18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सृष्टि

लघुकथा मनोहर पोखरेल May 2, 2025, 12:29 am
मनोहर पोखरेल
मनोहर पोखरेल

“थुइक्क अभागिनी । अब अघि नसर, बाँकी काम हामी गर्छौ ।”
केही बोल्न खोज्दै थिईन सृजना तर जड भईन् । महिनौदेखि तयारी गरेकी उनी स्वयम् यो अवसरबाट वञ्चित हुने अवस्था आएको थियो ।
“देउता रिसाउने, अनिष्ठ निम्त्याउने कर्म नगर ।” नन्दाले थाल खोस्दै भनिन् । “अपवित्रले शुभ कार्यमा हात हाल्न हुँदैन, छुइछाइ भयो भने पाप लाग्छ, बुझिस् ।”
निकै बेरसम्म आमा ननिक्ले पछि जीवन स्वयम् घरभित्र पसे । फुपू चर्को स्वरमा बोल्दै थिइन् । “जिद्दी नगर, अनर्थ होला ।”
“के को गलफती हो फुपू र आमाको ।” जीवनको प्रश्नमा नन्दाले भनिन् “के हुनु नि, महारानीले नहुने भयो । लाज मान्नुपर्ने र बार्नुपर्ने कुरा हो । तिमी बाहिर पर्ख, विदाइ गर्न म आउँदैछु ।”
असमञ्जसमा परेका जीवन बाहिर जान सकेनन् । नियमित प्रक्रिया र प्राकृतिक कुरा भए पनि सामाजिक संरचना र सांस्कृतिक जीवनसँग जोडिएको विषय थियो । सारा नातागोताका मानिस एकातिर थिए, आमा एक्लो कुनामा उभिएकी थिइन ।
“यसरी सृष्टि चलायमान गर्नेलाई अचलायमान बनाएर राख्न मिल्दैन् ।” उनले आमालाई भने “बाहिर निक्लनुस् । दुध अमृत हो भने रगत जीवनचक्र हो । थाली उठाउनुहोस्, टिका लगाएर सगुन खुवाएर विदा गर्नुहोस् ।” यत्तिकैमा पञ्चेबाजा घन्किन थाल्यो ।
“म्म्म्म्मैले ....छोरा ।”
“हो आमा । पटक्कै अपराध बोध गर्न पर्दैन, तिमी छौ र म भएँ, महिनावारीको पवित्र रगत छ र सृष्टि छ ।”

राजविराज–६, सप्तरी

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।