18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

‘पुसेर तासिक’ माथिको इन्डोनेसिया

नियात्रा डा. शैलजा पोखरेल May 1, 2025, 12:07 am
डा. शैलजा पोखरेल
डा. शैलजा पोखरेल

यसैपालि (२०८१) को दशैँको तृतीयाका दिन घरबाट हिँडेका पर्सिपल्टदेखि हाम्रो (श्रीमान् श्रीमतीको) घुमाइ सुरु पुर्वी एसियाको मन्दिर नै मन्दिरको देशमा भएको थियो । इन्डोनेसियाको बाली टापुमा हिन्दु धर्मालम्बीको बाहुल्यता रहेको रहेछ । त्यसैको एउटा पाटो रहेछ डेनपासार (Denpasar) सहरका बिचमा रहेको बज्रसन्धि (Bajra Sandhi Monument) । हाम्रो घुमाइको पहिलो स्थान त्यही थियो । एकहप्ते भ्रमणमा मलेसियन एयरको चार घन्टे यात्रा अनि छ घन्टे ट्रान्जिट पार गरेर फेरि तिन घन्टे यात्रापछि हाम्रो घुम्मे कार्यक्रम सुरू हुँदा हिँडेको एक, पुगेको दुई र घुमेको तिन दिन भई सकेको थियो । वरपर पानीले घेरेको बाली टापुमा अक्टोबरका दिनमा गर्मी धेरै भएको हामीलाई लागे पनि त्यो गर्मी त्यहाँका लागि सामान्य थियो अरे । हाम्रा गाइड हामीलाई त्यस्ता जानकारी दिँदै हिँड्थे । त्यहाँको ‘कुटा बिच’ भनेर प्रशिद्ध समुद्री तटनजिकैको एउटा होटलको बसाइ थियो हाम्रो । त्यहाँबाट करिब १३ किलोमिटर परको बज्रसन्धि जानका लागि हाम्रा गाइड र एकजना ड्राइभर कार लिएर होटलमा बिहान साढे आठतिर आइपुगेका थिए । हामी उनीहरूसँग बाटो वरिपरिका वर्णन सुन्दै गएका थियौँ । बालीका पातला र चिल्ला बाटाहरू ठाउँठाउँमा बत्तीको अनुशासनमा अलिअलि जाम छिचोल्दै जाँदा गहुँगोरा वर्णका हाम्रा गाइड, बालीअङ्ग्रेजीमा हामीलाई अनेक जानकारी दिँदै जान्थे । अङ्ग्रेजीका केही आवश्यक शब्दमा उनी हामीलाई बाटाको जानकारी दिन्थे । उनी बोल्दै जान्थे, हामी सुन्दै जान्थ्यौँ र सोध्दै जान्थ्यौँ । उनले अङ्ग्रेजी बोलेको र हामीले बोलेको अङ्ग्रेजी नै पनि कति फरक हो ! कति उनले बुझ्थे, कति हामी बुझ्थ्यौँ । त्यही बुझाइमा हाँसो अनि रमाइलो साट्तै करिब ३५–४० मिनेट परको बज्रसन्धि पुगिएको थियो ।

बालीका चोकहरूमा जताततै हिन्दुका भगवान र महाभारतका कथाले वर्णन गरेका अवतारमा पात्रका मूर्तिहरू देखिन्थे । नदेखियोस् पनि किन आधुनिक ज्ञानको भण्डार गुगलको जानकारी अनुसार संसारमै हिन्दु धर्मावलम्बीको प्रतिशत सबैभन्दा धेरै भएको ठाउँ रहेछ इन्डोनेसियाको बाली । त्यसपछि मात्र नेपाल अनि मात्र भारत अरे । त्यसैले त हाम्राजस्ता भगवान अझै सजिएर अनि ठाँटिएर बसेका थिए त्यहाँका बाटामा । देवीदेवताहरू हाम्रै जस्ता र समान नामका थिए तर, त्यहाँका देवताका मूर्ति र हाम्रा मूर्ति फरक पनि देखिन्थे कतै । सायद ढुङ्गाको जात वा गुणस्तरको फरकले त्यस्तो हुँदो हो वा कलाकारको सोचले फरक परेको हुँदो हो । बालीका बाटामा साँच्वै वरपर धेरै नै मन्दिरहरू देखिन्थे । ती एककिसिमको अनुशासनमा बनेजस्ता राम्रा र आकर्षक देखिन्थे ।

हामी पनि त्यहाँ पुगेपछि त टुरिस्ट भएछौँ क्यारे, जे देखे पनि फोटो खिचौँ खिचौँ लाग्दै थियो । यो के हो भनेर हाम्रा गाइडलाई सोध्दै खिच्तै गर्थ्यौँ । गाइडले भनुन्जेलमा २/४ क्लिक त भ्याइ पो हाल्थ्यौँ । उनको उत्तर सुनेपछि पो छक्क पर्यौँ, ती त मान्छेका घर पो थिए अरे । उनीहरू घरमा ब्रह्मा, विष्णु र शिवका मन्दिरसँगै आफ्ना परिवारका मरेर गएका पिता पुर्खाका नाममा मन्दिर बनाउँदा रहेछन् । हामीले फोटो खिचेका ठाउँमा एउटा अलि ठुलो, हाम्रो मैतीदेवीको मन्दिर जत्रो देखिने झिँगटीको छाना भएको एउटा घर थियो । त्यसका अगाडि त्यो घरभन्दा साना तर हाम्रा तुलसीमोठ भन्दा धेरै ठुला ५/७ वटा आकर्षक मन्दिर थिए । प्यागोडा शैलीका ती मन्दिर धेरै एकै ठाउँमा हाम्रामा पनि हुन्छन् । तर, काठमाडौँमा व्यक्तिगत घरमा भने त्यस्तो हुँदैनन्, मन्दिरमा मात्र हुन्छन् । तर, बालीमा त्यस्ता मन्दिर घरमा बनाउनु पर्दो रहेछ । त्यहाँ मानिस जति धेरै धनी भए, त्यति आकर्षक तिनीहरूको घरमा भएका मन्दिर हुन्छन् अरे । उनीहरू हाम्रैजस्ता देवता पुज्दा रहेछन् । बाटामा दायाँबायाँ नेपालीले दशैँको पूर्णिमाका दिन कार्तिके बत्ती बाल्न तयार पारेको बाँसको खाँबोमा आकर्षक स्वरूपमा कागजको बेलुनजस्तो देखिने नेपालको आकासदीपभन्दा अलि सानो खाँबोमा र अलि सुन्दर कागजका बेलुनमा घरघरै सजाइएका थिए । त्यो समय उनीहरूको विशेष पुजाको बेला रहेछ । नजिकै पूर्णिमा आएकाले होला त्यो दिन पुजाको तयारी घरघरमा गर्दा रहेछन् ।

बाटाको वरपरका प्रत्येक घरका अगाडिपट्टि रङ्गी बिरङ्गी आकाशे दीपको तयारीजस्तो देखिने दृश्यले केटाकेटीमा कात्तिके बत्ती भनेर छिमेकमा कागजको डल्लो कोठामा बत्ती बाल्ने हाम्रो छिमेकीको लामो बाँसको टुप्पो संझना गरायो । केटाकेटीमा छिमेकीले त्यस्तो सुन्दर कला घरअगाडि आँगनमा राखेर कार्तिक पूर्णिमादेखि मङ्सिर पूर्णिमासम्म बाल्दा सानो बाटाका दुवै छेउमा रहेका ससाना घर र घरका प्राङ्गडमा अनेकौँ मन्दिर एककिसिमको झिलिमिली थियो आँखामा । त्यही मनोरञ्जक दृष्यले आँखा सेक्दै हामी सानो कारमा चढेर बालीका सडकमा सरर गुड्दै थियौँ । साना बाटा तर, हाम्रोजस्तो कर्ली परेका हैनन् चिप्ला बाटा छन् । गाडीमा हिँडेका बेला जति स्पिडमा कुदेपनि हाम्रा बाटामा जस्तो कतै उफारेको वा घचकघचक पारेको थाह पाइएको थिएन त्यहाँ । अनि त आधा घन्टा त चुट्की बजाउँदै सकिएछ । हामी बज्रसन्धि स्मारकको गेटबाट भित्रै पसिसकेछौँ ।

बालीमा नवौँ शताब्दीमा हिन्दुको प्रभाव परेको भन्ने जानकारी पाइन्छ । हिन्दु धर्म जुन समयमा नेपालमा विस्तार हुँदै थियो, त्यही समय थियो सायद त्यो । त्यही प्रभाव हामीले पनि बालीमा देखेका रहेछौँ । उनीहरू हिन्दु धर्ममा धेरै आस्था राख्ने र नेपालमा जस्तै अरू धर्मका नाममा झगडा नगर्ने भएकाले बालीमा सुनामी वा कुनै प्राकृतिक प्रकोपले नास नगर्ने कुरामा विश्वास गर्दा रहेछन् । उनीहरू हिन्दु धर्म र धर्मले सिकाएका परम्परा र नैतिक आचरणमा विश्वास उनीहरूको अझै जीवितै रैछ भन्ने ज्ञान र हाम्रा गाइडले दिएको त्यस्ता जानकारी हाम्रालागि त्यहाँको मन्दिर र मूर्तिको रहस्यसँगै उनीहरूको विश्वासको गहिराइ जान्न केही सहयोगी थियो ।

हाम्रा अगाडि आकर्षक र विसाल ढुङ्गाको मन्दिर थियो । ओरपर हरियो खजुरकाजस्ता रूख र फुल अनि हरिया कार्पेटजस्तो दुबोले सजाइएको भुइँ कसरी सजाउन सकेको होला यति राम्रोसँग । तिनै आँखा र मन लोभ्याउने हरियालीबिचमा हाम्रो ठ्याक्कै एउटा आकर्षक मन्दिर देखियो । त्यसको अगाडि नेपालमा कतै कहिल्यै नदेखिएका जस्ता, मान्छे पस्ने पाटाको दुवैतिर सिधा भएका अनि त्यसको अर्कातिर दुवैपाटामा आकर्षक बुट्टा कुँदेर कलात्मक बनाइएका ढुङ्गाका सिधा गेट देखिए । एकदुईओटा क्लिक त त्यही भ्याई हाल्यौँ । भित्र पस्ने मन भए टिकट काट्नु भन्ने गाइडको भनाइ मान्दै टिकट काउन्टरतिर लाग्यौँ । स्मारकभित्र पस्ने टिकटको दाम सुनेर नेपाली मन एकपटक झसङ्ग भयो, ‘एकजनाको दुई लाख’ अरे । मन झसङ्ग हुनु एउटा पाटो भयो भने भित्र पस्ने मन त्यही मनको अर्को पाटाको माग थियो । जति भनेपनि काटेर भित्र पस्नै मन लाग्यो ।

बज्रसन्धि स्मारक एउटा विशाल घण्टीजस्तो आकारको छ । संस्कृत भाषाको ‘बज्र’ शब्दमा ‘सन्धि’ शब्द जोडिएर बनेको ‘बज्रसन्धि’ शब्दको हिन्दु धर्ममा शक्ति र साहसको प्रतीक ‘बज्र’ शब्दले ‘इन्द्रको प्रमुख अस्त्र वा वज्र’ लाई जनाउँछ भने, ‘सन्धि’ शब्दले ‘एउटा अवस्था वा युगको समाप्ति भको अर्को अवस्था वा युगको प्रारम्भ हुने समय’लाई जनाउँछ । पारम्परिक ‘बाली’मा ‘बज्र’ हिन्दु धर्मको शक्ति र सहासको प्रतीकका रूपमा देखिन्छ । हिन्दु धर्ममा आस्था राख्ने बालीको ‘बज्रसन्धि’ को अर्थ ‘शक्ति र एकताको सम्झौता’ जस्तो देखिन्छ । बज्रसन्धि स्मारकले बोकेको बालीको इतिहासले विदेशीको आक्रमणमा लड्ने र आफ्नो मातृभूमिको रक्षा गर्ने साहसी जनताको आत्मविश्वासको गाथा बोकेको रैछ । बालीको परम्परागत निर्माण शैलीमा पुरै स्मारक कालो ढुङ्गाले निर्माण गरिएको छ । स्मारकभित्र पस्दा मूल मझेरीको चारतिर चारओटा ढोका थिए, बाहिर निस्किने बेलामा झुक्याउने खालका । भुइँ तल्लाको केन्द्रमा ‘पुसेर तासिक’ ९एगकभच त्बकष्प० भनिने कुण्ड छ । त्यो कुण्डमा बत्तीको उज्यालोमा पानी छचल्किएकोजस्तो सुन्दर दृश्य अनि त्यही पानीमाथि बनेको गोलो र आकर्षक भर्‍याङ, कुण्डको वरिपरिका कलात्मक खाँबा र त्यसमा रङ्गाइएका सुनौला रङ्ग अनि भर्‍याङमा ओच्छ्याएको रातो कार्पेट मानौँ प्रत्येकले दर्शकको स्वागत गरिरहेका थिए । हेर्दै माथि चढ्ने क्रममा कतिओटा सिँडी थिए गन्नै पो बिर्सेँछु । तर, माथि पुग्दा स्वाँ स्वाँ भैसकेको थियो । त्यो तलामा बाहिर निस्किएर डेनपासार सहर रमाइलो देखिन्थ्यो । एकतलेजस्ता देखिने एकनासे आकारका राता झिँगटीका चारपाटे छाना भएका ती घरहरू, बिचबिचमा देखिएका हरिया रूखहरू अनि खुल्ला आकाशले त्यो दृश्यलाई बसेर हेर भनिरहेका थिए । माथि पुगेपछि झ्यालमा बस्तै स्वाँ स्वाँको ओखती र दृश्यावलोकन सँगै केही बेर बस्यौँ बरन्डामा । थकाइलाई दृश्यको मनोरञ्जनमा छोडेर स्मारकभित्र पस्ता त्यहाँ वरिपरि घुम्ने घेरो देखियो । त्यो घेरामा घुम्दै त्यहाँको दृश्य हेर्न थाल्यौँ । त्यो कोठामा अनेकौँ झ्यालजस्ता साना साना खण्ड थिए र ती खण्डहरूमा बालीका वासिन्दाहरूको जीवन सङ्घर्षका कथा कुँदिएका थिए ।

सन १८४६ देखि १९४९ सम्मको अवधीमा बालीनिजहरू कहिले डच त कहिले जापानीहरूको उपनिवेशमा दविएका रहेछन् । सय वर्षभन्दा बढीको उनीहरूको युद्धको इतिहास द्वितीय विश्वयुद्धपछि जीतमा परिणत भएको रहेछ । सन १९४५ अगस्टमा जापानको आत्मसमर्पण पछि इन्डोनेसियालीहरूले आफ्नो स्वतन्त्रताको घोषणा गरेछन् । इन्डोनेसियालीहरूले पूर्ण स्वतन्त्रता पाएको घोषणा सन १९४९ गरे पनि सन १९४५ अगस्ट १७ को दिनलाई नै स्वतन्त्रता दिवसका रूपमा मनाउँदा रहेछन् । त्यही दिनको संझनामा बनाइएको भएकाले बज्रसन्धि स्मारक ४५ मिटर अल्गो रहेछ । बालीका जनताको साहस र स्वतन्त्रताको लागि गरेका सङ्घर्षको सम्झनामा सन् १९८१ मा निर्माण गरिएको त्यो स्मारकमा उनीहरूका इतिहासका पानाहरूलाई चित्रमा उतार्ने काम गरिएको छ । स्मारकका भित्ताहरू परम्परागत बाली शैलीका जटिल कलाले सजिएका छन् । यिनले बालीका प्राचीन मिथक, युद्धका दृश्य र बालीका लोककथाहरूको वर्णन गरिरहेका छन् । बालीका जनताको जीवन, उनीहरूको सङ्घर्ष, उनीहरूको जीविकोपार्जनका काम अनि उनीहरूको युद्ध सबै झल्किने ती साना साना पुतलीजस्ता मूर्तिहरूमा सजिएका कलाले बालीका जनताको १०० वर्षे समयलाई छर्लङ्ग बनाइदिएका छन् । त्यो सकेर झर्ने क्रममा एकतलामा पुग्दा बाहिर निस्किने बरन्डाजस्तो थियो । त्यहाँ पनि वरपर घुम्न मिल्दो रहेछ । मन्दिरको भाग ठुलो भएकाले त्यो बार्दली ठुलो थियो, जहाँबाट वरपर हेर्दा यो स्मारकको बाहिरपट्टिको बनौट देखिन्थ्यो । अनेक खालका चारकुने घेरामा बनाइएको त्यो कलात्मक स्मारक हेर्दा यो कुनै मण्डलाको आकारमा बनेको जस्तो देखिन्छ । यो एउटा स्मारिकाले बालीका जनताको पाएको दुखको कथा देखाएको छ । यो स्मारकको निर्माणले त्यहाँका राजनीतिक इतिहास जोगाउने काम गरेको छ भने अर्कातिर ध्वस्त भएको बालीलाई जीवन्त बनाउने कार्यको लोभलाग्दो चित्र बोकेको छ । प्राकृतिक रूपले सुन्दर नेपाललाई आधुनिकताले ध्वस्त बनाएको जीवनबाट एकछिन छुट्कारा पाएको मन पनि आफ्नो देशको परम्परागत कलाको विकास कसरी हुनसक्छ भन्ने सोचमा एकछिन अलमलियो । हाम्रा देशले पनि दुखको जीवन देखेको थियो भने मात्र आफ्नो पनको महत्त्व बुझ्थ्यो कि के हो भन्ने प्रश्न तेर्सियो मनमा । आफ्ना अनेकौँ मन्दिर अनि इतिहासमा महत्त्व राख्ने अनेक चिजका साथै व्यक्तिका सालिकमा भएको हानी सम्झिँदा एकछिन देशप्रेम जाग्यो पनि । आफ्नो पन भनेको के हो र त्यसको संरक्षण गर्दा कस्तो संतुष्टि हुने रहेछ भन्ने ज्ञान बज्रसन्धिभित्र कोरिएको इतिहासले मनमा लेखिदिएको भान गरायो ।

तर, गाइडले हामीलाई यो स्मारकमा हेर्न दिएको एक घन्टाको समय सकिएकाले देशको चिन्ता विदेशमा नगरी फर्कियौँ उनी भएका स्थानतर्फ । माथिबाट हेर्न सुरु गरेर तलतिर झर्दै हेर्दा र त्यहाँका नौला र आकर्षक दृश्य क्यामेरामा बटुल्न थाल्दा एक घन्टा कहिले सकियो थाह नै भएन छ । हामीलाई यो स्मारकको बाहिरी हरेक घेरामा घुम्न मन लागेको थियो । यदि ती घेराहरूलाई पुरा घुम्ने भए कम्तिमा त्यो ठाउँमा दुई घन्टा लाग्ने जस्तो देखेर छोटो उपाय निकाल्यौँ । पहिले सबैभन्दा बाहिरी घेरामा घुम्यौँ एउटा पाटो । अनि त्यो भन्दा भित्री घेरामा एउटा पाटो, तेस्रो घेरा तेस्रो पाटो घुम्दा भित्र पसेर हेर्ने स्वम्भूनाथमा जस्ता साना साना मन्दिर पस्न मन लाग्यो । त्यहाँको बनोटको सानो गेटमा थरी थरीका फोटो खिच्तै हाम्रो चौथो घेरो सक्यौँ । त्यहाँबाट निस्किएर गाइड, गाडी हुँदै अर्का स्थानतर्फ लाग्यौँ त्यो सङ्घर्षको व्यथा कुँदिएको शान्त वातावरणबाट बाहिरतिर ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।