नेपाली काव्य जगतमा सीमित तर, उत्कृष्ट काव्य रचना गर्ने कवि डा. कृष्ण उपाध्यायका तिन ओटा ‘प्रथम पुरुष’ (कवितासङ्ग्रह, २०१४), ‘जदौ काठमाडौँ’ (कवितासङ्ग्रह, २०२१) तथा महापुरुष (काव्य,२०८०) काव्यात्मक कृतिहरू नेपाली भाषामा पाइन्छन्। अङ्ग्रेजी भाषामा समेत ‘The Ghosts in the Hills’ (उपन्यास, २०२१) रचना गरेका उपाध्यायको अहिलेसम्मको कान्छो रचना हो, ‘महापुरुष’। नेपालदेखि असाम अनि दक्षिण एसियाका अनेक देशहरूमा मानवअधिकारका क्षेत्रमा काम गरी हाल लन्डनमा बसेर नेपाली साहित्यमा कलम चलाउने कृष्ण उपाध्यायले लेखेका यी तिन काव्य-कवितामा पहिलो ‘प्रथम पुरुष’ कवितासङ्ग्रहको विकसित स्वरूपमा ‘महापुरुष’ काव्य देखिन्छ। दार्शनिक चेतनाले पूर्ण काव्यमा गण्डकीको ‘महापुरुष’ (शालिग्राम र त्यस स्वरूपमा रहेका भगवान विष्णु र उनको कृष्ण स्वरूप) सँगको गहन प्रेम र प्रेममा आवद्ध भएका भावहरू गण्डकीको गणिका जीवनबाट प्रस्तुत गरिएको छ। प्रस्तुत काव्य ‘महापुरुष’ कवि कृष्ण उपाध्यायको पहिलो कवितासङ्ग्र ‘प्रथम पुरुष’ को शृङ्खलाका रूपमा देखिएको छ (पृ. ८) छ। गण्डकीको गणिका जीवन र त्यस जीवनमा उसका नारी मनमा रहेका प्रेमका अनेक चरणका भावहरू उत्साह, उमङ्ग, मानसिक तनावका बिच भएका अनेक कर्महरूलाई मनोलापद्वारा प्रस्तुत भएको ‘महापुरुष’ नेपाली काव्यमा एउटा उत्कृष्ट काव्यका रूपमा देखापरेको छ।
काव्यको बाहिरी संरचना
यहाँ ‘महापुरुष’ काव्यलाई सर्सर्ती हेर्दा देखिने यसको संरचनात्मक ढाँचालाई काव्यको बाहिरी संरचना भनिएको छ। ‘आदिपुरुष’, ‘कालु’ जस्ता सम्बोधनसहित गण्डकी प्रेमिल यात्रामा महापुरुषको महत्त्व देखाउने ‘महापुरुष’ काव्य ‘अक्षर’, ‘अतुल्य’, ‘अल्छी जून’, ‘अङ्गना’, ‘अङ्गारिका’, ‘अङ्गज’, ‘अंशुमती’ र ‘अतिरूप’ गरी आठवटा ‘अ’ जनित शब्दका शीर्षकमा संरचित छ। जम्मा ८ वटा ‘शीर्षक’/२० ‘खण्ड’ अक्षरभित्र २, अतुल्यभित्र २, अल्छी जूनभित्र ३, अङ्गनाभित्र ३, अङ्गारिकाभित्र २, अङ्गजभित्र २, अंशुमतीभित्र २ र अतिरूपभित्र ४ गरी बिस ओटा काव्य खण्डमा काव्य संरचनाको संयोग भएको छ। त्यस्तै हरेक कवितामा कतै ‘अ’देखि ‘अं’, कतै ‘अ’ देखि ‘म’, कतै ‘अ’ देखि ‘ह’ अनि ‘क’देखि ‘ज्ञ’सम्मका वर्णहरूको संयोजनले काव्यको सौन्दर्यलाई बढाएका छन्। काव्यमा प्रयुक्त ‘अ’ वर्णलाई सबैभन्दा पहिलो वर्ण हो। सुरूआत विन्दु र अक्षरको ब्रह्मा हो भन्ने तर्फ सङ्केत यसले गरेको छ। ‘संस्कृत एकाक्षरी कोशअनुसार मूलत: विष्णुलाई जनाउने मङ्गगलवाची शब्द’ र अर्को अर्थमा ‘ॐ मा निहित अ+उ+म् तीन ध्वनिमध्ये विष्णुलाई बुझाउने पहिलो ध्वनि ‘अ’ तथा ‘उ’ तथा ‘म्’ ध्वनि क्रमश: शिव तथा ब्रह्मालाई बुझाउने मानिन्छन्। यस्तै प्रज्ञा नेपाली बृहत् शब्दकोशको अर्थअनुसार ‘अ’ भगवान विष्णुको प्रतीक अक्षर हो। विशेष गरी ‘ॐ’ मा, ‘अ’ उत्पत्तिको प्रतीक मानिन्छ। उपनिषद्हरूमा अ’ अक्षरलाई परम सत्य अथवा परमात्मा (ब्रह्म)सँग पनि जोडिएको पाइन्छ। ‘महापुरुष’ काव्यमा प्रयुक्त ‘अ’ अक्षर ब्रह्मको प्रतीक पनि हो। ‘अ’ अक्षर ब्रह्म ध्वनिको प्रतीक पनि हो। ‘अ’ एउटा ध्वनि हो, वर्ण हो र यसले दिने अर्थलाई मनन गर्दा ‘अ’ ‘अक्षर’ पनि हो। अक्षर शब्दको अर्थ प्रज्ञा नेपाली बृहत् शब्दकोशले ‘अ’ को अर्थ “१. ईश्वर; परमात्मा; बह्मा। २. एउटै प्रयासमा उच्चारित हुने; प्राय: व्यञ्जनसहित वा रहित स्वर भएको सिङ्गो वर्ण वा वर्ण समूह। ३. रूपभन्दा सानो र वर्णभन्दा ठुलो उच्चारणको एकाइँ । ४. नाश नहुने; अविनाशी“ भन्ने चारओटा अर्थ दिएको छ। ‘अक्षर’ अर्थात् ‘क्षय’ रहित छ र यो ज्ञान पनि हो; परम ज्ञान हो। त्यही ‘अ’ भित्र परमात्मा छ र ‘अ’ अतुल्य छ। ‘अ’ अगाडि अर्थात् परमात्माका अगाडि कोही छैन । त्यसैले ‘अ’ सबैको मूल हो, आफैमा पूर्ण छ र सबैको आधार पनि हो। ‘अ’ शुक्ष्म छ र यो ब्रह्माण्ड हो। सबै थोक अ हो, अक्षर हो, शब्द हो, ज्ञान हो, ब्रह्माण्ड हो। शीर्षकका सबै थोक यही ‘अ’ भित्र छ । एउटा ‘अ’ भित्र अनेकता छ र त्यही अनेकताको वर्णन ‘महापुरुष’ का बेग्ला बेग्लै कविताका ‘शीर्षक’ले गरेका छन्। यिनै आठवटा कविता वा सर्गमा गण्डकीको गणिका जीवनको आख्यान विकास भएको छ। कविले कलात्मक कौशलले शब्दालङ्कारमा विशेष सजावटपूर्ण शब्दचयनले काव्यको स्वरूपलाई विशेष बनेको छ।
काव्यको चुरो
‘महापुरुष’ काव्यको आख्यान महाकाव्यमा जस्तो पारम्परिक मिथकमा आधारित छ। यो जगतको सृष्टि हुनुअघिदेखि मुक्तिनाथ क्षेत्रमा अवस्थित शालिग्रामलाई भगवान विष्णु, कृष्ण, मुक्तिनाथका रूपमा मानिएको छ। काव्यमा गण्डकी नदीका हृदयमा बसेका कालु, कृष्ण, हरि र गण्डकीको सम्बन्धको यात्रा वा प्रेम यात्राको कथानक ‘महापुरुष’को आख्यानका रूपमा आएको छ। ‘महापुरुष’ शब्दको प्रज्ञा नेपाली बृहत् शब्दकोशले ‘ठुला मानिस: महान् व्यक्ति, पूज्य व्यक्ति/ विष्णु/ परमात्मा’ भन्ने अर्थ दिएको छ। प्रस्तुत काव्यमा गण्डकी नदी रुपी नारीका हृदयमा बस्ने शालिग्राम, उसको कालो रङ्ग गण्डकीको कालो रङ्ग र काली गण्डकीमा रहेका शालिग्रामको कालो रङ्गबाट दुवैको अस्तित्व एकअर्कामा निहित भएको देखिन्छ। नेपाली सँस्कृतिमा शालिग्रामलाई भगवान विष्णुको स्वरूप मानेर पुज्ने चलन छ र विष्णुलाई हृदयमा बोकेकी गण्डकीको जल पवित्र मानिन्छ। गण्डकीले आफ्नो अङ्गारिका जीवनयात्राका क्रममा बारम्बार ‘महापुरुष’ लाई सम्बोधन गरेको पाइन्छ। महापुरुषलाई उसले भनेका ‘तिमी आदिपुरुष हौ नि’ भन्ने कथनभित्र महापुरुष सृष्टिकर्ताका रूपमा प्रस्तुत छन्। गण्डकी नदीको मिथकमा आधारित ‘महापुरुष’ काव्यमा गण्डकीको गणिका जीवनमा उसले हिँडेको बाटो, त्यो जीवनमा उसको नाम र त्यहाँ भेटेका प्राकृतिक र मानवीय पात्रहरू, उनीहरूसँगको संवाद अनि उसको अङ्गारिका हुँदाको मानसिक पीडा, उसले गरेका कर्महरू, घटना/दुर्घटना अनि उसले पाएको जीवन जगत सम्बन्धि ज्ञान प्रस्तुत भएको छ। यो क्रममा यस कथामा मुख्य पात्रका रूपमा गण्डकी कतै अङ्गना र कतै अङ्गारिकाका नामबाट उपस्थित भएकी छ। गण्डकीले आफ्नो अतितको व्याख्या गर्दै गणिकाबाट कसरी उ पवित्र भई भन्ने प्रसङ्ग ल्याएर र आफ्नो पवित्रताबाट सत्य बताउन सक्ने आख्यायाताका रूपमा आफूलाई स्थापित गरेकी छ।
अङ्गनाले उनको ‘महापुरुष’ खोज्दै हिँडेको अवस्थामा मानसले शरीर र जीवनको एकत्वका निम्ति गरेको चाहनामा आएको ‘आसिदेवकम्’ एउटा तर इच्छाअनुसार धेरै हुने भगवान, यहाँ अङ्गनाको ‘महापुरुष’ कालु/कृष्ण/हरिका रूपमा प्रयुक्त भएको देखिन्छ। अङ्गना तिनैका प्रेममा छ। उसको प्रेम प्रकृत छ तर सङ्गिनी गीत झैँ काव्यमा मिथ्या भएको देखिन्छ। त्यसैले ‘सङ्गिनी गीत’ सुनेपछि उसले प्रेमको भ्रममा “त्यै भावर भावमा ….वृक्ष सालको (६५)” सालको रूखलाई अँगालो हाल्न पुगेकी छे। यतिबेला उसको प्रेम भगवत प्राप्तिबाट पर भएको देखिन्छ। यो घटना नभएसम्म मानस (जीव र शरीर) को तादाम्यता भएको देखिँदैन। त्यसैले अङ्गनाले पनि जुनलाई आउनु वा आएको भए हुन्थ्यो नि भन्ने भाव राखेकी देखिन्छ। उ चितवन पुगी त्रिवेणीमा नुहाएर पारिपट्टिको गजेन्द्रधाम हेर्दा देखिएको दृश्यमा श्रीमद् भगवत (२) स्कन्द ९० औँ अध्यायमा पटरानीहरूको भाव, बृहदाख्यान उपनिषद् तथा अन्य उपनिषद्को भावमा मिल्न पुगेको छ। गण्डकीमा पुगेर त्रिवेणीमा नुहाई वाल्मिकी हेर्दै, हस्याङ फस्याङ गर्दै कालु (प्रेम) नभेटेको गुनासो गण्डकीसँग गर्न पुग्छे। कालु कसरी भागे र उ कसरी कालुलाई पच्छ्याउँदै आई भन्ने क्रममा ‘म को हुँ, कहाँ छु’ भन्ने यक्ष प्रश्न (वैचारिक प्रश्न) गर्छे। यही विचारले उसलाई ज्ञान प्राप्तिको मार्ग तर्फ लैजान्छ। यही ‘म को हुँ?’ भाव कुनै पनि भगवत प्रेम खोज्नेका लागि आफैलाई जीवको रूपमा बुझ्ने भाव हो (६६-६८)।
त्यसपछि उ बेलको रूखमुनि चौतारीमा बस्न पुग्छे र बेलपत्रमा ‘शाश्वत स्वरलहरी’ सुन्छे र शिववाणि, गुरुवाणि, शास्त्रवाणिको अनुभव गर्छे। श्रीमद् भागवत्को दशम स्कन्ध, दोस्रो अध्याय, २७औँ श्लोक ‘झिमल स्त्रीमुक्त’ को प्रसङ्गझैँ चतुर्रसको व्याख्या कविले गर्दै “आउ अंगी यता आउ…(६९-७१)” भन्ने श्लोकको रचनामा बेलपत्रको भाव सुनाएर मानव शरीरको व्याख्या गरेका छन्। जसले अंगनाको ‘म को हुँ’ को जिज्ञासा मेटाउने काम गरेका छ। त्यसपछि ‘अङ्गारिका’ कवितामा अङ्गनाले ‘म आत्मा हुँ’ भन्ने भाव ग्रहण गरेकी छ। जिज्ञासा/खोज त्यतिले मात्र हुँदो रहेनछ, भन्ने देखाउँदै “आफ्ना चित्त मन र बुद्धि……(७३-७८)” उ फेरि पनि फरक फरक भावमा भ्रमित हुन्छे । उ तीर्खाएकी छ र तीर्खा मेट्न अनेक प्रयास गर्छे। तिनले तीर्खा नमेटिएपछि शुद्ध पलाँसको पातमा खाएका पानीले मात्र उसको तीर्खा मेटिएको छ। अर्थात् उसको त्यही जिज्ञासा (ब्रह्म जिज्ञासा)ले उसलाई ज्ञानको मूलमा पुर्याउन सहयोग गरेको छ। मगवत प्राप्ति पश्चात् पलासको फुलको संयोगले मात्र अङ्गना शुद्ध अङ्गारिका जस्तै अङ्गारिका भएकी देखिन्छ। अनि जगत ब्रह्ममय सत्यका रूपमा देख्छे (पलासको पातमाथि…..८०-८१)। उ आफू गोपिभावमा हुन्छे र अंशुमतीबाट आउने चराहरूसँग आफ्ना प्रेमीलाई गाली र घुर्क्याइँको भावमा प्रेम जताउँछे। कविले अङ्गनाको भाव देखाउन “नकरा लामखुट्टे, …. ८२-८३” मा ‘भ्रमर गीत’ मार्फत श्रीमद्भगवतको भाव उतारेका छन्।
अङ्गना शुद्ध भावमा गण्डकी किनारमा “हिमालका हिमशैलको….८६” हिँडेकी छे। तर, उ भ्रमित हुन भने छोडेकी छैन (अङ्गना अन्यमनस्क हुन्छे ८९)। शरीर प्राकृत प्रेमको वस्तु भएकाले कविले त्यहाँ अंगनाको शरीरको वर्णन पनि त्यहाँ गरेका छन्। सौराहामा अङ्गजलाई देख्ता उसलाई कालु/प्रेमीको भ्रम हुन्छ। तर, उसको भ्रमित मनले कृष्ण सम्बन्धी जितिया नाच छोडेर उ डिस्को पुग्छे (राजतमा राप्ती तरेर आउँदा…९०)। डिस्कोमा उ ‘अफ्रुडाइटी’ (ग्रिस मिथोलोजीमा सौन्दर्य, प्रेम र शक्तिका प्रतीक) हुन्छे र अङ्गजसँगको रातपछि (अङ्गजलाई…९६) उसको जीवन अर्को मोडतर्फ बगेको छ। बिहानीको उज्यालोमा आदित्यको आभामा उसको अङ्गजलाई कालु देख्ने भ्रम हट्छ। ‘अंशुमती’ कवितामा आइपुग्दा उसले यो भ्रम पार गरी गर्न ‘राप्ति’ नगरीका वारेमा सटिक वर्णन गर्छे। त्यसबेला यौवना/विशेषगरी यवनी (ग्रिक यौवना) को हाँसोमा (कति मिठो ती हाँस्या…१००) हर्षक हरिको हाँसो देख्छे। अनि पिपलको फेदमा पुगेर आफूलाई र आफ्नो अतीतलाई हेर्दै अङ्गना आदित्यको ज्ञानमय प्रकाशमा हरिण हरिणी देख्ता गरेको आराधना (हरिण हरिणी देख्दा…१०१-२)पछि ‘म को हुँ’ को भाव अनुभव गर्छे। आफ्ना आराध्य/प्रेमी/महापुरुषसँग क्षमा याचना गर्छे। आफूले बोकेको फुल अंशुमतीमा चढाएर ‘कालु’को खोजीमा ब्रह्म, जिज्ञासा, भगवत प्राप्तिका लागि ‘शालिग्राम’ बोकेर हिँड्छे। उ हिँड्दा भाव मनन योग्य देखिन्छ। गण्डकी ‘को हुँ म, को हुँ म’ गमी रही र अन्त्यमा ‘फत्र्याक फत्र्याक’ यमुना तिरमा लडिरही। यमुना पुगेर शिखरिणी छन्दमा उसको भाव उद्वेलित हुन्छ र यसले उसको यात्राको चरम/उच्च विन्दुको परिचय पनि बोकेको छ। ‘कालु यस्तै ठाउँमा हुनुपर्ने हो’ भन्ने उसको भावमा सुन्दर शिखरिणी आएको छ तर गण्डकीले भेट्दिन उसका कालु अनि ‘गमेरै देखेर… १०६’ भन्दै भावमा कालुको विचरण गर्दा उसका विरह देखिन्छ।
‘अतिरूप’ कवितामा भक्ति परम्पराको भावमा हृदयमा प्रेम, भगवान, बह्म भएपछि साँच्चीकै भेट हुन्छ देखाइएको छ। अङ्गनाको खोजीले ‘अतिरूप’मा अर्को रूप लिएको छ। कालुलाई नभेटेपछि उ कालुसँग सोझै बोल्न थाल्छे। यहाँ उ कालुका गुण/भाव/चरित्रको वर्णन गर्न थाल्छे र प्रेमको भावमा अलिअलि घुर्क्याउँन पनि थाल्छे। तर, उ यहाँ पनि त्यहाँ नबसी (लिएर प्रेम..१०९) मस्किँदै भन्छे, अनि (तिमीलाई लिएर…११०) भन्दै कालुलाई लिएर हिँड्छे। आसय भेटेपछि भगवान कृष्ण रासलीलामा आएका गोपिहरूलाई घर फर्किने सल्लाह दिँदै गरेको चित्र हृदयमा राख्छे। यहाँ “सन्निद्ध्यले भक्ति हुने होइन, हृदयको प्रेमभक्ति हुन्छ” भन्दा अङ्गनाले त्यही भाव बोकेको देखिन्छ। उ भन्छे “अब ढुक्क भयो छन् कालु सँगै..११०-११” अनि “अब जान्छु र बस्छु नदी शीरमा हिमशैल जहाँ छन् त्यही स्थलमा…११०-११” भन्दै फर्केर फेरि फर्केर आँखा चिम्लिँदा हिम शृङ्खला देखिने, मुक्तिनाथको नजिक कागवेनीको काखमा गएर बस्छे।
महापुरुष काव्यको कथानक सरल छ । तर कथानकको चुरोमा महत्वपूर्ण रूपमा ‘मानस’ (जीव-अङ्गनाको आत्मा) मुक्तिनाथको चरण प्राप्त गर्छ भन्ने यहाँ देखिन्छ। यसको अर्थ अङ्गना प्रेमीसँग एकाकार हुन्छे। अन्त्यमा अङ्गनाको वा मानसको अन्तिम वाक्य “आएँ यतै नजिकको गृहद्वार खोज्दै….११४” पछि मन शुद्ध पारी देह छोडेकी छ। यो कथानकको महत्वपूर्ण भाग बनेर आएको देखिन्छ। संपूर्ण काव्यात्मक आख्यानकी पात्र अङ्गनाको यात्राको अन्त्य भएको छ। उसले ‘महापुरुष हृदयमा हुँदा जगतै हृदयमा छ’ भन्दै सबैभन्दा ठुलो ऐकवद्ध्यता प्राप्त गरेको अनुभव गरेकी छ। गण्डकी सुरूमा ‘तिमी मभित्र कि म तिमीभित्र..४१’ भनेर शालिग्रामलाई सोधेको उत्तर अङ्गनाका कथाबाट पाएकी छ। उभित्र हृदयमा महापुरुष र महापुरुष तथा जगतभित्र उ अर्थात् महापुरुषकी प्रेमिका तथा जीवका रूपमा एकाकार भएको अवस्थाको उत्तरका रूपमा प्रस्तुत कथानक आएको देखिन्छ।
त्यसपछि काव्यको अन्तिम भागमा गण्डकीले अङ्गनाको कथाको सार भन्दै उनले महापुरुषसँग गरेको वार्तालाप अज्ञानतावस कृष्ण (कवि) ले पूर्ण भनेन छन् भने पनि “यी कृष्णले तनमनै नदिएर पूर्ण ….११५” उनलाई माफ गरिदिन आग्रह गर्दै महापुरुषलाई ‘चरणारविन्दम्’ भन्दै प्रार्थना गरेकी कथन जोडेर कविले मिथकीय कथामा कतै त्रुटि भएमा पाठकसमक्ष र भगवान कृष्ण/विष्णु/शालिग्राम/मुक्तिनाथ रूपी महापुरुषसमक्ष माफीको आग्रह गरेका छन् ।
समाजवादी दृष्टि
‘महाकाव्य’ को आख्यानभित्र गण्डकीको गणिका (वेश्या)देखि पवित्र जल (देवी)का रूपमा शुद्धीकरण भएको छ। हिन्दु समाजमा नारी धर्म वा सामाजिक मान्यता विपरितको विषयलाई कथावस्तु लिँदै कविले आध्यात्मिक दर्शनका माध्यमबाट नै संकुचित समाजमा अपवित्र ठहरिएने अवस्थाका नारीलाई जीवन दर्शनको ज्ञानबाट शुद्धीकरणको काम गरेका छन्। गण्डकी अङ्गारिका रूपमा चित्रवनमा विचरण गरेका बेला उसका प्रेमी कालुको प्रेममा नै छे। उसको प्रथम प्रेम, वास्तविक प्रेम, अटुट प्रेममा आश्वस्त पनि छे। ‘अङ्गना’ नामले उसको लक्षणलाई चिनाउँछ। कविले अङ्गना वा अङ्गारिका नामले गण्डकीको स्वरूपलाई चिनाउँदा यिनै नाममा जोडिएको उसको प्रकृति पलासको ताजा झुप्पोसँग दाँजिएको पनि छ। काव्यमा पलाँसको फुलको प्रसङ्ग (पलाँसको पातको पानी पिउँछे, पृ. ७८, पलाँसका… पलाँसको कलिला ८०, ८५)ले पनि अङ्गनाको अंशुमतीतिरको यात्राका क्रममा उसको यौवनको वर्णन गर्न आएका छन्। अर्कातिर अङ्गारिका लता (सुकुमार स्त्री) र (लहरा) पनि हो। ‘सङ्गिनी गीत’ सुनेर सालको बृक्षमा हालेको अँगालोले (वृक्ष सालको ..६५) उसको प्राकृतिक इच्छा वा चाहना हो। साथै कविले यहाँ उसको स्वरूपको वर्णन गर्न हाम्रो परम्परामा पवित्र मानिएका पान, पलाँस, साल, उखु आदिको प्रयोग गरेर अङ्गनाको पवित्रताको साक्षी बनेर आएका छन्।
उसको प्राकृतिक इच्छाले उसलाई अधीनमा पारेका बेला उ चित्रवनमा एउटा रात्रिको समयमा बहकिएकी छे। त्यही क्रममा उ ‘सङ्गिनी गीत’ र तीर्खा मेट्न बेला उखुका रसका सहारा लिन पुगेकी छे। तर, उसको तीर्खा उखुको रसले मेट्न असम्भव हुँदा उ ‘महापुरुष’को चिनो चिल्ला काला ढुङ्गा बोकेर हिँडेकी पनि छ। कृष्णकै पर्वका रूपमा चिनिने जितिया पर्व मनाउन छोडेर सौराहा पुग्छे। त्यहाँ हरिण हरिणीका रूपमा यौवन यौवनीलाई देखेपछि उसको मनोभाव नकारात्मक दिशामा पुगेको छ। कविले ग्रिक मिथोलोजीको ‘अफ्रुडाइटी’बाट यौवन यौवनीले अङ्गनाको वर्णन गर्न प्रयोग गरेका शब्दले उ ‘अन्यमनस्क’ (८९) अर्थात् उसको मन तरङ्गित भएको छ। यतिबेला उसले देखेको ‘अङ्गज’लाई रातको अन्धकारमा ‘कालु’को स्वरूपमा देख्छे (९५)। यही रातले गण्डकीलाई ‘गणिका’ बनाएको देखिन्छ। तर, कविका (उज्यालोमा उठ्ता…अङ्गज पनि थिएन, ९७) वाक्यमा आउँदा अङ्गनाका हातका ‘पलासका नफक्रेका फुलका गुच्छा अनि कालो कालो ढुङ्गा’ले अङ्गनाको प्रेमलाई एकातिर सिथिल बनाउने काम गरेको छ भने अर्कातिर राप्ति किनारमा थकित मुद्रामा लुथ्रुकलुथ्रुक हिँडेकी छे। सहरको हाँसोमा पनि ‘हरि’को सम्झना गरेकी छे। अर्थात् यतिबेला उसलाई उसका प्रेमी हरिले उसका कर्म देखेर हाँसेको भान हुन्छ। अनि त्यही राप्ति किनारमा, पिपलको बोटमुनि बसेर उ आफैँलाई निहाल्न थाल्छे। यतिबेला उसले आदित्यको आराधना (१०१-२) गर्दा उसले हरिण हरिणी देख्ता, संगिनीको धुन सुन्दा आफूसँग ‘शरीर’ मात्र भएको, बेलको बोटमा बस्ता शरीरमा ‘आत्मा’ अर्थात् ‘हृदय’, ‘मन’ थपिएको छ। यो चरणमा आएर उसमा ‘मानस’ अर्थात् ‘अनुभव’, ‘अनुभूति’जस्ता मनका भावहरू थपिएका छन्। यतिबेलाको उसको कथन ‘क्षमा कालु क्षमा कालु..मन तिम्रोतिरै गयो (१०२)’ ले उसलाई विगत सम्झेर आफ्नो दोषको अवगत भएको देखिन्छ। त्यसपछि आफ्ना साथमा भएको पलाँसको फुल अंशुमतीमा बगाउँदै कालुको चिनो स्वरूप चिल्ला ढुङ्गा बोकेर अंशुमतीको अनन्त यात्रामा लाग्छे। ‘म को हुँ’ भन्ने सोचले उसको आत्मा शान्तिको बाटामा लागेको छ। हिँड्दा हिँड्दा अंशुमती पुग्दा उ किनारमा लडेकी छे र हिमशिखरदेखि अंशुमतीसम्मको यात्रालाई निहालेकी छे। अंशुमतीमा कालुको दर्शनपछि ‘म हिँडेँ अब लौ..अनि बस्छु म सुन्छु कथा नदीको (१०९-१०)’ अशुमतीसँग विदा लिएर कालुका वास्स्थानमा फर्किएकी छे। ‘म को हुँ’ भन्ने प्रश्नको मूलमा रहेर पाएको ज्ञानले अङ्गारिका शुद्धेकी छे। अंशुमतीमा मारेको डुबुल्कीले सनातन धर्ममा नदी स्नानको महत्त्व देखाएको छ।
प्रगतिशील विचारमा नारीको पवित्रता जोगाउने काममा कविको ‘महापुरुष’ शक्तिशाली हुनसक्छ। पुरातन परम्परा र हिन्दु धर्म संस्कृतिमा आवद्ध भएर विकासको बाटो देखाउने ‘महापुरुष’ काव्यको आख्यानले आधुनिक समाजको चेतना प्रवाह गरेको छ।
शैलीगत संरचना
काव्यका लागि आवश्यक गद्य र पद्यको मिश्रण गरेर रचना भएको प्रस्तुत ‘महापुरुष’ काव्यमा कविले पूर्वीय समाजमा प्रचलित मिथकलाई आख्यान रूपमा प्रयोग गर्दै कवि उपाध्यायले वर्णगत अनुशासनमा कायम रही काव्यकको संरचना गरेका छन्। पूर्वीय काव्य मान्यताअनुसार काव्यको यस क्रममा व्यापक रूपमा (अक्षर, अतुर, अमृत, अधर, अपूर्ण, अगम्या, गिरिपथ, गुणज्ञ आदि ) तत्सम शब्दको प्रयोग गरेका छन् । तिनै अनुशासित शब्द प्रयोगले र कविको विशेष शैलीको प्रयोगले काव्यलाई विशिष्ट बनाएको छ। कविले प्रयोग गरेका लाक्षणिक शब्दहरू (पलाँसको झुप्पो, अफ्रुडाइटी, अङ्गना, अङ्गज, अङ्गारिका आदि)ले काव्यमा शब्दालङ्कारको विशेष स्थानलाई दर्शाएका छन्। ‘महापुरुष’को कथन शैली ‘अविरल, प्रेमिल पानीले पखाली रहन्छु (३७)’ आकर्षक छ। sfJodf uB / kBsf] ld>0f 5. clGtdsf] sljtfv08 afx]s, cfVoftfn] af]n]sf] efu uB 5 / sfJodf k|:t't efj, zf:qLo 1fg / k|fKt 1fg kBdf 5.. परस्पर विरोधाभास अलङ्कार (असतिमा सति, अगतिमा गति, अगम्यामा गम्या) ले काव्यमा सौन्दर्य थपेका छन्। ‘मायावी मायामय महापुरुष’ जस्ता कथनले पुरुषलाई, पुरुषोत्तमलाई अनि भगवान विष्णु कृष्णलाई गरेको व्यङ्यात्मक भावमा (४७) व्यञ्जनाको अति मिठो प्रस्तुति पाइन्छ। ‘तिमीलाई जून ठाने, जूनतिर हेरेर, मानस मेरा रोई रहन्छ’ (४९) महाकाव्य जस्तो कथनको प्रयोगले ‘महापुरुष’ काव्यलाई विशेष बनाएको छ। कतै संस्कृतका छन्द, कतै गद्य र कतै लोकलयलाई मिश्रणले कवितात्मक शक्तिलाई निखारेका छन्। गद्य र पद्य दुवैमा ध्वन्यावृत्ति र शब्दावृत्ति ‘महापुरुषको’ संरचनागत विशेषता हो। संस्कृत शब्दको व्यापक प्रयोगले सामान्य नेपाली पाठकलाई केही अप्ठ्यारो भान भए पनि पढ्दै जाँदा अर्थगत बाटो पहिल्याउन सकिन्छ।
अन्त्यमा ‘महापुरुष’ नेपाली साहित्यमा एउटा प्रयोगका रूपमा शाब्दिक अनुशासनमा पूर्ण रूपले आवद्ध हुँदै रचना भएको उत्कृष्ट काव्य/खण्डकाव्यको स्वरूपमा रहेको छ। यहाँ प्रयुक्त ‘आसिदेवकम्’ र ‘तदैक्षत बहुस्यम’ जस्ता शब्दले पूर्वीय धर्मशास्त्र उपनिषद्को जीवन दर्शनसम्बन्धी आध्यात्मिक भावसँग काव्यलाई जोड्ने काम गरेका छन्। उपनिषद्मा निष्ठा शब्दलाई सबैभैन्दा बढी महत्त्व दिइए झैँ ‘महापुरुष’ काव्यमा कृष्णप्रतिको गण्डकीको प्रेम भावमा अडिक निष्ठालाई महत्त्वपूर्ण मानिएको छ। उपनिषद्मा पाइने भाव ‘शारीरिक स्वाधीनता’, ‘मानसिक स्वाधीनता’, ‘अध्यात्मिक स्वाधीनता’लाई केन्द्रमा राखिएको प्रस्तुत काव्यमा परम सत्यको खोजीका क्रममा ‘भगवत के हो र कस्तो स्वरूप छ’, ‘म को हुँ त आत्मा हुँ शरीर होइन’, ‘प्रेम अर्थात् शुद्ध प्रेम भगवान प्राप्ति हो’ जस्ता ‘वेदान्त’ को सार पाइन्छ। काव्यमा दुर्लभ अदृश्य (शालिग्राम) लाई गण्डकीले खोजी रहेकी छे। ‘महापुरुष’ भनेर पुरुषको नाममा काव्यको रचना भएपनि काव्यकी मूल पात्र गण्डकी हो। काव्यको आख्यानले उसको मूल्य दर्शाएको छ। गण्डकी मूल्यवान छ र उसका मनमा आसिन शालिग्राम अझै मूल्यवान देखिन्छन्। काव्यमा प्रस्तुत कथानक र यसको संरचना अनि यसभित्रका भावलेले ‘महापुरुष’ काव्यलाई नै नेपाली साहित्यमा मूल्यवान बनाउने काम गरेका छन्।