महाकाव्यकार केशवराज आमोदीको मत्स्यगन्धा महाकाव्य ( २०८१ ) महाकाव्यीय सिद्धान्तअनुरूप आएको छ । मङ्गलाचरणमा मालाधर,पृथ्वी र अद्रितनया जस्ता सुन्दर छन्दले लयबद्ध गरिएको छ । महाकाव्यको प्रथम सर्गमा प्रजापतिको आमन्त्रणमा विशाल देवसभाको वर्ण गरिएको छ भने गङ्गाको सौन्दर्य वर्णन, शृङ्गार रसले भरिपूर्ण छ । त्यसै मध्यको एउटा श्लोकको नमुना प्रस्तुत छ ।
कालो बादल हो कि केश शिरको हो काम लुक्ने वन !
इन्द्रेणीमय हार हो कि भृकुटी हो बैँसको तोरन!
बास्नादार छ पुष्प हो कि तनको माधुर्यको चन्दन
हो वा यो कि त किङ्किणी जघनको तारुण्यको बन्धन ।१/३५
द्वितीय सर्गमा कुरुवंशीय प्रतीपको राज्यव्यवस्था र शन्तनुको जन्म , दुष्यन्त-पुत्र भरतको प्रसिद्धिको वर्णन गरिएको छ । तृतीय सर्गमा प्राचीन चेदि राज्य, जुन वर्तमान तनहुँ जिल्लाकाे चुँदी भएको तथ्यसहित मत्स्यगन्धाको जन्म चर्चा गरिएको छ । चेदि नरेश उपरिचर र गिरिकाको प्रेम प्रसङ्को सुन्दर वर्णनका साथ सोही सर्गमा चेदि नरेशले बाजमार्फत गिरिकालाई पठाएको वीर्य , मादी नदीमा खस्दा माछीको रूपमा श्राप भोगिरहेकी अद्रिका नामकी स्वर्गकी अप्सराले निलेकी र पछि माझीले जालमा पारेर चिरी हेर्दा पुत्र पुत्रीहरू प्राप्त हुन्छन् । चतुर्थ सर्गमा शन्तनु र गङ्गाको विवाह र उनीहरू बीचको प्रेमानुरागको सुन्दर वर्णन गरिएको छ । शन्तनुको प्रणय निवेदनमा शृङ्गाररस र विविध छन्दको प्रयोगले काव्य रमणीय बनेको छ । यसैगरी पञ्चम सर्गमा राजारानीको विवाहोत्सवमा नाच गान र गजल महफिलका प्रसङ्गलाई काव्यकारले महाकाव्यमा नवीन प्रयोगको झाँकी उतारेका छन् । यसले महाकाव्यमा थप प्राण सञ्चार भएको पाइन्छ ।
षष्ठ सर्गमा गङ्गाले शन्तनुलाई सुनाएका पूर्वकथा, वशिष्ठ ऋषिको आश्रमको वर्णन , नन्दिनीको अपहरणको उल्लेख गरिएको छ । सप्तम सर्गमा माझी गाउँमा महर्षि पराशरको प्रवेश र माझीले छोरी मत्स्यगन्धालाई नदी तारिदिन पठाएका , पराशर मत्स्यगन्धाको सौन्दर्यबाट आसक्त भएका र मत्स्यगन्धाले आफू कुमारित्व गुमाउन नचाहनु र गन्धवती हुँदाको पीडालाई मार्मिक ढङ्गले प्रकट गरेकी छन् ।
यसैगरी पराशर र मत्स्यगन्धाको प्रणय वार्ताले सजाइएको अष्टम सर्गमा प्रकृति वर्णन सहित गरिएको शृङ्गार रसयुक्त वार्ता र मत्स्यगन्धाले आफ्नो रूपरङ र आर्य अनार्यको भेदका विषयमा व्यक्त गरेको पीडा साच्चै दिल छुने खालको छ ।महाकाव्यकारले सर्गान्तमा मालिनी छन्दको प्रयोग गर्दै अष्टम सर्ग सहित पूर्वभागको अन्त्य गरेका छन् । महाकाव्यमा नवम सर्गबाट उत्तर भागको आरम्भ हुन्छ । यसपछि शन्तनु ,गङ्गाको स्मृतिमा हराउँछन् । कविले यसै सर्गमा सर्वाधिक अक्षर भएको ३४ अक्षरको त्रिभङ्गी छन्दको प्रयोग गरेर प्रसङ्गलाई अघि बढाउँदै पञ्चचामर छन्दमा मुरजबन्धको प्रयोग गरेका छन् ।
शन्तनुको कर्म यात्रा वर्णन भएको दशम सर्गमा विभु छन्द मार्फत चक्रबन्धको सुन्दर प्रयोगको रसपान यसै सर्गमा गर्न पाइन्छ भने यता एकादश सर्गमा हस्तिनापुरमा देवव्रतको स्वागत , विविध छन्दद्वारा वर्षा ऋतुको वर्णन गरिएको छ । द्वादश सर्गमा, उद्विग्न भएका शन्तनुले देवव्रतलाई राज्यको रेखदेख गर्ने भार सुम्पिएका कुरा छन् । राजा स्वयं माझीसँग मत्स्यगन्धा माग्न गएको सुन्दर प्रसङ्ग छ । त्रयोदश सर्गमा मनोद्वेगको चक्रवातमा परेका शन्तनु र मत्स्यगन्धाको मनोदसा प्रस्तुत गरिएको छ । यसै सर्गमा दुईवटा चापबन्ध, खड्गबन्ध, मुसलबन्ध, वाणबन्ध , गोमुत्रिकाबन्ध, हलबन्ध , शक्तिबन्ध जस्ता सुन्दर र आकर्षक प्रहेलिकाले सजिएका बन्धचित्रहरू समावेश गरिएका छन् । चतुर्दश सर्गमा गङ्गापुत्र देवव्रतद्वारा गरिएको भीष्म प्रतिज्ञाको प्रसङ्ग उल्लेख गरिएको छ । हस्तिनापुरको उत्तराधिकारीको प्रसङ्गले प्रस्तुत सर्गमा देवव्रत र शन्तनुको वार्ता निकै बेजोडसँग प्रस्तुत गरिएको छ । शन्तनुले आफूँ मतिभ्रष्ट भएर गल्ती गरेको र आफूलाई धिक्कार्दै अभिव्यक्तिएका श्लोकहरूलाई महाकाव्यमा सर्वाधिक सुन्दर श्लोकका रूपमा लिन सकिन्छ । जुन यस प्रकार छ ।
धिक् तेरो चिर याचना प्रणयको काँचो मनोभाव धिक्
धिक् आदर्श विवेक ज्ञान गरिमा अन्तर्यको मर्म धिक्
धिक् प्रज्ञामय योग शान्ति तपको कर्तव्य भुल्ने तँ धिक्
धिक् कामान्ध विचारशून्य नृप हे वाराङ्गना लिप्त धिक् १४/११
निषाद नगरीमा कृष्ण द्वैपायन व्यास पुगेर माता सत्यवतीको पुकार गरेको प्रसङ्ग पञ्चदश सर्गमा गरिएको छ भने व्यासले आफू दमौली स्थित गुफामा बस्ने प्रसङ्ग पनि यसै सर्गमा पढ्न पाइन्छ । यस सर्गमा पद्मबन्धद्वारा अर्को सुन्दर र रोचक बन्धचित्र कविता प्रस्तुत गरिएको छ ।
षोडश सर्गमा विवाह वर्णन, जल विहार र नौका विहारको वर्णन छ । यसै सर्गमा खड्गबन्ध र चक्रबन्ध जस्ता सुन्दर बन्धचित्र पनि समावेश छन् । अन्तमा चित्रवीर्य र विचित्रवीर्य जन्मको प्रसङ्ग, शन्तनुको देहावसान र सत्यवतीको विलाप वर्णनसहित वियोगान्त कथाद्वारा महाकाव्यको उत्तरखण्ड सहित सम्पूर्ण महाकाव्यको यही सप्तदश सर्गबाट समापन गरिएको छ । महाकाव्यमा सर्गान्तका श्लोकले विशेष महत्व राख्दछन् । त्यसैले यहाँ द्वितीय , चतुर्थ सर्गमा इन्द्रबज्रा र पञ्चदशसर्गमा वसन्ततिलका र अन्य सबै सर्गमा मालिनी छन्दको प्रयोगले सर्ग समापन गरिएको छ ।
महाकाव्य भनेको लामो तर प्रतिबद्ध र वस्तुनिष्ठ कथा हो । महाकाव्य लाक्षणिक काव्यात्मक शैलीले भरिएको हुनुपर्छ । महाकाव्यको प्रकृति यसको भव्यतामामात्र निहित हुँदैन, यसको विषयवस्तु पनि उत्तिकै भव्य हुनुपर्छ । यसको विशेष गुण भनेको विशालता र भव्यता हो । यस मानेमा “मत्स्यगन्धा" महाकाव्य, परीक्षामा निकै शक्तिशाली बनेर उभिएको छ । प्रस्तुत महाकाव्यमा कविले महाकाव्यको सिद्धान्त र मर्मलाई अक्षरश: पालना गरेका छन् । महाकाव्यको मूलतत्त्वका रूपमा कथावस्तु, चरित्र, विचारतत्त्व र भाषालाई मानिन्छ । यी चारवटै तत्त्वलाई मध्यनजर गर्दा प्रस्तुत महाकाव्य मत्स्यगन्धा, उत्कृष्ट, सुन्दर र कालजयी महाकाव्य बनेको छ । महाकाव्यमा मुख्य कथा र प्रासङ्गिक कथाका माध्यमबाट युगको समस्या र प्रश्नको गहिरो चिन्तन पाइन्छ । अधिकांश पाठकले अपेक्षा गरेका हुन्छन् , महाकाव्यमा सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक स्थितिको चित्रण गरिएको होस् , पाठकहरूको यो चाहनालाई प्रस्तुत महाकाव्य मत्स्यगन्धाले सहजै पूरा गरिदिएको छ ।
अलङ्कार, काव्यको जीवन तथा आत्मा हो । महाकविले महाकाव्यमा अत्यन्त सुन्दर ढङ्गले अलङ्कारको प्रयोग गरेका छन् । प्रस्तुत महाकाव्य मत्स्यगन्धामा सरल भाव र स्वत: प्रवर्तित प्रवाह छ । समग्रमा महाकाव्य अमूल्य रत्न बनेको छ । पठनीय र सङ्ग्रहणीय बनेको छ । महाकाव्यकार केशवराज आमोदीलाई हार्दिक बधाई ।
चितवन