श्रीमतीले “सन्तान पेटमा आयो“ भनेको सुनेर चक्रसिङ खुसीले उफ्रिएको र श्रीमतीको पेट मुसारिरहेको याद अझै ताजै छ। नौ महिना कति ढिलो भएको होला भन्दै प्रतीक्षा गर्दा जन्मिएकी छोरी सुनितालाई पहिलोपटक काखमा लिएको क्षण उनको आँखामा अझै चम्किरहेको छ ।
टुकुटुकु हिँड्ने भएपछि छोरी सुनिता बुवाको हात समातेर डुल्दा खुब रमाउँथी, बाहिरबाट घर आउँदा बुवाको काखमा लडिबुडी गर्थी । चक्रसिङ दिनभरि जति दुःख गरेर आए पनि घरमा आएपछि छोरीको मायाले सबै दुःख बिर्सन्थे । उनी ढिलो गरी घर आएका दिन निद्रामा गइसकेकी छोरीको निधारमा सुम्सुम्याएर थकाइ मेट्थे । आमा पनि छोरीका लागि दिनरात खटिइन्थिन् । छोरीले राम्रो कपडा माग्दा चक्रसिङले आफ्ना फाटेका लुगा लगाएर भए पनि छोरीलाई नयाँ किनिदिन्थे। विद्यालय जान डराउँथी, अनि बुवाले सान्त्वना दिँदै भन्थे, “मेरी छोरी ठूली भएपछि संसार जित्छे।”
चक्रसिङले आफूले आर्थिक अभावका कारण पढ्न नपाएकोले छोरीलाई जीवनमा राम्रो शिक्षा दिन चाहन्थे । सकेसम्म राम्रो स्कुल कलेजमा पढाउन चक्रसिङले सानो जागिरको सञ्चयकोष नै बन्धकी राखे । आफैँ भोकै बसे, तर छोरीलाई कुनै कमी हुन दिएनन् । साथीभाइहरू कहिलेकाहीँ सोध्थे, “तपाईं किन यति दुःख गर्नुहुन्छ?” “छोरीलाई राम्ररी पढाएर ठूलो मान्छे बनाउने, त्यसपछि सुखका दिन आउँछन्” भनेर जवाफ दिन्थे । चक्रसिङले छोरी ठूलो मान्छे बनोस् भन्ने सपना देखे। छोरीको जीवन उज्यालो बनाउने भन्दाभन्दै जीवनमा सुखको अनुभव नै गर्न पाएनन्, तर पनि कहिल्यै दुःख मानेनन् ।
समय बित्दै गयो। छोरी हुर्किंदै गई। छोरीको पढाइ राम्रो थियो । राम्रो अंक ल्याएर एघार कक्षासम्म पढी । साथीको संगत अनि उसको आधुनिकताको रुचि आदि कारणले विदेश जाने मन बनाई । पढाइमा अब्बल भएकी छोरीले उत्कृष्ट अंकसहित छात्रवृत्ति पाई, अनि उच्च शिक्षा पढ्न विदेश जाने चाहना गरी। बुवाले एक्लै विदेश पठाउन सकेनन् । उसैको रोजाइको केटासँग विवाह गरिदिए । उत्कृष्ट अंकसहित छात्रवृत्ति पाउँदा बुवाको लागि त्यो सबैभन्दा ठूलो गर्वको क्षण थियो। “मेरी छोरीले ठूलो मान्छे भएर देखाई ” चक्रसिङले गाउँमा सबैसँग गर्वका साथ सुनाएका थिए ।
सबै प्रक्रिया पुरा गरेर ज्वाइँ छोरी अमेरिका गए । सुरुमा पढाइमा खर्च र रोजगारी पनि मिलिसकेको थिएन । चक्रसिङलाई दुःख के हो थाहा थियो, त्यसैले ऋण खोजेर भए पनि छोरीलाई पैसा पठाइरहे । विदेश गएपछि छोरी सुरुमा नियमित फोन गर्थी। बुवालाई विदेशका नयाँ कुरा सुनाउँथी। आफ्नो जीवन कसरी परिवर्तन हुँदै छ भनेर बताउँथी । बुवा सुनिरहन्थे, हरेक रात छोरीको फोन आउँछ कि भनेर प्रतीक्षा गर्थे। तर विस्तारै फोनहरू घट्दै गए । छोरीले आफैले कमाउन थाली । उनिहरुको बन्दोवस्त राम्रो हुदै गयो । सुरुमा हप्तामा एकपटक, त्यसपछि महिनामा एकपटक मात्र । कहिलेकाहीँ त फोन उठाउनसमेत भ्याउँथिनन्। “बाबा, अहिले व्यस्त छु, पछि कुरा गरौंला है! ” भन्ने उसको शब्द बुवाको कानमा गुञ्जिरहन्थ्यो।
विस्तारै उनीहरूको सबै व्यवस्था मिल्दै गयो। अमेरिकाको स्थायी बासिन्दाको कार्ड पनि लिए। घर, गाडी सबै जोडे। केही वर्षपछि एकदिन छोरीले फोन गरी, “बुवा, तपाईहरुलाई कहिले अनुकुल मिल्छ ? मैले अमेरिका बोलाउँछु । यहाँ कस्तो सुन्दर छ। तपाईंलाई मन पर्छ होला! ” फोनमा टाढा भएकी छोरीले आफ्नै ठाउँमा बोलाउँदा बुवाको मन खुसीले नाच्यो। छोरीले आफैँ बोलाइरहेकी थिई। छोरीले भिसा पठाइदिई। अमेरिकाबाट फर्के पछि छोरीले दिन्छे भनेर केहि ऋण खोजेर, केहि आफ्ना भएका गहना धरौटी राखेरै भए पनि उनले जहाजको टिकट काटे। बुढाबुढी आफ्ना लगाउने लुगा र छोरीलाई केही कोसेली लिएर छोरीलाई भेट्ने रहर बोकेर हजारौं माइलको यात्रा गरे।
विमानस्थलमा ओर्लंदा मनमा हजार सपना लिएर आएका बुवाआमाले छोरीको खोजी गरे। छोरी एकछिन ढिलो आइपुगी। बुवाआमाले छोरीलाई अँगालो हाल्न खोजे, तर ऊ पछि हट्दै भनी, “यहाँ सार्वजनिक ठाउँमा यसरी गर्नु अलि ठीक हुँदैन, बुवा ” भनी र आमालाई यसो अँगालो हाले जस्तो गरी। चक्रसिङले छोरीलाई नियालेर हेरे, तर उसको आँखामा उनले सोचे जस्तो चमक थिएन। केवल एउटा औपचारिक मुस्कानसहित उनले भनेकी थिई, “बुवाआमा तपाईंहरू आउनुभएकोमा धन्यवाद, बाटोमा गाह्रो त भएन?” बिहानको घाम जस्तै छोरीको मुहार हेर्ने रहर लिएर विदेश गएका थिए चक्रसिङका बुढाबुढी। जीवनको २५ वसन्त त्यही छोरीको सुखका लागि बिताए। तर जब खुसीले भेट्ने समय आयो, छोरी त बदलिएकी रहिछ। चक्रसिङकी छोरी अहिले सम्पन्न मुलुककी सभ्य नागरिक भएकी रहिछ। शरीरभरि बास्ना छरेकी, छोटा लुगा लगाएकी, हातमा ठूलो मोबाइल बोकेकी । “बुवा, तपाईं आउनुभयो, राम्रो भयो। म अलि व्यस्त थिएँ। तपाईंलाई बस्नका लागि होटल बुक गरिदिएकी छु। ” बुवाआमा अचम्म मान्दै छोरीको मुख हेरिरहे। “हामी पनि होटलमै बस्छौं, नआत्तिनु ” बुवाले एकछिन अचम्म माने। “होटल? हामी त तिमीसँग बस्न आएको। ” छोरीले अल्ली झर्किंदै भनी “यहाँको परिस्थिति बुझ्ने कोसिस गर्नु न ।” यो सुनेर बुवाको मन चसक्क भयो । मुटुमा बज्र हाने जस्तो भयो । उनले मनमनै सोचे, “जसका लागि जीवनभरि दुःख गरें, ऊसँग बस्ने समय पनि छैन। ”
भिडियो कल गर्दा छोरीले गर्वका साथ भन्ने गर्थी, “बुवा हेर्नु हाम्रो घर” भनेर घरका सबै सामान देखाउने गर्थी। छोरीको घर भव्य थियो। सुविधासम्पन्न, झिलिमिली बत्तीले भरिएको। तर बुवाले त्यहाँ न्यानोपन पाउन सकेनन्। दुई दिन जती होटलबाटै बिहान छोरी अफिस जान्थी, साँझ फर्किन्थी, तर बुवाआमासँग बस्नका लागि खासै समय निकाल्थिनन्। दुई दिनपछि छोरीले भनी, “मेरो जागिरका कारणले सेमिनारमा जानुपर्ने भयो, सात दिनमा फर्कन्छु। त्यही मौका पारेर ज्वाइँ पनि जानुहुन्छ। अफिसले पठाएको बेला होटल मिलिहाल्छ, हामी घुमेर पनि आउँछौँ। तपाईंहरू आत्तिनु पर्दैन, होटलमा सबै भनिदिएको छु। खानाको मेनु दिएको छु। दिउँसो बाहिर निस्कन मन लागे निस्कनु। होटलको ठूलो कम्पाउन्ड छ। राम्रा फूलहरू फुलेका छन्। रमाइलो छ है ?”
तीनतारे होटलको एउटा कोठामा आमाबुबा राखिए। सुरुमै बाहिरी संसार जती झिलिमिली भए पनि मनमा खुसी नभए पछि नरमाइलो लाग्यो। नयाँ देश, फरक खाना, सफा सहर तर मनका अमिलो पिडा। आत्तिएर छोरीलाई फोन गर्दा “व्यस्त छु” मात्र जवाफ दिन्थी। “हामीलाई घुमाउने भनेकी थिई, तर हामी होटलको झ्यालबाट सडक हेरेर दिन काट्दै छौं,” बुवाआमा सुस्केरा हाल्थे। फेसवुक हेर्दा सुनिता साथीहरूसँग सहरको रमाइलो गर्दै थिई। रेस्टुरेन्ट, किनमेल, नाइट लाइफ सबै मज्जा लिँदै। खै सेमिनार हो कि के हो ? बुवाआमाले छोरीको फोटो हेरेर एक साँझ होटलको झ्यालबाट बाहिर हेर्दै भने, “हामी त उसलाई भेट्न भनेर गाउँको माटो छोडेर विदेश आयौं, अनि ऊ हामीलाई बन्दकोठामा छोडेर रमाइलो गर्न लागिछे। ” आमा पनि चुप लागिन्, आँखा रसाए। आमाहरू समर्पित, स्नेही, मौन पीडामा जिउने हुन्छन्।
केही दिनपछि छोरी आइन्, हँसिली मुद्रामा। “तपाईंहरू रमाउनुभयो नि है? ” बुवा मुस्कुराउने कोसिस गर्दै बोले, “हो, रमाइला दृश्यहरू देख्यौं... तर छोरीको साथ नभएपछि ती पनि धमिलो लागे।” सुनिता केही बुझी, केही नबुझी जस्तो गरी । “हामी तिमीसँगै बस्ने सपना बोकेर आएका हौं छोरी। तिमीसँगै हिँड्न मन थियो । हामी यहां होटलको कोठामा एक्लै बस्ने रहर होइन। कोठामा राखिएको टिभी खोल्दा पनि केही बुझिएन । बस चढेर जाऊँ कसरी जाने थाहा छैन। किनेर केही खाऊँ भने पसल देखेको छैन। पसल खोज्न जाऊँ भने भाषा जानेको छैन। होटलको कोठामा सुत्यो, फेरि उठ्यो, फेरि सुत्यो। खाना आउँछ, नुन लागेको हो कि होइन ? स्वाद के हो के? रुचेर तल जाँला भन्दा माथि आउला जस्तो हुने। यस्तैमा बित्यो छोरी।” आमाबुबाको मायालु नजरमा दुःख लुकेको थियो– सुनिताले त्यो महसुस गर्न अझै धेरै सेमिनारहरू बिताउनु पथ्र्यो।
“यसरी बसेको पनि दश दिन भएछ। अझै कति बस्ने हो यसरी? अब तिम्रो घर कहिले जाने हो? हामी त छोरीको घरमा बसौंला, आमाछोरी नेपालमा हुँदा पकाएका विभिन्न परिकार पकाऔंला। सेलरोटी पकाएर खाऔंला। मनमा कति धेरै कुराहरू साटौंला। छोरीसँगै नयाँ–नयाँ ठाउँ घुम्न जाउँला भनेको त हामी त बन्दी जीवन जस्तो पो बस्नु पर्यो। ” आमाले छोरीलाई सोधिन्, “सुनिता तिम्रो घर जाऊँ न, त्यहीँ बस्छौं हामी। ” सुनिताले भनी, “आमा, मेरो घरमा पाहुना बस्न अलि गाह्रो हुन्छ। यहाँको सिस्टम फरक छ। तपाईंहरूले मेसो पाउनु हुन्न। मेसिनले घर सफा गर्नुपर्छ। भाडा मेसिनले माझ्छ। तपाईंहरूले चलाउन जान्नुहुन्न। बिग्रेयो भने कति महँगो सामान बिग्रन्छ।“ बुवाको मन एकाएक भारी भयो। उनी छोरीको घर जान चाहन्थे, तर छोरीलाई बुबाआमाको आएको नै बोझ लागिरहेको जस्तो थियो। बुवाले उनलाई पुराना सम्झनाहरू सुनाउन खोजे, तर छोरीको ध्यान फोनमा थियो। बुवाले सोधे “तिमीलाई हामी आएको खुसी लागेन?” छोरीले जवाफ दिई, “हैन बुवा, तर यहाँको जीवन निकै व्यस्त छ। सबैले आफ्नो समय बचाउनुपर्छ ” बुवाले त्यो उत्तर सुनेर मौन भए। छोरीले भुलेकी थिई कि उनको लागि जीवनभर संघर्ष गर्ने यी वृद्ध बुवा कुनै समय उसको पूरै संसार थिए। बिस्तारै बुवाले महसुस गरे कि उनी छोरीको संसारमा अब प्राथमिकता होइनन्।
चक्रसिं बिहान उठेर विस्तारामा नै बसेर धेरैवेर सोचिरहेका थिए। उनले सोचे, “यो त मेरी छोरी नै हो, तर उही छैन। मेरो मनमष्तिकको छोरी होइन ।” आएदेखिका छोरीका सबै बोली बचन र व्यवहार सम्झिए । अव यहाँ बस्नुहुन्न भनेर उनले नेपाल फर्किने निधो गरे। “छोरी, अब हामी घर फर्किन्छौं।” “अहिल्यै बुवा?” छोरीले हल्का आश्चर्य प्रकट गरिन्, तर उनको आवाजमा रोक्ने चाहना थिएन। “तपाईहरुलाई घुमाउन बांकी छ, हामीले अर्को विकेनमा घुमाउने भनेको बुवाले मुस्कुराउँदै भने, “पर्दैन छोरी हामीले घुमे सरह भयो । अव मेरो घर, मेरो ठाउँ नै ठीक छ।”
आमाबुवाले नेपाल फर्किने निधो गरे। अमेरिक पुगे कि पुगेनन् ? उनिहरुलाई थाहा भएन । छोरीको घर थियो कि थिएन ? त्यो पनि थाहा भएन । छोरीसंग बसेर एक छाक खाना कस्तो हुन्छ ? त्यो अनुभव पनि गर्न पाएनन् । लगाएको गहना राखेर लिएको ऋणबाट ठुलो जहाज चढे वस् यत्ती। छोरी आफ्नो जिन्दगीमा यती रमाएकी थिई कि बुवा–आमाका भावनालाई महसुस नै गर्न सकिन। छोरीले सायद बुवाआमाले कति दुःख महसुस गरिरहेका छन् भन्ने बुझिनन्। बुवाको आग्रहमा छोरीले तीन महिना पछिको मितिमा भएको टिकट अगाडी सारी दिई। बिहानै उनिहरुले आफ्नो झोला उठाए। छोरीले उनीहरूलाई बिदाइ गर्न विमानस्थल पुरÞ्याइन्। विमानस्थलमा बुवाले अन्तिमचोटि छोरीको अनुहार हेरे। मनमनै सोचिरहे, “मैले उसलाई ठूलो मान्छे बनाइदिएँ, तर ऊ मेरो लागि पराइ जस्तै भई। जहाँ माया छैन, त्यहाँ बस्नुको अर्थ छैन।” आमाको आँखा रसाइरहेको थियो। छोरीले विमानस्थलमा विदाई गर्दा न अँगालो हालिन्, न आँखामा कुनै पश्चात्ताप थियो। उनले औपचारिक रूपमा भनेकी थिइन्, “हजुरहरु आउनु भएकोमा धन्यवाद। यो पटक हामी व्यस्त भएर घुमाउन भ्याइएन अर्को पटक राम्रोसंग घुमाउंछु । यात्रा सुरक्षित होस् । पुगेर खवर गर्नु है ?” बुवाले मनमनमा भने, “तँ आउँदा मोई पाइनस गोठालो पठाई दे दुध दिउला भनेको यहि होला । धनले संसार बदल्न सक्छ, मान्छेहरूलाई उचाइमा पु¥याउन सक्छ, तर धनले आत्मीयता किन्न सक्दैन।”
नेपाल फर्किएपछि बुवा दिनभर मौन बसे। सधैं खुसी देखिने उनी अब गहिरो सोचमा हराउँथे। पुरानो एल्बम पल्टाउँदै उनले छोरीको बाल्यकालको फोटो हेरिरहे। एउटा फोटोमा सानै छँदा छोरी उनको काँधमा बसेर मुस्कुराइरहेकी थिइन्। आँखाभरि आँसु लिएर उनी बर्बराए, “मेरो लागि तिमी सधैं सानी छोरी नै रहन्छ्यौ, तर तिमीले मलाई सम्झन भ्याउँदैनौ ।” समयसँगै सबै बदलीयो छोरी । एक दिन पुराना कागजहरू खोज्ने क्रममा, छोरीले तीन कक्षामा हुँदा लेखेको एउटा चिठी पनि भेटियो । “बुवा, तपाईं मेरो हिरो हो । बुवाआमा, म ठूलो भएपछि तपाईंहरूलाई संसारका सबै खुशी दिन्छु। तपाईंहरूलाई कहिल्यै दुःख हुन दिनेछैन । म तपाईंहरूलाई सधैं माया गर्छु।” बुवाले त्यो चिठीलाई मुटुमा च्यापे । उनका आँखाबाट आँसु टिलपिल गर्दै खस्यो र मनमनै भने “बरु यहि तीन कक्षामा हुँदा लेखिएको चिठी जस्तै छारीको उमेर पनि नबढेको भए जिन्दगी भरी हिरो हुन पाइने रहेछ नि ।”
भरतपुर १०, चितवन, हाल: ब्रीसवेन, अष्ट्रेलिया