(हाँस्यव्यङ्ग्य कविता)
मात्र एउटा मुख छ साथी,
यसमा बिर्को लाउने गरी खाऔँ ।
खानेकुरामा कन्जुस पटक्कै होइन है
दिनको ५० लाख मात्र किन ?
५० करोड रुपैया लिनु,
बरु अलिकति– चियोचर्चो गर्ने
आसेपासेलाई दिनु ।।
मिलेर खाएपछि
यसको विष कसैलाई लाग्दै–लाग्दैन ।
सबै पदको विशिष्ट पहिचान
खाने नै भएपछि,
जसले धेरै कमाउँछ उनै
ज्यूँदै स्वर्ग जाने भएपछि
रत्तिभर डर भन्ने कुरो मान्दै नमानि
असल नेता बन्नको लागि खानु ।
इमान्दार कर्मचारी भन्नको लागि खानु
उत्कृष्ट व्यापारी हुनको लागि खानु ।
सुशासनले एमराजको बुई चढिसक्यो
पदशासनको गरिमा बढाउन खानु ।
मन्त्री बनेर खानु, सचिव बनेर खानु
प्रमुख अड्डाको प्रमुख बनेर खानु ।
अन्यायलाई बेच्न सक्ने –नामी बनेर खानु ।
सबैलाई भागबिलो लगाउने–दानी बनेर खानु ।।
सबैले मिलेर खाएपछि,
खाद्य पदार्थ मात्र होइन ।
३३ क्विन्टल सुन पच्छ ।
दुर्गममा कहिल्यै नपुग्ने
चामल र नुन पच्छ
पचास लाख पच्छ
सत्तरी करोड पच्छ
भूकम्पको–त्रिपाल काण्ड पच्छ ।
तराइको साइकल काण्ड पच्छ
वाइडबडी पच्छ,
बालुवाटार र सिँहदरबार पच्छ ।।
यति र ओम्नी मात्र होइन साथी ्
सबैको घुम्ने कुर्ची पच्छ ।
लाजशरम पच्छ,
इमानजमान अनि
नैतिकता र सदाचार पच्छ ।
सबै काण्ड र सबै आन्दोलन पच्छ ।।
सबै मिलेर खाएपछि,
सबै दल र वादको विवाद मिल्छ ।
मरेको भोलिपल्ट सम्म
रिटायर्स हुन पर्दै–पर्दैन ।
१२ रेक्टरको भूकम्पले समेत
आफ्नो पदमानलाई हल्लाउन सक्दैन ।
कात्रो भित्र समेत सयौँ गोजी
सिलाउन पाइन्छ,
नर्कमै भए तापनि
संवैधानिक निकायको प्रमुख पद
मिलाउन पाइन्छ ।
त्यसैले आउनुहोस् साथी
एनि हाऊ सबै मिलेर खाऔँ ।।
काठमाडौँ, नेपाल