18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

जस्तै जस्तै

कथा हिमाल लिम्बु March 31, 2025, 6:15 pm
हिमाल लिम्बु
हिमाल लिम्बु

एकदिन कक्षामा पढाउँदै थिएँ । नेपालका जातजाति र धर्म-संस्कृतिका विषयमा विद्यार्थीहरूलाई बुझाउने प्रयत्‍न गर्दै थिएँ । देवप्रसाद आचार्य नामक एक खसआर्य विद्यार्थीले सोध्यो, "सर हजुर लिम्बू हुनुहुन्छ । लिम्बू भाषामा लुङ भनेको के हो सर ? मैले लुङ जोडेका शब्दहरू धेरै नै सुन्दै आएको छु ।"
"स्याबास देव, तिम्रो प्रश्न हाम्रो विषयवस्तुसम्बन्धी नै आयो । लिम्बू भाषामा लुङ भनेको ढुङ्‍गा हो । लिम्बुवानमा म्याङ्लुङ, खाम्लालुङ, हाङ्‍मालुङ, माङ्हुप्लुङ् जस्ता शब्दहरू सुनेका छौ होला ।"
देवप्रसादले व्यग्रतापूर्वक मेरो कुरा सुन्दै आएको भनि टाउको हल्लायो । "लिम्बू भाषामा यी शब्दहरू सुनेकाले सोधेको हुँ सर । " देवप्रसादले थप अभिरुची देखायो ।
"म्याङ्लुङको नेपालीमा अर्थ म्याङ भनेको बिरालो र लुङ भनेको ढुङ्‍गा हो । त्यसैले म्याङ्लुङको अर्थ बिरालो जस्तो देखिने ढुङ्‍गा हो ।" मैले देवप्रसादलाई अर्थ्याउने ध्याउन्नमा कक्षाका बाँकी उन्चालिस जना विद्यार्थीहरूलाई लिम्बू नेपाली भाषा सिकाउँदै थिएँ । विद्यार्थीहरू रैथाने कुराहरू सुन्न पाउँदा खुसी थिए । मैले झनै घरआँगनको कुरा सम्झना गराउँदै भने, "तिमीहरूले छथर शुक्रबारेको माङ्हुप्लुङ् देखेका छौ नि ?"
"बजारको बिचैमा छ सर । स्कुल आउँदा जाँदा देख्छौँ सर ।"
केही विद्यार्थीले एकैसाथ जवाफ दिए ।
"माङ्हुप्लुङ्‍कको अर्थ देउताले ठड्याएको लामो ढुङ्‍गा भन्ने हुन्छ । त्यो देउताको स्वरूप हो । मुन्धुमले आफसे आफ उत्पति भएको ढुङ्‍गा हो भनेर देउता मानेको छ । माङ्हुप्लुङले लिम्बू समुदायको प्रकृतिलाई मानमनितो दिने, धरती ढुङ्‍गा माटोलाई पूजा गर्ने चलनलाई टेवा दिएको छ ।" मैले लुङ शब्द मुन्धुमी लिम्बू समुदायको पवित्र र परम्परागत महत्त्वको रहेको छ भनेर बुझाएँ । देवप्रसादले केही सम्झेको जसरी भन्यो, "मैले शिवालयमा देखेको शिवलिङ्‍ग पनि ढुङ्‍गाको नै थियो सर । लिङ्‍ग र लुङ उस्तै कुरा हुन् त सर ?"
सात कक्षाको सानो विद्यार्थीले राखेको जिज्ञासाको जवाफ मैले दिनैपर्थ्यो । देवप्रसादले आफ्नो परिवारको धर्म संस्कृतिसँग दाँजेर लिम्बूको लुङ के हो भनेर बुझ्ने कोसिस गर्दै थियो । मैले उसले आत्मसात गर्ने गरी भनेँ, "लिङ् र लुङ् उस्ताउस्तै लाग्छ । होइन त देव ?"
"हो सर ।"
"त्यसैले माङलुङ पनि शिवलिङ जस्तै जस्तै होला कि !"

विद्यालयको शैक्षिक भ्रमणबाट हामी फर्कँदै थियौँ । कक्षा नौका छात्रछात्राहरूलाई लिएर अवलोकन भ्रमणका लागि बिराटनगरको औद्योगिक क्षेत्र गएका थियौँ । फर्कँदा धरानको प्रवेशद्वार तीनकुनेमा पानी पिउन भनेर केहीबेर रोकियौँ । किरात सभ्यताका समुदायले भरिएको धरान सहर चारकोसे झाडी कटेपछि तीनकुने प्वाइन्टबाट सुरु हुन्छ । त्यही प्वाइन्टमा किरातकालीन प्रथम राजा यलम्बरको मूर्ति स्थापित छ । धरानलाई किरातीको जीवन्त इतिहास र संस्कृति झल्काउन यलम्बरहाङको स्मारकले बेसलाइन देखाउँछ । त्यहाँ धनुष र बाण लिएर उभिएका यलम्बरहाङ एक अलौकिक योद्धाको रुपमा देखिन्छ । त्यो स्मारकको वरिपरि प्रदक्षिणा लगाउँदै मेरा विद्यार्थीहरूले निरीक्षण गर्छन् । म एक किरात समुदायबाट बनेको शिक्षक हुँ भन्ने कुरा मेरा विद्यार्थीहरूले नबुझ्ने कुरै छैन । यलम्बरको मूर्तिलाई हेर्ने मलाई पनि हेर्ने गर्छन् ती भविष्यका नक्षत्रहरू । सबैले प्रश्न गर्ने जमर्को गर्दैनन् । यो सामूहिक चेतना (herd mentality) को एउटा चैतन्य गुण हो । तर आवश्यकताले कसैलाई बेसमार प्रेरित गर्छ नै । देवेन्द्रले मेरो नजिकै आएर सोध्यो, "Excuse me sir. Is this the King Yalamber, the first king of Nepal ?
"Yes, Devendra. This is the statue of King Yalamber. Now you can talk to me in Nepali language. We are out of school premises. In Nepali, we can share our history and culture in the best possible ways. कुरा बुझ्यौ, देवेन्द्र । हामी टुरमा छौँ स्कुलदेखि बाहिर । आफ्नै भाषामा बोलौँ ।"
"हवस् सर । मैले बुझ्न चाहेको कुरा चाहिँ सर यलम्बर राईलिम्बुका राजा थिए कि कुनै अर्कै जातका थिए ?" देवेन्द्रको प्रश्नमा पूर्वाग्रह थिएन । जातीय इतिहासको कुरा सामाजिकता नै हो । मैले बुझाउँदै भनेँ, "किरात भनेर हाल नेपालमा मूलतः राई, लिम्बु र याखा जातिलाई चिनिन्छ । त्यसैले किरातका राजा भने पछि यिनै जातका राजा थिए । राजा यलम्बर महाभारत कालका राजा थिए भनिन्छ । किनभने महाभारतमा राजा यलम्बरको बारेमा लेखिएको पाइन्छ ।"
"यो त्यो महाभारतको यलम्बर चाहिँ भगवान शिवका अवतार थिए नि, लिम्बु सर । महाभारतमा वर्णित यलम्बर र किरातका सिकारी यलम्बरहाङ एकै थिएनन् ।" एकजना ब्राम्हाण सरले बिचैमा प्याच्च भन्नुभयो ।
"ओहो, भट्ट सरले त देखेर आको जस्तरी भन्नुभयो ।" मैले उनको नियतिमा घोचपेच गर्दै बोलेँ ।
"शास्त्रले देखाएको कुरा देखेको जस्तै हो सर । जे भए पनि यलम्बर राजालाई हिन्दु र किरात दुवैले मान्छन् ।" भट्ट सरले यो भनाइमा चाहिँ मन-मिलाप बढाउन खोज्नुभयो ।
"यो चाहिँ सही भन्नुभयो । यलम्बरको कथा महाभारतमा छ तर अलिकति हेयको दृष्टिले लेखिएको छ । तर यलम्बरको कथा होइन इतिहास छ मुन्धुममा एक शक्तिशाली राजाको रूपमा ।" मेरो कुरा सुनेर भट्ट सरले मलाई धाप मार्दै भन्नुभयो, "यलम्बरलाई हेपेको छैन लिम्बू सर । उनलाई देउता मानिएको छ ।"
"देउता मानेको भए यलम्बर दिवस मनाएको खोइ त ? उनको असाधरण धनुर्विद्याले अजेय धनुर्धारी कहलिएका थिए । उनको शक्ति देखेर कृष्णले पहिल्यै जालसाजी गरेर टाउको काटेर झुड्याएका थिए रे । यदि कौरवको पक्षमा लडेका थिए भने यलम्बरले कृष्णका पान्डवहरूलाई महाभारतको युद्धमा हराउने थिए । त्यसैले उनको टाउको काटेर बाँसमाथि झुन्ड्याउने तिनै कृष्ण थिए भनेर महाभारतमा कथा छ ।" विद्यार्थीहरूले दुईजना शिक्षकहरूको वादविवाद सुनिरहेका थिए । भट्ट सरले हाँस्दै भन्नुभयो, "उहिलेका कुरा खुइलेर गए लिम्बू सर । यलम्बर सेलम्बर किन चाहियो र यो एक्‍काइसौँ शताब्दीमा ! छोड्‍दिऔँ यस्ता कुरा, जाऔँ ।"
"कता जाने र भट्ट सर ? जहाँ गए पनि तपाईँको इतिहासले तपाईँलाई र मेरो इतिहासले मलाई छोड्ने होइन ।" भट्ट सरलाई रोक्न खोज्दै मैले भनेँ । मेरो कुरा सुन्दै गए भट्ट सर त्यहाँबाट गए र स्कुल बसमा चढे । आधुनिक सोच र सामाजिक सद्‍भाव भन्दै अरूको इतिहासलाई महत्वहीन ठान्ने भट्ट सर जस्ता नै हुन् । उनी गएपछि छात्र देवेन्द्रले मौका पाए । "सर, यलम्बर राजाले हातमा धनुषबाण बोक्नुभको छ । पछाडि बोकेको ठोक्रोलाई के भनिन्छ सर ?"
"बाण राख्‍ने त्यो ठोक्रोलाई तरकस भनिन्छ । इङ्लिसमा चाहि क्विभर (quiver) भनिन्छ ।"
"यो व्यक्तित्व देख्दा अर्जुन, कर्ण, लक्ष्मण, राम जस्तै लाग्छ सर ।" देवेन्द्रले वैदिक उपमा दिँदै यलम्बर चिन्ने प्रयत्‍न गरेको मैले ठानेँ । "हो, देवेन्द्र बाबु । तिमीहरूको पौराणिक पात्रहरू धनुर्धारी थिए । त्यस्तै हाम्रो ऐतिहासिक पात्र पनि महान धनुर्धारी थिए ।"
"हजुर सर । मैले अब बुझेँ यलम्बर पनि भगवान राम जस्तै थिए ।"
मैले उनको बालसुलभ बुझाइलाई हस्तक्षेप गर्न खोजिनँ । भट्ट सरको जसरी बौदिक आग्रहले ग्रस्त भई नसकेको विद्यार्थीलाई कुनै इतिहास लाद्‍नु मेरो प्रवृत्ति थिएन । त्यसैले मैले उनको आत्मअवलोकन र अनुभूतिका लागि छाडिदिएँ, "राम जस्तै जस्तै थिए होलान् तर कस्ता थिए यो मूर्तिमा हेर न, आफैँ चिन्छौ कि यलम्बरहाङलाई ।"

एकदिन मेरो हातमा महागुरु फाल्गुनन्दको जीवनी नामक पुस्तक थियो । पुस्तकको आवरणमा किरात धर्म दर्शनका गुरु फाल्गुनन्दको तस्वीर थियो । दाहिने हातमा त्रिशुल, देब्रे हातमा रूद्राक्षको माला, दुवै कानहरूमा लामा-लामा मुन्द्रीहरू, निधारमा चन्द्रहार, घाँटीमा कण्ठ र शरीरमा खरानी द्यसेर धुस्रोफुस्रो देखिने रङ्‍गीन पोस्टर छापिएको थियो । महागुरु फाल्गुनन्द भनेर ठुल्ठुलो अक्षरमा लेखिएको देखेर हेर्नेका आँखाहरू चौडा भएर खुल्थे । एकजना दस कक्षामा अध्यनरत छात्रले मेरो समीपमा आउँदै जिज्ञासा राख्यो ।
"यो पुस्तकका गुरु पुरुष हुन् कि महिला हुन् सर ?" मलाई हाँसो लाग्यो । आत्मसंयमित हुँदै भनेँ, "शङ्‍कर बाबु, नो जेन्डर डिस्क्रिमिनेसन इन क्वेइस्चन आइदर । (No gender discrimination in question either.) महिला वा पुरुष जेभए नि उनी गुरु हुन्, शङ्‍कर बाबु।"
"हेर्दाखेरि देवी जस्तै लाग्छ । शिवपार्वतीको स्वरुप यस्तै देखिन्छ होइन सर ? तर वहाँ महागुरु फाल्गुनन्द हुनुहुदोरैछ ।" शङ्‍करले हिन्दु देवी देउतासँग तुलना गर्दै भने । हिन्दु धर्मको पारिवारिक वातावरणमा हुर्केको बढेको क्षेत्रीका छोरा थिए, शङ्‍कर । शिव, पार्वती, दुर्गा, काली, भगवतीको अलौकिक इमेजहरूले उनको कलिला मन मस्तिष्क भरिएका छन् । तुलनात्मक नजरले हेर्ने स्वजातीय केन्द्रवाद (Ethno-centricism) ले बालमनोविज्ञान ग्रसित हुनु बालसुलभ गुणमाथि अप्राकृतीकरण हो । त्यसो हुँदाहुँदै शङ्‍करको निष्कलङ्‍क कौतूहल थियो त्यो । आवरण पृष्ठको पोस्टरमा किरातहरूका महागुरु फाल्गुनन्दलाई युमादेवीको रूपमा चित्रित गरिएको थियो । भनिन्छ फलामसिंहबाट फाल्गुनन्दमा रुपान्तरित हुनुमा महागुरुलाई युमाले दिक्षित गरेकी थिइन् । कतिपयले फाल्गुनन्दलाई साक्षात् युमाको अवतारको रूपमा लिने गर्दछन् । कतिपयले हिन्दु धर्मको जसमुनि पन्थबाट निसृत शैव परम्परित समाज सुधारक गुरुका रुपमा लिने गर्दछन् । यी सबै कुरा मनन गरेर मैले सरल जवाफ दिएँ, "शङ्‍कर बाबु महागुरु फाल्गुनन्दलाई लिम्बूहरूकी देवी युमाको अवतार मानिन्छ । त्यसैले वहाँको साकार स्वरूप त्यस्तो देखिएको हो ।"
"हजुर सर, वहाँ भगवान शिव हुनुपर्ने तर देवी पार्वती हुनु भएछ !" शङ्‍करले अचम्म मान्दै भन्यो ।
"हो शङ्‍कर, हामी याक्थुङ लिम्बूहरू युमाका सन्तान हौँ र युमालाई सृष्टिकर्ता तागेरा निङ्वाफुङमाङ देवीको अवतार मान्दछौँ ।
"देवीलाई मान्ने धर्म रैछ सर । मलाई महागुरु फाल्गुनन्दको जीवनी जान्न मन लाग्यो सर । एक दुई दिनको लागि यो पुस्तक पढ्न दिनुस् न सर ।"
"तिमी फेरि युमा साम्यो (धर्म)मा परिवर्तन हौला है, शङ्‍कर !"
"अरे सर, के भन्नुभको हाउ ! म लिम्बुवानमै जन्मे हुर्केको क्षेत्रीको छोरा हुँ । जन्मिँदै युमा, थेबा, माङको आशीर्वाद छ ममाथि ।"
"वाह ! यो कुरा चाहिँ पक्‍का हिन्दुत्वको गर्‍यौ है बाबु । हामीले सबै धर्मलाई समताभावले हेर्नुपर्छ ।"
शङ्‍करले हौसिँदै भने, "हो नि सर । अझ किरात, युमा धर्म हाम्रो शिवमार्गी खालको जस्तै जस्तै रैछ । मलाई उस्तै लाग्यो हाउ सर । राई, लिम्बू, क्षेत्री, बाहुनको धर्म एकै हुन् वा उस्तैउस्तै हुन् कि जस्तो लाग्यो । कि कसो हो सर ?"
यो कुराले म अवाक् भएँ । विद्यार्थीसँग धेरै तर्कवितर्क गरिरहन मन लागेनँ । विचरा शङ्‍कर बाबुको के कुरा ! म पनि परजातीय केन्द्रवाद (Xeno-centricism) को प्रभावले अन्तरघुलित भैसकेको आफैँलाई थाहा थिएन । मैले उसले सोधेको 'कि कसो हो सर' भन्ने प्रश्नको ठोस जवाफ दिनु थियो । टाउको हल्का हल्लाउँदै मसिनो स्वरमा भनेँ, "उस्तैउस्तै जस्तै जस्तै होलान् कि ! ल लेऊ यो फाल्गुनन्दको जीवनी सहितको यो मुन्धुम पढ । सत्ते साँचो कुरा के हो आफैँ बुझ्नू ल शङ्‍कर ।"

मैले महागुरु फाल्गुनन्दको बारेमा लेखिएको पुस्तक शङ्‍करको हातमा थमाएँ । खुसी हुँदै पुस्तक लिएर शङ्‍कर कक्षाकोठाभित्र गयो । म भने फाल्गुनन्दको सत्तेहाङ मुचुल्काबाट निसृत सत्तेहाङ् किरात धर्म र युमा साम्यो (धर्म)को बारेमा घोत्लिन थालेँ । झसङ्‍ग भएँ र आफैँसँग बरबराउँदै हाँसे । किनभने दुइटा बाटोको छिनोफानो नहुँदै युमाको चइत् मुन्धुम र फाल्गुनन्दको सत्तेहाङ् मुन्धुम दुवै नै शङ्‍करको हातमा गइसकेका थिए ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।