18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

स्मृतिको पूर्णिमा प्रेमकथा

कथा बिजु सुवेदी “विजय” May 24, 2025, 4:07 pm
बिजु सुवेदी “विजय”
बिजु सुवेदी “विजय”

धुलो उड्दै गरेका बाटाहरू, टाढा पहाडको फेदमा हरियालीले ढाकिएको गाउँ थियो – फूलपाती गाउँ । यहाँ बिहानै पन्छीको चिरबिर, चौतारीमा बसेर गफ गर्ने बृद्धबृद्धा, र खेतमा झुकेर काम गरिरहेकी आमा– यी सबैले एउटा शान्त र रमणीय वातावरण बनाउँथे ।

स्मृति, बीस बर्षकी सुन्दरी तर विचारशील केटी थिइन् । उनी पढेलेखेकी थिइन् र गाउँकै विद्यालयमा पढाउने सपना बोकेकी थिइन् । उनी आफ्नो जीवन आफैं बनाउन चाहन्थिन्, तर उनका आमा–बुबाको सोच त्यो सपनासँग ठ्याक्कै मेल खाँदैनथ्यो ।

एक साँझ, खेतको डिलमा बसेर स्मृति आकाशतिर हेर्दै थिइन् । बुबा, हरिकृष्ण, खेतबाट फर्कँदै आउँदै थिए ।

बुबाः “स्मृति, किन यति गहिरो सोचिरहेकी जस्ती देखिन्छ्यौ नि ?”

स्मृतिः (हल्का मुस्काउँदै) “बुबा, जीवन कता जान्छ होला भनेर सोचिरहेकी थिएँ ।”

बुबाः (बस्दै) “जीवन भनेको नदी हो नि... कहिलेकाहीँ उर्लिन्छ, कहिलेकाहीँ शान्त बग्छ तर तिमी आफैं त्यसको दिशा रोज्न सक्छौ ।”

स्मृति बुबाको कुरा सुन्दै थिइन् । उनलाई थाहा थियो, उनका बुबा गाउँका अरु पुरूषभन्दा फरक थिए । छोरीको पढाइ र सपना उनी समर्थन गर्थे तर घरभित्र भने वातावरण अलिक फरक थियो । भान्छामा आमा र स्मृतिबीच कुराकानी भइरहेको थियो ।

आमा (शारदा): “स्मृति, अब त तेरो उमेर भइसक्यो त । छोरीको घरजम कहिले हुन्छ भन्ने चिन्ता त आमाले नै गर्नु पर्ने हो । एउटा राम्रै केटा हेरेका छौं हामीले ।”

स्मृतिः (धेरै नै आक्रोशित हुँदै) “तर आमा, म अहिले बिहे गर्न चाहन्नँ । म पहिले शिक्षिका बन्न चाहन्छु ।”

आमाः (थोरै झर्कँदै) “सबै कुरा पढाइले मात्र हुन्छ र ? समाजले हेर्छ ? मान्छे के भन्छन् भन्ने पनि त विचार गर्नु प¥यो नि, कसैलाई केही मतलबै छैन ।”

स्मृतिलाई लाग्यो – आमा अझै पनि समाजको डरबाट मुक्त हुन सक्नु भएको छैन तर बुबाको समर्थनले उनलाई बल मिल्थ्यो ।

त्यही बेला वसन्तको सुरुवात थियो । गाउँ वरिपरिको डाँडाहरू फूलहरूबाट सजिएका थिए । पहेँला गुराँसले जंगल रंगीन बनाएको थियो । हावामा हल्का मनमोहक सुवास थियो ।

एक दिन, गाउँको विद्यालयमा शिक्षिका पदका लागि आवेदन खोलियो । स्मृतिले फाराम भर्दै गर्दा बुबा ढोकाबाट हेर्दै मुस्कुराए ।

बुबाः “तिमीलाई रोकिन नदिने हो, स्मृति । आमा पनि बुझ्नेछिन्, समयसँगै ।”

स्मृति पनि मुस्काइन् । उनले बुझेकी थिइन् – परिवर्तन सजिलै हुँदैन, तर कोसिस गरिरहने मान्छेले बाटो बनाउँछ ।

केही महिना पछि, स्मृति गाउँकै विद्यालयमा शिक्षिका भइन् । उनको पढाइ शैली, बालबालिकासँगको मित्रता, र विचारशीलता सबैले गाउँमा चर्चा बटुल्यो ।

एक साँझ, घरको आँगनमा आमाले भनिन् : “स्मृति, मलाई त तेरो विद्यालयको कुरा सबैभन्दा पहिले अब टोलकी सानी भाउजूले सुनाइन् । तैले गरेको काम... राम्रो पो रहेछ ।”

स्मृतिः (हर्षमा) “आमा, तपाईंको समर्थन नै मेरो जित हो ।”

आमाः (हौँसिँदै) “अब बिहेको कुरा पनि त सोच्न थाल है, मन पराएको कोही भए त भन न ।”

स्मृति हाँसिन् । जीवन आफ्नै लयमा अघि बढिरहेको थियो । पहाडका पाखाहरूमा गुराँस फेरि फुल्न थालिसकेका थिए ।

फूलपाती गाउँमा समय फेरिएको थियो । अब स्मृति गाउँकै विद्यालयमा शिक्षिका थिइन् । उनको आत्मबलले धेरैको मन जितेकी थिइन्, तर सबैको होइन ।

त्यही गाउँमा अर्का पात्र थिए – प्रकाश भण्डारी । गाउँकै सबैभन्दा धनी व्यक्ति पृथ्वीराज भण्डारीका छोरा । काठमाडौंको ठूला स्कुलमा पढेका, महँगो गाडीमा हिँड्ने, हरेक कुरामा “म“ भन्ने – प्रकाशको चालचलन गाउँमा ठूलै प्रभाव जमाउने किसिमको थियो तर त्यो प्रभावसँगै थियो अंहकार, विशेषगरी गरिब वा निम्न वर्गका मानिसहरूप्रति उसको व्यवहार तिरस्कारपूर्ण हुन्थ्यो ।

एक बिहान पानी पर्ने बेला बितिसकेको थियो, तर आकाश अझै हल्का बादलले ढाकिएको थियो । वरिपरिको हरियाली अझै रसाइरहेको थियो । स्मृति विद्यालयतर्फ हिंडिरहेकी थिइन् । बाटोमा काठको पुरानो पुल थियो, जहाँ बाटो साँघुरो हुन्थ्यो । त्यसै बेला प्रकाश आफ्नो पजेरो गाडी लिएर तीब्र गतिमा आइपुग्यो ।

गाडी अचानक स्मृति नजिकै रोकियो । धुलो उड्यो । स्मृति पछि हटेर बाटो छोडिन् ।

प्रकाशः (झ्यालबाट हेर्दै) “तिमीहरूजस्ता मान्छेको कहाँ बाटो छोडेर हिँड्ने बानी हुन्छ र ! जहिले पनि बीच बाटोमा अड्किनु !”

स्मृतिः (आँखा जुधाउँदै) “र त तिमीहरू जस्ता मान्छेले सधैं बाटो ओगट्न पाउने ठान्छौ ।”

प्रकाशः (हाँस्दै) “तिमीहरूको हद त त्यही विद्यालयको झ्यालसम्म हो, स्मृति । संसार बुझेको भ्रममा नपर ।”

स्मृतिः (गम्भीर स्वरमा) “तिमीले धन देख्यौ, म मूल्य देख्छु । फरक त्यही हो ।”

प्रकाशले केही नबोली गाडी अघि बढायो । धुलोले फेरि बाटो छोप्यो तर स्मृति स्थिर रहिन् – मनमा एक चट्टान जस्तो आत्मबल लिएर ।

गाउँमा वसन्तको रङ अझै बाँकी थियो । खेतहरूमा बाली उम्रिन थालेका थिए, पाखाभरि फुलेका बनमालाहरूको सुवास हावामा मिसिएको थियो तर स्मृति र प्रकाशको सम्बन्ध भने उस्तै चिसो थियो – एकदम पतझडको रुख जस्तै, जसमा पात थिएन, रंग थिएन ।

विद्यालयमा एउटा सभा भयो । एक दिन गाउँलेहरू विद्यालयको नवनिर्माण पुस्तकालय उद्घाटन कार्यक्रममा जम्मा भएका थिए । स्मृति त्यस पुस्तकालयको योजनाकर्ता थिइन् । त्यही बेला गाउँको धनी प्रतिनिधि भनेर प्रकाशलाई पनि बोलाइएको थियो ।

गाउँका मुखियाः “यो पुस्तकालय बनाउने सोच स्मृतिको हो, तर आर्थिक सहयोग प्रकाशजीले गर्नुभएकोमा धन्यवाद दिनैपर्छ ।”

स्मृति मञ्चमा बसिरहेकी थिइन् । प्रकाश हाँस्दै माइक समात्यो ।

प्रकाशः “म त सधैं योगदान गर्न तयार छु, तर शिक्षा त पैसाले मात्रै कहाँ आउँछ र ?”

स्मृतिः (चुपचाप हेरिरहन्छिन् तर भित्रभित्रै क्रोधित) ।

कार्यक्रमपछि उनीहरूबीच फेरि जम्काभेट भयो ।

स्मृतिः “तिमी योगदान गर्दैनौ, तिमी शर्त राख्छौ । अनि शिक्षाको कुरा त त्यागबाट आउँछ, देखावटी सहायता र भाषणबाट होइन ।”

प्रकाशः “तिमी आफूलाई साह्रै बढी समझदार ठान्छ्यौ है ?”

स्मृतिः “र तिमी आफूलाई भगवान् । हामी दुवैले आफूलाई थोरै प्रश्न गर्न सिक्नुपर्छ ।”

त्यही दिन साँझ बादल लागेको आकाश फाट्दै थियो । सूर्यको मधुरो झुल्को डाँडामाथि छरिरहेको थियो । त्यो सुन्दर दृश्यले गाउँलाई सुनौलो आवरणले धपक्कै ढाकेको थियो ।

तर प्रकाश र स्मृतिको मनमा भने अँध्यारो बाक्लिँदै थियो – एकअर्काप्रतिको घमण्ड र पूर्वाग्रहले ।

त्यो दिनको अन्त्यमा, स्मृति आफ्नै कोठामा बसी डायरी लेखिरहेकी थिइन्ः “म प्रकाशलाई घृणा गर्दिन, तर सम्मान पनि दिन सक्दिन । हामी दुबै आफ्ना घमण्डको किल्लामा थुनिएका छौँ । सायद ! उसले बुझ्न सकेको भए कि सच्चा उचाइ मापन गर्ने मापन त आत्मीयता र समानताको हो ।”

त्यसै बेला प्रकाश पनि आफ्नो महँगो मोबाइलमा नोट लेख्दै थियोः “स्मृति जस्ती केटीहरू घमण्डी हुन्छन् तर कतै मैले पनि घमण्डको ऐना अगाडि बसेको त छैन ?”

फूलपाती गाउँ अब शान्त थियो, मानौं वसन्तका रङहरू अब बिस्तारै ग्रीष्मको घामले सुकाउँदै लगेका थिए । खेतका पाटाहरूमा बालीनाली झुल्किँदै थिए, आकाशमा गहुँगोरो घाम हल्लिँदै थियो, र गाउँको एक छेउमा बसस्टप थियो – जहाँ कहिलेकाहीँ मात्र टेम्पु वा बस आउँथ्यो ।

त्यही बसस्टपमा एक बिहान स्मृति आफ्नी आमालाई लिन पुगेकी थिइन् । उनकी आमा, बिरामी मामाको कुशलबेकुशल बुझेर सहर गएकी थिइन् र फर्किंदै थिइन् ।

आसपास चकमन्न थियो । सुनौलो घाम झरेको चौरमा काँचो घाँस अझै रसाइरहेको थियो । सानो बच्चा – करिब चार वर्षको, उज्यालो मुहार र नीलो स्वेटर लगाएको – स्मृतिको अँगालोमा रमाइरहेको थियो । बच्चा कहिले उनको कपाल चलाउने, कहिले काख च्यापेर “आमा...!” भन्दै बोलाउने ।

त्यही बेला एक सेतो गाडी त्यहाँ आइपुग्यो । भित्र प्रकाश थिए । सहरबाट फुर्सद निकालेर गाउँ फर्कँदै गर्दा बसस्टप छेउमै स्मृतिलाई देखे ।

तर आजको स्मृति फरक थिइन् ।

प्रकाशको मन पहिलो पटक गम्भीर मौनतामा डुब्यो ।

“स्मृति... उसले त आज अर्कै रूप पाएको छ । ती कपालमा चिउरी फूलको गन्ध, त्यो मुस्कान – कति निष्कलुष ! अनि त्यो सानो बच्चासँगको माया... ऊ आफैंभन्दा बढी उज्यालो देखिन्छे आज ।”

प्रकाश गाडीबाट ओर्लिए । स्मृतिले उसलाई टाढाबाट देखिन् – तर कुनै प्रतिक्रिया नजनाई बच्चासँगै आमाको प्रतीक्षा गर्न थालिन् ।

प्रकाश अघि सरे ।

प्रकाशः “यो बच्चा... तिमी–”

स्मृतिः (अगाडि नै रोक्दै) “म यही भन्न चाहन्थेँ – यो बच्चा मेरो हो ।”

प्रकाशः (अचम्मित) “के ?!”

त्यति बेला स्मृतिकी आमा पनि बसबाट ओर्लिन् ।

आमा (शारदा): “हो, हाम्रो यही एउटा नाति हो । स्मृतिले उसलाई माइतीबाट ल्याएकी, जबदेखि उसले तिनको आमा गुमाएको थाहा पाइन् ।”

स्मृतिः (गम्भीर र सिधा) “बच्चाको हजुरआमाले उसलाई मसँग दिन चाहनु भयो । बच्चा पनि मलाई छोड्न मान्दैन । अब ऊ मेरो जीवनको हिस्सा हो ।”

प्रकाशः (मनमा द्विविधा लिएर) “तिमी... आमा बनिसकेकी ?”

स्मृतिले शान्त स्वरमा मुस्काइन् ।

स्मृतिः “बनिसकेकी होइन, बनाएको छु । नाता र रगतभन्दा ठूलो हुन्छ आत्मीयता । मैले आमा बन्न रोजेकी हुँ ।”

प्रकाशको मनमा नयाँ द्वन्द्व सुरु भयो । उसले अहिले स्मृतिलाई आकर्षण मात्र होइन, गहिरो प्रशंसा र मोहले हेर्न थालेको थियो तर अब बच्चासँग देखेपछि उसको मनमा शंका, ईष्र्या र भ्रमको छाया पस्यो ।

“तर ऊ त... आमा हो ? के म उसलाई माया गर्न सक्छु यस्तो अवस्थामा ?”

घाम झर्दै थियोे । साँझ पर्न लागेको थियो । सूर्य पश्चिमको डाँडामाथि झुल्किँदै थियो, सुनौलो किरणहरू सानो बच्चाको मुहारमा पर्यो । उसले सिधा प्रकाशतिर हेर्दै भन्योः “म त यहाँको सबैभन्दा असल आमा पाएको छु ! तपाई पनि हाम्रो साथी बन्नुहुन्छ ?”

प्रकाश भने मौन रह्यो । उसले त्यो निर्दोष अनुहारमा आफ्नै विचारहरूको बन्धन देख्यो ।

त्यो साँझ प्रकाशले धेरै प्रश्नहरू लिएर फर्कियो । उसले गाडी चलाउँदा आफैंसँग सोध्योः “साच्चै म केवल सुन्दरतामा मोहित भएँ ? कि म अब उसको गम्भीरता, करुणा, र आत्मसम्मानमा पनि प्रेम गर्न थालेको छु ?”

“तर त्यो बच्चा... म उसलाई पनि स्वीकार्न सक्छु ?”

उसको मनमा उत्तर अझै थिएन तर अब उसको मोह, आकर्षण र घमण्डबीचको सीमा धमिलो बन्दै गइरहेको थियो ।

फूलपाती गाउँमा अब शरद ऋतु थियो । बिहानको हावा चिसो लाग्थ्यो, तर आकाश सफा हुन्थ्यो । पहाडको टुप्पोमा हिउँ चम्किन थालेको थियो र गाउँ वरिपरि स्याउका रुखहरू पातहरूमुक्त हुँदै शान्त भएर उभिएका थिए – मानौं केही गहिरो महसुस गरिरहेका ।

यसै मौन र मत्थर मौसमबीच, स्मृति र प्रकाशको मनमा चलिरहेका भावनाहरू पनि क्रमशः स्पष्ट हुँदै थिए ।

स्मृति गाउँको सामुदायिक पुस्तकालयमा ‘बाल–साहित्य महोत्सव’ आयोजना गर्दै थिइन् । उनी आफ्ना बालबालिकालाई कथाको माध्यमबाट भावनात्मक शिक्षाको महत्त्व बुझाउन चाहन्थिन् । कार्यक्रमको मुख्य अतिथिका रूपमा प्रकाशलाई निम्त्याइएको थियो – यद्यपि स्मृतिको इच्छा थिएन ।

तर कार्यक्रममा प्रकाश न केवल सजिलै घुलमिल भए, बरु उनले कहिल्यै देखिएकोभन्दा भिन्न अनुहार देखाए – सरल, सहज र संवेदनशील ।

कार्यक्रम सकिएपछि, साँझ ढल्दै थियो । स्मृति एक्लै पुस्तकालयको झ्यालबाट तल झर्दै गरेको घाम हेर्दै थिइन् । त्यति बेलामा प्रकाश पछाडि आए । “आजको कार्यक्रम... मलाई साँच्चै मन पर्यो । तिमीलाई म केही समयदेखि अर्कै तरिकाले हेर्न थालेको छु, स्मृति ।”

स्मृतिले एक छिन मौन रही । सूर्य अब सुनौलोबाट नरम सुन्तलाजीँ रंगमा परिणत भइसकेको थियो ।

स्मृतिः “तिमी आज निकै फरक देखियौ । बालबालिकासँगको तिम्रो व्यवहार... असाधारण थियो ।”

प्रकाशः (हल्का मुस्कानका साथ) “सायद म अब बुझ्न थालेको छु – आत्मसम्मान र ममताको मूल्य । त्यो सानो बच्चाले मलाई सिकाएको हो, जसलाई तिमी ‘छोरा’ भनेर चिनाउँछ्यौ ।”

स्मृतिले अब प्रकाशतिर फर्केर हेरिन् । पहिला जसरी झर्कने, आरोप लगाउने शैली अब थिएन – बरु एक किसिमको सहजता थियो ।

प्रकाशः “स्मृति, मैले तिमीलाई देखेर सुरुमा आकर्षण मात्र महसुस गरेँ तर त्यसपछि... तिमीलाई हेर्दै जाँदा म बुझ्न थालेँ कि तिमी भित्र कतिन्जेल जीवनसँग लडिएकी रहिछौ । तिमी घमण्डी होइनौ – तिमी शुद्ध, निर्भीक र निर्भर हुन नसक्ने स्वभावकी छौ । म तिमीलाई आड दिन चाहन्छु ।”

स्मृतिः (गहिरो सास लिएर) “र तिमी ? के साँच्चै तिमी आफ्नो घमण्ड छोड्न सक्ने भयौ ? के केवल आकर्षणले तिमीलाई प्रेम लाग्यो त ?”

प्रकाशः “शायद सुरुमा हो तर अब छैन । म त्यो बच्चालाई पनि स्वीकार्न तयार छु, जसलाई तिमी आफ्नो जीवनको हिस्सा बनाएकी छौ । किनभने त्यो बच्चा तिम्रो मुटुको दर्पण अनि स्पन्दन हो ।”

स्मृतिको आँखामा आँसु छल्छलाउँछ । उनले एक छिन न केही भने, न केही गरी हाले । अनि अचानक, बच्चा दौडिँदै आइपुग्छ ।

बच्चाः “आमा ! प्रकाश अंकललाई हाम्रो साथी बनाउँ है !”

स्मृतिले बच्चातिर हेरिन्, अनि फेरि प्रकाशतिर । स्मृतिः –मसिनो मिहीन स्वरमा)“सायद... अब हामी तीनजना मिलेर एउटा नयाँ कथा लेख्न सक्छौँ ।”

त्यो क्षण, आकाश सुन्तलाजीँबाट गाढा नीलो हुँदै गयो । टाढा डाँडाबाट बाक्लो कुहिरो ओर्लँदै थियो, तर त्यही कुहिरोभित्र एउटा उज्यालो पल जन्मिएको थियो – जहाँ दुई मन एकअर्काको गहिराइसम्म पुगेर चिसो घामको उज्यालोमा प्रेमको ताप बोकेर उभिएका थिए ।

शरद अब झरिसकेको थियो । चिसो हावा राति सुँघिँदै आउँथ्यो, पहाडहरू कोसेली ओढेजस्तै कुहिरोले ढाकिएका हुन्थे । गाउँका बाटाहरू सन्नाटा थिए — कोभिड महामारीले सबैलाई घरभित्र सीमित बनाएको थियो । टोल छेउका सिस्नुका झाडीहरू पनि मानौँ एक किसिमको डरमा मौन बसेका थिए ।

त्यही मौनताभित्र स्मृतिको मन भने अशान्त थियो । प्रेमले उनको मनमा आत्मबल दिएको थियो, तर महामारी र समाजले ती भावनाहरूलाई दबाउने प्रयास गर्दै थियो ।

प्रकाश र स्मृतिबीच प्रेमले गहिरो जरा गाडिसकेको थियो । फोन, भिडियो कल र कहिलेकाहीँ झ्यालबाट इशारा गरेर सन्देश आदानप्रदान चलिरहन्थ्यो । यति बेला स्मृतिका बुबा, हरिकृष्ण, एक बिहान छोरीको मोबाइलमा आएको सन्देश पढे ।

सन्देश थियोः “हाम्रो सम्बन्ध कति बलियो रहेछ भनेर अहिलेको निषेधले मात्र बुझ्न सकेँ । म तिमीलाई भेट्न आउँछु, ढोकाको फूलको गमलामा रातो धागो बाँधिदिनू ।“

हरिकृष्ण रिसले राता भए ।

हरिकृष्णः (रिसाउँदै) “स्मृति ! तिमी प्रकाशसँग प्रेम गछ्र्यौ भनेर अब लुकाउनु पर्ने छैन । म तिमीलाई उसबाट टाढा राख्न चाहन्छु । ऊ घमण्डी, पूर्वाग्रही र तिमीभन्दा फरक पृष्ठभूमिको हो ।”

स्मृतिः (धैर्यपूर्वक) “बाबा, म जान्दछु ऊ कस्तो थियो तर म पनि त फेरिइनँ र फेरिएको उसलाई चिनेकी छु । प्रकाश अब ऊ छैन, जसलाई तपाईंले पहिले देख्नुभएको थियो ।”

हरिकृष्णः “तिमी त अन्धो प्रेममा परेकी छ्यौ ! यो बेला त घरमै बस्नुपर्ने, बाहिर पनि ननिस्कने समय हो – कोभिड फैलिएको छ । र तिमी... उसलाई भेट्न गइरहेकी छ्यौ ?”

स्मृतिः (आँखामा आँसु लिएर) “बाबा, प्रेम केवल भेटघाट होइन । प्रेम विश्वास हो । म तपाईंको असन्तुष्टि बुझ्छु, तर प्रकाश अब मेरो कमजोरी होइन, मेरो बल बनेको छ ।”

त्यो साँझ, गाउँको पाखाभरि कुहिरो फैलिएको थियो । रुखका पातहरू थर्थर काँपिरहेका थिए । स्मृति ढोकाको गमलामा रातो धागो बाँधिरहेकी थिइन् – प्रतीक थियो प्रतीक्षाको, प्रेमको र प्रतिबद्धताको ।

उता, प्रकाश घरको पछाडिको बाटो हुँदै चुपचाप आइपुग्यो । मास्क लगाएको अनुहार, तर आँखामा निस्सन्देह प्रेम ।

प्रकाशः (धेरै नरम स्वरमा) “तिमीमाथि यस्तो बन्देज... मलाई थाहा थियो, तर म रोक्न सकिनँ ।”

स्मृतिः “म पनि रोकिन सकिन । हिजोसम्म मलाई लाग्थ्यो – बाबु र समाजकै स्वीकृति नै प्रेमको आधार हो तर आज, म बुझ्दै छु – प्रेम आफैँमा स्वतन्त्रताको अभ्यास हो ।”

दुवै एकअर्काको हात समाते । बालक कोठाबाट झ्यालबाट हेरिरहेको हुन्छ – मुस्कुराउँदै, अब उसले ‘पारिवारिक प्रेम’को नयाँ व्याख्या देखिरहेको थियो ।

त्यो रात, चिसोमा पनि एक किसिमको तातोपन थियो । स्मृति र प्रकाश दुबै घरको अनुमतिबिना प्रेममा अडिग भइरहे । त्यो विद्रोह थिएन, त्यो प्रतिबद्धता थियो ।

हरिकृष्ण रातभर सोच्दै बसे – ‘छोरीको आँखा झूठ बोल्दैनथ्यो । समाज र रोगको डरभन्दा ठूलो थियो छोरीको आत्मा ।’ अब उनको निर्णय र दृष्टिकोण परिवर्तन हुने संकेत मिलिसकेको थियो ।

बिहानको चिसो हावा स्याउको बगैँचाबाट बगेर निस्कँदो थियो । आकाश हल्का फिक्का निलो थियो, कुहिरो भर्खरै हट्दै थियो । गाउँ वरिपरि सुनसान थियो, पातहरूले हल्लिनु पनि सुन्न सकिने शान्त वातावरण ।

त्यही शान्तिपूर्ण प्रकृतिभित्र, स्मृतिले एक गहिरो गोप्य यात्रा सुरु गरेकी थिइन् — एक शान्त विद्रोह, यो एक मौन प्रेमको परिणति ।

स्मृति अब नर्सिङ तालिमको अन्तिम चरणमा थिइन् । ६ महिने बन्द प्रशिक्षण, जहाँ उनी आफ्नै बुबा हरिकृष्णको निगरानीमा थिए । फोन र बाहिरी सम्पर्क ठप्प थियो तर त्यही कठोर निगरानीभित्र उनले आत्मजागरणको अर्को तह भेटेकी थिइन् ।

एक बिहान, उनी प्रयोगशालामा गर्भपरीक्षण गरिरहेकी थिइन् ।

रिपोर्ट हेर्दा उनका हात थरथर काँपिए । आँखामा आँसु चम्कियो, तर त्यो डरको आँसु थिएन — त्यो भविष्यको चेतावनी र आशाको संमिश्रण थियो ।

शिक्षण संस्थाको कम्प्युटर प्रयोगको बेलामा उनले दुई मिनेटको गोप्य भिडियो कल गरेकी थिइन् ।

स्मृति –अति मसिनो स्वरमा):-“प्रकाश... म... म गर्भवती छु । चार महिनाको । मलाई आज थाहा भयो ।”

प्रकाश (गहिरो सास लिएर):- “स्मृति... मलाई थाहा छैन के भनूँ तर म तिमीसँगै छु । हामी दुबैले निर्णय गर्ने हो – यो हामी दुवैको जीवन हो । यो हाम्रो मायाको फूल हो । सुगन्धलाई स्वच्छताकासाथ फैलाउनु नै पर्छ ।”

स्मृतिः “म डराएकी छु, तर म भाग्दिन । म यो बच्चा जन्माउँछु — शान्त, चुपचाप । यो हाम्रो प्रेमको साक्षी हुनेछ तर आमाबाबालाई भन्न सक्दिन... अहिलेलाई ।”

छ महिनाको तालिमक्रमको अन्तिम दुई महिना स्मृतिका लागि असहज थिए । उनी गर्भ बढ्दै जाँदा पनि हरेक काम निरन्तर गरिरहन्थिन् — उभिने, सुत्ने, सिक्ने, लुकेर रुने...

उनको अनुहारमा चमक आउन थालेको थियो, आँखा अझ गम्भीर देखिन थालेका थिए । बुबा केही शंका त गर्थे, तर कडा अनुशासनले उनलाई बेवास्ता गरिदियो ।

प्रशिक्षण सकिएपछि एक रात, उनी गहिरो पीडामा परिन् । प्रकाशले गुपचुप सहयोग पु¥याए । अस्पताल होइन, एक निजी धाइआमाको सानो घरमा — गाउँभन्दा पर, खोलाको पारिपट्टि ।

त्यो रात वतास कति रोएको थियो, झोलुंगे बादलहरू चन्द्रमाको उज्यालोलाई बारम्बार छेकिरहेका थिए । आकाश पहेँलिने गरी मेघ गर्जिरहेका थिए ।

धाइआमा (नरम स्वरमा): “स्मृति, तिमी बहादुर छ्यौ । बच्चा स्वस्थ छ... छोरा हो ।”

स्मृतिका आँखा भरिए । प्रकाश, ढोकाको छेउ उभिएका थिए – गहिरो, स्तब्ध, तर आँखाबाट माया पोखिँदै ।

प्रकाश (गम्भीर स्वरमा): “हामीले उसलाई अहिले समाजबाट टाढा राख्नुपर्छ । जब समय आउँछ, हामी सँगै परिचय दिन सक्छौँ ।”

त्यो बिहान, खोलाको पारि एउटा सानो घरको झ्यालबाट स्मृति हेर्दै थिइन् – सुनौलो घामको किरण न्यानो हुँदै झर्दै थियो । धाइआमाको काखमा सानो बच्चा निदाएको थियो । स्मृतिको अनुहारमा शान्त मुस्कान थियो – थकाइ पनि थियो, तर पछुतो थिएन ।

स्मृति (मनमनै): ‘यो जीवन मैले रोजेकी हुँ । यो मेरो सत्य हो । जब समय आउँछ, म यो कथालाई उज्यालो बनाउनेछु — समाजसँग पनि, बाबासँग पनि तर अहिले... यो मौनता नै मेरो शक्ति हो ।’

शहरको आकाश सधैंजसो धुँवामय र फिक्का देखिन्थ्यो । नीलो खुला आकाश, पाखाहरूको हरियाली र सिस्नुको गन्ध... यी सबै अब स्मृतिका लागि केवल सम्झनाका टुक्रा बनेका थिए । घरको सानो बालकोनीबाट हेर्दा अब उनलाई हिमाल देखिँदैनथ्यो, केवल अग्ला भवन र मानिसहरूको भीड देखिन्थ्यो ।

बुबा हरिकृष्णले नर्सिङ कोर्ष सकिनासाथ स्मृतिलाई लिएर काठमाडौँ ल्याएका थिए — उनलाई भविष्य बनाउने नाममा, तर वास्तवमा पुरानो सम्बन्धबाट टाढा राख्न ।

नयाँ ठाउँ, नयाँ परिवेश र नयाँ जिम्मेवारी । स्मृतिको दैनिकी अस्पतालको इन्टर्नसिप, घरको चुपचाप र कहिलेकाहीँ मोबाइलको स्क्रिनमा टल्किने प्रकाशको अनुहारमा सीमित थियो ।

प्रेम अब भेटघाटको भन्दा पनि म्यासेज र भिडियो कलको ढाँचामा सीमित भइसकेको थियो ।

फेसबुक च्याटमा प्रकाश (म्यासेज): “तिमीलाई भेट्न मन लागिरहेको छ । तिमी सहरमा भए पनि म झन् टाढा महसुस गरिरहेको छु ।”

स्मृति (म्यासेज): “म पनि प्रकाश ! तर अहिले सबै कुरा जटिल छ । बाबा अझै रिसाइरहनु भएको छ । म बच्चाको लागि काम पनि मिलाउने प्रयत्नमा छु । हामीलाई समय चाहिन्छ ।”

प्रकाशः “तर समयले हामीलाई अलग बनाउँदैछ कि के हो ? जस्तो लाग्न थालिसक्यो । तिमी अब चाँडै रिप्लाइ गर्दिनौ, माया पनि पराजित हुन्छ कि भनेर डर लाग्छ ।”

स्मृतिः “माया पराजित हुँदैन, तर परिस्थितिसँग लड्न कहिलेकाहीँ मौन हुनुपर्ने हुन्छ । कृपया बुझ्न खोज ।”

स्मृति काममा व्यस्त भइन् । उनको अनुहारमा थकाइ र गम्भीरता थियो । बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म ड्युटी । सुत्ने बेला मोबाइल हेर्दा प्रकाशको म्यासेज बाक्लिँदै गएका हुन्थे — कहिलेकाहीँ चिसा, कहिलेकाहीँ तिक्त ।

प्रकाश पनि आफैँले सिंगो बच्चालाई लुकाएर, काम, परिवार र समाजसँग जुधिरहेको थियो । उसलाई लाग्न थालिसकेको थियो — स्मृति टाढा हुँदैछिन् ।

एक दिन, राति १० बजे, स्मृतिले प्रकाशलाई फोन गरिन् । “प्रकाश, म थाकेकी छु । तिमी मलाई गलत नठान, म तिमीलाई माया गर्न छोडेकी छैन तर मलाई लाग्छ, हाम्रो बाटो फरक हुँदै गइरहेको छ । हाम्रो प्रेमले हामीलाई सधैं साथ दिन सक्छ भन्ने मेरो विश्वास अझै बाँकी छ, तर अबको जीवन म एक्लै तय गर्न चाहन्छु ।”

प्रकाश (लामो मौनता पछाडि) “स्मृति... म बुझ्न थालेको छु । सायद हामी एउटै यात्रामा थियौं तर फरक रेलमा चढ्यौं । म तिमीप्रति कुनै गुनासो राख्दिन तर म अझै यही उही सधैँको स्टेशनमा उभिएको छु – तिमी फर्किन्छौ भन्ने आशामा ।”

स्मृति (अश्रुपूर्ण स्वर): “सायद म फर्किन सकिनँ... तर म कहिल्यै बिर्सिन पनि सक्दिनँ ।”

त्यो रात, शहरको झिलिमिली बत्तीहरूबीच स्मृतिले मोबाइल बन्द गरिन् । झ्यालबाट हेरिन् — पर, आकाश फिक्का निलो थियो, तर एकतर्फी चम्किलो तारा देखिन्थ्यो । त्यो तारा अब उनलाई प्रकाश झैँ लाग्यो — टाढा, तर कहिल्यै हराउने छैन ।

अब उनीहरू टाढा थिए — भावनात्मक रूपमा पनि तर जुन प्रेमले जीवन ल्यायो, जुन प्रेमील सम्बन्धले स्मृतिलाई परिपक्व बनायो, त्यो कहिल्यै झुटो थिएन ।

साउन महिनाको प्रारम्भ थियो । राजधानीमा लगातार झरी पर्दै थियो, सडकहरू चिल्ला पानीले भरिएका, मान्छेहरू ओसिलो छातामुनि हिँडिरहेका । कुहिरोले ढाकिएको साँझ, सहरको बत्तीहरू पानीमा झलझली झल्कँदै थिए । त्यही दृश्यझैँ, स्मृतिको जीवन पनि अस्पष्ट र भावनात्मक रूपमा ओसिलो थियो ।

स्मृतिले आफ्ना बुबाको निरन्तर आग्रहपछि अन्ततः डा. समीपसँग विवाह गरेकी थिइन् । समीप एक प्रतिष्ठित, विवेकी र समाजसेवी चिकित्सक थिए । उनको सादा जीवनशैली, जनसेवा र दृढ सोचले धेरैको मन जितेको थियो तर स्मृतिको मन भने जित्न सकेका थिएनन् किनकि ऊ सधैँ अति व्यस्त हु्न्थ्यो ।

स्मृति (मनमनै): “उनी असल त छन्, तर यो सम्बन्धमा म उनीसँग होइन, केवल जीवनसँग चलिरहेकी छु ।”

समीप बिहानै अस्पताल जान्थे, बेलुका ढिलो फर्किन्थे । उनी कोभिड विरुद्ध जनचेतना अभियानको अगुवाइ गर्दै थिए । भिडियो सन्देशहरू, सामाजिक पोस्टरहरू, गाउँबस्तीमा क्लिनिक खोल्ने योजना... उनी थाक्दैनथे । यसैमा उसको सबै खुसी थियो ।

स्मृति उनको कामको सम्मान गर्थिन्, तर सम्बन्धको अन्तरात्मा चिसो अनुभव गर्थिन् ।

समीप (शान्त स्वरमा): “स्मृति, म बुझ्दछु... हामी दुवै व्यस्त छौं तर म तिमीलाई दुःखी बनाएको महसुस गर्छु ।”

स्मृति (नरम स्वरमा): “तपाईंको उद्देश्य महान् छ तर म कहिल्यै प्रेम खोज्न सकेँ जस्तो लाग्दैन । न त आफ्नो भावना खोल्न सक्ने ठाउँ नै... न त सुन्ने मान्छे...”

समीप (थप केही नबोली, केवल टाउको हल्लाउँछन्): “सायद हामीले जीवन साझा गरेका छौं, तर कथा फरक छ...”

उता प्रकाश, अझै पनि स्मृतिको सम्झनामा बाँधिएको थियो । उसले बिहे गर्ने वाचा आफैंलाई दिएको थियो — “स्मृतिबाहेक कसैसँग होइन ।”

तर जीवन अड्दैन । समय र परिस्थिति बदलिन्छन् ।

एक दिन उसले अस्पतालमा काम गर्ने एक नर्स – शान्ति – प्रति आकृष्ट हुन थाल्यो । शान्तिको आत्मीयता, शान्त मुस्कान र उसको आफ्नै दुःखले प्रकाशको ध्यान तान्न थाल्यो ।

प्रकाश (मनमनै): “म स्मृतिलाई बिर्सन सक्दिन तर यो भावना... यो त केवल शान्तिको आत्मीयताप्रति मात्र हो है ?”

उसले धेरै प्रयास ग¥यो — शान्तिलाई सम्झाउन, सँगै चिया खान बोलाउन, कुनै पनि अवसर नछुटाउन तर ऊ कहिल्यै सार्वजनिक रूपमा प्रेम स्वीकार्ने साहस गर्न सकेन ।

स्मृतिलाई थाहा नहोस् भनेर उसले सजगता अपनाउँथ्यो — उसका साथीहरूलाई पनि मुख बन्द गर्न आग्रह गरेको थियो ।

एक साँझ, पानी परेको थियो । प्रकाशको कोठाभित्र शान्त स्वरमा रेडियो बजिरहेको थियो —

“तिमीलाई माया गर्छु भनेर भन्न सकिन... तिमीलाई माया गरे पनि...”

बाहिर बिजुली चम्किरहेको थियो । प्रकाश झ्यालबाट टोलाइरहेको थियो ।

प्रकाश (मनमनै): ‘स्मृति, तिमीलाई भन्न सकिनँ... तर मैले त्यो माया सधैँ साँचेर राखेको छु । अब तिमी कहाँ छौ थाहा छैन... तर म अझै प्रतीक्षा गरिरहेको छु ।’

स्मृतिले समीपसँग एउटा दायित्त्वमा आधारित जीवन जिउँदै थिइन् । समीपले बुझेर पनि केही नबुझ्ने अभिनय गरिरहेका थिए । प्रकाश भने आफ्नै अडानसँग लड्दै, आफैँमा हराउँदै कहिल्यै नबोलिएको प्रेम लुकाइरहेका थिए ।

.............................................................................................................................

– एउटा बिस्तारै चिप्लिँदै गएको प्रेमको, जीवनको, र समयको गहिरो अन्तर्यात्रा विस्तारित हुँदै थियो ।

शरद ऋतुको प्रारम्भ थियो । हरिया पातहरू पहेँलिन थालेका थिए, कतै–कतै हावाले तिनलाई भुइँमा खसालिसकेको थियो । साँझतिर पहाडको फेदमा रहेको त्यो सानो गाउँ निस्तब्ध लाग्थ्यो—जसरी अब स्मृतिको मनको कोलाहल शान्त भइसकेको थियो ।

हिमाल टाढैबाट टल्किरहेको थियो—न जीवनको उच्चता सम्झाइरहेको थियो, न त मृत्युको अन्त्य । केवल मौन ।

स्मृति र प्रकाश अब बुढाबुढी भइसकेका थिए ।

दुवैका बुबाआमा धेरै धेरै टाढा गइसकेका थिए । समयले तिनका झगडा, विभाजन र आँसुहरू पनि बिर्सिसकेको थियो । केवल याद बाँकी थियो — चिसो, गहिरो र पुरानो किताबका पानाजस्ता ।

डा. समीप पनि अब थिएनन् । कोभिडको दोस्रो लहरमा, गाउँमा मोबाइल क्लिनिक सञ्चालन गर्दै गर्दा उनकै ज्यान गएको थियो ।

त्यो दिन, स्मृति अस्पतालबाट झ्याल बाहिर टोलाउँदै थिइन्—बाहिर झिनो पानी परिरहेको थियो ।

फ्ल्यासब्याक– समीपको अन्तिम संवाद (मृत्युअघि स्मृतिलाई): “स्मृति, म तिमीलाई बाँध्न कहिल्यै चाहिनँ । जीवन साझा गर्न खोजेँ, प्रेम तिमीले पहिल्यै गरिसकेकी थियौ... तर अब म बाँच्दिनँ होला । तिमी आफ्नो बाटो हिँड्नु... ढुक्क भएर ।”

स्मृति (अश्रु–गद्गद): “तपाईंको सहनशीलता मेरो जीवनको सबभन्दा ठूलो पाठ रह्यो... धन्यवाद ! समीप, यति सच्चा भएर बाँच्नुभएकोमा ।”

अस्पतालले हुर्काएको छोरो, समीप — नाम त डाक्टरकै थियो, तर स्वभाव अर्कै । अस्पतालले आशा राखेको थियो कि ऊ चिकित्सा पेसा अँगाल्छ ।

तर समीपलाई रक्तचाप, अपरेसन र इन्जेक्सन होइन — शब्द र भावनाले चल्ने कलम मन पर्थ्यो ।

समीप (छोरो): “मलाई कुनै अंग काट्न होइन, मनका टुक्रा जोर्न लेख्न मन लाग्छ ।”

उनी लेखक भए । समाजका दुःख, आमाबाबुको दूरी, अस्तित्त्वका खोज... यी सबै उनको कथामा आउँथे । उनको कलमले “स्मृति” लेख्थ्यो — तर त्यो नाम कहिल्यै पूर्ण अर्थमा खोल्दैनथ्यो ।

समीप (छोरो): “आमा, तपाईंलाई कहिल्यै सोध्न पाइनँ – तपाईंको माया कसैसँग बाँडिएको थियो ?”

स्मृति (गहिरो सास फेर्दै): “सामी... माया त बाडिँदै जान्छ । रोकिँदै तर कहिलेकाहीँ समयले प्रेमलाई अर्धविराम बनाइदिन्छ – पूर्णविराम होइन ।”

समीप (थप प्रश्न नगरी): “तपाईं आजकल फेरि फेसबुक हेर्नुहुन्छ भन्ने सुनें, काकीबाट ।”

स्मृति (अलिकति हाँस्दै): “कहिलेकाहीँ देख्छु... कसैले पुरानो तस्वीरमा लाइक गर्छ । सायद... प्रकाश होला ।”

यता प्रकाशको मनोदशा बेग्लै थियो । प्रकाश अब एक्लो जीवन बिताइरहेको थियो । एक समय एउटी नर्सप्रति आकर्षण भयो, तर त्यो प्रेमको शाखा बनेन, केवल एउटा क्षणिक पात ।

उनी अहिले कथा पढ्थे – समीप लेखेका कथाहरू ।

कहिलेकाहीँ उनलाई लाग्थ्यो,

“यी हरफभित्र कतै मेरो जीवन पो त छैन ?”

एक दिन, बुढेसकालको एकान्तताबाट थाकेर स्मृतिले समीपसँगै बसेर प्रकाशलाई एउटा चिठी लेखिन् ।

“जीवनले हामीलाई जति टाढा पु¥यायो, हामी त्यत्तिकै भित्र गहिराइमा गहिर्यौं । समीप गयो, तिमी बाँकी छौ । यदि कहिल्यै फुर्सद छ भने, हाम्रा टुक्रिएको कथाहरू मिलाएर एउटा पूरा अनुहार बनाऔं । चिया पिऊँ, चूपचाप ।”

चिठी पुरानो फूल राखिएको एउटा डायरीमा राखियो—जहाँ न कसैले सम्झन खोजेका ती दुईका तस्बिर थिए, न पुराना संवादहरू ।

हिउँदे कुहिरो घुम्दै थियो—हावा चलेको थिएन न, आकाश नै शान्त ! तर त्यो शान्तिमा अब चिसोपन थिएन — केवल प्रतीक्षा थियो । किनभने समयले उनीहरूलाई टाढा त पु¥यायो... तर एकअर्काको उपस्थितिलाई भित्रै गहिरोमा कोरिदियो ।

दशैँको महिना थियो । हिउँदे हावा अझै लागिसकेको थिएन तर बिहान–बेलुका चिसोपना महसूस हुन्थ्यो । सुनौलो घाम मधुर रूपमा झुल्कन्थ्यो । पहाडका पाखाहरूमा खहरे सुक्न थालेका थिए, सिसौ र पीपलका पातहरू थोरै थोरै पहेँलिँदै थिए । जीवनको अन्त्यतिर आइपुगेको सुन्दर ऋतुजस्तै — शान्त, परिपक्व अनि गहिरो ।

डा. समीपको मृत्यु भएको आठ महिना बितिसकेको थियो । स्मृति अझै पनि समीपका तस्बिर हेरेर आँखा चिम्लन्थिन् । उनीसँगको जीवन सायद प्रेमको होइन, तर सम्मान र समझदारीको थियो ।

एक दिन उनी आफ्ना छोरा समीप (लेखक) सँग बगैँचामा बसेकी थिइन्, जब मोबाइलको स्क्रीनमा फेसबुकमा लाइक गरेको एक पुरानो नाम चम्कियो — प्रकाश ! ! ! तुरुन्तै मेसेन्जरमा कल पनि आयो ।

प्रकाश (फोनमा): “स्मृति... म जान्दछु, समय ठिक छैन तर म धेरै दिनदेखि भन्न चाहन्थेँ — म अझै पनि तिमीलाई माया गर्छु ।”

स्मृति (निसास्सिँदै): “प्रकाश... समीप गएका केही महिना मात्रै भएको छ । मलाई यसरी– यसरी... माफ गर है ?”

प्रकाश (नरम स्वरमा): “माफ माग्न छैन, न दबाब नै दिनुछ । म त केवल यत्ति भन्न चाहन्थेँ कि म अझै तिमीलाई पर्खिरहेको छु... जीवनका बाँकी पाना लेख्न तिमीले कलम चलाउनु नचाहे पनि, म त्यही पानामा बसिरहेको छु । ”

समय बग्दै जान्छ... स्मृतिले तत्काल केही जवाफ दिइनन् तर रातमा ती शब्दहरू उनको कानमा गुञ्जिरहन्थे — “मैले पर्खिरहेको छु... ”

बिहानीको घाम हल्का परेर बिस्तारै झ्यालबाट झुल्कियो । त्यो घाम झैं, स्मृतिको मन पनि फेरि न्यानिन थाल्यो ।

तीन महिनापछि, उनीहरूले शान्तिको बगैँचामा भेटे — पुरानो हस्पिटल नजिकैको त्यही बगैँचामा, जहाँ एकदिन स्मृतिले आफ्ना आमालाई भेट्न गएकी थिइन्, र प्रकाशले टाढाबाट उनलाई पहिलोचोटि हेरेका थिए ।

स्मृति (हल्का हाँसेर): “ती दिनहरू... अचेल सपना जस्तै लाग्छन्, है प्रकाश ?”

प्रकाश (नजर नहटाई): “त्यो सपना मैले कहिल्यै बिर्सिनँ । न त तिमी । तिमी अझै पनि उस्तै देखिएकी छौ— समयभन्दा बाहिरकी जस्ती ।”

स्मृति (गहिरो सास फेर्दै): “म मान्छु । तिमीले मलाई सधैँ प्रेम ग¥यौ । म भने परिस्थितिबाट भागिरहेकी थिएँ सायद ।”

प्रकाश (अलिकति चुप रहँदै): “हामी ५० कटिसक्यौँ स्मृति । अब न परीक्षा छ, न डर... केवल बाँकी जीवन सँगसँगै बिताउने मौका छ । मसँग आउँछौ ?”

त्यो दिन साँझ, सहरको माथि नीलो–सुनौलो आकाश झुल्किरहेको थियो ।

स्मृति केही बोलेनन्, केवल टाउको हल्का हल्लाइन् — सहमतिमा । त्यो टाउको हल्लाइरहँदा उनको आँखामा दुई थोपा आँसु थिए — पछुतो होइन, सन्तोषका ।

समीप (छोरो): “आमा, तपाईं फेरि मुस्कान फर्काउनुभएको छ । के प्रकाश काका अझै पनि तपाईंको जीवनमा छन् ?”

स्मृति (हल्का मुस्काउँदै): “हो, अब छन् । हामी फेरि प्रेम गर्न सक्दैनौं भन्ने को भन्छ ? उमेरले प्रेम घटाउँदैन— समझदारी बढाउँछ । प्रेमको अन्त्य होइन, प्रेमको पुनरागमन ।”

हिउँदे साँझमा उनीहरू हात समातेर बगैँचाबाट फर्किरहे ।

टाढा बाटो थियो, तर अब एक्लोपन थिएन ।

बुढ्यौलीको जीवन नयाँ गन्धमा बाँसिएको थियो — पुराना पत्रहरू जस्तो, जसमा समयले सुकाएका भावनाहरू अझै रसाइरहेको थियो ।

शरद ऋतुको अन्तिम साता थियो ।

साँझको घाम पहाडपारि अस्ताउँदै थियो, आकाश गुलाबी नीलो रंगमा घुल्दै थियो । बगैँचामा झर्ने पातहरूको टप्कनले समय बगिरहेको संकेत दिइरहेको थियो ।

तर स्मृतिका लागि, समय अब सीधो रेखा थिएन— त्यो सर्पिल घुम्ती थियो, कहिले २० वर्षअघिको मोडमा त कहिले अनिश्चित भविष्यतिर ।

६० वर्ष पुग्न लागेकी स्मृति, अब बिस्तारै अल्जाइमरको चपेटामा पर्न थालिसकेकी थिइन् । स्मृति एक एक गरी ओइलाउँदै गइरहेकी थिइन् ।

एक बिहान, बगैँचाको कुर्सीमा बसिरहेकी स्मृतिलाई प्रकाशले कफी बनाएर ल्याए ।

प्रकाशः “ल, तिमीलाई मनपर्ने झैँ नरिवलको स्वाद मिसाएर कफी बनाएँ ।”

स्मृति (भ्रमित भएर): “हँ...? तपाईं को हुनुहुन्छ ? मलाई त... यो ठाउँ पनि चिन्न मन लाग्दैन ।”

त्यो वाक्यले प्रकाशको हृदय च्यातियो । मन डढ्यो । उनी केही बोल्न सकेनन् तर, केही बेरपछि सम्हालिएर थर्थराउँदै भने—ः “स्मृति... होइन, पूर्णिमा... तिमी सम्झन्छौ ? त्यो साँझ, हामी अस्पतालको पछाडि झ्यालबाट एकअर्कालाई हेरिरहन्थ्यौँ...”

स्मृति (विचित्र हाँसो हाँस्दै): “म पूर्णिमा होइन, त्यो त कसैको कल्पना होला । म त... केवल स्मृति जून हुँ, जुन सधैँ शून्यमा घुमिरहन्छ ।”

डाक्टरहरूले उनलाई अल्जाइमर भएको प्रमाणित गरे तापनि, स्मृतिको लक्षण केवल विस्मृतिमात्र थिएन— उनी ‘समय यात्रा’ गरिरहेकी थिइन्, कमसेकम उनी आफैं त त्यसैगरी अनुभूत गर्थिन् ।

उनी कहिले प्रकाशसँगको पहिलो झगडाको दिनमा पुग्थिन्, कहिले समीपले लेख्न लागेको उपन्यासको अन्त्यका पानाहरुमा ।

स्मृति (एक साँझ प्रकाशलाई हेर्दै): “समीप... समीपलाई भन न, म उसको अन्तिम अध्याय पढेकी छु । उसले मलाई सम्झिरहेछ ।”

प्रकाश (साँघुरो स्वरमा): “स्मृति, समीप त तिमीको छोरो हो । ऊ त अहिले उपन्यास लेखिरहेको छ, तिमीले अझै पढेको कसरी ?”

स्मृति (कन्फ्यूज भएर): “हो त ? म त... भविष्यबाट फर्केर आएको जस्तो लाग्छ... सायद म पूर्णिमा हुँ... वा पूर्णिमा बन्ने प्रयास गरिरहेकी...”

प्रकाशले एउटा डायरी बनाएका थिए— तस्बिरहरू, उनीहरूले लेखेका चिठीहरू, बालक समीपको पुराना फोटो, पुरानो स्कार्फ जसमा ‘पूर्णिमा’ लेखिएको थियो ।

एक साँझ उनले ती सबै एक एक गर्दै स्मृतिलाई देखाउँदै स्मरण गराउने प्रयास गरे ।

प्रकाशः “हेर्नु त, यो स्कार्फ तिमीले मलाई दिएको थियौ । अनि यो तस्बिर, हामी एउटै चियाघरमा चिया खाँदै गरेका...”

स्मृतिले सबै हेरी, मुस्कुराइन्, आँखा रसाइन्... तर भने— “यी सपना हुन्, होइन ? यी त म होइन, कुनै अर्की नारीको जीवनजस्तै लाग्छ ।”

स्मृतिको संसार अब दुई तहमा बगिरहेको थियो— एउटा वर्तमानको रोगले थलिएको शरीर, अर्को भूत र भविष्यको सीमाहीन यात्रा ।

स्मृति (एउटा साँझ आकाश हेर्दै): “म कहिलेकाहीँ विगतमा फर्किन्छु, कहिले भविष्यमा पुग्छु, तर एक मात्र चीज सधैँ मसँग रहिरहन्छ— जून । जून मेरो नाम हो, मेरो याद हो, अनि सायद मेरो एकमात्र साँचो प्रेम...”

प्रकाशले स्मृतिलाई हात समाएर नयन छचल्काउँदै भने— “त्यो जून त म हुँ... जुन सधैँ तिमीमाथि झुल्किरहन्छ, तिमी जहाँ भए पनि । तिमी जति टाढा भए पनि तिम्रो याद आइरहन्छ ... हा... हा... हा...”

एक रात, उनीहरू झ्यालबाट आकास हेर्दै बसेका बेला स्मृतिले बिस्तारै भने— “प्रकाश...? म तिमीलाई हेरेको छु, होइन ? माया गर्छु भन्थ्यौ, हैन ?”

प्रकाशको आँखा रसाएर चम्कियो । “हो, पूर्णिमा... म तिमीलाई आज पनि त्यत्तिकै माया गर्छु, उस्तै— जस्तो हामी पहिलोपटक जून हेर्दा गरिन्थ्यो ।”

“अन्त्य होइन — समयभन्दा परको प्रेम ।”

स्मृतिको स्मृति कहिल्यै स्थायी रहेन तर कहिले काँही उनी अचानक भनिदिन्थिन्— “प्रकाश... म बिर्सिए पनि, तिमी कहिल्यै हराएको छैनौ, है...”

समय एक रेखा होइन, चक्र हो ।

र त्यो चक्रको केन्द्रमा— उनीहरूको प्रेम अमर रूपमा घुमिरहेको थियो, एक अनन्त जूनझैँ ।

बगैँचाको आकाश फेरि एकपटक गाढा सुन्तलाजस्तो राताम्य थियो ।

कागतीको बोटबाट झरिरहेका पातहरू हावासँग सुसाउँदै नाचिरहेका थिए । जून आकाशको एक कुनामा मुस्कुराउँदै थियो— शान्त र न्यानो ।

स्मृति र प्रकाश, दुई बुढा प्रेमीहरू, लहरमा बसेका थिए, एक अर्काको साथ खोज्दै, चुपचाप ।

अब प्रकाश पनि अलि स्वस्थ्य थिएन ।

उसको अनुहार चाउरिएको थियो, आँखाको कोरामा गहिरो थकान झल्किरहेको थियो ।

रक्तचाप, मधुमेह र कोलेस्टेरोलको नियमित औषधि सेवन गर्दै उनी स्मृतिसँग बसेर कहिल्यै नथाक्ने जस्तो लाग्ने प्रयास गरिरहन्थे ।

प्रकाश (मिहीन स्वरमा): “तिमी पेन्टिङ गर्थ्यौ... याद छ ? त्यो सानो चित्र, जुन तिमीले सिन्दुर र सुन्तलाको रङ मिसाएर बनाएको थियौ... त्यो अझै मेरो कोठामा छ । हेर्छयौ ? म अहिल्यै ल्याउँछु ।”

स्मृति (फरक्क फर्केर): “तपाईं... मलाई फेरि सम्झाउने कोसिस गर्दै हुनुहुन्छ, है ? म त यस्तो पेन्टिङ वेन्टिङ... सम्झिँन्नँ ।”

दिनदिनै, प्रकाशले केही न केही नयाँ कुरा सुनाउँथे— बुट्टाको कपडामा बनाएको डिजाइन, उनीहरूले घाम ताप्दै पढेको उपन्यास, अनि त्यो लुकेको प्रेमपत्र जुन उनले “पूर्णिमा” नामले पठाएका थिए ।

तर स्मृति कहिल्यै टसको मस हुन्नथिन् ।

उनको अनुहारमा शून्यता, आवाजमा कुनै भावावेश थिएन ।

त्यो साँझ, जुन आकाश ढकमक्क रातो थियो—

जून चन्द्रमाको आकारमा टल्किरहेको थियो ।

प्रकाश केही बेर चुप लागेपछि बोले—

“ए पूर्णिमे !!!”

त्यो वाक्य, त्यो उच्चारण...

स्मृतिको शरीर झङ्कृत भयो । रौँ ठाडाठाडा भए । लोमहर्षणयुक्त झसंग भयो ।

उनको आँखा अचानक बिथोलिए, हेराइ टाढातिर गयो—

उनको अनुहारमा चिन्न नसकेको एउटा प्राचीन हर्ष झल्कियो ।

स्मृति (लरबराउँदै): “पूर्णिमा...? त्यो त म थिएँ... जब तिमी मलाई हेरेर भन्थ्यौ— ‘तिमी बिना त आकाश पनि अधुरो लाग्छ ।’”

प्रकाशको आँखाबाट आँसुको सरिता झ¥यो ।

“हो, तिमी नै थियौ, तिमी नै हौ... म तिमीलाई सधैँ त्यही नामले बोलाउँछु— पूर्णिमे ।”

स्मृति उठिन्, लरबराउँदै । “फेरि त्यसरी नै भन न ।”

“पूर्णिमे ! पूर्णिमे ! ! पूर्णिमे ! ! !”

उनले प्रकाशको हात समाइन् ।

“तिमी प्रकाश हौ... मेरा सम्झनाका उज्याला किरण । तिमी त कहिल्यै गुमेका थिएनौ, म आफैं हराएकी रहेछु । पूर्णिमेसँग प्रकाशे कहिल्यै टाढा हुँदैन ।”

उनीहरू धेरै बेरसम्म एकअर्काको अङ्गालोमा बेरिए—

त्यो अङ्गालो केवल शरीरको थिएन, त्यो दुई आत्माको पुनर्मिलन थियो, जुन लामो समयपछि पुनर्जन्म भएको थियो ।

त्यो दिनपछि स्मृतिको अवस्था चमत्कारिक रूपमा सुध्रिन थाल्यो ।

उनको स्मृति विस्तारै फर्किन थाल्यो, डाक्टरहरू पनि अचम्ममा परे ।

डाक्टर (चिन्तित हुँदै): “मेडिकल हिसाबले यो सम्भव छैन... तर कहिलेकाहीँ भावनात्मक ट्रिगरले स्मृतिमा आश्चर्यजनक असर पार्दो रहेछ ।”

स्मृति अब फेरि चित्र बनाउँथिन्, प्रकाशलाई बगैँचामा चिया लिएर बोलाउँथिन् ।

स्मृति (हास्दै): “ए प्रकाश... आज तिमीलाई सुन्तलाको रंग चाहिन्छ, कि सिन्दुरको ?”

प्रकाश (झट्ट हाँसेर): “मलाई त तिमी चाहिन्छ, पूर्णिमा ।”

“पूर्णिमा होइन पूर्णिमे ! ! !” ”

“पूर्णिमे ! पूर्णिमे ! ! पूर्णिमे ! ! !”

आकाश फेरि झिल्किरहेको थियो ।

जून फेरि माथि उडिरहेको थियो ।

र समय, अहिले उनीहरूका लागि कुनै बाधा थिएन— किनकि प्रेम, अब शुद्ध थियो, स्मरणयुक्त थियो, र कहिल्यै नटुट्ने स्वर्गको ।

बिहानको सिमसिमे घाम पहाडको काखबाट ओर्लिरहेको थियो ।

पंक्षीहरू बिस्तारै बिउँझिँदै थिए ।

कुहिरोबाट टल्किएको जून किरणहरू आज अझै उज्यालो झल्काइरहेको थियो—

समीपको आँखामा ।

एक साँझ, पुराना तस्बिरहरू, आमाको चिट्ठी, र बुबाको कागजातहरू पल्टाउँदै गर्दा समीपले केही यस्ता प्रमाणहरू भेट्टायो जसले उसको जीवनको कल्पनाभन्दा गहिरो साँचो बाहिर ल्याएको थियो ।

टुँडिखेलमा गाइने दाइले सुद्ध सबैलाई गीताङ्की तालमा लठ्ठ्याउँदै मान्छेको विशाल वृत्तीय भीडको बीचमा सुरीलो तीखो स्वरले सबै स्रोतालाई लोमहर्षित पार्दै थिए

खारेज... खारेज ... खारेज... मुद्दा खारेज...

समीप (मनमा): “म त केवल समीप डाक्टरको छोरा होइन रहेछु, म त ती दुःख र प्रेमको साक्षी प्रेमकथा ‘स्मृति र प्रकाश’को सन्तान रहेछु !”...

ऊ उसै रात आफ्नो डायरी खोल्छ, कलम उठाउँछ, र लेख्न थाल्छ—...

“पूर्णिमाः एक नाम, एक प्रेम, एक जीवन ।”...

तीन महिनामा समीपले आफ्नो उपन्यास तयार गर्छ—...

“पूर्णिमाः एक विलुप्त प्रेमकथा”...

कथा केवल पात्रको भोगाइ थिएन,...

त्यो सत्य थियो— सजीव, संवेदनशील, क्रान्तिकारी ।...

उपन्यास माधवद्वारा सञ्चालित “संस्थापन प्रकाशन गृह” मार्फत बजारमा आउँछ ।...

देशैभर किताब स्टोरमा भीड लाग्छ ।...

लामहरू टोलटोलमा, अनलाइन समीक्षाहरूमा आँसु र प्रशंसा मिसिएका वाक्यहरू छरिएका हुन्छन् ।...

तर उपन्यासमा उल्लेख गरिएका केही घटनाहरू—...

समाजले ढाकेको, शक्तिशाली परिवारहरूले गुप्त राख्न खोजेको साँचो—...

उनीहरूलाई चिर्छ ।...

मुद्दा दर्ता हुन्छ ।...

प्रकाशक, लेखक, र प्रकाशन गृह विरुद्ध ।...

अदालतमा सुनुवाइ हुन्छ ।...

छ दिनसम्मको सुनुवाइ काठमाडौं जिल्ला अदालतमा हुन्छ ।...

पत्रकार, लेखक, पाठकहरू अदालतबाहिर भीडमा ।...

मञ्चमा न्यायाधीश, उजुरीकर्ताको वकिल, र माधव तथा समीपको तर्फबाट तेज वकिल ।...

वकिल (संस्थापनको तर्फबाट): “श्रीमान्, यो उपन्यास कुनै झूट होइन ।...

यो आत्मसत्य हो— पीडामा जन्मिएको, प्रेममा बाँचिएको र आशामा बाँधिएको कथा हो ।...

लेखकले आफ्ना आमाबुवाको जीवन लेखेका छन् । कानुनी रूपमा त्यो उनको अधिकार हो ।”...

न्यायाधीशः “दुवै पक्षका तर्कहरू सुनेर, प्रमाणहरू मूल्याङ्कन गरेर, अदालत निष्कर्षमा पुग्दछ—...

यो उपन्यासले कुनै पनि व्यक्तिको अपमान होइन, सत्यको उजागर गरेको हो । मुद्दा खारेज... ।”...

खारेज... खारेज ... खारेज... मुद्दा खारेज...

जब गाइने दाइ सबैलाई प्रेमले गाएरै भावनामा सबै दर्शकलाई रुवाएर जान्छन् तत्कालै पत्रकार (समीपलाई): “तपाईंको प्रतिक्रिया के छ ? तपाईंले एकैचोटि देश हल्लाइदिएको किताब लेख्नुभयो ।”....

समीप (धेरै शान्त स्वरमा): “म त केवल साक्षी हुँ, लेखक होइन । यी त बुबाआमाको शब्दहरू थिए, मैले त केवल कागजमा उतारेँ ।”

प्रकाश र स्मृति अब पनि बगैँचामा सँगै बसिरहेका थिए ।

उनीहरूले समीपको किताब हातमा समातेर सधैँ पढिरहेका हुन्थे ।

स्मृति (आँखाभित्र आँसु झल्किँदै): “हेर न प्रकाश... हाम्रो कथा संसारले पढ्यो । अब हामी कुनै सम्झनामा सीमित छैनौँ । हामी इतिहास भएका छौँ ।”

प्रकाश (नम्र मुस्कानसहित): “र पूर्णिमा, यो संसारले जुन प्रेम बिर्सन खोज्यो, त्यो अब कहिल्यै हराउने छैन ।”

त्यही साँझ जून फेरि मुस्कुराइरहेको थियो ।

सम्बन्धहरू अब केवल जीवनका पाना थिएनन्—

अब त उनीहरू किताबका अक्षर बनेका थिए—

अमिट, अटल, अमर ।

फागुनको हल्का हावासँगै गुलाफका फूलहरू मन्द बगैंचामा हल्लिँदै थिए ।

आकाश न नीलो थियो, न त धमिलो—

कुनै पुरानो प्रेमकथा सुनिएको बेला जस्तो न्यानो, धुलोमय उदासी फैलिएको थियो ।

यही मौसमी उज्यालोको मधुरतामा समीप एउटा काठको कुर्सीमा बसेर आफ्नै किताबको चौथो संस्करण पल्टाइरहेको थियो ।

समीपले लेखेको उपन्यास “पूर्णिमाः एक विलुप्त प्रेमकथा” ३० लाख प्रति बिक्री भइसकेको थियो ।

शिक्षित युवावर्गदेखि वृद्ध पाठकसम्म यो कथाले छुन सकेको थियो तर, त्यससँगै आलोचना पनि चर्किएको थियो ।

उपन्यासमा प्रेमको वर्णन केवल आत्मा र भावना सँग मात्र सीमित थिएन,

त्यो प्रेम शरीर र मस्तिष्कको घनिष्ट सम्वादको चित्रण थियो ।

उपन्यासको एक अंश यस्तो थियोः “जब स्मृतिको आँखा प्रकाशको आँखामा अडिन्छ, त्यो आँखा केवल आकर्षण थिएन, त्यो त स्पर्श चाहिएको चेतनाको संकेत थियो । र जब उनीहरूले एकअर्कालाई अँगालो हाल्छन्, त्यो अँगालो कुनै दृश्यहीन कविता थिएन—

त्यो प्रेमको शरीरसम्म ओर्लिएको प्रमाण थियो ।”

पत्रकारः “तपाईंले यो किताबमा प्रेमलाई यति स्पष्ट रूपले शारीरिक र मानसिक दुवै तहमा के कारण लेख्नुभयो ?”

समीपः “किनभने प्रेम भनेको केवल मस्तिष्कको रसायन मात्र होइन, शरीरको चेतनासँग सम्वाद गर्ने प्रक्रिया पनि हो ।”

स्मृति र प्रकाशको सम्बन्ध एउटा समाजले बनाएको वर्गीय भित्तालाई चिरेर उत्पन्न भएको थियो—

त्यसमा उनीहरूको आत्मा र शरीर दुवैले आफ्नो साक्ष्य राखेका थिए ।”

संस्थापन प्रकाशन र प्रकाशक माधवमाथि मुद्दा लगाउने मुख्य कारण यही थियो—

कम आर्थिक वर्गकी महिला र उच्च वर्गका पुरुषबीचको शारीरिक सम्बन्ध खुलस्त वर्णन गर्नु ।

कथाले समाजको वर्गीय चिन्तनमा प्रहार ग¥यो ।

विरोधी पक्षको वकिल अदालतमा बोलेका थिएः

“यो पुस्तकले अश्लीलता बढाएको छ, सामाजिक मर्यादामा आघात पु¥याएको छ !”

तर...

समीपका वकिलले दृढतापूर्वक जवाफ दिएका थिएः “शरीरको उल्लेख अश्लीलता होइन । शरीरको उपस्थिति प्रेमको स्वाभाविक आयाम हो । यो किताब प्रेमको सम्पूर्णता दर्शाउन चाहन्छ—

जहाँ आत्मा, मन र शरीर सबै बराबरी सहभागी छन् ।”

अदालतको पक्षमा फैसला भएपछि किताब झन् चर्चामा आयो ।

पाठकहरूका टिप्पणीहरूः

“यो किताब पढ्दा आँसु आउँछ, तर लाज होइन । कलात्मकताले प्रेमलाई अझ शुद्ध बनाएको छ । सबै ध्यान प्रेमतिरमात्रै जान्छ । स्पीचलेस कमेन्ट ।”

“कसैले यति स्पष्ट, यति संवेदनशील तरिकाले प्रेम लेख्न सक्छ भन्ने विश्वासै लाग्दैन ।”

विदेशी साहित्यिक समीक्षकहरूले लेखेः

“This is not just a love story= It is a defiance of social boundaries through emotional and physical intimacy.”

उनीहरू अहिले पनि गाउँनजिकैको डाँडामा बिहानको चिया सँगै पिउँछन् ।

किताब हातमा लिई स्मृति मुस्कुराउँछिन् ।

स्मृतिः “समीपले हाम्रो कथा संसारसामु राख्यो, तर हामीलाई लाज लाग्दैन, प्रकाश ?”

प्रकाश (सुनौलो मुस्कानसहित): “हाम्रो प्रेम लाज होइन, हाम्रो प्रेम दीव्यशक्ति हो, पूर्णिमा ।”

सूर्य अस्ताउँदै थियो, डाँडाको पछाडि रातो र सुनौलो रंग मिसिँदै थियो ।

त्यही सुनौलो झझल्कोमा समीपको किताबको सुनौलो अक्षरहरू चम्किरहेका थिए—

“प्रेम— जब मस्तिष्क र शरीर एउटै भाषामा बोल्छन् ।”

.................................................................................................................................

वि.सं. २०९७ — २ हजार वर्षपछिको विक्रम संवतको जीवनको एउटा संक्रान्तिकाल । समीप २५ वर्षको भर्खरको युवक, उसका दुई असाध्यै मिल्ने साथी— डेल्टा, अक्की र क्रिस । तिनै चारको मित्रता थियो असल मौसमजस्तै, जब सूर्य लाग्छ, बादल हराउँछन्, र चिया अघिल्तिर थकाइ फेर्ने ठाउँ हुन्छ ।

क्रिस र डेल्टाको सम्बन्ध गहिरो थियो । समीप तिनैको सान्निध्यमा मात्र बस्दा पनि आत्मीय अनुभूति गर्थ्यो । उसले कहिल्यै मागेन, केवल दिन्थ्यो—साथ, समर्पण र मुस्कान ।

तर क्रिसको २५औँ जन्मदिनपछि घटना बदलिन्छ ।

फूलबारीमा पहेँलो चम्पा झरेको थियो, हावाले ल्याएको स्पर्श सुनसान थियो । त्यो रात, डेल्टासँग भएको एक सामान्य मनमुटावले क्रिसको मन चिसो भयो र... अत्यधिक मदिरा सेवनपछि उसले आत्महत्या ग¥यो ।

डेल्टा (क्रिसको फोटो अघिल्तिर): “तँ किन गइस् क्रिस ? म तेरो बाँचाइको कारण बन्न चाहन्थेँ, मृत्युको होइन ।”

समीप (टाढाबाट उसको पीडामा): “क्रिस मसँग थियो भने म उसलाई रोक्थेँ... म उसलाई सम्झाउँथे... तर उसले मलाई साथीसम्म पनि ठानेन सायद ।”

क्रिसको मृत्युपछि डेल्टा जीवनको प्रत्येक कोठामा मृत्युको गन्ध खोजिरहन्छे । समीप आफ्नै अस्तित्त्व गुमाएको महसुस गर्छ । उनी सँगै बस्न थाल्छन्, तर कहिल्यै प्रष्ट हुँदैनन् । न त प्रेम भन्ने शब्द उचारिन्छ, न त तृप्त शान्ति ।

समीपको २५औँ जन्मदिनको रात उनीहरूको शारीरिक सम्बन्ध हुन्छ र त्यसपछि डेल्टा चुपचाप चिठी लेखी हराउँछेः “मलाई केही समय चाहिएको छ । आफैंलाई भेट्न, आफूलाई बाँच्न । तिमी राम्रो छौ समीप, तर म अधूरो छु ।”

डेल्टाको अनुपस्थितिमा समीप नगिचासँग घुलमिल हुन्छ । नगिचा बुझ्थी समीपको गहिराइ, तर सम्बन्ध लामो तानिँदैन । समीप फेरि एक्लिन्छ ।

र एकदिन,

“समीपले आत्महत्या गरे” — समाचार आयो ।

डेल्टा फर्किइन् । भावनाले उनलाई चिच्याउने मौका पनि दिएको थिएन । यही बेला अक्की, जो सँधै चुप थियो, बोल्न थाल्यो ।

अक्कीः “म तिमीलाई सालौंदेखि मन पराउँछु डेल्टा । समीप गयो... तर म चाहन्छु तिमी बाँच्छौ । म चाहन्छु तिमी जानौँ— तिमी सधैं प्रिय थियौ ।”

डेल्टा (शून्य टोलाइमा): “तँ किन बोलेनस् पहिल्यै अक्की ? म तेरो सामिप्यमा सुरक्षित महसुस गर्थेँ... समीपका लागि म सधैँ अधूरी थिएँ । तैपनि हामी दुई कहिल्यै...”

उमेर ५५ पुग्दासम्म उनीहरूले भावना साटिरहे, तर प्रेम एकाकार हुन सकेको थिएन । यही बेला डेल्टाको हातमा पर्यो, समीपले आत्महत्या गर्नुअघि दिएको पाण्डुलिपिको डिजिटल पिडिएफप्रति जुन उसले चारैजनाको मोबाइलमा पठाएको थियो—

“डेल्टा र अक्कीको असीमित प्रेम” बल्ल उनीहरु दुबैले तत्कालै सबै पढे । तब उनीहरुको अर्कै रङ्ग भयो सम्पुर्ण पाप पखालिएसरि ।

त्यहीबेला मुद्दा जितेका संस्थापनका प्रकाशक माधवमार्फत त्यो उपन्यास प्रकाशित हुन्छ । भाइरल हुन्छ । समीपको आत्माले सायद त्यही चाहेको थियो— डेल्टाले अक्कीलाई बुझोस् ।

उपन्यासको अंश “जीवनले कहिल्यै तिमीलाई पर्खिँदैन, तर तिमीले कहिलेकाहीँ कसैको उपस्थितिलाई सुस्तरी बुझ्ने मौका पाउँछौ— त्यो नै प्रेम हो ।”

डेल्टा र अक्कीलाई समीपले अन्ततः एकअर्कालाई बुझ्ने सेतु बनाइदिन्छ । प्रेमले उनीहरूलाई बाँध्दैन, तर स्वतन्त्र बनाउँछ । समीप, अन्ततः, उनीहरूबीच एक गहिरो भावनाको रुपमा जीवित रहन्छ । सधैँ समीप रहिरहन्छ ।

साँचो प्रेम समय, दूरी, रोग र मृत्युसम्मपारि बाँच्छ—तर त्यो प्रेम केवल सम्झनाले होइन, आत्मस्वीकृति र गहिरो समझदारीले मात्र पूर्णता पाउँछ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।