18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

बहु-आयामिक प्रतिभाका धनी ध्रुब लोहागण

कृति/समीक्षा गोपालसिंह विश्व June 1, 2025, 11:43 pm
गोपालसिंह विश्व
गोपालसिंह विश्व

नेपाली साहित्यको विविध विधा कविता, कथा, नाटक, गीत, चलचित्र पटकथा संवाद लेखनका साथसाथै अभिनय तथा निर्देशन कला क्षेत्रमा पनि निकै ख्याति पाइसकेका एक होनहार व्यक्तित्व एवं बहु-आयामिक प्रतिभाका धनी थिए - ध्रुब लोहागण। पश्चिम सिक्किमको नयाँ बजार भनिने एक सुन्दर पार्वत्य स्थानका निवासी पिता स्व. छबिलाल लोहागण र माता स्व. गणेशमाया लोहागणको परिवारमा 10 जून 1957 को दिन उनको जन्म भएको थियो। उनको प्रारम्भिक शिक्षाको शुरूआत स्थानीय प्राथमिक पाठशालाबाट नै भयो। उनी नयाँ बजार प्राथमिक पाठशालाको चौथो श्रेणीको विद्यार्थी छँदा पाठशालाका प्रधान शिक्षक श्री बी.बी. मुखियाले लेखेको एकाङ्की नाटक ‘साहेब अनि बेरा’-मा उनले प्रथमपल्ट अभिनय गरेर आफ्नो कला देखाउने अवसर पाएको जानकारी पाइन्छ। उक्त नाटक जोरथाङ बजारमा 4 अप्रेल 1966 को दिन तत्कालीन सिक्किमका राजा छोग्याल पाल्देन थोन्डुप नामग्यालको जन्मोत्सवको उपलक्ष्यमा मञ्चन गरिएको थियो। त्यसपछि पनि उनले विद्यार्थी जीवनमै अन्य धेरै नाटकहरूमा आफ्नो अभिनय कला देखाउने र त्यस दिशातिर दक्षता हासिल गर्ने अवसर पाए। उनले अभिनय गरेका ती नाटकहरू थिए – गौतम बुद्ध (सन् 1967), चित्रकार (सन् 1967), आमा (सन् 1969), प्रायश्चित (सन् 1970), हिरण्यकशिपु (सन् 1971), धने मुखिया (सन् 1971) आदि। प्रारम्भिक कालमा उनलाई नाटकमा अभिनय गर्न सिकाउने र यस क्षेत्रमा अघि बढ्न प्रेरणा दिने व्यक्तिका रुपमा उनका आदरणीय गुरु बी.बी.मुखियाको भूमिका महत्वपूर्ण रहेको देखिन्छ। यसप्रकारले नाटकहरूमा अभिनय गर्दै युवा उमेरसम्म आइपुग्दा नाटक कसरी लेख्नुपर्छ भन्ने कुरा उनले राम्ररी बुझे र उनी स्वयं नाटककार बन्ने प्रचेष्टामा लागे। यसरी सन् 1977 मा उनले प्रथमपल्ट ‘बौलाहा’ नामक एकल नाटक (Mono-act) लेखेर मञ्चन गराएका थिए। त्यस समय उनी कलेजका विद्यार्थी थिए। यस नाटकमा उनको आफ्नै एकल अभिनय रहेको थियो। उनको यो नाटक निकै चर्चित र लोकप्रिय भयो।

सन् 1971 मा उनी नवौं श्रेणीको विद्यार्थी छँदादेखि नै उनले कविता/गीत लेख्ने अभ्यास गर्न थालेका थिए। यसरी उनको साहित्यिक लेखन यात्राको शुरूआत कविताबाट भए तापनि पछि नाटक नै उनको लेखनको मूल विधा बन्न गयो। उनको प्रथम प्रकाशित रचनाको रुपमा हास्य व्यङ्ग्य एकाङ्की ‘पोथी बासेपछि’ उनकै सम्पादनमा प्रकाशित हास्य व्यङ्ग्य पत्रिका ‘झ्याल्टुङ’-को अङ्क 5/6 (1985)-मा प्रकाशित भएको थियो। यद्यपी केही अन्तरालमा उनका कविता, मुक्तक र कथाहरू पनि विभिन्न पत्र-पत्रिकाहरूमा प्रकाशित हुँदै आएका थिए। पुस्तक रुपमा उनको प्रथम प्रकाशित कृति ‘आँधी आएपछि’ (पूर्णाङ्की नाटक– सन् 1997) हो। त्यसपछि दोस्रो कृति ‘कटु सत्य’ (नाटक सङ्ग्रह – सन् 1999) र तेस्रो कृति रजनीगन्धा (कथा सङ्ग्रह-सन् 2001) प्रकाशमा आए। त्यसपछि उनको कलम निरन्तर चलिरह्यो। उनले आफ्नो जीवनकाल पर्यन्त दुई वटा कथा सङ्ग्रह र दुई वटा कविता सङ्ग्रह बाहेक दुई दर्जनभन्दा बढी एकाङ्की नाटक, पूर्णाङ्की नाटक र रेडियो नाटकहरू लेखे अनि सिक्किम, दार्जीलिङ र नेपालका विभिन्न स्थानहरूमा ती नाटकहरू मञ्चित गराए अनि तीमध्ये धेरै आकाशवाणी, गान्तोकबाट प्रसारित पनि भएका थिए। उनी आकाशवाणी, गान्तोकका एक अनुमोदित नाटककार पनि थिए। आकाशवाणी, गान्तोकबाट प्रसारित भएका उनका नाटकहरू यस प्रकार रहेका छन् :-
1) सिद्धार्थ (रेडियो नाटक) सन् 1999
2) कटुसत्य (रेडियो नाटक) सन् 2000
3) टिस्टा रंगीतको बगरै बगर (तेह्र भागमा रेडियो धारावाहिक नाटक) – सन् 2001
4) ममता (चार भागमा रेडियो धारावाहिक नाटक) – सन् 2003
5) मन (रेडियो नाटक) – सन् 2005
6) सम्मोहन (चार भागमा रेडियो धारावाहिक नाटक) – सन् 2006
7) नयाँ बिहानी (रेडियो नाटक) – सन् 2008
8) पूनर्जन्म (रेडियो नाटक) – सन् 2010
पुस्तक रुपमा प्रकाशित उनका कृतिहरू यसप्रकार छन् :-
1) आँधी आएपछि (पूर्णाङ्की नाटक) – सन् 1997
2) कटु सत्य (नाटक सङ्ग्रह) – सन् 1999
3) रजनीगन्धा (कथा सङ्ग्रह) - सन् 2001
4) मृगतृष्णा (पूर्णाङ्की नाटक) – सन् 2004
5) त्यो पारि गाउँमा (पूर्णाङ्की नाटक) – सन् 2006
6) मन (नाटक सङ्ग्रह) – सन् 2010
7) सम्मोहन (पूर्णाङ्की नाटक) – सन् 2018
8) फेसबुकको पन्नादेखि पुस्तकका पन्नाहरूमा आइतबारे कोसेली
(कविता, मुक्तक सङ्ग्रह)-सन् 2018
9) तितो सत्य (कविता सङ्ग्रह) – 2019
10) समय चक्र (कथा सङ्ग्रह) - 2019

अभिनय कलामा दक्षता हासिल गरेका ध्रुव लोहागणका अधिकांश नाटकहरू मञ्चित छन्। डा. जीवन नामदुंगको सम्पादनमा साहित्य अकादेमी, दिल्लीबाट प्रकाशित पुस्तक ‘भारतीय नेपाली साहित्यको सर्वेक्षण अनि अध्ययन’-मा वरिष्ठ साहित्यकार असीत राई लोहागणको नाटकबारे लेख्नु हुन्छ - ‘जीवन नै एक नाटक रुपमा बाँचेर सांसारिक रङ्गमञ्चमा हामी अभिनयमा बाँचिरहेका छौं। जीवनका यी सब दु:खान्त-सुखान्त, मिलन-बिछोड़, जन्म-मृत्यु, आँशु-हाँसो र सङ्घर्षका कथा-व्यथालाई यथार्थ र जीवन्त रुपमा नाटकहरूभित्र जीवन दिएर नाटकहरू सृजना गर्ने सचेत नाटककार हुन् ध्रुव लोहागण।‘ सन् 2004 मा प्रकाशित उनको पूर्णाङ्की नाटक ‘मृगतृष्णा’-को भूमिकामा आई.के.सिंह लेख्नुहुन्छ – ‘नाटकमा हुनुपर्ने प्रत्येक बुँदा समाहित ‘मृगतृष्णा’-ले समाजका विसङ्गतिहरू र पुरूष प्रधान समाजमा नारीहरूले भोग्न परेका समस्याहरूसँगै भोक विलासी नारी र पुरूषहरूको संसर्गले निर्दोष पारिवारिक सदस्यहरू कठिनाइ र कलङ्कभित्र बाँच्न परेको स्थितिलाई सफलतापूर्वक उदाङ्गो पारेको छ। स्वस्थ समाजको निर्माणमा नाटककार ध्रुव लोहागणले नाटकमार्फत गतिलो एक उपयुक्त सन्देश दिन सफलता आर्जन गरेका छन्।‘

आफ्नो शैक्षिक योग्यतालाई अघि बढाउने क्रममा उनले जोरथाङ सिनियर सेकेण्डरी स्कुलबाट उच्च माध्यमिक अनि दार्जीलिङ सरकारी महाविद्यालयबाट स्नातक उतिर्ण गरेपश्चात् वन्य विषयमा डिप्लोमा हासिल गरी सन् 1978 मा सिक्किम सरकारको वन्य विभागमा अधिकारीको पदमा नियुक्ति पाएका थिए अनि पदोन्नति हुँदै प्रमाण्डलिक वन्य अधिकारी (Divisional Forest Officer)-को पदसम्म पुगेर सन् 2014 मा उनले स्वेच्छापूर्वक अवकाश ग्रहण गरेका थिए। वन विभागको सरकारी सेवामा रहँदा समय समयमा स्थान्तरण हुँदै सिक्किम भरिका विभिन्न स्थानहरूको परिभ्रमण गर्ने र त्यहाँको समाज र मानिसहरूसित घुलमिल र सम्पर्कमा रहेर समाजको यथार्थलाई नजिकबाट हेर्ने अवसर पाए अनि त्यसलाई आफ्नो कल्पना शक्ति र कलाको जलप लगाएर साहित्यमा उतार्न सफल भए।

सन् 1984/85 तिर उनले आफ्नो सम्पादनमा "झ्याल्टुङ" र "झिल्के" हास्यव्यङ्ग्यात्मक पत्रिकाहरू प्रकाशित गरेर नेपाली साहित्यको हास्यव्यङ्ग्य क्षेत्रमा पनि आफ्नो योगदान पुर्याएका थिए। सम्भवत: यसैले हास्यव्यङ्ग्य रचना लेख्नमा पनि उनी निकै निपुण देखिन्छन्। विशेष गरी उनका नाटक, कथा र कवितामा प्रचुर मात्रामा हास्यव्यङ्ग्यको प्रयोग गरिएको पाइन्छ। यसबाहेक उनले ‘भानु स्मारिका’ अनि ‘गोरेटो बिसौनी’ जस्ता सामयिक पत्रिकाहरूको सम्पादन गरेर नयाँ कलमहरूलाई पनि प्रेरणा दिँदै एक कुशल सम्पादक तथा पत्रकारका रुपमा सिक्किमेली साहित्य जगतमा आफुलाई परिचित गराइसकेका थिए।

नाटकमा उनको अभिनय कला बेजोड़को थियो। पछि अभिनयको साथसाथै निर्देशन पनि गर्न थाले। अझै नाटकबाट उनको कार्यक्षेत्र विस्तारित हुँदै चलचित्र तथा दूरदर्शन श्रृङ्खला क्षेत्रसम्म पुग्न सफल भयो। उनले अभिनय गरेको प्रथम चलचित्र थियो ‘साइनो’। सन् 1987 मा उनी राभाङ्ला, दक्षिण सिक्किममा एक वन अधिकारीको रुपमा कार्यरत थिए। संयोगवश त्यहीबेला उनको रेखदेखमा रहेको डाकबङ्गलामा ‘साइनो’ फिल्मको युनिट शुटिङको निम्ति आएर बसेको थियो। उनको सम्पर्क फिल्मका निर्देशक उगेन छोपेल र अभिनेता डेनी डेञ्जोङ्पासित हुन गयो। नाटकमा उनको अभिनयले निकै ख्याति पाएको कुरा उनीहरूले थाह पाए। त्यसैले फिल्मका निर्देशकले उनलाई पुलिस इन्स्पेक्टरको भूमिकामा अभिनय गर्नका निम्ति अनुबन्ध गरे। यसरी उनले मुम्बई सिनेजगतका प्रख्यात खलनायक तथा अभिनेता डेनी डेञ्जोङ्पा र अभिनेत्री तृप्ति नाडकरसित अभिनय गर्ने अवसर पाए। त्यसपछि सन् 1988 मा उनले ‘असली नकली’ (टेली फिल्म)-मा अभिनयका साथै कार्यकारी निर्माताको दायित्व सम्हाले। सन् 1998 मा ‘देवता’ (टेली श्रृङ्खला)-मा अभिनय गरे। नेपालबाट सन् 1999 मा निर्मित ‘रानी खोला’ (फिचर फिल्म)-मा उनले पटकथा, संवाद लेखनसहित अभिनय पनि गरे। यस फिल्मका निर्देशक थिए – प्रकाश साँयमी। यस फिल्ममा उनको एउटा गीत पनि सामेल गरिएको थियो जसको सङ्गीतकार शक्तिवल्लभ रहेका थिए। सन् 2001 मा दूरदर्शन, गुवाहाटीद्वारा निर्मित अनि प्रसारित टेलीफिल्म ‘जीवन-गोरेटो’-मा उनको पटकथा लेखन, अभिनय र निर्देशन रहेको थियो। यसरी नै सन् 2008 मा ‘हाम्रो गाउँको कथा’ (टेलिफिल्म)-को निर्देशन गरे। सन् 2016 मा गान्तोक दूरदर्शनद्वारा निर्मित र प्रसारित पर्यावरणसित सम्बन्धित हिन्दी टेलिफिल्म ‘हरियाली और प्यार’ –मा उनको अभिनय, पटकथा लेखन तथा निर्देशन रहेको थियो। यस टेलिफिल्ममा पनि उनको एउटा हिन्दी गीत रहेको थियो जसको सङ्गीत जीवन प्रकाश प्रधानले भरेका थिए। उनले रचना गरेका अन्य केही गीतहरूमध्ये ‘बिहान हुनअघि’ नाटकमा तीन वटा गीत (सङ्गीतकार – माधव घिमिरे), ‘मृगतृष्णा’ नाटकमा तीन वटा गीत (सङ्गीतकार – सुश्री शान्ति ठटाल), ‘न्यानो घाम’ गीति एल्बममा एउटा गीत र हरि चिन्तन’ भजन एल्बममा एउटा भजन जसमा सङ्गीत माधव घिमिरेले भरेका थिए अनि ‘अनन्तसम्म’ गीति एल्बममा एउटा गीत (सङ्गीतकार –शिला बहादुर मोक्तान) आदि हुन्। यसबाहेक उनले स्वास्थ्य तथा परिवार नियोजन विभाग, सिक्किम सरकारद्वारा निर्मित लगभग 20 वटा भन्दा अधिक विज्ञापन तथा जनचेतनामूलक लघु चलचित्रहरूको लेखन अनि निर्देशन पनि गरेका छन्।

उनको प्रथमपल्ट मञ्चन गरिएको एकल नाटक ‘बौलाहा’ सहित केही एकाङ्की तथा पूर्णाङ्की नाटकहरू अप्रकाशित रहेका छन् भन्ने जानकारी पाइएको छ जसको खोजीनिधि हुन र प्रकाशमा ल्याउन बाँकी नै रहेको छ। उनका नाटकहरूमध्ये आँधी आएपछि (पूर्णाङ्की नाटक) र कटुसत्य, मन, सिद्धार्थ जस्ता एकाङ्की नाटकहरू सिक्किम विश्वविध्यालयको बी.एड. एम.ए. थर्ड सेमेस्टर र एस.पी.एस.सी. र सी.बी.एस.सी. बोर्डका पाठ्यक्रममा पनि अन्तर्भुक्त गरिएको छ।

उनी सरकारी सेवामा रहँदादेखि नै विभिन्न सामाजिक, सांस्कृतिक तथा साहित्यिक सङ्घ-संस्थाहरूसित पनि संलग्न रहेका थिए। उनी हिमचुली नाट्य निकेतन, सिक्किमका अध्यक्ष रहेका थिए। यसै क्रममा उनी सिक्किम प्रतिभा प्रतिष्ठान, पाकिमका संस्थापक महासचिव, गोरेटो-बिसौनी साहित्यिक भेटघाट, पाकिमका संस्थापक, पुष्पाञ्जली विद्यालय, पाकिम अनि पाङ ल्हाबसोल समारोह समिति, राभाङ्लाका संस्थापक सदस्य रहेका थिए। यसबाहेक उनी नेपाली साहित्य परिषद, सिक्किम, कलाकार सङ्घ, सिक्किम अनि दुर्गागढ़ी जनकल्याण सङ्गठन, सिलगढ़ीका आजीवन सदस्य रहेका थिए।

यसप्रकारले साहित्य, संस्कृति र समाज विकास तथा संवर्धनको क्षेत्रमा सक्रिय रहेर ध्रुव लोहागणले पुर्याएको योगदान प्रसंशनीय रहेको छ। उनको कर्मकृति र योगदानको यथोचित मूल्याङ्कन गर्दै धेरै सङ्घ-संस्थाहरूबाट उनलाई अनेकौं सम्मान र पुरस्कारहरूद्वारा अलङ्कृत पनि गरिएको पाइन्छ। यस क्रममा सन् 1996 मा भारतीय दलित साहित्य अकादमी, दिल्लीबाट डा. अम्बेडकर फेलोसिप सम्मान र सन् 1999 मा डा. अम्बेडकर विशिष्ट सेवा पुरस्कारले अलङ्कृत भए। सन् 2005 मा ‘रजनीगन्धा’ कथा सङ्ग्रहको निम्ति डा. शोभाकान्ति थेगिम (लेप्चा) स्मृति पुरस्कार, सिक्किमद्वारा उनी सम्मानित भए। सन् 2008 मा ताक्छाङ, पूर्व सिक्किमद्वारा ‘गाउँले आवाज सागर सम्मान’-ले अलङ्कृत भए अनि त्यही वर्ष नाट्य अभिनय कार्यशालामा प्रशिक्षण गरेबापत सांस्कृतिक मामला एवम् धरोहर विभाग, सिक्किम सरकारद्वारा उनलाई प्रशस्ति पत्र प्रदान गरियो। सन् 2011 मा दक्षिण सिक्किम साहित्य सम्मेलन, नाम्चीबाट ‘शिवकुमार राई स्मृति पुरस्कार’-ले सम्मानित भए। सन् 2012 मा पश्चिम सिक्किम साहित्य प्रकाशन, गेजिङबाट ‘मन’ नाटक सङ्ग्रहको निम्ति ‘लालमान – सञ्चरानी स्मृति पुरस्कारद्वारा सम्मान गरियो। सन् 2016 मा नेपाली साहित्य परिषद, सिक्किमद्वारा ‘भानु पुरस्कार’-ले सम्मानित भए। यसबाहेक दुई दर्जनभन्दा अधिक सङ्घ-संस्थाहरूबाट उनी अभिनन्दित एवं संवर्द्धित पनि भएको पाइन्छ।

साँच्चै उनी अभिनय तथा लेखन कलाका साथ नेपाली साहित्य र समाजप्रति समर्पित एक होनहार व्यक्तित्व थिए। 19 दिसम्बर 2021 मा बाग्राकोटको एउटा पुस्तक विमोचन कार्यक्रममा सहभागी हुन आउँदा यस पङ्क्तिकारलाई पनि उनीसित भेटघाट तथा परिचय साट्ने अवसर जुरेको थियो। तर लगभग डेढ़ वर्ष नबित्दै दिनाङ्क 19 जून 2023 को दिन अचानक हृदयाघात भएर उनको देहान्त भएको समाचार सुन्दा बढ़ो बिस्मात लागेर आयो। यसरी उनी 66 वर्षको उमेरमै आफ्नो परिवार धर्मपत्नी, दुई छोरा, दुई बुहारी र नाता-नातिनाहरूलाई छोडेर यस संसारबाट विदा भए। आज उनी सशरीर हामीमाझ नरहे तापनि उनका कालजयी कर्म-कृतिहरूमा उनी सदैव बाँचिरहनेछन्। हाम्रो स्मृतिमा उनी अमर रहनेछन्। उनको दिवङ्गत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।
सन्दर्भ :-
1) ध्रुब लोहागण (मूल्याङ्कन ग्रन्थ) रचनाको निम्ति अनुरोध पत्र
2) तितो सत्य (कविता सङ्ग्रह) – ध्रुब लोहागण

बाग्राकोट, डुवर्स

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।