18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

अरुण गुप्तोको संस्कृति चिन्तन निबन्ध सङ्ग्रहको कृतिपरक विमर्श

कृति/समीक्षा प्रा. डा. विष्णुप्रसाद पौडेल June 1, 2025, 11:48 pm
प्रा. डा. विष्णुप्रसाद पौडेल
प्रा. डा. विष्णुप्रसाद पौडेल

विषय–प्रवेश
भाषा साहित्यको विद्यार्थी भएको हुँदा मलाई अङ्ग्रेजी केन्द्रीय विभागका कतिपय प्राध्यापकहरूको लेखनले स्वाभाविक रूपमा तान्छ । तान्नुको एउटा प्रमुख कारण उनीहरूको पश्चिमा अध्ययन बढी आधिकारिक होला भन्ने हो भने अर्को समकालीन समयमा विश्वसाहित्यमा के कस्ता चिन्तन र सिर्जना भएका छन् र हामीलाई तिनले कसरी प्रेरित गरेका छन् भन्ने धेरैथोरै सूचना पाइएला भन्ने हो । तेस्रो कारण अङ्ग्रेजी भाषा र साहित्यको एक किसिमको प्रभुत्व (हेजोमोनि) पनि हो किनभने हाम्रो पाठ्यक्रम, शिक्षण पद्धति र ज्ञानको आधिकारिक स्रोत नै लगभग उसैलाई मान्ने परिपाटी विकास गरिँदै आइएको छ । अहिले बजारमा त्यही (अङ्ग्रेजी) बिक्छ । मन्टेस्वरीदेखि नै अभिभावकलाई अङ्ग्रेजी मोहले छपक्कै छोपेको छ ।
मैले पाएजति दुर्गा भण्डारी, श्रीधर लोहनी र सञ्जीव उप्रेतीका अनि केही मात्रामा अभि सुवेदी, इन्द्रविलास अधिकारीहरूका नेपाली सामग्रीहरू निकै उत्सुकतासाथ पढेको छु । तीमध्ये मलाई धेरै सन्तुष्टि दुर्गा भण्डारीका निबन्ध र सञ्जीव उप्रेतीका आख्यानले दिएका थिए । श्रीधर, सञ्जीव र इन्द्रविलासका सैद्धान्तिक समालोचनात्मक प्रतिपादन पनि मलाई सूचनाका दृष्टिले अर्थपूर्ण नै लाग्थे । अभि सरलाई मैले २०४४ सालमा मेरो स्नातकोत्तर तहको शोधको विशेषज्ञ भएर आएपछि चिनेको हुँ । त्यसपछि उहाँका रचना पनि पढेर बुझ्ने धेरै चेष्टा गर्दै आएको छु । तर विषयको कोलाजमय प्रस्तुति वा अवचेतन शृङ्खला वा कथनको सूक्ष्मता वा अरू नै केले हो उहाँका विचारपरक रचनाको पनि गहिराइ त्यति सजिलै भेट्न सके जस्तो लाग्दैन यद्यपि उहाँका प्रशंसक चेलाहरू भने धेरै नै भेटेको छु ।

अहिले मेरो हातमा सोही विभागका प्राध्यापक अरुण गुप्तोको ‘संस्कृति चिन्तन’ नामक निबन्ध सँगालो छ । यो प्रकाशित भएको लगभग दुर्इ वर्षपछि (प्रथम संस्करण २०८० असारमा इन्डिगो इन्क प्रा.लि.बाट प्रकाशित) मात्रै म पढ्दै छु । यसमा पृ.९ देखि २६ सम्म “विचार र भावनाका सिम्फोनी” शीर्षकको अभि सुवेदीको यस कृतिबारे विवेचना छ । त्यसपछि निबन्धका विषयलाई चार खण्ड र विभिन्न शीर्षकमा व्यवस्थित गरी प्रस्तुत गरिएको छ । यसैलाई यहाँ शोधको औपचारिक ढर्राको बोझमा नफँसी कृतिपरक ढाँचामा स्वतन्त्र अन्वेषण र विश्लेषण गरी निष्कर्षमा पुग्ने काम गरिएको छ ।

विषय–विस्तार र विश्लेषण
पहिलो खण्ड नायक–खलनायक शीर्षकमा छ । यसमा आठ वटा विचारपरक निबन्ध छन् । यी सबै निबन्धको वैचारिकता भनेको साहित्य र समाजको नायक र खलनायकीपनको विवेचना नै हो । नायकका रूपमा प्राध्यापक गायत्री चक्रवर्ती स्पिभाक (सन् १९४२) लाई लिइएको छ । पहिलो निबन्ध नै “स्पिभाकः एक भ्यानगार्ड” हो ।

यसमा स्पिभाकलाई संसारकै उच्च बौद्धिकहरूको सूचीमा पर्ने, सिद्धान्त र व्यवहारलाई एक अर्काका पूरक ठान्ने, जस्तोसुकै कोलाजमय परिवेशमा रहेर पनि आफ्नो लेखन गर्न सक्ने, गम्भीर कुरालाई आफ्नै जीवनसँग सम्बन्धित कथाका माध्यमले स्पष्ट पार्ने, जुन भाषाको साहित्य र सिद्धान्त पढाउने हो त्यसको न्यूनतम जानकारी राख्नुपर्छ भन्ने, कुनै कृतिको अनुवाद गर्दा सोही भाषाको जानकारी आर्जन गरेर मात्रै गर्नुपर्ने ठान्ने व्यक्तिका रूपमा चिनाइएको छ । छ लाख तिस हजार अमेरिकी डलरको क्योटो पुरस्कार पाएकी स्पिभाकले सो रकमको धेरै अंश गरिबहरूले पढ्ने स्कुल बनउन खर्चेकी र भारतको असाध्यै गरिबहरू रहेको ठाउँ बंगालको “वीरभूम”मा रहेर उनले शिक्षकहरूलाई तालिम दिएको कुरा पनि उल्लेख गरिएको छ । यस्तै उनलाई खास चिनाउने कृतिमा “क्यान द सवार्ल्टन स्पिक ?” नामक लेख र ज्याक डेरिडाको ‘अफ ग्रामेटोलोजी’ कृतिको अनुवाद मानिएको छ । कोलम्बिया विश्वविद्यालयमा प्राध्यापन गर्ने र साउथ एसिया स्टडिजमा काम गर्ने स्पिभाकको कर्मबाट ज्ञान आर्जनका लागि उमेरले नछेक्ने, मिहिनेतविना ज्ञान आर्जन नहुने, मानिस विचार र व्यवहारमा एकै देखिनुपर्ने जस्ता धेरै प्रेरणा प्राप्त हुन्छन् । आफूले चाहेजस्ता मिहिनेती पाठक वा विद्यार्थी नपाउँदा उनको प्रशस्त गुनासो देखिन्थ्यो भन्ने कुरा जनाउँदै लेखकले आजको विचारशून्य ह्रासोन्मुख हाम्रो समाजप्रति पनि अप्रत्यक्ष व्यङ्ग्य गरेका छन् ।

दोस्रो निबन्ध “मिथकीय खलनायक” मा नेपाली समाजको पितृसत्तालाई कटाक्ष गर्दै ‘शिरिषको फूल’ उपन्यासको खलनायक सुयोगवीरको चर्चा गरिएको छ । नारीलाई निर्जीव वस्तुका रूपमा हेर्ने मानसिकताको दरो उपजका रूपमा सुयोगवीर रहेको र यो मानसिकता नेपाली समाजमा अझै पनि विद्यमान रहेको हुँदा नेपाली साहित्यमा सुयोगवीरको खलनायकीय चरित्र निर्माण धेरै नै उल्लेखनीय मानिएको छ । साथै अहिलेको युग नायकको नभई खलनायकको हो भन्ने सङ्केत पनि यसमा रहेको छ ।

तेस्रो निबन्ध “किसिम किसिमका युवा” मा राजनीतिले युवाहरूको दुरूपयोग गरिदिँदा देश र युवाको भविष्य नै अन्धकारपूर्ण बनेको वर्तमान परिस्थिति निरूपण गरिएको छ । यसमा एकातिर नेपालका सहरी समाजका युवा धेरैजसो बढी शुल्कतिरी निजी कलेजमा पढ्ने र राजनीतिलाई पटक्कै वास्ता नगर्ने, उनीहरूको उद्दश्य नै जसरी पनि विदेश जानु नै रहने, उनीहरूलाई आफ्नो ग्रामीण समाज, प्रकृति र संस्कृतिप्रति कुनै चासो नरहने जस्ता कुरा उल्लेख गरिएको छ भने अर्कातिर ग्रामीण समाजका युवा विश्वविद्यालयमा आए पनि उनीहरू राजनीतिमै लागेर यतानउताका हुने, विश्वविद्यालयमा विद्यार्थीको सजिलै पहुँच हुने तर चालिस प्रतिशत विद्यार्थी मात्रै पढाइमा चासो राख्ने हुँदा विश्वविद्यालयको साख गिरेर “डम्पिङ साइट” बन्दै जाने, राजनीतिक अस्थिरताले गर्दा देश र युवाले सही दिशा नपाउने, उनीहरूका लागि नेतृत्व जिम्मेवार नदेखिने जस्ता विडम्वनापूर्ण समसामयिक सन्दर्भ प्रस्तुत गरिएको छ । साथै राजनीतिलाई युवाले डो¥याउनुपर्नेमा उल्टै कतिपय युवाहरू राजनीतिको गोटी बनेका र कतिपय विदेश पलायन भएको अवस्था देखेर तीप्रति निबन्धकार निकै संवेदनशील बनेका छन् ।

चौथो निबन्ध “एब्ट्रयाक चिन्तनः महानायक” मा महानायक बन्नलाई व्यक्तिमा पूरै युगलाई डो¥याउने ज्ञान र सामर्थ्य हुनुपर्ने भए पनि आजका मानिसमा त्यो सामर्थ्य कतै देखिन्न तर पनि मिडियाबाजी गरेर अक्षरको पगरी गुताइदिने चलन भएको हुँदा निबन्धकारको त्यस्ता महानायकप्रति घृणा भाव व्यक्त भएको छ । नायक बन्न अर्जुनले बृहन्नलासम्म बन्नु परेको थियो । त्यस्तो सङ्घर्ष र आहुतिको भावना अहिले पाइँदैन । अर्को कुरा महानायक एउटा निश्चित जटिल वा निरङ्कुशताको परिवेशले जन्माउने कुरा हो । जोन अफ आर्क, गान्धी, मार्टिन लुथर किङ, मन्डेलाहरू जटिल परिस्थितिले नै जन्माएका नायक हुन् । त्यस्तै बुद्ध, श्रीकृष्ण, शिव आदि पनि जटिल परिस्थितिसँग सामना गरेर नै आआफ्ना समयका महानायक बनेका हुन् तर अहिले महानायक शब्दको गुरुत्व बोध गर्न नसक्नेहरू आफै महानायकको मपाइत्व छाट्दै हिँडेको देख्दा टिठ लाग्ने परिस्थिति बनेको कुरा यसमा सङ्केत गरिएको छ । विशेषतः यसको व्यङ्ग्यको सङ्केत नेपाली चलचित्र र राजनीति क्षेत्रमा देखिएका विद्रूपतातिर लक्षित छ ।

पाँचौँ निबन्ध “हामी अझै रैती” मा वर्तमान कुटिल परिस्थितिको निकै मार्मिक प्रस्तुति रहेको छ । हिजोका घोषित रैती हामी आफ्नै देशमा जेजस्तो भए पनि काम पाउँथ्यौँ तर आज हामी कामको खोजीमा विदेसिनु परेको र पहिचानशून्य अनागरिक वा शरणार्थी भएर विदेशीसामु हात फैलाई बाँच्नु परेको कटु यथार्थ यसमा औँल्याइएको छ । साथै परनिर्भरताले गर्दा स्वदेशका नागरिक पनि स्वाभिमानशून्य भएर बाँच्नुपर्ने बाध्यता हुँदा हिजोको रैतीको भन्दा पनि अझ तल गिरेको अवस्था हाम्रो छ भन्ने निबन्धकारको अनुभूति पाइन्छ जुन धरातलीय यथार्थमा आधारित छ ।

निबन्धका अनुसार आजको मान्छे ग्लोबल कन्फिक्लट, उपभोक्तावाद वा आर्थिक उपनिवेशमा फँसेको छ (पृ.५९) । ऊ पूर्ण नागरिक बन्न पाएको छैन । उसको नागरिकता त शासकलाई शासन गर्ने हतियार मात्रै बनेको छ । प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र जे भने पनि मानिस आफ्नो विवेकले चल्न स्वतन्त्र छैन । डेकार्टले भनेको म सोच्न सक्छु, त्यसैले म छु (आइ थिङ्क, देअर फर आइ एम) भन्ने कुरा आजको मान्छेमा छैन किनभने ऊ कहिले धर्मले, कहिले साम्राज्यवादले, कहिले उपनिवेशवादले, कहिले पुँजीवादले शासित छ । त्यसैले ऊ “इतिहासमा फ्याकिएको निर्जीव वस्तु” (पृ.५९) जस्तो बनेको छ । “कोकोकोलोनियालिज्म, म्याकडोनाल्डलाइजेसन, कन्ज्युमराइजेसनबाट हामी बाहिर निस्कनै सकेका छैनौँ” (पृ.६०) । डिजिटल र भर्चुअल स्पेसमा ती फैलिएका छन् । हिजो रैती बनाउने प्रत्यक्ष देखिन्थे तर आज देखिँदैनन् । प्रविधिले मान्छेलाई झन् झन् धेरै नै बेरोजगार बनाइदिएको छ । त्यसैले हिजोभन्दा आजको रैती रोजगारहीन, पहिचानहीन भएर दुनियाँमा भौतारिनु परिरहेको छ । त्यसैले ऊ हिजोभन्दा आज बढी टिठ लाग्दो देखिएको छ ।

निबन्धकार यस जटिल परिस्थितिबाट मानिसलाई बचाउने भनेको विश्वविद्यालय (विशेषतः मानविकी सङ्काय) को स्वतन्त्र बहस ठान्छन् तर त्यसलाई पनि राज्यले नियन्त्रण गरेको हुँदा त्यहाँबाट पनि रैती नै उत्पादित भएको देख्छन् । साथै सत्य बहुल हुँदा ज्ञान पनि विरोधाभासपूर्ण बनेको र आजको ज्ञानले भोलि विकराल रूप पनि लिन सक्ने अवस्था रहेको हुँदा ज्ञानको यस अपूर्ण र अनिश्चित स्थितिमा पूर्ण स्वतन्त्र नागरिकको कल्पना पनि आफैमा विरोधाभासपूर्ण जस्तो देखिने पनि उनी ठान्दछन् । सारमा भन्दा हामी आफ्नै परिवेश, विज्ञानद्वारा विकसित प्रविधि र उत्तरआधुनिक चिन्तनको स्थितिले झन् झन् बेरोजगार, पहिचानशून्य, निरिह र निरूपाय रैती बनेको कटु स्थितिलाई यस निबन्धमा सूक्ष्म तार्किक विश्लेषणसहित देखाइएको छ ।

छैटौँ निबन्ध “महाआख्यानका महानायिका” मा कुनै पनि कुरालाई जे हो त्यही कोणबाट मात्रै हेरौँ, अतिरिक्त विशेषण थोपरेर त्यसको मूल स्वरूप नबिगारौँ भन्ने भाव व्यक्त गरिएको छ । महानायक र महानायिका हुनलाई व्यक्तिमा अरूलाई दिशानिर्देश गर्नसक्ने एवम् युगपरिवर्तन गर्ने विशेष सामर्थ्य हुनुपर्छ तर वर्तमानमा त्यो सम्भव छैन । हाम्रा सिर्जनामा पुरुष आख्यन नै बढी छन् । राष्ट्रगानमा पनि पुरुषकै बर्चस्व देखिन्छ । सीता, योगमाया जस्ता चरित्रलाई महानायिका बनाउनुको अर्थ पनि पुँजीवादी स्वार्थ नै हो किनभने कुनै एक परिस्थितिमा उनी आदर्श देखिए पनि सबै परिस्थिति (बुहारी, गृहिणी, श्रीमती, भाउजू, मालिक्नी, आमा...) मा आदर्श देखिन सम्भव छैन । सबाल्टर्न महिलाको परिस्थितिले गर्दा आमाको मिथकलाई पनि ध्वंश गरेको कुरा स्पिभाकले पनि जनाएकी छन् (पृ.६५) । त्यसैले राणाशासनले योगमायाप्रति नकारात्मक दृष्टिकोण थुपारेझैँ हामीले अतिशयोक्तिपूर्ण दृष्टिकोण थुपारेर उनको कृतित्वलाई छायामा पार्ने काम नगरौँ भन्ने निबन्धकारको अभिमत देखिन्छ । उनको कलात्मक भनाइ पनि छ– “विशेषताको मुकुट लगाउने बित्तिकै हाम्रो आँखा व्यक्तिको अनुहारतिर नगएर टल्कने सुन र आभूषणतिर जान्छ । टल्केकाले अनुहार पनि देखिँदैन । मुकुटबाट आएको प्रकाशले अन्धो बनाउँछ” (पृ.६४) । त्यसैले महानायक र महानायिका यी आफैमा काल्पनिक कुरा वा व्यक्तिको देवत्वकरण मात्रै हुन् । त्यो यथार्थबाट पलायन नै हो भन्ने सङ्केत यसमा रहेको छ ।

सातौँ निबन्ध “एउटा पोलिम्याथको सम्झनामा” हो । यसमा निबन्धकारका गुरु (अभिसुवेदी र श्रीधर लोहनी) का पनि गुरु अङ्ग्रेजी विभागका पुराना प्राध्यापक कमलप्रकाश मल्लको सम्झना प्रस्तुत गरिएको छ । निबन्धका अनुसार मल्ल नेवारी संस्कृतिका गहन अध्येता भए पनि अरूसँग त्यति नखुल्ने स्वभावका थिए । अङ्ग्रेजी विभागको पाठ्यक्रममा शुद्धतावादी (प्युरिस्ट) दृष्टिकोणको वकालत गर्ने उनी एक्ला सदस्य थिए तर उनको शुद्धतावादी धारणालाई उनकै चेलाहरूले अस्वीकार गरी पाठ्यक्रम परिवर्तन गरेको कुरा यसमा उल्लेख गरिएको छ । पुरानो पुस्ता समयको गतिसँग हिँड्न नचाहँदा कसरी पुस्तागत द्वन्द्व उत्पन्न हुन्छ र त्यसलाई नयाँले कसरी विस्थापित गर्छ भन्ने सङ्केत यसमा देखाइएको छ ।

आठौँ निबन्ध “यो समय राजनीतिक खलनायकहरूको हो” मा दक्षिण एसियामै देखिएका राजनीतिक खलनायकहरूको सङ्केत गर्दै साहित्यिक कृतिमा देखिएका शक्तिशाली खलनायकको पनि चर्चा गरिएको छ । प्रभावशाली खलनायकले समाजमा उत्पीडन निम्त्याउने भएको हुँदा अहिले राजनीतिक खलनायकहरूको बिगबिगी छ । त्यसैले समाजमा धर्म, जाति, क्षेत्र, सम्प्रदाय जस्ता अनेक आधारमा हत्या, हिंसा, घृणा र द्वेष फैलाइएको छ । हुन त खलनायकहरूकै कारण नायकको आदर्श व्यक्तित्व स्थापित हुने हो तर आज खलनायकको प्रतिरोध गर्न सक्ने नायकको उदय हुन सकिरहेको छैन । ‘महाभारत’को एक्लो शकुनीले गान्धारी, कुन्ती, कृष्ण, भीष्म, युधिष्ठिर आदि सबैलाई नाजबाफ बनाई आफन्तको मृत्युको बदला लिइरहेको थियो । त्यस्तै सेक्सपियरको ‘टाइटस एन्डरोनिकस’ मा आफूले बिगारेकोलाई कसैले पनि सपार्न सक्तैन भन्ने वा आफूले जिन्दगीमा कुनै राम्रो काम गरेको भए त्यसप्रति आत्मैबाट पछुतो व्यक्त गर्छु भन्ने चरम खलनायकीपनले भरिएको आरोन, सुतिरहेका राजाको हत्या गर्ने म्याकबेथ, बदला, हिंसा र डरलाग्दो द्वेषले भरिएको इआगो, रवीन्द्रनाथको ‘चोखेर बाली’ मा आफूमाथि भएको अपमानको बदला लिन खोज्ने विनोदिनी, ‘शिरिषको फूल’ मा आफूले मन पराएकी सकम्बरीकै ज्यान लिन तम्सेको सुयोगवीरजस्ता अनेक खलनायक चरित्रको सङ्केत गर्दै ती र तीप्रतिको पाठकीय आकर्षणको कारण पनि खोतलेका छन् । यसक्रममा परिस्थितिको बाध्यताले खलनायक जन्मने मनोवैज्ञानिक शोधको कुरा उनले एकातिर देखाएका छन् भने अर्कातिर मनोवैज्ञानिक विकासवादले मान्छेको मूल चरित्र नै उग्रता र हिंसा निर्धारण गरेको कुरा औैंल्याएका छन् ।

यसरी यस पहिलो “नायक–खलनायक” खण्डमा आएका आठ वटा निबन्धले मूलतः समाज र साहित्यमा देखिने नायक र खलनायकको चरित्र तिनको सान्दर्भिकता अनि औचित्यलाई प्रस्तुत गरेका छन् । यी सबै निबन्ध विचार प्रधान छन् । तर्कशृङ्खलामा उनेर तिनको सिर्जनात्मक प्रतिपादन गरिएको छ । प्रतिपादन वैचारिक रहे पनि त्यो बोधगम्य नै रहेको छ । त्योभन्दा पनि महत्त्वपूर्ण कुरा के छ भने यी सबै निबन्धले समकालीन सङ्कटग्रस्त मानवको नियतिलाई सङ्केत गरेका छन् । नेपाली समाजका सापेक्षतामा अझ यी बढी अर्थपूर्ण देखिएका छन् किनभने यी प्रायः नेपाली समाजमै देखिएका प्रतिबिम्ब हुन् । प्रवृत्तिगत दृष्टिले हेर्दा समकालीनता, समाकालीन समाजको विद्रूपता, व्यङ्ग्यात्मकता, साहित्य चिन्तन, पुस्तागत द्वन्द्व, नारीपक्षधरता, मध्यम प्रयुक्तिको भाषा (मिड रजिस्टर) जस्ता कुरा यस खण्डमा देखिएका छन् ।

दोस्रो खण्ड “देवी विमर्श” हो । पौराणिक–ऐतिहासिक सन्दर्भमा केन्द्रित यस खण्डमा पाँच वटा निबन्ध सङ्कलित छन् । पहिलो निबन्ध “दसैंका देवीः अनेक रूप” मा देवीसम्बन्धी विविध ऐतिहासिक–पौराणिक धारणा विभिन्न उपशीर्षकमा प्रस्तुत गरिएको छ । निबन्धमा इसापूर्व २५०० वर्षअघि नै मोहेन्जोदारोमा नर्तन गर्दै गरेको नारीको काँसको मूर्ति भेटिएको हुँदा मूर्तिनिर्माण र पूजाको इतिहास धेरै लामो रहेको, सिन्धुघाटी सभ्यतामा पनि मानवरूपी प्रतिमाको पूजा गर्ने प्रचलन रहेको, देवीका मूर्तिहरूमा विविधता देखिएको, ती मातृ, कामुक र ज्ञानका रूपमा रहेका, हिन्दु संस्कृतिमा विविध मूर्तिका विविध अर्थ पनि लगाइने गरेको, जस्तै कालीलाई समयको गतिका रूपमा, भैरवीलाई अस्तित्वको अनन्तता र संहारकका रूपमा, तारालाई पुनर्निर्माणको क्षमताका रूपमा, छिन्नमस्तालाई जीवनशक्ति दाताका रूपमा, त्रिपुरा सुन्दरीलाई इच्छा र पूर्णताकी देवीका रूपमा, भुवनेश्वरीलाई सर्वव्यापी अस्तित्वको सहराका रूपमा, कमलालाई पुनर्सङ्गठित एकताका रूपमा, बंगलामुखीलाई नकारात्मक शक्ति नाशकका रूपमा र महाकालीलाई आसुरीशक्ति नियन्त्रकका रूपमा लिइएको (पृ.९२), दुर्गा महात्म्यमै दुर्गाका विष्णुमाया, चेतना, निद्रा, छुधा, तृष्णा, भ्रान्ति आदि अनेक रूप र व्यवहारको चर्चा गरिएको, ती कतिपयमा प्रशस्त विरोधाभास पनि देखिएको, विरोधाभासको स्थिति भव्य कलात्मक मन्दिरमा सामान्यभन्दा सामान्य मूर्ति वा ढुङ्गो राखेर वा शत्रु संहारक भयानक कालीका प्राचीन मूर्तिको अनुहारमा मातृत्व वा चिन्ताको भाव देखाएर प्रस्तुत गरिएको कुरा उल्लेख छ । यस्तै उपभोक्तावादी संस्कृति हाबी हुँदै गएपछि दसैँ अहिले पहाडमा मासु खाने र तराईमा ध्वनि प्रदूषण (मन्दिरका माइकका कारण) बढाउने चाढमा सीमित हुन थालेको कुरा पनि यहाँ आएका छन् ।

निबन्धमा हिन्दु धर्मलाई पाशविक धर्म मान्ने बिस्टन चर्चिल र धर्मलाई अफिम ठान्ने कार्ल मार्क्सको आलोचना पनि गरिएको छ । चर्चिल आफ्नो संस्कृति मात्रै श्रेष्ठ भन्ने धारणाबाट निस्कन नसकेका र मार्क्सले धर्मका बारेमा राम्ररी नबुझिकनै हतारिएर टिप्पणी गरेका भन्ने निबन्धकारको आक्षेप छ (पृ.८८) । यस्तै पारलौकिता अनि प्रकृतिको गहिराइ र गम्भीरता बुझ्ने हो भने यथार्थवादबाट सम्भव नहुने (पृ.९०) हुँदा अध्यात्म दर्शनको सहरा लिनुपर्ने सङ्केत पनि उनले दिएका छन् । निबन्धकारले आफ्नो ‘गडेसेस अफ काठमान्डु’ कृति तयार पार्दा आर्जन गरेको अनुसन्धानको चेतनाले यस खण्डका सबै निबन्ध लाभान्वित छन् । सामान्य जस्तो लाग्ने विषयलाई पनि निकै दृष्टिघनत्व यसमा प्रस्तुत गरिएको छ । निबन्धमा विषय विकीर्ण जस्तो देखिए पनि विभिन्न उपशीर्षकहरूमा तिनलाई प्रस्तुत गरिएको हुँदा भावबोधमा सहजता भएको छ ।

दोस्रो निबन्ध “देवीका विरोधाभास” मा पहिलो निबन्धमै उठान गरेको विषयको विस्तार छ । विभु लेइटेलसँगको कुराकानीमा आधारित यस निबन्धमा काठमाडौँ र भक्तपुरका वाराही र अष्टमातृका देवीहरूको मन्दिरलाई त्यस क्षेत्रको रक्षकका रूपमा वा दिक्पाल, लोकपाल र क्षेत्रपालकै रूपमा लिने गरिएको, नेपालका हिन्दु र बौद्धहरूले मातृकालाई आफ्ना रक्षकका रूपमा लिने गरेका, सरस्वती मात्रै नभई दस महाविद्याका मन्दिर पनि यहाँ रहेका, यहाँका सहर बुझ्न यहाँका मिथक र वास्तुकलाको अध्ययन आवश्यक रहेको, मिथकले हाम्रो पारम्परिक विश्वास र वास्तुकलाले कलात्मक सीप बु्झाउने जस्ता कुराको चर्चा गरिएको छ ।

यस्तै मिथक पारलौकिक वा तिलस्मी ढाँचाका पारम्परिक कथा मात्रै नभई इतिहास पनि हुन्छन् भन्ने कुरा यसमा देखाइएको छ । जस्तै, बुद्ध इतिहास भए पनि उनलाई जन्मनेबित्तिकै हिँडेका, हिँड्दा उनको पाइलामा कमलका सात फूल फुलेका जस्ता किंवदन्ती जोडेर मिथक बनाइएको छ । त्यस्तै पुरातत्त्वशास्त्र वा इतिहासले पुष्टि गर्न नसकिने मिथक भए पनि रामसीतालाई साच्चैको इतिहास ठान्ने राजनीतिक सङ्कथन (डिस्कोर्स) तयार गर्ने गरिएको छ । यस्तो विरोधाभास देवी देवताको मूर्तिमा पनि रहेका छन् । विद्याकी देवी पनि ठानिने बगलामुखी देवीको अनुहार सारसको जस्तो छ । त्यस्तै बदेलको थुतुनो भएका वराहा देवता रहेका छन् । मातृरूपा देवीले महिषासुर दमन गर्न नसकेपछि शत्रुको रगत चुस्ने देवीका रूपमा परिवर्तित भएकी छन् । फेरि आफ्नै शिर काटी महाविद्यामध्येकी एक छिन्नमस्ता देवीले आफ्ना सेविका डाकिनी र वर्णिनीको भोक शान्त गराएको बुझिन्छ । त्यसपछि उनले शिवसँग सम्भोग पनि गरेकी भन्ने प्रसङ्ग पनि छ (पृ.१०१) । यस्तै महाकाल मन्दिरका वज्रयोगिनीका डरलाग्दा मूर्तिलाई ज्ञान र करुणाकी देवीका रूपमा हेर्ने चलन पनि छ । डरलाग्दा देवीका हातमा पुस्तक पनि देखिन्छन् । साथै विकरलता त्रासमात्रै नभई सौन्दर्य पनि हो भन्ने यसबाट पनि पुष्टि हुन्छ (रौद्र, वीभत्स रस हाम्रा काव्यशास्त्रमा वर्णित नै छन्) । निबन्धकार यस्ता सन्दर्भका आधारमा दक्षिण एसियामा विकरलताभित्र सौन्दर्य मिलेर बसेको देख्छन् । यस्ता अनेक विरोधाभासको चर्चा यहाँ गहिरो निरिक्षणका साथ गरिएको छ ।

तेस्रो निबन्ध “मरुभूमि र समुद्रकी देवी” मा मरुभूमिले भरिएको मध्यपूर्वमा प्राचीन समयमा पुजिने इस्तार देवी र चीन र त्यस वरपरका क्षेत्रमा पुजिने माजु देवीको चर्चा रहेको छ । यो निबन्ध विभु लुइटेलसँगको कुराकानीमा आएका कुरालाई नै संयोजन गरेर बनाइएको छ । प्राचीन मेसोपोटामियन सभ्यतामा प्रेम, सौन्दर्य, यौन, प्रजनन शक्ति, युद्ध, न्याय र राजनीतिकी देवी ठानिने इनाना नै कतिपय ठाउँमा इस्तार वा स्वर्गकी रानीका रूपमा चिनिन्छिन् । त्यस्तै चीन, ताइवान, भियतनाम, लाओ, कम्बोडिया, थाइल्यान्ड, म्यानमार जस्ता देशको जलक्षेत्रमा बस्ने माजु पनि स्वर्गकै रानीका रूपमा चिनिन्छिन् । त्यसैले मरुभूमि र समुद्री क्षेत्रमा बसोबास गर्ने यी देवीका समानता र भिन्नताका बारेमा यस निबन्धमा चर्चा गरिएको छ । इस्तर मूलतः युद्धकी र माजु मातृत्व वा स्नेहकी देवी मानिन्छन् । प्राचीन मेसोपोटामियाको काव्य द एपिक अफ गिल्गामेसमा इस्तारको विस्तृत चर्चा पाइन्छ । त्यसमा त्यतिखेरका शक्तिशाली राजा गिल्गामेसलाई इस्तारले भव्य प्रेमप्रस्ताव गर्दा राजाले नसकारेको अनि इस्तारले उनीमाथि आक्रमण गर्न लगाए पनि सफल हुन नसकेको जस्ता प्रसङ्ग आएका छन् । इस्तार अलौकिक शक्ति भएर युद्धका नाममा उनले धेरैको (चरा, घोडाको) हत्या गर्दै हिँडेकी हुँदा लौकिक मानव गिल्गामेसले उनको प्रस्ताव अस्वीकार गरेका र अन्ततः इस्तार पराजित पनि हुनुपरेको देखिन्छ । कतिपयले यसलाई पितृसत्ताका कारण इस्तारलाई राक्षसीका रूपमा प्रस्तुत गरिएको पनि मान्दछन् । त्यस्तै चीन र दक्षिणपूर्वी एसियाका सामुद्रिक क्षेत्रमा पुजिने माजूदेवीले आफूलाई युद्धमा पराजित गरेर विवाह गर्न आमन्त्रित गरे पनि कुनै पनि दानवले पराजित गर्न नसकेको बुझिन्छ । यस्तो प्रसङ्ग ‘दुर्गासप्तशती’ मा पनि आएको छ (जस्तै– यो मां जयति सङ्ग्रामे यो मे दर्पं व्यपोहति । यो मे प्रतिबलो लोके स मे भर्ता भविष्यति ॥ ५/१२०) तर दुर्गाले उनीहरूलाई मारेकी छन् भने माजूले पराजित दानवसँग मैत्रीको हात बढाएकी छन् । त्यसैले भिन्न समयका यी दुई देवीले तत्कालीन संस्कृति बुझ्न त सघाएकै छन् साथै यीमध्ये इस्तार मिथ र माजू वास्तविक बनेर रहेका छन् भन्ने निबन्धको राय छ । यसरी निबन्धकारले यस निबन्धका माध्यमबाट आफ्नो देवी चिन्तनको विस्तृत आयामलाई देखाएका छन् ।

चौथो निबन्ध “कलाको कामुकता एक प्राज्ञिक पाठ” निबन्धमा रति र भक्तिका बिच सतहमा विरोधाभास रहे पनि गहिराइमा गहिरो सम्बन्ध रहेको कुरा निरूपण गरिएको छ । यसमा अघिल्लो निबन्ध “देवीका विरोधाभास” का कतिपय कु्रा पुनरुक्ति पनि भएका छन् । निबन्धका अनुसार हाम्रा देवीदेवता मैथुनरत पनि देखिन्छन् । छिन्नमस्ता देवी पोषण र ज्ञानकी देवी हुन् तर शिवसँग सम्भोग मुद्रामा भेटिन्छिन् । त्यस्तै हिन्दुकी मातृका देवी वज्रवाराही बुद्ध धर्ममा वज्रयोगिनीका रूपमा चिनिन्छिन् । उनको चक्रसम्भरसँग मैथुन आलिङ्गन नेपाली कलामा प्रशस्त भेटिन्छ । त्यस्तै लयपूर्ण आलिङ्गन कालचक्र–विश्वमाता, सम्न्तभद्र–सम्न्तभदृ, अचल–द्वेश्वजृ, हेवज्र–नैरत्म जस्ता देवीदेवतामा देखिन्छन् । हाम्रा मन्दिरका टुँडालका मूर्तिहरू, भारतका विभिन्न ठाउँ र विशेषतः मध्यप्रदेश छतरपुर जिल्लाको खजुराहो मन्दिरहरूका कामुक मूर्तिकला झन् जबर्जस्त देखिन्छन् । तिनमा स्त्री पुरुष मात्रै नभई जनावरहरू पनि रतिक्रियामा मग्न भेटिन्छन् । यस्ता मूर्तिकलाले मन्दिर सजाएका पाइन्छन् । परम्परित नैतिक आँखाले हेर्दा यी अनैतिक जस्ता लागे पनि यिनको प्राज्ञिक पाठ त्यस्तो छैन । “हरेक कला र धर्ममा बहुआयामी विरोधाभासी विषमताको विशेषता हुन्छ” (पृ.१०८) । तिनलाई नबुझेसम्म कला र धर्मको वास्तविकता बुझिन्न भन्ने निबन्धकारको ठहर छ र तिनलाई विभिन्न अर्थ दिएर अर्थ्याउने काम यस निबन्धमा गरिएको छ । यही प्रसङ्गमा तन्त्रयोगका कुरा पनि यसमा जोडिएको छ जसले रति मिलनलाई निषेध गर्दैन । बरु तन्त्रकलामा मन्दिरहरूका कामुक सज्जा र शारीरिक महासुखलाई मोक्षको माध्यम मानिन्छ (पृ.१११) । “योगले शरीरको अनुशासन आध्यात्मिकतातिर उन्मुख गर्छ भने तन्त्रले शरीरको उत्सव मनाउँछ (पृ.११५) । नेपाली बौद्ध र हिन्दू कलामा योग र तन्त्र दुवैको प्रभाव परेको छ । यसलाई सांसारिकताबाट आध्यात्मिक यात्राका रूपमा लिइएको छ । हुन त वैदिक परम्पराको तन्त्रमा खुला यौन आलिङ्गन अस्वीकृत थियो तर पछि छैठौं शताब्दीको गुप्त साम्राज्यको बेलादेखि यसले स्वीकृति पाएको मानिन्छ (पृ.१११) । आध्यात्मिक मोक्षका लागि यौन जति वर्जित छ त्यति नै त्यसको माध्यम पनि बनेको छ । कृष्णका शृङ्गार कथा, शिवपार्वतीका प्रेमकथा जस्ता प्रसङ्गहरू प्रशस्तै पाइन्छन् जसलाई श्रद्धापूर्वक हेरिन्छ ।

पश्चिममा नेकेट र न्युड बिच ठुलो भिन्नता छ । नेकेट अश्लील हो तर न्युड अश्लील नभई कला हो । विश्वप्रसिद्ध न्युड मूर्ति (क्यापिटलिन भेनसको मूर्ति, हाम्रो पशुपतिको उन्मत्त भैरवको मूर्ति) लाई सकारात्मक दृष्टिले हेरिएझैँ चक्रसम्भर–चक्रसम्भरीको यौनालिङ्गनलाई श्रद्धाका साथ हेरिन्छ । कलाले त्यसलाई अझ महत्वको विषय बनाइदिन्छ किनभने कला सांसारिक क्षणिक नैतिकतामा अल्झिदैन । कलाकलाका लागि भन्ने दृष्टिकोण पनि यसमा उत्तिकै सशक्त छ । जीवनजगतका व्याख्या एकै नभई अनेक छन् । कालिदासले पार्वतीको न्युड रूप वा मनोहर शरीरका गुप्त अङ्गहरूको सान्दर्भिक वर्णन गरेकै छन् । शङ्कराचार्यले सौन्दर्य लहरीमा आमा स्वरूप देवीका स्तन, नाभि, कम्मर, नितम्ब आदिको वर्णन गरेकै छन् । शरीर र त्यसका अङ्ग पनि सौन्दर्यपूर्ण छन् भन्ने कुरा यसबाट पनि पुष्टि हुन्छ । एक तहमा पुग्दा कला र धर्ममा नैतिकता, पवित्रता जस्ता कुरा तेजहीन बनिरहेका हुन्छन् । “शिवशक्तिको आलिङ्गनमा कसैले देवत्व पाउँछ भने कसैले यौन आनन्दको पवित्रता हेर्छ, कोहीले उपहास गर्छन् भने कोही लजाउँछन् (पृ.११५) । दृश्य एकै भए पनि दृष्टि अनेक बनिरहेका हुन्छन् ।
कलामा निहित सौन्दर्यले कामुकतालाई नैतिकता भन्दा माथि उठाउँछ । सतहमा हेर्दा त्यो विरोधाभास जस्तो लागे पनि गहिराइमा त्यस्तो हुँदैन । शरीरमा अध्यात्म र कामुकतामा देवत्व हाम्रो धर्म र कलाको विशेषता नै हो । यसलाई बहुआयामिक दृष्टिले हेर्नुपर्छ । हिन्दु परम्परालाई एक आयामिक दृष्टिले हेर्नु पश्चिमा औपनिवेशिक दृष्टिकोण हो । उनीहरूले हिन्दु परम्परालाई हिन्दुइज्ममा परिवर्तन गरे र त्यसमा अज्ञानतावश भारतीय पण्डितहरूले नै उनीहरूलाई सगाए तर हिन्दु परम्परा बहुआयामी र विरोधाभासी छ (पृ.११७) । यसमा वैदिक मात्रै नभई अवैदिक कुरा पनि थपिँदै आएका छन् । पूर्ववैदिक र उत्तरवैदिक कालमा कति देवीदेवता थपिएर हट्दै पनि गए । दुर्गा जस्तै पाथीभरा माई गढीमाईहरू पनि हिन्दु देवी नै हुन् । ती वैदिक देवीमा नपरे पनि समाजद्वारा स्वीकृत छन् । यहाँका स्थानीय र जातीय समाजले आफ्नै देवीदेवता निर्माण पनि गरेको छन् र तिनलाई सबैजसो हिन्दुले मान्दै पनि आएका छन् । त्यसैले पूर्व स्थापित अवधारणा (डिस्कोर्स) भत्कने र नवनिर्माण हुने क्रम वा विनिर्माण धर्ममा पनि लागू हुन्छ र भइरहेको छ भन्ने निबन्धकारको निष्कर्ष छ । पूर्वका राम, कृष्ण, अर्जुन, द्रौपदी, यशोदा, बुद्धतन्त्र, योगदेखि पश्चिमका क्राइस्टको हस्तक्षेपले ज्ञानको नव आयाम निर्माण हुँदै आएको ऐतिहासिक तथ्यलाई यहाँ सङ्केत गरिएको छ । निबन्ध शीर्षक अनुसारकै निकै तार्किक र प्राज्ञिक पाठका रूपमा प्रस्तुत गरिएको छ । यसले बौद्धिक पाठकलाई लोभलाग्दो खुराक पस्केको छ ।

“सांस्कृतिक विविधताको सकस” यस खण्डको अन्तिम निबन्ध हो । यसमा विविधतालाई नसकार्ने एकल सोचले गर्दा समाजमा धेरै सदस्यले अनेक सास्ती बेहोर्नु परेको विषय प्रस्तुत गरिएको छ । उत्तर आधुनिक समयमा विविधता ज्ञानको वस्तु अब्जेक्ट अफ नलेज भए पनि यसलाई भेदभावको दृष्टिले हेरिँदा सकस उत्पन्न भएको छ । हिन्दु परम्परा जो विविधता अङ्गीकार गर्दै आएको छ तर त्यसलाई एकरूपतामा ढाल्नेले विविधताको सौन्दर्य सहन गर्न सकेका छैनन् । बरु एकरूपताका नाममा दमनको हतियार चलाएका अनेक उदाहरण निबन्धमा प्रस्तुत गरिएको छ । हिन्दु धर्मका फरक फरक मान्यता समय सापेक्ष संशोधित हुँदै आएको वास्तविकतालाई यसका कट्टर अनुयायीले स्वीकार्न सकेका छैनन् । फलतः हिजोको छाउप्रथा अझै पनि पूर्णतः हटाउन सकिएको छैन । त्यस्तै दलितमाथिको दमन पनि कायमै छ भन्ने निबन्धकारको राय छ । यो नेपाली समाजको मात्रै नभई दक्षिण एसियाकै समस्याका रूपमा रहेको उनी देख्छन् र भन्छन्– “हिन्दू परम्परालाई हिन्दुइज्म ठोकुवा गरेर एकवचनीय विशिष्टता दिनु दक्षिण एसियाली समस्या हो” (पृ.१२१) । यो उपनिवेशिक निर्माण हो यसले विविधताको सौन्दर्यलाई अस्वीकार गरी उल्टो असमानता, विभेद र दमनको निकास खोजेको छ, जुन दुखद पक्ष हो ।

हिन्दु धर्मका अनन्त विविधतापूर्ण संस्कारलाई समस्याग्रस्त विचारधारा ठानेर एकरूपता दिन खोज्नु नै एक प्रकारको प्रभुत्व चलाउने प्रक्रिया हो (पृ.१२२) । यो प्रक्रिया कानुन, धर्म, पुरुष प्रधानता, उपनिवेश, राष्ट्रियता जस्ता संस्थागत विचारधाराका जगमा बनेको छ । त्यसैले यसलाई भत्काउन सजिलो छैन तर समाजमा यसरी प्रभुत्व चलाउनेप्रति बिन्दा, ओम प्रकाश र मथुरा जस्ता पात्रमार्फत विद्रोह पनि हुन थालेको छ । शरीरलाई अपमान गर्ने, धर्मश्रमलाई सम्मान नगरी उल्टो जातीय विभेद सिर्जना गर्ने मनोवृत्ति आजको समाजमा स्वीकार्य हुँदैन । यो सकसबाट समाजमुक्त हुनुपर्छ भन्ने निचोड यस निबन्धमा रहेको छ ।

निबन्ध सँगालोको यो दोस्रो खण्ड देवी विमर्श देवी सम्बन्धी स्वतन्त्र अनुसन्धानमा आधारित देखिन्छ । यो उपत्यकाली नेपाली समाजमा मात्रै केन्द्रित नभई नेपालबाहिरका विभिन्न मुलुकका देवीसम्बन्धी मूल्यमान्यता र मानकतिर पनि फैलिएको छ । साथै हिन्दू धर्मको विविधता र बहुआयामिकताको पक्षलाई पनि यसले अन्वेषण गरेर एकत्ववादी हिन्दुइज्मप्रति विमति प्रकट गरेको छ । यस खण्डका सबैजसो निबन्ध निबन्धकारको हिन्दुपरम्परा र देवीशक्तिको गहिरो अनुसन्धानबाट लाभान्वित देखिएका छन् । त्यसैले यस विषयप्रति रुचि राख्ने र नव अनुसन्धानको जटिल अन्तर्यमा रमाउने पाठकका लागि यो खण्ड बढी महत्त्वको छ किनभने यसमा स्थापित वा स्थिर धारणाप्रति तार्किक प्रश्न उठाइएको छ । यसले निबन्धकारको खोजअन्वेषणमा आधारित दृष्टिकोणको सूक्ष्मता, नवीनता, व्यापकता, ऐतिहासिकता, पौराणिकता, सांस्कृतिकता, मिथकीयता र बहुलवादप्रतिको उनको गहिरो लगाव जस्ता प्रवृत्तिलाई देखाएको छ ।

तेस्रो खण्ड पात्र विमर्शका रूपमा रहेको छ । यसको पहिलो लेख “इब्सन, बौद्ध दर्शन र रङ्गमञ्च” हो । पहिला अङ्ग्रेजीमा लेखेर नेपालीमा प्रकाश सुवेदीद्वारा अनुवाद गरिएको यस लेखको मुख्य उद्देश्य भनेको घर छाडेर हिँडेका बुद्धको आदिम रूप र यसका साहित्यिक प्रस्तुतिहरूबिचको सम्बन्ध देखाउनु हो (पृ.१३०) । यसका लागि निबन्धकारले इब्सनको नाटक ‘अ डल्स हाउस’ लाई चयन गरेर त्यसभित्रकी पात्र नोराका क्रियाकलापलाई विश्लेषण गरेका छन् । सिद्धार्थ ज्ञानको खोजीका लागि घर छाडेर हिँडेझैँ रङ्गमञ्चीय नोराले पनि स्वत्वबोधका लागि घर छाडेर हिँडेकी हुँदा दुवैबिच साम्यता देख्न सकिने निबन्धकारको विश्लेषण रहेको छ । बुद्धको साहित्यिक अभिव्यक्ति नोराको चरित्र हो भन्ने निबन्धकारको नव तर्क यसमा देखिएको छ । लेखकले यसको सैद्धान्तिक आधारका रूपमा डेभिड इ.आर. जर्जको पुस्तक ‘बुद्धिजम एज इन पर्फमेन्सः एन्यालिसिस अफ मेडिटेसन एन्ड थिएट्रिकल प्राक्टिस’ र रिचार्ड सेक्नरको पञ्चन सिद्धान्तका मुख्य बुँदालाई मानेका छन् (पृ.१३०) । अनुसन्धनात्मक ढाँचामा तयार पारेको यो सामग्री कलात्मक निबन्धभन्दा अनुसन्धनात्मक लेखजस्तो बनेको छ ।

दोस्रो लेख “राष्ट्रवादको अन्ध श्रद्धा र प्रश्नहरू” मा एक रूपताको खोजी गर्ने पञ्चायती राष्ट्रवादप्रति अनास्था र बहुलता अनि विश्वव्यापीकरणको पक्षधरता प्रस्तुत गरिएको छ । आजको युगमा भावना, संवेदना र व्यक्तिगत विचारभन्दा पनि विश्वव्यापी प्रणालीमा आफूलाई कसरी उभ्याउने, अगाडि लैजाने, विकास गर्नेतिर केन्द्रित हुनुपर्छ र त्यसैका लागि प्रयत्नरत रहनुपर्छ भन्ने यसको अपेक्षा छ । भूमण्डलीकरणको यस युगमा राष्ट्रवादको सङ्कीर्णतामा अल्झिनु भनेको आफैलाई पछि पार्नु हो । यो बहुराष्ट्रिय कम्पनीको युग हो । त्यसैले कलासाहित्यमा राम्रो लाग्ने राष्ट्रवादको सान्दर्भिकता व्यवहारमा छैन भन्ने यसको जिकिर छ । निबन्ध अझ भन्छ– जनतालाई अँध्यारामा राखेर राष्ट्रवादको गीत गाउने युग यो होइन । विकासका लागि सबैतिर चाहर्ने युग हो । सञ्चारक्रान्तिको युगमा अरूबाट अपरिचित भएर बस्न सकिन्न । धेरैतिरको भाषा, संस्कृति र सभ्यताबाट परिचित भएर आफूलाई अनुकूल गर्दै लानुपर्छ । अरूबाट पनि लिएर आफूलाई दरिलो बनाउँदै अङ्ग्रेजी भाषाबाट हामीले सिक्न सक्नुपर्छ । अहिलेको संस्कृति हाइब्रिडिटी हो । विशुद्धता होइन । अरूतिरको प्रभाव अब रोक्न सजिलो छैन । शक्तिराष्ट्रको प्रभावबाट मुक्त हुन आफूलाई पनि शक्तिशाली बनाउँदै लानु नै उत्तम विकल्प हो । छिमेकी भारत र चीन बिना पनि टिक्न सक्ने क्षमता विकास नगरेसम्म हामी उनीहरूबाट हेपिनु नै पर्छ । कोरा राष्ट्रियताको नाराले हामी धानिन सक्दैनौँ । हामीले हाम्रोपनको संरक्षणसँगै समृद्धिको दिशामा बढ्नुपर्छ । नेपाली समाजमा आफ्नोपन खानपिन, भाषा, भेषभूषा, जीवन पद्धति जस्ता अनेक कुरामा भेट्न सकिन्छ तर राष्ट्रियताले मान्छेलाई आवेगी, उद्वेगी र कट्टरपन थोपरेर पागल तुल्याउँछ । त्यो राष्ट्रवाद महाख्यान (बुद्धमार्गी, मार्क्सवाद, गान्धीवाद) जस्तो हो । आज त्यसको केही कुरा मात्रै काम लाग्छन् । सबै लाग्दैनन् । राष्ट्रियता एक किसिमको अन्धश्रद्धा पनि हो । यसले आम नेपालीका दैनन्दिनीका समस्या समाधान गर्दैन । कुनै पनि सिद्धान्त आफैमा साधन मात्रै हो, साध्य होइन । साध्य प्राप्तिमा त्यसको सदैव उत्तिकै महत्त्व नहुन सक्छ । त्यसैले त्यो आज कतिको उपयोगी छ सोही आधारमा त्यसलाई लिने र छाड्ने गर्नु नै बुद्धिमानी हो । यो नै अन्तिम सत्य हो । यही कोणबाट आज राष्ट्रियतालाई हेरिनुपर्छ । राष्ट्रियतालाई साँगुरो घेरामा राख्नुहुन्न । नेपाली क्रिकेट वा फुटबल खेलाडीले विदेशीसँग खेल्दा जसरी हिमाल, पहाड र तराईका नेपालीले आफ्नोपनको बोध गरी साथ दिन्छन्, त्यही हो राष्ट्रियता । यसको आफ्नोपनमा व्यापक सहिष्णुताको भाव देखिनुपर्छ भन्ने भाव यस निबन्धमा रहेको छ ।

तेस्रो निबन्ध “असहिष्णु मिडियाका विपक्षमा” हो । यसमा अभिनेत्री मनिषा कोइरालाले आफ्नो देशको सीमाका पक्षमा बोल्दा भारतीय मिडियाले “भारतका खाओगी, चीनका गाना गाओगी” भनेर आलोचना गरेको सन्दर्भलाई लिएर ती मिडियाका विपक्षमा बोलिएको छ । ग्लोबल नागरिकको धारणा विकास हुँदै आएको बेलामा यस किसिमको सङ्कीर्णता स्वीकार्य हुन्न । व्यक्तिमा आफ्नो संस्कृतिप्रतिको आकर्षण हुनु स्वाभाविकै हुन्छ । साथै ऊ अन्तर्राष्ट्रिय संस्कृतिको पक्षधर पनि बन्न सक्छ । कसैले कही गएर आफ्नो कला प्रदर्शनी गरी ख्याति कमाउँछ भने ऊ त्यही देशको अन्धभक्त बन्नुपर्छ भन्ने पनि हुँदैन । बेलायत र भारतको क्रिकेट खेलमा बेलायती–भारतीयहरूले भारतको पक्षमा बोले भने तिनीहरूलाई बेलायत विरोधी ठानिनुहुन्न किनभने व्यक्तिको बहुसांस्कृतिक योगदानको पक्षलाई बुझ्नुपर्छ भन्ने निबन्धकारको तर्क छ ।

चौथो निबन्ध “दक्षिण एसियाली लोकतन्त्रका तीन पिलरः गान्धी, पाकिस्तानी आन्दोलन र जनयुद्ध” हो । यसमा कला र लोकतन्त्र आपसमा सम्बन्धित भएको कुरा राख्दै दक्षिण एसियाका राजनीतिक गतिविधिमा गान्धीको चिन्तनको प्रभाव रहेको पुष्टि गर्न खोजिएको छ । यस क्रममा नेपालको मल्लकालदेखिकै वास्तुकला र तिनले अपेक्षा गरेको उन्मुक्ति वा लोकतन्त्रको चर्चासँगै पाकिस्तान र नेपालका राजनीतिक घटनाक्रममा देखिने गान्धीको प्रभाव पनि खोजिएको छ । बारम्बार सैनिक शासन लागू भए पनि पाकिस्तानमा त्यो टिक्न नसकी लोकतान्त्रिक बाटोमै लागेको र नेपालको जनयुद्धले पनि अन्ततः लोकतान्त्रिक बाटो अनुसरण गर्न बाध्य भएको प्रसङ्गको चर्चा यहाँ गरिएको छ ।

लोकतन्त्रलाई खतरा निबन्धकार मूलतः दुई कुराले हुने देख्छन्– क. शासकको दीर्घकालसम्म शासन गर्न खोज्ने मनोवृत्ति र ख. विज्ञानलाई अस्वीकार गर्ने चेतना । जनमत लिएरै भए पनि दीर्घकालसम्म शासन गर्ने चाहना अहिलेको विश्वका शासकमा एकदमै बढ्दो देखिएको छ तर यसले शासक अन्ततः निरंकुश बन्ने निबन्धकारको तर्क छ । यसैका निम्ति जात, सम्प्रदाय, वर्ण, धर्म जस्ता नारा दिएर जनमत हत्याउने गरिन्छ । यो नवनिरङ्कुशताको लक्षण हो । यस्ता शासक विज्ञानको चेतनालाई अस्वीकार गर्न लाग्दछन् तर लोकतन्त्रको विकासमा विज्ञानको ठुलो हात छ । विज्ञानकै कारण पश्चिममा पुनर्जागरण युग सुरु भएको थियो । विज्ञानको प्रभाव औद्योगीकरणमा मात्रै नभई धर्म र मानव व्यवहारमा पनि देखिँदै गएको थियो तर एक्काइसौँ शताब्दीमा आइपुग्दा विज्ञानलाई अस्वीकार गर्न थालिएको छ ।

विज्ञानले देखाएको पर्यावरणीय समस्यालाई बेवास्ता गरी विकासको रटान लगाउन थाल्दा धरातलसँगै लोकतन्त्र पनि खतरामा परेको छ । विज्ञान भनेको प्रयोग परीक्षण पश्चात् आफूलाई सुधार्दै लाने सोच हो तर शासकहरू सुध्रिन तयार छैनन् । विज्ञान विरोधी धर्म र राष्ट्रवादको हतियार चलाएर शासकहरू सत्तामा टिकिरहन खोजेका छन् । विशेषतः ठुला राष्ट्रमा यो प्रवृत्ति हावी छ र त्यसको प्रभाव साना राष्ट्रमा पनि पर्न सक्छ । अमेरिकी, फ्रान्सेली, रुसी र चिनियाँ क्रान्तिको प्रभाव विश्वव्यापी बन्यो तर नेपालको माओवादी क्रान्ति जो अन्ततः लोकतन्त्रको बाटोमा हिँड्न बाध्य भयो । त्यसको प्रभाव भने विश्वव्यापी बन्न सकेन । फलतः धेरै मुलुकमा अहिले पनि माओवादी एकहोरो गन्तव्यहीन भई लडिरहेका छन् । यदि नेपाली माओवादी क्रान्तिको लोकतान्त्रीकरणलाई हामीले सैद्धान्तीकरण गर्न सकेका भए त्यसको प्रभाव अरूहरूमा पनि पर्न सक्थ्यो भन्ने निबन्धको आशय रहेको छ । यस्तै निबन्धको अन्त्यमा उत्तर उपनिवेशवाद, नारीवाद, मार्क्सवाद र कलाले मानिसलाई बढी संवेदनशील बनाउने भएकाले यो नै लोकतन्त्रको खास पोषक तत्त्व हुने र यसले नै आवाज विहीनहरूको आवाज बोलिने तर्क पनि प्रस्तुत गरिएको छ । अहिलेको लोकतन्त्रले सबार्ल्टन समुदायको आवाज सुनी उनीहरूलाई केन्द्रमा ल्याउन भूमिका खेल्नुपर्ने यस निबन्धको आशय रहेको छ ।
पाँचौं निबन्ध “गुन्द्रुकको साइनो” मा राष्ट्रवाद ठिक होइन तर विभिन्न वस्तुमा भेटिने नेपालीपन ठिक हो भन्ने भाव प्रकट भएको छ । धेरैजसो नेपालीहरूले गुन्द्रुकमा नेपालीपन भेट्छन् । त्यस्तै कतिपयले अरू कुरा पनि भेट्छन् तर राष्ट्रवादले हामीलाई अरूबाट छुट्याउँछ । अरूको अस्तित्व नामेट पार्नतिर पनि यो लाग्न सक्छ । भूमण्डलीकरण र अन्तर्राष्ट्रिय नागरिकको यस युगमा विविधता र बहुलता महत्त्वको हो । एकरूपतामा जोड दिने राष्ट्रवाद ठिक होइन भन्ने अघिल्ला निबन्धहरूकै निष्कर्ष यसमा पनि पुनरुक्ति भएको छ ।

छैटौं निबन्ध “किताब” मा निबन्धकारलाई आफ्नो घरायसी परिवेशले नै किताब पढ्न प्रेरित गरेको र आजीवन किताबसँगै उठबस गरेर जीवन चाखिलो बनाएको बताएका छन् । आफ्नो जिज्ञासुपनले पहिला उपन्यास र पछि सिद्धान्तका किताब पढ्न थालेको उनी जनाउँदछन् । त्यस्तै अनूदित किताब पढ्दा सही अनुवाद पैलाएर पढ्न सकियो भने मात्रै मूल किताबको मर्म बुझिने अन्यथा भ्रममा परिने कुरा पनि उनले जनाएका छन् । त्यस्तै किताबमा डुब्न थालेपछि मान्छे क्रमशः असामाजिक वा अव्यावहारिक बन्ने स्थितितिर पनि यसले सङ्केत गरेको छ ।
सातौँ लेख “संस्कृति जहिले धरापमा हुन्छ” हो । यो दीपक सापकोटा र लक्ष्मण श्रेष्ठले अरुण गुप्तसँग लिएको अन्तर्वार्तामा आधारित छ । यसमा धेरैजसो अघिल्ला निबन्धहरूको भावको पुनरुक्ति रहेको छ । अङ्ग्रेजी केन्द्रीय विभागमा संस्कृति अध्ययनको प्राध्यापन गर्ने गुप्तले संस्कृतिलाई मसिनोसँग केलाउँदै त्यसपछि आफ्नो राय यसरी प्रस्तुत गरेका छन्–
संस्कृति अध्ययनका सांस्कृतिक मानवशास्त्र (कल्चरल एन्थ्रोपोलोजी) र सांस्कृतिक अध्ययन (कल्चरल स्टडिज) दुई शाखा छन् । सांस्कृतिक मानवशास्त्र वस्तु उत्पादनसँग सम्बन्धित छ । जस्तै– नेपालीका सन्दर्भमा खुकुरी, टोपी, दौरा–सुरुवाल, गुन्द्रुक, ढिँडो आदि । सांस्कृतिक अध्ययन दैनन्दिनीका घटनाहरूको अध्ययन हो । सुरु (औपनिवेश काल) मा संस्कृति भनेको उच्चवर्गीय परिष्कार वा स्तरीकृत रूप मात्र ठानिन्थ्यो तर पछि उत्तर औपनिवेशिक कालमा यो जनसामान्यको दैनन्दिनीमा व्याप्त भयो । अहिलेको सांस्कृतिक अध्ययन त सीमान्तकृत समुदायमा सीमित हुँदै आएको छ । यसमा वाम विचारधाराको प्रभाव पनि राम्रै परेको छ । समाजका सीमान्तकृत समुदायको पैरवी गर्ने क्रममा यसले राजनीतिक शक्तिसँगको उनीहरूको सम्बन्ध पनि केलाउँछ । यसले सबै संस्कृति प्रगतिशील नै हुने ठान्छ र उनीहरूको आधुनिकता पनि आआफ्नै संस्कृतिसापेक्ष विषयमा आधारित हुन्छ भन्ने ठान्दछ । यसले पश्चिमी संस्कृति मात्रै राम्रो र आधुनिक छ भन्ने सोचाइलाई नकार्छ । जङ्गलमा विचरण गर्दै हिँड्ने निश्चित बासस्थान नभएका फिरन्ते राउटेहरूको संस्कृति पनि उत्तिकै महत्त्वको हुन्छ । सांस्कृतिक अध्येताले उनीहरूको आधुनिकता, पराभौतिकता, रहस्य (म्याजिक) र ज्ञान (प्रकृतिप्रतिको सामीप्यता) को अध्ययन गर्नुपर्छ ।

संस्कृति र राष्ट्रियतामा एक किसिमको विरोध हुन्छ किनभने राष्ट्रियता एकल (सिङ्गुलर) अवधारणा हो भने संस्कृति बहुल (मल्टी) अवधारणा हो । राष्ट्रिय एकताको कुरा गर्दा एउटै भाषा एउटै भेषका कुरा आउँछन् तर संस्कृति अनेक भाषा र भेषको छ । राष्ट्रियताले नेपाली जातिको साझा पहिचानको कुरा गर्छ । राष्ट्रलाई बाध्न त्यो आवश्यक पनि हुन्छ । पूर्ण सचेत समाजको विकास भइनसकेको हाम्रो अहिलेको अवस्थामा त्यो आवश्यक पनि छ तर राष्ट्रियताका नाममा हामी र तिमी भनेर अरू संस्कृतिप्रति विभेद गर्ने, त्यसैका नाममा नरसंहार मच्चाउने, हिजोको युरोपेली सोचबाट हामी मुक्त हुनुपर्छ । संस्कृति र राष्ट्रियतामा देखिने विरोधाभाषलाई न्यूनीकरण गर्दै जानुपर्छ । उग्रराष्ट्रवाद स्वीकार्य छैन । सबै पहिचानलाई सम्मान गर्ने सांस्कृतिक राष्ट्रवादद्वारा त्यस उग्रराष्ट्रवादलाई विस्थापित गर्दै लानुपर्छ ।

सांस्कृतिक राष्ट्रवादको अर्थ फेरि दक्षिण एसियालाई नै हिन्दुत्वको छातामुनि राख्ने सोच पनि बनाउनुहुन्न । दार्जिलिङको प्रशान्त तामाङलाई सबैतिरका नेपालीले भोट गरेर इन्डियन आइडियल बनाउनु, नेवारको इन्द्रजात्रा वा तराईको छठ पर्वमा सबै नेपाली सहभागी हुनु, नेपालीले विदेशीसँग खेल्दा संसारभरिकै नेपाली उनीहरूको पक्षमा उभिनु जस्ता व्यवहार सांस्कृतिक राष्ट्रवाद हुन् । यसमा परम्परित राष्ट्रियताका सीमा पनि अतिक्रमित हुन्छन् । त्यही भएर भारतीय नागरिक प्रशान्त तामाङलाई नेपालका नागरिकले पनि भोट गरिरहेका थिए । त्यस्तै नेपाली टिमलाई भारतीय, बर्मेली, बेलायती नेपालीहरूले समर्थन गरेका हुन् । मान्छे जहाँको नागरिक भएपनि आफ्नो मूल जरो र स्मृति बिर्सन सक्दैन (पृ.१७१) । त्यसलाई भूगोल र पासपोर्टले रोक्न सक्दैन ।

दुनियाँमा जसले राजनीतिक आर्थिक शक्ति विस्तार गर्दै लान्छ उसको संस्कृतिको प्रभाव पनि विस्तार भइरहेको हुन्छ । अहिले अमेरिकाको सांस्कृतिक साम्राज्यवाद विस्तार भइरहेको छ । जस्तै हामी पन्चेबाजा बजाएर टोपी, दुबाको मालासँगै टाई सुट लगाएर हिँड्छौँ । चाडबाडका हाम्रा परिकारसँग कोक अनिवार्य बन्न थालेको छ । हाम्रो शिक्षा अङ्ग्रेजी भाषा अनिवार्य छ । जीवनशैली भेषभूषा पनि अङ्ग्रेज अनुकूल बन्दै गएको छ ।

सांस्कृतिक कथा, इतिहास, परम्परा, मनोरञ्जन (म्याजिक) र ज्ञान (कग्निसन) हरू नै पछि पछि मिथकका रूपमा परिवर्तन हुन सक्छन् । यथार्थ व्यक्ति (बुद्ध, लक्ष्मीप्रसाद) पनि आधा सत्य र आधा कल्पना जोडेर त्यसलाई कालान्तरमा मिथक बनाउने गरिन्छ । समाजमा परम्परादेखि चल्दै आएका यस्ता मिथकीय कथाहरू प्रशस्तै भेटिन्छन् । तिनमा मानिसको प्रशस्त कल्पनाशीलता र प्रकृतिसँगको सान्निध्यता देखिन्छ तर आजको मान्छे प्रकृतिबाट धेरै टाढिएको हुँदा यान्त्रिक छ । पितृसत्तात्मक सामाजिक संरचनामा मिथक पनि सोहीअनुरूपका निर्माण गरिन्छ । देवीदेवतासँग सम्बद्ध काठमाडौँ र दक्षिण एसियाकै मिथकहरूलाई मुख्यतः पर्यावरणीय चेत र देवीलाई ज्ञानको रूपमा लिने प्रवृत्ति बढी छ (पृ.१७६) । त्यसो त आज सांस्कृतिक महत्त्वका मूर्तिहरूको आकृति नै परिवर्तन गरी बनाउन थालिएको छ । कतिपय देवीका मूर्तिको अनुहारमा हिरोनीको झल्को भेटिन्छ तर पुराना मूर्ति हेर्ने हो भने एकै मूर्तिमा अनेक भाव (क्रुर र करुण) को संश्लेषण पनि भेटिन्छ । जस्तै हनुमान ढोकाको महाकाल मूर्ति (पृ.१७८) । त्यस्तै मन्दिरहरूका टुँडालहरूमा देखिने यौनरत आकृतिले पनि मन्दिरसँग विरोधको भाव देखाएका छन् । यस्ता विपरीत भावबाटै वास्तविक आस्था र समर्पण निर्माण हुने ठानिन्छ (पृ.१७८) । भौतिक सुख भोगेर अध्यात्मतिर लाग्ने हाम्रो शास्त्रीय विधान नै छ । ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ र सन्यास आश्रमले त्यसैलाई सङ्केत गरेका छन् ।

यसरी यस अन्तर्वार्तामा संस्कृतिलाई राष्ट्रियता र मिथकका सन्दर्भमा मिहिन रूपमा स्पष्ट पार्ने काम भएको छ । यस क्रममा संस्कृतिको गतिशील स्वभाव र अन्य संस्कृतिको दब्दबाका कारण पनि हिजोको संस्कृतिले आफ्नो पहिचान गुमाउने खतरा पनि भइरहने सङ्केत पनि यहाँ रहेको छ ।

आठौँ निबन्ध “समालोचनाको एउटै राम्रो पुस्तक छैन” मा नेपाली साहित्यलाई दुनियाँ समक्ष चिनाउन आधिकारिक अनुवाद र साहित्यिक रचनाको अनेक कोणीय समालोचना आवश्यक हुने भए पनि ती दुवै नदेखिएकाले लक्ष्मीप्रसाद देवकोटा जस्ता साहित्यकार दुनियाँले चिन्न नपाएको गुनासो गरिएको छ । अनुवाद अङ्ग्रेजीमा मात्रै नभई अन्य क्षेत्रीय भाषामा पनि गरिनुपर्ने निबन्धकारको राय छ । यस्तै गम्भीर प्रकृतिका साहित्यिक चरित्र (जस्तै सुयोगवीर)को अभिनय त्यस्तै पारङ्गत अभिनेता (जस्तै अमिताभ बच्चन, नसिरुद्धिन साह, राजेश हमाल, सुनील पोखरेल) ले मात्रै गर्न सक्ने, उदार लोकतन्त्र र मानव अधिकार जस्ता अवधारणाहरू पश्चिमले पूर्वलाई दिएको नभई उत्तर उपनिवेशवादको सङ्घर्षका क्रममा विकास भएका हुन् जस्ता कुरा पनि यहाँ प्रसङ्ग वा सङ्केत गरिएको छ ।

नवौँ निबन्ध “क्राइम एन्ड पनिस्मेन्टको १५० वर्ष” मा रुसी उपन्यासकार फ्योदोर दोस्तोयब्की (सन् १८२१–१८८१) को “क्राइम एन्ड पनिस्मेन्ट” उपन्यासको १५० वर्षपछिसम्मको सामर्थ्यलाई चर्चा गरिएको छ । यस क्रममा मध्यमवर्गीय धार्मिक परिवारका दोस्तोयब्स्की आफूपूर्वको चिन्तन र साहित्य लेखनप्रति पूर्ण परिचित भए पनि विचार र तर्कले मानिसलाई निश्चित गन्तव्यमा नपु¥याउने हुँदा युरोपेली सचेतना युग (इन्लाइट मेन्ट एज) को विरोध गर्दथे । साथै उनी रुसी जारशाही शासकका पनि विरोधी हुँदा साइबेरियामा रहेर चार वर्षसम्म कठोर श्रम गर्ने सजाय पनि पाएका थिए ।

यस उपन्यासलाई समालोचकहरूले निस्सारतावादी ठाने पनि निबन्धकार “यही निस्सारतामा आशा लुकेको” (पृ.१८५) देख्छन् तर फेरि दोस्तोयब्स्कीको दार्शनिक योगदान त निस्सारतावाद नै ठान्छन् (पृ.१८८) र उपन्यासमा रस्कोल्निभ चरित्रबाट त्यो प्रकट भएको जनाउँछन् । निबन्धकारका अनुसार दोस्तोयब्स्कीमा कतै फ्रेडारिक नित्सेको जस्तो सक्रिय निस्सारतावाद र कतै सेफिन हाउरको जस्तो निस्क्रिय निस्सारतावाद रहेको ठान्दछन् (पृ.१८८–८९) । यस्तै “मानवताको विराट दृश्य” (पृ.१८५) भएको यो उपन्यास समयको गतिसँगै हिँडेको हुँदा दीर्घकालसम्म जीवित हुने निबन्धकारको ठम्याइ छ । त्यसैले यो विगत १५० वर्षदेखि प्रासङ्गिक बनिरहेको छ ।

उपन्यासमा मृत्युदण्ड पाए पनि वा जस्तै प्रतिकूलता झेलेर भए पनि मान्छे बाँच्न चाहन्छ; जिजीविषा नै उसको प्राथमिक कुरा त्यही हुन्छ भन्ने देखाइएको छ । उपन्यासका कतिपय पात्र (रस्कोलिनकोभ, सोन्या) मा विरोधाभासका स्थिति देखिएका छन् । उपन्यास बहुस्वरात्मक पात्रहरू (सोन्या, दुन्या, मार्मेलाडोभ) ले भरिएको छ । उपन्यासमा कलाको त्रास सिर्जना गरिएको छ । यसमा समस्याको समाधान दिन लागिएको छैन । त्यसैले पनि यो कालजयी बनेको छ भन्ने निबन्धकारको आशय रहेको छ ।

यसरी पात्र विमर्श खण्डका यी नौ निबन्धमा मूलतः राजनीति, समाज दर्शन र साहित्य विषयक चिन्तन प्रस्तुत गरिएको छ । यिनमा साहित्य तथा राजनीतिका क्षेत्रमा देखिएका ऐतिहासिक पात्रहरूको विमर्श मूल रूपमा रहे पनि अन्य विषय पनि आएका छन् । कतिपय ठाउँमा यी विकीर्ण धारणा जस्ता लागे पनि निबन्धका शीर्षक र उपशीर्षकहरूले नै तिनलाई सीमाबद्ध गर्ने काम गरेका छन् । उत्तर आधुनिक वैचारिकता, समसामयिकता, सांस्कृतिकता, अनुसन्धनात्मकता जस्ता प्रवृत्ति यहाँका निबन्धमा पनि देखिएका छन् । कुनै निबन्ध (किताब) मा लेखकको व्यक्तिजीवनको अनुभव र अनुभूति बढी व्यक्त भएको पनि छ भने धेरैमा लेखकीय दृष्टिकोण विभिन्न विषयसँग सम्बद्ध भएर आएको छ ।
चौथो खण्ड “विश्वविद्यालय र सहर” हो । यस खण्डको पहिलो निबन्ध “कहाँ हरायो त्यो आदर्श सहर” हो । यसमा काठमाडौँको सहरीकरण गरिँदा पार्क, खेलमैदान, सार्वजनिक स्थल, पर्याप्त नदी किनारा जस्ता खुला ठाउँहरूको जसरी व्यवस्थापन गर्नुपर्ने थियो त्यो नगरिँदा कंक्रिटको जङ्गल मात्रै बनेको कुरा सङ्केत गरिएको छ । मानवीय आवश्यकताका नाममा प्रकृतिलाई समाप्त पार्दै जानु आत्मघाती प्रवृत्ति हो । काठमाडौँको मलिलो खेतीयोग्य जमिनमा कंक्रिटका महल खडा गर्ने, नदीको सीमा मित्दै जाने, नदीलाई नदी जस्तो भएर बग्न नदिने ढलमा परिणत गर्ने, दिगो विकासको सोचलाई वास्ता नगर्ने, आवास, वाणिज्य व्यापार, शैक्षिक, धर्म संस्कृति, खेलकुद, मनोरञ्जन जस्ता क्षेत्रको अलग अलग व्यवस्था नगरी छ्यासमिस पार्ने, धरती मान्छेको मात्रै नभई अरू प्राणीको पनि हो भन्ने कुरा नबुझ्ने, वनको विनाशद्वारा त्यहाँका प्राणीहरूको जीवन सङ्कटमा पार्ने, पर्यावरणीय विनाशद्वारा मान्छे स्वयं पनि सङ्कटमा पर्ने सहरको जलवायु प्रदूषण स्तर ह्वात्तै बढ्दो स्थितिले मानव स्वास्थ्यमा अनेक समस्या देखिने जस्ता कुरा यसमा आएका छन् । यो स्थिति काठमाडौँ, कलकत्ता जस्ता सहरमा देखिन्छ ।

प्रकृति र कलाको मेल भएको मानवेतर प्राणी (चराचुरुङ्गी, कुकुर, बिराला, मौरी) लाई पनि बस्ने ठाउँ भएको, भूबनोट अनुसारका भवन निर्माण गरिएको, सांस्कृतिक र ऐतिहासिक स्थलको संरक्षण गरिएको सहर निर्माण गर्नुपर्ने हो तर काठमाडौँमा त्यसो हुन सकेको छैन । यो प्राचीन सांस्कृतिक सहरका रूपमा विकसित गर्नुपर्ने हो तर एकै ठाउँमा राजनीतिक आर्थिक र प्रशासनिक राजधानी बनाउँदा अनि गगनचुम्बी हाउजिङको लस्कर खडा गर्न थाल्दा यसको प्राचीन आदर्शपन समाप्त हुँदो छ भन्ने चिन्ता निबन्धकारको देखिएको छ । (यसप्रति वर्तमान मेयर बालेनले चासो देखाएर काम गर्न खोजेको पाइन्छ ।)

दोस्रो निबन्ध “पृथ्वीको पुरातन रिस” मा करोडौं प्राणीको जस्तै पृथ्वी मान्छेको पनि हो तर मान्छेले मेरो मात्रै हो भनी अरू प्राणीको शोषण गर्न थाल्दा वा मांसाहारका नाममा तिनको अस्तित्व समाप्त पार्न थाल्दा नै मान्छे स्वयं कोरोना भाइरसको सिकार बनेको तथ्य प्रस्तुत गरिएको छ । यो भनेको पृथ्वीलाई मान्छेले कुरूप बनाएको हुँदा पृथ्वीले पनि मान्छेसँग रिस फेरेको भन्ने रूपमा यहाँ चर्चा गरिएको छ ।

तेस्रो निबन्ध “नदीहरूको मृत्यु” मा पनि अव्यवस्थित सहरीकरणका नाममा काठमाडौँका नदीहरूले आफ्नो मौलिक अस्तित्व गुमाएको कुरा विभिन्न प्रसङ्ग जोडेर भनिएको छ । काठमाडौँ प्रदूषित सहरमा परिवर्तित हुँदै गएकाले पर्यटकका लागि पनि यो बस्न योग्य क्षेत्र बनेको छैन । पर्यटनको विषय अब प्राकृतिक पर्यावरण र राजनीतिक पर्यावरण दुवैसँग गाँसिन पुगेको छ । राजनीतिक पर्यावरण सन्तुलित नहुँदासम्म प्राकृतिक पर्यावरणको गहनताको संरक्षण हुन सक्दैन । प्राकृतिक प्रणाली खलबल्याउँदा त्यसको बहुआयामिक नकारात्मक असर कति धेरै हुन्छ भन्ने हामीले बुझेका छैनौँ । नवनिर्माणका नाममा वा सहरीकरणका नाममा प्राकृतिक पर्यावरणको धेरै क्षति हामीले पुर्याउँदै आएका छौं । मानिस तत्कालको सजिलो हेर्छ तर पछिको भयावह अप्ठ्यारोको वास्ता गर्दैन । विकास अब दिगो विकासका दृष्टिले हेर्नुपर्छ भन्ने जस्ता कुरा यहाँ सङ्केतित छन् ।

चौथो निबन्ध “विश्वविद्यालय र दोस्ती” मा हाम्रा विश्वविद्यालयमा पार्टीकरणले गर्दा हराउँदै गएको मानवीयतामाथि प्रकाश पारिएको छ । ज्ञानको उत्पादन, संरक्षण र सञ्चार विश्वविद्यालयको कर्म हो । सामाजिक चेतनाको सञ्चार विशेष गरी मानविकी सङ्कायले गर्ने हो तर यसभित्रको प्रदूषित राजनीतिले गर्दा त्यो हुन सकेको छैन । हाम्रो विश्वविद्यालय पश्चिमी ढाँचामा व्यवस्थित गरियो र विज्ञान शिक्षाका नाममा त्यसको नैतिक पक्षसँग सम्बन्ध आवश्यक ठानिएन । न त यसका पदाधिकारीमा ज्ञानको ओज हुनुपर्ने ठानियो । फलतः न ज्ञान उत्पादिततिर जोड दिइयो न ज्ञान उत्पादन गर्न सक्नेलाई प्रोत्साहन नै गरियो । त्यसको असर विद्यार्थीमा पनि पर्दै गयो । विद्यार्थीका लागि अब शिक्षक त्यति धेरै महत्त्वको प्राणी बनेन् । शिक्षकले पनि समयसापेक्ष शिक्षणतिर आफूलाई प्रेरित गरेनन् ।

त्यस्तै ज्ञानको विभाजनसँगै त्यसको प्रत्यक्ष उपयोगीताका आधारमा विभेद गरिनाले पनि ज्ञान विधामा समस्या देखिन थाल्यो (पृ.२१७) । पश्चिममै देखिन थालेका यस्ता समस्या हामी कहाँ पनि देखिए । परिमाणतः विश्वविद्यालयले युवा मस्तिष्कलाई न त युग सापेक्ष शोधमा लगाउन सक्यो न त गहिरो कला र अध्यात्म चिन्तनमा नै केन्द्रित गरायो । त्यसैले शिक्षार्थीहरूमा ज्ञान र आत्मीयता दुवै विकास गराउन हाम्रो विश्वविद्यालय (त्रि.वि.) सफल देखिएन भन्ने भाव यस निबन्धमा आएको छ ।

पाँचौं निबन्ध “विश्वविद्यालयमा मार्क्स” मा मार्क्स, नव वामपन्थ, नव मार्क्सवाद र उत्तर मार्क्सवादको चर्चा गरिएको छ । मार्क्सवादलाई प्राज्ञिक स्वरूपमा व्यापकता दिने काम अमेरिकी विश्वविद्यालयले गरेका थिए । यसमा फ्रेड्रिक जेमिसनको योगदान बढी महत्त्वपूर्ण छ । उनले मार्क्सवाद र संरचनावादको सैद्धान्तिक एकरूपतालाई स्पष्ट्याएका थिए । सन् १९३० को दशकमा अमेरिकामा मार्क्सवादी समालोचनाको राम्रै चर्चा हुन्थ्यो । हिटलरको आतङ्कले गर्दा कतिपय विचारक अमेरिका पुगेर उनीहरूले त्यहाँ फ्यानफर्ट स्कुलको धारणा विस्तार गरे । उनीहरू (विशेषतः होरखाइमर, एडोर्नो, बेनामिन) पश्चिमी पुँजीवाद र मार्क्सवादको समन्वयबाट समाज अगाडि बढाउन चाहन्थे तर सोचेजस्तो भएन अनि सन् १९४० को दशकमा उनीहरू अमेरिकी साहित्य र समालोचनामा केन्द्रित हुन थाले । यसले फ्याङ्फर्ट स्कुलको प्रभाव त्यहाँ देखिन थाल्यो तर सन् १९३० देखि सन् १९६० को दशकसम्म पाठ केन्द्रित नव समालोचना (न्यु क्रिटिसिजम) आएकाले मार्क्सवादको प्रभाव निष्क्रिय हुन थाल्यो ।

यही क्रममा सन् १९६० देखि १९७० को दशकसम्म नव वामपन्थ आन्दोलन सुरु भयो । अमेरिकी साम्राज्यवादको विरोधी यसले पार्टी र चुनावी राजनीतिलाई रुचाएन । त्यसलाई प्रजातन्त्रको मेरुदण्ड मान्न तयार भएन । यसले “अश्वेतदेखि समलिङ्गी, भर्गपतनदेखि लैङ्गिक विषय आदिमा उदार परिवर्तनको माग गरेको थियो” (पृ.२२४) । पछि यसले क्यास्ट्रो, होचिमिन्ह जस्ता शासकको निरङ्कुशतालाई समर्थन गरेको आरोप लागि निष्क्रिय बन्यो । अनि मार्क्सवादलाई संशोधनसहित प्रस्तुत गर्ने नव मार्क्सवादीहरू देखिए जसमा जेमिसन, एडोर्नो, बेनामिन, बख्तिन, ग्राम्सी आदि रहे । पछि तिनै कतिपय र गायत्री स्पिभाक, सान्ताल मुफ, अर्नेस्टो ल्याक्लो, एतियन बालिवर, स्लाभोज जिजेक, जेमिसन आदिले उत्तर मार्क्सवादको विकास गरे । यही क्रममा नव इतिहासवाद र उत्तर औपनिवेशिक वाद पनि देखिए । सन् १९७० तिर नव वामपन्थ र सेन्टर फर कन्टेम्पररी कल्चरल स्टडिजबाट नव इतिहासवादको विकास भएको मानिन्छ (पृ.२२५) । यसले इतिहासको मार्क्सवादी व्याख्याको पुनर्परीक्षण गर्दछ । मार्क्सले भनेझैँ इतिहास आर्थिक सम्बन्धले मात्रै निर्मित हुने यसले देख्दैन । यसले इतिहासलाई पनि साहित्य जस्तै काल्पनिक देख्छ । यही पृष्ठभूमिमा सन् १९७० कै दशकमा अमेरिकामा सांस्कृतिक अध्ययन आयो जो प्राज्ञिक मार्क्सवादकै रूपमा देखिएको छ । यसले साहित्य समालोचनालाई समाज र संस्कृतिसँग जोडेको छ । मिसिल फुको र ग्राम्सीका चिन्तनबाट पनि यो प्रेरित छ ।

वस्तुतः उत्तर मार्क्सवादभित्र यी नव इतिहासवाद, सांस्कृतिक अध्ययन, उत्तर औपनिवेशिकता, सबाल्टर्न अध्ययन आदि पर्दछन् । समाज र संस्कृतिसँग जोडेर हेर्दा मार्क्सवादका यी नयाँ रूपहरू देखिएका हुन् तर यिनलाई कतिपय कट्टर मार्क्सवादीले मार्क्सवादको विद्रूपीकरण पनि ठान्दछन् तर प्राज्ञिक बोधले कुनै पनि बादलाई विमर्शात्मक बनाउँछ (पृ.२२७) । विश्वविद्यालयका मार्क्स चुनावी संस्था वा कम्युनिस्ट पार्टीले निर्धारण हुने होइनन् । यी त निरन्तर विनिर्माण भइरहने हुन् भन्ने आशय यस निबन्धमा देखिएको छ । निबन्धकार अर्थलाई नै सबैको आधार ठान्ने शास्त्रीय मार्क्सवाद भन्दा पछि व्याख्यायित हुँदै आएका मार्क्सवादप्रति बढी झुकाव राखेर यस निबन्धको निर्माण गरिरहेका छन् ।

छैटौँ वा अन्तिम निबन्ध “हाम्रा विश्वविद्यालयः डिग्री र अलपत्र अनुसन्धान” हो । यसमा विश्वविद्यालयले अनुसन्धानमा आधारित शिक्षण गर्नुपर्ने, त्यो राष्ट्रिय आवश्यकता अनुसार व्यवहारमा पनि आउनुपर्ने र त्यसले विद्यार्थीलाई रोजगारी पनि सिर्जना गर्नुपर्ने भए पनि हामी कहाँ त्यस्तो पटक्कै नभएको हुँदा विश्वविद्यालयकै औचित्यमा प्रश्न उठेको कुरा औल्याइएको छ । कतिपय अनुसन्धान प्रत्यक्ष उपयोगतामा आधारित नभए पनि तिनले अनुसन्धातालाई अन्तर्दृष्टि निर्माणमा सघाउने हुन्छन् । विशेषतः मानविकी सङ्कायका अनुसन्धानमा यस्तो स्थिति बढी देखिन सक्छ । यस्ता आधारभूत अनुसन्धानले व्यावहारिक अनुसन्धानले जस्तो आर्थिक विकासमा प्रत्यक्ष सहयोग नगरे पनि जीवन निर्माणमा सहयोग गरेका हुन्छन् । व्यावहारिक अनुसन्धानका लागि सरकार र राज्यले प्रत्यक्ष लगानी गरे पनि आधारभूत अनुसन्धानमा गर्दैनन् । हामी कहाँ त विश्वविद्यालयबिच त्यस किसिमको सम्बन्ध नै निर्माण नभएको हुँदा विद्यार्थीको निजी लगानीमा अनुसन्धान गरिन्छ र त्यसको प्रयोजन प्रमाणपत्र लिनु मात्रै हुन्छ ।

यसरी अध्यापन अनुसन्धानसँग र अनुसन्धान राष्ट्रिय आवश्यकता वा व्यक्तिको अन्तर्दृष्टि निर्माणसँग नजोडिँदा हाम्रा विश्वविद्यालय र त्यहाँका प्राध्यापकले गरेका अनुसन्धान मूल्यहीन बनेको वास्तविकता प्रस्तुत गर्दै विश्वविद्यालय र त्यहाँका प्राध्यापकको औचित्यमाथि नै प्रश्न उठेको कटु सत्यलाई यहाँ प्रस्तुत गरिएको छ ।

यस खण्डका जम्मा छ वटा निबन्धमध्ये पछिल्ला तीन वटा विश्वविद्यालयसँग सम्बन्धित छन् भने अघिल्ला तीन वटा पर्यावरणसँग सम्बन्धित छन् । राजनीतिक दूरदर्शीताको अभावका कारण अव्यवस्थित सहरीकरणले काठमाडौँजस्ता सांस्कृतिक सहर विद्रूप बनेका छन् भने नदीहरूले पनि आफ्नो मौलिक स्वरूप र पवित्रता गुमाएका छन् । परिमाणतः वातावरण प्रदूषण पनि ह्वात्तै बढेको छ । यो स्थिति विश्वव्यापी बन्दो छ र त्यसको असर सबैले व्यहोर्न बाध्य छन् । कोरना कहर त्यसको एउटा स्थिति हो । त्यस्तै हाम्रा राज्य सञ्चालकहरूको दुर्बुद्धिका कारण विश्वविद्यालयले शिक्षार्थीहरूमा न त रोजगारीको सिप विकास गराउन सकेको छ न त सकारात्मक अन्तर्दृष्टि । खालि प्रमाणपत्र बाढ्ने काममा मात्र ती सीमित हुन पुगेका छन् भन्ने निबन्धकारको तिखो विश्लेषण छ जुन उनले प्रत्यक्ष देखेभोगेकै कुरा हुन् । त्यस्तै शास्त्रीय मार्क्सवाद भन्दा पछि विकसित मार्क्सवादका नव रूपहरू बढी सत्यको निकट रहेका कुरा पनि यसमा सङ्केत गरिएको छ । सारमा भन्दा यस खण्डका निबन्धहरू पनि मूलतः विचारपरक नै छन् । ती समकालीन स्थानीयदेखि अन्तर्राष्ट्रिय सन्दर्भसँग प्रस्तुत भएर आएका छन् । तिनमा सुधारको चेतसहित आलोचनात्मक स्वर मुखरित छ ।

थप विश्लेषण
यसरी समग्रमा हेर्दा प्रस्तुत निबन्ध सँगालोका सबै निबन्धहरू मूलतः विचारले बुनिएका देखिन्छन् । वैचारिकता नै यसको मूल प्रवृत्ति हो । विचारको वितरण विविध विषयमा आधारित भएर गरिएको छ । त्यो ऐतिहासिक, पौराणिक विषय भए पनि त्यसको सान्दर्भिकता वर्तमानसँग वा समकालीनतासँग खोजिएको छ जो उत्तर आधिनिकतासँग सम्बद्ध भएर प्रकट भएको छ। त्यसैले उत्तर आधुनिक समकालीन वैचारिकता यसको खास पहिचान हो । त्यसलार्इ निबन्धमा मूलतः नेपाली समाज र अंशतः अन्तर्राष्ट्रिय जगत्का समस्याग्रस्त विषयसँग सम्बन्धित बनार्इ प्रस्तुत गरिएको छ । त्यसको सङ्क्षिप्त चर्चाले यस निबन्ध सँगालोको वैचारिकता अझ स्पष्ट हुने ठानेर यहाँ क्रमशः त्यो काम गरिएको छ ।

समकालीन विद्रूप राजनीति र त्यसका दुष्परिणतिहरूको निरुपण यहाँका धेरै निबन्धमा देखिएको छ । शिक्षण संस्था वा विश्वविद्यालयमा राजनीतिक पार्टीले आफ्नो प्रभुत्व विस्तार गर्न चाहेर युवाहरूलाई दिग्भ्रमित गरी उनीहरूलाई पढाइबाट विमुख गर्दै पार्टी विशेषका लठैत कार्यकर्ताका रूपमा विकास गर्न लाग्दा विश्वविद्यालय वास्तवमा विश्वविद्यालय जस्तो नभएको, पढ्न भर्ना भएका विद्यार्थीहरू मध्ये ६०% विद्यार्थीहरू पढाइमा नलागेका, लाग्न खोज्नेहरू अल्पमतमा परी चाहे जस्तो पढाइको वातावरण नपाएका, गुरुको कुरा चेलाले नमान्ने परिवेश बनेको, गुरुलाई पनि पार्टीले आफ्नो गोटी बनाउने, विद्यार्थी र शिक्षक दुवैको स्वतन्त्र विकास हुन नदिने, उनीहरूले आफ्नो पार्टीको आलोचना होइन ताबेदारी गरिरहुन् भन्ने सोच राख्ने, यस्तो परिस्थितिका कारण सक्षम विद्यार्थी र शिक्षक विदेश पलायन हुँदै गएर विश्वविद्यालय स्वत्वहीन रैती उत्पादन गर्ने थलो मात्रै बनेको, यसका सञ्चालकहरूको सोच दरबारिया भारदार भन्दा माथि नउठेको वा उनीहरूमा गम्भीर चिन्तन नै नरहेको, “धेरै पढेर बिग्रन्छ भन्ने” (पृ·२१८) राजनीतिक सोच बनेको, त्यसैले हाम्रा विश्वविद्यालयमा न त शोधले प्रश्रय पाएका न त अन्तरदृष्टि विकासमा त्यसले सँगाएको, दिनप्रतिदिन विश्वविद्यालय कुरूप खण्डहरमा परिणत हुँदै गएको मार्मिक यथार्थलाई “किसिम किसिमका युवा”, “विश्वविद्यालय र दोस्ती” जस्ता निबन्धहरूमा प्रस्तुत गरिएको छ । वर्षौंसम्म विश्वविद्यालयमा प्राध्यापन गर्दाको निबन्धकारको अनुभव र अनुभूतिसँग यस्ता विषय सम्बन्धित भएर आएका हुँदा ती धरातलीय यथार्थसँग पुरै मेल खाने प्रकृतिका छन् ।

कुरूप राजनीतिको प्रकोप देशका हरेक क्षेत्रले बेहोरेको कुरा धेरै जसो निबन्धमा मुखर रूपमा आएको छ । “यो समय राजनीतिक खलनायकहरूको हो” निबन्धमा त यसको ऐतिहासिकतादेखि वर्तमानसम्मको स्थिति सङ्केत गरिएको छ । यो राष्ट्रियदेखि अन्तर्राष्ट्रिय परिवेशसम्म पनि व्याप्त देखिएको छ । “समकालीन समय राजनीतिक खलनायकहरूको हो, जसले आफ्नो कुदृष्टि समाजमा यसरी फैलाएका छन् कि सामाजिक परिवेश नै हिंसा घृणा र दोषले भरिएको छ” (पृ·७८) भन्ने निबन्धको अंशले धेरै कुरा सङ्केत गरेको छ ।
यस्तै राजनीतिका खलनायकहरूले कसरी धर्मको दुरुपयोग गर्छन् र एसियामा त्यसको प्रकोप कति धेरै छ भन्ने सङ्केत पनि यसमा रहेको छ। यस्तै राजनीतिक खलनायकीको प्रभाव साहित्यमा पर्ने र साहित्यमा पनि त्यस किसिमका गम्भीर नायक चरित्र निर्माण गरिने कुरा पनि यहाँ आएका छन् । साथै त्यस्ता खलनायक चरित्र निर्मित हुनुको अर्थ त्यस समाजमा क्रूर उत्पीडन छाएको छ भन्ने कुरा पनि स्वतः स्पष्ट हुन्छ । तर विडम्बना के छ भने यस्ता खलनायकहरूको प्रतिरोध गर्न सक्ने नायकको निर्माण यस समाजले गर्न सकेको छैन । त्यसैले समाजले त्रासदीयता व्यहोर्न बाध्य छ । त्यति मात्रै होइन मनोवैज्ञानिक विकासवादले मान्छेको मूल चरित्र नै उग्रता र हिंसा हो भन्ने जुन कुरा ल्याएको छ त्यसलाई नै मान्छेको खलनायकीपनप्रतिको आकर्षणको कारण हो कि भन्ने कुरा पनि यहाँ सङ्केत गरिएको छ ।

समकालीन नेपाली समाजले कुरूप राजनीतिको प्रकोप यति धेरै व्यहोरेको छ कि जसका कारण ऊ हिजोको जत्तिको रैती पनि रहन सकेको छैन भन्ने कटु वास्तविकता पनि यस सङ्ग्रहका निबन्धमा आधारसहित प्रस्तुत गरिएको छ । हिजो शासकले दासकै तहमा जनतालाई राखेर रैती भने पनि उनीहरूले आफ्नै देशमा रोजगारी दिन्थे । आफ्नै देशको मान्छे ठान्थे तर आज त ऊ आफ्नै देशमा पनि बस्न पाएको छैन । रोजगारीका लागि विदेशीहरूको श्रम अपमान र घृणा सहेर जोखिमपूर्ण काममा लाग्नु परेको छ । ऊ अहिले पहिचान शून्य अनागरिक भएर बाँच्नुपरेको छ । देशभित्रको कुरूप राजनीतिले मात्रै नभई अन्तर्राष्ट्रिय कुटिल राजनीतिले पनि हामीलाई झन्झन् हीनतर तुल्याएको छ । निबन्धमा स्पष्टै भनिएको छ “पुँजीवादी उपभोक्तावादले हामीलाई राजसंस्थाले भन्दा खतरनाक रूपमा रैती बनाएको छ (पृ·६०) । त्यस्तै मानिसलाई कहिले धर्मले, कहिले पुँजीवादले, कहिले साम्राज्यवादले र उपनिवेशवादले चलाएर “इतिहासमा फ्याकिएको निर्जीव वस्तु” (पृ·५९) बनाएको गुनासो पनि निबन्धकारको रहेको छ ।

आजको हाम्रो समाज विचारशून्य ह्रासोन्मुख बन्दै गएकोमा निबन्धमा गम्भीर चिन्ता प्रकट भएको छ । समाजमा मपाइत्व फस्टाउँदै गएको छ । आफैले आफूलाई महानायक महानायिका घोषणा गर्ने प्रवृत्ति बढ्दो छ । खलनायकको वर्चस्व रहेको यस समाजमा नायककै अभाव छ तर मानिसहरू आफूलाई महानायकको दाबी गरिरहेका छन् (एब्स्ट्रयाक चिन्तनः महानायक) । महानायकमा त समयको गतिलाई नै सकारात्मक परिवर्तनतिर लाउन सक्ने सामर्थ्य हुनुपर्छ । उसले समाज, देश र अन्तर्राष्ट्रिय जगत्लाई समेत दिशानिर्देशन गर्न सक्नुपर्छ । तर हाम्रो जस्तो विचारशून्य ह्रासोन्मुख समाजमा त्यस्तो महानायकको खोजी र घोषणा दुवै दिवा सपना हुन् भन्ने कुरा पहिलो खण्डका निबन्धमा देखिएको छ ।
लोकतान्त्रिक पक्षधरता यस सङ्ग्रहका निबन्धको वैचारिकताको अर्को पक्ष हो। दक्षिण एसियामा लोकतन्त्रको विकल्प निबन्धकार देख्दैनन् । नेपालको माओवादी विद्रोह र पाकिस्तानको बारम्बारको सैनिक विद्रोह पनि अन्ततः लोकतान्त्रिक बाटोमा फर्किनुपरेको दृष्टान्त दिएर उनले यसको पुष्टि गरेका छन् । यस्तै नेपालको माओवादी युद्धको सैद्धान्तीकरण गर्न नसक्नु र त्यसबाट अरूतिरका माओवादी प्रभावित हुन नसक्नु नेपाली माओवादीको असफलता निबन्धकार ठान्दछन् ।

अन्धराष्ट्रवादको विरोध र बहुसांस्कृतिकताको पक्षधरता पनि यहाँका निबन्धमा देखिएको छ। राष्ट्रवादलाई निबन्धकारले बुद्धवाद, मार्क्सवाद, गान्धीवाद जस्तै महाख्यान ठान्दै यो युग महाख्यानको नभएको, अर्थात् महाख्यानका केही कुरा ठिक भए पनि सबै कुरा ठिक हुँदैनन् भन्ने निष्कर्ष निकालेका छन् । अन्धराष्ट्रवादले उग्रता, अन्धता र अरूमाथि उत्पीडन मात्रै थोपर्ने भएको हुँदा त्यसलाई नकारेका छन्। नेपाल बहुजाति र बहुसंस्कृतिको मुलुक हुँदा ती सबैको अस्तित्व समेट्न सक्ने लचिलो राष्ट्रवाद वा देशभक्तिको अपेक्षा निबन्धमा रहेको छ । त्यस्तै एकल संस्कृतिको वर्चस्व नभई बहुसंस्कृतिको विकासमा जोड दिनुपर्ने, व्यक्तिको पनि बहुसंस्कृतिमा योगदान हुनुपर्ने, सांस्कृतिक कट्टरता हुन नहुने, अहिले व्यक्ति वैश्विक नागरिक भए पनि ऊ आफ्नो जरोसँग निकट हुन पाउनुपर्ने जस्ता कुरा निबन्धमा आएका छन् । बहुलताको पुष्टि निबन्धमा हिन्दू देवीको बहुल स्वरूपबाट पनि गरेका छन् । त्यस्तै हिन्दू धर्मको एकत्ववादी सोचप्रति पनि निबन्धमा स्पष्ट विमति र आक्रोश आएको छ । बहुल प्रकृतिको हिन्दू परम्परालाई एकल हिन्दुइज्ममा परिवर्तन गर्नुलाई दक्षिण एसियाको समस्या नै ठानिएको छ (पृ·१२१) ।

पुस्तागत द्वन्द्व र नारी पक्षधरता पनि निबन्धको वैचारिकतामा देखिन्छ । पाठ्यक्रम निर्माणमा आफ्नै गुरुको शुद्धतावादी एकल दृष्टिकोणलाई उनका चेलाहरूले नसकारी बहुल र मिश्रित दृष्टिकोणको पाठ्यक्रम निर्माण गरेको आफ्नै केन्द्रीय अङ्ग्रेजी विभागको घटनाद्वारा निबन्धमा पुस्तागत द्वन्द्व र नव पुस्ताको विजयलार्इ सङ्केत गरिएको छ । समयको गतिशीलतासँगै हरेक कुरा परिवर्तन गर्दै लगिनुपर्ने सोच निबन्धमा धेरैतिर देख्न सकिन्छ। त्यस्तै परम्परित पितृसत्ताप्रतिको विमति र नारीपक्षधरता पनि ठाउँ ठाउँमा प्रकट भएको छ । सङ्ग्रहको पहिलो निबन्ध “स्पिभाकः एक भ्यानगार्ड” ले पनि त्यसको पुष्टि गर्छ । त्यस्तै दोस्रो खण्डका देवी विमर्शमा पनि यो पक्ष बलियो रूपमा आएको छ ।

उत्पीडित समुदायप्रतिको पक्षधरता पनि निबन्धमा रहेको छ । गायत्री चक्रवर्ती स्पिभाकको कर्मबाट पनि यसलाई देखाइएको छ । यस्तै उत्तर उपनिवेशवाद, नारीवाद, मार्क्सवाद र कलाले आवाज विहीनहरूको आवाज प्रस्तुत गर्न सघाएको कुरा पात्र विमर्श खण्डका कतिपय निबन्धमा प्रकट भएको छ । कलाको कर्म नै आवाज विहीनहरूको आवाज बन्नुपर्ने आशयले पनि त्यसलार्इ नै पुष्टि गरेको छ । त्यस्तै संस्कृति पढेलेखेका, हुनेखाने सभ्यको मात्रै नभई सीमान्त समुदायको पनि हुने कुराले पनि यसको पुष्टि गरेको छ ।

संस्कृतिका बहुआयामको निरुपण र चिन्तन नै यस निबन्ध सँगालोको मुख्य विषय हो । संस्कृति भनेको व्यापक अर्थमा जीवनचर्याका यावत पक्ष हुन् तापनि रहनसहन, रीतिरिवाज, भेषभूषा, आहारविहार, बोलीचाली जस्ता दैनन्दिनीदेखि परम्परा, धर्म, नैतिक आचरण, मूल्यमान्यता, आस्थाविश्वास जस्ता कुराहरू यस अन्तर्गत पर्दछन् । नेपाल बहुजाति र बहुसांस्कृतिक देश हुँदा निबन्धमा एकल संस्कृतका विपरीत बहुसंस्कृतिको वकालत गरिएको छ । यो हुने खाने वर्ग वा सभ्य भनाउँदाको मात्रै संस्कृति हुन्छ भन्ने मान्यताको विरोधमा छ। विपन्न वा सीमान्तकृत समूहको पनि संस्कृति हुन्छ र त्यो पनि सभ्य बनाउँदाको जस्तै महत्त्वको हुन्छ भन्ने मान्यता यहाँका निबन्धमा रहेको छ । साथै सांस्कृतिक अध्ययन भनेको सीमान्तकृत वा आवाजविहीन समुदायको पक्षमा बोल्नु हो भन्ने मान्यता पनि निबन्धमा देखिएको छ (पृ.१६६) । एकल राष्ट्रवादका विपरीत यो सांस्कृतिक राष्ट्रवादका पक्षमा छ जसले बहुसांस्कृतिको संरक्षण हुने किसिमले राष्ट्रसङ्गठित गरिनुपर्ने ठान्छ । सांस्कृतिक राष्ट्रवादलाई राष्ट्रिय सीमाभित्र मात्रै सीमित गर्न सकिन्न । त्यसमा नेपाली जातीय भावना गाँसिएको हुन्छ । त्यसैले दार्जिलिङे वा बेलायती जहाँको नागरिक भए पनि ऊ नेपाली मूलसँग जोडिएको हो भने उसका पक्षमा विश्वकै नेपालीको सहानुभूति स्वभावतः जान्छ । फेरि संस्कृतिका नाउँमा अराजकता र राष्ट्रियताका नाममा अन्य संस्कृतिप्रति विभेद गरिन नहुने कुरा पनि निबन्धमा प्रकट भएको छ ।

सांस्कृतिक गतिशीलताका पक्षमा यो रहेको छ । संस्कृति गतिशील वस्तु भएको हुँदा यो समयसापेक्ष परिवर्तन हुँदै जान्छ। यदि परिवर्तन गरिएन भने त्यसको प्रासङ्गिकता नै समाप्त भई छिट्टै नामेट हुने सम्भावना रहन्छ । परम्परित हिन्दु संस्कृतिमा पितृसत्ता, लैङ्गिक र जातीय विभेद क्रमश हट्दै जानुका पछाडि पनि यही तर्कले काम गरेको छ । साथै यो सधैँ तरल अवस्थामा रहने हुँदा जहिले पनि धरापमा पर्न सक्छ (पृ·१७१) । यसलाई पुँजीवाद, उपभोक्तावाद, उपनिवेशवाद, सांस्कृतिक साम्राज्यवाद, परनिर्भरता, शक्तिशाली संस्कृतिको दब्दबा जस्ता अनेक कारणले प्रभावित र अस्तित्व शून्य नै पनि बनाउन सक्ने हुँदा त्यतातर्फ संस्कृतिकर्मी सचेत हुनुपर्ने सङ्केत पनि निबन्धमा रहेको छ । त्यस्तै संस्कृतिमा सोझो तर्कले मात्रै पनि काम गर्दैन । त्यसमा अनेक विरोधाभास, रहस्य, भौतिक पराभौतिक कुरा, ज्ञान, कला, प्रकृति, मिथक जस्ता धेरै कुरा मिसिएर आएका हुने हुँदा सतही दृष्टिले मात्रै हेरेर निष्कर्षमा पुग्ने हतारो गरिनुहुन्न । “सांस्कृतिक विविधताका सकस” र “संस्कृति जहिले पनि धरापमा हुन्छ” जस्ता निबन्धमा संस्कृतिका यस्ता पक्षलाई विस्तारमा प्रस्तुत गरिएको छ ।

एकल वा उग्र राष्ट्रवादले बेलाबेलामा देशविदेशबिच वा एकै देशका फरक फरक संस्कृतिका नागरिकबिच पनि ठुलो नरसंहार निम्त्याउने हुँदा निबन्धकार त्यसको विपक्षमा रहेका छन् । एकल नभई बहुल वा सांस्कृतिक राष्ट्रवादका पक्षमा निबन्धको वैचारिकता केन्द्रित छ। सबै जातजाति वा संस्कृतिले अपनत्वबोध गर्ने किसिमको किसिमले राष्ट्रको पुनरसंरचना गरिनुपर्ने निबन्धको अपेक्षा छ । राष्ट्रवादका नाममा विभेद र ठुलो नरसंहार सिर्जना नहुने हो भने राष्ट्रलाई एकतामा बाँधेर राख्न राष्ट्रवादको आवश्यकता पनि हुने राय पनि निबन्धमा देखिएको छ (पृ.१६८–१६९) । सतहमा हेर्दा यो विरोधाभासपूर्ण कथन जस्तो देखिए पनि यसको अभिप्राय भने सकारात्मक नै देखिन्छ।

वातावरण विनाशप्रति पनि गम्भीर चिन्ता निबन्धमा व्यक्त गरिएको छ । राजनीतिक सुझबुझ नहुँदा अव्यवस्थित सहरीकरणले एकातिर सहर कुरूप बन्दै गएको छ भने अर्कातिर नदीहरू सुक्ने, नसुकेका ढालमा परिणत हुने, हरियाली मासिने जस्ता कारणले वातावरणीय विनाश ह्वात्तै बढ्ने अवस्था आएको निबन्धमा देखाइएको छ । तेस्रो खण्डका सुरुका तीन वटा निबन्ध यस कोणबाट बुनिएका छन् ।

देवीहरूको अनेक आयामहरूको विमर्श पनि यस सँगालाका निबन्धहरूको एउटा महत्त्वपूर्ण पक्ष हो । “देवी विमर्श” नामक दोस्रो खण्डमा आएका निबन्धहरू यस्ता छन् । देवीको पूजन नेपाली समाजमा मात्रै नभई अन्य मुलुकमा पनि गरिन्छ र फरक फरक क्षेत्रमा देवीका आआफ्नै किसिमका आख्यान विकसित गरिएको छ । नेपाली समाजमै पनि देवीका अनेक स्वरूप र कथाहरू छन् । काठमाडौँ उपत्यकाकै देवीहरूको चरित्र र महत्त्व फरक फरक छ । उनीहरूको चरित्रमा अनेक विरोधाभासहरू पनि देखिएका छन् । हाम्रो निर्मित बुद्धि र तर्कले तिनको भेउ पाउन सजिलो छैन । पारलौकिकता र प्रकृतिको रहस्य बुझ्न अध्यात्मको सहारा लिनुपर्छ । दुर्गा, बगलामुखी, छिन्नमस्ता, बज्रयोगिनी आदिका स्वरूप र कर्म अनौठा अनौठा छन् । विकरलता र विरोधाभासमा ज्ञान, करुणा र सौन्दर्य खोज्नु, रति र भक्ति एकै ठाउँमा देखिनु, मन्दिरको बाहिरी भागलार्इ पशु, मानव र देवताका नग्न कामक्रीडाका कलाले सजाइनु अनि भित्री भागमा गहन अध्यात्मको भाव सञ्चारमा केन्द्रित हुनु जस्ता कुरा सामान्य समाजका समझभन्दा धेरै टाढाका कुरा हुन् । ईश्वर वा अध्यात्म तर्कातीत छ । यस्तै कारणले भनिएको हुन सक्छ– आध्यात्मिक मोक्षका लागि यौन/प्रेम वर्जित छ तर कतै यौन/प्रेम नै मोक्षको माध्यम पनि देखिन्छ । गौरीशङ्कर, राधाकृष्णका प्रेमकथा वा तन्त्रयोग साक्षी छन् । मान्छेको शरीरमा नै कामुकता र अध्यात्म दुवै रहन सक्छन् । त्यसैले विविधता र बहुरूपता देवीका विशेषता हुन् । त्यसैले हिन्दू धर्म बहुल स्वरूपको छ । त्यसलाई एकरूपमा ढाल्न खोज्नु गलत हो । समय क्रममा देवीको अस्तित्व हिन्दु धर्ममा मात्रै नभई स्थानीय अस्थितिबाट पनि नेपाली समाजमा विकसित गरिएको छ । ती समाजमा स्वीकार्य पनि छन् । पाथिभरा माई, गढीमाई, चुरेमाई आदि यही क्रममा आएका हुन् । विविधता र बहुलता हाम्रो धर्म संस्कृतिको खास विशेषता हो ।

यस्तै शास्त्रीय मार्क्सवादभन्दा पछि विकसित मार्क्सवाद अर्थपूर्ण रहेको, मानिसको मांसारी प्रवृत्तिले कोरोना कहर सिर्जना भएको, दिगो विकासको दृष्टिकोण हुन नसकेकाले वातावरणीय विनाश चर्केको, नेपाली साहित्यमा व्यवस्थित र प्रामाणिक समालोचना विकास हुन नसकेको, नेपाली भाषाका महत्त्वपूर्ण साहित्यिक कृतिको अन्य भाषामा आधिकारिक अनुवाद नहुँदा त्यसको सामर्थ्य सञ्चार हुन नसकेको, नेपाली समाजमा गम्भीर चिन्तनप्रतिको भोक नै नजागेको, गायत्री स्पीभाग जस्ता चिन्तकले यस समाजमा आफ्नो दृष्टिकोण सुनाउने र सिकाउने मानिस नपाएकी जस्ता कुराहरू पनि यहाँ प्रसङ्गवश आएका छन् ।

निष्कर्ष
अरुण गुप्तोको सांस्कृतिक चिन्तन नामक प्रस्तुत विचारपरक निबन्ध सँगालोमा सङ्कलित २८ वटा निबन्धहरूलाई विषयको प्रकृतिअनुसार चार खण्डमा विभाजित गरी प्रस्तुत गरिएको छ । पहिलो “नायक–खलनायक” खण्डका आठ वटा निबन्धमा समाज र साहित्यमा देखिएका नायक–खलनायकहरूको चरित्र र तिनको सान्दर्भिकताको चर्चा गरिएको छ । यस क्रममा समकालीन समाजका मानवको सङ्कटापन्न नियतिलाई निकै गढेर हेर्ने काम भएको छ । दोस्रो “देवी विमर्श” खण्डका पाँच वटा निबन्धमा काठमाडौँ उपत्यका र नेपालबाहिरका देवीसम्बन्धी फरक फरक दृष्टिकोणलाई आलोचनात्मक चेतसहित खोज गरी गहन विमर्श प्रस्तुत गरिएको छ । निबन्धकारको अनुसन्धनात्मक चेतको घनत्वलाई यहाँका निबन्धले धेरै बोकेका छन् । तेस्रो “पात्र विमर्श” खण्डका नौ वटा निबन्धमा मूलतः साहित्य र राजनीतिका क्षेत्रमा देखिएका ऐतिहासिक महत्त्वका पात्रहरूको वैचारिक विमर्श प्रस्तुत गर्दै निबन्धकारको उत्तर आधुनिकतावादी उदार र लचिलो दृष्टिकोणप्रतिको लगाव प्रस्तुत गरिएको छ । चौथो वा अन्तिम “विश्वविद्यालय र सहर” खण्डका छ वटा निबन्धमा हाम्रो प्रदूषित राजनीतिका कारण विश्वविद्यालयको दुर्दशा एकातिर औल्याइएको छ भने अर्कातिर अव्यवस्थित सहरका कारण बढ्दै गएको वातावरण विनाश अनि ती दुवैको दुष्परिणति देखाइएको छ ।

निबन्धकार विश्वविद्यालयका प्राध्यापक भएका हुँदा उनका सबै खण्डका निबन्ध प्राज्ञिक तर्कसहितका विचारले बुनिएका छन् । दोस्रो खण्डका निबन्धमा अनुसन्धनको गहनता पनि उत्तिकै देखिएको छ । ऐतिहासिक, पौराणिक विषय भए पनि ती समसामयिकतासँग सान्दर्भिक बनेर आएका छन् । ती सबैजसोमा बौद्धिक पाठकलाई तान्ने तर्क शृङ्खलामा विषय उन्दै प्रस्तुत गरिएको छ । यति हुँदा हुँदै पनि यस सङ्ग्रहका कतिपय निबन्ध उनको पूर्व प्रकाशित अन्तर्वार्तालाई संयोजन गरेर निर्माण गरिएको र कतिपय पहिला अङ्ग्रेजी भाषामा प्रकाशित भई पछि नेपाली अनुवादका रूपमा प्रस्तुत गरिएका छन् । त्यसैले केही सीमित निबन्धमा दृष्टिकोणको पुनरुक्ति र विरोधाभासका छिटा, निबन्धीय ललित रागात्मकताको न्यूनता अनि कथनमा अनेपालीपन जस्ता कसरमसर पनि देखिएका छन् ।

सङ्क्षेपमा भन्दा यस सङ्ग्रहका सबै निबन्ध विचारको केन्द्रीयतामा बुनिएका छन् । तिनमा समसामयिकता, ऐतिहासिकता, पौराणिकता, सांस्कृतिकता, महत्त्वपूर्ण साहित्यिक विमर्श, उत्तर आधुनिक लचिलो दृष्टिकोण वा बहुलवादको पक्षधरता, नारी र सबार्ल्टनको पक्षधरता, वातावरण विनाशप्रति चिन्ता, यथास्थितिप्रति प्रश्न, मानवताबाट अझ माथि उठेको प्राणीवादी व्यापक सोच, वर्तमानको विद्रूपता देखाएर व्यक्त गरिएको भविष्यप्रतिको चिन्ता, कुरूप राजनीतिले निम्त्याएको बेथितिप्रति व्यङ्ग्य, आक्रोश र तीखो आलोचना, सुधारको अपेक्षा, आशावादी स्वर, खोजअन्वेषणमा आधारित सूक्ष्म प्रतिपादन, मध्यम प्रयुक्तिको भाषा जस्ता प्रवृत्तिगत वैशिष्ट्य देखिएका छन् । तिनमा विचारको कालात्मक बुनोटद्वारा सचेत बौद्धिक पाठकलाई निरन्तर तानिरहने अनि बौद्धिक र कलात्मक पोषण दिइरहने सामर्थ्य राम्रै देखिएको छ । यो नै यस वैचारिक निबन्ध सङ्ग्रहको उल्लेख्य सफलता बनेको छ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।