14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

चिसापानी देखि चेरीखुरी सम्म

नियात्रा स्वयंम्बर सिंह लामा December 2, 2008, 2:04 am

बि.सं.२०६३ साल फागुन महिनाको ११ गते बिहान काठमाण्डौको साङग्री ला होटेल बाट शुरु भएको हाम्रो यात्रामा सुन्दरीजलको उकालोमा पर्ने जंगलको बाटै भरी लुकामारी खेल्दै र रमाउदै बेलुका चिसापानीको गौरी शंकर टुरिष्ट गेष्ट हाउसमा बास बस्न पुग्छौं । पाँच जना अमेरिकान पर्यटक र साथमा ११ जना सहयोगी नेपाली साथी भाईहरु पनि थिए ।

वसन्त ऋत्यूको आगमण संगै बारीमा मकै टुसाएको थियो । साँझ विहान अनि सुनसान रातमा भमरा जोडी गुनगुनाएको सुनिन्थ्यो । पारीलो भञ्ज्याङ अनि खर पाखामा धङेरी फुली सकेका थिए । बाटो छेउछाउका साकुरा फुले सरी सेताम्य फुली रहेका आरुका बोटहरु अस्ताउनै लागेका डाँडा माथीका घामको रातो किरणले दुलही सिंगारे भैं लाग्थ्यो । उत्तर तर्फा हिमालय पर्वतहरु चैतमासको खडेरी रातमा डढेलोले पहाडमा तानेको रेखा जस्तै रातो घामको किरणमा टल्की रहेको थियो ।

चिसापानी पुग्नु भन्दा अगाडीको शिव पुरी आरक्षण भित्रको जंगलमा गुलावी, सेतो र लाली गुराँस ढकमक्क फुली रहेका थिए । अलि-अलि चिसो हावा, शान्त वन जंगल, आह ! कति राम्रो, राजधानी बाट नजिक रहेर पनि भीडभाड मूक्त, कति सुन्दर छ चिसापानी । राजधानी बाट छोटो छुट्टी मनाउनको लागि थुप्रै आन्तरीक पर्यटकहरु पनि आउँदो रहेछ । सायद सिचोपानीबासीको नम्र र शुशील स्वभावले होला ।

चिसापानी देखि उत्तर तर्फवारी पारी र दायाँ वायाँ युगौं देखि बसाउदै आएको तामाङ बस्ती, भरखर मकै छरेर उम्रीन बाँकी उर्वर देखिने कान्ला बारीहरुले भित्तामा टाँसेको पाब्लो पिकासोको सुन्दर काल्पनिक चित्रले जस्तै अन्तर हृदयको गहिर्राईमा पु-याई दिन्थे यात्रीहरुलाई ।

झुल्के घामको रंगीन बिहानी संगै चिसापानी बाट उत्तर तर्फओरालो लाग्दा देखिने रमणीय गाउँहरुको ती दृष्य सँधै आँखामा नचाई रहुँ जस्तो लाग्थ्यो । हाम्रो यात्रा संगै गोठाल्गोठाल्नीहरु तथा घाँसी यूवा यूवतीहरु सुरीलो भाकामा गाउँदै ओरालो झर्दाको क्षण अति नै मनमोहक थियो ।

कालीज माउले गुँड लग्यो, पारी त वनको पाखैमा

मेरो है माया छ भने च्याङबा, आउ बस मेरो काखैमा

सेलो भाका त्यसै त नाचूँ र उफ्रिउ जस्तो लाग्ने तालको हुन्छ भने त्यहि माथी लरक्क परेका स्रोहृ सत्र बर्षा वैसालु यूवा यूवतीहरुको यस किसिमको भाव भएका गीतले कता कता आफूलाई अतित्मा हुत्याई दिन्थे । खोला नाला, मेलापात, वनपाखा र उकाली ओरालीमा माया प्रिती गाँसेकाहरुको संझनाले गला निमोठ्न आउँथे ।

चिसापानी बाट तल झरेर पारी जंगलको उकालो लागे सम्म उनीहरुले हाम्रो यात्रालाई साथ दिए । त्यो क्षणले हामीलाई त्यो दिनको पुरा यात्रालाई संझना योग्य बनाए । अझ त्यस माथी मेरो पर्यटक साथीहरु पनि सबै मस्त जवानीका केटा केटी भएकाले त्यस क्षणलाई अझ अवस्मरणीय बनाउन सफल भएका थिए । छुट्टनि ठाउँमा पुग्दा एउटा हातले नाम्लो डोरी र अर्को हात हामीलाई हल्लाउदै चरण भित्र हुलका हुल प्रवेश गरे, के बृद्ध, के यूवा के बालक, सबैको बराबरी सहभागी हुँदोरहेछ आफ्नो काममा । साँझ पख बास बस्न लागेको रुपीको बथानले बाँसको घारीमा कराएकै भरमा साम्राज्य जमाए झैं विभिन्न भावका गीत, भाका र सुसेलीले वनपाखा नै थर्काउँदो रहेछ । उकालोमा हिंडी रहँदा जंगल भित्र गाएको गीत प्रष्ट सुनिन्थ्यो ।

बिसाउनीको चौतारी, कहाँको नौलो दौंतरी

दुःखीको यो मन रुवाउँदै, जानु है त्यो मन बुझाउँदै

बाटोमा पर्ने देउरालीहरुमा रंगीचङ्गी फुल पाती चढाउँदै हामी गुल भञ्ज्याङको गाउँमा दिउँसोको खाना खान पुग्छौं । हाम्रो त्यो पद यात्रा टी हाउस -पद यात्रा दुई किसिमको हुन्छ । क. होटेलमा खाने सुत्नेलाई टी हाउस ख.पालमै खाने र सुत्नेलाई क्याम्पीङ पद यात्रा भनिन्छ) थियो । त्यसैले हामी होटेलमै खान्थ्यौं र होटेलमै सुत्थ्यौं । हाम्रो यात्रा त्यहाँ बाट अघि बढेर कुटुमसाङमा अडिन्छ ।

कुटुमसाङका तामाङ गाउँ अति रमणीय ठाउँमा अवस्थित थियो । गाउँका वरिपरि ढकमक्क फुलेका लाली गुराँसका घारी, साथमा मगमग वास्ना आउने सुनाखरी लगायत रंगीविरङ्गी फुलका बुट्यानहरुले मनलाई निकै आनन्द तुल्याउँथ्यो । बाटोको दायाँ वायाँ पारेर बनाएको घरहरु, पर्यटकको सुविधाको लागि बनाएका लजहरु, ठाउँ ठाउँमा सेतो रंगले पोतेर चम्काई राखेका मानेहरु, गुरु रेम्वोर्छमद्मा संभव) का गुम्बा, शिलामा अँ म्हाने पद्मे हुँ लेखेका लामा अक्षरका शिलालेखहरु, जल, वायु, पृथ्वी, अग्नि र आकाशको सांकेतिक रंगका हरियो, पहेंलो, रातो, सेतो र नीलो तोरणले सजाएको म्हानेहरु, न्याय र अन्याय छुट्टयाई हेर्ने बुद्धका ती दुई आँखा, पारीलो घाममा सुनौलो घाँसे मैदान, नीलो आकाश, फर्सेला बासिन्दा, सँधै त्यहि बसि रहु जस्तो लाग्ने अति रमाईलो ठाउँ थियो कुटुमसाङ ।

घाँसीहरु जंगल पस्ने बेलामा शुरु भएको हाम्रो यात्रा बेलुकीपख गाईवस्तु चरण बाट फर्किने बेलामा हाम्रो यात्रा त्यो दिनको लागि त्यहिं रोकिन्छ । सायद त्यति बेला पनि त्यस गाउँका यूवाहरु मध्ये कोही अहिलेको जस्तो परदेशमा बसेर धन कमाउन गएका थिए होलान् । धन कमाएर आफ्नो जीवन संगिनीको रहर लाग्दो वैसलाई गर गहनाले झपक्कै ढाकी दिने वचन दिएर गएका होलान् । त्यसैले त होला नि, त्यहि बाचा वनपाखामा एक्लै हुँदा संगिनीको मुख बाट पग्रेल्दै गरेको सुनिन्थ्यो ।

हे कान्छा, ठट्टैमा यो वैश जान लाग्यो !

....जाँदैन बाचा खेर पर्ख लिन आउँला !..

मिरमिरे साँझमा मलाई भेट्न आउँनु

शिरमा रेशमी फेटा बाँधी आउनु...

सायद फेरी भेट्न आउने बाचा बन्धन गरेको दिन फेटा बाँधेको थियो होला र अझै त्यसैको झलझली याद आई रहेको होला । शिरमा रेशमी फेटा बाँधे पछि मात्रै टाढै बाट आफ्नो संगीलाई चिन्दो हो । आउँदा रेशमी फेटा बाँधेर आउँनु म त्रि्रो बाटो हेरि रहन्छु भन्ने भावको गीत गाउँदै गरेको सुनिन्थ्यो । कुटुमसाङको त्यस दिनको बास पछि हामी त्यस दिन मंगनेकोट पुग्नु थियो ।

हामी बिहान सात बजे तयारी भैसकेका थियौं । यतिकैमा गाउँका एक जोडी दम्पती कोख्रोमा सानो बालक बोकेर कतै टाढाको यात्रामा जान लागेको जस्तो लाग्यो । घर दैलोमा सगुन बती राखेर यात्राको शुभकामना तथा विदाईको लागि टीका लगाई रहेको थियो । हेर्दा उमेरले बीस एक्काईसको थिए होलान् । कहाँ सम्म जाने हो भाई ? भन्ने मेरो प्रश्न टुङ्गनि नपाउदै त्यो भाईले जवाफ दियो 'लद्दाक' । लद्दाक ? मतलब भारतमा ? फेरी मैले प्रश्न फुत्काई हालेँ छु । 'हो सर हामी भारतमा जान लागेको' । तर यति सानो नानी लिएर ? मेरो प्रश्न अनवरत रुपमा मुख बाट फुत्की रह्यो । उनीहरुको भनाई अनुसार धेरै बर्षपहिले देखि त्यहाँ आफन्तहरु काम गरेर बसेका रहेछन् । ती आफन्तहरुले नै उनीहरुलाई बोलाएको रहेछ ।

लद्दाकमा तिब्तीयन लगायत नेपाली बौद्ध धर्मवलम्बीहरु धेरै पहिले देखि बसोबास गर्दै आएको कुरा पहिले पनि सुनेको थिएँ । आफ्नो यति प्यारो गाउँमा हुर्केर, आफ्नो चाहना पुरा गर्नको निम्ति नाबालक समेत बोकेर पर्देश जानु पर्ने, यो हाम्रो कस्तो परिवेश बन्दै छ ? मनमनै प्रश्न उठ्यो । मलाई कता कता अप्ठेरो महसुस भयो ।

उनीहरुको अविभावकहरुले पनि 'नाबालक समेत आमालाई पनि लगेर जाँदै छौ, बाटोमा राम्रो संगा जानु, परदेशको ठाउँ, आफ्नो र आमा बच्चको ख्याल राख्नु, जति खेर सम्म त्यहाँ बस्न मन लाग्छ, बस, नसके पछि आफ्नो देश र समाजलाई सम्झेर आउँ । जहाँ गए पनि आफ्नो देशलाई माया नमार' भन्दै आशिर्वाद मिश्रति उपदेश दिईरहेका थिए ।

आफ्नोर् इच्छा र चाहनाले पर्देशीने होईन रहेछर्,र् इच्छा र चाहनालाई पुरा गर्ने सपनामा पर्देशीदो रहेछ । अघिल्ला पुर्खाहरु भुटान, मुग्लान -मुगल वंशका बादशाले राज्य गर्दाको अलिेको भारत) जान्थे । आज पनि हामी नेपालीहरु त्यहि उदेश्य लिएर विश्व भरिका देशहरुमा लाखौंको संख्यामा काम गरि रहेका छौं । यहि तितो सत्यलाई मनन् गर्दै ती जोडी भन्दा विपरीत दिशाको बाटो तिर सोझियौं । अरुलाई बाटो देखाउँदा देखाउँदै कतै मैले मेरो आफ्नै जिन्दगीको बाटो त कतै भुल्दै छुईन? म आफुमा सजक भै रहन्थेँ, समय समयमा झस्की रहन्थेँ ।

बाटोमा चाहे जे जस्तो पर्न आए पनि मैले मेरो कर्तव्य बाट भाग्न पाउँदिन थेँ । मैले हर घट्ना र परिस्थितिको कारण समेत खुलाएर पर्यटकहरुलाई आख्यान सुनाउनु पर्दथ्र्यो । हरेक नयाँ-नयाँ ठाउँ र बाटोमा देखिने जीव, वनस्पती, खनीज, जलधार, मानव वस्ती, त्यस ठाउँको भौगोलिक अवस्था, तापक्रम, लवाईखवाई, रहन सहन, रितिवाज, धर्म संस्कृती, परम्परा आदीको बारेमा जतिखेर पनि सहि जानकारी दिनु मेरो कर्तव्य भित्रको कुरा थियो ।

मिलनसार कुटुमसाङबासीको मायालाई विदाईका हातहरु हल्लाएकै भरमा थाती राख्दै हामी आफ्नो गन्तव्य तर्फअगाडी बढ्यौं । विभिन्न रंगका फुलहरु फुलेका जंगलमा गाईवस्तु धपाएको गोरेटो बाटो हुँदै कहिले तेर्र्सो, कहिले उकालो, देउराली भञ्ज्याङ र आली बारीहरु हुँदै हामी बेलुका चार बजे मंगनेकोटको शैनिक शिविर नजिकैको लजमा बास बस्न पुग्यौं । स-सानो लज दुईटा मात्रै भएकोले हामी दुईटैमा बाँडेर बस्यौं । अलि खाल्डो परेको बाग्लो अंगेरी, गुराँस, धुपी र सबै थरीका सल्लाका रुखहरु भएको जंगल भएकोले मंगनेकोटमा घोप्टे र गोर्साईकुण्डको चिसो हावा नलाग्दो रहेछ । बेस्सरी जाडो भए पनि चिसो सिरेटो भने खप्नु परेन ।

भरखरै मात्रै पर्यटनको आयाम शुरु भएको हुनाले लजहरु पनि त्यति व्यवस्थित् तरीकाले राखी सकेको थिएन । मंगनेकोटको बर्साई प्रकृती संग नजिकिने अति राम्रो अवसर बन्यो । भोली पल्ट त्यहाँ बाट हामी ठाडेपाटी, घोप्टे, लाहुरे विनायक हुँदै प्रशिद्ध तिर्थस्थल गोर्साईंकुण्डमा गएर बास बस्यौं । लाहुरे विनायक बाट गोर्साईकुण्ड पुग्न हिउँको चिप्लीने बाटोमा निकै संर्घष्ा गर्नु पर्दो रहेछ । जुत्ता भित्र पसेको हिउँ पग्लेर चिसोले पैतालाहरु अचेत भैसकेका थिए । गोर्साईकुण्ड, सूर्यकोकुण्ड, दुधकुण्ड, सरस्वतीकुण्ड, महादेवकुण्ड आदी सबै थालमा जमाएको दही जस्तै हिउँ जमीरहेको थियो । हिउँका कारण कहाँ निर कुण्ड छ भन्ने कुराको भेउ पाउन सकिन्न थियो ।

एक कथन अनुसार गोर्साईकुण्डमा तामाङ जातीको गोले थरको मानिस जानु हुन्न भन्ने विश्वास गरिन्छ र जाँदैन पनि । हामी त्यस दिन सबै भन्दा अन्तिम कुनाको एक लजमा बास बस्यौं । उचाईको तापक्रमका कारण हामी निदाउन सकेनौं । रात भरि ऐंठन भै रहेको थियो । बिहान उज्यालो हुने बेलामामात्र हामी मध्ये कोहि निदाए छौं ।

गोर्साईंकुण्डका कष्टकर सुताई पछि हामी रसुवा तर्फो लाहुरे विनायक तर्फझ-यौं । सिन्धुपाल्चोकको घोप्टे बाट जाँदाको गोर्साईकुण्ड आधार शिविर र रसुवा तर्फो आधार शिविर दुवैलाई लाहुरे विनायक भन्दो रहेछ । ती दुबै ठाउँको उचाई पनि बराबर रहेछ । बाईबलमा बयान गरेका आदम र्रर् इभको बगैंचा र्'इडन गार्ड जस्तो देखिने चन्दनबारीको रमाईलो वातावरणमा तातो कफीका साथ केहि क्षण रमाउदै हामीले स्याब्रु गाउँ तर्फबाटो सोझायौं ।

ग्रीक दार्शनिकको जस्तो दारी जुँगा भएको ढेँडु बाँदरहरु संग जिस्कँदै स्याब्रु गाउँ पुग्दा सनर्राईन गेष्ट हाउसको दुईजना भाईहरुले हृदय खोलेर हाम्रो स्वागत गरें । हरेक घरको आँगनमा बुद्ध भगवानको शन्देस वाहक रंगीचङ्गी झण्डा र तोरणहरुले मन प्रफुल्लित् हुन्थे । त्यहाँ बाट पूर्वतिर हेर्दा देखिने लाङटाङ राष्ट्रिय निकुञ्जका हरियो जंगल, बाग्लो तामाङ गाउँ, सँधै त्यहि बसि रहुँ जस्तो लाग्ने अति रमणीय गाउँ भएता पनि पर्यटन सेवाका पूर्वाधारहरुमा केहि सुधार भने देखिएन ।

रसुवा वन्य जन्तु आरक्षण अन्तरगत पर्ने लाङटाङ क्षेत्र भित्र प्रवेश गर्ने पर्यटकहरुलाई निकुञ्जले धुन्चेको राम्चे चेकपोष्टमा रोकेर शुल्क लिने गर्दछ । अशुलीत उक्त रकमलाई पर्यटन विकासमा अलिकति पनि लगानी गरेको देखिदैन । पर्यटन विकासको निम्ति स्थानीय बासिन्दा र पर्यटन व्यवसायीहरुलाई प्रेरणा दिने खालको कार्यहरु पनि सन्चालन गरेको देखिन । आन्तरीक वा बाह्य पर्यटकहरु प्राकृतिक छटा बाट अति रमाए पनि उक्त क्षेत्रको अस्त व्यस्त व्यवस्थापन बाट कोही सन्तुष्टी भएको देखिन ।

पर्यटनको दृष्टिले अति नै महत्वपूर्ण तर सरसफाईको दृष्टिले अति नै नाजुक लाङटाङ क्षेत्रमा सम्बन्धीत निकायले जति सक्दो चाँढो सुधार ल्याउन सकेमा अझ धेरै पर्यटकहरुलाई आर्कषण गर्न सक्ने देखियो । धुन्चे, स्याब्रु बेँसी, स्याब्रु गाउँ र गोर्साईकुण्डमा स्थानीय पर्यटन व्यवसायीहरुले थुप्रै होटल र लजहरु निर्माण गरेता पनि व्यवस्थापन पक्ष अति कमजोर छ । त्यहाँ तालीम प्राप्त कुक र होटेल व्यवस्थापनमा अनुभवी व्यवसायीको उपस्थितिमा शुन्य छ । बरु तीन चार वटा मात्रै लजहरु भएको चन्दन बारीको पर्यटन व्यवसायीहरुमा परिपक्वता देखियो ।

स्याब्रु गाउँ देखि करिब तीन घण्टामा पुगिने लामा होटेल बाट माथी जाँदा घोडा तबेला भन्ने ठाउँको एउटा सानो चिया भट्टिमा पुगिन्छ । Acclimatize (एक्कै चोटी धेरै उचाईको हावापानीमा जानाले बिरामी वा ज्यान जान बाट बच्न गन्तव्य उचाई भन्दा तल एक वा दुई रात बास बसेर हावा पानी संग परिचित् हुनु) को दृष्टिीले अति नै महत्वपूर्ण मानिने घोडा तबेलामा राम्रो होटेलको व्यवस्था हुन नसकेकोले पर्यटकहरु त्यहि चिया पसलको अव्यवस्थित् साँगुरो कोठा भित्र कोचिएर रात बिताउन बाध्य छन् । त्यहाँका स्थानीय बासिन्दाहरुले त्यस क्षेत्र भन्दा बाहिरका मानिसले त्यहाँ गएर व्यवसाय चलाउन नदिने र त्यस संग सम्बन्धीत् पक्ष र स्थानीय बासीन्दाले पर्यटन विकासको सुधारमा तत्परता नदेखाएकाले पनि उक्त ठाउँको पर्यटन सेवाको विकासमा कमी आएको हो ।

हामी स्याब्रु गाउँ बाट लामा होटेलमा दिउसोको खाना खाए पछि लाङटाङको ग्रीन भ्यू लजमा पुग्न निकै धौ धौ भयो । लाङटङमा पुग्दा स्थानीय यूवतीहरुले अप्ठेरो शव्द मिसाएर स्वागत गरेको कुरा कहिल्यै भुल्न सक्दैन र संझिदा अहिले पनि हाँसो लाग्छ । वरपर घाँसे मैदान, बीचमा सेतो र नीलो जस्तापाताले छाएका घरहरु, उत्तरमा आकाशिएर गर्वका साथ हाँसी रहेका जस्तो देखिने लाङटाङलिरु हिमाल, पूर्वमा यला पिक, दोर्जे ल्हाक्पा, लापसाङकार्पो र गाङजोङ हिमाल मातृभूमीको पहरेदार जस्तो देखिन्थे ।

बिहान लाङटाङ बाट हिंडेका हामी करीब दुई घण्टा पछि क्याङजिङ गोम्बामा अन्तिम गन्तव्य बिसाउन पुग्यौं । वरिपरि हिमालय पहाडले घेरिएको सानो भ्यालीमा हिमाली घाँसे मैदान, आधुनिक महललाई प्राकृतिक सौदर्य दिन वरिपरि फुल रोपेर सजाएको जस्तो देखिने बुट्यान रुखहरु अति नै मन जित्ने खालको थियो । त्यहिँ गाउँमा उब्जाएका आलु र बन्दको सब्जी संग अति स्वादिलो खाना खाँदै दिन भरी फोटो खिच्दै दिन वितायौं । भोली पल्ट विहान खाजा खाए पछि दृष्यावलोकनको लागि जान चाहने जतिलाई तयारी हुन भनें । हामी मध्ये जम्मा चार जना मात्रै जाने भयौं । पाँच हजार मीटर उचाईमा रहेको चेरीखुरी बाट त्यस क्षेत्रको हिमालय दृष्यावलोकनको लागि क्यामरा र खाजा पानी बोकेर हामी उकालो लाग्दा सम्ममा वारी पारीका हिम चुचुराहरु घामको किरणले मुख धोई हामी तिर फर्केर फोटो खिच्न तयारी भैसकेका थिए ।

चेरीखुरीको नाक ठोकिने नाङ्गो उकालो, पग्लिँदै गरेको हिउँले चिप्लो न चिप्लो बाटोमा करीब दुई घण्टाको लगातार हिर्डाई पछि हामी चुचुरोमा पुग्न सफल हुन्छौं । त्यहाँ बाट देखिने दृष्य हेर्दा आकाशमा उडेर तल भईमा हेरे जस्तो भान हुन्थ्यो । जतातिरको हिमाल हेरे पनि आँखैमा ठोकेला जस्तो उज्याला हिम शिखरहरु कलाकारको काल्पनिक कला जस्तो देखिन्थे त कहिले आफुलाई दहिको कचौरामा डुबी रहेको सानो भुसुनो जस्तो महसुस् हुन्थ्यो । जय ! जय ! हे नेपाल सुन्दर शान्त विशालको वास्तविक चरितार्थ मैले त्यहाँ अनुभव गर्न पाएँ ।

सफा नीलो आकाशमा राम्रारी नियाली रहेमा राती मात्र देखिने विभिन्न ताराहरु बीच ठुलो र चम्किलो तारा दिउँसो पनि देख्न सकिन्छ भन्ने कुराको नयाँ तर अपत्यारिलो अनुभव संगाल्ने अवसर पनि बनेको थियो चेरीखुरीको यात्रा । चेरीखुरी बाट तीनै तिर देखिने करीब एक घण्टा लामो दृष्यावलोकन पश्चात् हामी लजमा फर्कियौं र त्यो दिन लामा होटेलमा बास बस्न गयौं । भोली पल्ट स्याब्रु बेँसीमा काठमाण्डौको बस चढेर धुन्चे, कालिकास्थान, देवीघाट, मैथली क्याम्प, ककनी, रानीपवा, ओशो वन हुँदै बक्रान्तिक पासाङ ल्हामु राजमार्गको शान्त वातावरणमा पुरानो बसको र्साईलेन्सर बाट जनकपुर जय नगरको रेलको जस्तै धुवाँको मुस्लो फ्याँक्दै बाईपासको ओरालो झरेर नयाँ बस पार्कमा आईपुग्दा हाम्रो यात्रामा पुर्णविराम लाग्यो ।

दोहा, कतार

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।