न अग्ला जुत्तामा रमाउन सकिने
न त साँगुरा लुगामा
आफूबाट भागेको समयलाई समाउन सकिने
न तारेको र भुटेको खान सकिने
न त अबेरसम्म बाहिर जान सकिने
सबैकुरा विचार गर्दा
लाग्छ मैले अचेल
आफनै इच्छालाई काँटछाँट गरेर
शरिर नापेर सिएको लुगाजस्तो
उमेर नापेर रहर सिउँदैछु
आफूसँग मिल्ने मन सिउँदैछु र
उमेर सुहाउँदो आँफू बनाउँदैछु ।
मन न हो,
मनले कहाँ सक्दिन भन्दोरहेछ र!
पेटले पचाउन गाह्रो मान्दा समेत
आँखा काँचो कचिलोसँग पिरती लाउँन खोज्छ
सेल र पुरी हातभरी समाउँन खोज्छ
सँझनामा
आँखा अगाडि आएको बालापनसँग
उसैगरी लडिबुडी गर्न खोज्छ
जसरी पहिला गरेथ्यो ।
तर
आफूले त
वर्षैपिच्छे बढेका अँकको भारी
बोकेर निरन्तर उक्लिरहने
उमेरलाई सहज बनाउँन
आफनै रहरमाथि कैची चलाउनु छ
त्यसैले म
शरिर नापेर सिएको लुगाजस्तो
आजकाल उमेर नापेर रहर सिउँदैछु
उब्रिएका रहरका टुक्राहरू
त्यतैकतै थन्क्याएर
आफूसँग मिल्ने मन सिउँदैछु
उमेर सुहाउँदो आफू बनाउँदैछु ।
अमेरिका