18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

समीक्षाको कोसेली मूल्याङ्कनहरूको मूल्याङ्कन

कृति/समीक्षा नवीन पौड्याल June 8, 2025, 10:17 am
नवीन पौड्याल
नवीन पौड्याल

नेपाली साहित्यमा यस्ता लेखकहरू पनि छन् जो निस्वार्थ रूपमा लेखिरहन्छन्, अध्ययन गरिरहन्छन्, संस्थातिर धाइरहन्छन्। आफ्नो व्यक्तिगत स्वार्थभन्दा अघि उठेर जाति र भाषाको सेवामा संलग्न रह्छन्। कालिम्पोङका गौरी नेम्बाङ पनि यस्तै व्यक्ति हुन्। उनी साहित्य लेखिरहन्छन्, पुस्तकहरू प्रकाशित गरिरहन्छन्। उनको दैनिक चर्या नै साहित्यमय छ। घरमा साहित्यिक पुस्तक पत्रिका पढेर बस्ने, केही लेखिरहने स्वभावका हुन्। उनले नेपाली विषयमा स्नातकोत्रसम्म अध्ययन गरी कालिम्पोङ जिल्लाको अम्बियोक उच्चतर माध्यमिक विद्यालयबाट प्रधानाध्यापक रही सेवानिवृत्त भएका हुन्। उनको जीवन नै शिक्षा र साहित्यमा बितेको छ।

नेपाली साहित्यमा स्रष्टासँगै समीक्षकहरूको सङ्ख्या पनि बढिरहेको छ। नेपाललगायत दार्जिलिङ सिक्किम, असम चारैतिरबाट समीक्षाका कलमहरू जुर्मुराउन उठेका छन्। सर्जकका सिर्जनालाई आलोकित पार्न, मूल्याङ्कन गर्न प्रकाश पारिदिन, पाठकलाई कृति र कृतिको महत्त्व बुझाउन समीक्षकहरू अघि सरेका छन्। साहित्यमा समीक्षकहरू पनि हुनुपर्छ तब मात्र सिर्जनाले लोकप्रियता पाउँछ।

कथा लेखनमा देखा परेका गौरी नेम्बाङ अब समीक्षामा पनि उत्रेका छन्। उनले कृति पढेर त्यसबारे आफुलाई लागेका कुरालाई उनले समीक्षाका रूपमा उतार्ने जमर्को गरेका छन्। उनको मूल्याङ्कनहरू भन्ने पुस्तक लेखेर प्रकाशित गर्दैछन्। कृति पढेर उनी सम्भवतः रमाएका छन्, प्रभावित भएका छन्। कृतिहरू पढेर त्यसबारे मनमा उब्जेका कुरालाई लेखकले उतारेका छन्। उनका समीक्षामा आफुलाई मनमा लागेको कुरा, त्यस कृतिभित्रका वस्तुलाई केलाउने प्रयास गरेका छन्। यसमा समालोचनाको सिद्धान्त, प्रणाली आदिभन्दा लेखकको मनको प्रभाव, भाव पक्षको व्याख्या जस्ता कुरा पाइन्छन्।

नेपाली समालोचनामा कालिम्पोङ क्षेत्र धेरै पछि परेको छ। यहाँबाट प्रकाशित सिर्जनाहरूले यथोचित समीक्षण र मूल्याङ्कनको आलोक देख्न पाएका हुँदैनन्। कालिम्पोङका धेरै कवि लेखकहरूका कृति त्यसै अचर्चित भएका छन्। यहाँ समीक्षकहरूको सङ्ख्या थोरै नै छ। यद्यपि केही नयाँ नयाँ समीक्षक देखा परिरहेका छन्। यसै क्रममा अब गौरी नेम्बाङ पनि यसतर्फ लागेका रहेछन्।

उनको पछिल्लो पुस्तक मूल्याङ्कनहरूमा जम्मा छब्बीसवटा समीक्षात्मक लेखहरू रहेका छन्। यी लेखहरूमा कृति र कृतिकारका बारेमा आफ्नो मत विचार पोखेका छन्। ज्ञान सुतारको कथासङ्ग्रह जुलुसमा हिँड्ने मान्छेका एकेकवटा कथाहरूको मूल वस्तु केलाइएको छ। जीवन नामदुङको बैशाख कवितासङ्ग्रहका तेत्तीसवटा कविताहरूको भावपक्ष केलाएका छन्। यसमा भएका जम्मै कविताहरूका मूल विषयवस्तु, कविताले भन्न चाहेका कुरा आदि अध्ययन गरिएको छ। यस आधारमा कविलाई लेखकले ठुला कविका रूपमा दहर्याएका छन्। जीवन नामदुङका कविताका केस्रा केस्रा केलाउने प्रयास गरेका छन्। धुप्पी कविताभित्र अन्तर्निहित भावपक्षलाई केलाएका छन्।

इन्द्र सुन्दासको जुनेली रेखा उपन्यासको भाव पक्ष हेरिएको छ। इन्द्र सुन्दासको ‘जुनेली रेखा’ उपन्यासको विश्लेषण गर्ने क्रममा यसको सामाजिक राजनैतिक आर्थिक आदि पृष्ठभूमि केलाइएको छ। उपन्यासभित्रका विभिन्न प्रसङ्गलाई इतिहास र सामाजिक आधारम केलाइएको छ। यस उपन्यासमा उठान भएका चिया कमानको अन्याय अत्याचार, हट्टाबाहिर प्रसङ्ग, पात्र पात्राहरूले भोग्नुपरेको पीडालाई उतार्ने प्रयास गरिएको छ। यस कवितामा जातीय अस्त्तिवको सङ्कटलाई मार्मिक ढङ्गमा प्रस्तुत गरिएको कुरा उल्लेख छ। हट्टाबाहिरको पृष्ठभूमिबारे अध्ययन गरिएको छ। उपन्यासभित्र ब्रिटिशकालीन दार्जिलिङको सामाजिक राजनैतिक इतिहासको प्रसङ्गमा यसको व्याख्या गरिएको छ। गम्भीर अग्निहोत्रीको नेपाली बाल उद्यान कवितासङ्ग्रहको भाव पक्ष, बालोपदेश रहेको कुरा उल्लेख गरेका छन्। बालबगैंचामा रहेका कवितामा देशभक्ति प्रकृतिप्रेम, नैतिकता पाठ, अनुशासन आदि रहेको कुरा उल्लेख गरेका छन्। यी बालकविताको भावगत सरलता, शाब्दिक क्रीडाबारे चर्चा गरेका छन्। उनी कविताको भाव पक्षलाई समात्ने समीक्षक हुन्। कविताले के भन्ने खोजेको त्यसलाई खोजी गर्दछन्।

इन्द्रबहादुर छेत्रीको ‘अव्यक्त रहस्य’ कथासङ्ग्रहका दसवटा जम्मै कथाहरू पनि भाव पक्षको समीक्षा गरेका छन्। छेत्रीका कथामा स्थानीय सम्यसाय राजनैतिक आर्थिक आदि समस्याहरू देखाइएको कुरा उल्लेख गरेका छन्।

अर्को समीक्षा छ अगमसिंह गिरीको कवितामा युगचेतना भन्ने रहेको छ। यसमा गिरीका कविताहरूको भावपक्ष केलाउने प्रयास गर्दै युगचेतनाबारे प्रकाश पारेका छन्। लेखकका अनुसार कवि गिरी जातिवादी अस्तित्ववादी र चेतनशील कवि हुन्। यसमा गिरीको कवित्वको प्रवृत्ति केलाउँदै केही कविताहरूको पंक्ति उद्घ़त गरेर त्यसको व्याख्या गरेका छन्।
अर्को लेख इन्द्रप्रसाद गुरागाईँको कथासङ्ग्रह स्वाभिमानको मूल्याङ्कनमा असमका इन्द्रप्रसाद गुरागाईको कथाकारिताको मूल्याङ्कन गर्ने प्रयास गरिएको छ। स्वाभिमान कथासङ्ग्रहका एकेकवटा कथाको मूलभावको व्याख्या गरिएको छ। गुरागाईँका कथामा जातीय एकता अखण्डता, असमेली समाजको दिग्दर्शन, मानवतावाद आदि भएको कुराको उल्लेख गरेका छन्।

खिरोदा खँड्काको बालकवितासङ्ग्रह बाल उद्यान कवितासङ्ग्रहको पनि भावपक्षको चर्चा गरिएको छ। यसमा नेपाली साहित्यमा नारी लेखकहरूको योगदान पनि उल्लेखनीय छ भन्दै खिरोदा खँड्काको बालकवितासङ्ग्रहमा रहेका केही कविताहरूको उल्लेख गरेर त्यसको चर्चा गरिएको छ। अर्को समीक्षा छ प्रदीप गुरूङको बैरीमाया कथासङ्ग्रहको च्रचा र मूल्याङ्कन गरिएको छ। यसमा प्रदीप गुरूङको कथाहरूका भावगत रेखाङ्कन गरेका छन्।

अर्को भने चलचित्र अध्ययनका रूपमा पाइन्छ। छिमेकी चलचित्रमा लिम्बू जनजातीय संस्कृति र संस्कारका बारेमा अध्ययन गरेका छन्। यस चलचित्रले सामाजिक अन्धविश्वास आदिको निर्मूलनका लागि सन्देश दिएको कुरा उल्लेख गरेका छन्। चलचित्रको कथानकको उल्लेख गर्दै त्यसमा रहेका विभिन्न पक्ष केलाउने प्रयास गरेका छन्। यसमा पात्र-पात्राहरूको अभिनयकलाको पनि अध्ययन गरिएको छ।

अर्को लेख पनि बालकविताको समीक्षामा केन्द्रित छ। रत्न कुमार फुयेलको बालकवितसङ्ग्रहका बारेमा अध्ययन र मूल्याङ्कन गरिएको छ। यसमा रहेका प्राय जम्मै बालकविताहरूको विषयवस्तु र भावलाई केलाएका छन्।

देव भण्डारीको अज्ञात दिशातिर कथासङ्ग्रहको पनि समीक्षा गरिएको छ। प्रत्येक कथाहरूको विश्लेषण गरिएकरो छ। यसमा रहेका कथाहरूका आधारमा कथाकारको मूल्याङ्कन गरिएको छ प्रदीप गुरऊकै बिरिमपूल कथासहग्रहमाथि फेरि अर्को लेख आएको छ। यसमा बिरिमफूल कथासङ्ग्रहका आधार फेरि प्रदीप गुरूङको कथाकारिताको मूल्याङ्कन गरिएको छ। यसमा पनि बिरिमफूल कथासङ्ग्रहका एकेक कथाका बारेमा निकै घोत्लिएको पाइन्छ। प्रदीप गुरूङका कथामा गोरूबथानको साजिक परिप्रेक्ष्यलाई राम्रोसँग अध्ययन गरिएको छ।

काठमाडौंका महेश प्रसाईको कुमुदाग्नि लघुकथासङ्ग्रहको पनि गहन अध्ययन गरिएको छ। उऩका अनुसार अहिलेको समयमा लामोकथाभन्दा लघुकथा उपयोगी रहेको छ। यसमा कुमुदाग्नि कथासङ्रग्रहका बत्तीसवटा नमुना कथाहरूलाई मूल्याङ्कनको आधार बनाएका छन्। लघुकथाभित्र रहेका मूल आशयलाई केलाउने प्रयास गरेका छन्।
मिजोरामकी लक्ष्मी मिनूको कर्तव्य नाटकसङ्ग्रहको पनि समीक्षा गरिएको छ। कर्तव्य भित्रका चारवटा एकाङ्कीहरूको अध्ययन गरी तिनमा रहेका वस्तु विवेचना गरिएको छ। गौरी नेम्बाङले कृतिहरूको मूल्याङ्कन गर्ने हुटहुटी र जोशले यो पुस्तक तयार पारेका हुन्। यताका धेरै राम्रा राम्रा पुस्तकको मूल्याङ्कन नभएको, आफुलाई कोशेली टक्राएका विभिन्न विधाका कृतिहरू पढेर जे जस्तो भए पनि मूल्याङ्कन समीक्षण गर्नुपर्ने कर्तव्य घच्घचिएर समीक्षा लेखेका हुन्। उनले यसमा कृतिबारे मन्तव्य र मूल्याङ्कन लेखेको भनेका छन्। कृतिलाई केलाइ कुलाई गरी तिनको समीक्षा गर्ने प्रयास गरेका छन्।

अगमसिंह गिरीको युद्ध र योद्धा खण्डकाव्यको मूल्याङ्कन गर्ने क्रममा यसभित्र रहेको जातीय अस्तित्वको बारेमा समीक्षा गरिएको छ। यस खण्डकाव्यको विशेषता नै यसमा रहेको जातीय चेतना हो भन्ने ठहर गरेका छन्। मणिपुरको भवानी अधिकारीको मनका आवेग निबन्धसङ्ग्रहको पनि मूल्याङ्कन गरिएको छ।

अर्को लेखमा अशोक रोकाको ‘विसर्जन’ कथासङ्ग्रहको समीक्षा गरिएको छ। अशोक रोकाको उक्त कथासङ्ग्रहका वस्तु विवेचना गरेका छन्। कसरी समाजलाई प्रतिविम्बित गरिएको छ भन्ने कुराको इक्षण् गरिएको छ।

अर्को लेखमा भानुभक्त र रघुनाथको तुलनात्मक अध्ययन गरिएको छ। यसमा दुवै कविका रामायणका केही नमुना पंक्त्तिहरू टिपेर तिनको तुलना गरिएको छ। कुन कुन कुरामा रघुनाथभन्दा भानुभक्त आचार्य अघि छन् भन्ने कुरामा अध्ययन गरिएको छ।

अर्को लेखक रहेको ग्याल्पो लामाको वियोग वेदनाको सुस्केराहरू खण्डकाव्यको मार्मिक पक्ष केलाइएको छ। यसमा काव्यकारले कसरी आफ्नो जीवनमा कमला नामकी पात्रासित आफ्नो जीवन गाँसिएको र उनको मृत्यु वेदनालाई कसरी अभिव्यक्त गरेका त्यसको लेखाजोखा गरेका छन्। आफ्नो किशोरावस्थादेखि प्रेम पात्रका रूपमा रहेकी कमलासित चालिस वर्षको लामो दाम्पत्य जीवनपछि उनको निधन हुँदा परेको पीडालाई अभिव्यक्ति दिएइएको कुरा उल्लेख गरिएको छ।

सुष्मा मोक्तानको ‘उन्मुक्त्ति चाहनाहरू’ कवितासङ्ग्रहको यहाँ समीक्षा गरिएको छ। सुष्मा मोक्तानको कविताहरूमा पाइने भावगत सरलता, विषयगत विभिन्नता र कवितागत विशेषतालाई केलाएको छ। मोक्तानका कवितामा नारीका अधिकार र समानताको पक्षमा कवितात्मक अभिव्यक्ति रहेको कुराको उल्लेख गरेका छन्। चियाबारीका श्रमिकहरूको आर्थिक, शारीरिक समस्या, सानुमति राईको जीवनी र कृतित्वबारे अर्को लेख रहेको छ। यसमा कालबुङकी सानुमति राईको मूल्याङ्कन गर्ने प्रयास गरिएको छ। यसमा कालेबुङका केही साहित्यिक प्रतिभाहरूको सूची दिएर सानुमती राईको साहित्यिक र वैयक्तिक पक्षहरूको अध्यनन गरिएको छ। यहाँ एक प्रकारले कालिम्पोङको नेपाली साहित्येतिहासको रेखाङ्कन पनि गरिएको छ।

हरीश मोक्तान अल्लारेको कथा बाँच्दै जाँदा कथासङ्ग्रहको पनि समीक्षा गरिएको छ। मोक्तानको कथा बाँच्दै जाँदा कथासङ्र्गहका बाह्रवटा कथाको मूल वस्तु र कथानकीय रेखालाई चिनाएका छन्। यसमा कथाको प्रवृत्तिपरक अध्ययन गरिएको छ। मोक्तानका कथामा पाइने रोचकता, कथानकीय मौलिकता आदि समीक्षण गरिएको छ।
हाइमनदास राईको विजय कथा विजयको पनि समीक्षा गरिएको छ। सानो पुस्तिकाको रूपमा रहेको विजय भित्र विजय र मुनाल गरी दुईवटा कथाहरू समावेश गरिएको छ। विजय कथाको किराती पौराणिक प्रसङ्गको उल्लेख गरिएको छ।

अर्को लेख छ तर्कको तराजुमा कवि भानुभक्त आचार्य। भानुभक्तलाई आदिकविको उपाधि दिएको कुरालाई न्यायोचित ठहर्याएका छन्।

प्रकाश कोविदको नोयो उपन्यासको समीक्षा गरिएको अर्को लेख छ। यस उपन्यास कसरी तिब्बतबाट नोयो र उनको प्यारो श्रीमान सोनाम छुट्टिएर भाग्नुपरेको र नोयोले जीवनभर सोनामको खोजी गरेको कथावस्तुको विश्लेषण गरिएको छ। नोयो उपन्यासको कथावस्तु र त्यसको मार्मिक पक्षबारे चर्चा गरेका छन्।

अन्तिम लेखका रूपमा कल्पनाबारे महाकवि लक्ष्मीप्रसाद देवकोटाको विचार बारे छ। महाकवि देवकोटाको निबन्धहरूमा उनले कल्पना तत्त्व केलाउँदै कल्पना नामको निबन्धको विश्लेषण गरिएको छ।

यस पुस्तकको मूल विशेषता हो कृति र कृतिकारको मूल्याङ्कन हो। भलै यसभित्र समालोचनाका मानदण्ड राम्रोसँग अपनाएका छैनन्, विश्लेषण पद्धति राम्रोसँग अपनाएका छैनन्, कृतिभित्रको शैलीपक्षलाई उति छोएका छैनन् तर कृति पढेर त्यसभित्रका जे जे कुरा मनमा सुझे तिनलाई यहाँ प्रकट गरेका छन्। केही लेखकहरूले उनलाई आफ्नो कृतिको कोसेली दिन्छन्, ती लेखकप्रति उनी कृतज्ञ भएर तिनलाई जतिसक्दो समीक्षण र मूल्याङ्कन गर्ने कर्तव्यचेतले लेखेका हुन्। यसकारण उनको उद्देश्य पवित्र छ।

यसमा कथा समीक्षामा उनको रूचि देखिन्छ। यद्यपि यसमा कविता , नाटक र उपन्यास र एउटा चलचित्र समीक्षा पनि गरेका छन्। उनको मूल्याङ्कनभित्र ज्ञान सुतार, इन्द्रबहादुर छेत्री, जीवन नामदुङ, प्रदीप गुरूङ, देव भण्डारी, हाइमनदास राई किरात, हरीश मोक्तान, प्रकाश कोविद, ग्याल्पो लामा, अशोक रोका, अगमसिंह गिरी, लक्ष्मी मिनू, भवानी अधिकारी, इन्द्र सुन्दास, सुष्मा तामाङ, सानुमती राई, इन्द्रप्रसाद गुरागाईँ, रत्न फुयेल, महेश प्रसाईँ, भानुभक्त गम्भीर राई अग्निहोत्री, आचार्य, महाकवि लक्ष्मीप्रसाद देवकोटा जस्ता सर्जकहरूबारे चर्चा गरेका छन्। उनको कलमले मूल्याङ्कन गरेका छन्। यसरी हेर्दा उनको समीक्षणको फाँट कालिम्पोङ, दार्जिलिङ-खरसाङ, असम, मणिपुर, मिजोराम, डुवर्स, काठमाडौंसम्म पुगेको पाइन्छ। यद्यपि मूल रूपमा कालिम्पोङका सर्जकहरूमाथि केन्द्रित छ। कालिम्पोङका प्रदीप गुरूङ, ज्ञान सुतार, इन्द्रबहादुर छेत्री, देव भण्डारी, सानुमति राई, गम्भीर राई अग्निहोत्री, हरीश मोक्तान, रत्न फुयेंल, हाइमनदास राई किरात जस्ता लेखकका कृतिबारे लेखेका छन्। यसमा पनि प्रदीप गुरूङ, अगमसिंग गिरी, भानुभक्त आचार्य आदिबारे दुई-दुईवटा लेखहरू रहेका छन्। नयाँ लेखकका साथै भानुभक्त आचार्य, रघुनाथ पोख्रेल, महाकवि लक्ष्मीप्रसाद देवकोटा, अगमसिंह गिरी, सानुमति राई, इन्द्र सुन्दास र प्रकाश कोविदका बारेमा अध्ययन प्रस्तुत गरेका छन्।

नेम्बाङका समीक्षामा प्रभाववाद, व्य़ाख्या, जीवनीपरक, कृतिकारपरक, मूल्याङ्कनपरक रहेका पाइन्छ। चार सयभन्दा बढी पृष्ठहरू भएको यो मूल्याङ्कनहरू खँदिलो छ। यसले लेखकले आफुले पढेका सुझेका बुझेका कुरालाई समीक्षाका रूपमा उतारेका छन्। उनी आफ्नो तर्फबाट इमानदार छन्। कृतिबारे आफुलाई लागेका कुरा व्यक्त गरेका छन्। यद्यपि यसमा कमजोरी पक्ष पनि नपाइने होइन्। उनले समीक्षा गर्दा कृतिगत वस्तुनिष्ठताभन्दा भावनिष्ठतालाई अपनाएका छन्। कृतिको शैलीपक्षबारे आँखा चिम्लेका छन्। धेरै जसो लेखकमा सर्जकसित उनको व्यक्तिगत सम्बन्ध, लेखकप्रति आफ्नो अनुराग आदिबारे खुलाउँदै समीक्षा अघि बढाएका छन्। उनले विश्लेषणभन्दा भावुकतालाई अधिक जोड़ दिएका छन्। उनी कृतित्वभन्दा कृतिकारपट्टि बढी फर्केका छन्। पाठकले यसभित्रका समीक्षा पढ्दा तत्तत कृतिहरूको मूल भाव र केही अन्य पक्ष बुझ्न सक्छ।

यद्यपि लेखकको उद्देश्य उदात्त छ। कृति पाएर त्यसलाई पढेर त्यसलाई आफुले सकेसम्म समीक्षण र मूल्याङ्कन गर्ने, त्यस कृतिप्रति पाठकलाई आकर्षित गराउने, त्यसभित्रका कुराहरूलाई खोतलेर उधिनेर पाठकसामु देखाइदिने, कृतिको थप रसास्वादन बनाउने, कृतिकारको योगदानको कदर गरिने, पाठकसमाजका अघि लेखकलाई राम्रोसँग चिनाउने, आदि उद्देश्य रहेको छ। साँच्चै नै यसमा कतिपय कवि लेखकहरूलाई कसैले पनि समीक्षक गरेका छैनन्। राम्रा राम्रा लेखकहरू ओझेल पर्नबाट जोगाउने गौरी नेम्बाङको चलेको पाइन्छ। जस्तै सुष्मा मोक्तान, इन्द्रबहादुर छेत्री, गम्भीर राई अग्निहोत्री, हरीश मोक्तान, रत्न कुमार फुयेंल आदिका बारे यसअघि कसैले समीक्षा गरिएको पाइन्न। ज्ञान सुतार, सानुमति राई, प्रकाश कोविद्, देव भण्डारी आदिका बारेमा पनि जति समीक्षण मूल्याङ्कन हुनपर्ने त्यति हुन सकेको छैन। यता भारतका सबैभन्दा भडी उपन्यास लेख्ने प्रकाश कोविद समीक्षकहरूको दृष्टिबाट ओझेल भएका हुन्। अहिले भर्खरै दुई चारजनाले प्रकाश कोविद् माथि केही काम गर्का छन्। त्यस्तै ज्ञान सुतार देव भण्डारी र सानुमति राईमाथि पनि थोरै समीक्षाको कलम चलेको पाइन्छ। यसरी हेर्दा समीक्षक नेम्बाङले जे जति मूल्याङ्न गरेका छन्, त्यो स्तुत्य छ। यो उनको कर्तव्यप्रेम, लेखकप्रेम, कृतिप्रेम, सिर्जनाप्रेम हो। कर्तव्यको उत्प्रेरणाले उनलाई लेख्न लगाएको हो।

कथाकारका रूपमा देखा परेका गौरी नेम्बाङ अब समीक्षामा पनि देखा परेका छन्, यसलाई स्वागत गर्नुपर्दछ। लेखकहरूले आफुलाई चढाएको कोसेलीस्वरूप पाएका पुस्तकहरूको समीक्षा गरिदिएर गुण तिर्ने प्रयास गरेका छन्। कृति पढेर आफुलाई जे जस्तो प्रभाव परेको छ, त्यसैलाई प्रकट गरेका छन्। उनी सिद्धान्तका टेका लाएर आफ्नो मत अघि बढाएका छैनन् बरू आफुले जे बुझे, जे अनुभूत गरे त्यसैलाई प्रस्तुत गरेका छन्।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।