18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

प्रतिक्रियात्मक हुनु ?

निबन्ध रमेश प्रभात April 24, 2025, 1:50 pm
रमेश प्रभात
रमेश प्रभात

“एक दिन
हाँगामा फुलेको फूलले बिर्सियो
भुइँको जरालाई

आकाशमा उडिरहेको चरा
हाँगामा आएर बस्यो
र ठुँग्यो फूललाई

ठुँगिएर झरेको फूललाई
सबैभन्दा पहिले अङ्गालो हाल्ने
उही भुइँको जरा थियो ।”
– राजा पुनियानी
(साभार : फेसबुक वालबाट)

सुरुमा आजीविकाको कुरा ....
म नेपाली भाषा–साहित्य पढाउने सामान्य शिक्षक । चक–डस्टरमै बित्यो सिङ्गो जिन्दगी । अरुका जीवन सुधार्छु भन्ने मिठो भ्रममै कट्यो जोवन । ह्रस्व–दीर्घ, आकार–उकार, अजन्त–हलन्त आदिमै घुमिरहे आँखाहरू । गल्ती औँल्याउनमै रमायो यो दिमाग । कहिलेकाहीँ विद्यार्थीहरू सोध्छन् मलाई, “गुरु, सधैँ तपाईंको आँखा हाम्रा गल्तीहरूमा मात्र किन जान्छ ?” म फिस्स हाँस्छु त्यतिबेला । हो, प्रतिक्रियात्मक छ मेरो सोच ।
फुर्सदको समयमा कहिलेकाहीँ निकै घोरिन्छु । मनमनै अलिक धैरै नै सोच्छु, करिब तीन दशक लामो शिक्षण अवधिमा कतिलाई सुधारेँ त मैले ? के शिक्षकले विद्यार्थी सुधार्न सक्छ ? कि सुध्रिएँ त म आफैँ ? न अरुलाई सुधार्न सकेँ, न आफैँ सुध्रिएँ । त्यसो भए मेरो जीवनको सार के हो त ? यसरी सधैँ प्रतिक्रियात्मक हुनु के राम्रो कुरा हो र ? कुनै चित्तबुझ्दो जवाफ छैन मसँग ।

त्यसपछि बसाइँसराइँका कुरा ....
तनहुँको भिरालो जमिनमा जन्मिए पनि चितवनको समथर फाँटमा हुर्किएको हुँ म । हो, सानैमा जराबाट उछिट्टिएर निकै टाढा पुगेर सारिएको बिरुवा हुँ म । यदि मकैबारीबाट उखेलिएर लगेको मकैको बिरुवा जङ्गलको बिचमा रोपिन्छ भने के हुन्छ त्यसको हालत ? त्यो बोटमा जुँगा चमर लाग्लान् कि नलाग्लन् ? घोँगा लाग्ला कि नलाग्ला ? घोँगामा दाना लाग्ला कि नलाग्ला ? साँच्चै, कस्तो फसल देला त्यो एक्लै हुर्केको मकैको बोटले ?
जीवन के हो ? भन्ने थाहा नपाउँदै आठ नौ वर्षको कलिलो उमेरमै बाबुआमासँग चितवन बसाइँ सरियो । यसरी पहाडियाबाट एकाएक मधेसी भइयो । मेरो पहिचान पनि द्वैत खालको भयो, पहाडघर जाँदा मधेसी अनि चितवनका थारु समुदायका बिचमा पहाडे । मान्छेको जीवनमा पहिचान पनि कति हो कति । मान्छे उही सम्बोधन मात्र फरक । आजका दिनमा तनहुँबाट चितवन झरेको पनि चार दशक कटिसक्यो, अहिले त यतैको रैथाने भइयो भन्ने लाग्छ मलाई ।

पहाड र मधेसको तुलनाका कुरा ....
पहाडमा खान पुग्ने जग्गा जमिन थियो हाम्रो । सुरुमा चितवन झर्दा बस्तुभाउ र अन्नपात मात्र मात्र बेचबिखन गरेर झरेको हामी । बाजेले जोगाएको पैतृक सम्पत्ति बेलैमा बेच्न पाइएन । हामी बसाइँ सरेको बेला चितवनको जग्गा सस्तो थियो भने पहाडको महङ्गो । चितवनमा बसाइँ आएको पनि झन्डै एक दशकपछि मात्र पहाडको सबै जग्गा बेचबिखन गरी जग्गा किन्दा निकै थोरै मात्र आयो । उतिबेला तीन खेती गरिने त्यही अलिकति जमिन पनि अहिले पुरै त बाँझो बस्न थालेको छ । खेती गर्दा लगानी उठे पो !
पहाडमा थिए ससाना सुर्का र गरा । गराका डिलडिलमा हिँड्ने बानी थियो मेरो । चितवनमा त केको गरा, केको डिल ? साना साना आली हुन्थे खेतमा । ती खेतका आलीमा पनि कतै भटमास त कतै मास रोपिएका हुन्थे त्यतिबेला । अचेल त्यस्तो कता पाउनु ? अचेल चितवनका खेतमा धान रोपिँदैन, प्लटिङरूपी गेग्रानहरू थुपारिएका हुन्छन् । यस्तो परिवर्तनलाई विकासको नमुना मान्ने त होला नि ?

अलिकति सानो छँदाका कुरा ....
सानैदेखि मैले जानेको काम भनेको पढ्नु हो । हुन त मेरो परिवार शिक्षामा अगाडि बढेको परिवार भने होइन, तर मेरा बाआमालाई पढाइको महत्व थाहा थियो । त्यही भएर उहाँहरूले बसाइँ सरेर बास खोज्ने क्रममा स्कुल नजिक भएको क्षेत्र छान्नुभयो । आफूले दुःख गरेर भए पनि छोराछोरीलाई पढाउन छाड्नुभएन । हो, म यहाँसम्म पढेरै आइपुगेको हुँ भन्दा मलाई कत्ति पनि हीनताबोध हुँदैन । म सानो छँदा मेरो छिमेकीहरूको पाँच बिगाहा जमिन हुन्थ्यो, घरमा टन्न धान हुन्थ्यो । हाम्रो आफ्नो खेत थिएन, पाखो बारी मात्र थियो । खेत किन्दा एक बाली मात्र लाग्थ्यो भने पाखोमा मकै, तिल र तोरी गरेर तीन बाली लाग्थ्यो । आफूले खाएर बेच्न पनि पुग्थ्यो । हुनेहरूको खेत अधियाँमा रोपेर भए पनि बाआमाले कम्तीमा दिनमा एक छाकचाहिँ भात नै खुवाउनुहुन्थ्यो ।
मैले गाउँको विद्यालयबाट एस्.एल्.सी. प्रथम श्रेणीमा उत्तीर्ण गरेँ । त्यतिबेला निकै कम मात्र उत्तीर्ण हुने हुनाले एस्.एल्.सी.लाई फलामे ढोका भनिन्थ्यो । जिल्लाभरिमा प्रथम श्रेणीमा पास हुनेको सङ्ख्या हातका औँलामा गन्न सकिन्थ्यो । कतिपय विद्यालयबाट त एक जनाले पनि प्रथम श्रेणी ल्याउँदैनथे भने कुनै कुनै विद्यालयका एक दुई जनाले मात्र प्रथम श्रेणीमा उत्तीर्ण गर्ने हुनाले त्यस्ता व्यक्तिको गाउँभरि इज्जत हुन्थ्यो । यी त भए स्वप्रशंशाका कुरा ।

थोरै पढाइलेखाइका कुरा ....
मैले विद्यालयको पढाइ सक्दा ताका नेपालमा उच्च माध्यमिक तहको अवधारणा आइसकेको थिएन, एस.एल्.सी.पछि पढ्ने भनेको प्रवीणता प्रमाणपत्र तह हुन्थ्यो । चितवनको रामपुरमा कृषिविज्ञान र शुद्ध विज्ञान विषयको पढाइ हुन्थ्यो भने वीरेन्द्र बहुमुखी क्याम्पसमा विज्ञान र मानविकी विषयको पढाइ हुन्थ्यो । त्यस्तै गरी बालकुमारी क्याम्पस र शहीद स्मृति क्याम्पसमा व्यवस्थापन विषयको पढाइ हुन्थ्यो । मेरो बुबाको चाहना रामपुरमा कृषिविज्ञान पढोस् भन्ने थियो भने मैले चाहिँ वनविज्ञान पढ्नका लागि हेटौँडा क्याम्पस रोजेँ ।
मेरो प्रमाणपत्र तहको दुई वर्षको पढाइले तीन वर्ष पुरै खायो, किनकि त्यही अवधिमा देशमा जनआन्दोलन भयो । सत्ता परिवर्तनको खेल भयो र फेरियो जीवनशैली पनि । सजिलै वनप्राविधिकको जागीर पाउने अवसर छुट्यो । अझ भनौँ प्रजातन्त्रको उपलब्धिस्वरूप उक्त पदमा सरकारी विज्ञापन नै हुनसकेन । त्यसपछि म शिक्षाक्षेत्रमा तानिएको हुँ, वनविज्ञान पढेर पनि वनप्राविधिक बन्न नसकेकोमा मेरा समकालीन साथीहरू गुनासो गर्छन् बेलाबेला ।
वनविज्ञान अध्ययन संस्थानबाट प्रवीणता प्रमाण पत्र तह उत्तीर्ण गरेको सर्टिफिकेट केवल एउटा तहको सर्टिफिकेटभन्दा बढ्ता केही भएन मलाई । सानैदेखि साहित्यतर्फ रुचि भएका कारण मैले नेपाली र स्वास्थ्य विषय लिएर बी.एड्. गरेँ । त्यसपछि वनविज्ञानसँगको नाता सम्झनामा मात्र कायम छ । त्यसपछि म पुरै नेपाली साहित्यतर्फ लागेँ । एम्.ए. र एम्.फिल्. पनि नेपाली विषयमै गरेँ । अहिले मलाई गरिखाने कुरा त्यही नेपाली विषय भएको छ । अहिले पनि कहिलेकाहीँ वनतिर घुम्न जाँदा आजभन्दा पैँतीस वर्षअघि घोकेका बोटविरुवाका वैज्ञानिक नाम सम्झना हुन्छ । तर अब त्यो सम्झनाको के काम छ र ? तैपनि सम्झना न हो, आउन भने छाड्दैन ।

अनि आन्तरिक बसाइँसराइका कुरा ....
मैले आफ्नो नालीबेली पहिल्यै पेस गरिसकेको छु । पहाडबाट सानैमा बसाइँ सरेर चितवनको मङ्गलपुरमा बसोबास गर्न आइपुगेको म अहिले पनि सोही ठाउँको स्थायी बासिन्दा हुँ, तर मङ्गलपुर बस्न छोडेको पनि बीस वर्ष कटिसक्यो । अर्थात् भरतपुर बस्न थालेको बीस वर्ष पुगिसक्यो । फुर्सद मिलाएर जान्छु म गाउँ । आजीविकाका क्रममा सहर पसेको हुँ म । त्यतिबेलाको भरतपुरबाट मङ्गलपुरसम्मको बाटो सम्झँदा पनि कहाली लाग्छ । पिच बाटोको बिचमा माछा पाल्न मिल्ने पोखरी हुन्थे त्यतिबेला । आउन जानै सारै अप्ठ्यारो स्थिति भएको समयमा डेराबासी जीवन थालेको हुँ मैले । त्यो पनि इतिहास भइसक्यो ।
गाउँबाट सहर पसे पनि गाउँलाई पुरै बिर्सेको छैन मैले । आफूलाई जन्मदिने आमाबाबु गाउँमै बस्नुहुन्छ । आफूले सिर्जेको ठाउँ सबैलाई प्यारो लाग्दो रहेछ । हजुरबाको थातथलो छोडेर आउनुभएका मेरा बाआमा बजारको मेरो घरमा बस्न मान्नुहुन्न । उहाँहरूलाई गाउँ नै प्यारो छ । सहरले उहाँहरूलाई नचिन्ने भएर पनि त्यसो भएको हो कि ?

केही आफ्ना भोगाइका कुरा ....
बिदाको दिन पारेर प्रायः गाउँ जान्छु म । बाआमा भेट्ने बाहना पनि हुन्छ र गाउँतिर टहलिने काम पनि हुन्छ । मलाई घरमा देखेपछि कहिले आइस् भनेर सोध्छन् छिमेकी, कतिबेला आइस् भन्दैनन् । मङ्गलपुरबाट भरतपुरको दुरी जम्मा सात किलोमिटर छ भन्ने पनि बिर्सन्छन् उनीहरू । यसरी गाउँले पत्याउन छाडेको छ मलाई । गाउँबाट बसाइँसराइ लिएर आएको छैन मैले । समय समयमा भोट हाल्नुपरे गाउँ नै जान्छु, त्यसैले सहरले आफ्नो भन्दैन मलाई । म यहाँ शङ्कर लामिछानेले भनेजस्तै दशगजामा उभिएको पो छु त ।
कल्पनाभन्दा पनि बढी लेखकले लेख्ने त आफ्नै कुरा रहेछ । म आफूले भोगेको भोगाइ अरु कसले लेख्न सक्छ ? मलाई सबैभन्दा बढी चिन्ने पात्र भनेको म आफैँ हुँ । मेरा कुरा मैलेभन्दा बढी अरु कसले लेखिदिन सक्छ ? हो, म तनहुँको एकान्त ठाउँमा जन्मेँ, चितवनको एकान्त ठाउँमा हुर्केँ । त्यसैले मलाई रुखबिरुवा औधी मनपर्छ । तर अहिले रुख होइन, रुखको चित्र हेरेर चित्त बुझाउनु परेको छ । यस्तोमा कम्ता दुःख लाग्दैन । दुःख मानेर मात्र जीवन नचल्दो रहेछ ।

थोरै संरक्षण ज्ञानका कुरा ....
वनविज्ञान पढ्दा वातावरण संरक्षणका बारेका निकै पढियो । वनलाई कसरी संरक्षित बनाउने ? खेतीपातीलाई कसरी जैविक तरिकाले हुर्काउने ? विकास निर्माणको कार्य गर्दा कसरी वातावरणलाई कम क्षति हुन्छ ? के गर्दा मानवबाहेकका अन्य जनावरलाई कम हानि हुन्छ ? हावा र पानीलाई कसरी जोगाउन सकिन्छ ? यी र यस्ता प्रश्नहरूको समाधान खोज्ने प्रयास निकै गरियो । त्यो ज्ञान केही समय पठन पाठनमा प्रयोग पनि गरियो । अहिले त त्यो पनि हुन सकेको छैन ।
आफूले जानेको संरक्षणको ज्ञान पनि दश धुरको जमिनमा बनेको सानो घरमा केही काम नलाग्दो रहेछ । गमलामा फूल फुलाउनलाई त्यो ज्ञानले काम नगर्दो रहेछ । बजारबाट कोकोपिट किनेर ल्यायो, त्यही हालेर फूल रोप्यो । फुलिसकेपछि त्यो बिरुवा उखेलेर फाल्यो । नयाँ बिरुवा ल्याएपछि पुराना बिरुवा हटायो । यत्ति गर्न त जसले पनि सक्छ । त्यसका लागि वनविज्ञानको अध्ययनको के काम ? तर पनि सम्झनामा वन र वनविज्ञान अल्झिरहेको छ । सम्झनलाई रोक्ने कसले ?

अलिकति पशुपालनका कुरा ....
पहाडघरमा छँदा गोठभरि भैँसी, गाई र गोरुहरू थिए । घरमा कहिल्यै दुहुना टुट्दैनथ्यो, दुध, दही र मोहीको समस्या थिएन । खोरमा बाख्राहरू थिए र थिए केही कुखुरा पनि । पाहुना आउँदा कुखुरा काटिन्थ्यो र चाहिन्थ्यो सगुनका लागि अन्डा पनि । घरमा मान्छेको भन्दा जनावरको सङ्ख्या बढी थियो । भनौँ न जनावरमैत्री थियो हाम्रो घर ।
मधेस झरेपछि पनि घरमा भैँसी र बाख्राहरू पालिएका थिए । अनि केही कुखुराहरू पनि पालिएका थिए । सुरुमा कुखुरा हट्यो, त्यसपछि भैँसी हट्यो र सबैभन्दा पछि बाख्रा हट्यो । यतिबेला गाउँको घरमा बाआमा मात्र हुनुहुन्छ । कुनै जनावर पालिएको छैन । खाएर बचेको खानेकुरा खाने केही छैन । मल खाल्डो फालेर मल बनाइन्छ बचेका खानेकुराको ।
मेरो सहरको घरमा जनावर पाल्नका लागि ठाउँ नै छैन । पाल्दै नपालेको भए पनि मुसाहरू निस्फिक्री डुल्छन् घरभरि । लाग्छ, मेरो घर मेरो मात्र नभएर उनीहरूको पनि हो । नत्र त त्यति अधिकार जमाउने थिएनन् कि ? त्यसो त सहरमा कुकुर पाल्नेको सङ्ख्या बढ्दो छ । बाख्रा पाल्नका लागि घाँस राख्ने ठाउँ चाहिन्छ, चराउनका लागि चउर चाहिन्छ । त्यही भएर अचेल सहरमा बाख्रा पालिँदैन । मैले पनि अरुको देखासिकी गरेको छु । जनावर पाल्ने सोख मेटाउनकै लागि भए पनि एउटा सानो सेतो कुकुर पालेको छु मैले । मलाई त्यसले मालिकको भन्दा पनि पिताको रूपमा हेर्छ जस्तो लाग्छ । मलाई असाध्यै पछ्याउँछ । कुकुर भनेर पनि हुँदो रहेनछ ।

थोरै आफूलाई मनपर्ने कुरा ....
म एक्लो हुँदा पहाडको गाउँ सम्झन्छु । मलाई गाउँ घुम्न मनपर्छ । माटोको गन्ध मनपर्छ । खोलाको कलकल ध्वनि सुन्न मनपर्छ । हरिया रुखबिरुवा मनपर्छ । गाउँको एकान्त मनपर्छ । चौतारीको शीतल हावा मनपर्छ । बोटमा फलेका आरु र ऐँसेलुका दाना मनपर्छ । अलिअलि पाकेको जामुन र तिँजुको फल मनपर्छ । अचार खान काभ्रोका मुना, सिप्गिानको पालुवा, कोइरालोका फूल असाध्यै मनपर्छ । वैशाख जेठको हरियाली मात्र होइन, फागुन चैतको पतझड पनि मनपर्छ । समग्रमा भन्नु पर्दा मलाई गाउँ अग्घोरै मनपर्छ । तर अहिले म गाउँमा छैन ।
यतिबेला भरतपुर महानगरपालिकाभित्र त गाउँ नै छैन भन्दा पनि हुन्छ । यतिबेला यहाँ तीब्र रूपमा सहरीकरण बढ्दो छ । खै किन हो ? हाम्रो महानगरको नजर बाटो छेउको चौतारामा परिहाल्छ । बाटो बढाउने निहुँमा त्यसलाई सबैभन्दा पहिला भत्काइहाल्छ । हो, भरतपुरको मुख्य क्षेत्र मात्र नभएर मेघौलीसम्म पुग्दा पनि सहरीकरणको बढ्दो प्रभाव देखिन्छ ।
गाउँ जाँदा पनि गाउँको आभास कत्ति पनि पाउँदिन म । हिजोआज गाउँतिर पनि खुल्ला चउरमा हाटबजार लाग्न थालेको छ अचेल । गाउँलेका घर वरिपरिको जमिन पुरै बाँझो बस्न थालेको छ । तरकारी उब्जाउन छाडेका छन् । उनीहरू अचेल हाटबजार गएर पोलिथिनको झोलामा हरियो तरकारी किनेर ल्याउँछन् । यसले कम्ता मन दुख्दैन । दुख्ने त आखिर मन नै रहेछ ।

थोरै थोरै घुमघामका कुरा ....
खासमा मान्छे के हो ? अन्य प्राणीबाट उसलाई केले फरक देखाउँछ ? उसको विवेकले कि उसको बानीले ? मलाई त मान्छेलाई उसको घुमन्ते बानीले अरु प्राणीभन्दा फरक बनाउँछ भन्ने लाग्छ । हुन त साइबेरियादेखि बर्सेनी चराहरू नेपाल र भारतसम्म पनि आउजाउ गर्छन् । वनभित्रका जनावरहरू घरी यता घरी उता घुमफिर गर्छन् । यति हुँदाहुँदै पनि मान्छे चाहिँ एउटा घुमक्कड प्राणी नै हो । उसलाई घुम्न मन पर्नु स्वाभाविक हो । यो कुरा ममा पनि लागू हुन्छ । हो, म आफू पनि घुम्न निकै मन पराउँछु, तर सधैँभरि घुमेर खान पुगे पो ?
वर्षैपिच्छे कहिले बिहे, कहिले ब्रतबन्ध, कहिले बेलविवाह, कहिले सूर्यदर्शन, कहिले कूलपूजा अनि कहिले अन्य पूजाआजाजस्ता विभिन्न अवसरहरू आइपर्छन् । त्यसो त कहिलेकाहीँ आफन्तको मृत्यु र गाइजात्रा निकाल्दा पनि निस्कनुपर्ने हुन्छ । म जस्तोसुकै किन नहोस्, घरबाट निस्कने अवसरको खोजीमा हुन्छु, ता कि पहाडघर जाने मौका मिलोस् । कुनै पनि बाहनामा बेला बेलामा पहाडघर जान्छु म । पुरानो पुस्ताले अझै मलाई मेरो बुबाको नामले चिन्छ त्यो पनि कहिलेसम्म ? नयाँ पुस्ताले त मलाई पटक्कै चिन्दैन, धुम्धुम्ती बस्नुबाहेक कुनै विकल्प हुँदैन मसँग ।
पहाडघर भनेको आखिर घर नै रहेछ । बेलाबेलामा जाँदा मलाई भने निकै आनन्द आउँछ । त्यो ठाउँले नचिने पनि मैले भने पटक्कै बिर्सेको छैन । खोलाहरू तिनै छन्, चउर र चौताराहरू तिनै छन् । वनमा रुखहरू अझ थपिएका छन् । घरहरू रित्तिए पनि वातावरण शान्त छ । विकासका नाममा बारीका कान्ला भत्किएका छन्, तर पनि गाउँको वातावरण भने भत्किएको छैन ।
हुन त अचेल पहाडघरमा मेरो आफ्नो कुनै मौलिक परिचय छैन । आफू जन्मेको ठाउँ भएर पनि त्यो ठाउँले कत्ति पनि पत्याउँदैन मलाई । मलाई अपनत्वको दृष्टिले हेर्दैन । मलाई आफ्नो ठान्दैन । जन्मेको ठाउँ भनेर के गर्नु ? बसाइँ हिँडेको ठाउँले कहिलेकाहीँ फर्किआउनेलाई पाहुना पो ठान्दो रहेछ ।

अरु थोरै बुढ्यौलीका कुरा ....
मेरो मनमा कहिलेकाहीँ प्रश्नको आँधी नै चल्छ । मान्छे कतिबेला बुढो हुन्छ ? मान्छेको बुढो हुने उमेर कति हो ? मान्छेलाई उमेरले बुढो बनाउँछ कि विचारले ? शरीरले बुढो बनाउँछ कि मनले ? खानाले बुढो बनाउँछ कि व्यवहारले ? जे भए पनि मान्छे बुढो हुन छोडेको छैन । गौतम बुद्धले जस्तो बुढ्यौलीको कारण र समाधानका उपाय पत्ता लगाउन सकेको छैन मैले ।
मेरो उमेरले पचास वर्षको घेरा नाघेको पनि दुई वर्ष कटिसक्यो । सधैँ मैले आफूलाई के युवा ठानिराख्नु ? हो, हामीले सोचेँजस्तो जीवन नहुँदो रहेछ । जीवनमा चाहेर वा नचाहेर पनि थुप्रै कुराहरू भोगिँदो रहेछ । त्यसैले म भन्छु, कम्ता उतारचढाव छैन मेरो जीवनमा । यतिबेला आएर आफूले जीवनमा भोगेका सारा दुःख मलाई दुःख हो जस्तो नै लाग्दैन । ती दुःख त मेरा अनुभवका पुञ्ज हुन् भन्ने लाग्छ । के मनमा यस्तो सोचाइ आउनु बुढो हुनु हो ?

अन्त्यमा प्रतिक्रियात्मक हुनुका कुरा ....
नेपालीको नयाँ बन्दै गरेको पहिचान भनेको अरुको कुरा काटेर समय कटाउनु हो भन्ने लाग्छ मलाई । मचाहिँ अरुको कुरा काटेर समय बिताउन चाहन्नँ । फुर्सद पाए पढ्छु, लेख्छु, गीत सुन्छु, बाहिरको हावा र घामको निरीक्षण गर्छु । कहिलेकाहीँ लेखिटोपल्छु, तर राम्रोचाहिँ लेख्न सक्दिनँ । त्यसैले लेखाइमा त्यति मन जाँदैन ।
मान्छे स्वभावैले प्रतिक्रियात्मक जीव हो । अरुले चाहे पनि नचाहे पनि आफ्नो विद्वता देखाउन अघि सरिहाल्छ ऊ । यतिवेला जताततै वातावरण प्रदूषण बढ्दो छ । यही प्रदूषका कारणले होला जतिबेला पनि तनावमा हुन्छ मान्छे । ससाना कुराले पनि उसलाई छुन थालेको छ अचेल । यसरी तनाव बढ्नुको कारण खानपिन र आहार विहार पनि हो कि ? कतै यसैले मान्छेलाई प्रतिक्रियात्म बनाएको त होइन ? म एक्लै घोरिएर सोच्छु, यसरी प्रतिक्रियात्मक हुनु कत्तिको जायज हो ?

भरतपुर, चितवन ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।