18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

डुवर्सेली कथाकार अशोक रोका र उनको कथाकारिता

कृति/समीक्षा गोपालसिंह विश्व May 16, 2025, 1:56 pm
गोपालसिंह विश्व
गोपालसिंह विश्व

पश्चिम डुवर्सको बाग्राकोट चियाकमानमा 4 अप्रेल 1959 मा जन्म ग्रहण गरेका अशोक रोका वर्तमान भारतीय नेपाली साहित्य जगतका एक उदीयमान कथाकारको रुपमा परिचित छन्। मूलत: उनी डुवर्सका एक सिद्धहस्त प्रतिनिधि कथाकार हुन्। बाग्राकोट चियाकमान निवासी पिता स्व. मानधोज रोका एवं माता स्व. गङ्गामाया रोकाका एउटी छोरी र चार छोराहरूमध्ये उनी साइँला हुन्। सन् 1964-68 को अवधिमा उनको प्रारम्भिक शिक्षा बाग्राकोट चियाकमानको प्राथमिक पाठशालाबाट पूर्ण भएपश्चात् सन् 1969 मा उनी बाग्राकोट हाई स्कुलमा पाँचौं श्रेणीमा भर्ना भएर सन् 1975 मा स्कुल फाइनल उतीर्ण गरेका हुन्।

त्यसपश्चात् सन् 1978 मा उनी सिक्किम राज्य अधीन शिक्षा विभागमा प्राथमिक विद्यालयको शिक्षकको रुपमा नियुक्त भए अनि शिक्षण पेशामा नै रहेर स्व-अध्ययनबाट बाह्य परिक्षार्थीका रुपमा सन् 1983 मा उच्चतर माध्यमिक अनि सन् 1986 मा उत्तर बङ्ग विश्वविद्यालयबाट बी.ए उतीर्ण गरे। त्यसपछि सन् 2007 मा उनले इन्दिरा गान्धी नेशनल ओपन युनिभर्सिटी (IGNOU)-बाट बी.एड. पनि गरे।

सिक्किममा शिक्षण पेशामा लगभग 40 वर्ष बिताएका उनी प्राथमिक विद्यालयको साधारण शिक्षकको पदबाट पदोन्नति हुँदै प्राथमिक अनि निम्न माध्यमिक विद्यालयका प्रधान अध्यापक बने र अन्तमा सन् 2005 देखि उच्च माध्यमिक विद्यालय, बरदाङमा प्रधान अध्यापकको रुपमा कार्यरत रहेर सन् 2017 मा अवकाश ग्रहण गरे।

सिक्किममा रहँदा शैक्षिक एवं साहित्य सेवा क्षेत्रमा उनले निकै उन्नति गर्ने अवसर पाएको देखिन्छ। नेपाली साहित्यमा उनले विद्यार्थी जीवनदेखि नै कलम चलाउन थालिसकेका थिए। सन् 1972 मा 14 वर्षको उमेरमा आठौँ श्रेणी पढ्दा उनको प्रथम कथा ‘पैसा’ बाग्राकोट हाई स्कुलको पत्रिका ‘हिमालफेदि’-मा प्रकाशित भएको थियो। त्यस समय स्कुलका प्रधान अध्यापक बद्रीनारायण प्रधान र शिक्षक विष्णु शर्मा अधिकारी जस्ता अग्रज कथाकारहरूबाट उनले निकै सराहना अनि आशिर्वाद पनि प्राप्त गरेका थिए। पछि उनका कथा, कविता र लेख-निबन्धहरू विभिन्न पत्र-पत्रिकाहरूमा प्रकाशित हुँदै गए अनि लगभग 25 वर्षपछि सन् 1997 मा उनको प्रथम कथा-कृति ‘बिसर्जन’ प्रकाशित भयो। शिक्षण सेवाबाट अवकाश ग्रहण गरेपश्चात् उनले अझै एउटा कविता सङ्ग्रह अनि दुई वटा कथा सङ्ग्रह प्रकाशित गरे।
उनका अहिलेसम्म चारवटा कृतिहरू प्रकाशित भइसकेका छन्। ती हुन् –
1) बिसर्जन (10 वटा कथाहरूको सङ्ग्रह – सन् 1997, दोस्रो संस्करण सन् 2020)
2) नखोज्नु उसलाई सहरहरूमा (कविता सङ्ग्रह – सन् 2019)
3) सुनयना (12 वटा कथाहरूको सङ्ग्रह – सन् 2020)
4) छोड़ीजाने माया सम्झिरहने मन (14 वटा कथाहरूको सङ्ग्रह – सन् 2022)

यसबाहेक उनले सम्पादन क्षेत्रमा पनि केही काम गरेका छन्। सन् 1997-98 तिर ‘परिवेश’ नामको साहित्यिक पत्रिकाको तीन अङ्कसम्म उनको सम्पादन तथा प्रकाशनमा छापामा आएको थियो। उनले केही वर्ष गान्तोकबाट वीरभद्र कार्कीढोलीको सम्पादनमा प्रकाशित हुने पत्रिका प्रक्रिया-को सम्पादक मण्डलीमा रहेर पनि सहयोग पुर्याएका थिए।
उनका कथा-कृतिहरूमा प्रथम प्रकाशित कथा सङ्ग्रह ‘बिसर्जन’ भित्र परेका दश वटा कथाहरू मध्ये नारी मनोविश्लेषणमाथि आधारित कथा ‘पैयुँ ढलेछ’-लाई उत्कृष्ट मान्न सकिन्छ। साहित्य अकादेमी, दिल्लीबाट डा. जीवन नामदुङको सम्पादनमा प्रकाशित भारतीय नेपाली कथाहरूको सङ्कलन स्वतन्त्रोत्तर भारतीय नेपाली कथा (सन् 2020) –मा उपरोक्त कथा ‘पैयुँ ढलेछ’ –लाई समावेश गरिएको छ। यसै कथालाई सन् 2024 मा हिन्दी भाषामा अनुवाद गरेर सिक्किमका सुवास दीपकले आफ्नो पुस्तक ‘भारतीय नेपाली कहानी एक सदी का सफर’ (द्वितिय भाग)-मा पनि समावेश गरेका छन्। आफ्नो खोजपूर्ण पुस्तक ‘डुवर्स : एक अध्ययन’-मा डुवर्सका कथा–कृतिहरूको मूल्याङ्कन गर्ने क्रममा अशोक रोकाको ‘बिसर्जन’-बारे डा. जीवन नामदुङ लेख्नुहुन्छ –‘यस सङ्ग्रहभित्र परेका दश कथाहरूमा ‘हाट अझै लाग्छ’, ‘पैयूं ढलेछ’, ‘बिसर्जन’, ‘घर’ र ‘जीवन एक पर्यायवाची’ जस्ता उत्कृष्ट कथाहरू प्रकाशित गरेर स्वयंलाई एक सफल कथाकारको रुपमा दर्ता गरेका छन्। समाजको अन्तर्धाराभित्र पसेर खटिखाने श्रमजीवी श्रेणीको दिनचर्या र अव्यक्त समस्याहरूलाई कथामा ढाल्न यिनी दक्ष रहेको प्रमाण ‘जीवन एक पर्यायवाची’, ‘बिसर्जन’ र ‘हाट अझै लाग्छ’ जस्ता कथाहरूमा पाइन्छ।‘ उनको दोस्रो कथा-कृति ‘सुनयना’ (2020) पनि पाठकहरूले धेरै रुचाए। ‘सुनयना’ –को भूमिकामा डुवर्सका समीक्षक रूपेश शर्मा लेख्छन् – “‘बिसर्जन’-मा देखिएको सामुहिक बहिर्मुखी सामाजिक धारा ‘सुनयना’-मा आइपुग्दा वैयक्तिक अन्तर्मुखी अवचेतन पड़तालतर्फ प्रवृत्त देखिन्छ। अर्थात् यिनी सामाजिक धाराबाट मनोविश्लेषणात्मकतातिर उन्मुख छन्।“ यसै भूमिकाको अन्तमा उनी लेख्छन् – “सांस्कृतिक रुढ़ताका आलोचनाविहिन छायाँमा पनि कथाकारको उदेश्य उज्यालिएका छन्। उपेक्षित सौन्दर्यसत्ताको उद्बोधन रोकाका कथाका प्रमुख पक्ष हो। यौन मनोविज्ञानमा आधारित कथाहरूलाई अप्रत्यासित मोड़मा लगेर टुङ्ग्याउने यिनको कथाकारिता प्रशंसनीय छ। पछिल्लो सङ्ग्रहको तुलनामा यस संग्रहमा देखिएको परिमार्जन, पोषण, कथा-दृष्टि र उदेश्यपरकताले पाठकहरूको ध्यान आकर्षित गर्ने सामर्थ्य राख्दछ। उपेक्षित सौन्दर्यसत्ताको आलोकको कसीमा उज्याला पक्ष घोट्न सकिने प्रशस्त अवकाश मिल्दछ।“ सुनयना-भित्र परेका 12 वटा कथाहरूमध्ये ‘मनको साइनो’ यस पङ्क्तिकारलाई पनि सबैभन्दा अधिक मनपरेको कथा हो। यो कथा बाग्राकोट, डुवर्सबाट प्रकाशित ‘नयाँ दृष्टि’ पत्रिकाको दोस्रो अङ्कमा सन् 2015 मा नै प्रकाशित भएको थियो। सुनयना (भाग एक), सुनयनाको खोजीमा (भाग दुई) र मनको साइनो जस्ता कथाहरूबाट नै उनी नारी मनोविश्लेषणमाथि आधारित कथा लेखनमा कति पारङ्गत छन् भन्ने बुझिन्छ। यस सङ्ग्रहभित्र परेको अर्को कथा ‘चियाकमानको साइरन फेरि बज्ला ?’-मा चियाबारी परिवेशमाथि आधार गरी लेखिएको सामाजिक यथार्थ चित्रण पाइन्छ भने अन्य प्राय: सबै कथाहरू पनि खुबै रोचक ढङ्गमा प्रस्तुत गरिएका छन्।

यस पुस्तकको प्रकाशनको दुई वर्षपछि उनको तेस्रो कथा-कृति ‘छोड़ी जाने माया सम्झिरहने मन’ (14 वटा कथाहरूको सङ्कलन, सन् 2022) प्रकाशमा आयो। यस कृतिका निम्ति शुभकामना दिँदै डुवर्सको साहित्य, कला सम्बन्धमा कवि ज्ञानेन्द्र खतिवड़ा लेख्नुहुन्छ – “पद्यभन्दा गद्य हलक्क मौलिन जान्यो यहाँ। कविता आफू प्रतिनिधित्व गर्न सक्ने बन्नलाई निश्चय नै ढिलायो यहाँ। गद्यले चारै सुर हाँक दिएर मैदान मार्दा पनि पद्य भने केही सुस्ताएकै पाइयो यहाँ। यही गद्यको मैदान मार्ने क्रममा आफ्नो सर्वस्व उर्जा खन्याएर कथाकार अशोक रोका लाग्नुभएको छ। त्यही मैदान मार्ने क्रममा सिक्किमको प्रतिष्ठित ‘स्रष्टा’ पुरस्कारले पुरस्कृत हुनु भयो कथाकार अशोक रोका। उहाँका धेरै कथाहरू सिक्किमको पृष्ठभूमिमाथि लेखिएको पढ़ेको हो मैले। यसपटक यो नयाँ संग्रहले पनि रुचिकर बनाउनमा कुनै कसर बाँकी राख्ने छैन मेरो विश्वास। कारण, कलालाई अन्तर-तहबाट लिनसक्नेहरू जन्मिएको ठाउँ रह्यो डुवर्स।“ यस कथा सङ्ग्रहको समीक्षा गर्ने क्रममा हिमालय दर्पणको 29 जुलाई 2023 को अङ्कमा प्रकाशित ‘कथाकार अशोक रोकाकृत ‘छोड़िजाने माया सम्झिरहने मन’ भित्र’ शीर्षक लेखमा वरिष्ठ साहित्यकार कृबु संयमी लेख्नुहुन्छ – ‘अघिल्ला दुई कथा सङ्ग्रह 1) बिसर्जन अनि 2) सुनयनाबाट तेस्रो सङ्ग्रहमा आइपुग्दा कथाकार अशोक रोका स्वयम्मा धेरै खारिएका छन्। यसको तात्पर्य पहिलाका कथा-कृतिहरू सफलताको हाँचमा कमी भन्ने होइन अपितु कथाको विषयवस्तुलाई अझ फाँटिलो पार्न उनी सफल देखिन्छन्। लगभग चार दशकसम्म शिक्षण पेशामा जड़ित रहँदा उनले जीवन र सेरोफेरोको जगतलाई जति नजिकबाट हेरे त्यसभन्दा अधिक नै आफ्नो अनुभूतिद्वारा छामे, आत्मसात नै गरे त्यस अवधिभरिका आरोह-अवरोहसित जसको प्रभाव उनका कतिपय कथामा प्रतिविम्बित छन्। उनको यही युगबोधले गर्दा ती कथाहरू जीवन्त हुन पुगेका छन्।‘ यसरी नै वरिष्ठ लेखिका आशा मुखिया लामा लेख्नुहुन्छ – ‘कथाकारका प्रत्येक कथाहरू हाम्रै घर-आँगन, छर-छिमेक, तपाईं र म अनि चियाबारी र मकैबारीका कुइनेटोहरूमा अड़ेसिएर टोलिँदै, घरिघरि बुर्कुशी मार्दै, थाक्दै, बिसाउँदै अघि बढेका पाइन्छन्। अशोकज्युको कथालेखनको मुख्य प्रवाह नै समाजमुखी रहेका देखिन्छन्, सामाजिक यथार्थ चित्रणको जमर्कोसितै समाजमा व्याप्त विश्रृङ्खलित विसङ्गतिहरूमा पनि उनले पटक्कै आँखा चिम्लेका छैनन् भन्न मिल्छ। --- उनका कथाहरूमा मुख्यत: नेपाली जन-जीवनशैलीभित्र निहित आर्थिक, सामाजिक, सांस्कृतिक, राजनैतिक, धार्मिक र वैचारिकं स्थितिहरूको छर्लङ्ग विश्लेषण पाइन्छ।‘

यसै कथा सङ्ग्रहबाट चयनित ‘फुल्ने रहरहरू’ कथालाई सन् 2024 मा प्रज्ञा प्रतिष्ठान, काठमाड़ौँ, नेपालबाट प्रकाशित ‘समकालीन साहित्य’ नामक पत्रिकाको 102 अङ्कमा अन्तर्राष्ट्रिय नेपाली प्रतिनिधि कथाको रुपमा समावेश गरिएको छ। उनका तीनवटा कथा सङ्ग्रहमा प्रकाशित जम्मा 36 वटा कथाहरूमध्ये लगभग 34-35 वटा कथाहरू भक्तपुर, काठमाड़ौँ, नेपालको विद्युत सञ्चार माध्यम युट्युबबाट प्रसारण भइसकेको छ। यसबाट भारतीय नेपाली साहित्यका एक सशक्त कथाकारको रुपमा उनको यश एवं लोकप्रियताको फाँट अझ बढेर गएको छ। समग्रमा भन्नुपर्दा, समकालीन भारतीय नेपाली कथा क्षेत्रमा कलम चलाउनेहरूमध्ये नयाँ जोश र उर्जा लिएर आएका एक सशक्त स्रष्टाको रुपमा परिचित भइसकेकाछन् अशोक रोका। उनका कथाहरूमा सामाजिक यथार्थ चित्रण, नारी मनोविश्लेषण तथा प्रगतिवाद्का अवधारणाहरू गुँथिएका हुन्छन्। उनको लेखन शैली र कथा बुनौटको शिल्पकारितामा रोचकता एवं एउटा विशेष आकर्षण पाइन्छ।

अशोक रोका एक कथा-शिल्पी मात्र होइनन् उनी एक संवेदनशील कवि पनि हुन्। उनले सन् 2019 मा नै ‘नखोज्नु उसलाई सहरहरूमा’ कविता सङ्ग्रह प्रकाशित गरेर एक असल कविका रुपमा पनि आफ्नो नाम दर्ता गराइसकेका छन्। यस सङ्ग्रहबाट चयनित उनको एउटा कविता ‘नखोज्नु उसलाई सहरहरूमा’ नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित वृहत् ग्रन्थ ‘भारतीय नेपाली कविता’ (सम्पादक – डा. सुकराज दियाली) –मा पनि समावेश गरिएको छ। उनको अर्को कविता ‘भोक र शोक’ नेपालबाट प्रकाशित पत्रिका ‘नव प्रज्ञापन’-को पूर्णाङ्क 103 (माघ-चैत्र वि.स. 2080)-को नेपाल बाहिरको नेपाली कविता विशेषाङ्कमा सङ्कलित छ भने अर्को कविता ‘मेरो आकाश’ लाई डुवर्सका कवि विलोक शर्माले बङ्गला भाषामा अनुवाद गरी उनको बङ्गला पुस्तक ‘कवितार रोटेपीङ’ (भारतीय नेपाली कविताहरूको अनुवाद र सङ्कलन) –मा समावेश गरेका छन्।

साहित्य लेखनका साथै उनी विभिन्न सङ्घ-संस्थाहरूसित संलग्न रहेर सामाजिक सेवा र साहित्यिक तथा सांस्कृतिक कार्यक्रमहरूमा पनि आफ्नो सक्रिय सहभागिता पुर्याउँदै आएका छन्। उनी नेपाली भाषा प्रचार समिति, सिलगढ़ीका कार्यकारी सदस्य अनि शिक्षक साहित्य संस्थान, दक्षिण सिक्किम, नाम्चीका संस्थापक सदस्य हुनका साथै डुवर्स नेपाली साहित्य विकास समिति, सिक्स्टी प्लस, दार्जीलिङ र हाम्रो छहारी मुम्बईका आजीवन सदस्य पनि हुन्। वर्तमान उनी सर्वकल्याण समिति, शास्त्रीनगर, सिलगढ़ी र बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठान, बाग्राकोटका अध्यक्षको रुपमा कार्यरत छन्।

सिक्किममा शिक्षण पेशामा लामो समय रहेर त्यहाँको शिक्षा क्षेत्रमा उनले जून सेवा पुर्याए, समाजका आरोह-अवरोहहरूलाई आत्मसात गर्दै अघि बढ्दै गए, अगाध अनुभवहरू बटुलेर खारिँदै गए र साहित्य क्षेत्रमा पनि जून उन्नति गरे ती सबैलाई धानमा राखेर उनको योगदानको कदर गर्दै सरकारी तथा बेसरकारी विभिन्न सङ्घ-संस्थाहरूबाट उनी पुरस्कृत भएका छन्, सम्मानहरू प्राप्त गरेका छन्। यसै क्रममा सन् 1987 मा शैक्षिक क्षेत्रमा उत्कृष्ट सेवा पुर्याए बापत् सिक्किम राज्य शिक्षा विभागबाट शिक्षक दिवसको उपलक्ष्यमा प्रशंसा-पत्र प्राप्त गरे। सन् 1991 मा शिक्षामा सेवा पुर्याएकै निम्ति सिक्किमका राज्यपालबाट प्रशस्ती-पत्र प्राप्त गरे अनि सन् 2005 मा सर्वश्रेष्ठ शिक्षकका रुपमा भारतका राष्ट्रपतिको बाहुलीबाट ‘राष्ट्रपति ताम्र-पत्र पुरस्कार’-ले सम्मानित भए। सन् 2008 मा सिक्किम राज्य सरकारबाट ‘शिक्षा पुरस्कार’ प्राप्त गरे। सन् 2021 मा पश्चिम सिक्किम साहित्य संस्थान, गेजिङबाट कथा विधाको निम्ति ‘स्रष्टा पुरस्कार’-ले सम्मानित भए। यसरी नै सन् 2021 मा बिकमत, खोरलाङ, दक्षिण सिक्किम कला साहित्य संस्थानबाट कला साहित्य सम्मान प्राप्त गरे। सन् 2022 मा बालकृष्ण सङ्घ, सिलगढ़ीबाट पनि बालकृष्ण सम्मान प्राप्त गरे। सन् 2023 मा दक्षिण सिक्किम नेपाली साहित्य सम्मेलन, नाम्चीबाट नेपाली साहित्य सम्मानले अलङ्कृत भए। सन् 2024 मा सिद्धार्थनगर, इटावा (उत्तर प्रदेश)-बाट सिद्धार्थ तथागत अन्तर्राष्ट्रिय विशिष्ट सृजन सम्मान प्राप्त गरे। सन् 2024 को 27, 28 र 29 दिसम्बरमा सम्पन्न डुवर्स नेपाली साहित्य विकास समितिको स्वर्ण जयन्तीको उपलक्ष्यमा साहित्यमा उत्कृष्ट लेखनका निम्ति डुवर्सका चारजना साहित्यकारहरूका साथमा ‘डुवर्स गौरव’-का रुपमा दार्जीलिङका सांसद श्री राजु विष्ट र सिक्किमका मन्त्री श्री भोजराज गुरुङको बाहुलीबाट साहित्य सम्मानद्वारा सम्मानित भए। यसप्रकारले उनको कथा बुनौटको शिल्पकारिता र लेखन शैलीको चौतर्फी मूल्याङ्कन पनि भइरहेको छ। उनको साहित्य लेखनमा उत्तरोत्तर निखार आउँदै आवोस् अनि निकट भविष्यमा उनी सफलताको शिखर पुग्न सकून्, हाम्रो शुभकामना छ।

बाग्राकोट, डुवर्स

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।