१. स्रष्टा परिचय
खेमराज पोखरेल समकालीन नेपाली साहित्यका क्षेत्रमा अत्यन्त सक्रिय एवं उर्जावान सर्जक हुन् । उनको जन्म वि.सं. २०१३ भदौ ३ गतेका दिन सप्तरी जिल्लाको कञ्चनपुर नगरपालिका–१२, बस्तीपुरमा आमा दुर्गादेवी पोखरेल एवं बुवा उद्धवप्रसाद पोखरेलका सुपुत्रका रूपमा भएको हो । उनले त्रिभुवन विश्वविद्यालयबाट इतिहास विषयमा एमए गरेको पाइन्छ । खेमराजले लामो समय प्राध्यापन सेवामा रहेर राष्ट्रसेवा गरेको पाइन्छ । वि.सं. २०७३ वैशाखमा सुलेख मासिकको वर्ष ५, पूर्णाङ्क ४४ मा रत्यौली, ठूली कान्छी, झगडा, कलेजको पियन गरेर ४ लघुकथा प्रकाशनसँग लघुकथा प्रकाशनमा प्रवेश गरेका हुन् । उनका हालसम्म प्रकाशित लघुकथा कृतिमा पछ्यौरीको आइसक्रिम (२०७३), दह्रो लौरो (२०७३), सीमानामा आमा (२०७५), राम शाहको चौतारो (२०७५), ईश्वरको मृत्यु (२०७६), श्रीवल्ली (२०७८), एकालाप (२०८१) रहेका छन् । यस बाहेक उनले मोलुंग (२०७३), मदुस (२०७५), संयोग (२०७९) गरेर ३ लघुकथा सङ्ग्रहको सम्पादन गरेका छन् । यस बाहेक उनका कथा, कविता एवं नियात्रासँग सम्बन्धित कृति प्रकाशित छन् । उनको जीवनी, कृतित्व र व्यक्तित्वका विषयमा त्रिभुवन विश्वविद्यालयबाट धनमाया थापाले स्नात्तकोतर तहमा अनुसन्धान कार्य सम्पन्न गरेको पाइन्छ । उनले गोरखापत्र संस्थानद्वारा आयोजित राष्ट्रिय लघुकथा प्रतियोगीतामा तृतीय स्थान प्राप्त गरेका छन् । उनले फेसबुक पेज लघुकथा कुनो, कथाका एडमिनका रूपमा कार्य गरेर लघुकथा एवं कथाको प्रवद्र्धनमा योगदान दिएका छन् । उसले विभिन्न संघसंस्थामा रहेर कार्य गरेको छन् । हाल उनी सान एन्टिनियो, अमेरिकामा बसोबास गर्दछन् ।
२. लघुकथा लेखनमा खेमराज पोखरेल
खेमराज पोखरेलले वि.सं. २०७३ वैशाखमा सुलेख मासिकको वर्ष ५, पूर्णाङ्क ४४ मा रत्यौली, ठूली कान्छी, झगडा, कलेजको पियन गरेर ४ लघुकथा प्रकाशनसँग लघुकथा प्रकाशनमा आफ्नो उपस्थिति दर्ज गराएका हुन् । उनले निरन्तर लघुकथा लेखनमा सक्रिय हुँदै पछ्यौरीको आइसक्रिम (२०७३), दह्रो लौरो (२०७३), सीमानामा आमा (२०७५), राम शाहको चौतारो (२०७५), ईश्वरको मृत्यु (२०७६), श्रीवल्ली (२०७८), एकालाप (२०८१) गरेर सात लघुकथा कृति प्रकाशन गरिसकेका छन् । यसको साथसाथै उनले मोलुंग (२०७३), मदुस (२०७५), संयोग (२०७९) गरेर ३ लघुकथा सङ्ग्रहको समेत सम्पादन गरेका छन् । यस लेखमा स्रष्टा खेमराज पोखरेलको लघुकथात्मक प्रवृत्तिको विश्लेषण गरिने छ ।
२.१ राजनीतिक विषयक लघुकथा
लघुकथाकार खेमराज पोखरेलका लघुकथामा राजनीतिक विषयसन्दर्भलाई प्रमुखताका साथ प्रस्तुत गरिएको पाइन्छ । पोखरेलको पछ्यौरीको आइसक्रिम (२०७३) लघुकथा कृतिमा रहेका मगन्ते, बसाहा थान, आफ्नो मान्छे, बुधन ज्यादव, ह्वीप जारी छ, भ्यागुतोको धार्नी लघुकथामा राजनीतिक विषयसन्दर्भको प्रस्तुति पाइन्छ । यी लघुकथामा विदेशबाट सहयोग लिने सरकारलाई मगन्तेसँग तुलना गरिएको, देश अखण्ड हुनुपर्ने भावको प्रस्तुति, राजनीतिका कारण आफ्नै मानिस पनि विरोधी भएको अवस्थाबोध, नेताको विरोध गर्दा जेल पुगेको विपन्न नागरिकको व्यथा, बन्दका बेला जनताले भोग्नुपरेको सास्तीको चित्रण, भारतले नाकाबन्दी लगाएको समयमा भएको इनधनको अभावको चित्रण गरिएको छ । यस कृतिमा रहेका राजनीति विषयक लघुकथामा विदेशबाट अनावश्यक सहयोग लिन नहुने, देशमा संघीयता महँगो भएको, राजनीतिले आफन्त पनि बिरानो भएको, राजनीतिक नेताको असहिष्णुता, बन्दका बेला जनताले दुःख पाएको, नेपाली जनताले नाकाबन्दीका बेला कष्ट पाएको स्थिति चित्रण गरिएको छ । लघुकथामा तत्कालीन राजनीतिक अवस्थाप्रति लेखकले आफ्नो दृष्टिकोण प्रस्तुत गरेका छन् । खेमराज पोखरेलको दह्रो लौरो (२०७३) कृतिको यात्रा लघुकथामा देशको दुरावस्थाप्रति चिन्ता व्यक्त गरिएको छ । पोखरेलकै राम शाहको न्याय (२०७५) लघुकथा कृतिमा रहेका छोराको सालिक, लगौंटी, हुँडार, मुर्दारहरू, पागल कारखाना, राजनीतिको सूत्र, जीवन मरण लघुकथामा राजनीतिक विषयसन्दर्भको उठान गरिएको छ । उनका लघुकथामा राजनीतिप्रति जनताको वितृष्णा, सिँहदरबारले नियम र कानुनको लगौँटी मात्र लगाएको विचार, आर्थिक लोभका कारण भ्रष्टाचारी बनाएको अवस्थाबोध, नेतालाई जनतालाई दुःख दिने खलासीसँग तुलना गरेको, सिंहदरबार पागल कारखाना सरह भएको विचार, आफै जनता मारेर आँसु बगाउन जाने नेता प्रवृत्तिको चित्रण, नेताको गलत काम प्रति प्रश्न गर्ने कार्यकर्ताको कार्य आएको छ । यी लघुकथामा राजनीतिप्रति वितृष्णाका साथै राजनीतिक नेतृत्ववर्गका कार्र्यप्रति आलोचना भाव आएको छ । उनको सीमानामा आमा (२०७५) कृतिमा रहेका धुँवा, न्यू इयर हेमोलेशन, होरी, षडयन्त्र, मतदाता लघुकथामा राजनीतिक विषयले प्रधानता पाएको छ । यी लघुकथामा आन्दोलनमा मरेका मानिसको पैसा नदिने सरकारको कार्यको आलोचना, आश्वासन दिने काम नगर्ने प्रवृत्तिको विरोध, एक बालकले भनाइ र गराइप्रति फरकपनाप्रति प्रश्न उठाएको प्रसंग, राजनीतिमा मित्र भएको मानिस पनि शत्रु हुन सक्ने यथार्थबोध, विपन्न मतदाताले निर्वाचनका बेला आर्थिक लाभ खोज्ने प्रवृत्तिलाई प्रस्तुत गरिएको छ । यी लघुकथामा राजनीतिक विकृति, विसंगतिको विरोध, संसदीय राजनीतिका सीमाको चित्रण, अभावका कारण मानिसको स्वाभिमान हराएको अवस्थाको चित्रण आएको छ ।
खेमराज पोखरेलको ईश्वरको मृत्यु (२०७६) लघुकथा कृतिमा रहेका धुन्धकारी, माग्नेहरू, कायाकैरन लघुकथामा राजनीतिक विषयसन्दर्भलाई अघि सारिएको छ । उनका यी लघुकथामा राजनीतिक नेताको धुन्धकारी चरित्रको आलोचना, भिखारी जसरी नेताले पनि जनतालाई ठग्ने कार्य गरेको विचार, संघीयताको विरोध प्रस्तुत भएको छ । उनको श्रीवल्ली (२०७९) लघुकथा कृतिमा रहेका देशभक्त पार्टी, क्रान्तिको हत्या, टुँडिखेल लघुकथामा राजनीति विषयको प्रस्तुति पाइन्छ । यी लघुकथामा राजनीतिक पार्टीको आश्वासनमुखी चरित्र, पैसाका बलले जितेको नेताले विरोधी उम्मेदवार पनि खरिद गरेको प्रसंग, राजनीतिक पार्टीहरूको झैझगडालाई प्रस्तुत गरिएको छ । पोखरेलको एकालाप (२०८१) लघुकथा कृतिमा रहेका एक लास, एक गद्दार, एक रङ्ग, एक मुक्ति रचनामा राजनीतिक विषयको उठान गरिएको छ । यी लघुकथामा देशमा लास थुपार्ने काम मात्र भएको, राजनीतिक नेता लासको थुप्रो भएको विचार व्यक्त भएको छ । आफ्नो राजनीतिक कार्यकर्ता बोहक अन्य नागरिकको उद्दार नगर्ने राजनीतिक कार्यकर्ता मनोविज्ञान, नेपालमा राजनीतिक नेता तथा कार्यकर्ता सबैमा देशप्रति चिन्ता नभएको, झर्ला र खाउँला भनेर पर्खेर बसेको दृष्टिकोणका साथै बन्दुकबाट साँचो मुक्ति नहुने विचार आएको छ । यस कृतिमा रहेका लघुकथामा राजनीतिक नेताकार्यकर्ताको असहिष्णु चरित्र, राष्ट्रहितप्रतिको उपेक्षा, देशको दोहन गर्नमा प्रतिस्पर्धा, बन्दुकबाट परिवर्तन नहुने विचारको प्रस्तुति पाइन्छ ।
२.२ सामाजिक विषयक लघुकथा
स्रष्टा खेमराज पोखरेलका लघुकथामा सामाजिक विषयसन्दर्भलाई प्रमुखताका साथ प्रस्तुत गरिएको पाइन्छ । उनको पछ्यौरीको आइसक्रिम (२०६३) लघुकथा कृतिमा रहेका आमाको अर्घेलो, पढाइ, पञ्चेती, ओल्ड केयर सेन्टर, काठमाडौं देखि काठमाडौंसम्म, यो पनि धर्म लघुकथामा सामाजिक विषयसन्दर्भको प्रस्तुति पाइन्छ । यी लघुकथामा आमालाई गलत सम्झेकामा सही व्यवहार देख्दा धारणा परिवर्तन भएको अवस्था, आफ्नै शिक्षित छोरीलाई अपहेलना गर्ने बाबुको क्रियाकलाप, घरमा हिंसा गर्ने पुरुषलाई श्रीमतीले परित्याग गरेको स्थिति, छोराछोरीको बेवास्ता सहन नसकेपछि ओल्ड केयर सैन्टरमा गएको अवस्था, नाकाबन्दीका बेला ग्यासमा भएको दलाली कर्मको प्रस्तुति, भूगोलभन्दा भावना ठूलो भएको विचार प्रस्तुत भएको छ । लघुकथामा समाजमा परिवारभित्र हुने असमान व्यवहारलाई प्रस्तुत गरिएको छ । मानवीय संवेदनाका विविध रुपका साथै समाजमा नाफाखोरीका कारण जनताले दुःख पाएको अवस्था चित्रण भएको छ । पोखरेलको राम शाहको न्याय (२०७५) लघुकथा कृतिमा रहेका ज्योतिषी बाजे, साबुन पानी, हुँडार, भुकम्प र तारो, बाथरुम सफा गर्ने भाइ लघुकथामा सामाजिक विषयको प्रस्तुति पाइन्छ । यी लघुकथामा केही ज्योतिषीले झुठो बोलेर आर्थिक लाभ लिने गरेको, समाजमा बालश्रम विद्यमान रहेको, आर्थिक आकांक्षा बढ्दै जाँदा लोभ बढेको अवस्था, समाजमा परनिन्दा गर्ने प्रवृत्ति रहेको, विदेशमा श्रमपूर्ण कार्य गरेर स्वदेशमा आफ्नो भौतिक अवस्था सम्पन्न बनाउने भाइ पात्रको चित्रण गरिएको छ । लघुकथामा समाजमा मानिसले आफ्नो लाभका लागि झुठ, फरेबपूर्ण कार्य गर्ने गरेको, भ्रष्टाचारका साथसाथै परनिन्दा गर्ने गरेको अवस्थाबोध गरिएको छ । विदेशमा तल्लो स्तरको श्रमपूर्ण काम गर्ने मानिसले स्वदेशमा आएर आफ्नो आर्थिक अवस्था सुधारेको प्रसंगलाई अघि सारिएको छ ।
दह्रो लौरो (२०७३) लघुकथा कृतिमा रहेका खोइ किन हराएँ, आमा भएको भए बुद्धिजीवी, भँडुवी, बालश्रम हो, बालश्रम होइन लघुकथामा सामाजिक विषयसन्दर्भको प्रस्तुति पाइन्छ । यी लघुकथामा आफ्नो घरप्रतिको घरबेटी महिलाको भावनात्मक संवेदना, दिवंगत आमाको सम्झना, बुद्धिजीवीको विभाजनमुखी चरित्र, विवाहित महिलाले आफ्नो भाइको घर भाँड्न खोज्दा हप्काइ पाएको, सहरमा बालश्रम अन्त्यको गोष्ठी भएपनि उचित व्यवस्थापन गर्ने कुरामा गैरसरकारी संस्था, सरकार जिम्मेवार नभएको विचार व्यक्त गरिएको छ । उनको श्रीवल्ली (२०७६) लघुकथा कृतिमा रहेका ज्ञान, अनुत्तरित प्रश्न, भर्ना, महालोग्ने, ट्यापे, देवता, जात, फाटेको जुत्ता लघुकथामा सामाजिक विषयसन्दर्भको प्रस्तुति पाइन्छ । यी लघुकथामा धनीभन्दा गरीब मानिसले बढी माया गर्ने, पुरुषभन्दा महिलामा संवेदनाभाव बढी भएको विचार, अशिक्षाका कारण गरीबी विद्यमान रहेको अवस्था, वृद्धाश्रममा रहेका वृद्ध महिलापुरुषको प्रेम र विवाह, छोरीको मायाले लागुपदार्थ सेवनकर्ता सुध्रेको अवस्थाबोध, मूर्ति बनाउने मानिसप्रति जातीय भेदभाव, जातीय भेदभावको प्रतिकार, समाजमा कुनै न कुनै किसिमको अन्धविश्वास कायम रहेको अवस्था चित्रण गरिएको छ । यस कृतिमा रहेका लघुकथामा समाजमा अन्धविश्वास, गरीबी, अभाव, प्रेम, भेदभाव कायम रहेको अवस्था विद्यमान छ । यी लघुकथामा समाजमा गलत चिन्तन एवं कार्यका विरुद्धमा सामाजिक चेतना पनि विद्यमान रहेको यथार्थ प्रस्तुत गरिएको छ ।
स्रष्टा खेमराज पोखरेलको सीमानामा आमा (२०७५) कृतिमा सामाजिक सन्दर्भको प्रस्तुति छ । उनका संस्कारी, गुनासो, घन्टी, ज्यामी, माङ्गलिक, जोइटिङ्ग्रे, अर्धपागल, माया, फुस्की, कर्नेल बा, हजुरबाको श्राद्ध लघुकथामा सामाजिक जनजीवनका विभिन्न घटनाको प्रस्तुति पाइन्छ । यहाँ प्रस्तुत लघुकथामा अन्धविश्वासका कारण जीवनमा सफल हुन नसकेको, समाजमा सम्पति भएकी र इज्जत भएकी बुहारी एकै पटक खोज्ने विरोधाभासपूर्ण कार्य भएको अवस्थाबोध, समाजमा नारी उत्पीडन कायम रहेको, एक कामदारले काम छोडेपछि आफ्नै घर पनि बिरानो बन्न पुगेको अनुभूति, राजनीतिक नेतामा विचार र सामाजिक व्यवहारबिचमा भिन्नता रहेको, समाजमा परनिन्दा गर्ने प्रवृत्ति रहेको, इमान्दार मानिस पागल भएको, छोराछोरी भन्दा आमाको माया बढी गाढा हुने गरेको, पशुपतिमा हुने भ्रष्टाचारको विरोध, वृद्ध जीवनको विवशता, पितृ सम्झना आएको छ । यी लघुकथामा सामाजिक अन्र्तविरोध, नारी उत्पीडन, कामदार पीडा, वृद्ध जीवनको विवशता, समाजमा इमान्दारले बाँच्न गाह्रो भएको, समाजमा परनिन्दा कायम भएको, वृद्ध जीवनको विवशताका साथै पितृ सम्झनालाई प्रस्तुत गरिएको छ । उनको ईश्वरको मृत्यु (२०७६) लघुकथामा सामाजिक सन्दर्भको प्रस्तुति पाइन्छ । उनका गणेशको गद्दी, बहुरुपिया, झरेका ताराहरू, खोलको करामत, एम्बुलेन्सको साइरन, नवकन्या, सौतेनी माम्लो, काकीको पुर्नविवाह, भातैका कुरा, परमयात्रा, पत्नीपीडित, कसको दोष ?, समानता लघुकथामा सामाजिक विषयसन्दर्भलाई प्रस्तुत गरिएको छ । यी लघुकथामा चाकरी गर्नेको शीघ्र प्रगति भएको, समाजमा बहुरुपिया सहज किसिमले टिक्ने गरेको, बाल मनोविज्ञानको प्रस्तुति, मानिस आवरणमा बाँचेको, बन्दका बेलामा एम्बुलेस र बिरामीलाई पनि दुःख दिने आन्दोलनकारी कार्य, गर्भमा भएकी छोरी मारेर नवकन्याको पूजा गर्ने कार्य, जतिसुकै राम्रो व्यवहार गरे पनि सौतेनी आमालाई आरोपित गर्ने सामाजिक मनोविज्ञान, महिलाका लागि विवाह सुरक्षा बन्धन भएको विचार, काम नगरेर खाने प्रवृत्तिको आलोचना, पत्नी मरेपछि विवाह गर्ने पुरुष, समाजमा गलत चिन्तन हावी भएको अवस्थाबोध, महिलाको दोष मात्र देख्ने समाज, घरमा महिलाले सबै काम गर्ने पुरुष सुतेर बस्ने प्रवृत्तिलाई प्रस्तुत गरिएको छ । लघुकथामा समाजमा चाकरीजन्य गतिविधि, परनिन्दा, छिद्रान्वेषी प्रवृत्ति, कमजोरलाई हेप्ने कार्य, नारीमाथिको उत्पीडनलाई प्रस्तुत गरिएको छ । पोखरेलको एकालाप (२०८१) लघुकथा कृतिमा रहेका एक सूर्य, एक डस्टबिन, एक सिर्जना, एक चश्मा, एक रगत, एक अट्टहास, एक अस्तित्व लघुकथामा सामाजिक विषयसन्दर्भको प्रस्तुति पाइन्छ । यी लघुकथामा असल मानिएको छोराले बाबु धम्काउने कार्य गरेको, बुढाबुढीलाई डस्टबिन मान्ने र बुढाबुढी भएको घरमा विवाह गर्न नचाहने युवती प्रवृत्ति, मानिसको दोहरो चरिबको आलोचना, बुढी मानिसले चश्मा लगाएपछि बेथिति मात्र देखेको अवस्था, विभेदविरोधी स्वरको प्रस्तुति, विदेशमा गएर गाईको मासु नखाएको अवस्था, नारी अस्तित्वको चेतना आएको छ । यस कृतिमा रहेका लघुकथामा पारिवारिक असन्तुलन, मानिसको दोहरो चरित्र, विभेदविरोधी चेतना, सांस्कृतिक सचेतता आएको छ ।
२.३ विदेशी भूमिको जीवन प्रस्तुत भएका लघुकथा
लघुकथाकार खेमराज पोखरेलका लघुकथामा नेपाल बाहिरका नेपालीको जीवन प्रस्तुत भएको छ । उनको पछ्यौरीको आइसक्रिम (२०७३) मा रहेका भूतपुर्व नेपाली, गर्लफ्रेन्ड, मुग्लानियाँ लघुकथामा देशबाहिरका नेपालीको जीवन आएको छ । यी लघुकथामा आर्थिक बाध्यताले विदेश जान पुगेका नेपालीको अवस्थाबोध, नेपालमा भन्दा विदेशमा फरक खाने चलन रहेको अवस्था, सन्तान विदेश गएपछि काम लाग्दैनन् भन्ने सोच आएको छ । यहाँ प्रस्तुत लघुकथामा मानिसका बाध्यता, सांस्कृतिक विभिन्नता एवं भौगोलिक दुरीले मानिसको सम्बन्ध प्रभावित गर्ने चिन्तनलाई प्रस्तुत गरिएको छ । उनको राम शाहको न्याय (२०७५) लघुकथा कृतिमा रहेका स्वतन्त्रताको कुरो, चश्मा, धनीको दशैं, भाग्यमानी, आमाको बिहेभोज, विकासे खेती, गाडीमान्छे लघुकथामा नेपालबाहिरका नेपालीको जीवन आएको छ । यस कृतिमा रहेका लघुकथामा विदेशी भूमिमा छाडापना रहेको अवस्थाबोध गर्ने नेपाली, विदेशमा छोरानाति पुस्ताले अघिल्लो पुस्तालाई हेपेको अवस्था, विदेशमा गएर आफनो संस्कृति भुल्ने नवपुस्ताको प्रवृत्ति, छोराछोरी विदेशमा भएका बाबुआमा पुस्ताको नेपालमा एक्लोपनाले ग्रसित भएको, विदेशमा साठी वर्षमा पनि बिहे गरेको देख्दा अनौठो मान्ने प्रवृत्ति, विदेशी भूमिमा मानिसको योग्यता भन्दा मन पराएर बिहे गर्ने चलन, ठूलो शहरमा मानिस यन्त्रमानव भएको अवस्था प्रस्तुत भएको छ । खेमराज पोखरेलको ईश्वरको मृत्यु (२०७६) लघुकथा कृतिमा रहेका प्लेनको टिकट, गाडीघर लघुकथामा नेपालबाहिरको समाज आएको छ । यहाँ प्रस्तुत लघुकथामा विदेश गएर फर्कँदा बाबुको मृत्यु भएको पीडादायी क्षणको प्रस्तुति, अमेरिकामा भिखारीसँग पनि गाडी भएको अवस्था देखेको प्रसंग प्रस्तुत गरिएको छ । उनकै श्रीवल्ली (२०७९) कृतिमा रहेका बन्देज, छोराको घर, खत लघुकथामा विदेशी भूमिका प्रसंग पाइन्छन् । यी लघुकथामा विदेशी महिलाले प्रेममा दोहरो चरित्र देखाएको, विदेशमा छोराको घरमा बस्ने अपराध सरह भएको, विदेशमा बच्चा कुटन नपाइने अवस्था चित्रण गरिएको छ । उनको एकालाप (२०८१) कृतिमा रहेका विदेशी जीवनका लघुकथा पाइन्छन् । यस किसिमका लघुकथामा एक एम्बेसडर, एक राष्ट्रियता, एक पुल, एक अप्सन, एक राजनीति रहेका छन् । यी लघुकथामा नेपालका आएका केही विदेशीले नेपालको गलत प्रचार गर्ने गरेको, अमेरिकामा रहेका विभिन्न देशका मानिसबिच आत्मीय सम्बध स्थापना भएको, अमेरिकामा पुलमुनि बसेर भिख माग्ने मानिसले समेत मेरो देश महान भन्ने गरेको, अमेरिका जान विवाह गर्ने नेपाली महिला, नेपाली मानसिकताबाट मुक्त हुन विदेशमा रहेकी महिलाले पारपाचुके गरेको घटनाको प्रस्तुति पाइन्छ । यी लघुकथामा विदेशी नागरिकको नेपालप्रतिको नराम्रो दृष्टि, विदेशी भूमिमा भएका विभिन्न देशका नागरिकको आत्मीयता, सम्पन्न देशमा भिखारीले पनि देशलाई महान भन्ने गरेको प्रसंग, विदेश जाँदा सुरक्षाका लागि विवाह गर्ने नेपाली महिला, विदेशमा गएर नेपाली मानसिकताबाट मुक्त हुन पारपाचुके गर्ने महिलाको गतिविधिलाई देखाइएको छ ।
२.४ भाषा, साहित्य, संस्कृति, पत्रकारिता, शिक्षा एवं स्वास्थ्यसँग सम्बन्धित लघुकथा
स्रष्टा खेमराज पोखरेलका लघुकथामा भाषा, साहित्य, पत्रकारिता, शिक्षा एवं स्वास्थ्यलाई लेखनको विषयवस्तुका रूपमा चयन गरिएको छ । उनको पछ्यौरीको आइसक्रिम (२०७३) लघुकथा कृतिमा रहेका बट्टाको सिन्दूर लघुकथामा लेखकले यौन हिंसा गर्ने गरेको घटनालाई प्रस्तुत गरिएको छ भने वाह लेखक लघुकथामा पत्रकारले आर्थिक लाभ लिएर मात्र लेख्ने गरेको प्रसंगलाई प्रस्तुत गरिएको छ । यस कृतिमा साहित्य एवं पत्रकारिता क्षेत्रका विकृतिलाई प्रस्तुत गरिएको छ । उनको दह्रो लौरो (२०७३) लघुकथा कृतिमा रहेको ठूलीकान्छी लघुकथामा काठमाडौं बाहिरको शिक्षा कमजोर भएकोमा महिला विद्यार्थीको आक्रोश, जिम्मेवार वर्गको लापरवाहीलाई सशक्क्त किसिमले प्रस्तुत गरिएको छ । पोखरेलको सीमानामा आमा (२०७५) कृतिमा रहेका प्रज्ञा लघुकथामा शब्दका अनेक अर्थ हुने र सन्दर्भ अनुसार अर्थ हुने विचार व्यक्त गरिएको छ । घाँडो लघुकथामा कमजोर विद्यार्थीले पैसा लिएर शोधपत्र लेखाउने गरेको प्रसंगलाई प्रस्तुत गरिएको छ । ईश्वरको मृत्यु (२०७६) लघुकथा कृतिमा रहेका साहित्यको पनि दिन लघुकथामा साहित्यिक कार्यक्रममा साहित्यको उपेक्षा गरेको स्थिति प्रस्तुत गरिएको छ । भ्यालेन्टाइन डे लघुकथामा फरक संस्कृतिको अनुभव गरेको प्रसंग आएको छ । भ्रुण लघुकथामा भ्रुणहत्याको विरोध गरिएको छ । पङ्खा लघुकथामा निजी शिक्षण संस्थाले धनीमानी अभिभावकको पक्ष लिने र शिक्षकलाई हेप्ने कार्य गरिएकोमा चिन्ता व्यक्त गरिएको छ । उनको श्रीवल्ली (२०७९) लघुकथामा रहेका प्रतिशत लघुकथामा गौण विषयलाई प्राथमिकता दिने साहित्यकारको आलोचना गरिएको छ । मातृभाषा प्रेम लघुकथामा सिद्धान्त र व्यवहारबिचको फरकलाई प्रस्तुत गरिएको छ । उनको एकालाप (२०८१) लघुकथा कृतिमा रहेको एक अट्टहास लघुकथामा फरक संस्कृति भएको ठाउँमा आफूलाई सहज नठानेको प्रसंगको प्रस्तुति पाइन्छ । लघुकथामा विदेशमा गएर गाईको मासु खान नसक्नु नेपालमा गाईलाई आमा समान ठान्ने संस्कृतिको प्रभावका कारण उत्पन्न मानसिक मनोदशाका कारण उत्पन्न भएको हो ।
२.५ आधुनिक संस्कृतिसँग सम्बन्धित लघुकथा
स्रष्टा खेमराज पोखरेलका लघुकथामा आधुनिक संस्कृतिसँग सम्बन्धित विषयवस्तुको प्रस्तुति पाइन्छ । स्रष्टा पोखरेलको दह्रो लौरो (२०७३) कृतिमा रहेका बिहेको तयारी, बिजुलीको भात, दह्रो लौरो, होली रे, वास, झुर मामु लघुकथामा आधुनिक संस्कृतिसँग सम्बन्धित लघुकथा रहेका छन् । यी लघुकथामा पुरानो पुस्ताका बाबुभन्दा नयाँ पुस्ताकी छोरी धेरै चलाख भएको, वृद्ध दम्पतिको नयाँ पुस्ताले बेवास्ता गर्दा एक्लो जीवन बाँच्नुपर्ने अवस्था सिर्जना भएको, नयाँ पुस्ताले भौतिकतालाई ध्यान दिएको, बाबुआमाको खासै वास्ता नगरेको, होली खेल्न नदिने बाबुआमा विरुद्ध सन्तानले विद्रोह गरेको, बुढा आमाबाबु काठमाडौं आउँदा छोराबुहारी दुःखी बनेका, आफू केटी साथीसँग भएको बेला छोराले आमाको फोन नउठाएको घटना आएको छ । लघुकथामा पुस्तान्तरणसँगै मानिसको सोच एवं दृष्टिकोणमा आएको भिन्नतालाई प्रस्तुत गरिएको छ । उनको राम शाहको न्याय (२०७५) लघुकथा कृतिमा रहेका बाउको माया, नयाँ प्रेमिका र स्वास्नी, क्यासिनो जिन्दगी, व्यक्तिगत सूचना, आमाको बिहे लघुकथामा आधुनिक संस्कृतिको प्रभाव पाइन्छ । यी लघुकथामा साथीभाइलाई होटलमा खुवाउने तर पशुपतिनाथमा बाबुको श्राद्ध गर्ने छोराको कार्य, विवाहित मानिसले घरबाहिर पनि सम्बन्ध राख्ने प्रवृत्ति, श्रीमती पोइल गएपछि क्यासिनोमा व्यस्त हुने श्रीमानको कार्य, स्वदेशमा पढन नपाएपछि विदेश पलायन, सासु नभएका घर बिहे गर्न खोज्ने युवती प्रवृत्ति आएको छ । उनको सीमानामा आमा (२०७५) लघुकथा कृतिमा रहेका खोइ उत्तर ? उल्टो, ढाँट, नयाँ वर्ष, अमरलना, दशैको आशिष, चुरोटको सर्को लघुकथामा आधुनिक संस्कृतिसँग सम्बन्धित विषयवस्तु प्रस्तुत भएको छ । गाउँमा बस्ने आमाबुवाको बेवास्ता गर्ने शहरी छोराछोरी, बूढा बाबुलाई काममा लगाएर मोज गर्ने छोराछोरी, आमालाई मुश्किलले फोन गर्ने वास्ता नगर्ने छोराछोरी, वृद्ध मानिसको एक्लोपना, विदेशिएको छोराले घर आउन नमानेको, नयाँ पुस्ताको स्वार्थीपना, आमाबाबुको खराब बानी छोराछोरीमा सर्ने गरेको पात्रको अवस्था एवं घटनालाई प्रस्तुत गरिएको पाइन्छ ।
खेमराज पोखरेलको ईश्वरको मृत्यु (२०७६) कृतिमा रहेका पर्चपखान, दोबाटाहरू लघुकथामा आधुनिक संस्कृतिको चित्रण छ । यी लघुकथामा गाउँमा पाहुनाको स्वागत हुने तर सहरमा बेवास्ता हुने स्थिति चित्रण गरिएको छ । विवाहलाई सस्तो बनाउने र विवाह गर्दै छोडपत्र गर्दै अनि पुनः विवाह गर्ने आधुनिक युवायुवतीका कर्मलाई प्रस्तुत गरिएको छ । श्रीवल्ली (२०७९) लघुकथामा रहेका बिहे लघुकथामा आधुनिक संस्कृतिसँग सम्बन्धित विषयवस्तु आएको छ । आफ्नो छोराले समलैंगिक विवाह गरेको नदेख्ने तर जेठानको छोराले मुस्लिम केटीसँग विवाह गरेकोमा चिन्ता गर्ने पात्रको अवस्था चित्रण गरिएको छ । लघुकथामा आफ्नो मान्छेले गरेको कार्यलाई बेवास्ता गर्ने तर अरुले गरेको कार्यप्रति टिप्पणी गर्ने मानवीय प्रवृत्ति प्रस्तुत भएको छ ।
२.६ धर्म, न्यायकानुन एवं प्रशासन क्षेत्रसँग सम्बन्धित लघुकथा
लघुकथाकार खेमराज पोखरेलका लघुकथामा धर्म, न्यायकानुन एवं प्रशासन क्षेत्रका घटनाको पनि प्रस्तुति पाइन्छ । उनको दह्रो लौरो (२०७३) कृतिमा रहेको मूर्तिको दोषमा धार्मिक आस्था अभिव्यक्त भएको छ । पोखरेलको ईश्वरको मृत्यु (२०७६) लघुकथामा रहेको ईश्वरको मृत्यु लघुकथामा आध्यात्मिक चेतनालाई प्रमुखता दिइएको छ । उनको श्रीवल्ली (२०७९) लघुकथा कृतिमा रहेका घुस, भोकमा पनि धार्मिक विषयको प्रस्तुति पाइन्छ । घुस लघुकथामा मन्दिरमा पनि घुस माग्ने पुजारीको कर्मलाई प्रस्तुत गरिएको छ भने एक गरीब बालकका लागि धार्मिक कर्मभन्दा भोक ठूलो भएको विचार आएको छ ।
स्रष्टा खेमराज पोखरेलको दह्रो लौरो (२०७३) लघुकथामा रहेका जुँघे हवल्दार, ब्लकिया लघुकथामा प्रहरी प्रशासनका क्षेत्रका विषयवस्तुको प्रस्तुति पाइन्छ । जुँघे हवल्दार लघुकथामा प्रहरीका माथिल्लो तहका हाकिम भ्रष्ट भए पनि तल्ला तहका प्रहरी इमान्दार हुने विचार व्यक्त गरिएको छ । ब्लकिया लघुकथामा ससाना चोर समातिएपनि ठूला तस्कर बच्ने गरेको विडम्बनापूर्ण स्थितिलाई वर्णन गरिएको छ । उनको राम शाहको चौतारो (२०७५) लघुकथा कृतिमा रहेको राम शाहको चौतारो लघुकथामा न्यायकानुन विषयको प्रस्तुति पाइन्छ । यस लघुकथामा वर्तमानमा न्याय हराएको अवस्थाबोध गरिएको छ । पोखरेलको श्रीवल्ली (२०७९) लघुकथा कृतिमा रहेको टेबुलमुनि लघुकथामा एकातिर कर्मचारीको विरोध गर्ने अर्कोतिर घुस दिने मानिसको दोहरो चरित्रलाई प्रस्तुत गरिएको छ । पोखरेलकै ईश्वरको मृत्यु (२०७६) लघुकथा कृतिमा रहेका सिष्टम, कमीशन लघुकथामा पनि प्रशासन क्षेत्रका घटनालाई प्रस्तुत गरिएको छ । सिष्टम लघुकथामा सेवाग्राहीको रेकर्ड बिगारेर पैसा खाने कर्मचारीको कार्य आएको छ । कमीशन कथामा कार्यालयको सामान खरिद गर्ने बेलामा कमीशन खाने कर्मचारीको भ्रष्ट चरित्रलाई उदांगो गरिएको छ । यसरी स्रष्टा खेमराज पोखरेलका लघुकथामा आध्यात्मिक चेतनाको प्रस्तुति, धर्मका नाममा घुस खाने प्रवृत्ति, आस्थाभन्दा भोक ठूलो भएको विचार व्यक्त गरिएको छ । प्रहरीका माथिल्लो तहका कर्मचारी इमान्दार नभएको, समाजमा साना चोर मात्र पक्रिने गरेको, कर्मचारी वर्गलाई घुस खान प्रेरित गर्ने बिचौलिया वर्ग हावी रहेको, सरकारी सामग्रीको खरीदमा घोटाला हुने गरेको तथ्यलाई प्रस्तुत गरिएको छ ।
२.७ यौन विषयक लघुकथा
लघुकथाकार खेमराज पोखरेलका लघुकथामा यौन विषयलाई विशेष स्थान दिइएको पाइन्छ । उनको पछ्यौरीको आइसक्रिम (२०७३) लघुकथा कृतिमा रहेका दोकाने साहुनी, कवियत्री, लोग्नेमान्छेका आँखा, नगरबधु, छोटो स्कर्ट, घरबेटी बुहारी, कान्छी साहुनी लघुकथामा यौनलाई विषयवस्तु बनाइएको छ । यी लघुकथामा यौनकर्मी महिलाले सामाजिक अवरोध पछि ठाउँ छोडेको अवस्था, बाहिर समाजमा यौनलाई छाडा भने पनि लुकेर यौन साहित्य पढ्ने सामाजिक प्रवृत्ति, पुरुषले जहिले पनि महिलालाई कामुक नजरले हेर्ने गरेको, समाजमा यौन कर्मले निरन्तरता पाइरहेको, मानिसको पहिरनभन्दा हेर्ने दृष्टिले अश्लीलता बढाउने गरेको, यौन आकांक्षा पुरा नहुँदा टाढा हुने महिला पात्र, माइती जस्तो ठानेको पुरुषले यौन आकांक्षा राखेको अवस्था आएको छ । यी लघुकथामा हाम्रो जस्तो बन्द समाजमा यौनलाई हेर्ने दृष्टि संकुचित भएको विचार व्यक्त गरिएको छ । समाजमा मानिसमा यौन आकांक्षा भएपनि त्यस्तो सहज परिपूर्ति नहुँदा त्यसले विभिन्न समस्या उत्पन्न गर्ने विचार व्यक्त गरिएको छ । विपन्न महिलाले आर्थिक अभावका कारण यौन कर्ममा सहभागी हुने गरेको, पुरुषको कामुक नजरबाट बच्न नसकेको अवस्थाबोध गरिएको छ । लघुकथामा यौनका विषयमा पुरुषले जतिसुकै कुकर्म गरेपनि समाजले केही नभन्ने तर महिलाको अलिकति दोष देखिए पनि समाजिक प्रताडना दिइने प्रवृत्तिलाई प्रस्तुत गरिएकको छ । स्रष्टा पोखरेलको एकालाप (२०८१) लघुकथा कृतिमा यौन विषयमा खुलेर चर्चा गरिएको छ । उनको एक वरदान, एक भर्जिन, एक जेनरेसन, एक पूजा, एक सम्भोग, एक स्टाइल, एक सत्य लघुकथामा यौन विषयको चर्चा गरिएको छ । यी लघुकथाका कलर्गलले आफ्नो शरीरलाई प्रकृतिको वरदान भनेको र यसको उपभोग आर्थिक लाभ कमाउनका लागि गर्ने विचार आएको छ । लघुकथामा पश्चिमा यौन स्वतन्त्रताको वकालत गरिएको छ । यी लघुकथामा अमेरिकामा चालीस वर्ष कटेपछि, सम्पूर्ण यौन आवश्यकता पुरा गरेपछि विवाह गर्ने गरेको, अहिलेको नयाँ पुस्तालाई अस्थायी यौन पार्टनर भए पुग्ने जीवनसाथी नचाहिने, मन्दिर जाने भनेर पोर्न फिल्म हेर्ने कार्य, आत्मिक प्रेमबिनाको प्रेम अधुरो हुने विचार, नारीमाथि यौन उत्पीडन कायम रहेको, अत्यधिक यौन कर्ममा लागिरहँदा पछि यौन इच्छा नलाग्ने विचार आएको छ । स्रष्टा खेमराज पोखरेलका यहाँ उल्लेखित लघुकथामा पश्चिमा यौन गतिविधि र सोही अनुसारको चिन्तन आएको छ । यी लघुकथामा यौन स्वतन्त्रताको नाममा छाडापना, यौन आवश्यकताका लागि सामाजिक, नैतिक, धार्मिक आदर्शको परित्याग, नारी उत्पीडन आएको छ । अत्यधिक धन संकलनपछि मानिसको चिन्ता सामाजिक सरोकारभन्दा बाहिर गयो भने उसमा आत्मकेन्द्रित भोगविलासपूर्ण चिन्तन आउँछ र त्ससपछि मानिसमा यौन आवश्यकता नै जीवनको एक मात्र परम सत्य हो भन्ने चिन्तन उत्पन्न हुन्छ । यहाँ उल्लेखित पात्रले यौनलाई आफ्नो परम लक्ष्य मानेर काम गरेका छन् । हाम्रो जस्तो विपन्न मुलुकका जनताका आवश्यता, सोच र कर्मभन्दा भिन्न पश्चिमा यौन स्वतन्त्रताका नाममा छाडा स्वतन्त्रता चाहने मुलुकका जनताको चिन्ता फरक हुनु स्वभाविक हो । यहाँ प्रस्तुत लघुकथामा यौनलाई नै प्रमुखता दिइएको, यौनका नाममा नारीमाथि उत्पीडन बढ्ेको तथ्यलाई अघि सारिएको छ ।
२.८ नारी अधिकार एवं अस्तित्वबोधका लघुकथा
लघुकथाकार खेमराज पोखरेलका लघुकथामा नारी अधिकार एवं अस्तित्वबोधका घटनाको चित्रण गरिएको छ । उनको राम शाहको न्याय (२०७५) लघुकथामा रहेको भाइ लघुकथामा छोरा पाउने नाममा हरेक वर्ष कुपोषणले ग्रस्त बच्चा जन्माउने गरेको र सो बच्चाको मृत्यु हुने गरेको कारुणिक अवस्थाको चित्रण गरिएको छ । लघुकथामा नारी अस्तित्वबोधको चेतना आएको छ । उनको श्रीवल्ली (२०७९) लघुकथा कृतिमा रहेका सृष्टिका फूल, स्वर्णपत्र, छोरीको मृत्यु लघुकथामा पनि यस किसिमको भाव आएको छ । सृष्टिका फूल लघुकथामा भ्रुणहत्या विरोधी चेतना व्यक्त भएको छ । स्वर्णपत्र लघुकथामा लोग्नेले पाएको सम्मानले स्वास्नीको सम्मान अभिवृद्धि गर्न नसक्ने विचार व्यक्त भएको छ । छोरीको मृत्यु समाजमा छोरीको संख्या घटनुमा भ्रुणहत्या नै मूख्य कारण भएको विचार व्यक्त भएको छ ।
स्रष्टा खेमराज पोखरेलको एकालाप (२०८१) लघुकथा कृतिमा रहेको एक अस्तित्व, एक चिच्याहट, एक शैली, एक आग्रह लघुकथामा नारी अधिकार एवं अस्तित्वबोधको चेतना व्यक्त भएको छ । उनका लघुकथामा नारी अस्तित्वको खोजी, महिलाले आफ्नो अस्तित्वको खोजी गर्न श्रीमानसँग डिभोर्स गरेको अवस्थाबोध, श्रीमतीसँग तर्कमा हारेपछि श्रीमती कुटने श्रीमानप्रति श्रीमतीको विद्रोहचेत एवं बच्चा जन्माउँदा आफ्नो सुन्दरता नष्ट हुने सोच राख्ने आधुनिक आमाको चर्तिकला आएको छ । उनका लघुकथामा एकातिर उत्पीडनको विरोध, अधिकार एवं अस्तित्वबोधको चेतना आएको छ भने अर्कोतिर अस्तित्वबोधका नाममा अराजक स्वतन्त्रताको पक्षधरता समेत आएको छ ।
२.९ व्यक्ति जीवनका त्रासदीको प्रस्तुति
स्रष्टा खेमराज पोखरेलका लघुकथामा व्यक्ति जीवनका त्रासदीको चित्रण पाइन्छ । उनको दह्रो लौरो (२०७३) लघुकथा कृतिमा रहेका आमाको पिरलो, जेलको भात, नबनेको घर लघुकथामा व्यक्ति जीवनका दुर्बलताको चित्रण पाइन्छ । केही महिला पात्रमा गहना हुँदा पनि नहुँदा पनि एक प्रकारको असन्तोष हुने र त्यही असन्तोषले उनीहरूको जीवन त्रासद बन्न पुग्छ । जीवन अभावग्रस्त भएर केही गर्न नपाएको मानिस जेलमा गएर भात खान पाउँदा रमाउँछ । लघुकथामा व्यक्ति जीवनको त्रासदीका साथै जीवनको विसंगतिको चित्रण छ । शहरमा एक शिक्षकको विवशताजन्य अनुभूति र घर बनाउन नसक्नुको पीडाले उसको जीवनको त्रासदी वर्णन गर्दछ । यसरी स्रष्टा पोखरेलका लघुकथामा व्यक्ति जीवनका कुन्ठा, असन्तोष, अप्राप्ति अनि त्रासदीलाई प्रस्तुत गरिएको छ । पोखरेलको राम शाहको न्याय (२०७५) लघुकथा कृतिमा रहेको गाडी मान्छे लघुकथामा अत्यन्त व्यस्त सहरमा मानिसले निरन्तर कुदिरहनुपर्र्र्नेे, खटिरहनुपर्ने अवस्था प्रस्तुत भएको छ । लघुकथामा मानव जीवनको यान्त्रिकतालाई प्रस्तुत गर्नाका साथै जीवनको त्रासदीलाई समेत वर्णन गरिएको छ । सीमानामा आमा (२०७५) लघुकथा कृतिमा रहेको के उपाय ? लघुकथामा मानिसको स्वार्थ अनुसार अरुलाई हेर्ने दृष्टि परिवर्तनलाई प्रस्तुत गरिएको छ । मानिसले सही विवेक प्रयोग नगरेका कारण उसको सम्बन्ध प्रभावित हुने र जीवनमा त्रासद क्षण आइरहने गर्दछ । पोखरेलको ईश्वरको मृत्यु (२०७६) लघुकथा कृतिमा रहेका सागरजस्तै माया, डलरे, नयाँ वर्षको शुभकामना लघुकथामा व्यक्ति जीवनका त्रासदीको चित्रण पाइन्छ । मानिसको सम्बन्ध स्वार्थमा टिकेका कारण दिगो नभएको, कुनै पनि मानिसको प्रगतिमा आफ्नै मानिसले ईष्र्या गर्ने, असहयोग गर्ने गरेको, अल्छी मानिसले आफूले केही गर्न नसकेर नयाँ वर्षलाई गाली गर्ने गरेको सन्दर्भ आएको छ । मानिसले आफ्नो प्रगतिको बाटो आफै निर्माण गर्छ र दुर्गतिको लागि पनि आफै आधार निर्माण गर्छ । लघुकथामा मानवीय जीवनका जटिलतालाई प्रस्तुत गरिएको छ ।
श्रीवल्ली (२०७९) लघुकथा कृतिमा रहेको सत्य, उन्मुक्ति लघुकथामा पनि यस्तै व्यक्ति जीवनका पलक्षणको अभिव्यक्ति आएको छ । मानिसका लागि आफूले मानेको कुरा सत्य हुने भएकोले अर्को पक्षतर्फ ध्यान नदिँदा जीवन विसंगत हुने गर्दछ । मानिसको लोभ, मृगतृष्णाको कहिल्यै पनि अन्त्य नहुने भएकोले मृगतृष्णाले मानिसलाई कहिल्यै पनि सहज किसिमले बाँच्न नदिएको यथार्थ व्यक्त भएको छ । एकालाप (२०८१) लघुकथा कृतिमा रहेको एक आनन्द, एक सिकन्दर, एक अप्राप्ति, एक बुझाई, एक घर लघुकथामा पनि मानवीय जीवनका त्रासदीलाई प्रस्तुत गरिएको छ । उमेर बढी भएपछि बिहा गरेको मानिसले पूर्व प्रेमिकाको याद गर्दछ । ऊ एक अप्राप्ति बाँचिरहन्छ । जीवनभर जितेको मानिस पनि मर्ने बेलामा सबै हार्न पुग्दछ । उसमा शून्यताबोध रहिरन्छ । सिर्जना क्षेत्रमा लाग्दा जीवनको मोजमस्ती छुटेकोमा पीडाबोध गर्ने पात्रले एक कुन्ठा बाँचिरहन्छ । सबैको दुःखमा सामेल हुनेले आफू कसैको हुन नसकेकोमा चिन्ता व्यक्त गर्दछ । एक अमेरिकी नागरिकले जन्म र मृत्यु अस्पतालमा हुने भएकोले घर नबनाउनुको पीडा नभएको विचार व्यक्त गर्र्छ । यहाँ जीवनमा प्राप्तिभन्दा अप्राप्तिमा नै सन्तुष्ट हुने प्रवृत्ति आएको छ । लघुकथाकार खेमराज पोखरेलका लघुकथामा जीवनप्रतिको गुनासो, असन्तुष्टि, अपुरोपन, कुन्ठाको सम्मिश्रण भएर जीवनको त्रासदी व्यक्त भएको छ ।
२.१० संघर्षशील पात्रको चित्रण
लघुकथाकार खेमराज पोखरेलका लघुकथामा संघर्षशील पात्रलाई प्रस्तुत गरिएको पाइन्छ । उनको दह्रो लौरो (२०७३) लघुकथा कृतिमा रहेको नक्सामा नभभएको गाउँ लघुकथामा सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरीकको संघर्षशील चरित्रलाई प्रस्तुत गरिएको छ । सीमानामा आमा (२०७५) लघुकथा कृतिमा रहेको सीमानामा आमा, खलासीको पनि जीवन, बीउ लघुकथामा संघर्षशील पात्रको चित्रण पाइन्छ । यी लघुकथामा जीवनमा प्रयत्न जारी राख्नुपर्ने, जीवनमा संघर्ष गरिरहनुपर्ने खलासीको जीवन कथा, वीर नेपाली नजन्मेकोको चिन्ता आएको छ । ईश्वरको मृत्यु (२०७६) लघुकथा कृतिको खोर्सानीको बुटो, डल्लेको पढाई लघुकथामा मानिस परिश्रमले अघि बढ्ने भाव, विपन्नताका कारण बालको पढाईमा समस्या आएको भाव व्यक्त भएको छ । श्रीवल्ली (२०७९) लघुकथा कृतिमा रहेको सीमानाको परीक्षा लघुकथामा मधेशका जनताले सीमा रक्षाका लागि संघर्ष गरेको अवस्थालाई प्रस्तुत गरिएको छ । यहाँ उल्लेखित लघुकथामा नेपाली जनताले देशको निमित्त एवं व्यत्तिगत जीवनमा संघर्षशीलता देखाएको सन्दर्भलाई व्यक्त गरिएको छ ।
२.११ निम्नवर्गीय जीवनको चित्रण
स्रष्टा खेमराज पोखरेलका लघुकथामा निम्नवर्गीयको चित्रण गरिएको छ । उनको दह्रो लौरो (२०७३) लघुकथा कृतिमा रहेका भरिया, हर्कबहादुर, नानाीमैयाँ लघुकथामा यस किसिमको भाव व्यक्त भएको छ । यी लघुकथामा भारी बोक्ने बूढो श्रमिकप्रतिको संवेदना आएको छ । विदेश भएको छोराले वास्ता नगर्दा आमाबाबुको अवस्था कमजोर हुँदा घरमा भएको कामदारले छोरा सरह हेरचाह गरेको पाइन्छ । विश्वविद्यालयमा रहेका विद्वानले आफ्नो जिम्मेवारी बहन गर्नुभन्दा परनिन्दामा रमाएको देखेर कार्यालय सहयोगी महिलाले देशको अवस्थाप्रति चिन्ता व्यक्त गरेकी छिन् । पोखरेलको राम शाहको न्याय (२०७५) को खिप्ता कुकुर, गरीब, तनखा माने तँ नखा लघुकथामा निम्नवर्गीय जीवनसँग सम्बन्धित विषयवस्तु पाइन्छ । यी लघुकथामा कुकुरले पनि निम्नवर्गीय मानिसलाई हेप्ने गरेको, श्रम शोषण गर्ने पात्रप्रति व्यङ्ग्य, निम्नवर्गीय कर्मचारीको पीडा प्रस्तुत भएको छ । सीमानामा आमा (२०७५) लघुकथा कृतिमा रहेका दुई फ्याक, शासक जात, देश, कलेज, समोसा र म लघुकथामा काठमाडौंमा घरजग्गा हुनेले अरुलाई हेप्ने गरेको, पश्चिम नेपालमा उच्च जातका मानिएका मानिसले पनि गरीब भएर बाँच्नुपरेको, कमजोर मानिसमाथि दमन हुने गरेको अवस्था प्रस्तुत गरिएको छ । यहाँ प्रस्तुत लघुकथामा निम्नवर्गीय पात्रप्रति संवेदनाको, निम्नवर्गीय पीडाका अनुभूति एवं संघर्षशील पात्रलाई समेत प्रस्तुत गरिएको छ ।
३. खेमराज पोखरेलका लघुकथामा अभिव्यक्त विचार
खेमराज पोखरेलका प्रारम्भकालीन लघुकथामा राजनीतिक विषयसन्दर्भको प्रस्तुति पाइज्छ । यी लघुकथामा आत्मनिर्भर मुलुकको परिकल्पनाका साथै देशमा महँगो संघीयता नचाहिएको विचार व्यक्त गरिएको छ । राजनीतिक नेताको असहिष्णुता, बन्दविरोधी चेतना, विदेशीले नाकाबन्दीका बेला दिएको दुःखको सामाना गर्नुपरेको सन्दर्भ आएको छ । उनका लघुकथामा राजनीतिप्रति वितृष्णा उत्पन्न हुनुमा राजनीतिक नेताको हात भएको, नियम अनि कानुनको परिपालना सही किसिमले नभएको, राजनीतिक नेता संवेदनाहीन भएको, नेतावर्गले जनतालाई दुःख दिने कार्य गरेको, कार्यकर्ता वर्गले नेताका गलत कार्यप्रति प्रश्न उठाउने गरेको सन्दर्भ आएको छ । कार्यकर्तालाई नै जनता ठान्ने प्रवृत्ति, राजनीतिका आडमा जनताको रगत बनाउने कार्य भएको पाइन्छ । उनका लघुकथामा राजनीतिक नेताकार्यकर्ताको असहिष्णु चरित्र, राष्ट्रहितप्रतिको उपेक्षा, देशको दोहन गर्नमा प्रतिस्पर्धा, बन्दुकबाट परिवर्तन नहुने विचारको प्रस्तुति पाइन्छ । यी लघुकथामा राजनीतिक विकृति, विसंगतिको विरोध, संसदीय राजनीतिका सीमाको चित्रण, अभावका कारण मानिसको स्वाभिमान हराएको अवस्थाको चित्रण आएको छ ।
पोखरेलका लघुकथामा समाजमा जनतामा रहेको अन्कविश्वासको फाइदा उठाउने प्रवृत्ति, बालश्रम कायम रहेको, समाजमा लोभलाभ, परनिन्दाजन्य गतिविधिका कारण मानवीय सम्बन्धमा असर पुगेको, व्यक्तिगत लाभका लागि मानि ठगीपूर्ण कार्यमा संलग्न रहेको घटना प्रस्तुत गरिएको छ । उनका लघुकथामा विदेशमा श्रमपूर्वक काम गरेर स्वदेशमा आफ्नो अवस्था सुधार्ने नागरिकको चिन्तन आएको छ । उनका लघुकथामा पारिवारिक असन्तुलन, मानिसको दोहरो चरित्र, विभेदविरोधी चेतना, सांस्कृतिक सचेतता आएको छ । समाजमा प्रतिष्ठित लेखक, पत्रकार पनि खराब कार्यमा संलग्न भएकोमा चिन्ता व्यक्त गरिएको छ ।
स्रष्टा खेमराज पोखरेलका लघुकथामा साहित्यिक कार्यक्रममा गैरसाहित्यिक मानिसको बोलबाला, मानिसले फरक संस्कृतिप्रति मोह बढ्ेकोमा चिन्ता बढेको यथार्थ प्रस्तुत गरिएको छ । उनका लघुकथामा भ्रुणहत्याका् विरोध, निजी शिक्षण संस्थाका अवाञ्छित कर्म, गौण विषयलाई प्राथमकितामा राख्ने साहित्यकार प्रवृत्ति, मानिसको सिद्धान्त र व्यवहारबिचको फरकपना व्यक्त भएको छ । यस्तै परम्परागत नैतिक आदर्शका कारण फरक संस्कृति सहजै अँगाल्न नसकेको घटना आदि आएको छ । उनका लघुकथामा नयाँ पुस्ताको सचेतना, पुस्तान्तरणका समस्या, नयाँ पुस्ताको भौतिकवाद प्रतिको लगाव, फरक लिंगप्रति सहजै आकर्षित हुने प्रवृत्ति उनका लघुकथामा परम्परागत धार्मिक कर्म पनि अँगाले जस्तो गर्ने नवीन मूल्य पनि पूर्ण रूपले पालन गर्न नसक्ने सांस्कृतिक अन्यौलमा बाँचिरहेको नयाँ पुस्ताको प्रवृत्तिलाई प्रस्तुत गरिएको छ । उनका लघुकथामा विवाहित पुरुषले घरबाहिर पनि महिलासँग सम्बन्ध बनाउने गरेको, श्रीमती पोइल गएपछि क्यासिनोमा जाने प्रवृत्ति, विवाह हुने घरमा श्रीमान मात्र हुनुपर्ने युवती चाहना आदि आएको छ । उनका लघुकथामा परम्परागत नैतिक मूल्यको विघटन र नवीन मूल्यको खोजीमा भौंतरिहेका पात्रको जीवन आएको छ । उनका लघुकथाका षात्र पश्चिमा संस्कृतिबाट प्रभावित छाडा स्वतन्त्रताका पक्षधर बनेर आएका छन् ।
उनका लघुकथामा गाउँ र शहरको भिन्नता, पुरानो पुस्ता र नयाँ पुस्ताबिचको द्वन्द्व व्यक्त भएको पाइन्छ । शहरभज्दा गाउँमा आत्मीयता पाइने गरेको सन्दर्भका साथै पारिवारिक जीवनका जटिलतालाई समेत व्यक्त गरिएको छ । उनका लघुकथामा आध्यात्मिक चेतनाको प्रस्तुति, धर्मका नाममा हुने अनाचार, कर्मचारीतन्त्र भित्रका बेइमानी, कानुन व्यवस्थाको सही परिपालनना हुने, सरकारी कार्यालयमा हुने घोटाला आदिलाई प्रस्तुत गरिएको छ । पोखरेलका लघुकथामा यौन स्वतन्त्रताको नाममा छाडापना, यौन आवश्यकताका लागि सामाजिक, नैतिक, धार्मिक आदर्शको परित्याग गरेका घटनाको प्रस्तुतिका साथै नारीमाथि हुने यौन उत्पीडन आएको छ । आर्थिक सम्पन्नताले ल्याएको आत्मकेन्द्रित सोच, भोगविलासपूर्ण गतिविधि, यौनमा मात्र केन्द्रित चिन्तन व्यक्त भएको छ ।
स्रष्टा खेमराज पोखरेलका लघुकथामा व्यक्ति जीवनका त्रासदीको चित्रण, स्वार्थकेन्द्रित सम्बन्ध, नजिकका व्यत्तिको ईष्याजन्य गतिविधि, अल्छी मानिसका अनेक बहाना आदिलाई प्रस्तुत गरिएको छ । उनका लघुकथामा जीवनप्रतिको गुनासो, असन्तुष्टि, अपुरोपन, कुन्ठाको सम्मिश्रण भएर जीवनको त्रासदी व्यक्त भएको छ । पोखरेलका लघुकथामा नेपाली सीमा रक्षाका लागि मधेशका जनताले गरेको संघर्ष, नोपाली जनताले राष्ट्रका लागि गरेको बलिदान, संघर्ष एवं मानवीय जीवनको उन्नतिका लागि गरेको संघर्षशीलतालाई प्रस्तुत गरिएको छ । उनका लघुकथामा कुकुरमा पनि शासकवर्गीय चिन्तन भएका कारण कमजोर मानिसलाई हेप्ने गरेको सन्दर्भको पुष्टि, श्रम शोषण गर्ने पात्रप्रनि व्यङ्ग्य, निम्नवर्गी जीवनका पीडाको प्रस्तुति, काठमाडौंमा बाहिरबाट आएर घरजम गर्नेले बाहिर रहेका आफ्नै दाजुभाइ हेप्ने प्रवृत्ति, कमजोर मानिसमाथिको दमन आदिलाई प्रस्तुत गरिएको छ । यहाँ प्रस्तुत लघुकथामा निम्नवर्गीय पात्रप्रति संवेदनाको, निम्नवर्गीय पीडाका अनुभूति एवं संघर्षशील पात्रलाई समेत प्रस्तुत गरिएको छ ।
४. खेमराज पोखरेलका लघुकथामा शीर्षक, परिवेश, पात्रविधान, संवाद एवं दृष्टिबिन्दुको प्रयोग
स्रष्टा खेमराज पोखरेलका लघुकथाका शीर्षकमा एकरूपता छैन । प्रारम्भकालीन लघुकथामा शीर्षक प्रयोगमा असावधानी भए पनि पछिल्ला कृतिहरूमा भने सावधानी अँगालेको पाइन्छ । उनका लघुकथाका शीर्षकमा एक अक्षरे शीर्षक प्रयोगका केही उदाहरणमा मगन्ते, पहिचान, राजमार्ग, पढाई, पञ्चेती रहेका छन् । उनका दुई अक्षरका लघुकथाको उदाहरणमा भूतपुर्व नेपाली, स्वामीजीको प्रवचन, सीमलको रुख, कैला वरद, बट्टाको सिन्दुर रहेका छन् । उनका तीन अक्षरको प्रयोग गरिएका लघुकथामा ओभर टाइमको पैसा, आँखाको कालो घेरा, आमा भएको भए, कठैबरा यो देश, नक्सामा भएको गाउँ रहेका छन् । यस्तै चार अक्षरका शीर्षक भएका लघुकथामा बालश्रम हो बालश्रम होइन, यो रेडियो नेपाल हो, तनखा माने तँ नखा आदि रहेका छन् । उनका पाँच अक्षरे लघुकथामा देश, कलेज, चिसो समोसा र म, समय, जिन्दगी र मेरो नाति, जङ्घे पिलर र वनमारा झयाङ, ट्वीन टावर र उसको लोग्ने, पोइकी कान्छी र स्वास्नीको पोइ रहेका छन् । यसरी उनका लघुकथामा शीर्षक प्रयोगमा विविधता छ । उनको पछिल्लो लघुकथा कृतिमा दुई अक्षरे शीर्षक रहेका छन् । हरेक अक्षरमा एक शब्द प्रारम्भमा आएको छ र त्यसपछि हरेक लघुकथामा फरक फरक शीर्षक छ । यो एक नौलो प्रयोग हो । उनका पछिल्ला लघुकथा कृतिमा शीर्षकलाई प्रतीकात्मक बनाउने कार्य गरिएको छ । प्रारम्भकालीन लघुकथामा शीर्षक प्रयोगमा सचेतता पाइँदैनथ्यो ।
लघुकथाकार खेमराज पोखरेलका लघुकथामा परिवेशगत विविधता छ । उनका लघुकथामा ग्रामीण, शहरी एवं विदेशी परिवेशको चित्रण पाइन्छ । ग्रामीण परिवेशको प्रयोग गरिएका लघुकथामा सुन्दरता, आमाको सारी, माईराम, डायन, एकतानगर रहेका छन् । उनका शहरी परिवेशको प्रयोग गरिएका लघुकथामा दिदीको भाषण, बहिनी, आमाको पिरलो, लोग्नेमान्छेका आँखा, मौनता रहेका छन् । यस्तै विदेशी परिवेशगत लघुकथामा एक भोग, एक नाता, एक पीडा, एक वरदान, एक अट्टआस रहेका छन् । उनका लघुकथामा स्थानगत परिवेश मात्र नभएर कालगत एवं पात्रगत परिवेश पनि आएको छ । उनका लघुकथाको कालगत परिवेशमा सत्तरीको दशकपछिको नेपाली एवं अमेरिकी समाज हो । उनका लघुकथा कृतिका प्रारम्भमा हाम्रो ग्रामीण परिवेश एवं काठमाडौंको परिवेश आएको थियो । पछिल्ला दिनमा क्रमशः काठमाडौं हुँदै अमेरिका र त्यसपछि अमेरिकाको मात्र परिवेश पनि आएको पाइन्छ । उनका लघुकथामा समाख्याताले सिधै वर्णन गरेता पनि केही लघुकथामा पात्रको मानसिक परिवेशको पनि वर्णन पाइन्छ । त्यसरी पात्रको मानसिक परिवेशको वर्णन गरिएका लघुकथाको संख्या भने न्युन रहेको छ ।
स्रष्टा खेमराज पोखरेलका लघुकथामा नर, नारी पात्रका साथसाथै अमानवेत्तर पात्रको प्रयोग गरिएको छ । उनका नारी पात्रको प्रयोग गरिएका केही लघुकथामा अभियोग÷स्वाभिमान, दिदीको भाषण, माईराम, स्वाभिमान, निरुत्तर रहेका छन् । नर पात्रको प्रयोग गरिएका केही लघुकथामा मगन्ते, स्वामीजीको प्रवचन, वाह लेखक, भाइ, सम्पति विवरण रहेको छ । यस्तै अमानवेत्तर पात्रको प्रयोग भएका केही लघुकथामा खिप्ता कुकुर, पहाड, पुनर्जन्म, विवेकी कुकुर, सिखेबी गाई रहेका छन् । उनका लघुकथामा नरनारी पात्रको अधिकता पाइन्छ । आंशिक लघुकथामा मात्र अमानवेत्तर लघुकथाको प्रयोग पाइन्छ । उनका लघुकथामा प्रायः संवादको प्रयोग पाइन्छ । संवादको प्रयोग पात्रको वर्गीय, सामाजिक, आर्थिक, शैक्षिक अवस्थाका आधारमा गरिएको छ । केही लघुकथामा कथ्य भाषाको समेत प्रयोग पाइन्छ । उनले प्रारम्भमा तृतीय पुरुष दृष्टिबिन्दुको प्रयोग गरेता पनि पछि प्रथम एवं तृतीय पुरुष दृष्टिबिन्दुको प्रयोग गरेका छन् । उनी प्रथम पुरुष दृष्टिबिन्दुको प्रयोगका माध्यमबाट कथानक प्रस्तुति गर्ने कार्यमा कुशल मानिन्छन् । समाख्याता म पात्रका माध्यमबाट सामाजिक दृष्टिलाई फिँजाउनु र आफ्नो दृष्टिचेत प्रस्तुत गर्ने कार्यमा कुशलता प्रकट गरेको पाइन्छ । लघुकथा प्रस्तुतिका क्रममा कतिपय ठाउँमा अतिशय वर्णन, लेखकीय विचरण उनको कमजोर पक्ष हो । प्रारम्भमा यस किसिमका कमजोरी देखिए पनि पछि भने उनले ससाना वाक्य, ससाना अनुच्छेद प्रस्तुत गर्ने र छोटोछरितो संवादका माध्यमबाट लघुकथालाई बोर हुनबाट बचाएका छन् । नेपाली लघुकथा लेखनका क्षेत्रमा उनी नछुटाएर अध्ययन गर्नुपर्ने लेखक बनिसकेका छन् । स्रष्टा खेमराज पोखरेलले जीवनको उत्तरार्धमामा साहित्य क्षेत्रमा लागेतापनि आफ्नो निरन्तरको परिश्रमले गर्दा अलग्गै मौलिक स्थान बनाइसकेका छन् ।
५. निष्कर्ष
स्रष्टा खेमराज पोखरेल समयुगीन नेपाली समाजको चेतना प्रस्तुत गर्ने कथाकार हुन् । उनका प्रारम्भकालीन लघुकथामा राजनीतिक विसंगतिको आलोचना भएपनि पछिल्ला राजनीतिप्रतिको उदासीनता आएको छ । उनको लघुकथा लेखनमा समाजमा रहेका विभिन्न पारिवारिक, सामाजिक घटनाको प्रस्तुति, विदेशी भूमिको जीवनको प्रस्तुति, कानुन, भाषा, धर्म साहित्य, शिक्षा, स्वास्थ्य, संस्कति एवं पत्रकारिता क्षेत्रका घटनाको प्रस्तुति, पश्चिमा संस्कृतिको प्रभाव र नेपाली मानसिकता, यौनप्रतिको अनुराग, नारी अधिकार एवं अस्तित्वबोधी चेतनाको अभिव्यक्ति, व्यक्ति जीवनका त्रासदीको चित्रण, संघर्षशील जीवनको प्रस्तुति, निम्नवर्गीय जीवनलाई अघि सारिएको छ । उनको लेखन सामाजिक जीवनको विविध स्वरूप प्रस्तुतिका दृष्टिले महत्वपूर्ण छ । प्रारम्भमा नेपाली समाज, संस्कृति र जीवनलाई प्रस्तुत गर्ने लेखक पछिल्ला दिनमा पश्चिमा संस्कृतिका विविध पक्षको उजागर गर्ने काममा पनि लागेका छन् । लघुकथाको शीर्षक चयनमा विविधताका साथै पछिल्लो समयमा शीर्षक चयनमा नवीनता प्रस्तुत गरेका छन् । उनका लघुकथामा नेपालको ग्रामीण, शहरी, राजधानीको परिवेशका साथै पश्चिमा मुलुकको परिवेश पनि आएको छ । नरनारी एवं अमानवेत्तर पात्रको प्रयोग गर्ने उनका लघुकथामा आएको आत्मपरक कथन शैलीको मौलिकता रहेको छ । विषयवस्तुगत रूपमा गम्भीर लेखनको अपेक्षा, लघुकथा प्रस्तुतिका क्रममा कतिपय ठाउँमा अतिशय वर्णन, लेखकीय विचरणलाई हटाउँदै जाने हो भने उनको लघुकथा लेखन अझ समृद्ध हुँदै जाने देखिन्छ ।
सन्दर्भसामग्री सूची:
पोखरेल. खेमराज (२०७३). पछ्यौरीको आइसक्रिम. काठमाडौं: मोलुङ फाउन्डेशन ।
....(२०७३). दह्रो लौरो. काठमाडौं: मोलुङ फाउन्डेशन ।
....(२०७५). सीमानामा आमा. काठमाडौं : बीएन पुस्तक संसार प्रा.लि. ।
....(२०७५). राम शाहको चौतारो. काठमाडौं: बीएन पुस्तक संसार प्रा.लि. ।
...(२०७६) ईश्वरको मृत्यु. काठमाडौं: स्वदेश प्रकाशन प्रा.लि. ।
....(२०७८). श्रीवल्ली. काठमाडौं : मोलुङ फाउन्डेशन ।
....(२०८१). एकालाप. काठमाडौं: मोलुङ फाउन्डेशन ।