"किन पो तिमीहरू छुट्टाछुट्टै झोला बोकेर आन्दोलनमा जाँदैछौ ?" गाउँको बुढो पीपलमुनि उभिएका लट्ठीधारी बाले सोधे ।
"हामी राहत शिक्षक, त्यो करार, ऊ त स्थायी !" तीनजना शिक्षक एउटै स्वरमा बोले, तर आ-आफ्नो दिशातिर हेरे ।
बा हल्का मुस्कुराए, "अनि महासङ्घ केका लागि हो, बाबु ?"
"उनीहरू ढिला गर्छन्, हाम्रो माग तत्काल सुनिनुपर्छ !" राहत शिक्षकको आक्रोश काँपेको थियो ।
बाको लट्ठी एकाएक झसङ्ग भएजसरी थरथरायो ।
"सुन बाबुहरू !" बाले गम्भीर स्वरमा भने, "आकाशे छाता एउटा हो, त्यसले सबलाई ओत दिन्छ । तर तिमीहरू त छाता च्यातेर आफन्तसमेत भिजाउन खोज्दैछौ ।"
एकछिन मौनता छायो । त्यस मौनताभित्र आन्दोलनको आवाज गुञ्जिरह्यो- तर एक स्वरमा होइन, कर्कश टुक्रा-टुक्रामा ।
“हामी त आन्दोलन गर्न आएका हौं, एकता देखाउन होइन ।” स्थायी शिक्षकको संवाद बिजुलीझैं खस्यो ।
तीनैजनाले एक अर्कालाई अलमलिँदै हेरे ।
बाले फेरि थपे, "भोलि तिमीहरूको माग सुनिएला, तर एउटा छाता फाट्यो भने…?"