यात्रा साहित्य विश्व साहित्यमै लोकप्रिय विधाको रुपमा मानिन थालिएको छ । सभ्यता र संस्कृति जीवन र जगत्को अनुभव र अनुभूतिका कारण नियात्राका पाठक बढेका छन् । नियात्रा आजकल प्रभावकारी बन्दै गएको छ । यही कारण अन्य विधामा हात हालेका स्थापित लेखकहरु पनि यस विधाप्रति आकर्षित भइरहेका छन् । यसै क्रममा लघुकथा र नियात्रा लेखेर नाम कमाएका कृष्ण बजगाईले युङफ्राउ नामक नियात्रासङ्ग्रह हालै बजारमा ल्याएका छन् ।
युङफ्राउभित्र एक्रोपोलिसमा एक बिहान, ग्रिसमा बाहनका देवता खोज्दा, एथेन्समा देवताका पिता र सातौँ आश्चर्य, सुकरातलाई थुनेको जेलभित्र चियाउँदा, एरिस्टोटलको लाइसियममा एक चक्कर लगायत विभिन्न शिर्षकका सत्ताइसवटा नियात्राहरु समेटिएका छन् । नियात्राकार बजगाईले यात्राका क्रममा देखेका, भोगेका, सुनेका र भेटिएका नियात्राहरु यसभित्र रहेका छन् ।
यस कृतिमा सेप्टेम्बर सन् २०२१ मा ग्रिसबाट सुरुवात भएको बजगाईको यात्रा अगष्ट सन् २०२३ मा स्विजरल्यान्डमा टुङ्गिएको थियो । सोही समयमा पोर्चुगल र बेलायतका विभिन्न स्थानमा उनले यात्रा गरे । दुई वर्षमा चारओटा देशमा गरेको यात्राबाट सिर्जित सत्ताइसवटा यात्राहरु सङ्ग्रहित छन् । उहाँको पहिलो यात्रा वर्णन एक्रोपोलिसको छ । यसभित्र रहस्यमय भूमिमा उनले टेकेका छन् । प्राचीनकालको धार्मिक बाटोमा छु । पवित्र मार्गमा उभिएको छु । सामुन्ने देखिएको एक्रोपोलिस डाँडामा मेरा आँखाले यात्रा गर्छन् । पाइला चल्नुअगि नै मनले त आरोहण गरिहाल्यो भनेर उनले लेखेका छन् ।
एजेन्समा देवताका पिता र सातौँ आश्चर्य शीर्षकभित्र एक्रोपोलिसको फेदैमा रहेको मूल सडक पार गरेर देवता खोज्न उनी लम्किन्छन् । करिब दश मिनेटको पैदल हिँडाइमा ओलम्पियन पुरातात्विक क्षेत्रमा उनी पुगेका थिए । देवता हेर्न प्रवेश शुल्क तिर्नुपर्दो रहेछ । टिकट लिएर ओलम्पियन पुरातात्विक क्षेत्रभित्र प्रवेश गर्दा मनभरि थुप्रै जिज्ञासाहरु उनका अगि लागेका थिए भनेर लेखिएको छ ।
एरिस्टोटलको लाइसियममा एक चक्कर शीर्षकभित्र एथेन्सको सिन्टाग्मा स्क्वायरको रमझमलाई छाडेर जान मन लागेकै थिएन । पाइला बिसाइसकेको थिएँ एथेन्सको भासिलिसिक सोफिया सडकको पेटीमा । व्यस्त सडकमा घिस्रिरहेका छन् गाडीका ताँतीहरु । लम्किरहेछन् मानिसका भिड आआफ्ना गन्तव्यतिर भनेर बजगाईले लेखेका छन् । एथेन्समा देवताका छिमेकी शीर्षकभित्र ग्रिसमा आइपुग्नेबित्तिकै कवि बायरन ओटोमन साम्राज्य बिरुद्धको आन्दोलनमा प्रत्यक्ष सहभागी भएको कुरालाई लेखेका छन् । बायरनले बेलायतबाट ग्रिसका लागि ऋण दिलाउनका लागि महत्वपूर्ण मध्यस्तकर्ताको भूमिका समेत निर्वाह गरेका थिए । त्यति मात्र होइन उनले बेलायतले ग्रिसबाट लगेका प्राचीन तथा पुरातात्विक वस्तुहरु फिर्ता गराउन दबाब पनि दिए भनेर लेखिएका छन् ।
रोमन अगोरा ः ग्रिक अगोरा शीर्षकभित्र अगोरा शब्द प्राचीन ग्रिकको एगेरिन शब्दबाट आएको हो । यसले बजार, सभा, मिटिङ हुने स्थान आदि बुझाउँछ । प्राचीन समयमा अगोरा शब्दले विशेष गरी मानिसहरु भेला हुने स्थलका रुपमा बुझाउँथ्यो । अहिले शुल्क तिरेर मात्र प्रवेश पाइने अगोरा उति बेला निःशुल्क थियो भनेर बजगाईले लेखेका छन् । ओलम्पिक खेलको जन्मस्थानमा शीर्षकभित्र ओलम्पिक खेल प्राचीन ग्रिसबासीहरुको धार्मिक अनुष्ठानसहितको खेलकुद कार्यक्रम थियो । अहिलेको आधुनिक ओलम्पिक खेलमा धार्मिक अनुष्ठान छैन । बाँकी रहेको छ खेलकुदमा मात्र । वास्तवमा ग्रिसबासीहरुको धार्मिक परम्पराको आधुनिक रुप हो ओलम्पिक खेल । त्यसैको निरन्तरताका रुपमा लिएका छन् उनले ओलम्पिक खेललाई ।
एकै दिनमा ग्रिसका तीन टापु शीर्षकभित्र दिनभरि हुने जलयात्रा सम्झेर रोमाञ्चित हुन्छु । जलयात्राका लागि हिँडेकै छैन म । मेरो मन समुद्रको पानीमा पौडी खेल्न थालिहाल्यो भनेर उनले लेखेका छन् । जेनभामा भाँचिएको कुर्सी र रोएको मन शीर्षकभित्र लन्डनको हिथ्रो एयरपोर्टमा पुग्दा अझै उज्यालो भएकै छैन । सूर्यलाई नपर्खी यात्रु बोकेर उड्छ स्विक एयरलाइन्सको विमान घुर्माइलो आकाशमा । एकछिनपछि सूर्यको रक्तिम किरणले चियाउँछ जहाजको सानो झ्यालबाट भनेर लेखिएको छ ।
वेस्टमिन्स्टर आबेको पोएट्यस कर्नर शीर्षकभित्र नेल्सन मण्डेला र महात्मा गान्धीको सालिकको छेउमा विश्वव्यापी जलवायु परिवर्तन र त्यसले पारेको असरका बारेमा जनचेतना जगाउने व्यानर टाँसिएको छ । त्यस अभियानका अभियन्ताहरु हाते माइक र पर्चा लिएर उपस्थित भएका छन् भनेर बजगाईले लेखेका छन् । यस सङ्ग्रहभित्रको नेक्रोपोलिसमा एक साँझ शीर्षकको अन्तिम नियात्रामा साँझको छ बजिसकेको छ । नेक्रोपोलिसको गेट अगाडि पुगेपछि मात्र सहयात्रीहरुले अलिकति सुइको पाए । उनीहरुलाई थाहै नदिई यहाँ ल्याएको थिएँ । साँझमा पनि कहीँ चिहानघारीभित्र प्रवेश गर्नुहुन्छ त ? अहँ, हुँदैन । तुरुन्तै फर्कौ । सञ्जुले नेक्रोपोलिस जान मानिनन् भनेर लेखिएको छ ।
नेपाली यात्रा साहित्यको यो उत्कृष्ट कृति सबै पाठकले पढ्नै पर्छ । यसमा लेखकका अनुभूति आफ्नै स्वाद छ । नियात्रा मार्फत आफ्ना निजी भावना जताततै छरेका छन् । उनको लेखनशैली स्वतन्त्र छ । उनका यात्राहरु रोचक र रसिला छन् । यात्राहरु पेचिला र पुष्टकारी प्रतीत छन् । समग्र रुपमा भन्नुपर्दा यस कृतिले नेपाली साहित्यमा महनीय स्थान लिएको छ । यस्तै अन्य कृतिहरु पढ्न पाइरहने अपेक्षा गर्दछु ।
कृतिः युङफ्राउ
प्रकाशकः भुँडीपुराण प्रकाशन, बागबजार, काठमाडौं
संस्करणः प्रथम, २०८०
मूल्यः रु.४९०।–
पृष्ठः २४३