पाँच वर्षको उमेरमा पोखरा, रामबजारको कालिका माध्यमिक विद्यालय भर्ना भएका दिनदेखि मैले झोला बोक्न सुरु गरेको हुँ । विद्यालय भर्ना भएपनि सबै पुस्तक र कापीको व्यवस्था नहुञ्जेल सिसाकलम र एउटा कापीमात्र च्यापेर पनि केही दिन विद्यालय गएको थिएँ । विद्यालयमा शिक्षाआर्जन गरेर सकिए पनि उच्च शिक्षा हासिल गर्ने बेला विद्यालय पढ्दाताकाका जति नै किताब, कापी नहुने भएपनि झोला बोक्न चाहिँ छोडिएन । अथवा केही न केही सामान सधैँ लिएर हिँड्नपर्ने भएपछि झोला नबोकी सुख पनि भएन । प्रवीणता प्रमाणपत्र तह, स्नातक तह र स्नातकोत्तर तहको विद्यार्थी हुँदा पनि झोला बोक्न छुटेन । भनेपछि कक्षा एकदेखि स्नातकोत्तरसम्म पढ्दा बितेका बीस वर्षमा झोला बोकिनै रहियो । पढ्ने बेला किताब, कापी र कलम बोकियो । चँुडिन लागेका फिता गाँसेर बोकियो । झोला मैलो हुँदा आमाले धोइदिएपछि बोकियो । पछि पछि ठुलो भएर आफैँ झोला धोएर बोकियो । यो झोलासँगको नाता पाँच वर्षको उमेरदेखि चालीसको दसकमा छिर्नछिर्न लाग्ने बेला हँुदा पनि बोकिरहेको छु । यो त एउटा शरीरको नछुट्टिने अङ्ग जस्तै पो बनिसक्यो । झोला बोकेर हिँड्दा हिँड्दा कुनै झोलाका फिता चुँडिए, कुनै च्यातिए, कुनै उध्रिए । आजसम्म कतिवटा झोला फेरियो ठ्याक्कै याद भएन तर झोला बोक्न चाहिँ छोडेको छैन । गर्मीका बेला झोला बोक्दा पछाडि ढाड पसिनाले भिजेर कपडा पनि लछ्रप्पै भिजेका बेला यो झोला बोक्न नपरे हुन्थ्यो भनेर अनेक तरिका अपनाउन खोजियो; तर यो झोला भन्ने चिज नबोकी सुख भएको छैन ।
अब त झोला बोकेन भने मैले ‘के बिर्सेँ के बिर्सेँ’ भनेर दिमागलाई बढी तनाव भइरहन्छ । कतै बिर्सी पो हालियो कि भनेर मन ढक्क फुल्छ । विदेश गएका बेला त ठ्याक्कै एउटै झोला भएका साथी पनि एकै ठाउँ बस्दा झोला साटिएला भनेर अर्को तनाव पनि हुन्छ । कमिज र पाइन्टका गोजीमा किमती वस्तु नराखौँ भनेर जे पनि झोलामा राख्ने भएपछि झोला हरायो भने सर्वस्व नै हराउने चिन्ता पनि हुने रहेछ । त्यसैले झोलासँगको सम्बन्ध निकै गहिरो बनेको छ । उपन्यासकार कृष्ण धराबासीले पनि यही झोला खोतल्दा ऐतिहासिक विवरण फेला पारेका थिए । यही झोलाका नाममा उनले उपन्यास लेखे । उपन्यासमा आधारित भएर चलचित्र पनि बन्यो अनि चर्चित पनि ।
बीस वर्षे सक्रिय विद्यार्थीकालभरि झोला बोकियो । पढ्ने र सिक्ने कुरा त मृत्युशय्यासम्म पुग्दा पनि चलिरहन्छ । पढाइपछि जीविकाका लागि गरिने कामको प्रकृतिले पनि फेरि झोला नबोकी सुख पाइएन । एकाबिहानै हलो र जुवा बोकेर खेततिर हिँडेजस्तो झोलामा ल्यापटप र त्यसको चार्जर, मोबाइलका चार्जर, टिपोट राख्न एउटा कापी र एउटा कलम बोक्न पनि झोला नबोकी भएन । कार्यालय जाँदा ल्यापटप बोक्न, अस्पताल जाँदा फाइल बोक्न, घरबाहिर जाँदा कपडा र सामान बोक्न, बैठकमा जाँदा डायरी र कलम बोक्न, घुम्न निस्किँदा छाता, पानी आदि बोक्न, छोराछोरीका सामान बोक्न झोला अपरिहार्य वस्तु भएको छ । यस्तो महत्त्वपूर्ण जिनिस मेरा लागि दृष्ट अवस्थामा नै हुनुपर्छ । कार्यालयमा पनि मेरैछेऊ बस्छ । गन्तव्यमा नपुगुञ्जेल मेरै बुई चढेको हुन्छ । घर पुगेर बिसाए पनि त्यसले बोकेका सामान, बच्चाका लागि कौतुहलताका पोका बोकेको झोला सुत्नेबेला पनि मेरै वरपर हुनुपर्छ । त्यसैले यो निर्जीव वस्तु भएर पनि परिवारको सदस्यजस्तो भएको छ । यसप्रतिको चासो, यसको प्रयोग र उपादेयता अनि स्याहार हाम्रा लागि नियमित काम बनेका छन् । कार्यालयमा कहिलेकाहीँ झोला नभिरी पुगियो भने, बाटामा कुनै साथी वा छिमेकीले भेटेका बेला म कुनै काममा हिँडेको, कुनै प्रयोजनले हिँडेको भनेर पत्याउँदैनन् । “झोला खोइ?” भन्ने प्रश्न उनीहरूका मुखारविन्दबाट निस्किहाल्छ ।
जिन्दगीमा झोला त नियमित नै बोकिँदो रहेछ । यो झोला यति महत्त्वको होला र यसका बारे यतिका कुरा लेखिएला भन्ने चाहिँ लागेको थिएन । झोलाप्रतिको माया, घृणा, झ्याउ, यसबारेको स्मृति, घटना जेजस्तो भएपनि हामी झोला बोक्ने जति सबैलाई झोले भन्न मिल्नेरहेछ । म पनि झोले रहेछु । जिन्दगीमा तीन दसकभन्दा बढी झोला बोकेको मान्छे झोले होइन भनेर पनि कसरी भन्नु । मेरा बाले पनि झोला बोकेर नै जिन्दगी गुजार्नुभयो । काँधमा एकापट्टी भिर्ने झोला प्रायः बुनेर बनाइएका घरबुना झोला उहाँले प्रयोग गर्नुभयो । पछि ल्यापटप बोक्नका लागि बनाइने ब्यागजस्ता काला झोला बोकेर पृथ्वीनारायण क्याम्पस पोखरामा पढाउने डायरी, किताब, कलम आदि बोकेर नै उहाँको जीविका अगाडि बढ्यो । त्यस झोलाले कति प्रगतिवादी साहित्यका कृतिको पाण्डुलिपि बोक्यो । कति परीक्षार्थीका भविष्य निर्धारण गर्ने उहाँले जाँचेका उत्तरपुस्तिका बोक्यो । मेरा बालाई पनि झोले भन्न मिल्ला तर हाम्रो समाजले अर्थसङ्कुचन गरेको झोले चाहिँ उहाँ बन्नुभएन ।
झोले भन्ने शब्दलाई नेपाल प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरेको ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’ले तीनवटा परिभाषामा समेटेको रहेछ । झोला बोक्ने झोले, अर्काको झोला बोक्ने झोले र झोलिलो वा रसिलो झोले । अर्काको झोला बोक्ने भन्ने परिभाषाको अभिधेयार्थ स्पष्ट नै छ; तर यसको भावार्थले अर्को अर्थ पनि दिन्छ । भावार्थ व्यक्तिका आआफ्ना व्याख्याका आधारमा फरक फरक हुनसक्छन् । मैले कसैलाई सहयोग गर्न झोला बोकेँ भने पनि म झोले हुनसक्छु तर यसको लाक्षणिक अर्थले के सङ्केत गर्छ भन्ने कुरा हामी आफैँले बुझ्नुपर्ने अवस्था छ । कसैको झोला बोक्नु भनेको भौतिक रूपमा देखिने झोला नभई अदृश्य व्यक्ति वा संस्थाका रुचि, स्वार्थ र अभिष्ट पूरा गरिदिनका लागि सहयोगी भूमिका निभाउन गरिने क्रियाकलाप हो भन्ने म ठान्छु । यस किसिमको भूमिका निर्वाह गर्नेलाई दोस्रो प्रकारको झोले भन्ने होला भन्ने मेरो अनुमान छ । गलत र भ्रमपूर्ण सूचना दिने खालको पत्रकारिता भनेर अथ्र्याइएको शब्द पीतपत्रकारिता पनि त्यसरी नै आरोप लगाउने गरिएका झोले पत्रकार भन्ने शब्दले दिने अर्थ होला भन्ने मेरो बुझाइ छ । कुनै व्यापारीका खातिर, राजनीतिक नेताका खातिर, कुनै कर्मचारीका लागि वा कुनै उद्योगपतिका पक्षमा नराम्रो, नकारात्मक सूचना सम्प्रेषण नगर्ने, उनीहरूलाई चोख्याउन र जोगाउन भूमिका खेल्ने केही पत्रकार र प्रकाशन संस्थाका कारण उनीहरूलाई पनि झोलेको आरोप लाग्ने गरेको हुनसक्छ । कुनै व्यापारी, उद्योगीका पक्षमा सरकारका नीति र कार्यक्रम बनाउने वा तिनमा हेरफेर गर्न भूमिका खेल्ने वा सहयोग गर्ने झोले कर्मचारी पनि होलान् हाम्रा राज्य संरचनामा । नियमित रूपमा प्रकाशमा आइरहने समाचार र तिनका घटनाक्रमका आधारमा पनि यस किसिमका कुरा लेख्न धक मान्नुपर्ने अवस्था छैन । नीतिगत भ्रष्टाचारका सन्दर्भमा यस किसिमका झोलेहरूको भूमिका प्रशंसायोग्य ठहरिन्छ होला स्वार्थसमूहका लागि । यस्ता सन्दर्भका प्रमाण यत्रतत्र भेटिने गर्छन् ।
राजनीतिक पार्टीमा आबद्ध कार्यकर्ता वा समर्थकले नेतृत्वको समालोचना नगर्ने वा गर्न नपाउने र सम्बन्धित नेतृत्वले चुइँक्क विरोधका आवाज उप्कन नदिने वातावरणको सिर्जना गर्ने गरेका गुनासा पनि यदाकदा बाहिर सञ्चारमा आइरहेकै छन् । जसका कारण ती व्यक्तिहरूले आलोचनात्मक चेत गुमाएका छन्, केही पाइहालिएला कि भनेर लुत्रुक्क परेका छन् र नेपालगञ्जको घोडा जसरी एकसुरे, एकाङ्गी भइसकेका छन् । तिनीहरू कुनै संश्लेषण, विश्लेषणविना खुरुखुरु आज्ञापालन गर्ने व्यक्तिका रूपमा प्रतिस्थापित पनि भएका छन् । राजनीतिक पार्टीका यस किसिमको प्रवृत्तिले उत्पादन गर्ने भनेको झोले कार्यकर्ता नै हो । नेतृत्व विकास, समतामूलक प्रतिनिधित्व, अन्तरपार्टी लोकतन्त्र र जनतासम्म पुग्ने अवसरलाई यस किसिमको प्रवृत्तिले हानी गर्ने कुरामा दुईमत नहोला । अर्कातर्फ झोलामै छाप र लेटरहेड लिएर गैर सरकारी संस्था चलाउने झोले एनजीओ पनि प्रशस्तै थिए र अहिले पनि छन् । तर विगतका कतिपय विषम परिस्थितिमा पनि जनताका काम रोक्न भएन भनेर झोलामै गाविसका छाप र लेटरहेड लिएर कतिपय गाविस, वडा सचिवले काम गरे । त्यस समयका केही समस्या र गुनासा पनि होलान् तर त्यस्ता बेला राम्रा काम गरेकालाई सकारात्मक झोलेका रूपमा परिभाषित गर्नु उपयुक्त होला भन्ने मेरो मान्यता छ ।
भाषाको प्रयोग सँगसँगै कुनै पनि शब्दको अर्थसङ्कुचन र अर्थविस्तार हुने प्रक्रियाको सिकार भएर हाम्रा किरा जातिका अरिङ्गाल पनि यहाँ बदनाम भएका छन् । यिनीहरूको राजनीतिक पार्टीसँग केही लिनुदिनु छैन तर यिनीहरू नकारात्मक मानकका रूपमा स्थापित गराइएका छन् । सामाजिक सञ्जालको व्यापक प्रयोग र बढ्दो प्रभावका कारण कसैलाई आक्रमण गर्ने र त्यसको प्रत्याक्रमण अर्को समूहले गर्ने काममा यी डिजिटल अरिङ्गाल सक्रिय रहन्छन् । रामायणका कथामा चर्चा हुने राम र सीताका भक्त हनुमान पनि यसरी नै बदनाम छन् । कुनै व्यक्तिको रक्षामा उत्रिए, उसको बचाउ गरे, ती सबै रक्षक र समर्थक, हनुमान कहलिने अहिलेको अवस्था छ । तिनीहरू झोला नबोकी यी सबै काम गर्छन् तर पनि तिनीहरूलाई झोलेका रूपमा व्याख्या गर्न सकिन्छ । चेतनाशून्य र बौद्धिक लाचारी अर्थसङ्कुचन भएका झोले, अरिङ्गाल र हनुमानको विशेषता हो । तर्क र सिद्धान्तले यिनीहरूसँगको वादविवादमा काम गर्दैन । के चलायो मुखमा छिटा र मुर्खदेखि दैव डराउने कुरा मनन् नगरी यस किसिमका झोलेसँग पौँठेजोरी खेलियो भने दुख पाउने आफूले नै हो ।
यति हुँदाहुँदै पनि झोलाका सच्चा प्रयोगकर्ताका लागि भने झोलाको महत्त्व घट्नेवाला छैन । यो हाम्रो जीवनमा अझै केही समय महत्त्वपूर्ण अङ्गका रूपमा रहिरहने छ । हामी यसको प्रयोगलाई निरन्तरता दिइरहने छौँ । कसैले झोले भन्ला भनेर पीर पनि गर्ने छैनौँ । किनकि झोला बोक्नेलाई झोले भनेर नै भन्ने हो । फरक यत्ति हो हामी त्यो झोलामा किताब, कापी, कलम, अत्यावश्यक सामान राख्छौँ न कि कसैको बिकाउ विचार, एकाकी तर्कका दस्तावेज, स्वार्थी अभीष्ट र क्षणिक लाभ । बोक्नेछाँै त केबल विचार, सिद्धान्त र सङ्घर्षको कथागाथा, दूरगामी सोच, समानताको लक्ष्य र समाजवादी भविष्य । मेरो झोला मसँगै छ । म अरू कसैको झोला बोक्दिन । म झोले हुँ । मलाई यो नामसँग कुनै गुनासो छैन ।
रामघाट, पोखरा