यो व्यस्तताको समय हो । यस बेला सबैसँग आफ्नाआफ्नै समस्याहरू उर्लिएका छन् । त्यस्ता मूल समस्याहरूलाई पन्छाएर मान्छेले जब अर्कै काममा लाग्नु पर्छ अनि मसस्याहरू झन् झन् थपिन सक्छन् । तोक लगाउने काम छाडेर टेन्डर, ठेक्का, कमिसन आदिको एक नम्बरको सूचीमा पर्न सक्ने कामलाई पन्छाएर जब उद्घाटन, शिलान्यास, भासन गर्ने जस्ता अनुत्पादक काममा मन्त्रीहरूले लाग्नुपर्छ अनि त्यसबाट उनीहरूलाई ठुलो घाटा पर्न सक्छ । मन्त्रीहरूलाई ठुलो खती हुन सक्छ । कति धामा र खिप्ती गरेर भएको बबुरो मन्त्रीलाई यस्ता अनुत्पादक कामहरूको जिम्मा लागेपछि उसको घाटा चुलिंदै जान्छ । एकातिर काममाथि काम गरिरहनु पर्ने मन्त्रीहरू छन् जसलाई फिता काट्नदेखि लिएर कमिसन चाट्नसम्म भ्याइनभ्याइ छ र अर्कातिर आज त्यस्ता मन्त्रीहरू पनि छन् जो ससुरालीमा बसेको ज्वाइँ जस्तो काम नपाएर विभागै नपुगेर झिँडा मारिरहेका हुन्छन् । काम नपाएर झिँगा धपाई बसेको देखेर अर्को व्यस्त मन्त्रीको खेतालोको काम मात्र गरिरहेका हुन्छन् । त्यसैले यस्ता बेगारी मन्त्रीहरूलाई भविष्यसम्म पनि काम लाग्ने एउटा सरल र सुमधुर सुझाउ सुनाउँदैछु । विषय वा प्रसङ्गले अर्को अर्थ लागेमा कृपया अन्यथा नलिनु होला ।
हामीलाई के थाहा छ भने यहाँ उद्घाटन शिलान्यास, फिटाकटान, विमोचन जस्ता कुराहरू सकिएपछि अलिकति भासन नचुहाई धर पाइन्न । उद्घाटन आदिले मन्त्रीको समय यसै बर्बाद भइरहेको हुन्छ । त्यसमाथि भासन तुर्क्याउनु पर्दा उसलाई अरु घाटा पर्न जान्छ । उता सिफारिस गर्दा आउने पैसो, यता सरुवा गरिदिंदा लिने गरेको दस्तुर अनि नयाँ नियुक्ति गरिदिंदा हुने लाभ, भनसुनबाट पाइने रोकडा सबका सब नष्ट । सबका सब घाटा । सबैतिरबाट चौपट । मन्त्री त्यसै भएको हुँदैन । सानो लगानी गरेर मन्त्री भएको हुन्छ र ? सानोतिनो लगानीले चुनाब जित्नु भनेको अबलाई असम्भव ! उसले थोडै भासन गर्नका लागि चुनाबमा लगानी गरेको हो ! उसले थोडै उद्घाटन र शिलान्यास गर्नलाई चुनाबमा लगानी गरेको हो ? कसैले घाटा खाने कुनै संस्थाको त्यसै शेयर किन्छ ? कुनै पनि मन्त्रीको चुनाबमा गरिएको लगानी उद्घाटन, शिलान्यास, भासन, फिताकटान आदिका लागि मात्र होइन । उसले त्यो लगानी ता उपार्जनका लागि पो गरेको हुन्छ । उसका माध्यमबाट करोडीरामहरूले पार्टीको नामको बहानामा मनग्गे लगानी पनि गरेका हुन्छन् । त्यसलाई उनीहरू चन्दा भन्न रुचाउँछन् । व्यक्तिगत कुरा ता छँदैछ, त्यही चन्दा पार्टीका नाममा उनीहरूले दिएका हुन्छन् भने पनि भो । तिनले दिएको चन्दा (लगानी) चुनाब सकिनासाथ अरु बाटाबाट फिर्ता गर्ने अवसर पनि ता तिनले खोज्छन् । यो उनीहरूको नैसर्गिक अधिकार पनि ता हो । लगानी गरेपछि प्रतिफल खोज्नु कुनै महापाप हो र ? म त भन्छु यो निकै पुण्यको काम हो ।
करोडीरामहरूले चुनाबका नाममा दिएको चन्दाको असुली चुनाब सकिनासाथ बजारभाउ बढाएर लिन थालेझैं नेताले पनि चुनाबमा गरेको लगानी मन्त्री हुन र मन्त्री भएपछि उपार्जन गर्नका लागि हो । यसरी ठुलो रासी खर्च गरेर बल्ल हुन पुगेको मन्त्रीलाई जब विभाग पनि नमिल्नु र अर्काले अराएको काम मात्र गर्नु भनेको ता शुद्ध भरिया हुनु मात्र हो । यता भरिया मन्त्रीले जब हरिया हरिया नोट भेट्तैन् र फरियाको साइनोले हुन सक्ने नाफा पाउँदैनन् अनि तिनले विद्रोह नगरेर के गरुन् त बरा ! अहिले ता ताला लगाउने चलन बढेको छ । बिभागै नपाएर लन्ठुराम पारी राखिएका डुकुलन्ठ्याङ मन्त्रीले प्रधानमन्त्रीको घरमा ताला लगाइदिन सक्छन् । अघिल्तिर टायर बाल्न सक्छन् । त्यसैले अबदेखि यी भरियाहरूलाई एउटा न एउटा व्यवस्था गरिहाल्नु पर्छ । नत्र समीकरण फेर्नु (मानौं गुहु लागेको लँगौटी फेरिएको हो) निहुँमा पार्टी छाड्नु, मुन्द्रेहरूलाई उचाल्नु, हडताल गर्नु, टायर बाल्नु र अनसन बस्नु जस्ता धम्की पनि दिन सक्लान् । विशेष गरी यस्ता विनाविभागका मन्त्रीलाई उद्घाटनमा, शिलान्यासमा, विमोचनमा र फिटा काट्ने काममा बढी प्रयोग गरेको देखिन्छ । के उनीहरूको लगानी हुँदैन ? कति ठाउँमा गर्नु नगर्नु काम गरेर सांसदका रूपमा ती त्यहाँ संसदमा पुगेका हुन्छन् । के ती अर्को मन्त्रीको कमारो मात्र हुन् ? के ती अर्कोको खेतालो मात्र हुन् ? के ती अर्कोको जनमन मात्र हुन् ? महाशय, ती ता आफ्नै अस्तित्व भएका प्राणी हुन् । तिनको पनि महत्व छ । कति ठाउमा कुन कुन दुष्कर्महरू गरेर बल्ल चर्चामा आएका र पार्टीले पत्याएका ती मन्त्रीहरू कसैका जन होइनन् । यसरी मन्त्रीलाई अन्याय गर्न पाइन्न । तिनलाई कसैले पनि जनका रूपमा मान्न पाइन्न । ती ता देशका धन पो हुन् । करिया उन्मूलन भएको यतिका वर्ष भइसक्यो अझै पनि करियाका रूपमा भरिया ? तिनलाई भरिया बनाउन पाइन्छ ? तिनले लगानी उठाउन पाउनु पर्छ । तिनका पक्षमा पनि बोलिदिनु पर्छ । तिनलाई पनि मन्त्रालय र विभाग चाहिन्छ । मन्त्रालय र विभाग नपुगे मन्त्रालय र विभागहरू फटाफट थप्तै जानु पर्छ । आफू चै ंहरिया नोटको चाङमा सुतेर के विनाविभागका मन्त्रीलाई चैं भरिया बनाउन पाइन्छ ?
काम ता तिनले गरिरहेकै छन् । तिनले गरेको काम सुहाँउँदो एउटा मन्त्रालय नै खोलिदिए भइहाल्यो नि ! ‘नागरिक उद्घाटन, उद्भाषण, शिलान्यास, विमोचना फिताकटान’ नामको मन्त्रालय खोले ता भइहाल्यो । बरु त्यसै मन्त्रालयमा भाषण विभाग, उद्घाटन विभाग, शिलान्यास विभाग, विमोचन विभाग जस्ता नाना थरीका विभागहरू खोलेर मन्त्रीलाई विभागहरूको जिम्मा दिए भइहाल्छ । अझ पनि विना विभाग ? विना विभागीय मन्त्री भन्नु ता छोरी दिंदै नदिएको व्यक्तित्वलाई ‘ज्वाइँ’ भन्नु जत्तिकै भएन र ? यी भरिया मन्त्रीहरूले न फरियाको साइनो लगाएर केही हरियो घाँस चर्न पाउँछन् न भरियागिरीबाट करिया नै हुन पाउँछन् । मन्त्रीमाथि यो कस्तो अन्याय ! मानव अधिकारवादी संस्था के हेरिरहेका छन् ? ऋषि धमलाको ध्यान किन यता नगएको ? यसबारे एउटा गोष्ठी गरेर अलिकति डलरको आयस्ता हुने सुवर्ण अवसरलाई ऋषि धमलाले किन बिर्सेका ? मन्त्रीको यो दुर्दशा कति दिनसम्म रहने ? लगानीलाई तिनले उद्घाटनै मात्र गरेर कसरी उठाउलान् ? फिता काटेर मात्र कसरी असुल्लान् ? भाषण गरेर मात्र कसरी बटुल्लान् ? समस्या बडो जटिल र भयावह छ । उद्घाटनै पनि तिनले मनपराएको गर्न पाउँदा हुन् त कुरा अर्कै हुँदो हो । अर्को मन्त्रीले छाडेको जुठो मात्र चाट्नु पर्ने हुन्छ । अनि तिनमाथि सानो अन्याय छ ? उद्घाटनबाट कमिसन आउने भएन, घुस मिल्ने भएन । फिता काट्ता रोकडा मिल्ने भएन । शिलान्यास गर्दा कुत असुलिने भएन । चुनावको लगानी उल्टै ब्याज र स्याज भएर बढिरहन्छ । कतिलाई के के बनाइदिउँला वाचा गरेको हुन सक्छ, कतिलाई देश र विदेश घुमाइदिउँला भन्या हुन सक्छ, कतिलाई देशै छुट्टै बनाइदिने आश्वासन पनि ता दिएको हुन सक्छ । यी सबै कुरा लथालिङ्ग भएनन् अब विना विभागको मन्त्री भएपछि ?
त्यसैले यस मन्त्रालयमा परेका मन्त्रीलाई पनि कमाउने बाटो दिनुपर्छ । ‘नागरिक उभासन मन्त्रालय, उद्घाषण मन्त्रालय, शिलान्यास मन्त्रालय, विमोचन मन्त्रालय, फिटाकटान मन्त्रालय जस्ता सबै मन्त्रालय नै खोलेर नयाँ नयाँ मन्त्रीहरूलाई नियुक्त गरिनुपर्छ । यी मन्त्रालयमा नियुक्त मन्त्रीहरूलाई आफ्नो इच्छाअनुसार काम पनि गर्न दिनुपर्छ । यी मन्त्रालयका मन्त्रीहरूले आफ्नो इच्छाबमोजिम काम गर्दा कमाउन सक्ने ठाउँ पनि बनाइदिनुपर्छ । फिता कटान कार्यक्रममा त्यस मन्त्रालयका मन्त्रीले देशविदेशबाट चाहेको जस्तो फिता मगाउन पाउने हो भने कमिसन आउने र विदेशभ्रमण गर्न पाउने ठाउँ हुन्छ । मन्त्रीको मर्जी अनुसारका फिताहरू, कैंचीहरू, सलाइ र पानसहरू, थालीहरू र शिलान्यासका लागि चाहिने बन्दोबस्तीका अन्य सामग्रीहरूलाई समेत मन्त्रीकै मर्जीबमोजिम अर्डर गरेर झिकाउन पाउने हो भने कमिसन आउने र भ्रष्टाचार गर्न पाउने ठाउँ बन्छ । देशभरि काम नभए पनि दैनिक हजारौं स्थानमा उद्घाटन र फिता कटानको काम ता द्रूत गतिमा बढेको छ । यसैले कुन रंगको फिता काटेर उद्घाटन गर्न कुन देशबाट कुन रंगको फिता र कस्ताकस्ता कैंचीहरू कति परिमाणमा झिकाउनु आवश्यक पर्ने हो त्यसबापत मन्त्रीले तोक आदेश गर्न पाउने भए । त्यसो भएपछि चुनाव खर्च बटुल्ने अवसर पर्छ विचराहरूलाई । त्यस्तै शिलान्यास मन्त्रालयका मन्त्रीहरूले पनि शिलाहरूको छानबिन गर्न पाउनुपर्छ । कुन देशबाट ल्याएको शिलालाई न्यास गर्दा फाइदा हुन्छ त्यहाँबाट शिला झिकाउने भए । यसो भएपछि ता लगानी असुलिइहाल्छ । विमोचन मन्त्रालयका मन्त्रीहरूलाई पनि विमोचन गरिने वस्तुलाई, विमोचन गरिने क्षेत्रको साजसज्जालाई आवश्यक पर्ने बन्दोबस्तीका सामग्रीहरूहरू झिकाउन पाउने अवसर दिनुपर्छ । उसको मर्जी अनुसारका सामग्रीहरू भएपछि ऊ पनि सन्तुष्टसँग विमोचन गरिरहन्छ । अनि आउँछ मालपोतका कर्मचारीलाई भाग लागेर आएजस्तै गरी उसलाई पनि पैसो ।
भासन विभागको मन्त्रीलाई अलिकति अप्ठेरो पर्ने बुझ्छु । भासन गरेर घाँटी सुकायो, घरमा जाँदा फुस्सा हात पर्छ । कम पर्छ उसलाई मर्का ? उसलाई पर्न सक्ने मर्कालाई हेरेर मैले उसका लागि पनि केही उपाय गर्नै पर्ने भो अब । सुझाएको छु एउटा अचुक उपाय ।
भासने मन्त्रीलाई घाटा पर्ने अवस्था आएको देखेर मैले राजकीय विज्ञान तथा प्रविधि प्रतिष्ठानसँग अनुरोध गर्ने निधो गरेको छु । यातायातका साधनहरूमा त्यसको गति र त्यसले तय गरेको दूरी देखाउने मिटरहरू जडान गरेको ता सबैले देखेकै छ । यस्तै एउटा नयाँ मिटरको आविष्कार हुनु आवश्यक छ जुन मिटरले कसले कति बोल्छ त्यसको विवरण सही सही राख्न सकोस् । यसलाई हामीले अंग्रेजीमा स्पिको मिटर र नेपालीमा बतौरे यन्त्र भन्न सक्छौं । यातायातका साधनहरूमा स्पिडो मिटर बनाएर जडान गर्न सकिन्छ भने मैले सुझाएको जस्तो एउटा स्पिको मिटर बनाएर बतौरेहरूका टाउकामा जडान गर्न किन सकिन्न ? स्पिडो मिटरले मिटर, किलो मिटर देखाएझैं स्पिको मिटरले शब्दसंख्या, वाक्य संख्या, अनुच्छेद संख्या र अध्याय आदिका संख्याहरू देखाउन सक्छ । भासने मन्त्रीहरूको थाप्लामा यही स्पिको मिटर जडान गरिनुपर्छ । देशभरि भासन गर्नेहरूको मूल जिम्मा उसैको हुनुपर्छ र यो भासने मिटर उसैले मात्र प्रयोग गर्न पाउनुपर्छ । बिजुली पानीको मिटर रिडरले हिसाब गरेर पैसाको बिल बनाएझैं मन्त्रीका थाप्लामा जडान गरेका स्पिको मिटरको रिडिङ गरेर प्रत्येक मसान्तमा भासने मन्त्रीलाई भासनको पैसो बुझाउनुपर्छ । यस्ता मन्त्रीले भ्रष्टाचार गर्न कम पाउने डरले त्यो मन्त्रालय नै नरोज्लान् र मन्त्रालयका अरु कर्मचारीले झिँगा मात्र धपाइबस्नु पर्ने स्थिति आउन सक्ला । मन्त्रालय फ्लप हुन सक्छ । तर यस मन्त्रालयलाई आकर्षक बनाउने उपाय पनि छ । मन्त्रीले आफ्ना थाप्लाको मिटर झिकेर आफ्नी स्वास्नीको थाप्लामा जडान गर्नासाथ मिटर धडाधड चढ्न थाल्छ । आखिर शब्दसंख्या बढाउनु र मिटर चढाउनु न छ । अनि झर्न थाल्छ पैसो । गलो मात्र साफ राख्नुपर्छ । पैसै पैसो । यसबाट भ्रष्टाचार गर्नु छ भने भान्सामा चिनी, चिया, तेल, आदिको अभाव गरिदिनुपर्छ । अनि भान्साकोठामा मन्त्राणीका अघि यो मिटर तेर्स्याइदिनुपर्छ बस पैसैपैसो झर्न थाल्छ । मिटरले पैसो कस्ने भयो । इज्जत रहने भयो । रूपयाको खोलो बहने भयो । धन्य स्पिको मिटर ! मन्त्राणीको गलो बस्न चाहिं दिनु हुन्न । यदि गलो बसिहाल्यो भने दिनुपर्छ उनलार्य बोझो । अनि उनको घाँटी साफ हुन्छ । अनि चल्छ यो मिटर धडाधड । यसपछि चल्न सक्छ लुछाचुँडी यही मन्त्रालय पाऊँ भनेर ।
यसरी निर्माण गरेको बतौरे मिटरलाई देखेर विदेशबाट पनि माग आउन सक्छ । नोबेल पुरस्कारको चान्स हुन सक्छ । माग अनुसारको निर्यात नर्ग सकियो भने प्रज्ञाप्रतिष्ठान भित्र बसेका भुसतिघ्रेहरूका खजन्तीहरूले पनि केही धन्दापात गर्न पाउने भए । त्यसबापत आउने कमिसन भासने मन्त्रीले हाम गर्न पाउने र डलर पनि आउने ! यो मन्त्रालय लिन कुनै मन्त्रीले मानेन भने साँढेलाई सुमर्दाझैं त्यसलाई समातेर लाइदिनुपर्छ थाप्लामा नउखेलिने गरी यही बतौरे मिटर । अनि उसले रोएकराएको र धतुलाएको कुरा पनि मिटरमा चढेर त्यसको पनि पैसा पाउन थालेपछि उसका नेत्र खुल्नेछन् । तर यो मन्त्रालयमा लाटा गाँडा मन्त्रीहरूको काम छैन । अनि यो मन्त्रालय कुन भन्दा पछि पर्थ्यो ?
अन्तमा भासने मन्त्रीले भासन गर्दा यो मिटर जडान गर्न पाउनुपर्छ, कोइलाखानीका कुल्लीहरूले टाउकामा हेडलाइट जडान गरेजस्तै । महिनाभरिमा कति लिटर भासन बगायो त्यो रिडिङ गरेर उसलाई चुक्ता गर्नुपर्छ । त्यति भएपछि यही मन्त्रालयतर्फ लाग्ने मन्त्रीको हानथाप हुन सक्छ । आकर्षणको मन्त्रालय हुन सक्छ ।
यस्ता यस्ता धेरै समास्याहरू हाम्रा मन्त्रीहरूलाई पर्न सक्छन् । नयाँ नयाँ समस्याहरू पनि जन्मन सक्छन् । समाधान गर्दै जानुपर्छ । जहाँ समस्या त्यहाँ समाधान । कि कसो ?
झापा