नेपाली उखानहरूमध्येको एउटा उखान निकै प्रचलित छ । त्यो उखान हो– ‘कहिले सासूको पालो, कहिले बुहारीको पालो’ । यो उखानलाई साक्षी राख्नु हो भने पालो पर्खन मात्र सक्नु पर्छ, पालो कसै न कसैको एक न एक दिन आफैं फर्कन्छ । पालो फर्किएको हाम्रा आँखैले पनि देख्तै आएका छन् । कुनै जमाना थिए सासूका, जो प्रचण्ड ताप भएकी ताडकाको रूपमा बुहारीहरूमाथि गड्गडाएर बर्सन्थे । उनीहरूले बर्सिएर थुरिने ठाउँहरू भनेका बुहारीहरू हुन्थे । पछि तिनै सासूहरू बुहारी हुन आइपुग्थे । अनि बुहारी भएपछि तिनका आफ्ना बुहारीहरूमाथि समेत उसै गरी खनिन्थे । माथिका उखानको सार सके त्यही हुुनुपर्छ । बार वर्षपछि खोलो पनि फर्कन्छ भन्छन् । सासू बुहारीको पालो पैंचोको कुरालाई साक्षी मान्नु हो भने खोलो फर्किंदो नै रहेछ भन्नुपर्छ । पालो पनि फेरिन्छ भन्छन् । पालै ता हो । त्यो पनि किन नफेरियोस् त ! कहिले सासूको पालो हुन्छ कहिले बुहारीको पालो हुन्छ । पालोको क्रम चक्रझैं घुमिरहन्छ । कहिले सासूको, कहिले बुहारीको, कहिले सालीको त कहिले भिनाजुको पनि पालो थियो । अचेल ती भूतपूर्व बुहारीहरू जो भूत कालमा बुहारी भइसकेर वर्तमानमा सासू भएका हुन्छन् तिनको पालो फर्किएको छ । हिजोसम्म सासूका अराइपराइ र खटनीमटनीमा जीवन कटनी गरेका बुहारीहरूलाई जिउँदै डढाएर, मटितेल खन्याएर, आगो झोसेर वा बिख खुवाएर भए पनि आफ्नो सासू जातीय पुरुषार्थलाई उनीहरूले अक्षुण्णताका रूपमा कताकता कायम राखेकै थिए । अहिले पनि त्यही धङ्धङी रहेका सासू जातिहरू उही पुरुषार्थ कायम राख्नमा धामा गरिरहेका छन् । कुरा कति फरक छ भने अहिले बुहारी सासूको उक्त उखानको तराजु बुहरीतर्फ ढल्केको छ । सासूतिर केही कमजोर मात्रै भएको छ । बखान्नु हो भने यो सासूबुहारीको एउटा ठुलो पुराण पनि हुन सक्ला । तर यो त कुरा उठाउनको निमित्त आएको एउटा सन्दर्भ मात्र हो । यसको मूल सन्दर्भ र मुद्दा ता अर्कै छ ।
मेरो मूल मुद्दा सासूबुहारी, सम्धीसम्धिनी वा सालीभेनासँग बेरिएका छैन ज्वाइँ साहेबतिर मात्र घेरिएको छ । कुरा सासू बुहारीको पालो पंैचोसँगबाट उठान भएको भए पनि यहाँ ज्वाइँ परियको पक्ष नै प्रबल छ । यसलाई म पुराणै ता अवश्य नै भन्दिनँ । हुन त धेरैजसो पुराण ता पहिल्यै लेखिसकिएका छन् । लेख्ता लेख्ता लिङ्ग पुराणसमेत लेखिसकियो । अनि रहलपहल रहेका, व्यासबाट बचेका पुराणहरूलाई रामकुमार पाँडेले ‘पाँडे पुराण’ धडाधड लेखिरहेका छन् । भैरवले जय भुँडी भनेर ‘भुँडी पुराण’ नै लेखे । सिल्लीले ‘साली पुराण’ लेखे । मैले नपढेर हो वा लेख्न बाँकी नै छ— ‘योनी पुराण’ भने पाइएको छैन । हुनत आजको सम्पूर्ण विश्व नै ‘योनी पुराण’ र ‘पेन्टी फिसोसफी’ मा अडेको छ । लेखियो होला कतै कसैबाट यो पुराण पनि । आजको प्रकाशन र लेखको विस्फोटको युगमा कता कसले के के लेखिसक्छ सबै कुरा पढ्नै भ्याइन्न । अरु अरु के के पुराण लेखिए तिनको कुरा ता के गर्ने !
पुराण भन्नु परिचय हो । बखान हो । अब यसलाई ज्वाइँहरूको बखानबाट अलिकति छोटो परिचय लेख्ने खिप्ती गरेको हुँदा यसलाई पनि ‘ज्वाइँ पुराण’ भने पनि भयो, ‘ज्वाइँ बखान’ भने पनि भयो । खुसी आफ्नै हो जेसुकै भन्नुहोस् ।
‘स्वसुर गृह निवासः स्वर्ग तुल्यो नराणाम् !’ यो निकै पुरानो ससुराली पुराणको हरफ हो । यसको आशय हुन्छ— घरज्वाइँ भई ससुराल बस्ने मान्छेका लागि उसको ससुराली स्वर्गसमान हुन्छ । ससुराली पुराणको यो महिमा उहिलेकै हो । ससुरालीले ज्वाइँ चेलाको रेखदेख गर्ने चलन आजदेखिको होइन । ससुराली प्यारो हुने कुरा महादेवकै पालाको हो । ससुरालीले ज्वाइँको राम्रो रेखदेख गरेन भने ज्वाइँहरूबाट ससुरालीको हालत के हुन्छ भन्ने कुरा महादेवका ससुरा दक्षको इतिहास पढे पुगिहाल्छ । दक्ष प्रजापतिका ज्वाइँ महादेवलाई ससुरा दक्षले भतेर खान निम्ता नदिएको झाेंकमा आफ्नो टाउको नै उडाउनु परेको कथा सबैलाई थाहै होला । यसबाट सिद्ध हुन्छ– ज्वाइँ रिसायो भने सुरालीलाई भारी हानी नोक्सानी पु¥याउन सक्छ । आफ्ना बाबु सरहका ससुराको टाउको काटेर बोकाको टाउको लगाइदिने महादेव जस्ता ज्वाइँ आज कुन्नि कति पाइन्छन् म भन्न सक्तिनँ । टाउकै नकाटे पनि ससुरालीलाई डाँडो कटाउने ज्वाइँहरूको कमी आज पनि छैन । आफ्नी छोरीको मुख हेरेर आजका ससुरालीहरूले ज्वाइँका अघि टुप्पीसम्म ता काट्नै परेको छ । टाउको काट्नु र टुप्पीकाट्नेु वा बिकाउनुमा अर्थतात्विक समानता निश्चय नै छ । हुन त ज्वाइँ पनि सबै एकैनासका नहुँदा हुन् । ज्वाइँ जति बढी कमाउँछ, जति खर्च गर्छ, जति धाकधक्कू लगाउँछ र जति इज्जती र घरघरानाको छ उसका ससुरालीमा उसको मानमनितो पनि उत्तिकै गहकिलो हुन्छ । ससुराली र ज्वाइँ दुबै यो युगमा हेर्नाका हुन्छन् ।
आफ्नी छोरी जस्तोसुकै रूपरङ्गकी भए पनि आफ्नो घरमा सुनको थैलो छ भने ज्वाइँ खोज्न भैलो खेल्दै दैलो दैलो चहार्नै पर्दैन, ऊ आफैं थैलो कसेर भैलो खेल्दै आइपुग्छ दैलो अघि । अनि आफूसँग कौडो छैन भने आफ्नी छोरी जतिसुकै गुणवती र सुन्दरी भए पनि त्यस्ता कन्याका लागि ज्वाइँ खोज्नु भनेको मरुभूमिमा मिर्गले पानी खोज्नु जस्तै हुन सक्छ । मेरै छिमेकी मणिराम मामाको उदाहरण पनि यस सन्दर्भमा उपयुक्त हुन सक्ला । उनले आफ्नो तेस्रो लिङ्गी सन्तानलाई समेत तीन बिघा जग्गा दिएर भने समानको ज्वाइँ पाएका छन् ।
म धेरै थरिका ज्वाइँको कैरन उतारेर बिस्कुन लाउने आँट पनि गर्दिनँ । फेरि ज्वाइँहरूले आँटे भने मेरो तिरिमिरी झ्याइँ देखाइदिन बेर लाउँदैनन् । आखिर म पनि ता एक ज्वाइँ नै हुँ नि ! अन्तर्घाती चरित्र भउको मानेर नेपाल ज्वाइँ संघबाट म निलम्बनमा पर्न बेर लाउँदिनँ । त्यसपछि नेपालीहरका अन्य ज्वाइँ संगठन, ज्वाइँ मञ्च, अखिल नेपाल ज्वाइँ परिषद आदिआदिको ढोका कुरेर सदस्यताका लागि भिक माग्नु पर्ने स्थिति जन्मन सक्छ । मेरो ज्वाइँ वर्गीय चरित्रको मूल्याङ्कन गरेर सदस्यता नदिन पनि सक्लान् अनि घरको न घाटका ज्वाइँ हुने दिन आउन सक्लान् । त्यसैले धेरै खालका ज्वाइँको पुराण लाउने इच्छा पनि यहाँ मैले राखेको छैन ।
अचेलको युगमा ज्वाइँ थरीथरीका र छोरीहरू पनि परीपरीका हुन्छन् । सबै ज्वाइँलाई उत्तिकै मानमनितो गरिरहन पनि सकिन्न । अस्थायी ज्वाइँ, पटके ज्वाइँ, स्थायी ज्वाइँ, आक्कल झुक्कलको ज्वाइँ, बलात्कारी ज्वाइँ, छडुल्लो ज्वाइँ, बेसुल्लो ज्वाइँ, आजीव ज्वाइँ वा अर्काे सातआठ जन्मसम्मका लागि पनि यहींबाट बुक गर्ने ज्वाइँहरूको पौल हेरेर यस साना निबन्धभित्र ज्वाइँको विपुल महिमा अटाउला भन्नेमा मलाई अलिकति पनि विश्वास छैन । ज्वाइँको संसारबाट म लोट्टोमा चिठ्ठा तानिएकै शैलीमा वा हाउजीका गोटीहरू तानिएकै तरिकाले गोलाप्रथाबाट केही ज्वाइँका चरित्र तानिरहेको छु । अनि तिनैको कैरन बखानिरहेको छु ।
लौ गोलामा पर्ने पहिला ज्वाइँ रहेछन् डलरमार्का ज्वाइँ । यस्ता खालका ज्वाइँहरू छोरीका भन्दा पनि डलरका प्यारा हुन्छन् । डाडु भरिका डलर डकार्न पाए यिनलाई पुग्छ । कसका छोरी सड्काउन पाए अमेरिकातिर कुच गर्न सकिन्छ र डलर कमाउन सकिन्छ भन्ने कुमति यस्ता ज्वाइँहरूका मतिमा काठमाडौंका नालीमा फोहोर भरिएकै गतिमा भरिएको हुन्छ । यस्ता ज्वाइँ अमेरिकाकै सपना देख्छन् र यदि उता जाने मौका पाए भने यताकालाई छोडेर उतै पनि डलरका फुल पार्ने डलरचरीको खोजीको सपना देख्न थाल्छन् । यता ससुरालीबाट सुनचरी खोजेर उसैका माध्यमबाट अमेरिका पुगे भने तिनले उता डलर कमाउने चरी खोजेरै जीवन गुजारा गर्छन् । यही यिनको विशेषता हुन्छ ।
नेपालमा अहिले डलरे ज्वाइँको संख्या औधी बढेर गएको छ । डरले ज्वाइँहरू अमेरिका पस्नका लागि उतैका गोराहरूको ज्वाइँ हुन पाए ता तालुमा आलु नै फलेको ठान्छन् । विदेशीको ज्वाइँ हुन नपाए तिनको धर्मपुत्र मात्रै भएर पनि डलर कमाउनै पर्छ भन्दै उतै जान चाहने यी डलरेहरूका मनभरि डलरै डरल हुन्छ । ज्वाइँ हुने सामथ्र्य नछुटे पनि अलिकति गलिसकेका मेरा मामाको यस सन्दर्भमा एउटा गतिलो सिद्धान्त छ— सके आफैं नसके आफ्नै छोरालाई उताको ज्वाइँ बनाउने इच्छा मेरा मनोरथ मामाकाो मनभरि अडिएको छ । अस्ति मसँग भन्दै हुनुहुन्थ्यो—‘भान्जा, म ता अब बूढो भइहालें, अब अर्काेको धोती धरा धुन सक्तिनँ, मेरो छोरोलाई एउटी खैरीले अरु कामको कुरा छाडौं कट्टु धुने कामका लागि भए पनि उता अमेरिकातिर लगे ता यसो अलिकति डलर कमाउँदो हो । यहाँबाट छिर्न ता गारो छ, उता गएपछि ता के छ त्यही गोरीलाई अँठ्यायो, त्यसैलाई सुम्सुम्यायो । गोरागोरीहरू यति चाँडै पघ्रन्छन् कि के भन्नु ? अनि डलर कमाउने र ल्याउने बाटो बनाउँथ्यो । यो ता देशै खत्तम... सबैलाई अमेरिकातिर जान दिनु नि, सबैले भारततिर जान पाए जस्तै, उता जान पाए ता डरल आउँथ्यो, देश विकास हुन्थ्यो । अंग्रेजका ज्वाइँ भनेपछि हामी सबैको भाउ र मानमनितो नै बेग्लै हुन्थ्यो खै के गर्नु र......!’
नब्बे पुगेर हब्बे न कब्बे भएका बूढाहरूलाई पनि आफू नसके आफ्ना छोराछोरीहरूलाई र नातागोताका भानिज भतिजलाई डलरे ज्वाइँ बनाउने धोको जाग्न थालेको छ । अनि ज्वाइँ हुने अवस्था छँदाका जवाँमर्द सकुशल साँढेसरहका ज्वाइँहरूलाई डलरे ज्वाइँ हुन किन मन नलागोस् त ! उता गएपछि डबल सेन्चुरी मार्न पाउने भए । एक त फ्रिस्टाइलमा ज्वाइँ हुन पाउने इच्छा पूर्ण हुन भयो, दोस्रो कुरा डलर उघाएर भन्डारन गर्न पाउने भए ।
मेरा साथीकी श्रीमतीले आफ्ना पतिसँग भन्दै गरेको सुनेको थिएँ—‘परिवार नियोजन गरिहाल्नुभो क्यारे । अब एउटी गोरीसँग प्रेमको नाटक गर्नु र अमेरिकातिर पस्नु नि बरु । अचेल ता यसो नयाँ नयाँ शैलीबाट पनि प्रेम गर्न मिल्छ भन्छन् । केही नभए पनि डलर ता आउँथ्यो ।’ उत्तरमा उनले आप्mनी श्रीमतीलाई भनेथे—‘बरु लभसभ गर्न ता तँलाई पो सजिलो पथ्र्याे कि !’
‘हामीलाई ता लभ मात्र गरेर पुग्दैन क्यारे । आफूले ता परिवार नियोजनै गरिएनछ । त्यसरी लभ गरियो भने भल्ट्याङभुल्टुङहरू ओइरिने डर हुन्छ । अनि के गर्नु हामीले लभसभ ?’ श्रीमतीको मार्मिक कथन थियो ।
‘आ अचेल पनि त्यसरी डराएर हुन्छ ? पाइहालिन्छन् नि गल्ली गल्लीमा साधनहरू । लगाउनू अनि धडाधड.....!’
लाजमर्दाे भए पनि यो निकै मार्मिक सम्वाद थियो । सम्वादको सारले डलरको ध्यानमा लोग्नेस्वास्नीका अस्मिताहरू पनि पर पुगेछन् भन्ने देखाउँछ । बाबु छोराको सम्बन्ध पनि नौलो भइसकेको छ । अनि ज्वाइँहरूले डलरको ध्यान नगरे के गरुन् त बरा ! एउटा बाजे अमेरिकाको सरकारी ज्वाइँ नियुक्त भएको बेलाको कुरा सम्झन्छु । तिनका गाउँबाट काठमाडौं आउनेहरूको लावालस्कर थियो अरे । सरकारी ज्वाइँका नातागोताका सबैले उनका पछि लागी अमेरिका जाने इच्छा गरेछन् । उनको धरकुरुवाले पनि उता जाने इच्छा छाडेनछ । ‘होजुरको लागि मालिससालिस करिलिएकै हुँ, घर बरामदाहरू सरसफाइ पोनि करेकै हुँ । यो पोनि मेरो विरादर नै हो, जवाइँ राजा हो भनेर मलाई पोनि ओतै लगे मो पनि अलिकति डरल कमाइलिन्थे होजुर । किर्पा कोरिबक्सियोस् ।’
जसको जीवनमा बिहे नै भएन, जसले ज्वाइँ हुने उद्योगै गरेन र गरिहाले पनि खुलस्तसँग कसैको ज्वाइँ नै भएन त्यस्ता अपुत्राले पनि अमेरिका जाँदा कसैलाई ज्वाइँ बनाएर डलरका लागि लग्यो, कसैलाई सालो बनाएर अनि कसैलाई ता स्वास्नीकै रूपमा पनि लान चाहन्थ्यो । अचेलका असी बर्खे नेताहरूले जस्तो ज्वाइँ हुने बाटो खोलिदिएको भए त्यो सरकारी ज्वाइँले एउटी वृद्ध कन्या लिएर जाँदो हो, के गरोस् बरा ! बाटै खुलेको थिएन त्यति बेला ।
यी डरलमार्का ज्वाइँ हुन इच्छुकहरूलाई कसले बताओस् ! विदेशीहरूको ज्वाइँ भएर यता आएपछि यहाँ डलर मात्र नभई भिरुङ्गी, एडस् र घातक रोग पनि आउँछ भनेर ! यी ज्वाइँहरूलाई विदेशबाट महारोग पनि आइरहेछ भनेर कसले भनिदेओस् ! सङ्घ, सङ्गठन, परिषद वा क्रान्तिकारी फेटका ज्वाइँ नारानहरूहो ! तपार्इंहरू डलरे ज्वाइँ हुन लागिरहनुहोस् । देशलाई, सरकारलाई, जनतालाई नै अमेरिकाको ज्वाइँ बनाएर छाड्नुहोस् । तपार्इंहरूको अपार महिमा कायम रहोस्, यस भन्दा बढीको तपार्इंहरूको गुण कति गान गरुँ ? तपाईंहरूको चरित्र कति बखान गरुँ ? तपाईंहरूको महानताको कति बढाइँ गरुँ ? हे डलरजीवी ज्वाइँहरूहो ! तपाईंहरूको जय होस् ।
दोस्रो गोलामा पर्नुभो ससुरालीजीवी ज्वाइँ साहेब । यिनको विशेषता पहिलोको भन्दा धेरै फरक हुन्छ । यस्ता खालका ज्वाइँको ध्यान नै ससुरालीबाट जीवन निर्वाह गर्ने हुन्छ । ध्यान यिनको पनि डलरतिर नजाने ता होइन तर आफ्नो बुताको कमीले ससुरालीलाई नै डलर कमाउने र डलर आउने थलो ठान्दछन् । यिनका लागि ससुराली भनेको मानौं गाडधन हो । बस्न, खान, सुत्न उठ्नदेखि लिएर सानबानसहित ससुरालीमा जीवन निर्बाह गर्ने रुचि यस्ता खालका ज्वाइँमा हुन्छ । ससुरालीका लागि यस्ता ज्वाइँ भनेका चाकको पिलो जस्तै हुन्छन् अथवा भालुको कन्पटका रूपमा यिनलाई ससुरालीले मानेको हुन्छ । बजियालाई छाडिदिउन् त छोरीमाथि आपत्ति खनिने डर, नछाडून् त सधैं भाङ्लो भिरिरहनुपर्ने झमेलो । माखोलाई निचोरेर पित्त संकलन गर्ने लोभीले जस्तै ससुरालीलाई निचोर्नु यस्ता ज्वाइँको मौलिक खुबी हुन्छ । सङ्घतिरको समर्थक ज्वाइँ रहेछ भने ऊ ससुरालीको पुँजीमा आस्था राख्छ र त्यहीं ढलीमली गर्छ । अर्कातिरको सदस्य ज्वाइँ रहेछ भने त्यही संस्थाको विधान बमोजिमको काम गर्छ ।
टाउको दुखेकोमा खाइने सिटामोलको गोलीदेखि लिएर मनचिन्ते झोली भर्ने ठाउँ यिनका लागि त्यही ससुराली हो । दाइजो दिंदा सुनको खर्कुंडो हालेकै भए पनि पछि यस्ता ज्वाइँहरू त्यही ससुरालीकोमा पालिएका बाख्राको बड्कुँलोसम्म दानका रूपमा लिन छाड्दैनन् । दानदछिना नै यिनको रोजीरोटी हो । चाडपर्व, औंसीपुर्ने, मेलापात भनेका यिनका आयस्ताका मौका हुन् । ससुरालबाट भाग खान पल्केका यस्ता ज्वाइँहरू चाडपर्व आयो कि आफ्ना लालाबाला र शाखासन्तान, नोकरचाकरका साथ ससुराल जान्छन् । सके ता गाईवस्तु, परेवा कुखुरा जस्ता पाल्तु जनावर समेत लिएर ससुराल जाँदा हुन् । एक जना महान् ज्वाइँको विशेषता सम्झन लायकको छ । आपूm ता समूल ससुराल जानुहुन्छ त्यसमा नयाँ कुरा के भयो र ? उहाँ ससुराल जाँदा आपूmले पालेको घोर्ले डाँगो पनि लिएर जाने गर्नुहुन्छ । उहाँको प्रिय डाँडो ससुरालैबाट उपहारका रूपमा मिलेकोले ससुराल जाँदा उसलाई पनि उतै लिएर जाने बानी बेहोरा छ उहाँको । यो देखेर अर्का एक ज्वाइँले आहारिसे शैलीमा ठट्टा गर्दै सोधेका थिए– ‘होइन, तपाईं ता ससुराल हिंड्नुभाको होला । यो डाँगोलाई पनि साथै लिएर जाँदै गरेको देख्छु । यसको पनि ससुराल उतै प¥यो कि कसो ?’
त्यसपछि ससुराल जाँदा उहाँ विना डाँगो नै गएको देखिन्छ । उहाँको ससुरालीका पर्व, सराद्धे, व्रत उपवासहरूका अवसरमा ससुराल जान नपाएको डाँगोले अहिले यतै गल्लीतिर ससुराली बनाएर पर्व मनाउने काम गरेको देख्छु । पेच पर्ने गरी कसैले नभनिदिएको भए, विचराका घरका बिराला, छुचुन्द्रा, मुसाहरू पनि ससुरालैतिर लगेर भोजन गराउनुहुन्थ्यो क्यारे ।
यसै फाँटका अर्का एक ज्वाइँको कुरा पनि सुनिएको थियो । ससुरालमा भोजभतेर सकिएपछि घर फर्किने बेलामा उनले सासूसँग भनेका थिए अरे—‘सासूआमा, हामीले ता यहीं खाइहाल्यौं, घरको डाँडो पो भोकै पर्ने भो । उसलाई पनि यतै ल्याउनु पर्ने रैछ । भुसुक्कै भएछ । त्यो भोकै हुने भो । अलिकति मासु यतैबाट पो लगिदिनुप¥यो । एउटा ट्यामीमा हालिदिन लगाइदिनु न !’ त्यस ज्वाइँको त्यस कथनका प्रतिकृया सासूबाट कस्तो भो त्यो भने जानकारी भएन ।
मेरा सम्पर्क सूत्रजनिकैका अर्का एक जना यही मार्काका ज्वाइँ साहेब छन् । उनको विशेषता पनि ससुरालीबाट जीविकोपार्जन गर्नु नै हो । घरमा एक छाकी खाएर बसे पनि उनी ससुरालीका ठूला पौरखी मानिन्छन् । खोर्सानीको बिरुवादेखि त्यसलाई चाहिने बाख्राको जुत्तोको प्रबन्ध पनि उनी ससुरालीबाटै गर्छन् । घरको छाक जोगाउनु र ससुरालीको पित्त निचोर्नु उनको पनि मौलिक विशेषता हो । यी पनि प्रतिनिधि ज्वाइँ नै हुन् । यी शुद्ध ब्राह्मण हुन् । स्वास्नी पर सरेको बेला घरमा भात पकाउने झन्झट मानेर उनी ससुरालीतिरै हातमुख जोड्ने काम गर्दै आएका छन् । हुँदाहुँदा अस्तिदेखि ता त्यसै बहानामा पपन्ध्र दिनमा ससुराली जान थालेछन् ।
‘होइन ज्वाइँ ! छोरीको पर सर्ने मासिक चक्र बिग्रिएछ क्यारे ! कसरी यति चाँडचाँडै हुन थाल्यो हँ ? चेकप पो गर्नु पर्छ कि !?’ पपन्ध्र दिनमा छोरी पर सरी भन्ने बहाना पारेर ससुरालीकामा धाउन र छाक टार्न थालेपछि सासूलाई दिक्क लागेर एक दिन सोधिदिइछिन् । त्यसपछि उनकी श्रीमतीको मासिक परसर्ने चक्र साबिक बमोजिम छ । सासूले मुख नफोरेको भए उनकी श्रीमती महिनै भरि पर सर्थिन् क्यारे !
अर्का ससुरालीजीवी ती ज्वाइँको ता कुरै विचित्रको छ । तिनी ससुराल भनेको कुनै पनि हालतमा आफ्नो छेउछाउमै बनाउनु पर्ने कुरामा गहिरो विश्वास राख्छन् । आफू ता ज्वाइँ नै भैहाले । आफूलाई ता ससुरालीले हेर्नै पर्छ । त्यसका साथै उनका घरपालुवा गाईलाई खोले, कुखुरालाई चारो, भैंसीलाई खोले कुँडो समेत ससुरालबाटै ल्याउने पक्षमा विश्वास छ उनको । ‘म अरु जस्तो ज्वाइँ कहाँ हुँ र ! म अरु जस्तो लुइरे ज्वाइँ होइन, मेरामा ता ससुरालीले नै सबै थोक पठाइदिनुपर्छ । मलाई चाहिने कुरा लिन म कुनै हालतमा ससुराल जान्न क्यारे । ज्वाइँको एउटा मर्यादा पनि ता हुन्छ, इज्जत पनि ता हुन्छ ! सधैं ससुरालमा गइरहने काम ज्वाइँको हो र ? ज्वाइँले त्यति हलुका हुनुहुन्छ ?’ उनको गतिलो तर्क छ ।
एक दिन सासूसँग उनी फोनबाट कुरा गर्दै थिए—‘सासूआमाज्यू, याँ, भैंसीले राँगो खोज्या जस्तो छ । राँगामा लानु पर्ने । एउटा खसी नपारेको अर्ना राँगो भए त्यतैबाट पठाइदिनुहोला, नभए राँगामा भैंसी लानु छ, तुरुन्तै मान्छे पठाइदिनुहोला !’
ज्वाइँ चरित्रको अनुसन्धानका क्रममा मलाई अपारअपारका ससुरालीवीको ज्वाइँ प्राप्त हुँदै गए । सानोतिनो विशेषता भएका खुद्रे ज्वाइँहरूको प्रतिनिधि चरित्र बराबर पाइरहियो । ससुरालबाट चाहिंदो दाइजो नल्याउने आफ्नी स्वास्नीलाई भकुर्ने ता बग्रेल्ती भेटिए । अझ त्यही निहुँमा स्वास्नीलाई पेट्रोल खन्याउने र आगो लगाउने ज्वाइँको पनि कमी भएन । यस बेलामा त्यस्ता झिनाझाँक्रा ज्वाइँको चरित्रलाई गोलामा हालिएन । मैले त्यस्ताको चरित्र टिप्ने कामै गरिनँ । नेपालका तराई भरी त्यस्ता ज्वाइँ पाइलापाइलामा पाइन्छन् । त्यस्ता ज्वाइँको उद्योगधन्दालाई सघाउन तिनका आमा बाबुहरू पनि उत्तिकै सक्रिय छन् । ससुरालबाट एउटा कोदालो, हलो र जोतारो नल्याएको निहँुमा आप्mनी स्वास्नीलाई कोदालाका पासाले ठोकेर ठहरै पार्ने धनमान कान्छाको चरित्र पनि ज्वाइँ प्रकरणमा उत्तिको उत्तम लागेन । ससुरालबाट एक किलो घिउ नपठाएको झाेंकमा अर्की स्वास्नी तुरुन्तै भित्र्याइहाल्ने भैरे नामक ज्वाइँको चत्रिर पनि उति गतिलो लागेन । म खोजीकै क्रममा थिएँ ।
ढुङ्गो खोज्दा देउता मिलेझैं एउटा ज्वाइँ झ्वाट्ट भेट भयो । म काम विशेषले काठमाडौको करोडपति कुइँकेल कान्छोकोमा गएको बेलाको कुरा हो । बिस वर्षअघिको कन्नने काठो कुइँकेल ससुरालीकै वरदानबाट अचेल करोडपति कुइँकेल भएर कमारा कमारी पालेर बसेको छ । हरेक कुरामा ऊ अहिले उदाहरण भएको छ । कहिलेकाहीं भासन पनि गर्छ—‘साथीहरूहो, पौरखी हुनुपर्छ, आफ्नै कमाइबाट जीविका चलाउनुपर्छ । यो नै उत्तम कुरा हो । घरज्वाइँ बस्नु जतिको असजिलो कुनै कुरा हुँदैन ।’
उसकोमा जब म गएँ उसको बैठक कोठामा एक जना युवक फोनमा मस्तसँग गफ चुटिरहेको थियो । पहिले ता मलाई उत्रो चासो भएन, तर जब फोनमा रसरङ्गका कुराहरूको लहर चढ्यो अनि मेरो पनि ध्यान भङ्ग भयो । मैले नजानिंदो गरी उनको मुखमा हेरें ऊ मुख बटारेर कुरा गर्दै थियो–‘अनि नि हो, रात कसोरी बितायो हो ?..... मेरो अभावको चैं कुरै नगर यार । मलाई पनि छ नि, तिम्रो एबसेन्ट खुब खल्यो यार ।... भैगो यार यी कुरा छाड । के रे होमवर्क गर्दैन अरे ? ए त्योलाई फोन देऊ त ।’ कुरा रसमयताबाट अर्कातिर मोडिए ।
मैले अनुमान गरें— ‘कतै यो मान्छे यही कुइँकेलको ज्वाइँ ता होइन ? यो मान्छे कससँग यसरी फोनमा रसिला कुरा गर्दैछ ? को हो यो ?’ मेरा मनभरि कुराहरू भरिए । एकैछिनमा ता ऊ फोनबाटै होमवर्क पो गराउन थाल्यो—‘केटा, किताब हातमा छ ?’
पेज नं कति हो ? ... ए, ल गर्न थाल् त ।....ए.. फोर सेभेनजा ट्वेन्टी एट नि ! यस्तै रङ गर्छ र त कुटाइ खान्छ नि । पहिले डिभाइड, अनि मल्टीप्लाई, त्यसपछि प्लास, अनि लास्टमा माइनस हो, बुझ्यो । अब फोरले सेभेनलाई मल्टीप्लाइ गर् । अनि थर्टी प्लस गर् । लास्टमा नाइन्टिन माइनस गर् । भयो, अब एन्सर भयो, बुझ्यो ?’
फोनबाट निकै बेर होमवर्क गरायो यो मान्छेले । यसलाई मैले पटक्कै चिनिन । अनुमान मात्र गरें–नेपालको कुनै उच्च र महँगो बोर्डिङको टिचर हो कि भन्ने भान भइरह्यो मलाई भने । आजभोलि टिचर विद्यालय ता जाने होइनन् क्यारे । आखिर सुलभ भएको बेला फोनैबाट मात्रै भए पनि केही पढाइदिएको भए हुने नि यी मास्टरहरूले । यस्तो समस्या भएको बेला, फेलको प्रतिशत बढ्दै गएको बेला केही फाइदा ता हुने ! अलिकति पास ता हुन्थे कि ? केही प्रतिशत बढिहाल्थ्यो कि !’ तुकबेतुकको कुरा सोचि मात्र बसें ।
‘ज्वाइँ साहेब, भित्रको फोनबाट होमवर्क गराइस्यो त, हामी यहाँ केही गफगाफ गर्छौं ।’ फोन गरिरहेका त्यस मान्छेलाई अरायो कुइँकेलले । अनि मात्र करोडपति कन्नने कुइँकेल मसँग प्रसङ्गमा आयो ।
गफगाफकै सिलसिलामा मैले सोधें—‘यहाँबाट अघि फोन गर्ने तपाईंको को हो ? ज्वाइँ हो कि क्या हो ?’
‘हो, हो मेरो ज्वाइँ हो मोरो ।’ उसको भनाइबाट ऊ त्यस ज्वाइँबाट रुष्ट छ भन्ने कुरा मैले बुझें ।
‘साले कौडीपति सेसान्तर थियो । आफ्नी छोरीले ता कसको हो कसको बेवारिसे भारी बोकी हाली । त्यसरी अर्काको भुँडी बोकेर बिग्रिएकी छोरीलाई जिम्मा लगाउनु प¥यो । अनि ज्वाइँसाहेब भएको छ मोरो ।’ उसले खुलस्तसँग मेरा अघि कुरा राख्यो ।
‘तँ जस्तै रहेछ !’ मैले मनमनै सोचें ।
उसको मन ज्वाइँदेखि पाकेको रहेछ । एकै छिनमा उसले मनको बह मेरो सामु पोख्यो । मलाई भने एउटा नयाँ ज्वाइँ फेला प¥यो ।
‘ए ! छोरी जिम्मा लगाएको ज्वाइँ ?’ मैले उसँग सोधें ।
‘अँ, अब के गर्ने, खास ज्वाइँ कता भाग्यो भाग्यो भँुडी बोकाएर ।’ अघि भनेकै कुरा उसले फेरि भन्यो मसँग ।
‘अनि अघि फोन गर्दै थियो नि । फोनबाट त ऊ होमवर्क पो गराउँदै थियो भन्ने बुझिन्थ्यो त ।’ मैले छक्क पर्दै सोधें ।
‘हो त, पाइरहेको छ फोकटमा फोन गर्न बज्याले । यहाँ आएको बेला दार्जिलिङगको घरमा ट्रंकबाट फोन गर्छ घन्टौं । छोरालाई होमवर्क पनि गराउँछ । खै के गर्ने गर्ने !’ मेरो साथी कुइँकेलले मसँग दुःख पोख्यो । मलाई भने ससुलाजीवी ज्वाइँको एउटा मिसायल मिल्यो ।
धन्य हो ज्वाइँ ! मैले सुन र डलरका लागि ससुरालीको घर पैरो लडाउने ज्वाइँलाई मात्र उच्च दर्जाको ज्वाइँ ठानेको रहेछु । यो ज्वाइँ त काठमाडौैंबाट दार्जीलिङगको घरमा छोरालाई होमवर्क गराउन घन्टौं घन्टासम्म टं«ककल पो गर्दै रहेछ । यस्तो महान ज्वाइँ त झन्डै गोलामा पर्नबाट छुटेको ! अरु अरु मुलुकमा छोरालाई पढ्न पठायो भने पनि होमवर्क गराउन त ससुरालीकै फोनको उपयोग गर्ला यस मान्छेले ! मैले सोचें ।
‘के गर्नु अर्काको भारी बोकिदियो । यस मान्छेले त्यही गुन ग¥या छ !’ कुइँकेलले चित्त बुझायो ।
धन्य हुन् ती अर्काको भारीसहितकी पत्नी स्वीकार्ने ज्वाइँ !
म त खोर्सानीलाई कुखुराको सुली ससुरालीबाट ल्याएर हाल्ने ज्वाइँलाई पो उत्तम ज्वाइँ ठान्थे । कुरा त्यति मात्र रहेनछ । ज्वाइँ महाशयहरू ! तपाइँहरूको महिमा त म जस्तो लुरे ज्वाइँलाई जति बुभ्mयो उति कठिन, झन बुभ्mयो झन् कठिन लाग्न थाल्यो । अरु ज्वाइँहरूको चरित्र जो यहाँ पर्नु भएन फेरि गोलाप्रथाले झिकौंला । आजलाई माफी पाऊँ ।