दार्जिलिङ निवासी नाटककार, गीतकार र भाषा संग्रामी सीके श्रेष्ठसँग शरद प्रधानले गर्नु भएको साहित्यिक कुराकानी ।
शरद प्रधानः दाजुलाई म एउटा पहिलो सोध्न खोजेको प्रश्न चाहिँ के हो भन्दा, १९९० मा सिक्किममा ठूलो एउटा भाषाको कार्यक्रम भएको थियो। भाषा सम्मेलन कि भाषा गोष्ठी भएको थियो। र त्यसको सुत्रधार मध्येमा दाजु पनि एउटा हुनुहुन्थ्यो। त्यतिबेला अब यता गोर्खाल्यान्ड आन्दोलन पनि चलिरहेको थियो सुवास घिसिङको, गोर्खा भाषाको पनि चलिरहेको थियो। र नेपाली भाषाले मान्यताको पनि एकदम अब चरम बिन्दुमा पुगिरहेको थियो। के कारणले त्यो गोष्ठी गर्नुपर्य, त्यो बारेमा छोटो जानकारी दिऊँ न?
सीके श्रेष्ठः यो हुनु चाहिँ अब अलिकति अनयुज्वल कोइसन पनि मान्छु म। किनभने यो सेक्टरमा प्राय: प्रश्नकर्ताहरू पस्न चाहँदैनन् अहिले पनि। र भाइले सोध्नुभयो, यो बडा राम्रो लाग्यो मलाई। यसको भित्री कुरा चाहिँ खासमा के हो भनेदेखि चाहिँ, यसको ब्याकग्राउन्ड हेर्नुलाई चाहिँ हामी सिक्किमभन्दा पहिले दार्जिलिङ नै पुग्नुपर्छ। त्यो आन्दोलनकाल थियो। सन् ८६ देखि जुन शुरु भयो त्यो बासभूमिको आन्दोलन, गोर्खाल्यान्डको आन्दोलन, त्यो आन्दोलनले यति साह्रो एउटा ठूलो भुमरी क्रिएट गर्यो यो ठाउँमा, जुन भुमरीले चाहिँ त्योबाहेक अरू जति कामहरू पनि दार्जिलिङमा भइरहेको थियो, सबैलाई नै ठप्प पार्दियो। र अब भाषा आन्दोलनको अब केन्द्र त दार्जिलिङ नै हो। धेरै वर्षदेखि अब ७२ सालदेखि हामी खुवै खटिरहेका छौं त्यहाँनिर। तर त्यो आन्दोलन आइसकेपछि त्यसलाई टोटल बन्द गरेर भाषा समितिको अफिसमा त तालै लगाइदियो त्यो आन्दोलनले। यसो गर्दाखेरि हामीलाई लाग्यो यो कुनै हिसाबले यसलाईमर्न दिनुहुँदैन। यसलाई कहीँ न कहीँबाट पनि यसलाई बचाएर जोगाएर राख्नुपर्छ। र सबभन्दा अब हामीले देखेको हाम्रो आँखा नजिक उर्वर भूमि चाहिँ सिक्किम नै हो। र जहाँ हाम्रो आफ्नो एउटा जातीय नेतृत्व छ। अनि सक्षम त्यहाँनिर हाम्रो मुख्यमन्त्री हुनुहुन्छ, सरकार छ उहाँको। त त्यहाँ चाहिँ हामीले अलिकति सुरक्षा पाउँछौं होला यसलाई भनेर, त्यो मनले चाहिँ हामीले एक-दुईजना, एक-दुईजना भन्दा पनि विशेष म र डाक्टर कुमार प्रधान सल्लाह गरेर नै हामी गयौँ। गएर चीफ मिनिस्टर त्यसबेलाको अब म सधैं सुपरम्यान नै भन्छु उहाँलाई। नरबहादुर भण्डारी। किनभने ३२ मा ३४ सिट जित्ने भन्थे म क्या। ३२ एमएलए, दुईजना एमपी पनि। उहाँ चाहिँ। त त्यति एउटा अब एब्सोलुट पावर लिएर बसेको व्यक्तित्व। त उहाँलाई गएर हामीले यी कुराहरू बताएपछि चाहिँ, हुन त त्यो कसरी हुनु आयो, त्यो बीचमा पनि धेरै लामा कथाहरू छन्। तर पनि अन्त्यमा गएर सबैजनाको मिलेमतोमा एउटा हामीले राष्ट्रिय स्तरको भाषा संग्रामी, भाषा प्रेमीहरूको संगोष्ठी गरौँ। उहीँ सिक्किम सरकारकै पृष्ठपोषणमा त्यो काम भयो। अनि विराट त्यो, भूतो न भविष्यति। अहिलेसम्म त्यति विराट हुनसकिरहेको छैन। र त्यो गोष्ठीले चाहिँ एउटा नयाँ संस्था भारतीय नेपाली राष्ट्रिय परिषद् भन्ने एउटा गठन गर्यौँ। र नाइके अँ नरबहादुर भण्डारी नै बन्यौँ, अध्यक्ष बनायौँ। र त्यहीँ, त्यही संस्थामा म स्वयम् आफूले पनि मूल सचिव, राष्ट्रिय मूल सचिवको अभिभारा लिएर काम गर्न पाइयो। र जुन कुरो दार्जिलिङबाट हामीलाई धेरै गाह्रो पर्थ्यो, धेरै साह्रो पर्थ्यो विभिन्न कारणले गर्दा, सिक्किमले त्यो नेतृत्वको भार सम्हालिसकेपछि धेरै मार्गहरू सुगम भएर आइहाल्यो।
शरद प्रधानः अनि त्यतिबेला त त्यो नेपालीभाषी बाहेक अरू जातिका एमपी, एमएलएहरूलाई पनि निमन्त्रणा गरेर?
सीके श्रेष्ठः हजुर हजुर। त्यो त्यो जुन चाहिँ सम्मेलन राष्ट्रिय सम्मेलन भएको थियो, त्यसमा हामीले नाम नसुनेका पार्टीहरूका पनि एमपीहरू आए। अब जस्तो यो भारतीय जनता पार्टी भन्नेहरू त्यतिबेला कता कता फटाकफुटुक थियो। तर त्यो पार्टीका एमपी पनि आए। आएर मतलब भागीदार भए त्यसमा, अंशीदार भए। अनि हाम्रा लेफ्टिस्टहरू त आए नै। किनभने लेफ्टफ्रन्ट गभर्मेन्टले त एसेम्ब्लीमा पारित गरिसकेको थियो त्यो प्रस्ताव। त उनीहरूको धेरै राम्रो समर्थन थियो। अन्य कंग्रेसकाहरू आए, सीपीएमका, सीपीआईका, भाजपाका र भारतभरिका धेरै सांसदहरूको त्यसमा सबको सघाउ थियो। र उहाँहरूले एकदम निःशर्त हाम्रो समर्थन छ यो धेरै वर्षदेखि टाँगिएको माग। अनि यो हुनुपर्ने, पाउनुपर्ने। हामी जोड लाउँछौं भनेर त्यो खुल्ला मञ्चबाट उहाँहरूले प्रतिश्रुति पनि दिए।
शरद प्रधानः अनि पछि त्यो पछि हजुरहरूले एउटा तपाईंको सम्पादनमा होला, ‘आधार’ भन्ने पत्रिका?
सीके श्रेष्ठः हजुर हजुर। हाम्रो कुराहरू भारतभरि फैलाउनुपर्छ, भारतभरि। र एउटा हाम्रो मुखपत्र हुनुपर्छ भनेर अनि त्यो मुखपत्र धेरैजनाको हामीले त्यो सल्लाह लियौँ नामकरणमा पनि। र गरेर अन्त्यमा गएर यो ‘आधार’ भन्ने नामको चयन भयो। र त्यसमा पनि म स्वयम्ले एउटा मौका पाएँ। हुन त साहित्यकारहरू धेरै थिए। तर अब त्यहाँ होल टाइम खट्नुपर्ने। यसो गर्दाखेरि सम्पादनको भार चाहिँ म स्वयम्ले पाएको थिएँ। र त्यो भाषा आन्दोलनभरि त्यो पत्रिका हामीले यो मासिक थियो, चलायौँ।
शरद प्रधानः तपाईंहरूले गरेको त्यो कार्यक्रमको दुई वर्षपछि त ९२ मा गएर त छिनाफाना भइहाल्यो। ३० वर्ष भयो। र सम्पादनको कुरा आउँदा हजुरले ‘सुनचरी’मा पनि, ‘अब’मा पनि हजुरको संलग्नता थियो?
सीके श्रेष्ठः हजुर। अब चाहिँ धेरै अगाडि हो। अब ७७-७८ देखि नै मैले शुरु गरेको ‘अब’ त। त्यसको म सम्पादक पनि हो, म प्रकाशक पनि हो। मेरो आफ्नो प्रेस पनि थियो। त्यो पुरानो, ट्रेडल मेसिन। त्यो गरेर ‘अब’ आन्दोलनको समयको लागि आन्दोलनलाई अलि टेवा दिनलाई, आफ्नो पट्टिबाट त्यसलाई सजग पुर्याउनको निम्ति त्यो धेरै जनप्रिय पत्रिका पनि थियो, ‘अब’। धेरै लामो चल्यो। पहिले पाक्षिक थियो। पछि धेरै पछि आएर त्यही ‘अब’लाई हामीले एउटा डेली पेपर, ‘अब’ संवाद पत्र दैनिक गरेर पनि एक वर्ष, यो भुटान आन्दोलनलाई समर्थन गर्नलाई एक वर्ष त्यो पनि चलायौँ। ‘सुनचरी’ चाहिँ भाषा आन्दोलन सिद्धिएपछि, अचिभमेन्ट भइसकेपछि, उपलब्धि पछि चाहिँ हाम्रो अध्यक्ष महोदयसँग डाक्टर कुमार प्रधान र हामी तीनजना बसेर अब के गरौँ त, अब काम के बाँकी रहेछ? मान्यता त भयो भन्दाखेरि चाहिँ हामी भारतभरि जाँदा घुम्यौँ त्यो माग लिएर, सबै ठाउँ प्रश्न हामीले एउटा जवाफ दिनुपर्थ्यो, तिमीहरूको डेली पेपर चाहिँ कतिवटा छ भनेर सोध्थे। हामी निरुत्तर हुनुपर्थ्यो सधैं क्या। त यो चाहिँ हामीले पूरा गरौँ। कम्तिमा एउटा डेली पेपर चाहिँ हामी शुरु गरौँ भनेर अनि हामी तीनजना मिलेर यो त्रिनेत्र इन्टरनेसनल भन्ने एउटा कम्पनी फ्लोट गर्यौँ। र गरेर डाक्टर कुमार प्रधान र म चाहिँ सिलगढी झरेर, सिलगढीमा बसेर अनि सुनचरी त्यो प्रकाशन यसरी शुरु भएको हो।
शरद प्रधानः यो चाहिँ के दोस्रो नेपाली भाषाको दैनिक पत्रिका हो? पहिला त ‘हिमालचुली’ थियो क्यारे?
सीके श्रेष्ठः दोस्रो पनि भनिन्छ, तेस्रो पनि भन्न सकिन्छ। किनभने तुलसी सरको ‘हिमाली आभा’ भन्ने पनि त्यो पनि ट्याब्लोइड फर्ममै भए पनि त्यो डेली नै थियो। गर्दाखेरि हामीले उहाँलाई पनि अलिकति सम्मान दिएको राम्रो। र ‘हिमालचुली’ पछाडि ‘हिमाली आभा’ हो, अनि ‘सुनचरी’ हो।
शरद प्रधानः अब अहिले त खासमा एक दुईवटा मात्रै देखिरहेको छु मैले।
सीके श्रेष्ठः हजुर। अहिले त अब मेन त त्यो ‘हिमालय दर्पण’ हो ठूलो लगानीमा। ‘हाम्रो प्रजाशक्ति’ छ हाम्रो अन्जन भाइको। उहाँले कोसिस गर्नुहुँदैछ।
शरद प्रधानः अनि हामी अलिकति कुरा अब भाषा साहित्यबाट अरूतिर लागौँ। हजुरले धेरै अगाडि एउटा पर्फमिङ पोइट्री पनि शुरु गर्नुभएको थियो नि? भद्रेको, भद्रेको टोली। त्योबारेमा सानो जानकारी दिऊँ न।
सीके श्रेष्ठः यो खासमा भद्रेको टोली चाहिँ मेरो नाट्य समूहको नाम हो। हामी आफूलाई भद्रेको टोली, नाट्य समूह भन्छौं। जति नाटकहरू हामीले गर्यौँ, भद्रेको टोलीकै ब्यानरमा नै हामी गर्छौं। अनि धेरैलाई ठ्याक्कै लाग्छ यो के खालको नाम भद्रेको टोली भन्ने, अलि अनौठो नाम पनि छ। अनि त हाम्रो चाहिँ के छ भने मैले जति नाटक लेखेँ, ती जम्मै नाटकमा त्यो पिरियड नाटक होस् कि लोक नाटक होस् कि मोडर्न नाटक होस्, एउटा चरित्र चाहिँ त्यहाँ भद्रबहादुर लामछाने भन्ने सधैं राख्छौँ। त्यो कमन म्यानको प्रतिनिधित्व। साधारण खटिखाने, खालीखुट्टेको प्रतिनिधित्व गर्नलाई भद्रबहादुर लामछाने। त्यो मुगल साम्राज्यमा एक दिन भन्ने पिरियड ड्रामा थियो कि हिस्टोरिकल, त्यहाँ पनि भद्रबहादुर लामछाने हामीले राख्यौं। र त्यही भद्रबहादुर लामछाने जस्ताकै यो कथा, कहानी, किस्सा लिएर हिँडिरहने टोली भएकोले हामीले उसलाई म्यास्कट बनायौँ। र नाम भद्रेको टोली गर्यौँ। र त्यो जुन चाहिँ पर्फमिङ कविताको कुरा गर्नुभयो, यो भाषा आन्दोलनकै समयकै कुरा हो। त्यो भारतीय नेपाली राष्ट्रिय परिषद् जब चालू थियो, त त्यसैको एउटा ठूलो फङ्सनमा, राष्ट्रिय स्तरको फङ्सनमा नै हामीले एउटा आइटम भद्रेको टोलीबाट हामी पनि दिन्छौं भनेर कवि भुपी शेरचनको कविता ‘हामी’, हामीलाई बडो ठूलो, हामीलाई धेरैजना कलाकारहरूलाई मञ्चमा निकालेर त्यो सामूहिक एउटा आवृत्ति हामीले गरेको थियौँ। त्यो धेरै राम्रो श्रोताले र दर्शकले ग्रहण गर्यो। र धेरै ठाउँ हामीले घुमायौँ पनि। पछि त हामीले झन्डै ५०-६० जनासम्म कलाकारहरूलाई उभ्याएर पनि यो हामीको ‘हामी’ नै मतलब त्यसलाई ड्रामटाइज नै गरेर प्रस्तुत गरेका थियौँ।
शरद प्रधानः अब त्यो एउटा टाइम फ्रेममा चाहिँ थियो। अब मलाई लाग्छ फेरि अब हजुरबाट नभए पनि हजुरको अब चेला चपेटा अरू जो भए पनि यस्तो भद्रेको टोली नाम नभएर जे कुनै अरू कुनै नाम दिएर पनि गर्नुपर्ने छ। अलिकति मलाई लाग्छ अलिकति स्तरीय कविता प्रति पाठकहरूको अनि अब कविता लेख्ने मान्छेहरूको चाहिँ मोह बढ्थ्यो कि जस्तो लाग्छ।
सीके श्रेष्ठः हजुर, एकदम राम्रो कुरा भन्नुभयो। किनभने मेरो आफ्नो अभिज्ञता र अनुभवले पनि के बताउँछ भनेदेखि यो पर्फमिङ कविता त्यो फर्स्ट टाइम होइन। शरु मैले गर्दाखेरि सन् ८० दशकको हुनुपर्छ। म अहिले गल्ती गरिनँ भनेदेखि। हाम्रो कवि राजेन्द्र भण्डारीले उसको उहाँको प्रथम प्रकाशित कृति ‘हिउँदे यी चिसो रातका पर्दाहरूमा’ भन्ने एउटा कृति उहाँको थियो। त्यो संग्रहमा ‘बारीको डिलमा उभिएको नासपातीको रुख’ भन्ने उहाँको बहुत लामो कविता थियो। पाठ गर्दाखेरि पनि १४-१५ मिनेट लाग्ने। त मैले फर्स्ट कविता म्युजिक ब्याकग्राउन्ड लगाएर रेकर्ड गरेको, त्यतिबेला त क्यासेट चल्थ्यो। क्यासेटमा रेकर्ड गरेर फर्स्ट कविता यो कम्पोज्ड म्युजिकसँग त्यो मैले कोसिस गरेको थिएँ आफ्नै स्वरमा। अनि त्यो हामीले धेरै ठाउँ सुनायौँ। धेरैले मन पराए। त्यसले गर्दा त्यो कविता यति पपुलर भयो कि राजेन्द्र भण्डारी नचिन्ने, कविता चाहिँ चिन्ने त्यस्तो नि। त त्यसले गर्दा तपाईंले भन्नुभएको एकदम म सहमत छु। कुनै पनि चिजलाई यसरी प्रस्तुति चाहिँ हामीले बलियो गर्न सक्यौँ भनेदेखि त्यसलाई हामीले प्रचार प्रसारमा धेरै त्यसको मद्दत मिल्लिहाल्छ त्यो।
शरद प्रधानः अहिले तपाईं के मा व्यस्त हुनुहुन्छ? नाटक लेखिरहनुभएको छ भनेर सुनेको थिएँ। अथवा प्रकाशन?
सीके श्रेष्ठः हजुर हजुर। म अहिले यो काठमाडौँ मेरो भ्रमण पनि त्योसँगै सम्बन्धितै छ। मेरो एउटा नाटक त्यो खुल्ला मञ्च नाटक, भद्रेको टोलीको ‘ ऐनामा हेर्दा रामसाइँली’ भन्ने जुन नाटक चाहिँ हामीले ५०० भन्दा धेर प्रदर्शन भारतका प्राय: प्राय: जम्मै राज्यहरूमा घुमेर प्रस्तुत गरिसकेका हौँ यो धेरै वर्ष अगाडिको हो। तर त्यसलाई पुस्तकाकारमा चाहिँ हामीले प्रकाशित गर्न सकिरहेका थिएनौँ विभिन्न कारणहरूले गर्दा। त अहिले चाहिँ त्यसलाई मैले एउटा पुस्तकको रुप दिएर अनि नाटकको अब त्यो स्क्रिप्ट मात्र होइन, अँ त्यो सँगै त्यो नाटकको अलिकति सैद्धान्तिक पक्ष पनि। एउटा अध्याय, यो कुन वर्गको नाटक हो? त त्यो वर्गका खुबीहरू के के छन्? गुणहरू के के छन्? त्यो। अनि नाटक त्यो वर्गमा गएर किन थामियो? त्यो भन्दा अगाडि हामी जान सक्छौँ कि सक्दैनौँ? त्यो सम्भावनाहरूमाथि पनि विचार राखेर एउटा अध्याय। एउटा अध्याय चाहिँ त्यो पुस्तकमा मैले हामी नाटक चाहिँ गर्छौं, आयोजक वर्गलाई हामी सधैं ओझेलमै राख्छौं। नामै आउँदैन उनीहरूको कहिल्यै पनि। त मैले चाहिँ यो ‘ऐनामा हेर्दा रामसाइँली’ गर्दा चाहिँ पूरा त्यो एउटा डेटा नै मेन्टेन गरेर को को ले आयोजन गर्यो, कुन कुन राज्यमा? त्यो मेरोमा पूरा थियो, त्यसको इतिहास थियो, रेकर्डेड। र अब ५०० ठाउँको त लेख्यो भने त त्यो अर्को किताब हुन्छ। मैले खाली त्यो एनेकडोट्स जस्तो त्यहाँ उल्लेखनीय अंशहरू नि कहाँ दुःख पायौँ, कहाँ हाँसउठ्दो कुराहरू भए, कहाँनिर अलिकति उल्लेखनीय घटनाहरू भए, त्यो मात्रै थुपारेर प्रदर्शनको इतिहासको एउटा अध्याय त्यहाँनिर त्यसरी लगाइएको छ। र अनि दर्शक प्रतिक्रिया पनि हामी उति याद गर्दैनौँ। त्यो पनि मैले पेपर कटिङहरू सबै राखेको थिएँ। हाम्रो लीलबहादुर सरको, जस योञ्जन प्यासीको, हाम्रो अहिले बितेर जानुभयो लक्ष्मण श्रीमल, हाम्रो प्रियदर्शी दाइहरू उहाँहरू सबैको त्यो नाटक हेरेर उहाँहरूले दिनुभएको प्रतिक्रिया, जुन चाहिँ प्रकाशित भए पत्रपत्रिकामा, त्यो पनि त्यो एउटा अध्याय। गर्दाखेरि यो एउटा पुस्तकमा सम्पूर्णतामा एउटा मतलब नाटकसँग नाटक मात्रै होइन, सम्बन्धित अरू कति चिजहरू छन्।
शरद प्रधानः मलाई नाटकमै सोध्न मन लाग्यो। जस्तै कुनै समय दार्जिलिङले नाटकमा धेरै अगाडि लिड गरेको थियो। अटल बहादुर अहिलेभन्दा ११४-१५ वर्ष अगाडि मञ्चन गरेको थियो। त्यसपछि पछि धेरै धेरै नाटकहरू भयो। हजुर, र अब पछि गएर ७० को दशकमा, सन् ७० को दशकमा मनबहादुर मुखियाको अनि देउराली रुन्छले एउटा एउटा नाटकमा ठूलो परिवर्तन नै ल्याइदियो नेपाली नाटकमा। अहिले दार्जिलिङको नाटकको स्थिति कस्तो छ?
सीके श्रेष्ठः यसमा सानो म करेक्सन गर्न चाहें। यो अटल बहादुर चाहिँ हाम्रो पहलमानसिंह स्वाँरजीको नाटक हो। धनवीर पुरीको होइन। धनवीर पुरीले चाहिँ मञ्चन गर्नुभएको।
शरद प्रधानः मञ्चन गर्ने त एनएनएचपी हलमा मञ्चन भएको हो कि?
सीके श्रेष्ठः १९०९ तिर मञ्चन भएको। सायद सन् १९०९ तिरको नाटक हो। त्यसपछि अब विभिन्न सक्रियता चाहिँ छ। किनभने इतिहास त अब हेर्छौं। हामीले हाम्रो इन्द्रबहादुर सरले लेख्नुभएको जुन किताबहरू छ त्यो, डायरी राख्दिनुभाको छ, नेपाली नाटकको अर्धशताब्दी। त्योहरू हेरेर अरूहरूको पनि हेर्दाखेरि चाहिँ बहुत सक्रिय छ दार्जिलिङ त्यतिबेला। तर त्यो सक्रियतालाई केलाएर हेर्दाखेरि चाहिँ हामी के चाहिँ देख्छौं भनेदेखि, बेसीभन्दा बेसी त्यो अनुदित नाटकहरू क्या। बङ्गलाको, हिन्दीको, इभन बाहिरकै देशको नाटकहरू ल्याएर अनि त्यो उर्दू नाटकहरूको एकदमै त्यो व्यापक त्यो प्रभाव । खुनी हसिना, डाकु बहराम भन्नेहरू, थ्री मस्केटियर्सहरू, नेपालीमा त्यो खालको चलिरहेको चाहिँ थियो। त्यो धेरै लामो समय चल्यो एउटा। सक्रिय त छ। तर नाटकलाई चाहिँ अब थिएटर एज एन आर्ट भन्दा पनि बढी थिएटर एज एन इन्टरटेनमेन्ट त्यो त्यसरी चलेको छ। तर त्यो त्यसलाई हामीले बेस त मान्नै पर्यो नि त। त्यसले त दर्शक बनायो। हैन, त्यो त्यो एउटा मतलब कल्चर बस्यो नि त नाटकको। अब त्यति नै बेला कम्प्यारेटिभ्ली हेर्नु हो भने चाहिँ नेपालतिर चाहिँ धेरै प्रबुद्ध व्यक्तिहरू नाटकमा पसिसकेका छन्। हैन, अब सम्झीको नाटक त अब त्यो एकदमै उत्कृष्ट। अहिलेसम्म हामी कोर्समा पढ्छौं। तिवारीजीको नाटकहरू, गोठालेजीको नाटकहरू, त्यो अर्कै यहाँ कथा भिन्दै छ। नाटक त उहाँ पनि हुँदैछ, यहाँ पनि हुँदैछ। तर त्यो बडा त्यो विषयवस्तुदेखि लिएर त्यो त्यसको स्तरदेखि लिएर धेरै फरक पाउँछौं। मनबहादुर मुखियाजीलाई चाहिँ म नाटक क्षेत्रमा एउटा महामानव नै भन्छु। उहाँ चाहिँ टर्निङ पोइन्ट हो हाम्रो लागि, हाम्रो जेनेरेसनको लागि चाहिँ। किनभने जब ‘अनि देउराली रुन्छ’ नाटक आयो नि प्रदर्शन भएर, म त वाल्लै पर्यौँ। अब त्यो जुन चाहिँ अप्रोच थियो, जुन कलाकारिता, अनि जुन पाराले उहाँले नाटक बुनेर स्टेजमा जुन पाराले पर्फर्मेन्स भयो, अनि त्यो त हाम्रो लागि त एकदमै चकित पार्ने नै एउटा चिज भयो। धेरै नाटकले नाम पनि कमायो। कलकत्ता पुग्यो, दरबारसम्म आइपुग्यो त्यो नाटक। एक लाख पुरस्कार पनि पाए। त त्यो देखि चाहिँ के पनि भयो भनेदेखि त्यो सिंगल सेटिङको नाटक थियो। ठूलो दामी सेटिङ लगायो तर एउटै सेटिङ। जम्मै कथा ल्याएर त्यहीँ हाल्नुपर्ने। त्यसलाई हामीले धेरै पछ्यायौँ। अहिले यो मेरो ‘अनि भाले मुङ्ग्रो रुन्छ’ भन्ने जुन नाटक छ, सिंगल सेटिङ नै हो। ‘मुगल साम्राज्यमा एक दिन’, सिंगल सेटिङ। मलाई सब थाहा छ, सिंगल सेटिङ। हामी पनि त्यो सिंगल सेटिङलाई किनभने सिंगल सेटिङ लाउँदा चाहिँ दामी सेटिङ लाउन सक्ने, हाम्रो प्रताप सुब्बाले जति नाटक गरे, प्राय: प्राय: सिंगल सेटिङ। एउटा चाहिँ भव्य लगायो, सब कथा तानेर त्यहीँ ल्याइदियो। कतिपयले धेरै नाटक लेखे तर मञ्वन भएन कतिपय नाटक मञ्वनमा सफल भए र पुस्तकको रूपमा चलेन। त्यो चलन मनबहादुर मुखियाले एउटा हामीलाई उहाँको त्यो देन हो। यो मान्यौँ हामीले। अनि मनबहादुर मुखियाजीको नाटक त्यति नै बेला अब सायद ७२ सालतिरको नाटक हो। उहाँको चाहिँ प्रकाशन पनि भयो। त्यो पुस्तक, त्यो पनि राम्रो छ साहित्यिक कृतिको रूपमा। त्यो मात्र होइन, उहाँको अरू जम्मै ‘क्रसमा टाँगिएका जिन्दगी’, त्यो पढ्दाखेरि पनि राम्रो लाग्छ। मञ्चमा पनि त्यत्तिकै।
शरद प्रधानः ‘क्रसमा टाँगिएको जिन्दगी’को बारेमा के छ भने, यहाँ काठमाडौँको राष्ट्रिय नाचघरमा त्यो मञ्चन गरेर त्यतिबेलाका महाप्रबन्धक नारायण गोपालले गाडी नै किनेको थियो रे अफिसको लागि। त्यति पपुलर भयो। ‘क्रसमा टाँगिएको जिन्दगी’। र उहाँको त्यो ‘अनि देउराली रुन्छ’ नाटकपछि सत्यमोहन जोशीले पनि, 'ओहो! उहाँ त प्रज्ञामा हुनुहुन्थ्यो, भनेपछि उहाँले नाटक लेख्नुभयो रे। त्यसपछि त्यसको सिक्योलको रूपमा चाहिँ अब भनौँ न, माधव धिमिरेको ‘मालती मंगले’ आयो हाम्रो। किनभने त्यतिबेलासम्म चाहिँ नाटकमा गीतको चाहिँ चलन थिएन। जस्तै अब त्यो मनबहादुर सरको नाटकमा त गीतको प्रस्तुत, गीत पनि त्यत्तिकै हिट भयो, कुमार सुब्बाले गाएको गीत। त्योभन्दा अगाडि चाहिँ अब दुर्गा खरेलले गाएको। त्यो गीतहरू कर्म योञ्जनको संगीत, अहिले पनि मान्छेले त्यो सारङ्गीको धुन, देउराली रुन्छ भन्दा पनि त्यो के रे, ए फूल चुँडेर लाने होइन, देउरालीलाई चढाउने हो। त्यो सिनेमाको गीत जस्तै नाटकको गीत प्रचलित भएर आयो नि। हामी अब अलिकति तेरो जाऊँ। अब अहिलेको स्थिति कस्तो छ होला दार्जिलिङको?
सीके श्रेष्ठः अहिलेको स्थितिमा चाहिँ अलिकति अब आफू नाटक क्षेत्रको भएकोले गर्दाखेरि त्यहाँ हामीले कुरा नचपाई बोल्नुभयो भनेदेखि अलि दुःखदायी स्थिति नै हामीले भोगिरहेका छौँ। दुःखदायी छ। अनि अहिले यो नेपाल भ्रमणको एउटा कारण चाहिँ त्यो पनि हो। नेपालले गत पाँच-सात वर्षभित्रमा, १० वर्षभित्रमा भनौँ, जुन छलाङ लगायो थिएटर कल्चरमा, यो त एउटा वर्ल्ड क्लास थिएटरको एउटा स्वरूप अहिले हामीले नेपालबाट नेपालीभाषी थिएटरको देख्दैछौँ। नेपाली भाषाको थिएटर नै अहिले विश्व एउटा जुन चाहिँ थिएटर मञ्च, त्यसमा हाराहारीमा पुग्न सक्ने प्रयास कतिवटा त बराबरकै हामी पनि देख्दैछौँ। अब यो आरोहण गुरुकुलदेखि स्टार्ट भएर त्यो बेस लिएर अहिले कतिवटा थिएटर, अहिले यो जुन चाहिँ ब्ल्याक बक्स थिएटर भन्छौं, साना साना थिएटरहरू, त्यहाँ दिनमा तीनवटा, चारवटा काठमाडौँकै वरिपरिमा नाटक चलिरहेको छ। कति रमाइलो भयो है। अनि त्यसमा सबभन्दा ठूलो देन मलाई के लाग्छ नेपालको अहिले भने, सब का सब ट्रेन्ड आर्टिस्ट छन्। प्रशिक्षित कलाकारहरू। जो चाहिँ हाम्रो लागि चाहिँ नयाँ चिज हो। दार्जिलिङमा नाटकको लागि प्रशिक्षण हुनुपर्छ, नाटकको पनि ट्रेनिङ हुनुपर्छ, तल कखराबाट, एबीसीडीदेखि, अल्फाबेटदेखि सिक्नुपर्छ भन्ने चलन नै छैन। हामी त नाटक लेख्यौँ, भव्य गर्नुपर्छ, टिकट राम्रो बिक्री हुनुपर्छ, मान्छे आएर हेर्नुपर्छमा मात्रै छौँ। त यो जुन चाहिँ प्रशिक्षित आर्टिस्टहरूको कमीले गर्दाखेरि चाहिँ स्ट्याग्नेन्ट भयौँ हामी। एउटै किसिमको नाटकहरू है। राम्रा राम्रा कलाकार, राम्रा राम्रा नाटककारहरू छन्। अब मोहन पुकारकै जोडीलाई लिऊँ भनेदेखि, हाम्रो यहाँ म जोडीभन्दा कम होइनन् नि उनीहरू। अनि उहाँको अहिलेसम्मका पनि पुराना नाटकहरू आज पनि रिपिट भएर चलि बस्छन्। तर अब युग बदलिभयो, विश्व थिएटरको पनि परिपाटी चेन्ज भइसक्यो। त्यो हाराहारीमा हामी जानु हो भनेदेखि हामीले अपग्रेड आफूलाई नगरी भएकै छैन। यो रियलाइज गरेर अनि म चाहिँ मेरो यो भिजिटमा नै यहाँका नाटकका जो छन् पोख्त, सुनील पोखरेलजीसँग पनि भेट गरेँ मैले। अहिले अशेष मल्लजीसँग भेट्नु हुँदैछ। अनि अशेष मल्लजीका जो मेन मान्छेहरू छन्, युवराज घिमिरे भाइसँग भेट भयो। घिमिरे युवराजसँग भेट भयो। र उहाँहरूलाई हामीले यो कुरा सबै बताएर चाहिँ हामीलाई पनि अलिकति उठाइदिनुस्। तपाईंहरू अब समृद्ध हुनुभयो। हैन? अनि समृद्ध भएपछि चाहिँ सम्पत्ति जोड्नुमा भन्दा खाने टेबल बढाउनु भन्छ नि, त्यो सेयर गर्नुपर्छ। त तपाईंहरूले अब सम्पत्तिपट्टि नजानुस्, टेबल अलि बढाउ र हामी पनि त्यहाँ बसेर यसो यो यो तपाईंहरूको समृद्धि सेयर गर्न पाऊँ र नेपाली थिएटर एज अ होल वैश्विक एउटा अवधारणा लिएर हामी त डेढ करोड छौँ त मान्छे। त्यो डेढ करोडको तागत त बहुत हो नि त। त्यो तागतलाई हामीले तपाईंहरूको माध्यमबाट थिएटर कल्चरको हिसाबले हामी जोडिन पायौँ भनेदेखि यो विश्वमा एउटा एउटा नेपाली भाषाको थिएटरको एउटा आफ्नो जग बनाउन सक्ने छ। त्यो सन्देश लिएर नै म यहाँ साथीभाइसँग बातचित चलिरहेको छ।
शरद प्रधानः अब हामी अन्तिम सेक्टरमा आएका छौँ। अन्तिम सेक्टरमा चाहिँ दाजुलाई मैले चिनेको, हामीले त अगाडिदेखि चिनेको, तर एउटा चाहिँ के हो भन्दा चाहिँ गीतकारको रूपमा, पटकथा, संवाद लेखेको गीतमा, त्यो मलाई थाहा भएको चाहिँ तृष्णा मात्रै हो। तृष्णामा हजुरले लेख्नुभएको गीत प्राय: डेनी र कुमार सानुले गाउनुभएको छ।
सीके श्रेष्ठः कुमार सानु हजुर, प्रकाश श्रेष्ठ भाइले पनि गाउनुभएको छ। साधना सरगम पनि। संगीत चाहिँ हाम्रो रञ्जित गजमेरको हो।
शरद प्रधानः उत्कृष्ट गीतहरू बनिएका छन्। त्यो चाहिँ कमर्सियल्ली फिल्म त्यति राम्रो गर्न नसके पनि गीत चाहिँ अहिले पनि मान्छेको मनमा आउँछ। समय पन्छी हो। त्यो भन्दा अगाडि कुनै लेख्नुभएको थियो? सिनेमामा हजुरको इन्भल्भमेन्ट थियो?
सीके श्रेष्ठः सिनेमामा मैले छिटफुट पहिलादेखि नै लेख्दै आएको हो। सिक्किमबाट एउटा फिल्म बन्यो, मशाल भन्ने। त्यसमा पनि मैले लेखेको हो। अनि यो यता नेपालतिर पनि मैले लेखेको छु, मलाई अब त्यो याद छैन। गीत लेखिदिनुस् न भन्छन्, आउँछन्, लेखिदियो, त्यो त्यत्तिकै कति फिल्म त हेरेको पनि छैन। यो भाउजू भन्ने फिल्म हिजो अस्ति हेरेँ मैले। त्यहाँ एउटा गीत रहेछ मेरो। कास्टिङमा मेरो नाम आयो। अनि त को हेर्दै थियो, 'अरे, तपाईंको नाम छ त' भने। अनि खोज्दै गएको त एउटा गीत मैले लेखेर, यस्तो त धेरै छन्। तर अगाडिदेखि नै गीत लेख्नेमा चाहिँ मेरो इन्ट्रेस्ट चाहिँ के हो भने म कविता अलिअलि लेख्थे त। गीत त अब त्यो मिटरमा भएको कविता नै त हो। अनि त अब अहिले ५० वर्ष अगाडि लेखेको गीत त्यो रिङ्गेबुङको राँगा, ५० वर्ष अगाडि लेखेको गीत अहिले आएर रमेश प्रसाईंले गाएर त्यसलाई फेरि प्रचलनमा ल्याइदियो। अनि तर सुरेश गन्धर्वले त्यसलाई ४० वर्ष गीत गायो। सुरेश गन्धर्व त अब त्यो गीतैले चिनियो, रिङ्गेबुङको राँगा। उहाँ आफै भन्थे, बस्तीतिर जाँदा सुरेश गन्धर्व आयो भन्दैनथे रे, ऊ रिङ्गेबुङको राँगा आयो भन्थे रे क्या। त्यो त मैले त झन्डै ५० वर्ष अगाडिदेखि नै लेख्दै लेख्दै लेख्दै नै आएको। सानोतिनो, फेरि मेरो जति पनि नाटकहरू भए, जम्मै नाटकको गीत आफै लेख्छु। कम्पोज पनि आफै गर्छु नाटकको चाहिँ। अरूलाई दिन्नँ म। किनभने त्यो स्क्रिप्टसँग मेल खाने हुनुपर्छ भनेर मलाई लाग्छ। र मैले नै बेस्ट जान्दछु यो नाटकको लागि चाहिँ भनेर कम्पोज पनि प्राय: प्राय: सबै गीतहरू म आफै नै गर्छु। त गीत धेरै अगाडिदेखि नै लेखेको हो।
शरद प्रधानः त्योभन्दा पछि कुनै गीतमा लेख्नुभयो? तृष्णापछि?
सीके श्रेष्ठः तृष्णापछि पनि लेखेको छु। गीतहरू लेखेको छु। अनि फिल्ममा पनि सहकार्यमा हामीले यो नयाँ बिहानी भन्ने एउटा टेलिफिल्म गरेको थियौँ। हाम्रो विनोद प्रधान भाइ, उगेन छोपेल, हाम्रो प्रकाश सायमी भाइ त्यसमा असिस्टेन्ट गर्नुभएको। त्यो गरेर अनि त्यो पछाडि मसिना मसिना कामहरू त्यस्तो थुप्रै गरेँ। तर हाम्रो चाहिँ के छ भने नि भाइ, अब यो पनि बताइराखौँ। अब हामी चाहिँ लोहोरो जस्तो मान्छे रहेछौँ मैले अहिले त्यस्तो बुझेँ के। मसला मात्रै पिसिरहन पाएको भए त हामी दामी लोहोरो हुन्थ्यौँ होला जस्तो लाग्छ। तर त्यस्तो छैन। हाम्रो समाजको त्यो चाहना, हामीप्रति त्यो थुप्रै छ त। कोही बेला मार्तोल नहुँदा काँटी ठोक्न पनि बोलाउँछन्। लु न यो ठोकिदिऊ न मार्तोल छ भनेर। त अब लोहोरो त हो नि त। त काँटी ठोक्न पनि जानुपर्छ नि। । कोही बेला त्यो तौल मिलाउनलाई त्यहाँ पनि जानुपर्छ। त हामीले चाहिँ मसला मात्रै पिसिरहन पाएको भए त हामी बहुत राम्रो हुन्थ्यौँ होला जस्तो लाग्छ। तर त्यहाँ पनि उपयुक्त त भयौँ हामी।
शरद प्रधानः मलाई चाहिँ कस्तो लाग्छ भन्दा, जुन तरिकाले एक किसिमको सम्मान पाउनुपर्छ काम गरेका मान्छेहरूले, योगदान दिएको मान्छेहरूले, जस्तै भाषामा योगदान दिएको मान्छेलाई कुनै समूह अथवा राजनीतिक आस्था अथवा जातीय नगरेर कलाकारलाई कलाकारको रूपमा हेर्नु पर्छ। सीके श्रेष्ठ कलाकार। ऊ नेवार होइन। ऊ सबभन्दा पहिला त कलाकार सम्झिनुपर्छ नि त।
कलाकार सम्झिनुपर्छ। त्यसपछि कलाकारपछि ऊ अब भारतीय नागरिक सम्झिनु पर्ला, त्यसपछि नेवार सम्झिनु पर्ला। अब आफ्नो आफ्नो त छ नि। कसैको बुवा होला, कसैको श्रीमान होला, जे जे होला, आफ्नो आफ्नो छ नि। तर हामी कहाँ चाहिँ पहिला सबभन्दा के हो भन्दा, यो मान्छे कुन पार्टीको हो? सबभन्दा हेर्ने सीके श्रेष्ठ के को भन्दा? सीके श्रेष्ठ कुन पार्टीको हो, मलाई थाहा छैन पार्टीको नाम। र यो पार्टीको मान्छे हो है भनेपछि अनि अर्को पार्टीले सीके श्रेष्ठ बदमाश भन्दिने। कुरा त राम्रो छ कि तर त्यो पार्टीको हो। मान्छे भन्ने खालको प्रत्यक्ष हामी मुक्त हुनुपर्छ जस्तो लाग्छ अहिले चाहिँ। हाम्रो कलाकारहरू जो जो दार्जिलिङमा छन् अथवा भारतमा छन् अथवा जहाँ पनि छन्, त्यो कलाकारलाई पहिला नम्बर वान चाहिँ कलाकारलाई चाहिँ हेरिदिनुपर्यो। अरू त आफ्नो, कलाकारलाई कलाकारै हेरिदिनुपर्यो। चाहे उहाँ जुनै पार्टीको होस्, जुनै वादको होस्, कुनै सिद्धान्तको होस्, जुनै राजनीतिक आस्था, धार्मिक आस्था, जे केही होस्, मतलब छैन। पहिलो कलाकार अथवा नाटककार अथवा साहित्यकार जे छ, उहाँको त्यो प्रतिभाबाट परिचय चाहिँ भइदियो भने हजुर, हाम्रो जुन एउटा जुन एउटा होराइजन छ, एउटा क्षितिज छ, जुन नेपाली साहित्यको क्षितिज अझै बढ्दै जाने, जुन चाहिँ क्षितिज जुन पहिला क्षितिज थियो, जसमा अघि हजुरले नाम लिनुभएको होला सायद शिवकुमार राई, इन्द्रबहादुर राई, इन्द्र सुन्दास, लक्खीदेवी सुन्दास, अनेक मान्छेहरू, अगमसिंह गिरी, अनेक अनेक। प्रसिद्ध राई। अनेकले बनाइदिनुभएको जुन क्षितिज छ, सानु लामा, हजुर। लीलबहादुर। त्यो क्षितिज अलि खुम्चिँदै गइरहेको मेरो व्यक्तिगत आभास हो। साँघुरिँदै छ। म भारतीय नेपाली साहित्यको एउटा पाठकको हैसियतले त्यो क्षितिज साँघुरिँदै गइरहेको छ। र त्यो क्षितिज चाहिँ अहिले त यो चाहिँ तामाङको हो है। यो चाहिँ यो पार्टीको हो है। यो लेखक यो पार्टीको हो है भनेर।
सीके श्रेष्ठः नेपाली हाम्रो भाषा होइन भन्नेहरू पनि छन्।
शरद प्रधानः त्यो खुम्चिँदै गइरहेको छ। र मेरो आग्रह छ, यहाँ सीके श्रेष्ठ दाजुजस्तो मान्छे, उहाँजस्तै अरू प्रतिभा भएको मान्छेहरूलाई प्रथम रूपमा कलाकार, साहित्यकारको रूपमा हेरिदिनुहोस्। त्यसपछि मात्रै उहाँको जात, पात, धार्मिक आस्था, अरू अरू कलेवर, अरू अवतार हेरिदिनुभयो भने मलाई लाग्छ हाम्रो यो पक्कै पनि नेपाली साहित्य, जुन कला, संगीत, चित्रकला जे जे छ, उत्तरोत्तर प्रगति हुन्छ।
(नोटः यो अन्तर्वारा रेडियो टुरिजममा असोज १७, २०८० सालमा प्रसारित भएको थियो। त्यही अन्तर्वातालाई केहि संशोधन गरि बोलचाल कै भाषालाई प्राथमिकता दिएर यँहा प्रस्तुत गरेको छु। सीके श्रेष्ठको बानमारा कविता सङ्ग्रह र ऐनामा हेर्दा रामसाइँली नाटक प्रकाशित भएको छ ।)