18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

'भुमरीको बतास'मा उत्तप्त उच्छ्वास र वर्तमानको यथार्थ

कृति/समीक्षा केशवराज आमोदी June 16, 2025, 1:42 am
केशवराज आमोदी
केशवराज आमोदी

चितवनमा रहेर साहित्य साधना गर्ने चर्चित साहित्यकारहरूमध्ये लोकविख्यात साहित्यकार हुन्- प्रा कपिल अज्ञात । उनी सङ्ख्यात्मक र गुणात्मक दुवै दृष्टिले अग्रपङ्तिमा देखिने साहित्य साधक हुन् । हालै मलाई भैरव वाङ्मय प्रतिष्ठान चितवनबाट प्रकाशित उनको उन्डाइसौं कृति 'भुमरीको बतास' ( कवितासङ्ग्रह , २०८१ ) हस्तगत भएको हो । यतिखेर म यसै कवितासङ्ग्रहमा डुबेर रमाइरहेको छु ।

प्रा कपिल अज्ञातजस्तो मुक्तक , गजल , कविता , निबन्ध , संस्मरण , आलेख र समालोचनाजस्ता विविध विषयमा तत्काल पढेर कृतिगत वस्तुविन्यासलाई गहिरो विश्लेषण गरी कुनै न कुनै पत्रिकामा छपाइहाल्ने अचम्मको खुबी मसँग नहुनुकै कारणले पनि भुमरीको बतासमा अल्झिरहेछु । केही लेखौं कि भन्यो दैनिक कर्मगतिका भुमरीले कहिले यता र कहिले उता पारिदिनाले पनि गति लिन सकिरहेको छैन ।

भुमरीको बतास भनेको के ? साहित्यमा यसले के अर्थ राख्दछ ? यसवारे अज्ञातजी भन्छन्- भुमरीका बहुअर्थ छन् । लाक्षणिक बिम्बहरू छन् । वाग्धारा र उखानसँग जोडिएका अनेकानेक सूक्तिहरू छन् । वात भनेको बतास हो । चक्रको जस्तो आकार बनाएर चल्ने वातलाई चक्रवात र बतासको प्रभावपरी घुमेको जललाई जलावर्त भनिन्छ । तृणहरू उडाएर चल्ने बतासलाई तृणावर्त भनेको पनि कृष्णकथामा सुन्नमा आउँछ । कतिपय मानिसहरू सानोतिनो कुरामा सन्किएर निधारमा गाँठो पार्दै भुमरीको झल्को दिने गर्छन् । दृष्य-जगत्मा चल्ने बतासका अनेक रूपगत विशेष्य र विशेषणजन्य भेद्य भेदकको तहगतसम्बन्धका आधारमा कवितासङ्ग्रहको नामकरण गरिएको छ । वार्तमानिक राजनीतिक उत्तप्त उच्छ्वास विकतिजन्य तातो परिवेशको चित्र उतारिएको छ ।

आजको हर मानिस एउटा न एउटाको समस्याको भुमरीमा रिंगिरहेको हुन्छ । कहिलेकाँही त अनावश्यक विचारका भेल बाढी , भू-क्षय , भूकम्पहरूले पनि जनजीवनलाई तरङ्गित पारिदिएका हुन्ंछन् । कतिपय मानवीय लिप्सा र प्राप्तिका सन्दर्भ वा सङ्क्रमणीय अनेक घातक रोगहरू र होहल्लाहरू चक्रवात बनेर समाजलाई नै रिगाउने गर्दछन् । यो ज्यादै जटिल र दुरूह विषय पनि हो भन्ने लाग्दछ र कवि प्रा कपिल अज्ञातको लेखनी पनि यिनै मानवीय व प्राकृतिक चक्रवातमा नै बढी सङ्घर्षशील रहेको तथ्य कृतिले उजागर गरेको छ । स्रष्टा र द्रष्टा दुवैरूपमा लेखनी कुदाउन सक्ने कविको कोरोना कोष काव्यसहित कविता सङ्ग्रह भनिएको यस कृतिमा कुनै अग्रज वा मूर्धन्यकविको भूमिका वा समीक्षा लेखाई आगामी दिनमा तिनबाट पुरस्कारको जोहो हुन्छ कि भनी चाखे नै थाप्दछन् । उनी निरन्तर लेख्छन् , छपाउँछन् , बाँड्दछन् र पुन: आफ्नो कर्ममा भिड्दछन् । सबै रचनाहरू मनमोही र चित्ताकर्षक छन् । नमुनास्वरूप एउटा कविता प्रस्तुत छ-
सत्यको पक्ष को बोल्छ निरीह रेटिए पछि
न्यायालय दिने के हो प्रमाणै मेटिए पछि ।
सहानुभूति के मिल्छ जल्लादका बजारमा
रक्षकजन नै क्रूर भक्षक भेटिए पछि ।
-लोकतन्त्रको हविगत , ५/४० ।

कविता लेख्नुका उपादेयताका बारेमा आफ्नो विचार यसरी पोख्दछन्- " जीवनभर कविता लेखेर एकदुई कृतिले पनि कविताको गुणवत्ता प्राप्त गर्न सकेनछन् भने पनि कविता यो हो र यस्तो हुन्छ भनेर जे चिन्न सकें त्यो पनि ठुलो प्राप्ति हो भन्ने सम्झन्छु ।" कविताप्रतिको कति सुन्दर भावना ! सही कुरो पनि यही नै हो ।छन्दका कवितैकविता रहेको 'भुमरीको बतास' उनको २१ औं कृति हो र यसमा विविध विषय , रस र लयका ६२ वटा उत्तमोत्तम , प्रेरणाप्रद , मनमुग्धकारी र सुललित कविताहरू सङ्कलित छन् । सरल शैलीको उपयोग गरी विषयवस्तुको गहिराइमा डुबेर समयोचित राजनीतिक वृत्तमा फैंलिदो विकृतिजन्य राजनीतिक , सांस्कृतिक र सामाजिक परिवेशको खुलेर चित्रण गरिएको छ । बिम्ब , प्रतीक र उपमादिको प्रयोगले कृति सुन्दर र पठनीय बनेको छ ।

यति सुन्दर उपहारमा पाएको बहुमूल्य कृतिको अलिकति लेखेर भए पनि मूल्य त चुकाउनै पर्दछ भन्ने लागेर आलमारीमा थन्क्याउन मनले मानेन । एकदुई हरफ लेखेर मनको खुलदुली मेट्ने प्रयास गरें । बहुमुखी प्रतिभासम्पन्न प्रा कपिल सरको लेखनी चलिरहोस् , हार्दिक शुभ-कामनासहित कविकै कविता पस्की ओझेल पर्दछु-
नछुटोस् आत्मको ज्ञान देहवादी बनेपछि
नभोगोस् देहले कष्ट आत्मवादी भनेपछि ।
भोगूँ समयको सत्ता कामना छ निरन्तर
देह आत्मा दुवैबाट बनोस् जीवन सुन्दर ।।
-जीवनहित , १ / ७७

रत्ननगर चितवन ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।