कलेजमा राम्रो अंक ल्याउने मेरा केही साथीहरूले आफ्नै ठाउँ मंगलबारेमा अनुसन्धान केन्द्र खोले। अघिल्लो दिनमात्रै राकेसले अनुसन्धान केन्द्रमा अनुसन्धान कार्य तीव्र रूपमा भइरहेको जानकारी दिएको थियो। तर ऊ पनि खासै अनुसन्धान केन्द्र जान्थेन, त्यसैले उसलाई थाहा भएकै कुरा त्यति मात्र रहेछ। म भने यति अल्छी कि आफ्नै गाउँको अनुसन्धान केन्द्रसम्म जान पनि अल्छी मान्ने।
कुनै जानकारीबिना नै बिहानको समय निकालेर अनुसन्धान केन्द्र गएँ। मैले साइकल अनुसन्धान केन्द्रको भित्तामा अड्याएँ र झ्यालबाट भित्रतिर हेरेँ। त्यहाँ गम्भीर बहस भइरहेको थियो। बहस कुन विषयमा र किन भइरहेको थियो भन्ने बारेमा भने म अनभिज्ञ थिएँ। मेरो प्रवेशसँगै अनुसन्धान केन्द्रको भलाकुसारी एक्कासि टुंगियो। टेबलमा एउटा खाता थियो, जसमा मेरै नाम लेखिएको थियो।
आखिर म जस्तो बेरोजगार व्यक्तिमाथि अनुसन्धान गरिनुमा के उद्देश्य थियो? बरु मलाई न्यायस्वरूप जागिर दिन पनि त सकिन्थ्यो नि! मैले बेरोजगार भएको कारणले नै आफ्नो सामाजिक सञ्जालमा विभिन्न हर्कतहरू प्रस्तुत गरेको हो त? आखिर ममाथि अनुसन्धान गर्ने बुद्धि कसको दिमागमा पलाएको रहेछ? मलाई उसको बुद्धिलाई सम्मानसाथ गाली गर्न मन लाग्यो।
प्रायः समूहमा रहेका व्यक्तिहरू एक्लो मानिसमाथि अनुसन्धान गर्दारहेछन्। प्रायः पढेलेखेका मानिसहरूले अनपढहरूमाथि अनुसन्धान गर्दारहेछन्। जब हामी कुनै बाँदरलाई रुखमाथि देख्छौं, उसको हर्कतबारे जानकारी लिनका लागि निरन्तर निरीक्षण गरिरहन्छौं। म पनि त्यही रुखको बाँदर बनेको छु, जसलाई मानिसहरूले ध्यान दिएर हेर्छन् र आफ्ना डायरीमा टिपोट गर्दै बस्छन्।
ममाथिको अनुसन्धानले मलाई हदै भए पागल घोषित गर्ला, वा मलाई 'क्रेजी' मानिसको ट्याग थमाइएला। तर यसले नेपाली समाजलाई के सन्देश दिन्छ? म जस्तो 'क्रेजी' वा 'पागल' भए देश बिग्रन्छ भन्ने? कि देश बनाउनेहरू म जस्तो हुनु हुँदैन भन्ने? उनीहरूले भन्लान् कि 'सद्दे' मानिसहरूले देश चलाइरहेकाले नै देशमा म जस्ता बेरोजगारको सिर्जना भइरहेको छ। धन्य छ प्रकृति आमा! म जस्तो कुलङ्गारलाई आफ्नै कोखमा राख्यौ।
यो देश अनुसन्धानमै अल्झिरहेको छ। आफ्नो शरीरको भैंसी नदेखेर अरूको शरीरको जुम्रा देख्नमै देश व्यस्त छ। मेरो शरीरको जुम्रा सेतो होस् वा कालो, त्यो मेरो व्यक्तिगत विषय भयो। मैले आफ्नो शरीरको जुम्रालाई हुर्काएर आफ्नै प्रयोगशाला खोलेँ भने पनि अरूले चुप बस्नुपर्छ। किनभने मेरो जुम्राले कसैको अहित गरेको छैन। म त केवल अरूको भलो सोचिरहेको छु।
अरूलाई हँसाउने व्यक्ति मूर्ख बन्छन् वा अरूको मूर्खतामाथि व्यंग्य गर्छन्। तर मलाई कसैमाथि व्यंग्य गर्न मन छैन। त्यसैले म बुद्धिपूर्वक आफैं मूर्ख बन्ने निर्णय गर्छु। यदि मेरो मूर्खताका कारण अरूले आफूलाई विद्वान सम्झेर शिर ठाडो पारेर हिंड्न सक्छन् भने, त्यो त गर्वको विषय भयो। म कुनै एलियन होइन, न कुनै जंगलमा बस्ने आदिवासी। म त समाज र साथीभाइहरूले होच्याएको एउटा पिँजडाभित्रको कठपुतली हुँ, जो निरन्तर स्वतन्त्रताको खोजीमा छ।
मेरो रिसर्च गर्नेहरू प्रायः आफूलाई "म भीडको हिस्सा होइन" भन्छन्। तर, यस्तो भन्नेहरूको संख्या यति धेरै छ कि तिनीहरू आफैं भीड बन्न पुग्छन्। बाँकी सोच्ने क्षमता गुमाएका मानिसहरू फेरि त्यही भीडको हिस्सा बन्छन्। मलाई "फ्रीडम अफ स्पीच" नदिनेहरूले मलाई एक शब्द पनि नबोल्न दिई चुप बनाउँथे। मानौं, मैले बोलेका शब्दहरू केवल ढल मात्र हुन्, मल होइनन्। तर, म सोच्थेँ कि मेरा शब्दहरू केवल मल मात्र होइन, जल पनि हुन्।
मेरो फेसबुकमा मैले त्यस्तो के अपलोड गरें, जसले मानिसहरूको प्राणमा बाण चलोस्? मैले त केवल आफ्ना भावना पोखेको मात्र हुँ। मैले त केवल मानव चेतनालाई फैलाएको मात्र हुँ। यहाँ फैलनेहरू फैलिन्छन्, खुम्चनेहरू खुम्चिन्छन्। चेतनाको विस्तारलाई राष्ट्रलाई मैलाउनुका रूपमा तुलना गर्न मिल्दैन।
केही दिनअघि भएको एउटा घटना अचानक सम्झना आयो। केही मानिसहरू कुराकानी गरेझैं गर्दै मेरो घर अगाडि आए। तिनीहरू निकै समय त्यहीं रोकिए। म भने आफ्नो मोबाइल चोरी हुने डरले त्रस्त थिएँ। तर, अहिले लाग्छ, सायद उनीहरू मेरो रिसर्च गर्नका लागि मेरो घरको निगरानी गरिरहेका थिए। उनीहरू फेसबुकभन्दा बाहिरको वास्तविक म हेर्न चाहन्थे होला।
एक दिन, उनीहरू मेरो घरको सेरोफेरोमा हुँदा म ऐनामा हेर्दै नाच्दै थिएँ। म कल्पनाको संसारमा उडिरहेको थिएँ। उनीहरूलाई देखेपछि म निकै लजाएँ। म तुरुन्तै कोठामा पसेँ र झ्यालको सानो छिद्रबाट तिनीहरूलाई निकै बेर चिहाएँ। कतै तिनीहरूले मेरो रिसर्च फाइलमा मलाई "डान्सर"को उपाधि त दिएनन्? कतै कुनै दिन मलाई स्टेजमा नचाएर जोकर बनाउन त खोज्दैनन्?
छिमेकी सहारा र साथ हो। छिमेकी अभावमा गाँस हो। छिमेकी नै जिउँदाको जन्ती र मर्दाको मलामी हो। अब ती रिसर्चरहरूले पक्कै पनि मेरा छिमेकीहरूलाई मेरो बारेमा सोध्नेछन्। तर, केही दिनदेखि मेरो छिमेकीहरूसँग बोलचाल राम्रो छैन। किनकि उनीहरूले मेरो बढ्दै गएको पेट र चढ्दै गएको बैँसको धित मर्ने गरी व्यंग्य गरेका थिए। अब म छिमेकीहरूसँगको सम्बन्ध सुधार्नुपर्नेछ, नत्र ती रिसर्चरहरूले मेरो गन्ध थाहा पाउनेछन् र फुर्किँदै बुँदा टिप्न थाल्नेछन्।
मेरो फेसबुक प्रोफाइल हेरेर ती रिसर्चरहरू सोच्दाहुन्— "आखिर यो मानिसको दिमाग कस्तो होला?" उनीहरू हरतरहले मेरो मनोविज्ञान बुझ्न खोज्दाहुन्। तर, कहिलेकाहीँ मलाई यस्तो लाग्छ कि मेरो त दिमाग नै छैन! मेरा विचारहरू कसैले अदृश्य रूपमा हालिदिन्छ जस्तो लाग्छ। झन् कहिलेकाहीँ त म भगवान नै हुँ कि जस्तो लाग्छ। सायद, यो पनि हुन सक्छ कि धर्तीमा आउनासाथ मेरा पुराना यादहरू मेटिएका छन्।
यदि रिसर्च टिममा कुनै केटी पनि भएकी भए, उनले मेरो प्रोफाइल अवश्य हेर्थिन्। त्यसक्रममा, उनले मबारे कल्पना गर्न थाल्ने थिइन्। मलाई व्यक्तिगत रूपमा बुझ्न खोज्ने थिइन्। सँगै जिउने बहाना बनाउने थिइन्। दुनियाँ गजबको छ! यहाँ मन पराउनेहरूले मन परेकोबारे धेरै सोच्छन्। म भने आफ्नै दुनियामा हराउन चाहन्छु। संसार कहाँबाट कहाँ पुग्छ, म भने ओल्लो कोठाबाट पल्लो कोठासम्म मात्र पुग्छु।
मैले आफ्नो फेसबुकमा निरन्तर विभिन्न अवतारहरू प्रस्तुत गर्नुको कारण यो हो कि मलाई माया गर्नेहरूले मलाई सम्झिएर निसासिन नपरोस्। केही दिनसम्म मैले केही पोस्ट गरिन भने, उनीहरू सोच्नेछन् कि म बिरामी भएँ या ममाथि कुनै ठूलो दुर्घटना घट्यो। उनीहरू मेरो खोजी गर्न आतुर हुन थाल्नेछन्। म आफू जिउँदो छु भन्ने प्रमाण नै फेसबुकमा गरेको मेरो प्रस्तुति हो। केही मानिसहरूले मलाई हेलाँ गर्छन्, तर यसको मतलब यो होइन कि म सबैको आँखाको कसिङ्गर हुँ।
म प्रतिका जिज्ञासुहरू कतै मेरो खोजी गर्दा गर्दै म जस्तै त हुने होइनन्? किनकि आफ्नो संगतका पाँच जनाको समष्टिगत स्वरूप नै हामी आफू बन्न पुग्छौं भन्ने कुरा विभिन्न रिसर्चहरूले देखाएको छ। यदि उनीहरू स्वयम् म जस्ता बन्न पुगे भने त उनीहरुलाई मेरो बारेमा रिसर्च गर्ने आवश्यकता नै के पर्ला र? यसो एउटा नोटकपी लिएर ऐना अगाडि उभिएर आफ्नै बारेमा लेखे पुगि हाल्यो नि। जमाना रङ फेर्नेहरूको छ, म भने नजानिँदो गरी रङहिन जीवनलाई गन्दहिन पनि बनाइरहेको छु। तर संयोगबस ती रिसर्चरको आँखाहरू अरू कतै नगएर म माथि नै पर्न गएछन्।
विसंगती मन पराउनेहरू बेमतलबको मलाई अधुरो ठान्छन्। संसारको जुनसुकै गुरुलाई हेर्ने हो भने पनि उनीहरू कोही पनि पूर्ण छैनन्। आफू पूर्ण छैन भन्ने कुरा स्विकार्नु नै पूर्णता प्राप्ति गर्नु हो। त्यही माथि म त झन् शिष्य हुँ। हिँड्दै जाँदा ठोक्किएको ढुङ्गालाई पनि म गुरु सम्झन्छु। मेरो शरीर चार कुना भएको कोठामा कैद छ तर म सामाजिक सञ्जालको हेलिकप्टरमा विश्व भ्रमण गर्न सक्छु। यहाँ विश्व बुझ्नेभन्दा विश्व घुम्नेलाई बढी महत्व दिइन्छ।
आमाबुबाको मन छोरा छोरीको माथि र छोराछोरीको मन ढुङ्गामुडा माथि हुन्छ। मेरो मन सामाजिक सञ्जालमा टिक्दा खै किन हो ती रिसर्चरको मन चाहिँ म माथि टिक्दो रहेछ। सायद हुन सक्छ कि उनीहरू मलाई एक विशेष मानिस सम्झन्छन्। यस्तो पनि हुन सक्छ कि उनीहरू आँफैलाई एक विशेष मानिस सम्झन्छन्। यहाँ संसारमा हरेक मानिस विशेष बनेकोले गर्दा नै संसारको मानचित्र बिग्रिएको छ। बाँकी रहेका विशेषताको ग्राहक भकुन्डो बन्न जान्छन्। जसलाई हरेक मानिसले भेट्ने बित्तिकै साथ होइन लात दिन्छन्।
मानौँ कि तिनीहरूले मेरो सामाजिक सञ्जालको सबै हर्कतहरू हेरेर निचोडमा पनि पुगे। तर त्यो निचोड बोकेको मानिसहरूले यथार्थमा मलाई भेट्दा खेरी म अर्कै लागे भने चाहिँ उनीहरू के गर्छन्? किनकि प्रतिकको रूपमा हरेक मानिससँग दुई खाल्को दाँत हुन्छ। एउटा देखाउने दाँत अनि अर्को भने लुकाउने दाँत। मेरो वास्तविक दाँतले उनीहरू तर्सिए भने यसको भर्पाइ कसले गर्छ? सदियौँदेखि हाम्रो देशमा मानिस गधा हुने चलन चलिरहेको छ। यो चलनमा मलम लगाउने र यथार्थ भगाउने उपायको रूपमा मानिसहरूले अनेक मुखौटाहरू साँचेका हुन्छन्।
हरेक व्यक्तिको जिउने आधार हुन्छ। त्यसैले मेरो जिउने आधार भनेकै सामाजिक सञ्जाल हो। म केवल सामाजिक सञ्जालमा मात्र आँफुलाई प्रस्तुत गर्न सक्छु किनकि म अन्तर्मुखी हुँ। यदि कसैले मलाई बाह्यमुखी देख्यो भने म उनीहरूसँग माफी माग्न चाहन्छु। किनकि त्यो केवल मेरो केही क्षणको प्रस्तुती मात्र हो। म कुनै तरल पदार्थ होइन जसलाई मानिसको आवश्यकता अनुसार जस्तोसुकै आकृतिमा पनि ढाल्न सकिन्छ। म एक ठोस हुँ जसको धेरै जोश छ।
मेरो जस्तै ती रिसर्चरहरूको पनि जिउने आधार होला। कसैको जिउने आधार खोस्नु भनेको महाअपराध हो। तर त्यस्ता अपराधी कानुनको आँखामा अदृश्य हुन्छन्। मैले सामाजिक सञ्जाललाई जिउने आधार बनाए जस्तै उनीहरूले म माथिको रिसर्चलाई जिउने आधार बनाएको पनि हुन सक्छ। मलाई स्वयमको र उनीहरूको जिउने आधार बिथोल्नु छैन। म आँफुलाई अझै गहिरो बनाउँदै जानेछु। उनीहरू अझै मलाई गहिरो सम्झ्दै जानेछन्। यही गहिराईमा हामी एक अर्कालाई बचाउनेछौं।
मेरो तिनीहरूसँगको सम्बन्ध केही क्षणको मात्र नभएर श्रीमान-श्रीमतीको झैं जीवनभरिको रहोस्। श्रीमान-श्रीमतिको त यात्रा क्रममा सम्बन्ध बिच्छेद पनि हुन्छ। तर हामी विचको सम्बन्ध सदाका लागि चलिरहोस्। हामीहरू वृद्ध भएर वृद्धाश्रममा हुँदा सम्म हामी विषय र खोजकर्ताको सम्बन्धमा रहिरहौँ। दुनियाले जे भन्ला केही छैन, म तिनीहरूलाई केही भन्ने छैन। म आँफुलाई अझै रोचक बनाउँदै जानेछु ताकि उनीहरूको म प्रतिको रुचि नहराओस्।
मेरो मुख्य मुद्दा भनेको आँफुलाई सँधै अप-टु-डेटमा राख्नु हो। कुनै अल्छी लाग्दो मानिसलाई कसैले पनि रुचिमा राख्दैनन्। विगतमा चर्चामा आएका प्रायः मानिसहरू आजको समयमा एक्कासी अज्ञात हुन जान्छन्। किनकि समयसँगै विषयवस्तु नभेटिएर उनीहरू झ्याउ लाग्दा बन्न जान्छन्। हामीले आँफुलाई युनिभर्सिटी बनाउनु पर्छ। जो लामो समयसम्म रोचक रहन सक्छ त्यो नै देश र विश्वको एक वास्तविक सेलेब्रिटी बन्न जान्छ।
एकजना खड्का बुढा बिहानको उज्यालो किरणसँगै घुम्दै फिर्दै हाम्रो घरमा झुल्कन्थे। म भने यति धेरै अल्छे मानिस कि बिहानको ७ सँग बात गरेपछि मात्र उदाउने। खड्का बुढाको चिया प्रतिको मोह एकदमै ठूलो थियो। घरमा गाई थाकेको छ भने पनि छिमेकमा दूध मागेर भए पनि चिया खुवाउनै पर्ने। चियामा कडा चिनी लागेको बेला मात्र उनी चिनी जस्तै गुलियो कुरा गर्थे। खड्का बुढा बिरामी भए सँगै म उनको लागि चिया बनाउन नसक्ने हरामी भएको छु। प्रश्न यो उठ्न जान्छ कि बिरामी म या उनी?
उनको ठाउँमा नाम राख्न रिसर्चरको एक हुल मेरो घरमा आए नि हुने थियो। चिया त केवल बहाना हुने थियो। प्रश्नहरूको सङ्गालोले मेरो बिहान चिहान बन्ने थियो। कुरा यत्ति हो कि मेरो रिसर्च चलिरहेको छ भन्ने कुरा उनीहरूको मुखबाट उप्कनु भएन। म आँफुलाई खुला इतिहासको किताब बनाएर उत्तरको श्रीङ्खलाले उनीहरूलाई सजाइदिने थिएँ। उनीहरू मेरो पत्रपत्र उप्काएर त्यसलाई बगाइदिने थिए। होस नै ठूलो कुरा हो, म न आफ्नो होस बिगार्ने थिएँ न त उनीहरूको जोशलाई नै बिगार्ने थिएँ।
"एकैछिन पर्खनुहोस् है, म दस नङ्ग्रा खियाउन लागेको छु।" यस्तो बोली उनीहरूको लागि गोली सिध्द हुने थियो। आफ्नो बारी नभएकाले म छिमेकीको बारीलाई बिना सित्ती खन्न थाल्ने थिएँ। किनकि वास्तविक ब्रह्मा, विष्णु र शिव भनेको त तिनै कृषकहरू हुन् जसले सबैलाई बचाउन दिनरात एक बनेका छन्। यदि उनीहरू आस्तिक रहेछन् भने भावनामा बहकिएर हात र खुट्टा दुवै गरि बिस नङ्ग्रालाई खियाउन थाल्ने थिए। यो क्रमले उनीहरूको भ्रमलाई कम गर्ने थियो।
खेतिको नाममा हाम्रो घरमा अलिकती सागसब्जी लगाउने ठाउँ सिवाय अरू केही पनि छैन। यदि त्यति माटोमा मैले आँफुलाई सक्रिय बनाए भने म कृषकमा गणिन्छु भने म त्यो माटोलाई सजाउन तयार छु। आफ्नो उत्पादन आँफैले मात्र खाने मानिस यदि त्रिमूर्ति कहलिन्छ भने म आफ्नै ओर्गानिक उत्पादन बढाउन तयार छु। रिसर्चरहरू मलाई देखेर विवादास्पद मानिस म होइन, उनीहरू नै रहेछन् भन्ने कुरामा विचार मग्न हुन थाल्लान्। भोलि पल्टबाट दैनीक रूपमा आँफैलाई ब्लगमा कैद गर्न थाल्लान्। यो सबै कुरा विचार गर्दा उनीहरू कतै भोलिको दिनमा सफल ब्लगर त बन्ने होइनन्?
अभागीलाई भाग्यमानी बनाउनु मानव हुनुको एक धर्म हो। अब मैले तिनीहरूलाई भाग्यमानी बनाउँछु या अभागी, त्यो मेरै हातमा रहेको छ। यदि मैले आँफुलाई रिसर्चको बीचमा फेक मानिसको रूपमा प्रदर्शन गरे भने उनीहरूको यत्रो समय र सम्पत्तिको सत्यानास हुन जान्छ। उनीहरूले अर्कै नयाँ पात्रलाई रिसर्चको विषय बनाउनु पर्ने हुन्छ। यदि मैले उनीहरूको रिसर्चलाई प्रभावकारी बनाउनु छ भने आफ्नो पागलपनलाई नै आफ्नो वास्तविक चरित्र हो भन्ने गलत विश्वास दिनु पर्नेछ।
घरीघरी मलाई सामाजिक सञ्जाल देखेर बिरक्त लागेर आउँछ। म आँफैलाई प्रश्न सोध्न पुग्छु कि "जे मैले गरेँ, कतै त्यो अरु कसैले त गरिरहेका छैनन्? मैले जे जति बिरुवा सामाजिक सञ्जालमा रोपेँ, के ती वास्तवमै परिणाममुखी छन् त?" अनुभूतिको परित्याग गर्नु नै परिकल्पना भन्दा माथिको संसार हो। तर यो संसार पनि कतै भन्सारको लह लहैमा लागेर मातिएको त छैन?
कसैले मेरो हुलिया देखेर यस्तो पनि सोच्न थाल्लान् कि "म पक्कै पनि स्त्री जातिको खोजिमा छु।" के स्त्री जातिको खोजी गर्नु मंगलमा एलियनको खोजी गर्नु जस्तो हो त? यदि होइन भने फेरि एक पल्ट सोच्नुहोस् कि सबै जनाको परम उद्देश्य स्त्री लम्पट बन्नु नै हो त? यदि यो पनि होइन भने फेरि एक पल्ट सोच्नुहोस् कि हाम्रो यो संसारमा उद्देश्य चन्द्रमा उडेर छुनु हो कि होइन? यदि होइन भने अरु कुनै बाटो छैन। त्यसैले मेरो प्रोफाइललाई पछ्याउन नछाड्नुहोस्।
कसैले मेरो प्रोफाइलमा चियो गरे भने त्यसको पछाडी पनि दुई वटा कारण हुन्छ। यदि तपाईको घरमा एउटा मान्छे चियाउँदै आयो भने उसले तपाईको खोजी गर्दै आएको नहुन पनि सक्छ। कुरा यस्तो पनि हुन सक्छ कि उसले तपाईको घरबाट केही कुरा चोरि गर्न लागिरहेको छ। सोसियल मिडियामा तपाईंको सामग्री यदि अरु कसैको प्रोफाइलमा प्रदर्शनमा राखिएको छ भने के तपाईं खुसी हुँदै ताली पड्काउनु हुनेछ? या त्यो मानिसलाई खोजेर उसको गाला चड्काउनु हुनेछ? त्यसैले घरमा होस् या सामाजिक संजालमा होस्, सुरक्षा जहिँ पनि चाहिन्छ। भगवानले यो कहिल्यै नचाहनु होस् कि कुनै दिन कसैले तपाईकै पासवर्ड बोकेर हिनोस्। यदि तपाईंकै प्रोफाइलबाट तपाईं नै बाहिरिनु भयो भने त्यसबेला तपाईलाई नमिठो नलाग्ला त?
एकजनाले अर्कोजनालाई थप्दै जान्छन्। यही थप्ने क्रममै श्रम पनि हुन जान्छ। यसलाई हामी टिमवर्क भन्छौं। रिसर्चर सँगको टिमवर्कले मलाई फाप्छ कि फाप्दैन रहेछ त्यो थाहा छैन। म आफै विषय हुँ। मैले चाहेँ भने आफुलाई म अझै रोचक र रङ्गिन बनाउन सक्छु। सुन्दा हृदयघात नहोस् किनकि म आफै पनि टिमवर्कमा भाग लिने विचार गर्न थालेको छु। यदि विषय वस्तु नै उनीहरूको टिममा छ भने कसको विरुद्ध को उभिने? कसको खोजीमा को उभिने?
एउटा संस्था चलाउनको लागि पैसाको आवश्यकता हुन्छ। यो कुरा बताउनु नै बच्चा बुद्धि धारण गर्नु हो। किनकि पैसा बिना संसारको हरेक क्षेत्रको नेत्र बल्दैन भन्ने कुरा बच्चा बच्चालाई थाहा छ। तर वयस्कहरू बच्चा जस्तो मनको साँचो चाहिँ हुँदैनन्। गतिलो लक्ष्यमा तारो हानेमा अवश्य पृथ्वी पुनः घुम्नेछ। पृथ्वी घुम्न रोकिएको छ। मैले मूर्ख कुरा गरेको होइन। नपत्याए आफै विचार गर्नुहोस्। यदि वास्तवमै पृथ्वी घुम्ने हो भने मानिसको विचार हरेक दिन परिवर्तन हुँदै जानुपर्ने हो। पृथ्वी दृष्टिकोण अनुसार हरेकको लागि फरक फरक होला। मेरो पृथ्वी घुमेकाले गर्दा म विस्तारै रिसर्च सेन्टरप्रति आकर्षित हुँदैछु।
लामो कथा छोटोमा भन्नुपर्दा मलाई पनि आफुलाई चलाउन रकमको आवश्यकता छ। उनीहरूलाई संस्था चलाउन रकमको आवश्यकता छ। यदि हाम्रो आ-आफ्नो आवश्यकता जोड्ने हो भने हाम्रो लक्ष्य त्यति फरक छैन। हामीहरू जिउन चाहन्छौँ, न कि अभावलाई केही योजनाको सिटामोलसँगै पिउन चाहन्छौँ। मैले यस्तो संरचनाको सुरुवात गर्नु छ कि यसले हामी दुवै पक्षलाई बचाउन सकियोस्। यदि टिमको दिमागको गेडी सही ठाउँमा छ भने म पनि उनीहरू भन्दा अलग छैन भन्ने कुरा उनीहरूले मनन गर्नुपर्ने हो।
अहिले सम्म जति कुरा उनीहरूले मेरो बारेमा पढे, त्यो भन्दा बढी मैले उनीहरूलाई पढी सकेको छु। जति कुरा उनीहरूले मेरो बारेमा लेखे, त्यो भन्दा कयौँ गुना त मैले उनीहरू बारे लेखी सकेको छु। अब भन्नुहोस् कि विषय म या उनीहरू? अथवा अब भन्नुहोस् कि रिसर्चर म या उनीहरू? कुनै दिन उनीहरू थाक्नेछन्। किनकि उनीहरू कुनै मसीन होइन। थाकेको दिन म उनीहरूलाई आफ्नो वास्तविक विराट रूप देखाउनेछु। जुन विराट रूपमा उनीहरूले मलाई उनीहरूकै बारेमा गरिएको रिसर्च फाइलको साथमा देख्नेछन्। र त्यो दिन त्यति टाढा छैन, मेरो अनुसार हरेक दिन चन्द्रमा पृथ्वीको नजिक हुँदैछ। कुनै दिन यस्तो नहोस् कि चन्द्रमाले किचिएको पृथ्वीको डेडबडी आर्यघाटमा पोल्नुपरोस्।
हाम्रो घरको अलिकति पर बिग्रिएको बाटो छ। त्यो बाटोमा हरेक वर्ष कयौँ दुर्घटना हुन्छ। रिसर्च गर्न जरुरी भए ती विषयहरूबारे रिसर्च गर्नु। म त केवल एक फकीर जस्तो हुँ जसको जीवन सकिएर पनि दोस्रो जीवन सुरुवात हुँदैछ। मेरा आफ्नै खालका मान-मर्यादा र नीति नियम छन्। मैले जान्नुपर्ने धेरै छ र मान्नुपर्ने धेरै छ। कसैले कोरेको केही खेश्रा भित्र मेरो चरित्र समावेश हुन सक्दैन।
के त्यो रिसर्च सेन्टरमा केवल रिसर्चको काम मात्र हुन्छ होला त? कि रिसर्च सेन्टर एक बोक्रो मात्र हो? जुन बोक्रो भित्र ड्रग्स व्यापारको धोक्रो अटेको छ। यदि हो भने मलाई एउटा देखाउने सामग्री बनाउनु मेरो देखिएको इज्जत गुम्नु जस्तो हो। मलाई दाहिमा टीका मुछे जस्तो अवैध कार्यमा मुछमाछ पार्नु अघि जानकारी दिइनु पर्छ। म कुनै रंगसालाको जोकर होइन जसलाई नचाएर सबै जना आ-आफ्नो गोजी भर्न थाल्छन्। एक न एक दिन रहस्य खुल्ने छ र सबैको हृदयको नसा नसामा मेरो यथार्थ गुँजने छ। उता तोपेन्द्रहरूको बिल्लिबाठ हुनेछ। किनकि सबै नसामा परेका गाउँका उल्लठलाग्दा युवाहरुलाई पक्कै पनि उनीहरूले नै पालनपोषण गरिरहेका छन्।
"अधिकांश पुरुष मानिसहरूले वैराग्य आएपछि कपाल पाल्छन्। यसैगरी अधिकांश महिला मानिसहरूले वैराग्य आएपछि कपाल काट्छन्।" खड्का बुढाले आफू बिस्तर नपरेको कुनै दिन भनेका थिए। आफ्नो पुस्ता कायम गर्नको लागि हरेक प्राणीको आफ्नो जेन्डर हुन्छ। कुरोलाई यसरी पनि बुझ्न सकिन्छ कि आजकलका रोबोटहरूलाई पनि जेन्डरको पद दिइन्छ। यहाँ हाम्रो देशका मानिसलाई देशको नागरिकता पाउन धौधौ पर्छ तर कुनै परको देशको रोबोटलाई दिइएको नागरिकताले हामीलाई गिज्याउँछ।
यदि रिसर्च गर्नु छ भने बाहिरी आवरणलाई मात्र रिसर्च नगरौं। भित्री तत्व भनेको हरेकको शरीर भित्र रहेको आत्मा हो। त्यसलाई बुझ्नलाई दुई आत्माको स्पन्दन एकै गतिमा हुनुपर्छ। यस्तो अवस्था बनाउनलाई मनलाई तनसँग र तनको स्वभावसँग मात्र जोड्नु हुँदैन। हामीले जे देख्छौँ त्यही लेख्छौँ। तर जे देखिँदैन त्यो नै परम सत्य हो र त्यो नै परम परमज्ञान हो। त्यसैले कृपया मेरो रिसर्च कसैले नगर्नुहोला।