18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

चोटिला मुक्तकको गठिलो सङ्ग्रह ‘श्रद्धा’

कृति/समीक्षा प्रा.डा.गंगाप्रसाद अधिकारी June 8, 2025, 10:30 am
प्रा.डा.गंगाप्रसाद अधिकारी
प्रा.डा.गंगाप्रसाद अधिकारी

विशेष गरी बालसाहित्यमा कलम चलाउने स्रष्टा चैनपुर, सङ्खुवासभाली विनोद न्यौपानेको हालको बसोबास लन्डन (बेलायत) हो । २०५८ सालदेखि नै बालसाहित्य सिर्जनाबाट साहित्ययात्रा थाल्नुभएका न्यौपानेका पछिल्लो कृति प्रस्तुत श्रद्धा मुक्तक सङग्रहसमेत जम्मा एघारवटा कृति प्रकाशन भइसकेका छन् । तीमध्ये दुईवटा चाहिँ गैह्र साहित्यिक र तीमध्ये एउटा अङ्ग्रेजीमा लेखिएको छ । बालसाहित्य तर्फ यतिको काखमा (बाल उपन्यास) का तीन शृंखला प्रकाशित छन् भने खोसिएको बाल्यकाल अर्को बाल उपन्यास पनि प्रकाशित छ । अन्यमा लोखर्केको बिहे बालकथा सङ्ग्रह, बैली बाल गीति कथा प्रकाशित छन् । यीबाहेक बुद्ध भएर जन्मन चाहन्छु (कविता सङ्ग्रह) आमा चैनपुर (खण्डकाव्य) र प्रस्तुत श्रद्धा (मुक्तक सङ्ग्रह) साहित्यिक कृतिहरू पनि प्रकाशित छन् ।

कविता विषय/भावको लयबद्ध प्रस्तुति हो । यो संसारकै जेठो साहित्य हो र सबैभन्दा बढी उपविधा भएको विधा पनि हो । एक पङ्क्तिमा भाव पूर्ण हुनेदेखि लिएर एक लाख पद्य भएको महाभारतसम्म पनि सबै कविता अन्तर्गत नै आउँछन् । नेपाली समालोचकले कवितालाई लघुतम, लघु, मध्यम, बृहत् र बृहत्तर गरी आयामका आधारमा पाँच श्रेणीमा वर्गीकरण गरेका छन् । प्रस्तुत कृति श्रद्धाको सन्दर्भ मुक्तकसँग भएकाले कविताको त्यसै स्वरूपबारे केही सैद्धान्तिक विमर्श गर्नु सान्दर्भिक होला ।

मुक्तक माथि भनिएका कविताका विविध आयाममध्ये लघुतम वर्गमा पर्ने कविताप्रकार हो । लघुतम वर्गका कवितामा एक पङ्क्तिको कविता एलाक, तीन पङ्क्ति तर ११ अक्षरमा लेखिने बाछिटा, तीन पङ्क्तिमा लेखिने हाइकु, सेन्यो जस्ता मुक्तकभन्दा पनि लघु आकारका कविता पनि प्रचलनमा छन् । मुक्तक ती लघुतम कविताप्रकारभन्दा केही ठुलो आकारको सामान्यतया चार पङ्क्तिमा लेखिने कविताप्रकार हो । मुक्तक संस्कृत काव्यशास्त्रमा प्रयुक्त शब्द हो । संस्कृत काव्य परम्परामा मुक्तक भनेको चार पङ्क्ति वा एक पद्य (अनुष्टुप् आदि छन्दमा दुई पङ्क्तिको पनि) मा भाव पूर्ण हुने कविता बुझिन्छ । तर, प्रस्तुत सन्दर्भमा मुक्तकको स्वरूप संस्कृत परम्पराभन्दा भिन्न छ । आधुनिक सन्दर्भमा अन्तिम पङ्क्तिमा प्रायः प्रभावशाली विचार वा सन्देश व्यक्त गरिने कविताको एउटा प्रकारका रूपमा मुक्तकलाई चिनिन्छ । संस्कृत काव्य परम्परामा मुक्तकले एक श्लोकमा भाव पूर्ण गरे भइहाल्छ, अन्तिम पङ्क्ति प्रभावकारी होस्, नहोस् । संस्कृतको मुक्तकभन्दा आधुनिक मुक्तकमा केही बढी रूढिहरू पनि छन् । आधुनिक मुक्तकमा लययोजना र अनुप्रासको अनिवार्यता छ तर छन्दको बन्धन भने अनिवार्य छैन । यसमा पहिलो, दोस्रो र चौथो पङ्क्तिमा समान अनुप्रासीयता आवश्यक हुन्छ भने तेस्रो पङ्क्ति स्वतन्त्र हुन्छ । मुक्तकको चौथो वा अन्तिम पङ्क्ति व्यङ्ग्ययुक्त वा प्रभावकारी हुनु अनिवार्य छ तर संस्कृतको मुक्तक त्यस्ता रूढिबाट मुक्त छ ।

अङ्ग्रेजीमा यसलाई ठ्याक्कै चिनाउने शब्द नभए पनि यो अङ्ग्रेजीको क्वाट्रैन (Quatrain) सँग नजिक देखिन्छ । क्वाट्रैन पनि चार पङ्क्तिको, निश्चित लय संरचना वा अनुप्रासयोजनामा बाँधिएको रचना हो । दुवैमा छन्दको नियमितता हुन्छ । क्वाट्रैनमा पनि मुक्तकमा जस्तै विषयको स्वतन्त्रता हुन्छ तर मुक्तकमा जस्तो व्यङ्ग्य वा चौथो पङ्क्ति प्रभावकारी हुनु अनिवार्य छैन । मुक्तकमा अनुप्रासीयता हुन्छ तर क्वाट्रैनमा जस्तो AABB वा ABAB जस्तो कठोर राइम वा अनुप्रासीय नियम भने हुँदैन । क्वाट्रैनको निश्चित अनुप्रास योजना आक्षरिक (Syllabic) हुन्छ अर्थात् अन्तिम अक्षरमा तुकबन्दी हुन्छ मुक्तकमा भने कुनै शब्द वा पदावलीमा तुकबन्दी हुन्छ र त्यो तेस्रो पङ्क्तिमा खण्डित हुन्छ अरू पङ्क्तिमा समान रूपमा रहन्छ ।

मुक्तक एक प्रकार उर्दूको गजलको लघुरूप वा सायरी जस्तै जस्तै हो । मुक्तकमा चार पङ्क्ति नै हुनुपर्ने मान्यता छ । आदर्श मुक्तक चार पङ्क्तिकै हुन्छ तर त्यसभन्दा बढी पङ्क्तिमा पनि मुक्तक रचिएको पाइन्छ । मुक्तकमा सामान्यतः पहिलो पङ्क्तिमा विषयको उठान, दोस्रोमा उठानलाई थप समर्थन वा पुष्टि गरेर मुक्तकको विषयको पृष्ठभूमि तयार गरिन्छ । तेस्रो पङ्क्ति स्वतन्त्र जस्तो देखिए पनि यो वाक्य आफैंमा पूरा नभई चौथो वाक्यको पूर्वभागका रूपमा आउँछ । यसले चौथो पङ्क्तिलाई चोटिलो र व्यङ्ग्यपूर्ण बनाउन पृष्ठभूमि वा वातावरण तयार गर्दछ । चौथो पङ्क्ति मुक्तकको सबैभन्दा महत्त्वपूर्ण भाग हो । यसले मुक्तकको भाव पूर्ण गर्नुका साथै अन्य तीन पङ्क्तिमा उठेका विषयलाई चोटिलो ढङ्ले समापन गर्दछ । मुक्तकले के चोटिलो विषय उठाउने हो अथवा प्रहारको तारो केलाई बनाउने हो त्यसै अनुरूप पहिलो पङ्क्तिदेखि नै योजनाबद्ध ढङ्गले पहिलो र दोस्रो पङ्क्तिलाई व्यवस्थित गरिन्छ । त्यसपछि चौथो पङ्क्तिलाई प्रभावकारी बनाउन तेस्रो पङ्क्तिमा तानाबाना बुनिन्छ र चौथो पङ्क्ति मुक्तकले ताकेको लक्ष्यभेदन गर्न समर्थ हुन्छ । समीक्ष्य कृतिभित्रैबाट यो उदाहरण हेरौं:
किन निष्ठुर भयौ, तिम्रो पनि मुटु हुँदैन र ?
बस्ती जल्दै गर्दा पनि तिम्रो मनमा छुँदैन र ?
कठोर बनी अझै कति मान्छे मारिराख्छौ,
बालकको चीत्कारले तिम्रो मन रुँदैन र ? (पृ.६०)

यहाँ युद्धपिपासु व्यक्ति वा प्रवृत्तिको हृदयहीन चरित्रलाई झापट हानिएको छ । चार पङ्क्तिमा रचिएको यस मुक्तकका पहिलो, दोस्रो र अन्तिम पङ्क्ति ‘हुँदैन र ?’, ‘छुँदैन र ?’, ‘रुँदैन र ?’ पदावलीहरू समान अन्त्यानुप्रासमा बाँधिएका छन् भने तेस्रो पङ्क्ति त्यो बन्धनबाट स्वतन्त्र छ । मुक्तकको पहिलो र दोस्रो पङ्क्तिले विषयको उठान र त्यसको पुष्टि वा थप समर्थन गरेर भन्न खोजिएको कुराको पृष्ठभूमि तयार गरेको छ । तेस्रो पङ्क्ति चौथो पङ्क्तिको सहयोगी भएर आएको छ । यसले मानवको युद्धपिपासु चरित्रलाई नङ्ग्याउने र उसको निठुर स्वभावलाई प्रहार गरेर मुक्तकको समग्र प्रभाव व्यक्त गर्न समर्थ चौथो पङ्क्तिलाई लक्ष्यभेदन गर्न समर्थ बनाएको छ । यसरी नरसंहार गरेर युद्ध जित्ने आकाङ्क्षामा लाग्नेहरूको निष्ठुरी चरित्रमाथि व्यङ्ग्य गरिएको यस मुक्तकले माथि चर्चा गरिएका सैद्धान्तिक स्थापनाको आदर्श स्वरूप र शैलीलाई जस्ताको तस्तै उतारेको छ ।

मुक्तककार कवि न्यौपानेको प्रस्तुत श्रद्धा (२०८१) मुक्तक सङ्ग्रहमा समान प्रस्तुतिशैलीका जम्मा १७२ मुक्तक समावेश छन् । तिनलाई ‘जीवन/जगत्’ (१०८ वटा), ‘प्रेम’ (१६ वटा), ‘राजनीति/व्यङ्ग्य’ (४० वटा) र ‘बालसुलभ’ (८ वटा) गरी चार खण्डमा राखिएको छ । यी विषय शीर्षकहरूले सङ्ग्रहभित्रका मुक्तकले कुन कुन खण्डमा कुन कुन विषयवस्तुलाई पक्रेका छन् भन्ने कुरा स्वतः प्रस्ट्याएका छन् ।

‘जीवन÷जगत्’ भाग अन्तर्गतका मुक्तक प्रत्येकले आजको जीवनसत्यलाई उजागर गर्दछन् । यिनले स्रष्टाको दार्शनिक चेत प्रकट गर्छन्, आजको संसार, समाज र मानवव्यवहार अनि स्रष्टा स्वयम्का जीवन भोगाइ र अनुभवबाट आर्जित वैचारिकता आदि विविध पाटाहरूलाई शब्दको जादुमय प्रस्तुति दिन्छन् । यसबाट पाठकमा हृदयावर्जक प्रभाव उत्पन्न हुन्छ । कविका स्वानुभवबाट प्राप्त अनुभूति र संसारलाई आफैंले देखेर, भोगेर र बुझेर प्राप्त गरेको सत्य र ज्ञानलाई शब्दका तराजुले जोखी जोखी प्रस्तुत गरिएको छ यी मुक्तकमा । यहाँ व्यक्तिगत भोगाइ र अनुभवदेखि लिएर व्यक्तिमान्छेका क्रियाकलाप र सोच, विधिव्यवहार, प्रकृति आदि विषयसँगै देश, समाज हँुदै समग्र युगजीवनकै चित्र देख्न सकिन्छ । यी मुक्तकमा कतै जीवनसत्यको उद्घाटन गरिएको छ, कतै विषादयुक्त जीवन प्रकट भएको छ । मानवको क्रियाशीलता, व्यावहारिकता, तृष्णामा रुमल्लिँदो मानव, जीवनका कठिनाइहरू, कालचक्रको खेल, टालटुले जीवन, बेरोजगारीले निम्त्याएको प्रतिभा पलायनको समस्या, जीवनको क्षणभङ्गुरता र उतार चढाव, परोपकारको महत्त्व, मातृप्रेम, देशप्रेम, राष्ट्र र राष्ट्रियता, त्याग र समर्पणभाव, युद्धको त्रासदी र पीडा, धोकाधडी, शक्तिशालीहरूका करामत, वैदेशिक रोजगारीको बाध्यता र पीडा जस्ता अनेकन विषय समावेश गरिएका छन् । कविको प्रभावकारी प्रस्तुति सामथ्र्यले मुक्तकरू हृदयहारी बनेका छन् ।
केही उदाहरण हेरौं :

तृष्णामा रुमल्लिएको मानव :
लगातार हिँडिएकै हो तर गन्तव्य किन भेटिएन ?
खोजेको धुन निकाल्नलाई खोइ, तार किन रेटिएन ?
जति पायो त्यति बढ्दै जान्छ कस्तो हो यो तिर्सना,
जीवनभर मेट्न खोज्दा पनि तिर्खा किन मेटिएन ? (पृ.२७)

यहाँ केवल तुकबन्दीयुक्त शब्दजाल मात्र छैन, सांसारिकताले बिल्कुल अन्धो बनाएकाले जानी जानी सदासर्वदा तिर्सनाकै पछि दौडँदो हाम्रो मानव चरित्रमाथि गहन दार्शनिक प्रश्न खडा गरिएको छ । झट्ट हेर्दा ४० जति अक्षर र चार पङ्क्ति मात्रमा व्यक्त यो सत्यलाई भेट्न निकै लामो जीवन अनुभव चाहिन्छ र तदनुरूप चिन्तन पनि आवश्यक हुन्छ । यो खेलाँची या ठट्टा गरेजस्तो कुरा मात्र होइन, जीवनको एउटा अकाट्य सत्य हो । यति थोरै शब्दमा यति अनुभवी र गहन विचार यहाँ प्रकट भएको छ । यो स्रष्टाको भावना शब्दसंयोजनको उत्कृष्ट कलाकारितासाथ प्रस्तुत गरिएको सुन्दर उदाहरण हो ।

जीवन जगत्का यस्तै शाश्वत् सत्यलाई व्यक्त गरिएका अरू मुक्तक पनि उद्धृत गर्ने हो भने कुनै पनि छोड्नयोग्य छैनन् तथापि केही टुक्राहरू नमुनाका रूपमा हेरौं:
परोपकारी भावना :
मनैदेखि गरेको भलाकुसारीले उसको पिर हर्छ भने,
आफूले गरेको सानो सहयोगले उसको गर्जो टर्छ भने,
दुई पल निकालेर दुःखीलाई साथसहयोग गर्ने हो कि,
हाम्रो न्यानो मायाले उसको घाउमा शीतलता छर्छ भने ! (पृ.२६)

अरूको आस नगरौं, आफ्नो खुसी आफैंले खोजौं :
अरूले गाउला र नाचौंला नभनौं,
मर्न छाड्छु अनि बाँचौंला नभनौं
खुुसी आफैंले खोजेर रमाउने हो,
कसैले गरिदेला र हाँसौंला नभनौं (पृ.२९)

शान्तिपूर्ण सहअस्तित्वको महत्त्व :
चाहेमा सबै जाति, धर्मको एउटै माला गाँस्न सकिन्छ,
अरूलाई पनि स्विकारे एउटै लहरमा बाँच्न सकिन्छ,
शान्तिपूर्ण सहअस्तित्वलाई जीवन आदर्श मान्ने हो भने,
समाजका हरेक जात्रा उत्सवमा मज्जाले नाच्न सकिन्छ (पृ.३३)

प्रकृतिप्रतिको लगाव:
मलाई डाँडाकाँडा वरपर डुल्न मन लाग्यो,
मनभित्रका सबै कुराहरू भुल्न मन लाग्यो,
जमिन, आकाश, रुख पात सबै हाँस्दाखेरि,
आज प्रकृतिको रङ्गसँग घुल्न मन लाग्यो (पृ.३५)
प्रेमविषयक दोस्रो खण्डमा युवासुलभ विपरीतलिङ्गी प्रणयसम्बन्धलाई विषय बनाइएका केही मुक्तकहरू समेटिएका छन् । यहाँ प्रणयप्रीतिको आग्रह, प्रेममा धोका, बैगुनी मायालु, एकतर्फी प्रेम, प्रणयसुख, दाम्पत्यमा ठास्ठुस् र घुर्की, दाम्पत्यको संवेदनशीलता, अन्धो प्रेम जस्ता कैयन् विषय आएका छन् ।

‘राजनीति÷व्यङ्ग्य’ भागका मुक्तकमा नेपालको राजनीतिका उतारचढाव, भ्रष्टाचार, दुराचार, पापाचार, नेताका चरित्र, पीत पत्रकारिता, पानी धमिल्याएर माछा मार्ने प्रवृत्ति, भागबन्डा र टिके प्रवृत्ति, चोरलाई चौतारो साधुलाई सुली प्रवृत्ति, अवैध धन्धा, गमलामा धान रोपेर असार मनाउने राजनीतिक चरित्र, विरासतबाटै बिग्रेभत्केको राजनीति, नेताहरूको दम्भ, मुलुकमा पन्पेका तमाम विसङ्गति विकृतिका विरुद्ध क्रान्तिको आवश्यकताबोध जस्ता विषय प्रस्तुत छन् भने ती तमाम विसङ्गतिमाथि चोटिलो र धारिलो व्यङ्ग्य गरिएको छ ।

‘बालसुलभ’ भागमा आएका आठवटा मुक्तक बालबालिका विषयमा केन्द्रित छन् । यहाँ बालबालिकाप्रतिको माया ममत्व, आमा र बालबालिकाको सम्बन्ध, आमाको महानता, बालबालिकाले पीडा बिर्साउने सन्दर्भ, बाबाछोरीको प्रेम र ममत्व जस्ता विषय आएका छन् । पुस्तकको यो खण्ड अघिल्ला खण्डमा प्रस्तुत जीवन जगत्, दर्शन, सामाजिक विषय, राजनीतिक विकृति विसङ्गति र तीविरुद्ध विद्रोह र व्यङ्ग्य, धोकाधडी जस्ता गम्भीर र कठोरसन्दर्भबाट बोझिलो बनेको पाठकमनलाई बाललीलाको वात्सल्यले हल्का बनाउँदै शान्त तुल्याउने मसलाको काम गर्न सक्षम देखिन्छ । प्रस्तुतीकरणका हिसाबले कविको कलाकारिता सर्बत्र उस्तै प्रभावकारी र मनोहारी छ ।
‘प्रेम’ खण्डबाट केही नमुना:

दाम्पत्य जीवनको यथार्थ :
जीवन कहिले सुखले काटियो, कहिले समस्या टार्दै काटियो
ठाकठुक पर्दा व्यवहारमा मायाको डोरी दरो पार्दै काटियो
यात्रा हो जीवन, सधैं यहाँ एकैनासको कसैको हुँदैन हजुर,
आरोध र अवरोहहरूमा कहिले लड्दै र थकाइ मार्दै काटियो (पृ.८१)

प्रेमको मोहनी :
लजाएर भाग्दा जिउको खाका राम्रो लाग्छ,
मुस्कुराएर बोल्दा बोलीको भाका राम्रो लाग्छ
खै मलाई त मोहनी जालमा पारिन् कि कसो ?
रिसाएर कर्के हेर्दा त्यही आँखा राम्रो लाग्छ (पृ.८२)

‘राजनीति/व्यङ्ग्य’ खण्डका केही नमुना:
निर्वाचन प्रणालीको विकृति :
भोट लोकले हालेर आयौ कि बाकस सारेर आयौ,
जसरी भए पनि तिमी आफ्नै पक्षमा जित पारेर आयौ,
तितामिठा छाड, काममा जुटी धेरै गर्नु छ अब तिमीले
लौ बधाई छ तिमीलाई मेरो, धेरैमा बाजी मारेर आयौ (पृ.८८)

सेटिङमा भ्रष्टाचार:
बजेट आउने माथिबाटै हो, गाउँमा चुहँुदै सानो आउँछ,
मन्त्रीले मुरी, कर्मचारी पाथी, काम गर्ने चैं मानो पाउँछ
सबैतिर सेटिङ मिलाएर खान तलदेखि माथिसम्म,
हाकिमले नयाँ घर बनाउँदा पिउनले पनि छानो छाउँछ (पृ ९०)

पीत पत्रकारिता :
लोकतन्त्रका लागि लडेको छु, मनपरि कोर्न पाउनुपर्छ,
चौथो अङ्ग चलाउने पत्रकार हुँ म, नगद सोहोर्न पाउनुपर्छ,
नियम, कानुन, अड्डा अदालत सोझाका लागि पो हो त,
नछेक मलाई, दुईचार थान नागरिकता जोर्न पाउनुपर्छ (पृ ९२)

देशले भोग्दै गरेको वर्तमान :
बेरोजगारी छ देशमा, जीवन धान्न गाह्रो भयो,
पढाइ ठुलो कि भोक, कुरो जान्न गाह्रो भयो,
अभिभावक बन्नुपर्ने सरकार नै लाछी भएपछि,
अझै पढौं कि खाडी जाऊँ, बाटो छान्न गाह्रो भयो (पृ ९९)

‘मार्सी भात’ लाई झटारो :
मार्सीको भात’ पचेनछ क्यार,
हिजोका कसम जचेनछ क्यार,
‘कागको मितेरी टुँडै टुँड’ भयो,
लुटीखाने दोस्ती बचेनछ क्यार ! (पृ १०५)

‘बालसुलभ’ खण्डबाट केही नमुना :
अगिपछि लाग्छु तिम्रो कतै लड्छ्यौ होला भनी,
नजर राख्छु हरबखत पोल्ने चिजले छोला भनी,
सावाँभन्दा ब्याजको माया, उखान सत्य रैछ,
तिमीसँगै रम्छु म त, सधैं अबोध भोला बनी (श्रद्धा, पृ १०९)

सेतो रिबन लगाएर दुई चुल्ठी बाटे पनि राम्रो,
नरम कालो कपाल मिलाएर काटे पनि राम्रो,
नानीको सानो बदमासी पनि रमाइलो लाग्छ
उनले त थाहै नपाई बाबालाई ढाँटे पनि राम्रो (पृ ११०)

ख्वाएर पहिले तिमीलाई अनि म खाउँला,
पहिराई नाना तिमीलाई, बचे म लाउँला,
म बाबा तिम्रो, तिमी मेरी आँखाकी नानी,
हुर्काउन छोरी, जे आइपर्छ सहँदै म जाउँला (पृ.११२)

मुक्तकहरूले जीवनदर्शन, जगत्, समाज, राजनीति, सूचना–सञ्चार र पत्रकारिता, प्रेमसन्दर्भ, बाललीला, वात्सल्य जस्ता यावत् विषय उठाएको छ । जीवन जगत्का विविध विषयलाई दार्शनिक र व्यवहारबोध भएको एउटा अनुभवी भोक्ता र द्रष्टा एवम् परिपक्व उपदेष्टाको अभिव्यक्तिका रूपमा प्रस्तुत गरिएको छ । यहाँ मानव स्वभाव, राजनीति, समाज लगायतमा देखिने विसङ्गति विकृतिलाई कतै जस्ताको तस्तै प्रस्तुत गरेर नाङ्गेझार पारिएको छ भने कतै व्यङ्ग्यको छुरीले मर्म छिचोल्ने गरी प्रहार गरिएको छ । समग्रमा लामो जीवन भोगाइका अनुभवहरूबाट प्राप्त सत्य वा दार्शनिकता कतै उपदेशका रूपमा, कतै दृष्टान्तका रूपमा र कतै आत्मप्रकाशनका रूपमा प्रस्तुत भएको पाइन्छ भने देशमा पन्पिरहेका अनेक विकृति, विसङ्गति, अनाचार दुराचार जस्ता खराबीलाई व्यङ्ग्य गरेर सुधारको सन्देश पनि दिइएको छ । केही प्रणयसन्दर्भहरू, केही वात्सल्यभाव, केही पारिवारिक र दाम्पत्य सुख–दुःखका सन्दर्भ पनि यथास्थान आएकै छन् ।

संरचनाका हिसाबले हेर्दा सबै मुक्तक चतुस्पदी शैलीमा रचिएका छन् । मुक्तकका लागि विधान गरिएका नियम, तुकबन्दी, आन्तरिक सुगठन कतै खज्मजिएको भेटिन्न । समग्रमा यस कृतिमा परिपक्व र अनुभवी मुक्तककारिताको प्रदर्शन छ विषय र शैलीशिल्प दुवै हिसाबले ।

भद्रपुर- ८

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।