प्रा.डा. नारायण प्रसाद खनालको निबन्धसङ्ग्रह “ चर्किएको घाउ बिर्सिएका पल - २०८१ " त्रिवेणी साहित्य प्रतिष्ठान नवलपरासी (व.सु. पू) ले भर्खरै मात्र प्रकाशन गरेको छ । यो कृति उनका वि. सं. २०५३ साल भरीका हरेक दिनका दैनिकीहरू समावेश गरिएको सङ्ग्रह हो । जसमा कुनै दिनको पनि लेखोट छुटाइएको छैन । यसरी नियमित रूपमा दैनिकी लेख्नु र सङ्ग्रह गर्नु चानचुने कुरा होइन । त्यसैले प्रस्तुत कृतिमा खनालका जीवनगाथा , प्रेम र प्रकृति ,आँधी हुरी, ईश्वरीय तत्त्व, खुशी र उदासी, सुख र दु:ख र यात्राहरूको फेहरिस्त मात्र समावेश छैनन् उनका उत्कृष्ट विचारहरूको सागर बनेर देखापरेको छ “चर्किएको घाउ बिर्सिएका पल " । कृतिमा कसैको पनि भूमिका छैन तर निबन्धकारले “साँचा कुरा हुन्..." शीर्षकमा आफ्नै लेखनी मार्फत निकै सुन्दर भनाइद्वारा कृतिको औचित्य माथि प्रकाश पारेका छन् । सङ्ग्रहमा विषय सूची पनि राखिएको छैन । तर पनि त्यो सालमा जति दिन थिए, कृतिमा त्यति नै थान निबन्ध समावेश छन् भन्ने स्वत: बुझ्न सकिन्छ । त्यसैले प्रस्तुत कृति तीनसय छैसठ्ठी वटा निबन्धहरूको सुन्दर सँगालो हो ।
खनाल संस्कृत भाषाका प्रकाण्ड विद्वान् हुन् । उनका हरेक लेखनीहरूमा संस्कृत भाषाको मगमगाउँदो सुगन्ध रसास्वादन गर्न पाइन्छ । जुन यस सङ्ग्रह अध्ययन पछि पनि त्यसको पुष्टि हुन्छ । साहित्यको बजारमा लघुकथा पढ्ने अवसर पाइदै आएको थियो तर लघु निबन्ध पढ्ने अवसर मिलेको थिएन । त्यो तिर्खा यो सङ्ग्रहबाट सहजै मेट्न सकिन्छ ।
निबन्ध लेखनका जन्मदाता मोन्टेग्नेले भनेका छन् - "म आफैं मेरो पुस्तकको विषय हुँ ।" हुन पनि मोन्टेग्नेको भनाइ जस्तै प्रस्तुत कृतिमा निबन्धकार खनालका अधिकांश निबन्ध आत्मपरक छन् र उनले आफैँलाई निबन्धको विषय बनाएका छन् । निबन्ध लेखनका आधारभूत तत्त्वहरू भरिपूर्ण भएपछि तिनै लघु आलेखहरूको सङग्रहले सुन्दर निबन्धसङ्ग्रह बन्ने अवसर पाएको हो ।
प्रस्तुत निबन्धमा विचारको श्रृंखला छ, भावनाहरूको प्रवाह एवं वर्णन क्रमको बन्धन छ । पश्चिमा साहित्यकार जोन्सनको भनाइ जस्तै यहाँ पनि निबन्धकारको “मनसँगको निर्वाध भ्रमण" छ । यहाँ अनगिन्ती विषयका छोटा तर श्रृंखलाबद्ध र शौन्दर्यले भरिपूर्ण रहेका स्वादिष्ट शब्द भोजनको स्वाद लिन पाइन्छ । लेखकका व्यक्तिगत भावना र विचारहरूको प्रवाहलाई व्यवस्थित तवरले निकै रोचक ढङ्गले प्रस्तुत गरिएकोले कृति उत्कृष्ट बनेको छ ।
यहाँ सङ्ग्रहीत उनका लगभग सबै निबन्धमा भावात्मकताले शासन गरेको पाइन्छ । किनकि कृतिमा निबन्धकारका व्यक्तिगत भावनाहरू प्रष्ट र स्वभाविक रूपमा अभिव्यक्त गरिएका छन् । यसबाट उनको लेखकीय शिल्प र क्षमताको खुलेर प्रशंसा गर्न सकिन्छ । निबन्धकारले यहाँ निबन्ध लेखनको गम्भीर शैली अपनाएका छन् । खनालका निबन्धहरू या त भाषाको अलङ्करणमा सजिएका छन् अन्यथा सामान्य भावात्मकता, आध्यात्मिकता र धार्मिकतालाई सङ्केत गरेका पाइन्छन् । यसरी कृतिमा उच्च गुणस्तरका भावात्मक शैलीको बाहुल्यता छ ।
वैशाख एक गते नववर्षको शुभकामना दिएर आरम्भ गरिएको निबन्धहरू चोटिला मात्र छैनन् , जोसिला, संवेदनात्मक र संवेगात्मक पनि छन् । मोबाइल संस्कृतिको लतमा फसेका र लामो कथा, कहानी पढ्न जाँगर मरिसकेका पाठकहरूको लागि प्रस्तुत निबन्ध सङ्ग्रहले हराउन लागेको पठन संस्कृतिलाई एकपटक पुनः बिउँझाउन सक्ने अपेक्षा गर्न सकिन्छ । सङग्रहमा सङ्ग्रहित सबै निबन्धहरू रसिला र स्वादिष्ट छन् र पठनीय छन् , लामा छैनन् , छोटा छन् , त्यसैले निबन्धहरू रोज्जा बनेका छन् । अधिकांश निबन्धमा निबन्धकारले थोरै बोलेर धेरै खोलेका छन् ।
शीर्षक चयनमा पनि लेखकले निकै विविधता दिएर कृतिलाई थप सुन्दर र नवीनता दिएको पाईन्छ । कतै संस्कृतका सुन्दर शब्दहरूबाट शीर्षकको चयन गरिएको छ भने कतै चलनचल्तीका शब्दलाई टपक्क टिपेर र कतै उखानटुक्कालाई समेत शीर्षक बनाइएको छ भने कतै अत्यन्त लोकप्रिय लोकगीतका भाकालाई समेत शीर्षक बनाइएको छ ।
‘ चुर्लुम्म ' शीर्षकको निबन्धमा उच्चस्तरीय जनशक्ति बोतलमा कैद भएको यथार्थ होस् वा राममा हनुमान होइन हनुमानमा सीताराम डुबेको दार्शनिक कुरा होस् यहाँ समाजको यथार्थ तस्बिर बोलिरहेको पाइन्छ । कृतिमा निबन्धले नछोएका विषयहरू सायदै होलान् । मानव जीवनमा आइपर्ने र मान्छेका भोगाइहरूका सम्पूर्ण सकारात्मक एवं नकारात्मक प्रभावको बेलिबिस्तार सङ्ग्रहमा परेका छन् ।
आत्मज्ञानका प्रसङ्ग हुन् वा गीता दर्शनका प्रसङ्ग हुन् कृतिमा तिनको यथोचित वर्णन गरिएको छ, त्यो पनि अत्यन्त सटिक र सरल भाषामा । निबन्धकारले प्रस्तुत गरेको मायाको परिभाषा निकै यथार्थमा आधारित छ । माया भनेको श्रुति माधुर्य, दृष्टि माधुर्य र वाङ्म माधुर्य हो । यस्ता यथार्थपरक अन्य थुप्रै प्रसङ्ग सङ्ग्रहमा पटक पटक पढ्न पाइन्छ । निबन्धमा कुन विषयवस्तु उल्लेख गरिएको छ भन्नुभन्दा पनि कुन विषयको उल्लेख गरिएको छैन भनेर घोत्लिनु पर्ने देखिन्छ । कामदेव र रति , जीवनको चरम सुख, फूल र जीवन, रावणले सुनमा सुगन्ध भर्ने उद्देश्यका प्रसङ्गहरूले निबन्धसङ्ग्रह उत्कृष्ट बनेको छ । प्रायः समाजले भोग्ने गरेका तितामिठा भोगाइहरू र चालचलन, प्रचलन र समाजको वास्तविकतालाई उजागर गर्दै “ बुभुक्षितं न प्रतिभाति किञ्चित" अर्थात्, ‘भोको भन्छ डाँडावारी खाउँ अघाएको भन्छ डाँडापारी खाउँ' जस्ता जनजिब्रोमा झुन्डिएका अनगिन्ती उखानटुक्काको मूल श्लोक समेत कृतिमा उल्लेख गरिएकोले कृति विशेष आकर्षक बनेको छ ।
यस्तै ‘प्यारी लक्ष्मी' जस्ता शीर्षकमा धन प्रति हुने मान्छेको आशक्तिलाई व्यङ्ग्य गरिएको छ । कतिपय निबन्धहरूमा आदिकवि भानुभक्त आचार्य, लेखनाथ पौड्याल, र पछिल्लो पुस्ताका शीर्ष कवि तथा साहित्यकारका विषयमा गरिएको चर्चा पाइन्छन् । यसैगरी जन्म र मृत्युका विषयमा गरिएको गहिरो चिन्तन पनि यहीँ पढ्न पाइन्छ । कालिदास देखि चन्द्रशमशेरसम्मको प्रसङ्ग समेत समेटिएको छ भने शिक्षा स्वास्थ्य एवं नेपाली समाजको चर्चा गर्न समेत लेखकले बाँकी राखेका छैनन् । मान्छेलाई मकैको बोटसँग गरिएको तुलना अनुपम बिम्ब बनेको छ । यसैगरि आफूले गल्ती नगर्दा पनि पाएको जागिरे स्पष्टिकरणलाई खनालले प्रेमपत्र भन्दै मुलुकको प्रशासनिक क्षेत्रमा हुनेगरेका विकृति एवं विसङ्गतिप्रति दह्रो व्यङ्ग्य प्रहार गरेका छन् । कतै पर्यायवाची र आगन्तुक शब्दमाथि बहस गर्दै लेखकले भाषा प्रतिको आफ्नो मोहलाई छताछुल्ल हुनेगरि पोखेका छन् । घर, जन्मभूमि , वंश परम्परा, आदिभूमि ,गुरुकुल, वनजङ्गल र प्रकृतिको वर्णनमा लेखकले निकै समय खर्चिएर मानवीय प्रेम दर्शाउन समेत पछि परेका छैनन् । कृति पढ्दै जाँदा लेखकको स्वैरकल्पनाको प्रसंसा नगरि रहन सकिँदैन । माछापुच्छ्रे हिमालको रसपान गर्दै गरिएको स्वैरकल्पना अद्भुत छ । यसमा यात्रा र तीर्थयात्राको प्रसङ्ग पनि निकै रोचक ढङ्गले प्रस्तुत गरिएको छ । नेपालका विभिन्न स्थानहरूको भ्रमण र भारतीय शहरमा लुटिएको प्रसङ्ग समेत छ भने , चाडवाडको वर्णन, लोक भाका, गीत ,सङ्गितका कुराले निबन्धमा थप आकर्षण थपिएको छ । श्रीखण्ड र सकरखण्ड शीर्षकको निबन्धमा पाखण्डपनलाई धज्जी उँडाइएको छ । मार्क्स , लेनिनका सालिक ढलेका दृष्टान्त देखि लिएर पञ्चायत रजत जयन्ती स्तम्भ ढलेका प्रसङ्गले कृति ओजनदार बनेको छ ।
सूर्य , चन्द्रमा, बोट बिरुवा, स्वास्थ्य, शौन्दर्यको चर्चासँगै लेखकका अत्यन्त मनपर्ने साहित्यकार एवं लेखक वि पी कोइरालालाई श्रद्धाञ्जली व्यक्त गरिएको प्रसङ्ग कृतिमा उल्लेख गरिएको छ । पुराण, दान , विज्ञानका चर्चासँगै लेखकले प्रस्तुत कृति मार्फत जीवनका नबुझिने र अप्ठ्यारा पहेलीहरूको उत्तर खोज्ने प्रयास गरेका छन् । यति मात्र होइन, निबन्धले कतै इतिहास बोलेको छ, कतै भूगोल बोलेको छ भने कतै नेपाली संस्कृति र परम्पराका विषयमा उजागर गरिएको छ । यसै सन्दर्भमा लाखे नाचका विषयमा गरिएको वर्णनमा, लाखे शब्दलाई स्पष्टसँग चिरफार गरिएको छ । यहाँ केही प्रतिनिधि शीर्षकहरूको विषयमा मात्र उल्लेख गरेको छु । यसरी उल्लेख गर्नुपर्ने अनगिन्ती शीर्षकहरू छन् । त्यसका लागि भने पाठकले पुस्तक पढ्नै पर्ने हुन्छ ।
अन्त्यमा निबन्धसङ्ग्रहको शीर्षक दिइएको “ चर्किएको घाउ बिर्सिएका पल " शीर्षकमा सालभरी देशमा विकसित वेथिती र विकृतिका कारण समग्र वर्षसँग लेखक सन्तुष्ट देखिदैनन् । यहाँ आफ्नो हो भने मुसा मरे पनि शहीद घोषणा गर्ने परिपाटीदेखि लेखक दिक्क छन् । हुन पनि यस्ता विकृतिको अन्त्य नभएसम्म मुलुकले उन्नति गर्न सक्दैन । लेखकले अमिलो मन बनाएर वि. सं २०५३ साललाई विदा गरेसँगै निबन्धसङ्ग्रहको समापन गरिएको छ । विद्वान लेखकको लेखन सीपका कारण लघु निबन्धहरूको सङ्ग्रह गुरु निबन्धसङ्ग्रह बनेको छ । प्रस्तुत निबन्धसङ्ग्रह केही पृथक् शैलीको छ । समग्रमा निबन्धसङ्ग्रह पठनीय र सङ्ग्रहणीय बनेको छ । निबन्धकार प्रा.डा. नारायण प्रसाद खनाललाई हार्दिक बधाई ।
चितवन ।