18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गमलामा रोपिएको पिपलको बिरुवा

निबन्ध होम सुवेदी June 11, 2025, 4:26 pm
होम सुवेदी
होम सुवेदी

मेरा घरका गमलामा केही थरिका फूल फुलेका छन् र केही नयाँ बिरुवाहरू रोपिएका पनि छन् । गमलामा फूल रोप्ने मेरो सोख छैन । त्यसले मेरो दरिद्र जीवनमा कुनै फाइदा पु¥याउँदैन र त्यसलाई चाकर गरेर मलाई कुनै लाभ छैन भन्ने मेरो आफ्नो मान्यता छ । यस्ता फूलहरू फुलाउनु र यसमा खर्च गर्नुमा मेरो सोख उति नभए पनि यस्ता बिरुवा रोप्ने र हुर्काउने सौख मेरी सहधर्मिणीमा उहिल्यैदेखि आएको देखेको छु । मलाई भने यो कहिल्यै आएन । नआए पनि उसले रोपेका बिरुवा र फूलहरूमा म बाध्य हुन्छु, पानी हाल्न । म गन्गनाउँछु—“यी रोपिएका बिरुवाहरूबाट फूल नभई डलर फुल्ने भए म यिनैको सेवामा आफूलाई अर्पण गर्ने थिएँ !” उनी तिलमिलाउँछिन् । म उनको तिलमिलाइबाट आनन्दित हुने गरेको छु । यसरी गमलामा रोपिएका बिरुवाहरू कति हुर्किएका छन्, कति हुर्कंदैछन् र कति हुर्कने सुरमा छन् । कति फुलेका छन्, कति फूल्दै छन् र कति मौसम अनुसार फुल्दछन् ।
मेरी धर्मपत्नीबाट पूजा गर्न र शनिको दोष मेटाउनका लागि भनेर कताबाट हो निकै पहिले नै ल्याएर एउटा गमलामा पिपलको बिरुवा पनि रोपिएको छ । मलाई पनि शनिको दशा लागेको छ । शनिबार पारेर कहिले कहिले त्यसमा म पानी चढाउँछु । आत्मिक शान्ति पनि मिल्छ । मेरी धर्मपत्नी भने त्यसलाई नित्य पानी चढाएर आत्मतृप्तिको र आत्मिक शान्तिको अनुभव गर्दछिन् । त्यसमा मैले पनि नित्य पानी चढाउनुपर्ने उनको सल्लाह छ । उनैका लागि र मेरै लागि पनि कहिलेकाहीं म त्यस पिपलमा पानी चढाएर प्रार्थना गर्दछु । नगरेर के गर्नु ? हिन्दू धर्मी परें ! खुला छातीले नभए पनि अनिकति विश्वास त गर्नै प¥यो ।

कताबाट हो कुन्नि पिप्पलको त्यही गमलामा एउटा कदमको बिरुवा अचानक आफैँ उम्रिएको थियो । छिमेकी र मेरो बारीमा सीमानामा पर्ने गरी लगेर त्यसलाई मैले आफैँ रोपिदिएको थिएँ । म झल्झली सम्भन्छु— त्यस गमलाबाट उखेलेर बारीका डिलमा लगेर रोपिएको कदमको त्यो बिरुवा दश वर्षको भएछ । तर दश वर्षमा नै रोपिएको बिरुवा यति ठूलो हुन सक्छ के त ? म दङ्गदास परेको छु । त्यो कदमको बिरुवा अब बडेमानको रुख भइसकेको छ । त्यसमा कहिल्यै पानी हाल्नु परेन, त्यसलाई कहिल्यै मल हाल्नु परेन, त्यसमा कहिल्यै पूजा गरिएन तर त्यो आज अजङको रुख भएको छ । वर्षवर्ष दिनमा त्यसका हाँगा छाँस्नु पर्छ । नछाँसे त्यसले सारा बारीलाई सेप पारेर उब्जाउका लागि असर पार्दछ । मेरो बारीलाई असर पारे ता केही थिएन छिमेकीका बारीलाई समेत असर पार्दछ । यसैले यसका हाँगा नछासी धरै पाइँदैन । यसबाहेक त्यस रुखमा चढेर हाँगा नछास्ने हो भने अरु समस्या पनि पार्छ । हिउँदमा घाम ताप्न पनि छाया पार्दछ । अर्काे साल त्यसलाई ढालेर चिरान गरी फर्निचर बनाउनु पर्ने बारेमा विचार गर्दैछु । कदम उम्रिएको जन्मथलोसँगैको गमलामा रोपेको लगभग जुम्ःल्याहा जस्तो पिपलको बिरुवा भने झन्झन् ढिँगुरिंदै छ । सँगैको जुम्ल्याहाका रूपमा उम्रिएको यो कदम आज रुख भयो, अजङ्को, यामानको । तर यो पिपल भने बिरुवाको बिरुवै छ । पोथ्रो र बुथुरोसम्म पनि हुन पाएको छैन । यी दुईको तुलना गर्दा मलाई नेपाल र भारत जस्तो लाग्दछ । एकै समयमा प्रजातन्त्र आएका भा।रतले विश्वमा अजङको रूप लिइसक्यो तर नेपाल भने यही पिपलको बिरुवा जस्तो सधैँ ठिंगुरिएको छ ठिंगुरिएको छ । यसको विकास किन तलतिर मात्र भएको छ ? किन यो देश मेरो गमलाको पिपलजस्तो भयो ? कारण के हो ?

यो पिपललाई अरु दिन नभए पनि शनिवारको दिन पारेर अझ पनि पानी हालिँदैछ, पूजा गरिँदैछ, स्याहार सुसार गरिँदैछ, तर पनि यसको वृद्धि भने क्रमिक रूपमा तलतिर गइरहेको छ । गमलामा रोपिएको यो पिपल किन ठिंगुरिन्छ भन्ने कुरामा सबैलाई थाहा छ । मलाई यसबारे बखान्नु छैन । नेपाल पनि किन तलतिर झरिरहेको छ ? यसबारे पनि सबैलाई थाहा छँदैछ, मलाई यसमा पनि केही बखान्नु छैन । यस पिपलका जरा वर्ष वर्ष दिनमा गमलाको पिँधमा निस्कन्छन् । जरालाई बढ््नबाट रोक्नका लागि काटिन्छ । यसैले उसको वृद्धि भएको छैन । नेपालका जरा कसरी काटिँदैछन् यो पनि सार्वजनिक यथार्थ हो । यसबारे पनि बखान्नुपरेको छैन । यो सार्वजनिक तथ्य नै हो । कसैको उन्नति हुन लाग्यो भने जरा काटिने परम्परा हाम्रोमा पुरानो बेलादेखिको हो । नेपालका जरा पनि उन्नति हुनबाट काटिंदै गरेका छन्, अब त यसका हाँगाबिँगा पनि छासिन लागेका छन् । पिपलबाट मलाई त्यही ज्ञान हुन्छ । उन्नति र उत्थानका लागि मानिसले मानिसका जरा पनि छिनाउने गर्दछन् र उन्नति हुन लागेका मान्छेको गति पनि यही पिपलको नियति जस्तो हुन्छ । उसको आर्थिक र सामाजिक अवस्था यही पिपलको जस्तो हुन्छ । ठिगुरिन्छ र क्रमशः आफ्नो गतिबाट वञ्चित हुँदै जहींंको तहीं खुम्चिएर बस्नु पर्ने स्थिति बेहोर्छ । आज मेरा देशले पनि त्यही दशा बेहोरेको छ । यसका पनि हातपाउ छासिएका छन्, यसका जरा काटिएका छन्, यसको शरीर क्षतविक्षत पार्ने उपक्रम शुरु भएको छ, यसलाई तराई, पहाड, मधेश, भावर, उपत्यका, हिमाल आदिका हाँगाबिंगाहरू छासिन थालेका छन्, बाँडिन थालेका छन् । बिलोबिलो गरेर बाँडिने उपक्रम थालिएको छ । चोक्टाचोक्टाहरू बाँडेर बिलो लगाउने काम शुरु भएको छ । अनि मेरो गमलामा रोपिएको पिपलका साथ यस देशको तुलना हुन सक्ने स्थिति उब्जन गएको छ । मेरो देश पनि पिपलझैँ कठ्याङ्ग्रिएर सधैँ ठिगुरिएको छ । सँगैका स्वतन्त्र भएका मुलुकहरू कदमझैँ मौलाएर अर्काका लागि सेप लगाउने भइसकेका छन् । सँगै विकासको गति बढाएका मुलुकहरू कदमझैँ हौसिएर आफ्नो सीमाभन्दा परसम्म हाँगा फैलाउन सक्ने भएका छन् । मेरो देश भने आफैँमा ठिंगुरिएको छ । यसलाई फैलन कहिले सत्र सालका करौंतीले हाँगा काटियो, यसलाई मौलाउन कहिले छयालिस सालका खुकुरीले जरा तिखारियो । यसका पातलाई लहलहाउन कहिले सङ्कटकालका कैंचीले छासियो, यसलाई झाँगिन कहिले ‘युद्ध जारी छ’ का बञ्चराले ठुँगियो । मुडुलो पारियो कहिले यसलाई ंसंविधान सभा नामका धारिला खुर्पाले ।

गमलाको पिपलको बुथुरो र त्यसैमा उम्रिएको कदमको रुखबाट म आफ्नो इतिहास पनि झल्झली सम्झन्छु । मसँगैको साथी थियो जसको नाम लिनु पनि मलाई आफैँ ठिंगुरिनु जस्तो हुन सक्छ । उसको नाम नलिऊँ । ऊ सानैदेखि अलग किसिमको थियो । हामी एकै गमलामा उम्रिएका पिपल र कदम जस्ता थियौं । हामी छिमेकी थियौं । सँगै पढ्यौं । सँगै बढ्यौं । सँगै खेल्यौं र सँगै जागिरे भयौं । ऊ अर्थमन्त्रालयमा पर्यो म त्रिभुवन विश्वविद्यालयमा परें । ऊ आजसम्म कदमको रुख जस्तो मात्र होइन, चौतारामा फैलिएको वरको रुखझैँ चारैतिर फैलिएको छ । बरका रुखले जमीनमा जरा गाडेझैँ उसले देशका विभिन्न ठाउँमा जरा गाडेको छ । काठमाडौंमा भव्य भवनहरूका रूपमा उसका जरा गडिएका छन् । भव्य महलहरू बनाएर बर फैँलदाझैँ फैलिएको छ, करोडौंको भ्रष्टाचार रूपी फल उसको महलमा पाकेर बारै मास लदाबदी छन् । भक्तपुरका ज्यापूले मल हालेर हौस्याएको रायाको झांगजस्तो उसको हौस्याइ छ । ऊ निरन्तर। झ्याङ्गिएको छ र अरबौंको बजेटको बख्खू ओढेर बाटोभरि हिँड्छ । करौडौंको खेलो फड्को गर्नु उसको चरित्रको विशेषता हो । बरका रुखमा फल पाकेको बेला अनेक थरिका चराचुरुङ्गीहरू बसेर त्यसको फल मनलागी खान्छन् । तर यो बरको रुखमा कुनै चरोले चाख्न पनि पाउँदैन । उसलाई भ्रष्टाचार र अख्तियार पनि लागेको थियो । त्यो बेला मात्र यसले चराचुरुङ्गीहरूलाई फल चाख्न दिएको थियो र आफू महान् उपकारीको रूपमा देखापरेकोे थियो । उसका घरभित्र पस्न पनि मलाई आफू अयोग्य जस्तो अनुभव गर्छु । बैंकमा अकूत सम्पत्तिको कुम्लो राखेको छ । पैसाका थाकमा पाकेको छ । छोराछोरीलाई युरोपका धनी मुलुकमा आफ्नै खर्चमा पढाउँछ । शेयर वजारको भाउ तलमाथि पारेर आफैँ मनचिन्ते गरी बढाउँछ । तर म भने गमलाको ठिंगुरिएको पिपल न भएँ । सधैँ उस्ताको उस्तै र अझै तलतिर भासिएको छु, धसिएको छु । घरमा पुत्रपुत्री र पत्नीहरूले सधैँ उसको उदाहरण दिन्छन् । उनीहरूको चित्त बुझाउन म आफू भन्दा तलतिर हेर्ने आदर्श वाक्य भनिदिन्छु । उनीहरू पनि ठिंगुरिन्छन् । ठिंगुरिएका बोटको बिउबिजन कति नै उन्नत हुन्छ र ?

यो मेरो जुम्ल्याहाजस्तो मित्रको पुरुषार्थबाट र मजस्तो ठिंगुरिनेको चरित्रको अध्ययनबाट मलाई दिव्य ज्ञान पनि मिलेको छ । कुनै कुनै मान्छेको जीवन पनि यही गमलामा आफैँ खुम्चिएको पिपलको जस्तो हुँदो रहेछ र कुनै मान्छेको जीवन कदमको वृक्षझैँ फैलिएको पनि हुँदो रहेछ । यसै पिपलको बोटलाई म आफैँले कदमलाई जस्तैं कतै सारिदिएको भए यो पनि आज कदमकै गतिमा झाङिने थियो । तर उसको नियति मेरो घरको गमलामा ठिगुरिनुमा छ, उसको समय मेरो घरको शनिभगाउनमा छ, उसको भाग्य जरा सधै्र काटिनु र मठारिनुमा छ । यसैले म आफ्नो जीवनसँग पिपललाई तुलना गर्दछु । अनि म आफू ठान्दछु—मेरो जीवन पनि यही पिपलको बुथुरोजस्तो भएको छ । म सानैदेखि यो कदमको बोटजस्तो हुन खोज्थेँ । फैलन र मौलाउन खोज्थें । तर मलाई मेरै परिवेशले र मेरै विवशताले फैलने अवसर दिएन । त्यसैले मैले गमलामा आफ्नै अभावका अप्ठेरो र पिरका गमलामा ठिंगुरिनु परेको छ जसरी मेरा गमलाको पिपल ठिंगुरएको छ । म आफैँलाई तुलना गर्दै सम्झन्छु— म पनि कुनै बोन्साइ गरेको मानिस हुँ । मेरै गमलाको पिपलझैँ । मेरा इच्छाहरू पनि यही पिपलको जरा काटिएझैँ काटिने गरेका छन् । मेरा भावनाहरू पनि यही पिपल झैँ ठिंगुरएका छन् । मेरो बाध्यताहरूले मलाई गमलाको बुटो झैँ कक्रक्याएका छन् । मलाई कतै पनि आफूले चाहेको जस्तो गरी फैलने अवसर परेको छैन । सँगैको साथीसँगातीहरूको फैलावटका उदाहरणहरू देखेर मलाई भने हीनताको रोगले कक्रक्याएको छ, जकड्याएको छ ।

अब खुम्चिएर चित्त पनि बुझाउन थालेको छु । आखिर मान्छेहरू पनि सबै कदमको रुख जस्ता हुन सक्ता रहेनछन् । कसैले पिपलको बुथुरो जस्तो कक्रकिनु पर्दाेरहेछ, अवसर पाएभने कोहीकोही कदमकै रुखझैँ फैलने रहेछन् । मैले अवसर पाइन त्यसैले पिपलझैँ अररिएको छु, कक्रकिएको छु । अब यसै कक्रक्याइसँग सम्झौता गरेर आनन्दमग्न हुने विचारमा छु ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।