(भाग-2)
जनवरी 2025-को बिहान सिटोङदेखि निस्किएका हामी एनजेपीबाट पटना घुम्दै 24 जनवरीको मध्यराति प्रशान्ति निलयमको बस स्ट्यशाण्डमा ओर्लिएका थियौँ। पुर्णिकला बहिनीले पहिलेबाटै चिनाजाना भाइ अर्शिदलाई होटल व्यवस्था गर्न लगाइसकी थिइन्। बसबाट ओर्लिएपछि अर्शिदले फोनमा बताएअनुसार थोरै अघि बढ़ेपछि भेट्यौँ उनलाई। साई मन्दिरबाट बाहिरिने गेटनजिकै रहेछ हाम्रो होटल। भाइले नै पुर्याइदिए।
‘बिहान छिट्टै गरेर मन्दिर दर्शनमा निस्कनुपर्छ’ भन्ने सल्लाह भएको थियो। ‘सकेसम्म चारैबजी निस्किए बिहानको पूजापाठ तथा भजन, आरती सबै भेटिन्छ’ भनेर ससुरा बाबाले सबैलाई ‘छिटो जानुपर्छ’ भन्नुभएको थियो। हामीसित 25 र 26 जनवरीको बेलुकीसम्मको मात्रै समय थियो।
बेलुकीको हाम्रो सल्लाह बिहान हुँदासम्म खरानी भैसकेको थियो। 22 जनवरीदेखिको निरन्तर रेल यात्रा, त्यसपछि मेट्रो अनि बसको यात्रा। त्यति मात्रै नभएर बिचबिचमा अटो र हतारोको पैदल यात्राले लखतरान परेको ज्यानलाई सोचेजस्तो सबेरै उठाउन सबैको लागि सहज थिएन। म उठेर बाहिर निस्कँदा बाबा पहिल्यै निस्किसक्नु भएको थियो। दुवैले चिया पिएपछि म बाहिर निस्किएँ। साई मन्दिरको गेटअघि अटो चालक बासासँग परिचय भयो। मोबाइल नम्बर लिएर फर्किएँ।
यात्रामा निस्कनअघि सोचेको र सल्लाह गरेको कतिकुरा बाहिर निस्किसकेपछि ठ्याक्कै त्यस्तो नहुने रहेछ। साई मन्दिर परसिरमा बिहानको भजनपछि भोजनग्रहणको योजना पनि छुट्यो। मन्दिर दर्शनमा गयौँ। बाहिरी अवलोकन गर्यौँ। ‘आहाऽऽऽ सधैँ यहीँ बसिरहौँ’ लाग्ने, कत्ति शान्त। निस्किएर पुर्णिकलाले नजिकैको नेपालीकै होटलमा पुर्याइन्। त्यसपछि भने बासालाई बोलायौँ। एकजना साथीसम्स लिएर आइपुग्यो। वरिपरिका स्थानहरू भोलि हेरौँला सम्झेर हामी लाग्यौँ लेपाक्षी मन्दिर।
साइ प्रशान्ति विद्या मन्दिरदेखि लेपाक्षी मन्दिर पुग्नलाई लगभग 65 किलोमिटरको सड़क यात्रा तय गर्नुपर्ने हुँदोरहेछ। अटोले लगभग एकघण्टा 20 मिनटजतिको समय लिनेरहेछ। मान्छेहरूको भीड़भाड़, अटोचालकहरू चारैतिर। त्यसैले उनीहरूका लागि प्यासेन्जर पाउनु सजिलो थिएन। 30 र 31 नम्बरको अटोरिक्सा रिजर्भ नै गरेका थियौँ। एकैसाथ दुईजना अटोको लागि त्यो पनि दिनभरिकै निम्ति हामीलाई पाउँदा खुशी थिए। समय जति लागे पनि प्रतिअटो चौधसयमा लेपाक्षी पुर्याएर बेलुकी होटलसम्म ल्याइदिने। बाटोमै पर्ने शिव र हनुमान मन्दिर अनि बाहिरबाट हेर्दा शिवलिङ्गजस्तै देखिने शिवदर्शन आर्ट ग्यालेरी पनि समय पाए फर्किँदा देखाइदिने, त्यसको लागि थप भारा दिनुनपर्ने बासाले वचन दिए।
लेपाक्षी मन्दिर-
लेपाक्षी प्रवेश गर्दागर्दै पाँचपाँच रुपियाँको दुईवटा टिकट हातमा थमाइदिएर पचास रुपियाँ लियो।
आन्द्रप्रदेशको यो मन्दिरलाई एक ऐताहिसिक मन्दिरको रूपमा पनि चिन्न सकिँदो रहेछ, जो पूर्णरूपमा ढुङ्गाले मात्र बनिएको छ। जहाँ टेक्छौँ ढुङ्गा। खाँबो/पिलर ढुङ्गाको। छत/छानो ढुङ्गाको। भगवानका प्रतिमाहरू ढुङ्गाकै। के छैन बनेको ढुङ्गाले, जेजति छन् सबै ढुङ्गाकै छन्।
यो मन्दिरलाई वीरभद्र मदिर भनेर पनि जानिँदोरहेछ, जो कछुवाको आकारमा रहेको बताइएको छ, तर हामीसित एरियर भ्यू हेर्ने सुविधासाधन थिएन। यसलाई ‘अच्युत रायलुको पालन काल’ (1530- 1542)-मा कोशाधिकारी विरूपन्नाले निर्माण गरेका हुन् भन्ने मन्दिर अगाड़ि रहेको सङ्गमरमरमा दिइएको जानकारीले बुझाउँछ। यहाँ लेखिएको छ “सालुव इम्मडि नरसिंह रायलु के पालन से संबंधित शिला लेख हाल ही में प्रकट हुई।” यसैअनुरूप विरूपन्नाभन्दा पचास वर्ष अघि ‘पापनाशेश्वर मदि’ निर्मित रहेको छ। यी मन्दिरहरूको समूहमा पापनाशेश्वर, वीरभद्र र रघुनाथ मन्दिर अनि अनुबन्ध मन्दिर- पार्वती, रामलिङ्ग, हनुम लिङ्ग मन्दिर निर्मित छन्।
विजय नगर राजाओं के निर्माण शैली, सरंचना, ‘स्थापाय कला’ तथा ‘नक्काशियाँ’ उत्कृष्ट छन्। यो मन्दिरका भित्ताहरूमा चित्रित भित्तेचित्र अति नै प्रसिद्ध रहेछन्। पार्वती विवाह, किरातार्जुनीय, भूकैलाश, वटपत्रशाई, मनुचोल सन्दर्भ, भगवान शिवका अनेक रूप, द्रौपदी स्वयंवर तथा विरूपन्ना आफ्ना भाइहरूसित वीरभद्रको आराधना गरिरहेको आदि पौराणिक गाथाहरूको जीवन्त चित्र यहाँ हेर्न सकिन्छ।
शिव/हनुमान मन्दिर-
लेपाक्षीबाट फर्किँदा बासाले आफ्नो वाचा बिर्सेनन्। बाटैमा देब्रेतिर थिए शिवजी र हनुमानको बढ़ेमान प्रतिमा। थोरैबेरका लागि बस्यौँ। शिवजीको प्रतिमाको फेदमा सानो चेपारोजस्तो लाग्ने द्वारबाट पस्यौँ मन्दिर। निर्माणधीन रहेछ। निस्किएर हुनुमानको प्रतिमा पनि हेर्यौँ। फोटो खिच्यौँ। पछाड़ितिर थिए तराईतिर देखिने मालबाहक ट्रकजतिकै लामो ठ्याक्कै माचिसको बट्टाकै आकारको ढुङ्गा। मन्दिर वरिपरि भुइँमा ओछ्याइएको ढुङ्गा सायद त्यसैलाई काटेर निकालिएका थिए। त्यही ढुङ्गा छेउमा टोलाइरहेकी थिइन् एउटी युवाती। हिन्दी, अङ्ग्रेजी नबुझ्नेले नेपाली बुझ्ने त कुरै भएन। हातको इशारासितै ‘नाम के, नाम?’ भनेर सोधेँ। भनिन् ‘दीव्या भारती’। कहिले त साङ्केतिक भाषाले पनि सहयोग गर्नेरहेछ भन्ने बुझेँ। त्यसपछि हामी अघि बढ्यौँ।
शिव आर्ट ग्यालेरी-
लेपाक्षी जाँदा/आउँदाको चौड़ादार सड़क, दायाँ/बायाँतिरको सुन्दर दृष्य अनि नीलो आकाश र ठाउँठाउँमा सेता-सेता बादलका थेग्लाहरूको दृश्य कति मनोरम देखिन्थे, त्यसको वर्णन गरेर सकिन्न। आधिघण्टा जतिको फरकमा थियो बाटैदेखि निक्कै आकर्षक देखिने ‘शिवलिङ्ग’कै आकारमा रहेको अर्को मन्दिर। वास्तवमा यो ‘शिव आर्ट ग्यालेरी’ रहेछ। ‘ब्रह्म कुमारी’का दिदीहरूद्वारा सञ्चालित यहाँ शिवको बाल्यकालदेखि वृद्धावस्थालाई राम्ररी दर्शाइएको पाइन्छ। यसका साथै भगवान शिवका अनेक रूप र अवतारलाई पनि यहाँ चित्रहरूमार्फत बुझाउने प्रयास गरिएको छ। सायद तीनतलामा रहेको यस ग्यालेरीको भित्रभित्रैबाट दर्शन गर्दै जानसकिने सबैभन्दा माथिल्लो तलामा ध्यानकेन्द्र रहेछ, जहाँ बोल्न वा हो-हल्ला गर्न पाइन्न भने फोटो खिच्न पनि पाइँदैन रहेछ।
साई बाबा मन्दिर-
प्रशान्ति निलयममा हाम्रो दर्शन गर्ने र घुम्ने/अवलोकन गर्ने प्राथमिकतामा साई मन्दिर नै हो। हिजो अर्थात 25 जनवरी कै दिन एक चरण घुमिसकेका थियौँ। आज फेरि निक्कै समय लिएर घुम्ने योजना थियो। त्यसपछि साई बाबाका माता/पिताको समाधि दर्शन, गौशाला भ्रमण, म्युजियम अवलोकन र समय निकाल्न सकिए साई लेकसम्म पुग्ने योजना थियो।
“बिहानको भजनको समय साई मन्दिरको मुख्य द्वार पनि खोलिन्छ र दर्शन गर्न सकिन्छ, पस्नुपर्छ। नौ बजीसम्ममा सकिएर हामी निस्कन सक्छौँ” भनेर हामी पसेका थियौँ, तर, त्यसो भएन। 26 जनवरी गणतन्त्र दिवसको अवसरले गर्दा अघिबाटै त्यहाँ अध्ययनरत युवाहरूको दीक्षान्त समारोह पनि भएको हुनाले दिउँसो 12 बजीतिर मात्रै निस्कन सक्यौँ। मलाई मनमा सबैभन्दा नरमाइलो लागेको कुरा, त्यहाँभित्र फोटो खिच्न नपाइने रहेछ। मोबाइल, क्यामेरा केही पनि लानसम्म नदिँदा रहेछन्। पूरै मन्दिर परिसारका मुख्य-मुख्य स्थान वा मन्दिरहरूतिर फोटो खिच्न प्रतिबन्ध रहेछ।
निस्किएर हामी फेरि एकचरण मन्दिर परिसर घुम्यौँ। ध्यान लगाएर घुम्नका लागि दिनैभरिको समय पनि थोरै हुने। निक्कै वर्षअघि सहपाठी मित्र रेणुका शर्माका कुरा सम्झिएँ यतिबेला- “प्रशान्ति पुगेपछि त कत्ति शान्ति लाग्छ। मन्दिर एरिया पनि कत्ति ठूलो छ। उस्तै त हराइजाने नि..।”
मुख्य मन्दिरदेखि सायद हामी पूर्वतिर गैरहँदा हिजो हामी ससुरा-ज्वाईँ सँगै थियौँ। एउटा ठूलो रुख (नाम बिर्सिएछु)-को छहारीमुनि पुग्दा बाबा निक्कै भावुक हुनुभएको थियो। मलाई भन्नुहुँदै थियो, “तिम्रो आमा र म पहिले सेवादलमा आउँदा यो ठाउँमा बस्थ्यौँ। आज तऽऽऽ” अचानक निक्कै भावुक बन्नुभयो र बोल्नै सक्नुभएन। मैले नदेखि आँशु पुछ्न चाहनु भएको थियो, देखिहालेँ। तर नदेखेँझैँ गरेँ। आज हामी नौजना सबै सँगै थियौँ। सायद मन थाम्न नसक्ने बुझेर बाबा अरूभन्दा निक्कै अघिअघि हिँड़िरहनु भएको थियो त्यो स्थान पुग्दा। साई मन्दिरको पूरै परिसर घुमिरहँदा जो-कोहीलाई पनि फर्केर नजाउँ लाग्ने।
बाहिर मानिसहरूको भिड़भाड़, होहल्ला, वाहनहरूको आवाज, हर्नले दिक्क लाग्ने। तर, मन्दिर परिसरभित्र कत्ति शान्ति। हामी नेपालीहरू मात्र होइन, देशीमात्र होइनन् तर विदेशीहरूसम्मले भेटिएका जो-कोहीलाई ‘साईराम’ भनेर अभिवादन गरिरहेका। प्रायजसो सबैले सेतो वस्त्र धारण गरेका। चारैतिर सफा, चिटिक्कै। रुखहरूमा चराहरूको चिरबिर चिरबिर। अँ, एउटा कुरा अचम्मै के भने बिहान भजन/पूजाका समय कहाँ-कहाँ छरिएर बसेका कागहरू, अन्य चराचुरुङगीहरू सबै भेला हुँदा रहेछन्। एकादुईबाहेक का-काग, च्याँच्याँ, चुँचुँ केही नगरी बसिरहँदा रहेछन्। जस्तो पूजा विसर्जन भयो त्यस्तै उड़ेर आ-आफ्नो ठाउँतिर जाने। सारिकाले मलाई भन्दैथिइन्, “यिनीहरू पनि भजन/पूजामा आउँछन्। सकेपछि यसरी आफ्नो ठाउँ फर्कन्छन्।” मान्छेलाई त गाह्रो हुन्छ अनुशासन सिकाउन। ती कागहरू र चराहरू साँच्चै अनुशासित बनेका हुन् कि तिनीहरू होहल्ला नगरी बस्नु संयोग मात्र थियो? मैले बुझिनँ। अर्कोकुरा, प्रशान्ति वरिपरि हामी जहाँ/जति घुम्यौँ सबैतिर सबैकुरालाई ‘साई’सँग जोड़ेर लेखिएको पाइन्थ्यो। अटो चालकहरूले पनि ‘साईराम’ भनेर मात्रै ‘कहाँ जाने?’, ‘अटो चाहिन्छ?’ भनेर सोधिरहेका थिए।
घुम्न/हेर्न नसकेका स्थानहरू-
नजिकै तर हाम्रैतिरजस्तो पहाड़ी बाटो लाग्ने सड़क मार्ग भएर जानुपर्ने रहेछ हेरिटेज अर्थात म्युजियम। तर, गणतन्त्र दिवस परेको हुनाले बन्द रहेछ। फर्किएर थोरै तल रहेको बाबाको ध्यानकेन्द्र हेर्यौँ जहाँ एउटा ‘मेडिटेशन ट्री’ (वृक्ष)को फेदमा केही गोराहरू ध्यानमग्न थिए भने त्यही रुखमा मात्र यत्ति धेरै चमेराहरू तुर्लुङ-तुर्लुङ झुण्डिरहेका थिए।
त्यसपछि पुगेका थियौँ गौशाला। त्यहाँ पनि गौमाताहरूको फोटो किच्न नपाइँदो रहेछ। गाई पालनमा सधैँ रमाउनु हुने ससुरा बाबा त्यहाँ गौमाता देखेर निक्कैबेर नै भुलिनुभयो। घुमी घुमी हेरिरहनु भएको थियो। छुट्टीले गर्दा ‘समाधि’-मा पनि दर्शन गर्न सकिएन। बाहिरबाहिरैबाट हेरेर फर्कियौँ।
साई बाबाको कल्पवृक्ष-
त्यसपछि भने लाग्यौँ ‘कल्पवृक्ष’ भएतिर। भनिँदोरहेछ, यस ठाउँमा साई बाबाले बाल्यकालमा आफ्ना साथीहरूसित खेलेर बिताएका थिए। उनी वृक्षमा चढ्थे अनि साथीहरू जुन फल माग्थे त्यही टिपेर दिन्थे। एउटै वृक्षबाट अनेकथरिका फलहरू आफ्ना साथीहरूलाई दिनेगर्थे। सड़कबाट लगभग सय सिँड़ी उक्कालो चड्दा चड़दै बाटैभरि थिए दोकानहरू। डटपेन र बेह्रेर धागोले बाँधिएको साधा पन्ना बेच्न राखिएका रहेछन्। कल्पवृक्ष भएठाउँमा त अन्य पूजाका सामग्रीलगायत अन्य धेरै कुरा थिए। हेरिटेज र मेडिटेशन-ट्रीकै तलतिर पर्ने रहेछ कल्पवृक्ष क्षेत्र। त्यहाँ जानेहरूले साधा पन्नामा आफ्नो मनोकामना लेखेर बाबाको नाममा रुखका हाँगाहरूतिर बाँधिराख्दा रहेछन्। त्यसो गर्नाले आफ्नो मनोकामना पूरा हुन्छ भन्ने लोकविश्वास स्थापित रहेछ। पुर्णिकलाका बाबा धेरैचोटी पुगिसक्नु भएको हुनाले मलाई जानकारी गराउनु हुँदैथियो, “यहाँ बाबाले सानोमा आफ्ना साथीहरूले जुन फल माग्यो त्यही फल टिपेर दिने गरेको खास वृक्ष त छैनअरे, तर त्यसैको विश्वासमा यहाँ अहिले पनि यसरी मनोकामना राखिन्छ नि भत्तिज।” मनोकामनाहरू लेखिएका यस्ता लाखौँ पन्नाहरू डोरीले बाँधेर झुण्ड्याइएका थिए। हामी केवल दर्शन गरेर फर्कियौँ।
चित्रावती नदी-
यहाँबाट दुई-तीन मिनटमै हिँड़ेर पुगिने रहेछ चित्रावती नदी, जसको ‘किनारमा बसेर साई बाबाले भजन गाउँथे’ भनिँदो रहेछ। यतिबेलासम्म हामी तीनजना मात्र थियौँ भने सारिका, अस्मिता, पुर्णिकला, आमा, रचना र सिद्धी पनि नदी हेर्न आइपुसकेका थिए। आहा, अर्को मनोरम दृश्यावलोकन। छेउमा लमतन्न थियो सड़कमार्ग। सड़क किनारादेखि नै भन्नसकिने चित्रावती नदी शान्त देखिने। पारीतिर रङ्गी-विरङ्गी घरहरू। हरियो देखिने पहाड़। पहाड़माथि फेरि नीलो आकाश। जता हेर्यो उतै फोटो खिच्न मन लाग्ने। देब्रेतिरबाट पुल तरेर पारी गएपछि ‘बोटिङ’को राम्रो व्यवस्था रहेछ। अस्मिता धेरै हिँड़न मन नपराउने, सिद्धी ठीक विपरीत। पुर्णिकलासँग म पनि सिद्धीकै लागि पुग्यौँ बोटिङ गर्न। बोटिङपछि फर्कियौँ होटल किनकि पाँचबजी त श्री सत्यसाईँ प्रशान्ति निलयम रेलवे स्टेशन पुग्नु थियो। लगभग अढ़ाइघण्टा ढिलो गरेको थियो काचीकुड़ी एक्सप्रेसले यात्रा शुरु गर्दा। त्यसपछि प्रशान्ति निलयमको हाम्रो पहिलो दर्शन, पहिलो यात्रा पूरा गरेर हामी हैदरवादतिर लागिरहेका थियौँ।