18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

युवा कथाकार अमर शर्माका समाजचेतनाका अनुभूतिमूलक कथाहरू

कृति/समीक्षा डा. राजकुमार छेत्री April 23, 2025, 4:34 pm
डा. राजकुमार छेत्री
डा. राजकुमार छेत्री

युवा कथाकार-निबन्धकार एवम् कुशल वार्ताकार श्री अमर शर्मा मेरा अनुज सहपाठी हुन् । विगत एक-डेढ दशकदेखि स्नातकोत्तर नेपाली विभागमा सरकार अनुबन्धित शिक्षकको रूपमा प्राध्यापन सेवा गर्दै आएका छन् । शिक्षण पेशालाई आफ्नो आदर्श मान्ने अमरले साहित्य लेखन र संगीतलाई पनि निकै रूचाएको देखिन्छ । समय-समयमा गाउँ-घरमा विशेष चाड-पर्वमा आयोजन हुने गरेको सांस्कृतिक-साङ्गीतिक कार्यक्रमहरूमा उनको पनि प्रत्यक्ष-परोक्ष सहभागिता रहेको देखिन्छ । महाविद्यालय र विश्वविद्यालयमा अध्ययनरत् रहेको समयमा र अहिले कार्यरत् रहेको समयमा पनि आफूले भ्याए र सकेसम्म सानाठूला सांस्कृतिक-साङ्गीतिक कार्यक्रमहरूमा सहभागिता हुँदै आएको देखिन्छ । यसरी उनले शिक्षण कार्यसँगसँगै साहित्य लेखन र संगीत अर्थात् गायन क्षेत्रलाई पनि समान्तर रूपमा अघिबढाउँदै आएका छन् ।

युवा कथाकार अमर शर्माको प्रथम प्रकाशि,त कथासङ्ग्रह दक्षिणामा सामाजिक तथा समसामयिक विषयप्रधान जम्मा एघारवटा कथा सङ्गृहित छन् । सामाजिक-सांस्कृतिक सरोकारका गम्भीर विषयहरूलाई कथारूपी नाङ्गोलमा फिँजाएर केलाउन र जिलाउनमा युवा कथाकार शर्माज्यू अघि सरेका छन् । आफू बसेको समाजलाई नै उनले आफ्ना अधिकत्तर कथाको कथ्य-वस्तु र परिवेश-प्रयोग गरेको भेट्छौं । कथामा स्थानीय अर्थात् भौगोलिक ठाउँ विशेषले कथाको कथ्य पृष्ठभूमि निर्माणमा विशेष महत्त्व पाएका छन् ।

कथाकार अमर शर्मा अत्यन्त लगनशील इमान्दार, समय र समाज सचेत युवा सर्जक हुन् । उनका प्रायः सबै जसो कथाहरू सामाजिक चेतनाले उद्‍बोधित छन् । समाजमा हाम्रै आँखाका दृष्टिबाट टिपिएका घटनास्थिति, व्यथापीड़ामा आधारित रहेका छन् । यी कथाका पात्रहरू हिँड्ने गोरेटो पनि हाम्रै वरिपरिको दृश्यसमाज भैइदिएको छ । समाज-सांस्कृतिक पर्यवेक्षण गर्नमा अमरका कथाहरू बेस्मारी रमाएको छ, सक्दो आनन्द मानेको छ । कथामा जातीय अस्तित्वचेतना, चिह्नारीको प्रश्न समाजका नेतृत्वमा रहेका मार्गदर्शकहरूमा नैतिकताको अभाव, मानवीय संवेदनहीनता आदि जस्ता विविध पक्षहरूलाई सकेसम्म केलाउन-जिलाउन खोजिएको छ । आजको मान्छे आफूभित्र अनेकौं असन्तुष्टि, आत्मग्लानी, पीड़ाबोध, सामाजिक विसङ्गति र विकृतिलाई हुर्काएर पनि बाँचेको अभिनय गरिरहनु परेको ज्वलन्त स्थिति छ । समाजमा लुटाहा-फटाहाहरू, समाजविध्वंसकहरू नै खै कसरी कसरी, कुन कुन दुलोबाट छिरेर देश र जनताको साँचो नेतृत्व गर्ने जीवन्त अभिनय गर्दै अग्रपक्तिंमा पुगेका हुन्छन् । शर्माका कथामा विवेकशून्य मानसिकता, समाजको बदलिँदो रूपको नाङ्गो चित्रण, सामाजिक र मानसिक अन्तर्द्वन्द्वको अन्यन्त सुन्दर प्रस्तुति तथा मानवीय मूल्यको खोजी गरिएको भेटिन्छ ।

प्रस्तुत कथासङ्ग्रह दक्षिणा कथाकार अमर शर्माको प्रथम कथाकृति हो । यस कथा सङ्ग्रहमा थुक्पा, फुटबल, एम्बुलेन्स, कलकत्ता, कालो खसी, बित्दो रातसँगै, हेलिकप्टर रूख, दुई थोपा आँसु, फेरि एउटा धोको, निलो स्यालको कथा र बाध्यताले बल्झाएका यथार्थहरू शीर्षकका लामा-छोटा जम्मा एघारवटा कथाहरू समेटिएका छन् । कथ्यवस्तुको चयन, चरित्र चित्रण तथा पात्र-प्रयोग, परिवेश योजना तथा भाषिक संरचनाका दृष्टिकोणबाट उनका कथाहरूलाई अत्यन्त संक्षेपमा हेर्ने घृष्टता राखिएको छ । एम्बुलेन्स- कथामा म (विरामी पात्र), भाष्कर, प्रमोद, आमा (म पात्रकी), गाउँले दिदी, बडी नै मुख्य पात्रका रूपमा देखा पर्छन् । यस कथामा म पात्रमा आफैलाई आरोपित गरिएको भान हुन्छ । निकै लामो समयसम्म दार्जिलिङको इडेन अस्पतालमा अस्वस्थ भइ उपचारका निम्ति बसेपछि एकदिन डिसचार्ज भइ घर लगिन्छ । दार्जिलिङ शहर, घूम जोरबङ्गलो, रङ्बुल, सुनदह पुग्दा कताकता होश र कतैकतै भने तन्द्रा अवस्थामा आफू पुगेको, घटना र स्थानबारे कसैलाई सेलफोन मार्फत् प्रमोद र भाष्करले सूचना दिइररहेको, सुनदह रेलवे स्टेशन परिसरमा आफ्नी आमा, बडी र गाउँले दिदीहरू हेर्न आएको प्रसङ्ग उल्लेख गरिएको छ ।

कलकत्ता- शीर्षक कथामा भने म, आमा-बाबा, डुक्पा, निमा, दिदी-भेना, प्रकाश दादा, साथी पुजन, अरविन्द दादा आदि पात्र-चरित्रको विशेष उपस्थिति रहेको देखिन्छ । कलकत्तामा प्रथमपल्ट कुनै इन्टरभिउको सिलसिलामा पुगेको, कलकत्तामा प्रकाश दादाले धेरै ठाउँहरू परिचय गराउँदै घुमाएको, यसै क्रममा आफूलाई सोनागाछी पनि पुर्‍याएको, एउटी छानेर उसको पछिल्तिर लागेर माथिल्लो तला उक्लिँदा उसको परिचय र ठाउँ सोद्धा तपाईँको घरमाथि भन्ने उत्तर पएर झसङ्ग भएपछि फर्किएको प्रसङ्ग निक्कै घतलाग्दो ढङ्गमा प्रस्तुत गरिएको छ । कालो खसी-कथामा अन्तरे काका र धनकुमार जेठा (मालश्री गाउने, भट्याउन सक्ने गाउँलेहरू), मार हान्न सक्ने डाँडाघरे काँइला, स्वास्नी र छोरा-छोरीहरू खसी बेच्ने मन्सी आदि पात्र-चरित्रको प्रत्यक्ष-परोक्ष उपस्थिति रहेको देखिन्छ । अष्टमीको दिन काट्न भनेर मन्सीकोबाट ल्याएको कालो खसी काटिने अघिल्लो रात नराम्रो सपना देखेपछि त्यो खसी कहिल्यै नकाट्ने विचारमा पुग्छ । फलफूलले पूजा गरेर अष्टमी मानेर मालश्री मात्र गाइन्छ ।

थुक्पा- नामक कथामा बुथुरे, जेठी मंगरनी, कालेकी दिदी पुकुली, जेठा मगर, किशन महाजन, बर्मे कान्छा आदि जस्ता प्रत्यक्ष-परोक्ष पात्र-चरित्रहरूको विशेष उपस्थिति रहेको देखिन्छ । प्रस्तुत कथामा गाउँले त्यसमा निम्न आय आर्जन गर्ने निम्नवेतनभोगी परिवारका सदस्यहरूमा मसिना मसिना खुशीहरूले के कस्तो प्रभाव पार्छ भन्ने कुरोलाई बुथुरेको व्यवहार, खुशी र उसको मातापिताबाट बुझ्न सकिन्छ । कथा सामान्य किसिमको भैइकन पनि यसले निकै ठूलो सामाजिक भाष्य बोकेको छ । प्रस्तुत कथाको कथ्यको नेपथ्य निकै गम्भीर रहेको देखिन्छ । दुई थोपा आँसु- शीर्षक कथामा भने निलम, लक्ष्मी, म (सञ्जय दाजु) आदिलाई मुख्य पात्र-चरित्रका रूपमा लिन सकिन्छ । यो कथा निकै मार्मिक र यथार्थपरक प्रकृतिको छ । यस कथाले आफ्नै जीवनगत सन्दर्भलाई समेट्न खोजेको सङ्केतन पाइन्छ । जीवनगत सामाजिक भाष्य बोकेको छ, जीवनगत यथार्थलाई प्रतिबिम्बन गर्न खोजेको छ । कताकता संस्मरण शैली जस्तो लागे पनि यो जब्बर किसिमको कथा बनेको छ ।

निलो स्यालको कथा-मा म अर्थात् स्कूल शिक्षक, निमा सर, एस. के. शर्मा सर, मीना राई, छोरो शिवम, आमा-बाबा र उसकी श्रीमतीलाई प्रमुख, सहायक र नेपथ्य पात्र-चरित्रको रूपमा लिन सकिन्छ । कथाले बाल्यकालीन सन्दर्भलाई कथ्यवस्तुको रूपमा प्रयोग गरेको छ । फुटबल- शीर्षक कथामा म पात्रका अतिरिक्त चिन्डे, चिन्डेकी आमा, अन्तरी आमा, नरे, मनबहादुर, काले, काजी आदिलाई मुख्य र सहायक पात्रको रूपमा उभ्याउन सकिन्छ । बाल्यकालीन दिनहरूको झलझली याद दिलाउने संस्मरणात्मक शैलीमा लेखिएको यो एउटा निक्कै मार्मिक र यथार्थिक प्रकृतिको कथा बनेको छ । यस कथामा शहरदेखि अलिक टाडा गाउँ-घरमा जन्मे-हुर्केका केटा-केटी अर्थात् हाम्रो पिँढ़ीलाई निक्कै याद किसिमको कथा भएको छ । प्रस्तुत कथाले सबै पाठकलाई आफ्नो बिगत दिनहरूको आलो सम्झना गराएर नोस्टालजिक बनाउँछ । कथाले हामीले फ्लासब्याकमा पुर्‍याउँछ । हामी सबैको बाल्यकालीन दिनहरू यसरी नै बितेको हो ।

फेरि एउटा धोको- कथामा रेणुका दिदी, मणि, म अर्थात् विजय, हर्के दाजु, मदन दाजु आदि पात्रहरूले कथामा मुख्य र सहायक र नेपथ्य पात्रको भूमिका निर्वाह गर्न पुगेका छन् । यो कथा निक्कै मार्मिक यथार्थ किसिमको देखिन्छ । समाज र जातिको लागि केही गर्छु भन्ने मानिसहरू नै ईश्वरका पनि छिट्टै प्यारा हुन्छन् भन्ने कुरोलाई कथाले सङ्केत गरेको देखिन्छ । रेणुका दिदी नेपाली समाज र जाति, धर्म र संस्कार-संस्कृतिप्रति मरिहत्ते गर्ने अर्थात् समाजको उन्नति र विकासको निम्ति केही गर्छु, गर्नुपर्छ भन्ने विचारका सशक्त नारी चरित्रको रूपमा चित्रित गरिएको पाइन्छ । उनै दिदी अचानक बस दुर्घटनामा परेर अनाहकमा मर्नु पर्ने कस्तो बिडम्बना । बाध्यताले बल्झाएका यथार्थहरू- यस कथामा रमेश, कमाने आमा आदि जस्ता अत्यन्त थोरै पात्रको उपस्थिति रहेको देखिन्छ । एक पाखे कमाने आमाको छोरो, जसलाई ठूलो मान्छे बनाउन, आफ्ना जम्मै स्वर्णिम सपनाहरू परिवारका उज्ज्वल भविष्यकै खातिर चियाका हरिया बुट्टाहरूसित साटेकी छन् । एउटी कमाने आमाको सपना साकार बनाउन सेकुरिटी गार्डको विज्ञापन छापिएको पढ़्न थाल्छ । यो कथा साधारण जस्तो लागे पनि यथार्थपरक प्रकृतिको छ । बित्दो रातसँगै- शीर्षक कथा साधारण कथ्यवस्तु भएको कथा हो भने हेलिकप्टर रूख- शीर्षक कथामा म, आमा, बहिनी, धनवीर जेठा, टाँसी मामा आदि मुख्य पात्र हुन् भने सबिता, रामे, किशोर, अञ्जना, नम्रता, गीता, बीरे यी सबै नेपथ्य पात्रहरूको उपस्थिति रहेको पाइन्छ ।

युवा कथाकार अमर शर्माज्यूले आफ्ना कतिपय कथालाई शिवकुमार राई, प्रदीप गुरूङ, हरिश मोक्तान आदि कथाकारले झैँ घटनात्मक इतिवृत्तको नीरतादेखि बचाउनका निम्ति आत्मपरक निबन्ध लेखन परिपाटी अँगालेर आख्यानात्मक भावलाई सकेसम्म सन्तुलित बनाइराख्न खोजेका छन् । संस्मरणात्मक निबन्धात्मक शैली-शिल्प अँगालेर लेखिएका उनका एकाध कथाहरूले हाम्रो सामाजिक दायित्वहीनता र अर्थनैतिक अकर्मण्यतालाई धेरै ठाउँमा निकै घतलाग्दो प्रकारले चिमोट्न तथा गतिलो झापट कस्न समेत पछि सरेका छैनन् । वस्तुतः उनका अधिकांश कथाहरूमा सामाजिक सोद्धेश्यता, व्यक्तिगत इमान्दरी, भाषिक सरलता र सरसताको फलस्वरूप लोभलाग्दो र आकर्षणमय बन्न पुगेको प्रष्ट देखिन्छ ।

प्रस्तुत सङ्ग्रहका प्रायः जसो कथामा कथाकथन मात्रै रोज्ने र खोज्ने पाठकहरूलाई भन्दा कथ्यको नेपथ्यलाई अङ्गीकार गर्न सक्ने पाठकलाई मात्र बढी रूचिकर लाग्न लाग्छ । उनको कथालेखनमा अनुभवको फाँटिलोपनभन्दा पनि अनुभूतिको गम्भीरता र विचरणभन्दा मानवीय संवेदना र हार्दिकतातो न्यानो संसार रहेको भेटिन्छ । वस्तुतः उनका लघु आकारका प्रायः सबैजसो कथा जसो कथामा समाज-सांस्कृतिक चेतना निकै सबल रूपमा देखिन्छ । यहाँको खस्किँदो शैक्षिक, सामाजिक-सांस्कृतिक अवस्थाप्रति लेखकीय व्यङ्ग्यवाण निकै धारिलो रूपमा देखा पर्छ । उनको कथालेखनगत प्रवृत्ति र प्रकृति निर्क्यौल गर्दा कथाकार आफू बाँचेको समाजको सांस्कृतिक, राजनैतिक-अर्थनैतिक विकृति-विसङ्गतिको व्यङ्ग्य र विद्रोहचेत दर्साइएको पाइन्छ । कोमलकान्त व्यङ्ग्य र विद्रोह चेतना, समयचेतनाको अन्तरपीड़ा नै उनको कथालेखनगत मूल आधारको सम्बल र कथ्य वस्तुका भावभूमि हुन् ।

कथालेखनमा कुनै किसिमको तडकभडक नदेखिनु, आफ्ना अग्रज र प्रसिद्धि कथाकारहरूबाट अन्धानुकरणको सिकार नहुनु, उच्च बौद्धिक र क्लिष्ट भाषाको प्रयोग नहुनु नै उनको कथालेखनगत मूलभूत विशेषता हुन् । उनका अधिकांश कथालेखन शैली सरल रैखिक तथा सूक्ष्म विवरणात्मक अवलोकन पद्धतिमा अघि बढेको देखिन्छ । आफ्ना अग्रज पिँढ़ीले निर्माण गरिसकेको ठुलो र फराकिलो गोरेटोमा हिँड्नु मात्र होइन तर आफ्नै किसिमको लेखन शिल्पको निर्माण गर्दै अघि बढेका छन् । उनका कुनै कुनै कथामा घटना विशेषलाई भन्दा पात्र, स्थान तथा परिस्थिति र परिवेशलाई महत्त्व दिएका छन् । उनका कतिपय कथाले प्रतीकात्मक तथा अन्योक्तिमूलक दुवै किसिमको अर्थ ग्रहण गर्न पुगेको देखिन्छ । अतः कथाले जीवन-जगत्‍को भोगाइ र जीवनानुभूतिलाई सकेसम्म समेट्न खोजेको छ । अभिव्यक्तिमा अनुभूतिको व्यापकता छ ।

समाजसचेत कथाकार अमर शर्माका कथाहरू अधिकांशतः सामाजिक यथार्थ पक्षलाई बोकेका घटनाप्रधान प्रकृतिका छन्, सामाजिक यथार्थभित्रै युगजीवनका विविध समस्याहरूलाई केन्द्रबिन्दुमा राखेर निर्क्यौल गर्न खोजिएको छ । अतः अमरका कथाहरूले सामाजिक सामाजिक पर्यवेक्षण गर्न खोजेको छ । कतिपय कथाहरू समयसापेक्ष र समाजसापेक्ष बनेका छन् । कथामा वर्तमानकालीन युवा जमातको पीडा, अभाव, कुण्ठा, नैराश्य र पलायन वृत्ति, बेरोजगारी जस्ता विषयले युवा कथाकार अमरको कोमल मन विथोलिएको छ । मानवीय स्तत्व र मूल्यको विघटन जीवनको भयावह स्थिति तथा सन्त्रास र यन्त्रणाले आन्दोलित मन-मस्तिष्कले पारम्परिक सुसम्बन्धको खोजी गरेको छ ।

अमरका कतिपय कथामा उपेक्षित जीवनानुभूति, जीवनका जटिलता र कठिनाइहरूसँग जुझ्ने, सङ्घर्षमा उठेका जमर्काहरू नै अधिक भेटिन्छन् । उनका थुप्रै थुप्रै सम्भावनाहरू पाइने हुनाले अमरको कथालेखन यात्रा सदा विकासशील छ, उत्तरोत्तर प्रगतिगामी छ, सदा ऊर्जाशील र नव्यतामुखी प्रकृतिको छ । सिर्जनशीलताको उच्च शिखरमा पुग्न युवा कथासर्जक अमरको कथालेखन यात्रालाई निरन्तरता दिने नै छन् । उनको कथालेखन यात्रा निरन्तर प्रवाहमय बनिरहने छ । कथाकार शर्माज्यूबाट आउँदा दिनहरूमा पनि योभन्दा उत्कृष्ट र लोभलाग्दा सिर्जनात्मक कृतिहरू निरन्तर प्रकाशनमा आइरहन सकोस् ।

प्रस्तुत कृतिको परिवृत्त एकप्रकार फराकिलो बनेको देखिन्छ । यो उनको अथक परिश्रम र साधनाको प्रतिफल हो भनेर निर्धक्क भन्न सकिन्छ । सिर्जनात्मक साहित्य लेखन तथा अध्ययन र शिक्षणमा उनले व्याय गरेको समय र परिश्रमको म मुग्ध कण्ठले प्रसंशा गर्छु र गर्दै आएको पनि छु । आउने दिनहरूमा अझ अध्ययन-अनुशीलनले माझिएर उनको कथा लेखन अझ व्यापक र विस्तृत बन्नेछ भन्ने कुरामा म विश्वस्त छु । आउँदा दिनहरूमा यस्तै लोभलाग्दा, गहकिला कृतिहरू प्रकाशनमा आउने नै छ । अतः भविष्यमा अझ राम्रा राम्रा र उच्च तहका कथा कृतिहरू नेपाली साहित्य संसारले प्राप्त गर्नेछ साथै प्रत्येक वर्ष यसरी नै पठनयोग्य र लोभलाग्दा सिर्जनात्मक कृतिहरू पाएर हामी पाठकहरू हर्ष र आनन्दका साथ लाभान्वित बन्न पाइरहने छौं भन्ने मैले आशा र विश्वास लिएको छु ।

दार्जीलिङ सरकारी महाविद्यालय

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।