(काव्यको प्रथम अग्रभाग)
शान्ति होस् पूर्ण आकाश, शान्ति होस् पृथिवी भरि
शान्ति होस् जलकुण्डैमा, होस् शान्ति जडी–बुटीमा।
शान्ति होस् रुख–पातैमा, शान्ति होस् जगतै भरि
शान्ति होस् विश्वदेवमा, होस् शान्ति ब्रह्ममा पनि ।।
म गर्छु मधुको चर्चा, धर्तीका जन हीतमा
काढ्दछु मधु धेरै म, निकाल्छु जनहीतमा।
मधुकै कुरा सोच्दैछु, विचार्छु मनमा सधैँ
मनमा मधुनै हुन्छ, मधुनै भावमा सधैँ ।।
म कोशी हुँ स्निग्धा छु स्वेता हिमाली
चतारा तिरैमा बसेँ चित्त थामी ।
म टक्कै बसें रोकिएरै वनैमा
भएँ मुग्ध सुन्दै यही दिव्य गाना ।।
चियाएर चारै दिशा तर्फ हेरे
थियो मात्र ज्योत्स्ना उसै तरफ हेरे ।
उसै भित्र सानो कुनै सुक्ष्म एक
उडी हिँड्दथ्यो देखिने त्यो अनेक ।।
नफर्की नफर्की न कुद्दै हिड्या थ्यो
परै जान लाग्या नि भन्दै हिँड्या थ्यो
घुमी गोल धर्ती यतै पो त फक्र्यो
जहाँ बस्न खोज्यो उतै फर्कियो त्यो ।
न मर्ने न मार्ने चरो एक जस्तो
उडी हिड्छ नित्यै लिई देह कस्तो
न हो सर्प त्यो काचुली फेर्छ किन्तु
न हो स्त्री न लोग्ने न हो अन्य जन्तु ।
जहाँ बस्छ त्यो हुन्छ त्यो त्यै रुपैको
जहाँ खेल्छ त्यो हुन्छ कृया त्यसैको
न बस्ने न हिड्ने न कुद्ने न उड्ने
बसे देहमा चै सवै नै ति गर्ने !
अनेकौं मिठो भावको एक ऐले
बसी अङ्गना देहमा खेल्छ जैले
रमाई रमाई उही एक हेर्छु
म बस्दा सधैँ अङ्गनानै त देख्छु ।
कथा अङ्गनाका विचित्रै छ सुनौँ
विचित्रै छ सारा कथा सार सुनौँ ।
विचित्रै छ जन्मादि कर्मै विचित्र
हुदाँ चित्तमा प्रेम सवैनै विचित्र ।।
०
बिहानै पुगे छन् पिताजी बगैचा
टिपी पुष्प धेरै खुसी भै बसेका
थियो स्वच्छ हावा चलेको नदीको
गरे पान त्यसको सुगन्धै सहितको ।
फुलै फुल त्यहाँ झपक्कै फुलेका
चमेली र चम्पा थिए ति झुलेका
थिए अन्य धेरै, थिए पारिजात
मनै हर्ष हुन्थ्यो हुँदा धेर जात ।
नजारा सुरम्य कहाँ देख्नु यस्तो
गई बस्छु भन्दै हिँडे हाँस जस्तो
पुगी मालती छेउ देखे अनौठो
झरेका फुलै को थियो एक थुप्रो ।
झरे लौ कसोरी यत्रा पारिजात
भनि छेउ पुगी उठाए हठात्
अचम्मै भए बालिका एक देखि
उठाएर लिए रुँदै काख माथी ।
दया भावले हेरि राखे मुखैमा
देखे दिव्य हासोँ र हासेँ खुशीमा
लिई पुष्प ढाकी, सुताए त्यसैमा
लिई काँधमा नै गए ति घरैमा ।
अहो ! दिव्य वाला ! खुल्यो भाग्य भन्दै
सिकाए बडाए दिदैँ प्रेम धेरै
दिए अङ्गना नाम, त्यै सुन्दरीको
खुशीले म भन्छु कथा यो तिनैको ।
अक्षय तृतीया, १७ वैशाख, २०८२
लन्डन