19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

कोशी

कविता कृष्ण उपाध्याय May 21, 2025, 7:59 am
कृष्ण उपाध्याय
कृष्ण उपाध्याय

कृत्य अकृत्य सुकृत्य वा स्तुत्य
जे जस्तो छ जस्को कथा यो हो उसको
कर्म, अकर्म, विकर्म ती जे हुन्
खुशी कोशी भन्छु, सुन्ने शशी हुन् ।

शशी सोम भन्छु, त्यतै नै म हेर्छु
रवि सूर्य भन्छु, त्यतै नै म हेर्छु
जहाँ तिम्रा रश्मि, त्यहाँ नै तिमी छौ
हुदाँ रश्मि भित्र, त्यहाँ नि तिमी छौ ।

अपरुष पुरुष अपौरुष हौ
लतिका कलिका वनिता पनि हौ
सरिता ललिता कविता सविता
सवका घरका, परका पनि हौ ।

सवका तनका मनका हृदका
अनुरक्त र अक्त र रिक्थ ती हौ
हौ त्राण र प्राण र प्राणद पनि
बिज हौ सवका, धरणीका पनि ।

तिमी प्रिय मेरो, म तिम्रो प्रिया हुँ
क्रिया हुँ, धिया हुँ, हुँ जिया सवैको
म डुङ्गा हुँ तर्ने, म गङ्गा हुँ बग्ने
सुन! कोशीलाई किन गङ्गा भन्ने!

म आएँ धर्तीमा अविरल बग्दै गिरि तन
खुशीले धर्तीमा गदगद भए सुन्दर मन
भने गंगे माता अव त दुख हाम्रा सव गए
भरेरै पानीले सकल जनको प्यास हरिए ।

म आफै चै धेरै मन भरि असन्तोष लिइरहेँ
यसैले हे प्रिय! दुख जति सवै भन्न कसिएँ
बिसाएँ दर्दै यो ! अविरल गडेको हृदयमा
सुनी मेरो अर्जी भनिदिनु न जे जे छ मनमा ।

तिमी माता भन्दै घरिघरि पुकारा पनि हुने
तिमी माता भन्दै घरि नमन गर्ने पनि हुने
नजान्ने किञ्चित तर म कति बिस्तृत छु भनी
अगाडि छौ प्रिय! सुन त कति सानी म गनिएकी ।

न देख्छन् मेरा अङ्ग सकल ती छन् दृश्य पटमा
नभन्छन् गङ्गानै जति अरु बगे अन्य पथमा
सवैले देखेरै पनि किन नबुझ्यासरि गरे
सवैनै मिल्दा पो सजल गण गङ्गा हुन् गएँ ।

यसैले पो आज अव त कति मौनी अझ हुने
भनी मैले आफै सरल सँग बुझ्ने गरी भने,
विसाएँ मेरो भाव जन जनका भाव ति बनुन
सवै मेरा अङ्गहरु पनि त गङ्गा जलधि हुन् ।
( अपौरुष काव्यको अग्रभाग)

लन्डन

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।