“हिँड़िरहने मान्छेलाई नै नयाँ बाटोले पर्खिरहेको हुन्छ। त्यसैले हिँड्न जरुरी छ।” छुदेन काविमोको नयाँ उपन्यास ‘उरमाल’ पढ़िरहँदा उनका यी हरफहरूले सम्झना गरायो भर्खरै दक्षिण भारतसम्म पुगेर फर्किएको। सम्झेको थिएँ फर्किएपछि ‘एउटा यात्रा संस्मरण लेख्छु’। लेख्न तर खै किन हो सकेको छुइनँ। यतिबेला त्यही लेख्न खोज्दैछु।
कहिलेकाहीँ पर्खिरहेको बाटो चिन्न पनि गाह्रो हुँदो रहेछ। एकमहिना हुनलागेछ बेङ्ग्लोरसम्म पुगेर फर्किएको। आफ्नै गाउँघर, शहर-बजार अनि त्योभन्दा थोरै पर मात्रै किन नहोस, अवसर पाउँदा नयाँ-नयाँ ठाउँ पुग्न रमाइलो लाग्छ मलाई।
यसअघि जुलाई 2015-मा पहिलोपल्ट एक्लै पुगेको बेङ्ग्लोर जनवरी 2016-मा सारिका र अस्मितालाई लिएर पुगेको थिएँ। तर, केही लेख्न सकिरहेको थिइनँ। यसटक तेस्रोपटक जाँदा पुरै नौजना थियौँ। “आमाको स्वास्थ्यमा सुधार आएपछि प्रशान्ति निलयम जानुपर्छ है भेना” भनिरहेका थिए झण्डै दुईवर्ष अघिदेखि सागर भाइले। पूर्णिकला बहिनीको पनि त्यही सल्लाह थियो। आमा-बाबा दुवैलाई लिएर प्रशान्ति पुग्ने त्यो सल्लाह पूरा हुनसकेन। यसपटक “बाबालाई लिएर भए पनि जानुपर्छ” भन्ने सल्लाह भयो। त्यसै पनि भाकलै बसेसरह थियो। अन्तमा बाबा गोविन्द राई, सारिका राई, अस्मिति राई, सिद्धी राई, पुर्णिकला, पुर्णिकलाका पापा रुद्रबहादुर मगर, आमा पुष्प मगर, बहिनी रचना मगर र म स्वयं गरेर नौजनाको टोली बनेर हामी 20 जनवरी 2025-को दिन लाग्यौँ बेङ्ग्लोर।
कहिलेकाहीँ सोचेजस्तो हुँदैन रहेछ यात्रा, तर पनि रमाइलो भइदिँदो रहेछ। हामी जानुपर्ने एनजेपी रेलवे स्टेशनबाट सोझै बेङ्ग्लोर। टिकट तर त्यस्तो पाइएन। बल्ल त सबैको समयले साथ दिएको थियो, त्यसैले जसरी भए पनि हामी जाने पक्षमा थियौँ। अन्ततः एनजेपीबाट राजेन्द्र नगर स्टेशन, बिहार, त्यहाँबाट फेरि दानापुर स्टेशन। दानापुरबाट बेङ्ग्लोर जाने अनि फर्किँदा बेङ्ग्लोरबाट हैदरवाद, हैदरबादबाट एनजेपी हुँदै आउने टिकट गरेका थिए सागर भाइले। यस बिचमा जाँदा पटना र प्रशान्ति पुग्नअघि बेङ्ग्लोर सिटी अनि फर्किँदा हैदरवाद गुम्ने समय प्रसस्त पाउने भएका थियौँ। जतिसक्दो घुम्न रुचाउने मेरोलागि भने मनले चाहेजस्तै भैदिएको थियो, किनभने यसबिचमा घुम्नका लागि प्रसस्तै समय पाउने भएका थियौँ।
यतिबेला देश र विदेशसम्म नै चर्चामा थियो प्रयागराजमा चलिरहेको ‘महाकुम्भ मेला’को। महाकुम्भ मेलाको छुट्टै इतिहास छ, आफ्नै विशेषता छ। सरकारले महाकुम्भ यात्रीहरूका लागि रेलसेवा नै उपलब्ध गराएको थियो। त्यही भएर सबैतिरको रेलसेवामा विलम्ब भैरहेको थियो। हामी 20 जनवरीको दिन दिउँसो 3.15-मा रेल चढ्नुपर्ने। समयमा चढ़न पाएनौँ। भोलिपल्ट 4.40 बजी राजेन्द्र नगर रेलवे स्टेशन झप्नुपर्ने। राजेन्द्र नगरबाट फेरि दानापुर पुग्यौँ जहाँबाट रातको 1.45 बजीमात्र रेलको यात्रा गर्नुथियो।
राजेन्द्र नगर, पटना, नालान्दा यी सबै वरिपरिका ठाउँहरू धेरैचोटी पुगिसकेको भए पनि ठ्याक्कै दानापुर मेरो लागि नौलो थियो। सिक्किम-दार्जीलिङ पहाड़को चिसोबाट झरेका हामीले सोचेका थियौँ बिहारका भूभागहरूमा निक्कै न्यानो हुनेछ। तर, एकाबिहानै पुगेका हाम्रा लागि त्यहाँको मौसम हामीले सोचेभन्दा ठीक विपरीत थियो। चारैतिर एकप्रकार हुस्सु लागिरहेको अवस्थामा हामीलाई जाड़ोले निक्कै अत्याएको थियो। अघिबाटै सम्पर्क गरेको थिएँ सबमनलाई, जो स्थानीय बासिन्दा थिइन्। तर स्कूलको पहिलो दिन हुनाले आउन नसक्ने भए पनि फोनमार्फत आवश्यक सुझाउ- सहयोग गरिन्। दीपक मण्डलसँग सम्पर्क गरेँ। कार्यालय जानैपर्ने भएको हुनाले दिउँसो भेट गर्ने बताए। त्यसपछि पुर्णिकला र म होटलको व्यवस्थामा लाग्यौँ। दानापुर स्टेशनको पछिल्लोपटि खगोल जयराम बजारमा होटल पायौँ। दुईवटा कोठा लियौँ। यस ठाउँमा तील कुटेर बनाइने मिठाई निक्कै प्रसिद्ध रहेछ। जता हेर्यो ‘तिलकुट भंडार’ देखिने। तिल कुटिरहेको देखिने। मिठाई बनाइरहेको देखिने। होटलमा सबै सामानहरू राखेर हामी दिनभरिका लागि घुम्न निस्कियौँ।
नयाँ ठाउँमा नयाँ मान्छे हामी। त्यसमाथि पनि पहाड़बाट झरेकाहरूलाई मधेशमा थोरै कठिनाइ हुनेनै भयो। त्यसैले घरी-घरी दीपक मण्डलको सहयोग लिइरहेको थिएँ। उनैको सल्लाहमा हामी सगुना मोड़ हुँदै पुगेका थियौँ ‘पटना जू’। हामी ठूलाहरूका लागि समय कटनी भए पनि त्यहाँ धेरै पशुपंक्षीहरू हेर्न पाएका थियौँ। पटना जूभित्र प्रवेश गर्नेसाथै रङ्गीविरङ्गी फूलहरूले सबैको ध्यानाकर्शन गरेको थियो। हिँड्न नसक्नेहरूका लागि सशुल्क विद्युतीय वाहनको सुविधा पनि रहेछ। सक्नेहरूले पैदल हिँड़ेरै हेरिरहेका थियौँ- ब्याँसो, थरिथरिका भालु, बाङ्गार टाइगर, सेतो बाघ, सिंह, सारस, गिद्ध, लङ्गुर, सुतुरमुर्ग, ठूलाठूला अजिङ्गर, न्याउरी, सेतो मुजुर, जरायो, मृग, शेरपुञ्च बाँदर, जेब्रा, जिराफ, गोही लगायत अन्य धेरै पशु-पंक्षीहरू। यसका साथै ठूलो पोखरी पनि रहेछ, जहाँ नौका विहारको व्यवस्था रहेको भए पनि हामीले भने त्यसमा समय खर्चिन चाहेनौँ।
त्यसपछि हामी लाग्यौँ मेरिन ड्राइभ। चारलाइनको सड़कमार्ग। कुनैपनि वाहनको लागि कुनै समस्या नै थिएन। दायाँबायाँको रमिता हेर्दै सररर गुड़िरहेको अटोले मेरिन ड्राइभ पुराउन कति समय लगायो, कति किलोमिटरको दुरी थियो भन्ने पत्तै पाइएन। गोलचक्करमा उतारिदियो अटोले। त्यसपछि थोरै पैदल हिँड़ेरै गयौँ। गोलचक्कर घुमेर 30 सेकेण्ड अगाड़ि पुराउनु थियो। तर, त्यसो गरे वान-वे भएको हुनाले उनीहरूले पुरै घुम्नुपर्ने बताएपछि हामी त्यहीँ ओर्लिएर दुइमिनट पैदल हिँड़ेर पुग्यौँ मेरिन ड्राइभ। छेवैमा बगिरहेकी थिइन् गङ्गा। गाङ्गाकिनारमा थियो घोड़सवारी। नानीहरूमात्रै होइन, पचास रुपियाँ प्रतिव्यक्ति हामी ठूलाहरूले पनि रमाइलो गर्यौँ।
त्यसपछि हाम्रो निम्ति नयाँ अनुभव थियो गङ्गा किनारको बालुवामा बाइक राइडिङ। बाइक अर्थात एटीभी (अल टिराइन भेहिकल) राइडिङ। दुईजनासम्म सजिलैसित राइड गर्न सकिने चारचक्कै बाइक। भाइकभन्दा पनि चलाउनका लागि स्कुटीसित ठ्याक्कै उस्तै। अनुभवी राइडरले बालुवामा चटक नै देखाए झैँ लाग्ने। तर सारिकालाई पछाड़ि राखेर आफै राइड गरिरहेको मेरो लागि चटक देखाउन सम्भव भएन। रहर हुनेहरूका लागि वाहनहरू पनि राखिएका रहेछन्, जो निक्कै परपरसम्म पुगेर आउन सकिने। तर, हामीले त्यसमा खर्च गरेनौँ। एटीभी राइडको प्रतिव्यक्ति दुईसय तिर्यौँ। हावन चालकहरू पर्यटकहरूको पर्खाइमा थिए, शिवकेशरी, राजेश र अरूहरू। उनीहरूसँग थोरै कुरा गरेपछि हामी लाग्यौँ डुङ्गा सवारीका लागि। मोटरले चल्ने डुङ्गाले 20/25 जना सहजै बोक्नसक्ने भए पनि हामी नौजना चढ्यौँ।
आधिघण्टाको समय लिएर धनञ्जयका भाइ विशालले हामीलाई गाङ्गाको शैर गराएपछि निस्कियौँ प्रतिव्यवक्ति सयरुपियाँ तिरेर। छेवैमा चिया पियौँ, चिसो उस्तै थियो। चिसोलाई तर चुनौति दिइन् अस्मिताले आइसक्रिम चुसेर। गङ्गालाई नाघेर पार गरिरहेको रेल, रेलको माथिल्लो तलाबाट गुड़िरहेको वाहन अनि रेल र वाहनहरू बोकिरहेको दुईतले पुललाई पछि पारेर फोटोहरू उतार्यौँ। बाबाहरूले गङ्गाजल बोक्नुभयो। यतिबेला साय पाँच बजीसकेको थियो। तर, दिउँसो भेट्न आउँछु भन्ने दीपक मञ्डल अहिलेसम्म कार्यालयमै व्यस्त थिए। दिनभरि धेरै ठाउँ घुम्ने, अवलोकन गर्ने भनेर निक्कै लामो सूची तयार गरेर बोकेका थियौँ। तर, साँझ परिसकेको हुनाले फर्कियौँ होटल। राति नौबजीतिर आइपुगेका थिए दीपक मण्डल आफ्नी धर्मपत्नी रत्नालाई साथ लिएर। कहीबेर कुराकानी भयो। पारिवारिक भेट पहिलो जो थियो।
21 जनवरी दिनभरीको घुमघामपछि राति अर्थात 22 जनवरीको 1.45 बजी बेङ्ग्लोरको लागि रेल चढ़िरहेका थियौँ। 24 जनवरीको बिहान बेङ्ग्लोर दिनभरि घुम्ने अनि साँझमा प्रशान्ति जाने अघिबाटै योजना थियो हाम्रो। तर, महाकुम्भ मेलाको कारण देशभरिकै रेलहरू ढिला चलिरहेका थिए। सारिका, अस्मिता र म स्वयंबाहेक सबै प्रशान्ति यात्रामा धेरैपटक पुगिसकेका थिए। सेवादलबाट पनि पुगेसकेका थिए। त्यसैले यस ठाउँमा कहाँ, कतिबेला, कुन गाड़ी, कुन रेल चड़नुपर्ने भन्नेकुराको ज्ञान मलाईभन्दा पुर्णिकला बहिनीलाई थियो। कहाँ पुग्दैछौँ, कतिघण्टा ढिलो छौँ भन्ने कुराको जानकारी हातहातमा भएको मोबाइले दिइरहेकै थियो।
यात्राको एउटा रमाइलो पाटो भनेको नचिनेकाहरूसित-नचिनी नचिन, बिनाठोस कारण नै नजिक हुनसक्नु पनि रहेछ। एनजेपीदेखि राजेन्द्रनग गैरहँदा दुईचारजनासँग त्यस्तै भएको थियो। यता बेङ्ग्लोर गैरहँदा उसरी नै दुई आमाछोरीसित सारिकाको सम्बन्ध निक्कै नजिकिएको थियो। यात्रा पूरा हुन लाग्दा-लाग्दा हो कहिले दाहिनेतर्फ र कहिले देब्रेतर्फ ‘शोले’ हिन्दी सिनेमाकै जस्ता पहाड़हरू देखिन्थे। घरिघरि मैले भिडियो खिचिरहेको देखेर तीनै आमाचाहिँले ‘ये मनमाड़ है, बहोत सुन्दर पहाड़ है’ भनिरहेकी थिइन्। साँच्चै निक्कै आकर्षक देखिन्थे मनमाड़ पहाड़हरू।
जसले हाम्रो टिकटको व्यवस्था मिलाइरहेका थिए, उनको मोबाइल नम्बर सागरले पुर्णिकलालाई दिइसकेको थियो। हाम्रो रेल धेरै नै ढिलो भएको थियो। त्यसैले आफूलाई पनि थाहा नभएका कतिपय कुराहरूका लागि पुर्णकलाले उनैलाई सम्पर्क गरिरहेकी थिइन्। केआरपुरममा ओर्लिने कि यसवन्तपुर? दोधार-दोधारदोधारबिच हामी अचानक यसवन्तपुरमै ओर्लियौँ। दिनभरि बेङ्ग्लोर सिटी घुम्ने रहर अधुरै रह्यो।
हामीलाई सुझाइएअनुसार नै रेलबाट ओर्लनेसाथ मेट्रो पुग्यौँ। मेट्रो चढ़ेर हामी पुग्नुथियो कर्नाकटा स्टेट रोड ट्रान्स्पोर्ट कर्पोरेशन (केएसआरटीसी)। हामीमध्ये धेरैजना पहिलोपटक चड़िरहेका थियौँ मेट्रो। त्यसैले थोरै समस्या त हुनेनै भयो। जब मेट्रो पस्यौँ, पुर्णिकला हाँसेरै सबैलाई तीनछक्क पारिन्। कालेहरूको माझमा हामी मध्यमवर्णकाहरू मध्यम उचाइँकै। उनीहरूको ध्यान त्यसै पनि हामीतिर पर्ने नै भयो, त्यहीमाथि सबैले आ-आफ्नो ब्याग भिरेका थियौँ। पुर्णिकला हास्नुको कारण त पछि पो थाहा भयो- बस्ने सीट खाली थिएन, उभिनलाई राखिएको समाउनेसम्म उसको हातले नभेटेपछि अरू के चाहियो र हाँस्नलाई। हासिदिइन् खित्का छोड़ेर।
केएसआरटीसी पुगेर जानकारी लिँदै टर्मिनल-3 पुग्नुपर्ने रहेछ। समस्या थियो तर भाषाको। हाम्रो कुरा उनीहरूलाई र उनीहरूका कुरा हामीलाई बुझ्नै गाह्रो। शब्द-शब्दको बुझाइसित इशारा-इशारामा टर्मिनल-3 को टिकट काउण्टर खोज्दाको दोहोलो। अघिबाटै यति जानकारी थियो कि 7 बजी अन्तिम बस जानेछ पुट्टापर्ति। अर्थात प्रशान्ति निलायम। टिकट काउण्टर खोजेर लखतरान भएपछि अटो ड्राइभरलाई समायौँ। प्रतिव्यक्ति 10 रुपियाँमा पुर्याइदियो भवहरी गणपति मन्दिरकै छेउमा रहेको ट्राभल्स अर्थात अनलाइन टिकेट बुटिङ काउण्टरमा। यहीबाट देब्रितिर लागेको थियो सुवेदार चक्रम रोड, जुन रोड भएर बस टर्मिनल पुग्न सकिने रहेछ। बल्ल हाम्रो टिकट भयो। ट्राभलरले तर, अटोमा चढ़ाएर टर्मिनल-3 सम्म पटाउने भनेपछि हामी पर्ख्यौँ। बल्ल 7 बजी अटो चढ्यौँ। तर समस्या के भने जुनठाउँमा हामीलाई अटोले छोड़िदियो त्यहाँबाट हामी चड़ने बससम्म पुग्नदासम्म हाम्रो होस-हवासै उड़िसकेको अवस्था थियो। यतिबेला मनमा के लागिरहेको थियो भने आफ्नो भाषा छोड़ेर हिन्दी र अङ्ग्रेजी जान्ने-बुझ्ने भएर मात्रै आफ्नै देशमा पनि भर नपरी रहेछ। हामी जसरी कोही नौलो मान्छेले केही सोधेको अवस्थामा उनीहरूलाई सहयोग गरिरहेका हुन्छौँ, त्यस्तो अरू नहुँदा रहेछन्। हामीलाई ‘7.15 बजी हिँड्छ बस’ भनिएको थियो। तर 7.17 तिर मात्रै हामी पुगेका थियौँ। हामी पुगेको पाँचमिनटपछि मात्रै बसको यात्रा शुरु भयो। अबभने हामी करनाटका राज्यलाई छोड़ेर आन्द्रप्रदेशतर्फ लागिरहेका थियौँ। बल्ल बुझ्यौँ, पहिले नै सोझै बस खोजेर बसेको भए पनि त हुने थिएछ। हामी प्रशान्ति पुगेर बसबाट ओर्लँदा रातको 12.30 बजीसकेको थियो।
राङ्का, गान्तोक, सिक्किम