्भावनालाई आँखा चिम्लन मिल्दैन। स्मरणयोग्य कुरा के छ भने भाषा व्यावहारमा नै बाँच्तछ। त्यसैले ‘मेरो गोरुको बाह्रै टक्का’ भन्न पनि सकिएन नत्र ‘एक्लो वृहस्पति झुट्टा’ हुन बेर छैन।

प्रस्तुत सन्दर्भिकाको उद्देश्य बिचार्दा भारतीय नेपाली समालोचकहरूको वर्णक्रमअनुसार नाम, यथासम्भव जन्म-मृत्यु, शिक्षा, पेसा तथा उनीहरूका प्रकाशित समालोचनात्मक ग्रन्थ, लेख, समालोचनाक ती आदिको विवरण प्रस्तुत गरिएको ग्रन्थ भन्ने बुझिन्छ। कोशका प्रकार नियाल्दा एउटा विषयकेन्द्रित अथवा समालोचना हो। तर कोशमा समालोचनाभित्र प्रयोग गरिएका प्राविधिक शब्दहरू अनि तिनीहरूको अर्थ भने प्रस्तुत गरिएको छैन भन्ने जान्न पाइन्छ। यो कोश भए पनि कोशिमका अर्थ, व्याख्या आदि प्रस्तुत गरिएको सन्दर्भ ग्रन्थ भने होइन। यसैले यसलाई कोश नभनेर सन्दर्भिका भनिएको हो। यसले कोश निर्माणको उद्देश्यलाई प्रष्ट पारेको छ।

कोश निर्माण खर्चिलो, समय लाग्ने, गाह्रो र झिँजो कार्य हो। योजनाबद्ध रूपमा सामुहिक रूपले कार्य गरिनु पर्ने विषय हो। तर सङ्ख्याका दृष्टिले नेपाली भाषामा व्यक्तिगत रूपमा नै धेर कोश निर्माण भएएका छन्। त्यसैले प्रत्येक कोश निर्माता नै धन्य छन्। कोश वैज्ञानिक द़ष्टिले हेरे ती कोशहरूमा केही कमी कमजोरी अवश्यै होलान्। तरै पनि ती हाम्रा लागि आदर्श र अनुकरणीय पनि छन्।

प्रस्तुत कोश भारतीय भेकमा यस प्रकारका कोशहरूमा पहिलो कोश भएकाले यस प्रकारको कार्यमा यो ऐतिहासिक बन्न पुगेको छ। कुमार प्रधानले नेपाली साहित्यकोश निर्माण कार्यको थालनी गरेको थिए। तर उनको असमयिक निधनले कार्य अघि बढ्न सकेन। नेपालीमा साहित्यमा साहित्यकोश, विश्वकोश आदिको रिक्तता पनि अवश्य पूरा होला, आशा, साँचौं।

उद्यमी नवीनका कलम नित्य नित्य नवीन कार्य गर्न सक्रिय रहुन् हार्दिक सदिच्छा ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।