कुलैनबारी मङपूको मनोरम पहाडमा जन्मिएकी नीलम तामांग तीन दशकदेखि कविता लेखनमा सक्रिय छिन्। कविताबाहेक गीत र नाटक पनि लेख्ने सौख राख्छिन्। हिन्दी र उर्दूमा समेत कविता लेख्न रुचाउँछिन्। अगमसिंह गिरीको खण्डकाव्य “युद्ध र योद्धा” को ओपेरा (आधी धरती, आधा आकाश समूह द्वारा सञ्चालित) मा नाट्य निर्देशन गरेकी छन्। गणितमा स्नातक हुन्। भाषाविज्ञान उनको विशेष चासोको क्षेत्र हो। पेशाले पश्चिम बंगाल लोक सेवा अधिकारी हुन्। हाल सिलगढीमा सामाजिक रूपले सक्रिय जीवन निर्वाह गर्छिन्। उनि आफ्नो पहिलो प्रकाशित काव्य-कृति “मार्न नसकिएका बोक्सीका छोरीहरू”मा एक दर्भिलो स्वाभिमान र अभिव्यक्तिका साथ उपस्थित छन्।
“मार्न नसकिएका बोक्सीका छोरीहरू” कविता केवल एउटा सामाजिक समस्या उठाउने प्रयास होइन, यो एक प्रकारको कविता क्रान्ति हो। नीलम तामाङले यी कविताहरू मार्फत नेपाली कविता संसारमा नारी चेतना, सामाजिक प्रतिरोध र न्यायको माँग बलियो रूपमा प्रस्तुत गरेकी छन्। कविताका पंक्तिहरूले सुरुमै एक गहिरो सामाजिक विडम्बना प्रस्तुत गर्छन्। मार्न नसकेका भन्नाले समाजले हिंसा गरेर पनि नष्ट गर्न नसकेका ती छोरीहरू हुन्। तर तिनीहरूको अस्तित्वलाई अझै समाजले स्वीकार गर्न सकेको छैन- बाँचे पनि देखिने ठाउँ छैन। यो कविता पीडाको बिम्ब हो, तर त्यो पीडा अब चिच्याएको छैन-लेखिएको छ, बोलेको छ, अगाडि बढेको छ। कविता शोषणको चित्रण मात्र होइन, विप्लवको उद्घोष पनि हो। बोक्सी भन्ने शब्द केवल आरोप होइन, त्यो समाजले महिलामाथि लगाएको कलंक हो। छोरीहरू प्रतीक हुन् शक्ति, सहनशीलता र विद्रोहको। कवितामा गहिरो पीडा छ, तर त्यो पीडा मौन छैन-विद्रोहमा रूपान्तरण भएको छ।
जीवनका तीता-मीठा अनुभवहरूबाट बटुलेका कटु सत्यहरूलाई लिएर कविता रच्ने कवि हुन् नीलम तामाङ। अति सहज-सरल शब्दमा उनले जीवनका सुप्त र जाग्रत मनका जम्मै पीडा र प्रतिरोधहरू शब्दको माध्यमले प्रकट गरेकी छन्। उनका कवितामा नारी जीवनका पीडाहरू, सँधै नारीहरूको अन्तर्मनमा घोचिरहने क्षुब्धताहरू छन् भने जीवनका यथार्थहरू पनि उत्तिकै सशक्त रूपमा अभिव्यक्त भएका छन्। धेरै सावधानपूर्वक उन्ले कविताहरूमा आधुनिक चेतनाको उन्मेष गराएकी छिन्। किनाराको व्यञ्जन वर्ण कवितामा उनि लेख्छिन्-
कपुरी क, खरायो ख
खरायो दूधजस्तो सेतो र सिमलजस्तो नरम
दूध त तिमीहरूले राम्ररी देखेका छैनौ
सिमलचाहिँ सिरानीमा हालिन्छ
जसमा निद्रा नलाग्ने टाउकाहरू
लडीबडी खेल्छन्।
गाईगोडे ग, घरजस्तो घ
-नक्साको घर कहिले चुहुँदैन
तिमीहरूको जस्तो राति ओछ्यान भिजाउँदैन
कविताहरू पूर्वार्ध र उत्तरार्ध दुई भागमा बाँडिएका छन- पहिले विभिन्न समयमा लेखिएका बाइस कविताहरू पूर्वार्धमा र एक्काइसवटा कविताहरू उत्तरार्धमा समावेश गरिएका छन्। “कस्ती छ्यौ सीमा” कवितामा दैनन्दिन जीवनमा भोग्नुपरेको महिलाहरूको नित्य नैमित्तिक पीडालाई प्रकाशमा ल्याएकि छन्। चिया कमानका कामगर्ने महिलाहरूको अस्त-व्यस्त जीवनको आभाष पनि कविताहरूमा देख्न पाइन्छ। कुल मिलाएर कविताहरू महिलाहरूको जीवन-गाथाहरूमै घुमी फिरी समाहित भएको पाइन्छ। दार्जिलिङ्गको अस्तित्वको लडाइमा सबैथोक गुमाउनुको पीडा पनि कविताहरूमा देख्न पाइन्छ र भित्रैदेखि पीडाहरू सलबलाएको अनुभूत हुन्छ। यस अर्थमा कविताहरू नारीवादी सोचको उपज हो पनि भन्न सकिन्छ। “मार्न नसकिएका बोक्सीका छोरीहरू” कविताको प्रारम्भ यसरी गरिएको छ-
मध्य रातमा अनभ्यस्त हातले ढोका ढकढकाउँदै
मेरो जीवनमा प्रवेश गऱ्यो
-प्रेम!
मेरो अभ्यस्त जीवनका अलिखित नियम-कानूनहरूलाई
तहसनहस पार्दै
र सबै अस्तव्यस्त पारिदियौ
“याज्ञसेनी” कवितामा कविले यसरी उद्गार व्यक्त गरेकी छन-
एक सभाभरि प्रतिद्वन्द्वीको भीडमा
तिमीलाई चुनेथेँ केवल
भनेँ त
मेरो चुनाउ केवल प्रहसन
निर्जीव वस्तुको भाँती मेरो भाग लगायौ
नित्य युवाणी, पञ्चवल्लभा
महानताको तक्मा झुण्ड्याइदियौ
मलाई महान सतीहरूको सूचीमा सामेल पनि गरायौ
अर्को प्रहसन!
प्रत्येक रात, के मेरो चाहनाको रात हुन्थ्यो?
प्रत्येक लोग्ने, के मेरो कामनाको लोग्ने हुन्थ्यो?
उन्ले निर्धक्क सँग “ऋणग्रस्त” शीर्षक कवितामा भनेकी छन्-
मैले त सापटी लिएको हुँ
दिनभरी कारखानामा घोटिने श्रमिकहरूको हड्डीबाट
चियापत्ती टिप्ने फुटेका औंलीहरूबाट
जसले
न्यूनतम ज्याला पाउनको निम्ति पनि धर्ना बस्नुपर्छ
अझै एउटा मार्गरेट्स होप दोहोऱ्याउनुपर्छ।
कविता यात्रा कविताहरूसँग चलिनैरहन्छ। उनको काव्यकृतिमा कविताक्रम सकिए पनि कविता यात्रा जारी नै रहेको छ।
अब अर्को भेट
कहिले, कहाँ हुने हो?
त्यो छलफल नगरी फर्किँदा
त्यो दिन कस्तो हुनेछ?
हाम्रो अन्तिम भेट कविताका पंक्तिहरू यसरी नै समाप्त भएका छन्। अब कवयित्रीसँग फेरि हाम्रो भेट कहिले र कसरी हुने हो, यसैको अधीर अपेक्षा मलाई जस्तै अरूलाई पनि हुनेछ। पहिलो कृतिमै यसरी विचारोत्तेजक, अन्तर्मनलाई जाग्रत पार्ने कविताहरू पाठकहरूसमक्ष राखेकोमा कवयित्रीलाई सादर धन्यवाद।