लेखक-अन्वेषक श्री टी. बी. चन्द्र सुब्बाले मानव जातीय इतिहास लेखनमा एउटा अथक यात्रा पार गरी यहाँसम्म आइपुग्नु भएको छ । किनारा प्रकाशन, गान्तोकको सौजन्यतामा विश्वमा मानव सभ्यताः जातीय बृहत् इतिहासः संस्कृति र परम्परा प्रकाशनमा आएको छ । लगभग २३०० पृष्ठ ओगटेको प्रस्तुत भीमकाय शोधपरक ग्रन्थलाई जम्मा नौवटा खण्डहरूमा वर्गीकरण गरी पूर्ण गरिएको छ भने पुस्तकको मूल्य भारू १७,००० हजार रहेको छ ।
ग्रन्थको पहिलो खण्डमा अध्ययनको औचित्य सीमा क्षेत्र तथा दोस्रो खण्डमा पृथ्वीको सृष्टि, संरचना तथा ग्रह मण्डल, पृथ्वीमा जीवको उत्पत्तिबारे लौकिक र वैज्ञानिक आधारमा गहकिलो अध्ययन-अनुशीलन गरिएको छ। मानव जातिको उत्पत्ति र त्यसको वैज्ञानिक अन्वेषण तथा शोधको आधारमा मानव उत्पत्तिका विविध अवधारणा र तथ्यहरूलाई राखिएको छ । तेस्रो खण्डमा मानव जातिका लक्षण एवं जाति सम्मिश्रणबारे अध्ययन गरिएको छ । भारोपेली आर्य भाषी परिवारअन्तर्गत खस-बाहुन, खस छेत्रीलगायत अन्य जातिको प्राचीन इतिहास, खसको संस्कार-संस्कृति र परम्परालाई अध्ययनको विषयवस्तु बनाइएको छ भने चौथो खण्डमा समान-संस्कृति अथवा मिल्दो-जुल्दो संस्कार-संस्कृति (Similar culture) र परम्परा -जसअन्तर्गत लेप्चा, भोटिया, शेर्पा, तामाङ, गुरूङ, थकाली, जात-जातिबारे गहिरो अध्ययन गरिएको छ । यसका अतिरिक्त लाचुङ्पा, वालुङ, ताङ्बे, थुदाम, मुगाली, लार्के, ल्होफा, ल्होमी, सियार, योल्मो जातिको इतिहास र उनीहरूको भौतिक र अभौतिक संस्कृति र परम्पराबारे अनुशीलन गरिएको छ । अतः यस बृहत् ग्रन्थमा १४५ वटा जात-जातिका इतिहास, संस्कृति र परम्परालाई अनुसन्धनात्मक ढङ्गमा अध्ययन गरिएको छ भने १८० पृष्ठजति त्यससम्बन्धी विभिन्न स्रोतबाट तस्वीरहरू सङ्कलन गरिएको छ ।
पाँचौं खण्डमा भोट-बर्मेली भाषी परिवारअन्तर्गत असमान-संस्कृति भएका जातजातिहरूबारे अध्ययन रहेको छ। जसमा मुख्यरूपमा लिम्बू, मगर, भुजेल, धिमाल, माझी, चेपाङ (प्रजा), प्रहरी, दरै र दुरा आदि जात जातिका परम्परागत संस्कार-संस्कृतिबारे शोध- अनुशीलन गरिएको छ भने छैटौं खण्डमा भोट-बर्मेली भाषी परिवारका विशाल र प्रचलित जात-जाति र उनीहरूले पुस्तौंदेखि पालन गर्दै आएका जातीय परम्परागत संस्कृतिलाई अध्ययनको केन्द्रबिन्दु बनाइएको छ । जसमध्ये किरात, नेवार जातिको इतिहास, धर्म-संस्कृति तथा जातीय संस्कारलाई विमर्शमा ल्याइएको छ । सातौँ खण्डमा आग्नेली द्रविड, अस्ट्रिक भारोपेली र आर्य भाषी परिवारअन्तर्गत पर्ने विविध जात-गोष्ठीमध्ये थारूस कुमाल, ताजपुरिया, दनुवार, राजवंशी, बोटे, झाँगड़, उराव, धानुक, सन्थाल, सतार, कँजर, हडुवा, कदार, गोड, भिल, पाण्डे, नायर, यादव, टोडा, खडिया, कहार, सुडी, लोधा, राजबहार, गडेरी, कमार, विन्दा, चुरौटे, मुसलमान, सिख, राजपुत, बानियाँ, साँसी, बंगाली जातिका संस्कार-संस्कृतिलाई पनि यथास्थान र यथोचित उल्लेख गरिएको छ । आठौँ खण्डमा आग्नेली, द्रविडियन, आस्ट्रिक, मधेशी तथा भारोपेली आर्य भाषी परिवार एवम् मधेशी दलित समूहका केही जात-गोष्ठीहरू जस्तो- करूवा, कानु, ननिया, कुमाल, चमार (राम, रविदास, मोची), पासवान, बातर, मुसहर (माझी), मेहतर, खटिक, डुम, ठाकुर, धोबी आदि जातगोष्ठीहरूलाई समेट्न खोजिएको छ भने नवौं खण्डमा द्रविड भोट-बर्मेली र आर्य भाषी परिवारअन्तर्गत किसान, कुशवाडिया, कुसुण्डा, खसव्यासी, बरामु, बनकरिया, मेचे, राउटे, राजी आदि लोपोन्मुख जातिको इतिहास, संस्कार-संस्कृतिको अनुसन्धान गरिएको छ ।
प्रस्तुत ग्रन्थमा शुभचिन्तक महानुभवहरूका जम्मा १५४ वटा लामा-छोटा प्रेरणादायी शुभकामना सन्देशहरू समेटिएका छन् । यस शोधग्रन्थका अग्रभागमा डा. गोविन्दराज भट्टराई, डा. रामचन्द्र पोखरेल, डा. कृष्णराज घतानी, श्री नरेन्द्रराज प्रसाईं, डा. गोकुल सिन्हा, डा. जस योञ्जन प्यासी, डा. कविता लामा, डा. कृष्णप्रसाद घिमिरे, डा. राजकुमार छेत्री, पद्मश्री केदार गुरूङ, डा. तारामणि राई, खेमनाथ दाहाल, प्रा. पुरूषोत्तम दाहाल, डा. खेमराज नेपाल आदिका अत्यन्त गहकिला र मूल्याङ्कनपरक शुभकामना सन्देशहरू राखिएका छन् । विभिन्न क्षेत्रबाट प्राप्त प्रेरणादायक शुभकामना सन्देशका लागि पुस्तकमा १२० पृष्ठजति खर्च गरिएको छ ।
प्रस्तुत ग्रन्थ एक हिसाबले सांस्कृतिक विश्वकोश बनेको छ । साँच्चै भन्ने हो भने राहुल सांकृत्यायन, बालकृष्ण पोखरेललाई अक्षरसः पहिल्याउँदै जनकलाल शर्माले खनेको गोरेटोलाई श्री सुब्बाज्यूले एउटा फराकिलो सड़क बनाइ दिनुभएको छ । अब उहाँ हाम्रो लागि सानोतिनो डोरबहादुर विष्ट, बालकृष्ण पोखरेल, हंसपुरे सुवेदी, डा. प्रेम खत्री, धर्मराज थापा, डा. भक्त राईका भारतीय प्रतिरूप हुनुहुन्छ भन्दा अत्युक्ति नहोला कि । लामो समय खर्चेर अत्यन्त लगनशीलता र इमान्दारिताका साथ अध्ययन-अनुशीलन गरिएको परिशोधित प्रस्तुत शोधमूलक ग्रन्थले लामो समयसम्म मानव समाजलाई दिशाबोध गरिरहने छ । विभिन्न जात-जाती, जनजाती र उनीहरूको सामाजिक इतिहास, भौतिक र अभौतिक संस्कार-संस्कृति र धर्म-परम्परा आदि विविध पक्षलाई समेटेर यस्तो व्यापक र शोधपूर्ण अध्ययन-अनुशीलन गर्नु निकै कष्ठसाध्य र एकदमै जोखिमपूर्ण कार्य हो । यस्तो चुनौतीपूर्ण व्यापक अनुसन्धानमूलक कार्य अहिलेका युवा पिँढ़ीका निम्ति एउटा अनुकरणीय दृष्टान्त बनेको छ ।
लेखक श्री सुब्बाजीले ग्रन्थको आमुखमै- “ प्रस्तुत ग्रन्थलाई सरल, सहज, बोधगम्य रूपमा प्रस्तुत गर्ने जमर्को गरेको छु । ग्रन्थलाई यस रूपमा ल्याउनका निम्ति नेपाल, भारत लगायत विदेशका कतिपय ठाउँहरूको भ्रमण लगायत शोधकार्यले पनि धेरै सहयोग पुर्याएको छ भन्ने बोध गरेको छु ।... यस ग्रन्थले एक व्यक्ति, एक जाति, एक समाजलाई मात्र नभएर मानव जातिको इतिहासमा अनेकतामा एकता (Unity in diversity) अनि मानव समुदाय. मानवतावादलाई चिन्हित गराउने छन् भन्ने कुरामा म विश्वस्त छु ।” अझ डा. कृष्णप्रसाद घिमिरेकै शब्दहरूमा भन्ने हो भने- “ इतिहास अतीत र वर्तमानको बोध तथा भविष्यलाई हेर्ने दृष्टिकोण भएको हुँदा आफैमा यो जटिल विधा हो, त्यसमा पनि सम्पूर्ण मानव सभ्यताको इतिहास लेख्ने कुरा सहज छैन । यो ब्रह्माण्डमा मेटिन लागेका मानव सभ्यताका डोबहरूको खोजी हो, जुन कष्ठसाध्य मात्रै छैन, अति नै जोखिमपूर्ण र प्राज्ञिक यात्राका रूपमा पनि रहेको छ ।”
पुस्तकको सन्दर्भमा डा. गोविन्दराज भट्टराईज्यू यस्तो लेख्नुहुन्छ- “ मूल विषय त समाजमा विद्यमान अनेक जाति-जातिका संस्कृतिको परिचय दिनु थियो । संस्कृति भनेको सामाजिक प्राणीको रूपमा मानिसले पालना गर्ने कर्म, लाउने वस्र, खाने खाना, सोंच्ने जगत् अनेक संस्कार सबै थोक भिन्दाभिन्दै हुने हुनाले ती बाह्य स्वरूपबाट जाति छुट्टिन्छन् । त्यसका भित्री अदृश्य सोंचाई र जीवन दर्शन हुन्छन् । ती साराको योग हो संस्कृति ।” यसै सन्दर्भमा डा. रामचन्द्र पोखरेलज्यू अझ यस्तो लेख्नुहुन्छ- “ इतिहासको क्षेत्र अनन्त र दुर्गम छ । विश्व ब्रह्माण्डको उत्पत्ति र मानव सभ्यताको इतिहास अन्वेषण गर्ने अनुसन्धाताका लागि इतिहासको अनन्त र दुर्गम स्थितिसँग सङ्घर्ष गर्नुको विकल्प छैन ।...मानव संस्कृति र सभ्यताको आरम्भ र विकासमा पूर्वीय आचार्यहरूको अहम् भूमिका रहेको छ ।
प्रस्तुत ग्रन्थमा लेखक सुब्बाले पृथ्वीको सृष्टि र ग्रहमण्डल, मानव जातिको उत्पत्ति, मानव जातिको इतिहास, संस्कृति परम्परा र जातिगत अस्तित्वलाई अन्वेषण गरी विश्व ब्रह्माण्डको बृहत्तर स्वरूप प्रस्तुत गरेका छन् । अनुसन्धाताको अन्तरचेतना, स्वतन्त्र अन्वेषण र स्थलगत यात्रानुभव ग्रन्थ प्रतिपादनको आधार हो । ग्रन्थमा व्यक्तिगत स्व-को अनुभूतिले कुनै स्थान पाएको छैन । लेखक सुब्बाले ग्रन्थमा दार्शनिक, नैतिक विचार र धर्मोपदेशको अन्तश्चेतनालाई सुव्यवस्थित रूपमा स्थापना गरेका छन् । ... मानव जातिको अस्तित्वलाई तथ्यपरक आधारमा सूक्ष्म अध्ययन गरी महत्वपूर्ण निष्कर्षमा पुगेको यो ग्रन्थ विश्वमानव जातिको मानक ग्रन्थ हो । ग्रन्थकारको अनुसन्धान चेतना विस्तृत र गहिरो छ । दृष्टि तत्त्वान्वेषी छ । मानव जातिको अस्तित्वको अन्वेषणमा ग्रन्थकारको प्रतिबद्धता र एकनिष्ठता स्तुत्य छ । ”
प्रस्तुत ग्रन्थ मानव जातिको अध्ययन-अनुसन्धान गर्ने अनुसन्धाता, विद्वान-विदुषी, प्राध्यापक सबैका लागि अति उपयोगी र आधार सामग्रीको रूपमा रहेको छ । हिमवत्खण्डका विभिन्न जात, जाति तथा जातगोष्ठीको उत्पत्तिगत इतिहास, भूगोल, संस्कृति एवं परम्पराको सुदीर्य यात्राको अवलोकन गरिएको छ । यो डा. कृष्णराज घतानीले भने झैं प्रस्तुत पुस्तक “ एकातिर मानवशास्त्रीय अध्ययनका दृष्टिले व्याख्यात्मक मानवशास्त्रीय अध्ययन (Anthropological study) र अर्कातिर समाजशास्त्रीय दृष्टिले व्याख्यात्मक प्रतीकात्मक अध्ययन ( Symbolic study) हो ।” पुस्तककै प्रसङ्गमा किनारा प्रकाशन, गान्तोकको पक्षमा प्रकाशकीयमा श्रीमती दुर्गा राई लिम्बू पनि यस्तो लेख्नुहुन्छ -“ संस्कृति मानवीय जीवनको एक मौलिक तत्त्व हो भन्ने कुरा यस बृहत् ग्रन्थले स्पष्ट पार्दछ । मानवीय जीवनलाई परिभाषित गर्ने विविध पक्षहरूको विषयलाई नियालेर हेर्दा जन-जीवनका धार्मिक विश्वास, नैतिक र सामाजिक मूल्यहरू साथै परम्परागत मान्यताहरू विस्तारपूरक उल्लेख गरिएको छ ।”
अतः प्रस्तुत ग्रन्थमा खस-बाहुन, खस छेत्रीका अतिरिक्त खस कामी, खस दमाई, खस सार्की, वादी, गाइने (गन्धर्व), दशनामी सन्यासी, योगी (जोगी), लेप्चा, भोटिया, शेर्पा, तामाङ, गुरूङ, थकाली आदि जातिको इतिहास, संस्कृति र परम्पराबारे विस्तृत अध्ययन-अनुशीलन गरिएको छ । यसका साथै समान-संस्कृति भएका अल्पसंख्यक जनजातिहरूमा लाचुङ्पा, वालुङ, ताङ्बे, थुदाम, बाह्र गाउँले, मुगाली, लार्के, ल्होफा, ल्होमी, योल्मो (ह्याल्मो) अनि असमान-संस्कृति भएका लिम्बू, मगर, भुजेल, धिमाल, माझी, चेपाङ, पहरी, दरै, दुरा आदि जात-जाति र जातगोष्ठीबारे अध्ययन छ । यसरी नै किरात जितको प्राचीन इतिहास, संस्कृति र परम्पराअन्तर्गत केही किरातीहरूको सङ्क्षिप्त परिचयात्मक अध्ययन गरिएको छ, जसमा कुलुङ, थुलुङ, बाहिङ, खालिङ, चाम्लिङ, साङपाङ, मेवाहाङ, बान्तवा, लोहोरूङ, आठपहरे/आठपहरिया, पुमा, दुङमाली, कोयू, फाङदुवाली, दुमी, छिन्ताङे, रूम्दाली, लिङखिम, जेरो, नेवाहाङ, तिलुङ, नाछिरिङ, छिलिङ, याम्फू साथै किराती-कोइँच (सुनुवार), याक्खा (देवान), थामी, जिरेल, सुरेल, हायू जातिको इतिहासहित उनीहरूको सांस्कृतिक परम्परा प्रकाश पारिएको छ ।
सोहीक्रममा नेवार (महर्जन, श्रेष्ठ, बज्राचार्य, उदास, मानन्धर, खड्गी, कपाली, माली, पोडे, नापित, रञ्जितकर, तण्डुकार, नकर्मी, च्यामे, चित्रकार, राजोपाध्याय, गोपाली, प्रजापति, राजकर्णिकार) जातिको इतिहास तथा उनीहरूको संस्कृति र परम्पराबारे अनुशीलन गरिएको छ । यसका अतिरिक्त थारू, कुमाल, ताजपुरिया. दनुवार, राजवंशी (कोचे), बोटे, मारवाडी गन्गाई, झागड़/उराव, धानुक, सारस्वत, सन्ताल, सतार, कँजर, हवुडा, कदार, गोड, पाण्डे, भिल, नायर, यादव, बरई, टोडा, खडिया, मुण्डा, कोखा, ग्वारिया, लंगा, मलाह, कलवार, सुडी, आदि जस्ता सयौं जात-जातीबारे गहिरो अध्ययन-अनुशीलन गरिएको छ । यी विभिन्न जात-गोष्ठीले मान्ने धर्म-संस्कृति र लोक परम्परा, थर-गोत्र, परम्परागत नाचगान र चाडपर्व, भेषभूषा, खानपान तथा भौतिक र अभौतिक संस्कार-संस्कृति र पद्धतिबारे शोधपरक ढाँचामा अध्ययन-अनुशीलन गरिएको छ ।
निष्कर्षमा तेरिज कसेर भन्नु हो भने प्रस्तुत ऐतिहासिक भीमकाय शोधमूलक ग्रन्थ विश्वभरि छरिएका भिन्न-भिन्न जात-जातिका सङ्क्षिप्त इतिहाससहित संस्कार-संस्कृतिको परिचयात्मक इतिहास हो, जसमा १४५ जात-जातिका सांस्कृतिक परम्परालाई यथोचित ढङ्गमा यथास्थान अध्ययन-विश्लेषण गरिएको छ । संस्कृति सदा गतिशील र परिवर्तनशील हुने हुनाले समयको प्रवाहसगै मानवीय व्यवहार र परम्परागत संस्कृतिमा समेत केही परिवर्तन आइरहने विषय हो । संस्कृति जातिको अनुहार हो, अस्तित्व र पहिचान हो । अग्रभागमा रहेका लेखक सुब्बाज्यूलगातय अन्य धेरै विद्वान-विदुषीहरूका मूल्याङ्कनपरक भूमिकात्मक मस्तिष्क (शुभकामना सन्देश)-हरूले कृतिको औचित्य र महत्त्वबारे धेरथोर प्रकाश पारेकै छ । मानव जातिलाई सामाजिकरणको प्रक्रियाले नै विश्वब्रह्माण्डका अन्य जीव-जन्तुहरूभन्दा सर्वश्रेष्ठ र उच्च दर्जा दिइएको हो । यही सामाजिकरणको माध्यमबाट मानिसले विभिन्न व्यवहार, रीति-थिति, परम्परागत मूल्य-मान्यता तथा सामाजिक गतिविधिहरूमा आफूलाई सरिक राख्दै आएको छ । मानवीय व्यवहारले संस्कृति र परम्पराको रूपमा अग्रसर हुँदै मानवीय समाज र जातिको अस्तित्वलाई कायम राख्न सक्षम बनेको दृष्टान्त छ।
सहप्राध्यापक, स्नातकोत्तर नेपाली विभाग, दार्जिलिङ सरकारी महाविद्यालय, दार्जिलिङ ।