18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

पूरानो घर

कथा अमृत दाहाल May 2, 2025, 12:38 am
अमृत दाहाल
अमृत दाहाल

रात छिप्पिइसकेकाले बस्तीभरि अध्याँरो छ । टाढा कहिलेकाहीँ कुकुर भुकेको र अलि पर राजमार्गमा गुडेका गाडीका आवाजबाहेक चकमन्न छ । तर १०२ नम्बरको छाप्रोबाट भने निरन्तर आवाज आइरहेछ–ख्वाङ..ख्वाङ, ख्वाङ..ख्वाङ.. । त्यहीँ छाप्रोभित्रको जीर्ण खाटमा सुतेका छन् नरहरि । खाटमात्रै होइन, चोयाले बेरेको र जस्ताको छानो भएको छाप्रो पनि जीर्ण छ । जस्ता केही नभए पनि हरेक वर्षायाममा आउनै पानीले थिलथिलो पारेको चोया मक्किएर चुँडिएका छन् । ठाउँ–ठाउँमा प्वाल परेका छन् । प्वाल छोप्न राखिएका प्लास्टिकलाई हावाको झोंकाले बेला–बेलामा फिरफिर पारिरहेका छन् । यी सबै चिजभन्दा पनि जीर्ण छन् नरहरि । दम भएको डेढ वर्षजति भयो । चिसोयाम उनका लागि कालजस्तै बनेर आउँछ । दम झन् बढ्छ ।

७६ वर्षको यो उमेरमा उनी एक्लै छन् । २ छोरा, एक छोरी र श्रीमती अमेरिका पुनर्वास गइसके । उनलाई पनि जाउँ नभनेका होइनन् । तर मन मानेन । स्वदेश भुटान जान पाउने आशा त्यान्द्रो पनि बाँकी रहेन । परिवारको आग्रहमा उनले भनिदिए–उता जान पाइनँ भने बरु यही पितृभूमिमै मर्छु, अमेरिका–समेरिका जान्नँ ।

परिवारले थप कर पनि गरेन । दोस्रो पुस्ता शरणार्थी बन्यो । मौका आएका बेला तेस्रो, चौथो पुस्तालाई शरणार्थी बनाउन चाहेन परिवारले । उनले त्यतिबेला भनेका थिए– नाति–नातिनालाई राम्रो बनाओ, छोराहरु राम्रो गर, तिमीहरु जाओ, म जाँदिन । अनि नरहरिलाई एक्लै छाडेर परिवार अमेरिका उड्यो ५ वर्षअघि । २ वर्षअघिसम्म पनि उनलाई एक्लोपनको आभाष भएको थिएन, बिहान बेलुकी खाना पकाएर खान, दिउँसो सथाी संगातीहरुसंग बसेर गफ गर्न जाँगर चलेकै थियो । किनभने, परिवारै तेस्रो मुलुुक गएपछि वस्तीमा छाडिएका वृद्धवृद्धाको हुलै थियो । उनीहरुसँग गफ गर्थे । भुटानमा बिताएका दिन सम्झन्थे । त्यहाँका वस्तुभाउ, घरगोठ, आफूले पसिना चुहाएका खेतबारी सम्झन्थे । दिन सजिलै कट्थ्यो ।

अमेरिका गएको ३ वर्षसम्म नरहरिलाई छोरा र श्रीमतीले नियमित फोन गर्थे । बेला–बेलामा भिडियो कल पनि हुन्थ्यो । दिनभरिको गफगाफ र दिन बिराएरजसो परिवारसंगको कुराकानीले नरहरिलाई केही समस्या थिएन ।

तर २ वर्ष भयो नरहरिलाई छोराहरुले फोन गर्न छाडेको । न उनलाई छोराहरुले सोधेका छन्, न उनीहरुको हाल नै थाहा छ । सबैभन्दा बढी माया गर्ने नाति–नातिनाले समेत बिर्सिसकेजस्तो लाग्छ उनलाई । झन् डेढवर्षदेखि दमले समाएपछि उनलाई झन् कष्ट भएको छ । अब त विश्व खाद्य कार्यक्रमले समेत खाद्यान्न कटौती गरेपछि के खाने चिन्ताले सताउन थालेको छ ।

उनको खोकी रोकिएको छैन । उठेर जिरोवाटको बत्ती बाले । बिस्तारै खाटको कुनामा राखिएको औषधि उठाए । सम्झे–औषधि त २ दिनअघि नै सकिएको रहेछ । यो औषधि पनि वस्तीकै सचिवले सहयोग गरिदिएका थिए । औषधिको खाली बोत्तलमा केही थोपा बाँकी रहेछ । अलिकता पानी हाले र हल्लाए । जसोतसो एक बिर्को झोल भयो । त्यसलाई सुरुप्प पिए । केही बेरपछि खोकी अलि शान्त भयो । उनका आँखा लोलाएजस्तै भए...
०००
ढोकामा कसैले ढकढक गर्‍यो । सकी–नसकी उठेर ढोका खोले । बाहिर चम्किलो प्रकाश पोखिएजस्तो थियो । ढोकामा छोराहरु उभिइरहेका थिए । उनलाई सपनाजस्तो लाग्यो । शरीर पनि फूर्तिलो भएको थियो, हल्का । अहिल्यै जमीनबाट उडिहालौंजस्तो । खोकी पनि थिएन । दम पनि हराएको थियो । अनायश छोरालाई देखेर उनका आँखामा आँशु भरिए । छोराहरुले एक–एक गरेर उनलाई ढोगिदिए । ‘बा तपाईं एक्लै हुनुहुन्छ, सार्‍है दुःख भएको छ हगि ?, तपाई हामीसँग उतै अमेरिका हिड्नुस,’ जेठो छोरा बोल्यो । छोराहरुले आफूलाई कति माया गर्दारहेछन् भनेर उनी निकै खु्सी भए । खुसीले घाँटीमा केही अड्किएजस्तो भयो । उनी कोक्किई कोक्किई रोए । दुवै छोरालाई एक–एक गरेर अंकमाल गरे । गाला चुमे । र भने, ‘तिमीहरुलाई पनि त सम्झिरहेको छु मैले, खै फोन गरेनौं ।’

उनलाई श्रीमती नर्मदाको याद आयो । प्रिय नातिनातिनीलाई सम्झे । सबैको हालचाल सोधे छोराहरुसँग । उनीहरुलाई खाना खुवाउन चुल्होमा गए । त्यहाँ केही थिएन । उनलाई धिक्कार लाग्यो । यतिका समयपछि आएका छोराहरुलाई केही खुवाउन सकिन भन्ने सम्झेर रुन थाले । छोराहरु नबोली एकोहोरो हेरिरहेका थिए । भएको अलिकता चामल गिलासमा हालिरहेका थिए । तर गिलास भरिदैं भरिन्नथ्यो । यत्तिकैमा चारैतिरबाट नरहरि, नरहरि भनेको आवाज आइरहेको सुने । उनी छट्पटिन थाले । छोराहरुतिर हेरे । उनीहरुको अनुहार धमिलो भइरहेको थियो ।
०००
ए नरहरि दाइ, नरहरि दाइ । छाप्रोबाहिर बसेर भक्तबहादुर बोलाइरहेका थिए । उनी झँल्यास्स बिउँझिए । हेरे छाप्रोभित्र कोही थिएन । छोराहरु थिएनन् । राति केही कम भए पनि खोकी उस्तै थियो । उस्तै कमजोरी । छाप्रोभित्र उही रिक्तता । गाला छामें, आँशुले चिसो भएको थियो । हातले पुछे । बिस्तारै उठेर सुरुवाल र कमिज उने । खाट मुन्तिर फित्ता चुडेर डोरीले अड्याइएको चप्पल थियो, निहुरिएर निकाले र खुट्टामा घुसारे । ढोका खोल्ने बेलामा रातिको सपना सम्झे । हिजो बेलुकी जस्तो लगाएको थियो, उही हालतमा थियो ।

‘राति कस्तरी खोक्नु भाको दाइले,’ भक्तबहादुर बाहिर काठको मुडामा बसिरहेका थिए । नरहरि पनि छेउमै बसे । ‘के गर्नु यो दमले यसैपटक लैजाला जस्तो छ’, नरहरि बोले, ‘औषधि पनि सकिगो, अलिकता रैछ, त्यो खाएपछि अलि सन्चो भो, बिहानपख यसो ढल्केछु ।’

‘त्यही त मैले पनि रातभरि सुनिरछु तपाईंले खोकेको, के गर्ने म पनि आउन सकिनँ, आफू पनि युरिक एसिड भएर हिड्न सक्दिनँ, अहिले तपाईंलाई कस्तो छ भनेर आएको ।’ भक्तबहादुरले आफू आउनाको कारण बताए ।

भक्तबहादुरको कथा पनि त्यही हो । छोराबुहारी क्यानडामा छन् । यहाँ७५ कटेका बुढाबुढी । दुवै बिरामी । यी २ परिवारमा फरक यति हो, भक्तबहादुरका एक अर्कालाई साथ दिने दम्पत्ती छन् । नरहरि फगत एक्लो । तातोपानी तताएर दिने पनि कोही छैन । कथा एउटै, व्यथा एउटै भएकाले दुवै जना दिनभर बसेर गफ गर्छन् । बेला–बेलामा पूराना कुरा सम्झेर आँशु चुहाउछन् । बेला बेलामा ठट्टा गर्छन् ।

‘साँच्चि के दाजु, अब हाम्रो मरण यहीँ त होला,’ भक्तबहादुरले सोध्दा नरहरि मौन भए । आफ्नो प्रश्नको उत्तर नआएको देखेर भक्तबहादुरले नरहरिको आँखामा हेरे । चिसा थिए । यो देखेर भक्तबहादुरलाई पनि ननिको लाग्यो ।

‘दाजु के भो ?’

‘उही त हो नि, जतिसुकै मन कठोर बनाएपनि सपनामा छोराहरुलाई देखें । भन्थे–अब दुःख नगर्नुस् बा, अमेरिका जाउँ, मलाई निकै माया गर्दैथे ।’ नरहरि एकसुरले बोलिरहेका थिए ।

भक्तबहादुर बोले– त्यै भएर त नि सपना भनेको । सपना पनि कतै साँचो हुन्छ र ? त्यो त मनको कल्पना न हो । मनको तरंग हो । हामी सानो छँदा उडेको सपना देख्थ्यौं, त्यो कहिल्यै पूरा भो ? हो त्यस्तै हो सपना । भो छाडिदिनू । मलाई लाग्छ, तपाईंलाई पनि छोराछोरीसंगै अमेरिका जान मन लागेको होला र त त्यस्तो सपना आएको हो ।

भक्तबहादुर नरहरिको मन चोर्न खोज्दैथे । अनि सानो बच्चालाई जस्तै सम्झाइरहेका थिए ।

‘यो बुढेसकालमा छोराछोरीको काखमा रहन कसलाई मन लाग्दैनथ्यो होला र, लाग्छ नि । तर अन्तिम मरण उतै भुटानमा होस् भन्ने इच्छा पनि छ । कुन इच्छालाई दबाऊँ, कुनलाई जिउँदै राखौं ?’ यति भनेर नरहरिले लामा श्वास फेरे ।

‘भो छाडिदिनुस्, उता फर्कने हाम्रो इच्छा कसले बुझिदेला र? पहिले पो नेताहरु थिए, आन्दोलन थियो, दुवै देशले वार्ता गरेका थिए, अब के बाँकी छ र ? न नेता, न आन्दोलन । न देशले नै बुझ्यो । यो हाम्रो इच्छा पनि कुन दिन देहसंगै खरानी हुनमात्र बाँकी छ,’ भक्तबहादुर बोले ।

उनी भन्दैथे– तपाईंलाई त सपनामा आउँदारैछन्, सपनामा भएपनि माया त गर्दारहेछन् । मेरो त सपनामा पनि आउदैनन् छोराबुहारी ।

यसपटक आँखा चिसा पार्ने पालो भक्तबहादुरको थियो । तैपनि नरहरिका सामुन्ने आँशु भित्रै लुकाउन खोज्दैथे । उनी पनि पर–पर हेरिरहेका थिए ।

एकछिन कोही बोलेन ।

भक्तबहादुर मुडाबाट उठेर नरहरीको पिठ्यँु थप्थपाए । भने, ‘लु छाड्नुस् यस्ता कुरा । यो कुरा कहिल्यै सकिदैंन । आज शिविरको सचिवकहाँ जाउँ, खाद्य कार्यक्रमले चामल दिन छाड्ने भन्या छ, अब के खाएर बाँच्ने हो, छलफल गरुँ । हामी बुढाबुढीलाई केही उपाय गर्छन् कि ? के गर्ने, काम गरेर खान सकिदैंन ।’

दुवै वृद्ध नजिकैको अर्को छाप्रोतिर निस्किए ।

भक्तबहादुर अघि–अघि, नरहरि केही पछि थिए । बाटोमा उनीहरुले खासै केही कुरा गरेनन् । दुवैका आ–आफ्ना पीडा छन् । सायद दुवै मनमा कुरा खेलाउँदै हिडिरहेका थिए ।

त्यहीबीचमा नरहरीले बाटाको अर्कोपट्टि देखे– एक युवकले एक वृद्धलाई पिठ्युँमा बोकेर गाडीतिर लैजादैथिए । के भएको रहेछ भनेर जान्न उनलाई सकसक लाग्यो । ‘के भएको हो बाबु बालाई ?’ तिनीहरु आफूनजिकै आएपछि उनले सोधे । ती युवकले भने, ‘बालाई एक्कासी दम बढ्यो, अनि अस्पताल लैजान लागेको ।’

‘ए,’ उनले यतिमात्र भने । यत्तिकैका उनको मथिङगलमा विगतको सम्झना सिनेमाको रिलजसरी घुम्न थाले । भुटानको गाउँ, खेतबारी, भारत हुँदै ट्रकमा झापा पसेको क्षण, सुरु–सुरुमा शरणार्थी शिविरमा एक छाक राम्ररी खान नपाएका आदि आदि ।

बिहान चिसो सिरेटो चलिरहेको थियो । नरहरिको पनि एक्कासी दम बढ्न थाल्यो । नरहरिले टाढा–टाढा मानिसको खलबल सुन्न थाले । चारैतिर धमिलो देखिन थाल्यो । पत्नी नर्मदा, छोराहरु, नातिनातिनाको आवाज सुने । परबाट कसैले उनलाई बोलाइरहेको अनुभव गरिरहेका थिए– नरहरि दाइ...दाइ....ए बा...ए बाजे...।

एकछिनपछि आँखा खोल्दा उनी स्वास्थ्यचौकीको बेडमा थिए । नजिकै भक्तबहादुरलाई देखे । शिविरका अरु मानिस पनि वरपर थिए । ‘दाइ के भो ? दमले च्याप्यो कि ?’ भक्तबहादुरले उनको निधारको पसिना पुछ्दै सोधे । नरहरिले ‘अँ’ मात्र भने । त्यसदिन स्वास्थ्यचौकीमा उपचारपछि उनी दिउँसोतिर भक्तबहादुरको घरमा गएर खाना खाए । दिउँसो पनि दुवैजनाले गफगाफ गरेर बिताए । साँझपरेपछि नरहरि ‘अब छाप्रोतिर जानुपर्ला,’ भन्दै उठे । उनको खोकी केही कम भएको थियो । तैपनि कमजोर देखिएका थिए । भक्तबहादुरले भने, ‘दाइ, त्यति सन्चो छैन क्यारे, आज दाजुभाइ यतै बसम् क्यारे ।’

‘हैन, उतै छाप्रोतिर जान्छु, के गर्ने ३० वर्ष बिताए पनि त्यसलाई घर भन्न मन लाग्दैन,’ यतिभन्दै उनी आफ्नो छाप्रोतिर लागे । एकछिन बाहिर मुडामा बसेर टोलाए । यत्तिकैमा जुरुक्क उठे र सरासर भित्र गए । भित्र कोठाको एउटा कुनामा पूरानो ट्यांका थियो । जनैमा झुण्ड्याएको साँचो झिकेर ट्यांका खोले । ट्यांकाको माथि वर्षौंदेखि नधोइएका पूराना कपडा थिए । सबैभन्दा तल थियो, पूरानो एल्बम । त्यसलाई बाहिर निकाले । खाटमा गएर बसे र तिनलाई पल्ट्याउँदै एक–एक नियाल्न थाले ।

बाहिर चिसो बढ्दै थियो । छाप्राको प्वालबाट चिसो हावा छिरेको अनुभव गरे । टाउकामा लगाएको टोपी अलि तल सारे । केही न्यानो भएको अनुभव भयो । साँझ केही पनि खान मन लागेन । औषधि खाएर सुते ।
०००
१०२ नम्बरको त्यो छाप्रो भोलिपल्ट अबेरसम्म खुलेन । दिउँसो पनि खुलेन । साँझपख भक्तबहादुर आए । ढोका ढक्ढकाए । नरहरि, नरहरि भनेर धेरैचोटि बोलाए । नखुलेपछि उनको मनमा अनेक तर्कना चले । साँझ आएका वस्तीका सचिवहरुसहित ढोका फोरेर भित्र पसे । देखे– फोटो एल्बम छातिमा राखेर सुतिरहेका थिए । तर उनी निर्जीव भइसकेका थिए । नजिकै गएर भक्तबहादुरले एल्बम हेरे- त्यो फोटो उनको उही पूरानो घरको थियो, जहाँ उनले जीवनका ५ दशक बिताएका थिए ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।