18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

भानु अधिकारीको "अतीतदेखि वर्तमानसम्म"

कृति/समीक्षा भाष्कर मैनाली शर्मा May 24, 2025, 3:55 pm
भाष्कर मैनाली शर्मा
भाष्कर मैनाली शर्मा

भानु अधिकारी द्वारा लिखित पुस्तक अतीतदेखि वर्तमानसम्म यसै वर्ष मार्च २०२५ मा सर्वप्रथम प्रकाशित भएको हो। यस पुस्तकका प्रकाशक डम्बर दाहाल हुन् र यसको मुद्रण स्वस्तिका प्रिन्टिङ प्रेस चरित्र प्रडक्सन, थाना डाँडा कालेबुङ रहेको छ। यस पुस्तक एक इतिहासपरक काव्य रहेको छ जहाँ लेखकले दार्जीलिङ - सिक्किम पहाडी भेगको इतिहास देखि लिएर वर्तमानसम्मको सामाजिक, राजनैतिक अवस्थालाई आफ्नो काव्य मार्फत प्रस्तुत गरेका छन्। यस पुस्तक अतीतदेखी वर्तमानसम्म पुस्तकमा लेखकले काव्य लेख्दा झ्याउरे छन्दको प्रयोग गरेका छन्। जम्मा ११८ पृष्ट रहेका यस पुस्तक भित्र ३९ वटा शीर्षकहरू रहेको छ यसरी हेर्दा यो पुस्तक मझौला आकारको रहेको छ।

यस पुस्तकमा लेखकले कसरी युरोपेली देशहरुले औद्योगिक क्रान्ति पछि विश्वमा आफ्नो साम्राज्य विस्तारको निम्ति एक अर्कासित युद्ध गर्दै अन्त्यमा चतुर अंग्रेज सेनाहरूले सबैलाई उछिनेर भारत देश तर्फ आए र आफ्नो साम्राज्य विस्तार गरे र बिस्तारै बिस्तारै यस देशलाई आफ्नो गुलाम बनाए भन्ने कुरा यहाँ लेखकले यस पुस्तकमा उल्लेख गरेका छन्।उनले यो कुरा यस पुस्तकमा यसरी उल्लेख गरेका छन्
युद्धको पछि खुलियो बाटो खेदिए दुश्मन
हानिए पूर्व अंग्रेज धूर्त व्यापार निपुण।
ब्रिटिश इष्ट इन्डिया नाम भएको कम्पनी
अगाडि बढ्यो भारत चुस्न गरेर लगानी
यस भारत देशलाई त्यस समय सुनको अन्डा दिने चरा को रूपमा चिनिन्थ्यो र भारत देश त्यस समय सम्पन्नशाली देशको रूपमा चिनिने गरिन्थ्यो तर भारत देश आजको जस्तो त्यस समय एकत्रित थिएन धेरै राजा रजौटाहरुले आ आफ्नो प्रान्तमा राज्य गरिरहेका थिए त्यही विभाजनकारी नीतिको लाभ उठाएर अङ्ग्रेजहरूले भारत लाई आफ्नो अधीनमा ल्याए र यो पुस्तक पढेपछि हामीलाई यदि त्यस समय भारत एकत्रित भएको भए र सबै राज्यहरू एकत्रित भएर अंग्रेज साम्राज्यवाद को विरुद्धमा लडेको भए यो भारत देश अङ्ग्रेजहरूको गुलाम हुनु पर्थिएन होला भन्ने महसुस हुँदो रहेछ।

यसै गरी अङ्ग्रेजहरूले भारतमा आफ्नो साम्राज्य विस्तार गरेपछि अंग्रेजहरु हाम्रो दार्जीलिङ - सिक्किम पहाडी भेग तिर पनि आए र दार्जीलिङको सुन्दर मनमोहक पहाडी वातावरण देखेपछि अङ्ग्रेजहरूले यस दार्जीलिङ पहाडी भेग पनि आफ्नो अधीनमा पारे। यस दार्जीलिङ पहाडी भेग घरी केही समय सिक्किमको घरी केही समय नेपालको र यस ठाउँको केही अंश भुटान को पनि भएर अन्त्यमा यस ठाउँलाई पनि अङ्ग्रेजहरूले आफ्नो अधीनमा परेको थिए। यस संगै त्यस समय अङ्ग्रेजहरूले नेपाल भुटान र सिक्किम सित गरेका सन्धिहरु जस्तै सुगौली सन्धि, तितलिया सन्धि र सिन्चुला सन्धि बारे पनि लेखकले यस पुस्तकमा उल्लेख गरेका छन्।

चियाको अविष्कार चीनमा भएको थियो पछि यस चियाको व्यापार विश्व बजारमा फस्टाउँदै गयो र चियाको व्यापार अङ्ग्रेजहरूले पनि गर्ने गर्थिये तर पछि चीन सित अङ्ग्रेजहरूको व्यापारिक सम्बन्ध राम्रो नभएको कारण चियाको आयात चीनबाट बन्द भएपछि अङ्ग्रेजहरूले आफै चियाको खेती गर्ने निर्णय लिए र चिया खेतीको निम्ति दार्जीलिङ पहाडी भेग सबैभन्दा असल देखियो र अङ्ग्रेजहरूले यहाँको जङ्गलहरू फाड फुड गरी यस ठाउँमा चियाको खेतीको स्थापना गरे
सठीक जँच्यो पहाड हाम्रो चियाको निमित्त
हावा र पानी उचित जँच्यो प्रकृति प्रदत्त
यो भन्दा ठूलो के हुन सक्थ्यो सौभाग्य, सुयोग
रोपन कार्य आरम्भ भयो गरियो प्रयोग
त्यसपछि चिया खेतीको निम्ती श्रमिकहरुको आवश्यक धेर हुने भएको कारणले गर्दा नेपाल देशबाट चियाको बोटमा पैसा फल्छ भन्ने विभिन्न प्रकारको लोभहरु देखाउँदै त्यहाँबाट श्रमिकहरू ल्याउने कार्य शुरू भयो। त्यसपछि अङ्ग्रेजहरूको सजिलोको निम्ती अङ्ग्रेजहरूले नयाँ शिक्षा नीति ल्याए जुन नीति अनुसार उनीहरूले अङ्ग्रेजी भाषाको प्रचार प्रसार गरे।

दार्जीलिङ पहाडी भेगमा स्वस्थ र शिक्षाको प्रचार प्रसारको निम्ति इशाई मिसिनरीहरुले ठूलो भूमिका खेलेका छन्। आजको दिन सम्ममा त्यही इशाई मिसिनरीहरुले स्थापना गरेको विद्यालयहरुले यस ठाउँका अधिकांस विद्यार्थीहरू लाई असल र गुणस्तरीय शिक्षा दी रहेका छन्।हाम्रो पहाडमा यही इशाई मिसिनरीहरुको आगमन बारे पनि यस पुस्तकमा लेखिएको छ यस भेगमा क्याथोलिक र प्रोटेस्टेन्ट मिसिनरी आगमन र उनीहरुको योगदान बारे यहाँ यस पुस्तकमा लेखिएको छ। यस दार्जीलिङ पहाडी भेगमा हिन्दू, बौद्ध, किराती र लेप्चा समुदायको प्रकृति प्रेमी धर्म संग संगै इशाई धर्म पनि फैलिदै जान्छ इशाई मिसिनारीहरुको आगमन पश्च्यात यस कुराको उल्लेख उनले यस पुस्तकमा यसरी लेखेका छन्
अपर श्रद्धा खनिन थाल्यो इशाको नाममा
विश्वासी धेरै बनिन थाले इशाई धर्ममा

यस पुस्तकमा उनले इशाई धर्मका वरिष्ट व्यक्तित्वहरू जस्तै आर्किबेल ट्रनबुल, म्याकफार्लेन बारे र उनीहरुको योगदान बारे पनि उल्लेख गरेका छन्। यस संगै रोमन क्याथोलिक का फादर र सिस्टर हरु बारे र उनीहरूको योगदान बारे पनि लेखकले यस पुस्तकमा उल्लेख गरेका छन्।
सिक्किम र भारत संगै लेखकले नेपाल देशको इतिहास बारे पनि यस पुस्तक मा केही मात्रामा लेखेका छन्। भारतमा अंग्रेज शासन रहेको समयमा नेपाल देशमा राणा शासन रहेको थियो र राणाहरूले त्यस समय नेपाली जनतालाई खुबै अन्याय र अत्याचार गरेर राखेका थिए लेखकले यस विषयलाई यसरी लेखेका छन्
राणाको छोरा शाषक हुन्थिए आमाको कोखैमा
‌ निमुखा प्रजा जीवन झेल्थिए पीडा र दुःखैंमा

चिया खेती संगै दार्जीलिङ पहाडी भेगमा सिनकोना को खेती पनि हुने गर्दछ र यस पुस्तकमा सुनकोना को खेती कसरी पहाडमा आयो यसको इतिहास बारे पनि लेखकले यस पुस्तकमा उल्लेख गरेका छन्। सिनकोना द्वारा औषधि बनाउने गरिन्छ र उक्त औषधि को सेवन औले जोरो आएको समयमा गरिने गरिन्छ र भारत वर्षमा त्यस समय औँले जोरो धेरै फैलिएको हुनाले सिनकोनाको खेती यस दार्जीलिङ पहाडी भेगमा गरियो किनकी यस ठाउँ सिनकोना उपजनिको निम्ति अनुकूल थियो विशेष गरी दार्जीलिङ स्थित मङ्पू, रेसेप, लब्दा, सिटोङ, मन्सोङ जस्ता ठाउँहरू सिनकोना खेतीको निम्ति उपयोगी ठानियो र यसै ठाउँमा यस कुराहरुको खेती हुन थाल्यो
रेसेप मङ्पु खेतीको निम्ति लायक ठानियो
क्रमैले वन फाडिन थाल्यो जंगल हानियो

भारतको उत्तर पूर्वाञ्चल क्षेत्रहरूमा जस्तै असम, मेघालय, नागाल्याण्ड तिर पनि नेपाली भाषी समुदायको बसोबास रहेको छ र यी समुदायहरू कसरी त्यस ठाउँमा पुगे र त्यहाँ उनीहरूले गरेको दुःख संघर्ष बारे पनि यस पुस्तकमा उल्लेख गरेका छन्। दार्जीलिङ पहाडी भेग चिया सित नै विश्व धरोहर "दार्जीलिङ हिमालयन रेलवे " को निम्ति पनि एकदमै प्रशिद्ध रहेको छ र यस दार्जीलिङ हिमालयन रेलवे को रेल को सौन्दर्य बारे पनि यस पुस्तकमा लेखकले लेखेका छन्
घुम्तीमा घुम्दै छलिदै छुप्दै अगाडि बढेको
क्या राम्रो दृश्य पखेरो छेक्दै उक्कालो चडेको

अङ्ग्रेजहरूको विरुद्धमा र भारत देशको स्वतन्त्रताको निम्ति गोर्खाहरूले पनि योगदान दिएको थिए यस विषयमा लेखकले यसरी लेखेका छन्
बुझेर सबै अन्याय तंत्र फिरंगी गोरको
उम्लिने गर्थ्यो पवित्र खुन गोर्खाली छोराको

दार्जीलिङ पहाडी भेगमा राजनीति धेरै अघि देखि थियो यी दार्जीलिङ पहाडी भेगमा भएको राजनैतिक कुराहरू बारे पनि लेखकले यस पुस्तकमा लेखेका छन् जस्तै नेभुला को स्थापना, गोर्खालीग को स्थापना, १९५० भारत नेपाल सन्धि, भाषा आन्दोलन,दार्जीलिङ पहाडी राजनीतिमा सुभास घिसिङको उदय र पतन। यस क्षेत्रको दीर्घकालीन माग गोर्खाल्याण्ड को माग, दार्जीलिङ पहाडी क्षेत्रमा सरकारले दिएको स्वेत्त शासन दार्जीलिङ गोर्खा पर्वतीय परिषद र गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन बारे पनि यस पुस्तकमा लेखकले उल्लेख गरेको छ, सिक्किम देश भारतमा विलय हुने घटना र सिक्किममा नरबहादुर भण्डारी को राजनीति देखि लिएर , २५ वर्षसम्म सिक्किममा राज गरेको मुख्यमंत्री पवन चाम्लिङ देखि लिएर अहिलेको वर्तमान गोले सरकारको पनि उल्लेख उनले यस पुस्तकमा गरेका छन्। सिक्किम देश हुँदा त्यहाँको राज शाषक बारे पनि उनले यस पुस्तकमा उल्लेख गरेका छन्। यस संगै नेपाली भाषा र साहित्य बारे पनि उनले यहाँ उल्लेख गरेका छन् भानुभक्तको नेपाली साहित्यमा योगदान इतियदी बारे पनि लेखकले उल्लेख गरेका छन्।

यस पुस्तक अतीतदेखि वर्तमान सम्म पुस्तक एक इतिहासपरक काव्य मानिएको छ। अधिकांस लेखकहरूले इतिहास लेख्दा साहित्येतर गद्य को प्रयोग गर्ने गर्दछन् र उनीहरुको लेख अधिकांस निबन्धात्मक हुने गर्दछ तर यस पुस्तकका लेखक भानु अधिकारीले इतिहास लेख्दा झ्याउरे छन्दको प्रयोग गर्दै कवितात्मक शैलीमा इतिहास लेखेका छन् र यसलाई साहित्य लेखनमा एउटा नयाँ प्रयोग मान्न सकिन्छ।यस पुस्तक पढेपछि भारतमा हामी नेपाली भाषी गोर्खा समुदायहरू वर्तमान स्थितिमा हाम्रो बास भूमिको निम्ती आन्दोलन चाहिँ गरेको तर हामीले हाम्रो बास भूमि पाउन नसकेको कुरा पढ्दा र केन्द्र र राज्यले हामीलाई भोट ब्यांकको मोहोरा बनाएको कुराको महसुस पनि हुने गर्दो रहेछ। हामीलाई विदेशीको लान्छना जहिले तहिले लागि बस्छ तर भारत देशलाई स्वतन्त्र दिलाउनुमा गोर्खा समुदायहरूले पनि योगदान पुर्याएका थिए र हामी जहिले पनि हाम्रो भारत देशलाई माया गर्ने गर्छौ र हामी हाम्रो भारत देशप्रति इमान्दार छौ भन्ने कुरा अन्य अनेपली भाषी पाठकहरूले यस पुस्तक पढेपछि बोध गर्नेछन्। यस पुस्तकको भाषा शैली पनि एकदमै सरल सहज रहेको कहीं पनि एकदमै क्लिष्ट भाषाशैलीको प्रयोग नभएको र सरल र सुन्दर भाषा शैली यस पुस्तकको रहेको छ। कविताहरू पनि त्यति धेरै घुमाउदार नरहेको तर सरल र सुन्दर ढंगमा प्रस्तुत गरेको हुनाले पाठकहरुलाई यस पुस्तक पढ्दा गारो हुनेछैन तर सहजै ढंगमा पाठकहरूले यस पुस्तकको पढेर आनन्द लिन सक्छन्। अन्त्यमा आउने दिनहरूको निम्ति लेखकलाई बधाई एबम् शुभकामना र भविष्यमा पनि लेखकबाट यस प्रकारको पुस्तकहरूको आनन्द हामी पाठकहरूले लिन सकौ।

दार्जीलिङ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।