म मिर्गौला रोगी नभएको भए जीवनभरी निरोगी हुने थिएँ वा अझ यसभन्दा गम्भीर प्रकृतिको रोगले थला परेको हुन्थेँ ? कहिलेकाहीँ यस विषयले मलाई निकै सोचमग्न बनाउने गरेको छ ।
सायद म निरोगी नै हुने थिएँ भनेर कसरी अनुमान गर्न सक्छु ? हुनसक्छ, मलाई मिर्गौला रोग नलागेको भए अन्य कुनै रोग लाग्न सक्थ्यो वा कुनै पनि रोग नलाग्न सक्थ्यो ! यस्ता कुरा अनुमानको भरमा भन्न सकिँदैन । आखिर यथार्थ चाँही के हो भने रोग लागोस् वा नलागोस् जीवन, सरल र सहज रूपमा बिताउनु पर्छ । जीवनभर सानोतिनो बिरामी पनि नपरेर एक चक्की सिटामोलको स्वाद नलिएको मान्छे पनि मैले देखेको छु ।
हुन त जीवनभर कुनैपनि रोग नलागेका केही मान्छेको जीवन यात्रा त्यति सहज नहुन पनि सक्छ । बरु कति मान्छे, रोगीको पहिचान बोकेर पनि सहजरूपमा जीवन बिताइरहेका हुन सक्छन् । सायद रोग र जीवन एउटै वृक्षमा फल्ने फल होइनन् ! रोग नलाग्दैमा जीवन सहज हुन्छ भन्ने हुँदैन । जीवन सरल र सहज हुन अन्य धेरै कुराको तालमेल मिल्नुपर्छ । त्यसैले कहिलेकाहीँ मान्छेको जीवनमा शारीरिक रोगभन्दा पनि जटिल र ठूलाठूला समस्याहरू आइदिन्छन् । रोग लागेर पनि नमरेको मान्छे जीवनमा आइपर्ने अन्य जटिल समस्यासँग जुध्न नसकेर मर्ने गरेका अनगिन्ती उदाहरण पाइन्छन् ।
जीवन एउटा अनिश्चित यात्रा हो । यात्राको क्रममा कहिले सुन्दर फूलबारीको छेवैबाट सुगन्धित फूलको वास्ना लिँदै अगाडि बढ्न पाइन्छ भने कुनै बेला दुर्गन्धित नाली नजिकै पुगिन्छ र नाक थुनेर हिँड्नु पर्ने अवस्था आउँछ । कहिले, सम्मपरेको, सजिलो बाटोमा पनि हिँड्न पाइन्छ । यात्राका क्रममा उवडखावड र भिरको बाटो पनि आउनसक्छ । यात्रा गर्दा बाटोमा राम्रा र नराम्रा अनेक दृश्यहरू देखिन्छन् । कहिले उकालोमा यात्रा गर्नुपर्छ कहिले ओरालोमा । यात्रा गरिरहेको बाटो सहज देखिए निर्धक्कसँग अघि बढ्न सकिन्छ । होइन भिर र खोँच आइपुग्यो भने केही होसियारी अपनाउनु पर्छ अन्यथा भिरबाट खस्ने र खोँचमा खाँदिने सम्भावना हुन्छ । सायद जीवन यात्रा भनेको पनि यस्तै यात्रा रहेछ ! कहिले अनगिन्ती कठिनाइको सामना गर्नुपर्छ भने यदाकदा खुशी हुँदै निर्भयकासाथ यात्रा गर्न पनि पाइन्छ । यात्रा सहज होस् वा असहज तर हार खाएर, कठिनाइको सामना गर्न नसकेर यात्रा स्थगित गर्न भने पाइँदैन । यात्रा सहज र सरल बनाउने प्रयास गरिरहनु पर्छ ।
यसैगरी यात्राको सिलसिलामा कहिले अनावश्यक वस्तु हात पर्छन् भने अत्यावश्यक वस्तु टिप्न खोज्दा पोल्टामा भएको महत्त्वपूर्ण वस्तु पोखिन पनि सक्छ । कहिले फेला पारेको वस्तु टिप्न खोज्दाखोज्दै अदृश्य भइदिन सक्छ । यस्तो किन भइरहेको हुन्छ, कसैलाई पनि थाहा हुँदैन । जीवनको कुनै पनि क्षण मान्छेले सोच्दै नसोचेको खुशी र पीडा एक्कासि सामुन्ने आउन सक्छ । जीवनमा कतिखेर के हुन्छ, कसैलाई पनि थाहा हुँदैन । केहीबेर अघिसम्म कसैले पनि त्यसको छनकसम्म पाउन सकेको हुँदैन । भर्खर स्वास्थ्य रहेको मान्छे तत्काल सिकिस्त बिरामी हुनसक्छ । यस्तो कुराको अग्रिम जानकारी शक्तिशाली मानिएको विज्ञानले समेत दिन सक्दैन ।
मलाई गम्भिर प्रकारको मिर्गौला रोग भएको कुरा त्यसदिन सम्म थाहा थिएन, जुन दिनसम्म मैले रगतमा क्रियटिनिन्को मात्रा जाँच गरेको थिइन । जब क्रियटिनिन् जाँचको नतिजा हात पर्यो, त्यसले सीमा नाघिसकेको थियो । त्यतिबेला म पूर्णरूपमा मिर्गौला रोगी भएको एकिन भएको थियो । त्यसदिनदेखि अहिलेसम्म म मिर्गौला रोगीको पहिचान बोकेर बाँचिरहेको छु र त्यसको प्रत्यक्ष अनुभव गरिरहेको छु । यसले मेरो जीवनको हरेक पक्षलाई गहिरोसँग प्रभावित गरिरहेको छ । कहिलेकाहीं म सोच्दछु, “यदि म मिर्गौला रोगी नभएको भए मेरो जीवन कस्तो हुन्थ्यो होला ? वर्तमान जीवन भन्दा कति भिन्न हुन्थ्यो होला ? ”
यदि जीवनको कुनै समयमा मिर्गौलाको समस्या नआएको भए, मेरो दैनिकी वर्तमानको दैनिकी भन्दा पूर्णरूपमा फरक हुने थियो वा अहिले जस्तै हुनसक्थ्यो ? कि अहिलेभन्दा पनि कठिन हुन्थ्यो वा झबै सहज हुन्थ्यो ? ठिक यस्तै हुन्थ्यो भनेर मैले अनुमान गर्न सक्दिन । तर पनि अहिले जस्तै शरीरमा अनावश्यक कष्ट र कमजोरी भने अवश्य पनि नहुनु पर्छ । कहिलेकाहीँ यस्तै अनुत्तरित प्रश्नहरूले मलाई सोचमग्न बनाइरहेको हुन्छ ।
लामो समयसम्म मिर्गौलाको डायलिसिस प्रक्रियामा निर्भर रहेपछि मेरो मिर्गौला प्रत्यारोपण भएको थियो । जब मेरो मिर्गौला प्रत्यारोपण भयो, डाक्टरको भाषामा “अब मैले मिर्गौला रोगीको पहिचान सहित हिँड्नु पर्दैन, किनकि अस्वस्थ मिर्गौलाको सट्टामा स्वस्थ मिर्गौला प्रत्यारोपण गरिसकिएको छ ।" यद्यपि डाक्टरको परिभाषा अनुसार म विलकुल मिर्गौला रोगी होइन भन्ने पक्षमा भने पूर्णरूपमा सहमत थिइन र आज पर्यन्त पनि छैन । म रोगी नभएको भए त्यो पाहुना मिर्गौला जोगाउने वहानामा म नियमितरूपमा फलोअपकालागि अस्पताल धाइरहनुपर्ने थिएन । जब म तोकिएको समयमा फलोअपकालागि डाक्टरको क्लिनिक र अस्पतालमा पुग्छु एउटा बिरामीले निभाउनु पर्ने सम्पूर्ण भूमिका निभाउनु पर्छ । बिरामीले जस्तै सम्पूर्ण नियममा बाँधिनु पर्छ । उता मिर्गौला प्रत्यारोपण पछि रोगी भन्न नमिल्ने भन्ने डाक्टर नै मसँग एकजना रोगीसँग गर्ने व्यवहार गरिरहेका हुन्छन् । म निकै ध्यान दिएर हेरिरहेको हुन्छु, डाक्टरले मलाई गर्ने व्यवहार निरोगी मान्छेसँगको जस्तो पटक्कै हुँदैन । उनले मसँग गर्ने हरेक प्रश्नहरू बिरामीका लागि तयार गरिएको सूचीबाट सोध्ने गर्छन् । उनले पथ्य र अपथ्य भोजन बारे निर्देशन दिइरहँदा म पूर्ण रोगी भएको महसुस गरिरहेको हुन्छु । भन्न जेसुकै भने पनि डाक्टरले मलाई बिरामीसँग गर्ने व्यवहार गर्छन् । डाक्टरले मात्र होइन मलाई अन्य केही नजिकका मान्छे, छरछिमेक र आफन्तहरूले समेत मिर्गौला रोगी नै सम्झन्छन् । नसम्झिउन पनि किन, वास्तवमा म मिर्गौला रोगी नै हुँ ।
रक्त परिक्षण, वजन जाँच, शरीरको मोटाइ जाँच, प्रेसरको जाँच नगरेसम्म डाक्टरले औषधि प्रेसक्राइब्ड गर्दैनन् । अनिमात्र मैले तीन महिनाकोलागि औषधि खरिद गर्ने अनुमति पाउँछु । औषधि सेवन गरुन्जेलको त्यहि तीन महिना भने म पूर्ण स्वास्थ्य छु भन्ने महसुस हुन्छ । पुनः म फलोअपमा जान झोला बोक्छु र आफू मिर्गौला रोगी भएको वास्तविकता सम्झन्छु ।
म स्वीकार गर्छु, मिर्गौला रोगले मेरो जीवनको ठूलो हिस्सा नियन्त्रणमा लिइरहेको छ । म पूर्णरूपमा स्वस्थ भइदिएको भए मेरो मिर्गौलाले मलाई स्वतन्त्रता दिएको हुन्थ्यो । कुनै मेडिकल जाँचको आवश्यकता बिना म आफ्नो समय र स्रोतहरूलाई जीवनका अन्य महत्वपूर्ण शारीरिक र मानसिक कार्यमा निर्धक्कसँग प्रयोग गर्नसक्ने थिएँ ।
मैले राम्रोसँग बुझेको छु, मिर्गौला रोगी हुँदा शरीरले पूर्णरूपमा तन्दुरुस्ती महसुस गर्न सक्दैन । दिनभरि सानातिना काम गर्दा पनि म थाक्ने गर्छु । यदि मसँग प्रत्यारोपण नगरिएको जन्मगत र स्वस्थ्य मिर्गौला हुन्थ्यो भने त्यसले मलाई धेरै उर्जा प्रदान गरिरहेको हुन्थ्यो । जसले मलाई हरेक दिन जोश जाँगर र उत्साहका साथ बाँच्न प्रेरित गर्न सक्थ्यो । यात्रा गर्न, दैनिक कामकाज गर्न, अध्ययन गर्न, साथीहरूसँग रमाइलो गर्न कुनै शारीरिक अवरोधको सामना गर्नुपर्ने थिएन । मेरो जीवन निकै सक्रिय, उत्साहित र रोमाञ्चक हुने थियो । अहिले म यी सबै गतिविधिबाट पूर्णरूपमा नभए पनि केही न केही वञ्चित भएको छु । मलाई थाहा छ, यही मिर्गौलाको समस्याले गर्दा मेरो जीवनका केही सपना र मनका आकांक्षाहरू अवरुद्ध भएका छन् । मेरो स्वास्थ्यको कारणले धेरै पटक मैले आफ्नो अध्ययन र पेसागत जीवनमा सम्झौता गर्नुपरेको थियो । म मिर्गौला रोगी नभएको भए म आफ्नो रुचिको क्षेत्रलाई सहजै अगाडि बढाउन सक्ने थिएँ । पेसागत रूपमा म विशेष अवसरको खोजी गर्न सक्थेँ । जसले मलाई आर्थिक र शारीरिक रूपमा सशक्त बनाउँथ्यो । जुन कुराबाट म साँच्चैनै निकै टाढा भएको छु ।
मिर्गौलारोगको कारण मैले आफ्नो व्यक्तिगत सम्बन्धमा पनि परिवर्तन भएको महसुस गरेको छु । म साथीभाइसँगको जमघटमा नियमित रूपमा सामेल हुन सक्दिन, किनकि मेरो स्वास्थ्यले कहिलेकाहीं साथ दिँदैन । होइन स्वस्थ्य, सामान्य अवस्थामा छ भने पनि स्वास्थ्य अवस्था अचानक खस्कन सक्ने त्रासले मलाई अवरोध गरिरहेको हुन्छ ।
मिर्गौलाको उपचार अत्यन्त महँगो हुन्छ, जसले गर्दा म आर्थिक रूपमा पनि सीमित भएको छु । डायलिसिसको नियमित खर्चले तत्कालीन अवस्थादेखि हालसम्म पनि नराम्रोसँग मेरो ढाड सेकिसकेको छ । प्रत्यारोपण पछिको मिर्गौला जाँच, औषधि र अस्पतालमा आउने-जाने झन्झटले मेरो व्यक्तिगत र पारिवारिक अर्थतन्त्रमा ठूलो प्रभाव परेको छ । यदि मिर्गौला रोगी नभएको भए, यी सबै आर्थिक भारबाट केही हदसम्म म मुक्त हुनेथिएँ र आफ्नो कमाइलाई जीवनका अन्य महत्वपूर्ण कार्यमा लगानी गर्न सक्दथेँ ।
मिर्गौलाको रोगले मेरो मानसिक स्वास्थ्यमा पनि असर पारेको छ । मेरो अधिकांश दिन निराशा र थकानले लखतरान हुन्छन् । यदि म स्वस्थ हुन्थेँ भने, म मानसिक रूपमा पनि सशक्त महसुस गर्न सक्थेँ । तनाव र चिन्ताको साटो आत्मविश्वास र उत्साहले मेरो जीवन भरिपूर्ण हुने थियो ।
यो धरामा धेरै मान्छेहरू बिरामी छन् । कति म भन्दा पनि गम्भीर समस्यासँग जुधिरहेका छन् । कतिले सामान्य शारीरिक अस्वस्थतालाई पनि गम्भीर प्रकारको समस्या भएको भ्रम पालेर बस्ने गरेका छन् । कतिपय व्यक्तिले गम्भीर रोगलाई समेत सामान्य ठानेर बेवास्ता गरिरहेका हन्छन् । सबै मान्छेको विचार र सोचाइ फरक फरक हुन्छ । ईश्वरको सृष्टिमा कुनै पनि मान्छे एउटै स्वभावका हुँदैनन् ।
यदि म मिर्गौला रोगी नभएको भए, म साथीहरू र परिवारसँग थप समय बिताउन सक्थेँ । उनीहरूसँग घुम्न, रमाइलो गर्न स्वतन्त्र हुने थिएँ । मेरो समाजिक जीवन थप रमाइलो र सन्तुलित हुने थियो । म पनि उनीहरूले जस्तै जतिबेला मन लाग्यो, जहाँ फेला पार्यो रुचुन्जेल पानी पिउने थिएँ । मनलागेको र आत्माले मागेको खाद्यवस्तु निर्वाधरूपमा प्रयोग गर्न सक्थेँ । जतासुकै भ्रमण गर्न मन लाग्यो त्यतै पुग्ने थिएँ । जिब्रो पड्काउने गरि अमिलो, पिरो र चिल्लो समावेस गरिएका परिकार मजाले सेवन गर्ने थिएँ, जुन मलाई रोग लाग्नु भन्दा अघिसम्म निकै मन पर्थ्यो । यदाकदा म पनि निरोगी मान्छेहरू जस्तै आधारातसम्म भट्टीमा बसेर रमाइलो गर्ने थिएँ । मेरा निरोगी साथीभाइ जस्तै म पनि पिकनिक र क्याम्प फायर जानसक्ने थिएँ, विभिन्न स्वादका परिकार चाख्न रेष्टुरेन्ट र भोजनालयमा पुग्ने थिएँ । मेरा साथीहरू जस्तै यदाकदा मदिराको नसामा झुम्ने थिएँ । हुनसक्छ, क्षणिक मनोरञ्जनका नाममा अखाद्य र अपेय वस्तुको सेवनबाट म अझै गम्भीर शारीरिक समस्यासँग जुध्नु पर्ने अवस्थाको सिर्जना हुन सक्थ्यो । कहिलेकाँही लाग्छ कम्तिमा पनि त्यस प्रकारका विशाक्त खाद्यपदार्थ र अपेय वस्तुको सेवन गर्नबाट म जोगिएको छु । यसरी जोगाउन मलाई यही मिर्गौला रोगले मद्त गरेको छ । किनकि जब यस प्रकारका खानपिनमा मेरो मन जान्छ, मेरो प्रत्यारोपित मिर्गौलाले मलाई सचेत गराउने गरेको छ । मेरो शरीरभित्र मिर्गौला मात्र होइन , अन्य आन्तरिक अवयवहरू पनि छन् । कम्तिमा पनि अन्य ती अवयवको संरक्षण गर्ने कार्यमा यो प्रत्यारोपित मिर्गौलाले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको हुन्छ ।
बिरामी हुनु कुनै अनौठो र आश्चर्यजनक घटना होइन । बरु कसैले त्यसलाई बढाइचढाइ गर्नु र पूर्ण बेवास्ता गर्नुलाई भने आश्चर्यजनक घटनाका रूपमा लिनसकिन्छ । कतिपयले आफूभित्रको रोगलाई सधैँ गोप्य राख्न चाहन्छन् । कसैले मान्छे फेला पार्यो कि आफ्नो रोगको विषयमा विस्तारसित बखान गर्न थाल्छन् । तर गोप्य राखेको कुरा हाम्रो समाजले जसरी पनि थाहा पाउँछ । यसरी नै बखान गर्ने हो भनेपनि यही समाजमा सुनिदिने मान्छेको अभाव देखिने गरेको छ । त्यसैले रोग, न गोप्य राख्ने विषय हो न त बखान गर्ने ! बरु कसरी हुन्छ रोगलाई नियन्त्रण गर्ने प्रयास गर्नुपर्छ । डाक्टर, औषधि भन्दा पनि ठूलो , रोग नियन्त्रण गर्ने माध्ययम मान्छेको आफ्नो मन हो । रोग बढ्न नदिन मन दह्रो र बलियो बनाउनुपर्छ । मान्छेको मन भनेको फलामे खन्ती जस्तै हो । हल्लिएको खाँबो खन्तीले खोतल्ने हो भने पुक्लुक्क निस्कन्छ । होइन खन्तीले माटो भर्दै खाँद्ने हो भने त्पही खाँबो पहिलेको भन्दा मजबुत हुन्छ । शरीरको रोगलाई पनि मनले खाँदेर बलियो बनाउनुपर्छ खोतल्नु हुँदैन । अन्यथा समय नपुग्दै एकदिन खाँबो ढले जस्तै मान्छेको शरीर कुनैपनि बेला पुक्लुक्क ढल्न सक्छ ।
बिरामीले अन्य मान्छेको सहयोग खोज्नु भन्दा आफैले उपाय खोज्नु श्रेयस्कर मानिन्छ । किनकि संसारमा सबैभन्दा भरपर्दो र विश्वसनीय साथी भनेको आफ्नै मन हो । म अनुमान गर्छु, मान्छेमा घट्ने सबै दुखदायी घटनाहरूमा नकारात्मकता मात्र हुँदैनन् । त्यसमा केही सकारात्मक रहस्य पनि लुकेको हुन्छ । जीवन मान्छेलाई जुनसुकै रूपमा मिलोस्, त्यसलाई स्वीकार गर्दै अघि बढ्न सक्नुपर्छ । अनिमात्र त्यसलाई साँचो अर्थमा जीवन मान्न सकिन्छ । यसरी बिरामी पर्दा जीवनले दु:ख मात्र दिँदैन, अनगिन्ती पाठ पनि सिकाउँछ । मिर्गौला रोगले मलाई शारीरिक, मानसिक र भावनात्मक रूपमा चुनौती दिएकै हो, तर यसले जीवनप्रतिको प्रेम र धैर्यको पाठ झनै बढी सिकाएको छ । म यस्तै कल्पना गर्छु । मिर्गौलाको समस्या र यस्तै प्रकारका रोग नियन्त्रण गरेर बाँच्न सिक्नुलाई पनि मैले महत्वपूर्ण उपलब्धि ठानेको छु । सायद मिर्गौला रोगीको पहिचान नपाएको भए मैले, जीवनलाई यसरी नजिकबाट नियाल्ने अवसर नपाउन सक्थेँ । यसबाट म साच्चिनै वञ्चित हुने थिएँ । यति मात्र होइन म जीवनप्रति थप लापरवाह हुनसक्ने थिएँ र यसभन्दा पनि गम्भिर रोगको शिकार हुनसक्ने थिएँ ।
यदि म मिर्गौला रोगी नभएको भए, मेरो जीवन केही सहज र रमाइलो त हुने थियो तर सहज र रमाइलोले मात्र जीवनको वास्तविक स्वाद नपाउन सकिन्थ्यो । यही रोगले मलाई अभावसँग लड्न र सहजसँग पीडा पिउन सक्ने अभ्यास मात्र गराएन तिनैसँग लड्न पनि सिकाएको छ । यति मात्र होइन, मिर्गौला रोगले मलाई दु:खमा पनि सहने शक्ति दियो, धैर्यधारण गर्ने मन्त्र सिकायो र वास्तविक जीवनको मूल्य बुझ्ने मौका दियो । यही रोगले मलाई आफन्त, छरछिमेक र भाइबन्धुका विषयमा केही पाठ पनि पढाएको छ । जीवनमा सबै कुरा हामीले चाहेको जस्तो हुँदैन, तर हरेक अवस्थालाई सन्तुलित रूपमा लिने कला नै यथार्थमा जीवन हो । यो कला निरोगी मान्छेसँग भन्दा रोगी मान्छेसँग बढी हुन्छ । रोगी मान्छेहरू अनुभवी हुन्छन् , निरोगी मान्छेको तुलनामा रोगीहरू केही सचेत पनि हुन्छन् , किनभने “अगुल्टो देखि तर्सिएको कुकुर बिजुली देख्दा तर्सिन्छ ।" एउटा रोगले ग्रस्त भइसकेको मान्छे अर्को रोगलाग्न नदिन निकै होसियार हुन्छ ।
सायद मिर्गौला रोगी नभइदिएको भए म पनि जीवन प्रति थप लापरवाह बन्न सक्ने थिएँ र अझै थप गम्भीर समस्यासँग जुधिरहेको हुने थिएँ ।कहिलेकाहीँ लाग्छ, यही रोगका कारण थोरै भएपनि जीवन बुझ्ने अवसर पाइएको छु । यही रोगले जीवन प्रति लापर्बाह बन्न नहुने कुरामा पटकपटक सचेत गराइरहेको छ । त्यसैले मलाई लाग्छ, जे भएको छ ठिकै भएको छ । जे हुन्छ राम्रोका लागि हुन्छ ।
चितवन