18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मुमूर्षा : एक आम जीवनको असामान्य दस्तावेज

कृति/समीक्षा सञ्जीव पौडेल June 10, 2025, 4:49 pm
सञ्जीव पौडेल
सञ्जीव पौडेल

चिरञ्जीवी दाहाल मेरा लागि भौतिक रुपमा परिचित थिएनन् । मलाई माया गर्ने आदरणीय ब्यक्तित्व प्रा. कपिल अज्ञातले एक दिन फोन गर्नु भयो, “सञ्जीव जी, तपाईँको ’छोटु’ जस्तै सारै पीडादायी र यथार्थ आत्मकथा दुई वर्ष अगाडि नै प्रकाशित भएको छ, पढ्नुहोला ।” मैले पनि सुनेको छु सर तर पढेको छैन, अवश्य पढ्ने छु भनेँ । केही दिनपछि कपिल सरले नै उक्त पुस्तक मेरा लागि ल्याइदिनु भएछ । मैले लिएर पढ्ने मौका मिलेको थिएन, अस्ट्रेलिया आएपछि यो पुस्तक पढें । पुस्तकका लेखक सबै चिनेर कहाँ पढिन्छ र ? पुस्तक लिएपछि एकपटक उहाँसँग टाँडीको साहित्यिक कार्यक्रममा देखादेखसम्म भयो । तर मनभरी कुरा गर्ने अवसर मिलेको छैन ।

पुस्तकको नाम सुन्दै पीडाको आभास हुन्छ । यसको अर्थ हेर्दा जीवन र मृत्युको दोबाटोमा पुगेको अवस्था हो । पुस्तक “मुमूर्षा” मा यस शब्दको प्रयोग केवल शारीरिक मृत्यु नजिकको अवस्थाको लागि मात्र होइन, जीवनमा बारम्बार आउने असह्य वेदना र अस्तित्वको सङ्कटको प्रतीकको रूपमा गरिएको छ, जहाँ शरीर बाँच्न चाहन्छ, तर मन निराशा र पीडाले झुकेको हुन्छ ।

“जीवनको कुनै मोडमा हामी सबै मुमूर्षा हुन्छौं– जिजीविषा भएर पनि जीवनसँग लड्न नसक्ने क्षणहरू आउँछन्।“ भोगाइका ती झिल्का, जुन व्यबधान, पीडा र प्रतिरोधका घडीमा व्यक्तिका सामु प्रकट हुन्छन् – ती अनुभवहरू जीवनका सबैभन्दा यथार्थ दस्तावेज हुन्। मुमूर्षा त्यस्तै दस्तावेज हो जहाँ लेखक चिरञ्जीवी दाहालले आफ्नै जीवनका बिछट्टका मोडहरू, स्वास्थ्य समस्यासँगको सङ्घर्ष, पारिवारिक भावना, सामाजिक कुरीति, र राज्यप्रणालीको उदासीनता जस्ता बहुआयामिक अनुभवहरूलाई २६ संस्मरणात्मक र निवन्धात्मक रुपमा आत्मवृत्तान्त लेखेका छन् । त्यसैले यो पुस्तकमा भएका शब्द मात्र होइन, संवेदना पोखिएको पुस्तक हो ।

पुस्तकको नाम मुमूर्षा आत्मविरोधाभाषपूर्ण लाग्छ । जब जीवनप्रतिको गहिरो चाहना (जिजीविषा) हुँदाहुँदै पनि मृत्युको छायाँले घेर्न थाल्छ, त्यतिबेला उत्पन्न हुने मनोदशा नै ’मुमूर्षा’ हो । लेखकले भोगेका पीडाहरू – विशेषतः मृगौला रोगसँगको लडाइँ केवल शारीरिक नभई मानसिक, पारिवारिक र सामाजिक–आर्थिक स्तरमा समेत गहिरो असर पार्ने खालका छन् । पढ्ने क्रममा कतिपय ठाउँमा आँखाबाट अनायासै आँसु खस्छन्, कतिपयमा असह्य पीडामाथि लेखिएको निर्भीक लेखनले मनमा विद्रोह पैदा गराउँछ । तर हरेक प्रसङ्गमा लेखकको लेखनी जीवनप्रतिको आस्था र सच्चाइको सङ्गत लिएर अघि बढ्छ । प्रेम असफल भयो भने अस्वीकार होइन, स्वीकार गर्ने साहस लेखकसँग छ । कथ्यमा ग्रामीण जीवन र स्मृति बगैंचा छर्लङ्ग हुन्छ । मुमूर्षामा गोरखाको गाउँ तान्द्राङ, चितवनको बसाइँ, गाउँले परम्परा, बाल्यकालका पीडा, चाडपर्वका चिसो सम्झनाहरू, र स्थानीय भाषिक शब्दहरूको मिठासले पुस्तकलाई नेपाली गाउँको आत्माको अभिव्यक्ति बनाइदिएको छ । दशैंमा ढिकी कुट्दा छेउमा बसेर चिउरा पाउने पर्खाइ, औषधिका रूपमा प्रयोग हुने गुर्जो, धयेरको फूल, चिल्लो पिपलपाते, नाडी छामेर ’फु’ गरेर उपचार गर्ने चलन, पानी नपरेपछि पिपलको पातमा ’श्रीराम’ लेखेर गण्डकीमा बगाउने परम्परालाई मीठो ढङ्गले उल्लेख गरेका छन्। त्यसैले यी सबैले पुस्तकलाई केवल आत्मकथा होइन, सांस्कृतिक दस्तावेज पनि बनाएको छ ।

बाल्यकालमा लेखकले भोगेका ’भोक’ का दृश्यहरू पढ्दा मेरो आफ्नै कथा लाग्यो । आफू पनि बालापनमा फर्किएको अनुभव भयो । बाल्यकालमा एकपटक पानी खान नपाएर सिमलको रूखमुनि बेहोस भएको दृश्य र आमाले यसै कारणले मृगौला फेल भएको भन्ने भनाइ आमाहरूको स्नेह देखाउँछ । श्रीमती पेटभित्र शिशु बोकेकी छँदा पनि तीन छोरीका साथमा घरधन्दा सम्हालिरहनु परेका क्षणहरू, अनि सङ्गतले खानपानमा ध्यान नदिंदा बाटो बिग्रिएको कथाहरू वर्तमानका युवालाई शिक्षाप्रद बनेर प्रस्तुत भएका छन् ।
समाज र स्वास्थ्य प्रणालीको आलोचना पनि हो ’मुमूर्षा’। बिरामी हुँदा या आपतमा पर्दा सहारा दिने समाज दिनदिनै “जग्गा बेच्ने हो?“ भनेर सोध्छन् । घरका सामान सस्तो मूल्यमा पाउँछन् भनेर मौकाको पर्खाइमा लिन खोज्छन् । पुस्तकले एक बिमार नागरिकको आँखाबाट राज्य व्यवस्थाको अकर्मण्यता उजागर गर्छ । स्वास्थ्य उपचार पद्धति, औषधिको मूल्य, र सरकारी सहयोग प्रणालीको विफलता खुलेर चित्रण गरिएको छ।

बिरामीको आशा र भरोसा गर्ने अस्पतालमा “अब १५ दिनमा आउने गरी गइहाल्नुस्, आफन्तलाई सम्झाइदिनुहोस्, धेरै बाँकी हुनुहुन्न“ यस्तो वाक्य डाक्टरबाट सुन्दा लेखकको मनमा आएको आँधी पाठकले महसुस गर्न सक्छ। भारतमा सस्तोमा औषधि किनेको अनुभव, भारतीय अस्पतालहरूको सजिलो पहुँच, राज्यले केही नगरेको आरोप – यिनले हाम्रो ’स्वास्थ्य सुरक्षाको न्यूनता’ लाई उजागर गर्छ । २६ वटा शीर्षकमध्ये ’मुस्ताफिज’ भावुकताको उत्कर्ष हो । स्वयं लेखक पनि रोगले थलिएर लडिरहेका छन्, त्यहीबीचमा मुस्ताफिज भन्ने साथी दुई वर्षपछि भेट हुँदा आफ्नै जस्तो रोग भएर एउटै ठाउँमा उपचारमा हुँदाको अकल्पनीय भेट हुन जान्छ । यो भेटले केवल मित्रता मात्र होइन, जीवनको अस्थायीत्व र अन्तिम स्वीकारोक्तिमा पनि पाठकलाई डुबाउँछ ।

श्रीमतीलाई मृगौला नदिन फकाउने प्रयासहरूको असफलता र उनको दृढ निश्चयले प्रेमको गहिराइ देखाउँछ । एउटा लाइन विशेष रूपमा सशक्त छः “मेरो सकिएको आयुमा उनको आयु बाँडचुँड गरेर बाँड्यौँ, अनि त दाँत मात्र होइन, आँत नै हाँस्न थाल्यो।“ यस्तो वाक्य केवल लेखिन्छ जब शब्दभित्र आत्मा हुन्छ।

म पाठकले पढिरहँदा एउटा विषय नपुगेको महसुस गरेको छु । आफ्नो सकिएको आयु बराबरी बाँडेर जिउने बनाउने महान् उहाँकी पत्नीका बारेमा केही ठाउँमा कुराहरू आएका छन् । तर मेरो अपेक्षा उनलाई मृगौला दान नदिन गरिएका प्रयास भइरहँदा उनको अभिव्यक्ति कस्तो थियो, दान दिने र दान लिने समयको अस्पतालको अवस्थाका बारेमा र त्यसपछि पनि उनको स्वास्थ्यका बारेमा २६ वटा भागमा एक भाग उनका लागि छुट्याएको भए हुन्थ्यो कि भन्ने मेरो जिज्ञासा रह्यो। ती महान् नारीलाई मेरो नमन छ ।

एक गम्भीर, सशक्त र समय सापेक्ष आत्मकथा हो मुमूर्षा । कुनै चर्चित व्यक्तित्वको प्रचारमुखी लेख होइन, यो हाम्रो वरिपरिका हजारौं चिरञ्जीवीहरूको प्रतिनिधित्व गर्ने गहिरो आवाज हो । यसले एउटा व्यक्ति मात्र होइन, एक पुस्ता, एक पीडित, एक अभिभावक, र एक सामाजिक चेतनशील नागरिकको आत्मवृत्तान्त बोकेको छ । पढ्न सजिलो, बिर्सन कठिन, र भावनामा गहिरो प्रभाव पार्ने यस आत्मकथाले नेपाली साहित्यमा एउटा नयाँ संवेदना थपेको छ । यो पुस्तक विद्यालय, कलेजका पाठ्यक्रममा “संस्मरणात्मक लेखन“ को उदाहरणका रूपमा पढाइनु उपयुक्त हुन्छ । स्वास्थ्य शिक्षा, ग्रामीण समाज, पारिवारिक मूल्य र मानवता विषयमा रुचि राख्ने जो–कोहीका लागि मुमूर्षा अनिवार्य पठनिय पुस्तक हो ।

भरतपुर १०, चितवन, हालः ब्रीसवेन, अष्ट्रेलीया

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।