प्रिय
मृत्युलाई जित्छु भनेर
कसम खाएको मान्छे परेँ म-
हुनसक्छ भोलि हार्न पनि सक्छु
समय त्यस्तै पऱ्यो
यसपटक आउन सकिनँ
मलाई क्षमा गर।
साहित्यकार वीणाश्री खरेलको ‘आत्माभिव्यक्ति एउटा सिपाहीको’ कवितांशबाटै कुरा थाल्न मन लाग्यो।
कवितामा एकजना सिपाहीको अभिव्यक्ति जस्तै मान्छेले मृत्युलाई जित्छु भन्ने कसमै लगाए पनि मृत्यु आखिर निश्चित छ। कतिबेला हार्नुपर्ने हुन्छ, त्यति मात्रै अनिश्चित छ। कथा र कविता सिर्जनासँगै अनुवादमा पनि दखल पुऱ्याउने बहुप्रतिभाकी धनी साहित्यकार वीणाश्री खरेलले पनि अन्ततः मृत्युसँग हारेर गइन्। नेपाली साहित्य संसारले उनीबाट धेरै आशा साँचेको थियो, तर उनी हारिन्। मृत्युले उनलाई हराए पनि जीवनकालमा उनले जे-जति साहित्य सिर्जना गरिन् त्यसैले उनलाई बचाएको छ। आफ्ना कर्महरूसँगै हामीमाझ उनी बाँचेकी छन्।
मान्छेलाई सधैँ बचाइँराख्ने भनेको उसको कर्मले नै रहेछ। वास्तवमा मान्छे कर्महरूमा बाँच्दारहेछन्। मान्छेलाई कर्महरूले बचाइराक्दा रहेछन्। नभए यो नश्वर शरीर त कि माटो भएर जाने रहेछ कि त खरानी बनेर। संसारमा आज त्यस्ता मानिसहरूलाई नै हामी सम्झना गर्छौँ, सम्मान गर्छौँ जसले असल कर्म गरेर गएका छन्। साहित्य गर्नु पनि त्यस्तै असल कर्महरूमध्येको एउटा रहेछ, जसले मान्छेलाई बँचाइराखेको हुन्छ।
सिक्किमेली नेपाली साहित्यको सन्दर्भमा पनि त्यस्तै धेरै नामहरू छन्, जसलाई नेपाली साहित्यले सधैँ सम्झना गरिरहनेछ। एउटा त्यस्तै नाम हो विणाश्री खरेल प्रधान, जसलाई हामी धेरैले विणाश्री खरेल भनेरै जान्दछौँ। त्यसैर त आज साहित्यकार वीणाश्री खरेललाई हामी सम्मानका साथ सम्झिरहेका छौँ। समाजले सम्मान जनाइरहेको छ।
साहित्यकार वीणाश्री खरेलसँग आकाशवाणी गान्तोकबाट प्रसारित हुने साहित्यिक कार्यक्रम ‘कल्पकुञ्ज’-कै कारण मेरो घनिष्ठता बढ़ेको हो। उसो त गान्तोक वरीपरीका विभिन्न साहित्यिक कार्यक्रमहरूमा भेटघाट भइरहन्थ्यो नै। धेरैजसो कविता रचना गर्नुहुने उहाँसँग मैले कतिवटा मञ्चहरू साझा गर्ने अवसर पनि पाएको हुँ। यद्यपि, आकाशवाणी गान्तोकले मलाई उहाँसँग धेरै नजिक्याएको हो। वरिष्ठा साहित्यकार कालुसिंह रनपहेंली ‘कल्पकुञ्ज’ कार्यक्रमका निस्पादक हुनुहुन्थ्यो भने सन् 2007 देखि म कार्यक्रम सञ्चालक। त्यसैले कार्यक्रमका लागि कथा, कविता, लेखहरू कवि/सर्जककै आवाजमा रेकर्ड गराउने जिम्मेवारी रनपहेंली सरले मलाई नै छोड़िदिनु हुन्थ्यो।
साहित्यकार पदमसिंह सुब्बा ‘अपतन’-को निधनपछि हामीले सिक्किमेली साहित्यकारहरूबाट श्रद्धाञ्जलीस्वरूप तयार गरेका थियौँ एउटा कार्यक्रम, जो 19 जुलाई 2010-मा प्रसारण भएको थियो। त्यस समय पनि उहाँसँग छोटो कुराकानी रेकर्ड गर्ने अवसर पाएका थियौँ।
‘‘पदमसिंह सुब्बाको मृत्युको खबरले हामी मर्माहत भएका छौँ। उनको मृत्यु नेपाली साहित्याकाशको सूर्यास्त हुनु हो। उनको मृत्यु हाम्रो निम्ति अपुरणीय क्षति हो। तथापि मृत्यु कटुसत्य हो, यसलाई स्वीकार्नै पर्छ। उहाँको आत्माले चिर शान्ति पाउन्।’’ यति कुरा उहाँको आवाजमा अहिले पनि सुरक्षित राख्न सकेको रहेछु।
समय-समयमा उहाँका कथा-कविताहरू आकाशवाणी गान्तोकमा रेकर्ड गर्न सकिएको भए पनि मसँग व्यक्तिगतरूपमा भने थोरै कविताहरू रहेका छन्। जस्तै- 20 मई 2013-मा प्रसारित ‘यो मन’, ‘छालहरूभित्र म’ र ‘समयका पदचापहरू’ अनि 18 अगस्त 2014-मा प्रसारित- ‘जहाँ बग्छ टिस्टा रङ्गीत’ र ‘ओ कविता मलाई भेट्न आउनु है’। कथा र कविता दुवैमा सर्जक वीणाश्री खरेललाई अति नै नम्र भेट्न सकिन्थ्यो, जस्तो उहाँको जीवन थियो, जस्तो उहाँको बोली र व्यवहार थियो। अहिले ती कथाहरू मसित छैनन्। कृतिहरू खोजेर, पढ़ेर लेख्नुभन्दा आफूसित सम्झनामा रहेका कुरा र आफुसित भएका कुराहरू नै राख्न उचित सम्झेँ। रचना-कृतिहरूमाथि लेख-समीक्षा अनि उहाँका जीवनीहरू अवश्य लेखिनेछन् स्मृतिग्रन्थमा। अहिलेलाई केही कवितांश राख्नचाहेँ-
यो मनले कति जङ्घार तऱ्यो
कति उकाली चढ्य़ो, कति ओह्राले झऱ्यो
फर्किएर फेरि आफ्नै ठाउँमा आयो
फेरि घाउहरू दुख्नलाई फेरि चोटहरू छाम्नलाई।
कहिले समुद्रबिचको टापु भएर बस्यो यो मन
कहिले छाल भएर मलाई नै छोएर गयो यो मन...।
-‘यो मन’-बाट।
आफ्नै देशको मानचित्रभित्र छु
आफ्नो गाउँदेखि टाड़ा
गाउँदेखि धेरै पर सुदुर प्रदेशमा छु
समुद्रको किनारमा बसेको छु।
कुन देश, कुन परिवेश खोजिरहेछ यो मनले
उल्लासित छैन यी मनहरू लहरलाई छोएर फर्कने
छालहरूले मलाई छपक्क छोएर गएको छ।
-छालहरूभित्र म-बाट
समयको निरन्तरतामा कुनै घोषणा भएन
कुनै आभासहरूले पनि मनलाई पटक्क झस्काएन
जीवनका त्यही आकस्मिक परिवर्तित् क्षणहरूसित
आजभोलि म आत्मसात छु।...
... सम्झना अतीतका भित्ताभरि ठोक्किन्छ
जीवनको अभिव्यक्ति महासून्य लाग्छ।
-समयका पदचापहरू-बाट
अस्तित्वसितै बाँचेको हामी खहरे खोला होइनौं है
भेलहरूसितै बगिजाने स्वाभिमानले शिर उठाउँछौँ हामी
पोखरीजस्तो होइनौँ हामी ग्रिस्ममा सुकिजाने।
राष्ट्रियतामा बाँच्दै एकतामा विश्वास राख्दै नुनको गुण तिर्ने हामी
भगवान पनि त आस्थामा बाँच्ने गर्छ भक्तिको स्वरूपमा हाँस्ने गर्छ
निराकार र अदृश्य रहेर नै समर्पणको भावनामा डुब्ने गरेको हुन्छ।
जहाँ बग्छ टिस्टा रङ्गीत-बाट
ओ कविता, मेरो आत्मीय कविता
तिमी मलाई भेट्न आउनु है
मायाका गल्ली गल्छेड़ो हुँदै
सौहार्द्धको पुल टेक्दै
सद्भावना र सदिच्छाले समर्पित तिमी आउनु।
ओ कविता मलाई भेट्न आउनु है-बाट
यी कवितांशहरूले कवि वीणाश्री खरेललाई चिनाउन सक्लान् भन्ने लागेको छु। कविताहरू सबै उस्तै सरल, सहज लाग्छन्। साहित्यकार वीणाश्री खरेल विद्यार्थीछँदा नै कविता सिर्जनामा लागेकी कुरा स्वयंले स्वीकारेकी छन्। उनी आठौं श्रेणीमा अध्ययनरत रहँदा मदन ओझाले ‘अनुभूति’ कविता पहिलोपल्ट छापिदिएपछि अझ प्रेरित बनेकी हुन्। लेखन क्षेत्रमा कविताबाट प्रवेश गरेपनि उनले सानैदेखि प्रकाश कोविद, शिवकुमार राई आदिका उपन्यासहरू पढ़दै आएकी कुरा तादोङ सरकारी उच्चमाध्यमिक विद्यालयका विद्यार्थीहरूसँग गरेको कुराकानीमा बताएकी छन्। उने भनेकी छन्, ‘‘त्यो समयदेखि नै ठूला साहित्यकारहरू चिन्ने रहर हुन्थ्यो। धेरैलाई चिन्न सकेकी थिएँ। त्यसैले साहित्यमा रुची बढ़ेको हो।’’
आफ्नो लेख्ने-पढ़्ने बानीले नै सिर्जनामा प्रेरित गर्ने गरेको उनी बताउँथिन्। हामी जहिल्यै विकासका कुराहरू गरिरहेका हुन्छौँ। साहित्यको सन्दर्भमा उनले ‘‘साहित्यको विकासका लागि घरबाटै संस्कार पाउन सकेँ असल हुन्छ, घरमा जसरी बोल्छौँ नानीहरूले भाषा त्यहीअनुसार सिक्छन्। त्यसले साहित्यमा पनि सहयोग हुन्छ’’ भनेकी छन्। अर्थात नानीहरूले घरबाटै धेरै कुरा सिक्नसक्छन्। साहित्यमा पनि घरेबाट पाइरहेको संस्कारले धेरै सहयोग पुऱ्याउने उनको मनसोय हो।
महाकवि देवकोटाले आफ्नै कृतिहरूमध्ये सबैभन्दा धेरै रुचाएको ‘मुनादमन’ जस्तै साहित्यकार वीणाश्री खरेललाई आत्मसन्तुष्टि प्राप्त भएको कृति आफूले अनुवाद गरेको ‘विमुखता’ (रामायणका नारी पात्राहरूमाथि लेखिएको) हो। तादोङ सरकारी उच्चमाध्यमिक विद्यालयका शिक्षक श्री त्रिभुवन ढकाल र बाह्रौं श्रेणीका विद्यार्थीहरूद्वारा कोविडकालमा गरिएको अनलाइन अन्तरवार्तामा साहित्यकार खरेलले यो कुरा राखेकी थिइन्।
साहित्यकार वीणाश्री खरेल स्वयं कसैकी छोरी, कसैकी श्रीमती, कसैकी बुहारी र कसैकी आमा भएकी हुनाले पनि होला नारीहरूप्रति धेरै नै संवेदनशील थिइन्। उनले एकठाउँ भनेकी थिइन्, ‘‘नारी आमा हुन्, पत्नी हुन्, बहिनी हुन्। सड़कमा काम गर्नेदेखि कार्यालय र संसदसम्म पुरुषसित काँधमा काँध मिलाउन सक्छन् नारी’’।
साहित्यकार वीणाश्री खरेलले कथा, कविता र संस्मरण विधामा कलम चलाएकी छन् भने अनुवाद क्षेत्रमा पनि काम गरेकी हुन्। उनका प्रकाशित कृतिहरू निम्नप्रकार रहेका छन्-
· प्रश्न चिन्ह (कविता सङ्ग्रह)
· मेरो वकपत्र (कविता सङ्ग्रह)
· मनको संघार (कविता सङ्ग्रह)
· विमुखता (अनुदित कथा सङ्ग्रह)
· महक रजनीगन्धाको (कथासङ्ग्रह)
· केही पल केही क्षण (संस्मरण)
· शेष-अवशेष
यी कृतिहरूबाहेक पनि कुनै छुटेका हुनसक्छन्। विभिन्न साहित्यिक पत्रिकाहरू, समाचार पत्रहरूमा उनका विशेष कविताहरू पढ़न पाइरहन्थ्यौँ भने आकाशवाणी गान्तोकबाट कथा, कविताहरू प्रसारित हुने गरेको कुराको चर्चा माथि गरिसकेको छु। साहित्यप्रति उनको योगदानलाई विभिन्न सङ्घ-संस्थाहरूले मूल्याङ्कन गर्दै पुरस्कारहरू प्रदान गरेका छन्, सम्मान-अभिनन्दन जनाएका छन्। जस्तै-
· स्रष्टा पुरस्कार
· कमला आँसु स्मृति पुरस्कार
· साहित्य सेवा सम्मान
· लगायत प्रतिभा मिलन, नेपाल एकीकृत विकास, सिद्धि प्रकाशन- गेजिङ, सिक्किम साहित्य उत्सव-2021 लगायक विभिन्न सङ्घ-संस्थाद्वारा अभिनन्दन।
31 जुलाई 2011, प्रतिभा मिलनको 72औं प्रकरणमा साहित्यकार खरेललाई श्री एम.एन. दाहाल र श्री भीम ठटालसँगै अभिनन्दन् जनाइएको थियो। पद्मश्रीद्वारा विभूषित साहित्यकार सानु लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्यकार मोहन दुखुन मुख्य अतिथिका रूपमा उपस्थित रहेका थिए।
यसरी नै 22 जुलाई 2012-को दिन ‘साहित्यकार कमला आँसु स्मृति ट्रस्ट’-ले साहित्यकार डा. कविता लामा, समाजसेविका द्रौपदी घिमिरे, युवा साहित्यकार कविता सुब्बा र साहित्यकार लीनु खालिङसँगै वीणाश्री खरेललाई ट्रस्टद्वारा आयोजित पहिलो कार्यक्रममा सम्मान जनाएको थियो। ट्रस्टी श्री विजय बान्तवाको मुख्य संयोजनमा सम्पन्न कार्यक्रमको आयोजक समिति सदस्यहरूमध्ये यो कलमकार स्वयं पनि एक रहेको थियो।
यसैगरी 16 नोभेम्बर 2021-मा हाम्रो वार्ता टेलिभिजनद्वारा गान्तोकमा आयोजित ‘सिक्किम साहित्य उत्सव’मा साहित्यकार वीणाश्री खरेललाई वरिष्ठ साहित्यकार केएन शर्मा र चेतनराज श्रेष्ठ (सिक्किम), वरिष्ठ साहित्यकार गुप्त प्रधान (दार्जीलिङ) र डा. राजेन्द्र भण्डारी (कालेबुङ)-लाई एकैसाथ सम्मान जनाइएको थियो। यसअघि नै उनलाई पश्चिम सिक्किमबाट ‘स्रष्टा पुरस्कार’ प्राप्त भैसकेको थियो भने अन्य विभिन्न सङ्घ-संस्थाहरूले पनि उनको साहित्यिक योगदानको मूल्याङ्कनस्वरूप सम्मान तथा अभिनन्दन जनाएका थिए।
सन्दर्भः
· साहित्य संग्रहालय (अनलाइन पोर्टल)
· सिक्किमएक्प्रेस.कम
· वर्डप्रेस.कम
· नेपाली टिचर त्रीभुवन (यूटुब च्यानल)
· आकाशवाणी गान्तोक
· सिक्किमनावब्लगस्पट.कम