18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

हैदराबाददेखि एनजेपीसम्मको यात्रा

नियात्रा अर्जुन चामलिङ यावा May 16, 2025, 1:53 pm
अर्जुन चामलिङ यावा
अर्जुन चामलिङ यावा

प्रशान्ति निलयमबाट काचीगुड़ा एक्सप्रेस चढ़ेका हामी बिहान 4.30 बजी काचीगुड़ा हैदरवाद ओर्लिएका थियौँ। देशको छैटौँ सर्वाधिक जनसङ्ख्या भएको शहर हैदराबादलाई ‘मोतीको शहर’ भनेर पनि जानिँदो रहेछ। सन् 1591-मा मोहम्मद कुली कुतुब शाहले यो शहरको स्थापना गरेका हुन् भन्ने इतिहासमा पाइन्छ।

कोलकाता र बेङ्ग्लोरको तुलनामा निक्कै महँगो रहेछ यो शहर। अटो चालकहरूकै सहयोगमा हामी काचीगुड़ा ‘एक्स’ रोड स्थित ‘होटल के इन’ पुग्यौँ। बेलुकीसम्मको लागि डुईवटा कोठा लिएका थियौँ, तर बिहान दशैबाजी छोड़ीदियौँ। फोर्स ट्राभल बसमा सबै सरसामान लगाएर दिनभरि घुमिसकेपछि बेलुकी सोझै सिकन्दरबाद रेलवे स्टेशन पुग्ने सल्लाह भएपछि छोड़ेका थियौँ होटल।

सलरजङ सङ्ग्रहालय-
तेलङ्गनाको राजधानी हैदराबादमा स्थित सलरजङ म्युजिय (सङ्ग्रहालय) ऐतिहासिक दृष्टिले निक्कै महत्व राख्दो रहेछ। मूसा नदीको दक्षिणी तटको दर-उल-शिफामा रहेको यो सङ्ग्रहालय देशकै तीन प्रमुख सङ्ग्रहालयमध्येको एक मानिँदोरहेछ। यसलाई मुख्यरूपमा कला सङ्ग्रहालयको रूपमा पनि जान्न सकिँदो रहेछ। 16 दिसम्बर 1951-मा स्थापना गरिएको रहेछ। भनिन्छ, सन् 1889-मा जन्मिएका मीर यूसूफ अली खान, सलर जङ-3 को देहान्त 1938-मा भएको थियो। उनी मिजाम मीन उस्मान अली खानको शासनकालमा हैदराबाद प्रान्तका प्रधानमन्त्री थिए। यस सङ्ग्रहालयमा सलर जङ-3 द्वारा सङ्ग्रहित कला-सम्पत्तिको आधी भाग मात्रै रहेका छन्। भारत सरकारको अधिनमा रहेको यस सङ्ग्रहालयको आधीजसो कलाकृतिहरू त यहाँ कार्यरत कर्मचारीहरूद्वारा नै चोरी भइसकेको मानिँदो रहेछ।

हामी पहिले सलरजङ म्युजिय नै हेर्ने भएका थियौँ। जाँदैगर्दा हैदराबादमै कार्यरत बहिनी शुषमालाई फोन गरेँ। ड्युटी जानुपर्ने भएको हुनाले भेट नहुने भयो। सलरजङ पुग्यौँ। पहिलोपल्ट मैले मोबाइल र शेल्फिस्टिक सशुल्क ‘लकर’मा राखेँ। प्रतिमोबाइल/क्यामेरा पचास रुपियाँ तिरेर मात्र लान पाइँदो रहेछ। दुइटा मात्रै मोबाइल बोक्यौँ।

म्युजियम हेर्न/जान्न/बुझ्नका लागि दिनभरिको समय लिएर पुग्नु पर्ने रहेछ। हामीसित थोरै समय थियो। हेर्नु/घुम्नु धेरै थियो। शुल्क तिरर गाइड़ पनि लान सकिने रहेछ। हामीसित समय नै थिएन। लगेनौँ। यहाँ भारतीय आधुनिक चित्रकलाका नमुनाहरू हेर्न सकिने रहेछ। यसका साथै हात्तीको दाँतबाट बनाइएका अनेक वस्तु हेर्न सकिन्छ। म्युजियमबाट निस्केर म्युजियम परिसरमै रहेको ‘छप्पन भोग रेस्टुरेण्ट’ पस्यौँ। सामान्यतः खाना खाँदा पानीको व्यवस्था हुन्छैहुन्छ। तर यहाँ पानी अलग्गै किन्नु पर्दो रहेछ। छेवैको साना होटलहरूभन्दा निक्कै महँगो। अरू साना होटलहरूमा मानिसहरू खचाखच हुँदा पनि सायद त्यसैले यहाँ शून्यप्रायः देखिन्थ्यो।

चारमिनार-
सलरजङ म्युजियमपछि हामी पुगेका थियौँ चारमिनार। हैदराबादमा असजिलो लागेको अथवा अनुशासनमा नदेखिएको कुरा थियो अव्यवस्थित ट्राफिक नियम। त्यसैमाथि हामीले रिजर्भ गरेको मिनीबस अटो/रिक्साहरूजस्तो जताततै पस्न/जान नपाउने। त्यसैले थोरै पैदल पनि हिँड़नु पर्ने। चारमिनारको अघिल्लो वा पछिल्लो दुवैतिर खुल्ला ठाउँ छोड़िएका भए पनि खुद्रा व्यापारीहरूले साना-साना स्टलहरू राखेका। यसले घुम्न आउने पर्यटकहरूलाई थोरै असजिलो गरेजस्तो लाग्ने। चारमिनारको फोटो लिनसम्म नसकिने अवस्था। यहाँ कुनै पनि सामग्री किन्नपरे प्रायः ‘फिक्स रेट’।

यो शहरलाई ‘मोतीको शहर’ भनिएजस्तै बल्ल यहाँ आएर देखियो हातहातमा मोतीका माला बेच्नेहरू जताततै। भनिरहेका थिए, “देखो सरजी, आग लगाने से भी ये जल्ता नही। सस्ता मे दिया, अच्छा वाला दिया।” यति भन्दै हातको लाइटर बालेर जलाएर पनि देखाइरहेका थिए। पुर्णिकलाले सुनाउँथिइन् मलाई, “दादा यहाँको मोतीको माला पूरा फेमस छ नि..।”
चारमिनार चढ़नलाई विदेशी पर्यटकले प्रतिव्यक्ति तीनसय तिर्नुपर्ने रहेछ। हामीले केवल तीस रुपियाँ प्रतिव्यक्ति तिर्‍यौँ। भित्र प्रवेश गरेर माथि उक्लिनलाई लगभग पुरानो पारम्परिक घरको भर्‍याङ चड़ेजस्तै, तर गोलाकार घुम्नुपर्ने। चढ़िरहँदा सन् 2013-मा काठमाडौँ जाँदा प्रवीण पुमाले चढ़ाउनु भएको थियो धरहरा, त्यसैको ठ्याक्क सम्झना गराउने। तर, ठाउँ-ठाउँमा लुक्ने र भाग्ने चोरबाटोहरू पनि बनाइएका। यद्यपि, बन्दअवस्थामा थिए। चारमिनार प्रवेश गरिसकेपछि भिडियोग्राफी निषेध रहेछ। अँ, फोटो भने खिच्न पाइने। पहिलोपटक प्रवेश गरिरहँदा त्यससमयको कारिगरी देखेर दङ्ग बनायो।

यो चारमिनार सन् 1591-मा सुल्तान मोहम्मद कुली कुतुब शाहले बनाएका रहेछन्, जतिबेला हैदराबाद शहरको स्थापना भयो। चारकुनामा रहेका चार स्तम्भमा बनाइएको चौकुने संरचनामा खुबै आकर्षक लाग्छ। उनले “यो चारमिनार आफ्नी श्रीमतीको सम्झनामा बनाएका हुन्” भन्ने एउटा भनाइ पाइन्छ भने अर्कोतिर “सुल्तान मोहम्मदका चारजना मात्रै छोरी थिए। तर, चारैजना छोरीको विवाह दान गर्न नसकेपछि ती चारै छोरीको नाममा चार स्तम्भमा चौकुने संरचनामा यो चारमिनार बनाएका हुन्” पनि भनिँदो रहेछ। यद्यपि, वास्तविकता के हो त्यो स्पष्ट छैन।

लुम्बिनी पार्क-
चारमिनारदेखि जाँदा 20 मिनटदेखि आधीघण्टाको समयमा पुगिँदो रहेछ यो पार्क। सानो पार्क विशेष नानीहरूका लागि निक्कै रमाइलो। छेउमा रहेको निक्कै विशाल तालमा भने सबैको ध्यानाकर्षण हुँदोरहेछ। बोटिङ गर्नेहरूका लागि निक्कै रमाइलो। निक्कै ठूलो सङ्ख्यामा बोटिङ गराइँदो रहेछ। बोटिङ गरेरै तालको पूरै परिक्रमा गर्ने हो भने पनि निक्कै समय लाग्ने। पार्कदेखि पसेपछि धेरै परपरसम्म फैलिएको तालको पल्लोछेउ (दिशा छुटाउनै सकिनँ) सायद गौतम बुद्धको प्रतिमाजस्तो देखिन्थ्यो, बोटिङ गर्न नपाएपछि त्यहाँसम्म पुग्न पनि सकिएन। बोटिङ गर्न नपाउनुको कारण, 26 जनवरी अर्थात गणतन्त्र दिवसको अवसरमा निक्कै भिड़भाड़को समय एकजना नानी तालमा डुबेछ। त्यही भएर 27 जनवरीमा हामी पुग्दा ताल अथवा बोटिङ नै बन्द अवस्थामा थियो। हामी फर्कियौँ। फर्कँदा नजिकै देखिने बी.आर. अम्बेडकरको भीमकाया प्रतिमा परैबाट हेर्दै निस्कियौँ।

कोहिनुर गार्डन-
लुम्बिनी पार्ककै छेउमा रहेछ कोहिनुर गार्डन। यहाँ पनि पस्ने बित्तिकै नानीहरूका लागि टोय-ट्रेन मुख्य आकर्षण थियो। छेउमै रहेछ वाटर-फाउण्टेनले छेकेको पिपलको रुख। निक्कै रमाइलो। यसैको अगाड़ि सामुहिक फोटो खिच्यौँ। क्यामेरा-प्रिन्टर सबै राखेरै बसेका थिए फोटोग्राफर। यो बगैँचा विभिन्न रङ्गी-बिरङ्गी फूलहरूले पनि निक्कै आकर्षक देखिने। निक्कै पर पुगेपछि नानीहरूकै लागि बनाइएको ठूलो रुख, रुखकै वरिपरि गुम्दै तल झरेको ठूलो पाइपलाइन। पाइपभित्रबाट पानीको सहारामा सुल्की मारेर तल आइपुग्दा फेरिफेरि खेल्ने आँट जो-कोहीले नगर्ने। अस्मिता, सिद्धि र पुर्णिकलाले खेलेर त्यसको मजा लिए। हामी हेरेर अघायौँ।

सिकन्दरबादबाट हामी बेलुकी साँड़ेचार बजीतिर एनजेपीको लागि रेल चढ़नुपर्ने थियो। तर ट्रेन रिसेड्युल भएर सातबजी मात्रै चड़नुपर्ने भयो। सिकन्दरबाददेखि एनजेपीसम्मको रेलयात्रा निक्कै लामो रह्यो। 27 जनवरीको बेलुकी 7 बजीतिर शुरु भएको यात्रा 29 तारिक बिहान ढिलै गरेपनि दश-एघार बजीसम्म त पुर्‍याउँछ सम्झेका थियौँ। तर, त्यसो भएन। रातको आठबजीतिर मात्रै उत्रिएका थियौँ। हामी नौजना मात्रै भए पनि हाम्रो सीट यो यात्राभरि कहिल्यै सँगै परेन। कहिले तीनवटासम्म कोचमा छुट्टिएर बस्नुपर्ने। कहिले दुईवटा कोच। एउटै कोचमा पर्दा पनि सीट क्याविन निक्कै टाड़ाटाड़ा परिदिने। त्यसो हुँदा ‘सँगैको यात्रामा छौँ’ भनेर घरबाट निस्कँदा बोकेका कतिपय सरसामानको आवश्यक पर्दा भने थोरै समस्या भएको थियो। यस्ता साना कुराहरूले पनि भविष्यका लागि केही त अवश्य सिख पाएका थियौँ।

रेलमा चटक-
यो पट्यारलाग्दो हुने सोचेको समय तर निक्कै रमाइलो नै रह्यो। रेल यात्रामा त्यसै पनि अनेक-अनेक घटनाहरू हेर्न पाइन्छ। किसिक-किसिमका मानिसहरूसँग भेट्न पाइन्छ। रेल यात्रा शुरु नहुँदै एउटा सिट र सिटमुनी लगेज राख्ने कुरालाई लिएर निक्कै चर्काचर्की भएको थियो। यो घटना कुनै चटकवालाले देखाएको खेलभन्दा कम थिएन।
अर्को एउटा अचम्म लागेको चाहिँ के भने, पहिले जाँदा एनजेपीदेखि पटना गइरहँदा दुई-तीनजना स-साना किशोरीहरूले रेलमा चटक देखाएका थिए। एउटा हातले अर्को हात समाई खुट्टादेखि छिराएर पछाड़ि पुर्‍याउँदै पछाड़िबाट सर्लक्कै टाउँको हुँदै अगाड़ि ल्याउने। फेरि टाउँकोदेखि पछाड़ि पुर्‍याएर खुट्टा हुँदै अगाड़ि ल्याउँने। फेरि आफ्नो शरीर मात्रै छिराउन सक्ने फलामे रिङ खेलाउँदा भुइँमा सर्लक्कै सुतेर पैताला पछाड़ि अल्झाएर टाउँको र खुट्टा एकैसाथ छिराउँदै फुत्त निस्कने। हेरिरहँदा कुनै सर्कस हेरिरहेछु जस्तै लाग्ने। अब अचम्म चाहिँ किनभने, त्यही किशोरीहरू यतिबेला सिकन्दरबादबाट एनजेपीतर्फ गुड़िरहेको रेलमा उही चटक देखाइरहेका थिए। चटक देखाइसकेपछि सानो-सानो थाल दिएर रुपियाँ माग्दारहेछन्। जीविका धान्नैका लागि हो भने यी किशोरीहरूले कत्ति तालिम लिएपछि यत्ति गर्नसक्ने भएका होलान्। नभए कुनै समुह, गिरोहका लागि यी सब गरिरहेका भए...। के-के, के-के कुराहरू मनमा आएको थियो यतिबेला। यिनीहरूलाई कुनै राष्ट्रिय/अन्तरराष्टष्ट्रिय खेलकुद प्रतियोगिताहरूका लागि तयार गर्नु हो भने कस्तो हुन्थेहोलान् भन्ने प्रश्‍न केवल मनैमा उठेका थिए, मनैमा सेलाए।

इस्राफिलको दुःख-
बरपेटा असमका इस्राफिल सरदार, उनकी श्रीमती, एक छोरी र एक बालख छोरासित म निक्कै नजिक भएको थिएँ। इस्राफिल दम्पति हिन्दी बुझ्ने र बोल्ने। नानीहरूले थोरै बुझ्ने र थोरै बोल्ने। असमसम्म लगभग अड्चालीस घण्डाको यात्रा अथावा दुई दिन, दुई रातको यात्रामा बालख नानीहरूसित निस्किएका इस्राफिल परिवारसित सिट रिजर्भेशन थिएन। मैले देखिरहँदा पनि निक्कै दुःख पाएका थिए। कसैले छेउमा सजिलोसित बस्न कहाँ दिन्छन् र तराइको यात्रामा यतातिरजस्तो। एउटै मात्र ‘वेटिङ’ टिकेट बोकेर निस्किएका रहेछन्। सानातिना रोजगारीकै लागि सपरिवार हैदरबादमा बस्ने उनीहरू नगइनहुने भएपछि सपरिवार बरपेटा गइरहेका थिए।

सारिका र मेरो सीटको अप्पर बर्थमा खाली थियो। तिनीहरूको दुःख देखेर त्यसैमा श्रीमतीलाई सानो नानीसित सुताइदिनु लगाए। इस्राफिल डराइरहेका थिए। “कोही आएर सीट मेरो हो भन्यो भने छोड़ीदिनु। त्यतिबेलासम्म भए पनि थोरै आराम हुन्छ। तिमी पनि एकछेउमा बस। ठूलो नानीलाई पनि सुताइदेउ..।” भनेपछि उसले त्यसै गर्‍यो। भोलिपल्ट सीटको मान्छे आयो। अर्को सीट खाली थियो। त्यसमा बस्न लगाएँ। इस्राफिल आफैभने कहिले हाम्रो सीटमा टुसुक्क बस्थ्यो, कहिले अरूको सीटमा। नानीहरूलाई मनपरेको खानेकुरा किनिदिने भनेजस्तो रुपियाँ सायद थिएन। तर पनि सानो छोरोको जिद्दीपनले खेलाउने बन्दुक किनिदिएको थियो। म घरिघरि के-के कुराहरू किनेर खान दिन्थेँ। इस्राफिलले अस्वीकार गर्न खोज्थ्यो। सायद अप्ठेरो मानिरहेथ्यो। नानीहरूभने मसित निक्कै घुलमिल भएका थिए। निक्कै कालो वर्णका नानीहरू हाँसेर खुशीले जिस्कँगा कत्ति राम्रा देखिने। एनजेपी आइपुग्न अघि नै हामीले फोन मनम्बर साटेका थियौँ। फेसबुकमा फ्रेण्डएड गरेका थियौँ। नानीहरूसित लिएको फोटो-भिडियो साझा गर्‍यौँ। एनजेपीदेखि छुट्टियौँ। हिजाज बेलाबखत फोन गर्छ इस्राफिल, र भन्छ “सर, बच्चेलोग आप को खुब याद कर्ते हैँ।”

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।