18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

पहिलोपटक बोइङयात्रा

नियात्रा डा. टीकाराम पोखरेल April 17, 2025, 2:22 pm
डा. टीकाराम पोखरेल
डा. टीकाराम पोखरेल

रातको १ः१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अष्ट्रियन एयरलाइन्सको बोइङ जहाजबाट भियना उड्ने टिकट हामीले झण्डै एकमहिनाअघि नै प्राप्त गरिसकेका थियौँ । उड्ने दिन १०ः०० बजे राती विमानस्थलमा पुग्दा मलाई एक प्रकारको रमाइलो अनुभूति भइरहेको थियो, ठूलो जहाज चढेर विदेश जाने खुशीयालीमा । त्यसो त कहिल्यै घरपरिवार छोडेर बाहिर नबसेकोले मसँग अर्को प्रकारको नमिठोपन पनि छँदै थियो । यत्रा झण्डै तीन हप्ताको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जाँचको लम्बेतान प्रक्रियाले हामीलाई एयरपोर्ट पुगेदेखि उडान प्रारम्भ हुने बेलासम्मको तीन घण्टाको समयलाई तीन मिनेटजस्तो अनुभूति गराइदियो । गर्नुपर्ने जति प्रक्रिया पूरा गर्न झण्डै समय पो पुगेन । अझ भनौँ, यति झञ्झटिलो प्रक्रिया थियो कि सुरूमै सुरक्षा जाँच, प्रवेशद्वारको परीक्षण, सामान परीक्षण, शरीर परीक्षण, त्यसका लागि लाइनमा बस्नुपर्ने झञ्झट, एयरलाइन्सको काउण्टरमा टिकट चेकिङ, लगेज परीक्षण आदि निकै ठाउँमा हामी जाँचिइरहेका थियौँ । मानौँ हामी सुरक्षाकर्मीको दृष्टिमा ठूलै अपराधि पनि त हुन सक्छौँ । जाँचिनु हाम्रो बाध्यता थियो, किनकी हामीलाई सररर बोइङमा चढेर विदेश जानु थियो ।

त्यसै पनि लाइनमा बस्नुपर्ने झञ्झट त छँदै थियो, त्यसमाथि एकजना अपरिचित नेपाली मित्र आएर कहाँ जाने ? किन जान लाग्नुभएको ? तपाईंहरूको घर कहाँ हो ? अफिस कहाँ हो ? आदि जस्ता सरोकार बाहिरका कुरा सोधेर हामीलाई हैरानी नै पारेका थिए । मानिलिऊँ उनी हाम्रो व्यक्तिगत विवरणको एक्सरे नै गर्न खोजिरहेका छन् ।

केहीबेर त हामीले नचाहेर पनि उनले सोधका प्रश्नहरुको उत्तर दियौँ । तर प्रश्नहरू झन् झन् बढाउँदै लगेपछि नवराज सर (नवराज कोइराला, तत्कालीन उपसचिव, राष्ट्रिय मानव अधिकार आयोग) लाई निकै रिस उठेछ । उहाँले मुख नै फोर्नुभयो– “होइन, तपाईँलाई हाम्रो बारेमा यति विस्तृत विवरण किन चाहियो ?” त्यसपछि उनी हाम्रो प्रश्नको उत्तर दिन समर्थ भएनन् । निरूत्तर अमिलो मुख र बनावटी हाँसोमा विकृत अनुहार लगाउँदै आफ्नो बाटो लागे । हामीले उनको शैली थप नियालौँ । अलि पर गएर उनी अरुसँग पनि फेरि त्यस्तै प्रश्न गर्न थाले । सायद कुनै तलब मात्र खाने काम नगर्ने फुर्सदिला कर्मचारी थिए कि वा हुन सक्छ कुनै बिचौलिया थिए ।

नेपालमा राजनैतिक उथलपुथल चलिरहन्छ । साठीको दशकमा राजनीतिक उतारचढाव बढी नै भयो । हामी राजनैतिक उथलपुथलको सेरोफेरोमा विदेश भ्रमण गर्दै थियौँ, त्यो पनि राष्ट्रिय मानव अधिकार आयोगको प्रतिनिधित्व गर्दै । त्यसबेला धेरै मानव अधिकारकर्मीहरूलाई स्थानहद गर्नुका साथै कतिलाई काठमाडौँ बाहिर जान समेत रोक लगाएको थियो । स्थानहद गरिनु सरासर मानव अधिकार विरोधी कार्य हो भनेर आवाज उठाउने राष्ट्रिय मानव अधिकार आयोगका सदस्यहरू स्वयम्समेत काठमाडौँ छोडेर बाहिर जान नपाउने लिष्टमा परेका थिए । विधिको शासनमाथि बन्दुकको शासन घोडा चढेको थियो । यस्तो अवस्थामा हामी मानव अधिकारकर्मीमाथि एक अपरिचितले राखेको निग्रानी शङ्काको घेराबाट टाढा छैन भन्ने हामीलाई लाग्यो । तथापि उनी हाम्रो प्रश्नपछि बाटो लागेकाले त्यो रहस्य रहस्य नै बनेर रह्यो ।

डेनिश इन्ष्टिच्यूट फर ह्युमन राइट्सको आयोजनामा डेनमार्कको राजधानी कोपेनहेगनमा हुने मानव अधिकार तालिममा भाग लिने हाम्रो पूर्वनिर्धारित कार्यक्रम थियो । हामी दुई (नवराज कोइराला र टीकाराम पोखरेल) लाई राष्ट्रिय मानव अधिकार आयोगले मनोनयन गरेको थियो । काठमाडौँबाट अष्ट्रियाको भियना हुँदै कोपेनहेगन पुग्ने हाम्रो रूटअनुसार हाम्रो पहिलो फ्‌लाइट काठमाडौँ–भियनाको थियो । हामीलाई भियना पुर्‍याउने अष्ट्रियन एयरलाइन्सको विमानसम्म पुग्न त्रिभुवन विमानस्थलको प्रवेशद्वारदेखि विमानको प्रवेशद्वारसम्म लगभग हामी दश ठाउँ जति कुनै न कुनै रूपमा परीक्षण भएका थियौँ । परीक्षणमा जाँचिएर अन्तिममा प्लेन चढ्न योग्य भएका थियौँ । अथवा त्यसबेला हामी हदबन्दीको लिष्टमै चाहिँ परेका रहेनछौँ । हदबन्दीमा पर्ने हाम्रो योग्यता पुगेको रहेनछ कि भन्ने लाग्यो । पद अलि सानो भएर होला सायद, हदबन्दीका लागि योग्य नभएको ।

अष्ट्रियन एयरलाइन्सको बोइङको प्रवेशद्वारबाट भित्र प्रवेश गर्नेबित्तिकै हामीले युरोपियनहरूको आतिथ्यता स्वीकार गरिसकेका थियौँ । असाध्य भद्र र शालीन थिए, विमान परिचारिकाहरू । पेसाप्रति निष्ठावान् पनि । सभ्यताको एउटा नमुना नै । घमण्ड तिनीहरूमा रत्तिभर थिएन, न त हीनताबोध नै । नेपाली पनि त्यस्तै भइदिए हुन्थ्यो भन्ने लाग्यो । लागेको कुरा मनमै दबाएँ ।

“इज दिज आवर सिट ?” नवराज सरले हामी नजिकै उभिएर यात्रुरुहरूलाई सिट पत्ता लगाउन सहयोग पुर्‍याइरहेकी विमान परिचारिकालाई एउटा सिटतर्फ सङ्केत गर्दै सोध्नुभयो ।
“एस ।” परिचारिकाले मुस्कुराउँदै भनी ।

सिट नम्बर त बोर्डिङ पासमा पनि प्रिण्टेड थियो र प्लेनका सिटहरुमा पनि लेखिएको थियो । हाम्रो त परिचारिकासँग बोल्ने बहाना न थियो ।

सिटमा बसिसकेपछि हाम्रो अर्को प्रश्न थियो– “हाउ लङ टाइम विल टेक काठमाडौँ टु भियना ?”

“इटस् टेक नाइन आवर एप्प्रोक्सीमेटली” ऊ पुनः मुस्कराई ।

त्यसो त एप्प्रोक्सीमेट्ली टायम पनि त टिकटमै थियो । हाम्रो त एकपछि अर्को परिचारिकासँग बोल्ने नयाँ बहानाको खोजी थियो ।

विमानको सिटमा बस्नासाथ सुरक्षा सम्बन्धी विभिन्न जानकारीहरू हाम्रो सिट अगाडिको भिडियो स्क्रिनमा आइरहेको थिए । सिटबेलल्ट बाँध्ने, धुम्रपान नगर्ने, सङ्कटकालीन अवस्थामा आफूलाई सुरक्षित राख्न अपनाउनुपर्ने प्रक्रिया आदि आदि । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केही समयमै हाम्रो बोइङले ३८,००० फिटको उचाइ लिइसकेको थियो । काठमाडौँ–भियनाको उडानमा हाम्रो बोइङले पछ्याउने मार्गको भिडियो तस्बीर पनि स्क्रिनमा देखियो । काठमाडौँबाट उडेपछि कानपुर, नयाँदिल्ली, लाहोर, काबुल, जललाबाद, तेहरान, बग्दाद, बाकु, लालसागर, कालासागर, इस्तानबुल आदि स्थानहरूको आसपास हुँदै हामी युरोप प्रवेश गर्ने जानकारी हामीलाई भिडियो स्क्रिनमा प्राप्त भैरहेको थियो ।
काठमाडौं विमानस्थल छोडेपछि हामी सोझै पश्चिमतिर अन्धकारमा उडिरहेका थियौँ । त्यसो त हाम्रो गन्तव्य पनि पश्चिमा देश नै थियो । रातको अन्धकारमा कहीँ कतै केही देखिँदैनथ्यो । लाग्थ्यो– हामी शून्यमा हराइरहेका छौं । कहिलेकाहिँ त पट्ट्यार लागेर झण्डै झण्डै रात्री बसमा यात्रा गरेको अनुभूति भयो । लाग्यो– दिउँसोको फ्‌लाइट भएको भए हामी पृथ्वीका विभिन्न दृष्यहरूको आनन्द लिँदै यात्रा गर्ने थियौँ, तर त्यो हाम्रो वशमा थिएन । तालिम आयोजकले जुन एयरलाइन्स र जुन समयको टिकट पठायो, त्यसैमा यात्रा गर्नु हाम्रो बाध्यता थियो । उडेको केही समयपछि देखिएको दिल्लीको बत्तीको झिलिमिली र केही पर पुगेपछि पाकिस्तानको केही भूभागमा देखिएको बिजुलीबाहेक रातभर केही देखिएन । देखियो त खालि भिडियो स्क्रिनमा हामी उडिरहेको हवाइमार्ग र हामी यति हजार फिटमा छौँ र उति हजार फिटमा छौँ भन्ने जानकारी मात्र ।

कुनै समय कलेजको अध्यापक थिएँ । कलेजको अध्यापक हाम्रो समाजमा पढेलेखेकै वर्गमा पर्दछ । चाहे उसले चिटै चोरेर पास गरेको किन नहोस् । तर मलाई जहाजका विमान परिचारिकाहरू देख्दा, त्यतिखेर बोध भयो हामीले पढेका रहेनछौँ । धेरै पढ्न बाँकी रहेछ । अर्थात् नपढ्ने कुरा पढेछौँ । पढ्नुपर्ने कुरा छोएकै रहेनछौँ । हामीलाई त ठूला ठूला ठेली पढेर सिध्याएकोमा नै गर्व छ, न कि त्यसमा भएको ज्ञानलाई व्यवहारमा उतार्नमा ।

बोइङ यात्रामा मैले परिचारिकाहरुको परिश्रमलाई हेरिरहेँ । उनीहरुको कर्म र शैलीले मलाई अनुभूति भयो– ‘म पनि तिनीहरू जस्तै नम्रतापूर्वक झुक्न सकूँ । कलेजको प्रोफेसर जस्तो होइन एयरहोस्टेज जस्तै ।’ म आफूलाई निकै ठूलो सम्झन्थेँ, किनभने म दुई चार जना विद्यार्थीहरूलाई एकै सातोमा खाइदिन्थेँ । नपढ्ने बदमाश भनेर गाली गर्थेँ । उनीहरू मसँग थुरथुर हुन्थे, मरो हप्काइमा उनीहरु आफ्नो भविष्य खोजिरहेका थिएँ । तर म भने ती विमान परिचारिकाहरूसँग नतमस्तक थिएँ, किनभने मैले तिनीहरू जस्तो हुन जानेकै थिएन । सायद अधिकांश नेपालीहरूले जानेका छैनन् ।

परिचारिकाहरु कर्मका पूजारी थिए । आफ्‌नो काममा अति नै इमान्दार । अति शिष्ट, नम्र र भद्र । बोल्न कत्ति पनि नहिच्किचाउने तर आवश्यकताभन्दा बढी पनि नबोल्ने । सोधेको हरेक कुराको उत्तर झर्को नमानी दिने । खाना खाने समयमा तिनीहरूले हामीलाई सेवक सेविकाले झैँ नम्र व्यवहार गरे । तर उनीहरू सेविका थिएनन् । उनीहरू त दायित्वबोधि थिए । कर्मका पूजारी थिए । हामी ‘अतिथि देवो भवः’ भन्ने मन्त्र जप्दै थियौँ, उनीहरु त्यसलाई व्यवहारमा उतार्दै थिए ।

विमानमा मलाई जीवनबोध भयो– ‘वास्तविक जीवन भनेको त कर्म पो रहेछ ।’ कर्म त हामी पनि गरिरहेका छौँ, सबैले गरेका छन् । तर अधिकांशले कर्मका पुजारी भएर होइन, गरेको कामप्रति हीनताबोध बोकेर, असन्तुष्टिको थुप्रो लगाएर काम गरिरहेका छौँ । कामप्रति घृणा र नगद रूपैयाँ प्रति मोह बोकेर गरेको कर्म कर्म हो कि कर्महीनता ? कर्मका लागि होइन, पैसाका लागि गरिएका काम कति पवित्र छन् ? हाम्रो उडानका विमान परिचारिकाहरू हामीले खाएको जुठा भाँडाहरू उठाइरहेका थिए । खाना थपिइदिरहेका थिए । काम गरेको पारिश्रमिक त उनीहरु पनि लिन्थे, तर उनीहरुमा कामप्रतिको कृत्रिमता र हीनताबोध थिएन । बरू हामीलाई स्वागत सत्कार गर्न पाएकोमा उनीहरूको चेहरा प्रफुल्लित देखिन्थ्यो ।
उडानभर केही रमाइला, केही शिक्षामूलक र केही पट्ट्यारलाग्दा अनुभूतिहरू भैरहे । अफगानिस्तानको काबुलबाट उता लागेपछि मध्यसागर, काला सागरको आकाशमाथि उड्दा त निक्कै दिक्दारी लाग्न थालिसकेको थियो । लाग्थ्यो– काला सागरमाथिको आकाश पनि कालै हुन्छ । सबैतिर हेर्दा अन्धकारमय । आकाशमा ताराहरू चम्किरहेका बाहेक केही देखिदैनथ्यो । यस्तो लाग्थ्यो हामी मानव सभ्यताबाट धेरै टाढा पुगिसकेका छौं । मानौँ हामी तारामण्डलकै सदस्य हौँ ।

रातभरिको उडानपछि उज्यालो हुँदा हामी अष्ट्रियाको राजधानी भियना उत्र्यौँ । हाम्रो पहिलो फ्लाइटको गन्तव्य पनि यही नै थियो । अष्ट्रिया अर्थात् इतिहासमा भएको विश्वयुद्धमा महत्वपूर्ण भूमिका निभाएको युरोपियन देश । मैले इतिहासका पानामा बाल्यकालदेखि पढेको । आज म त्यो इतिहासको पानामा वर्णित भूमिमा पहिलोपटक पाइला हाल्दै थिएँ । आफूले जाने सुनेको भूमिमा पाइला टेक्ने सबैले इच्छा राखेकै हुन्छन् । तर थोरैले मात्र थाहा पाएकामध्ये केही भूभागमा टेक्ने सौभाग्य प्राप्त गर्दछन् । त्यस्तै आफूले थाहा पाएकोमध्ये थोरै नै भूभागमा भए पनि पाइला टेक्ने मैले अवसर पाएँ । यस अर्थमा मैले आफूलाई ठूलो भाग्यमानी त ठान्न सकेको थिइनँ, तर मध्यमस्तरको भाग्यमानीको समूहमा भने आफ्‌नो नाम दर्ता गराएको थिएँ । पहिलो पटक ठूलो जहाज चढेर सभ्यताको शिखरमा प्रवेश गरेको युरोपमा पाइला टेकेको रोमाञ्चकारी खुसी त छँदै थियो ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।