18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

दीवान-ए-गजल “प्रेमाञ्जली”

कृति/समीक्षा राजु “हिमांशु” June 22, 2025, 1:54 am
राजु “हिमांशु”
राजु “हिमांशु”

गजललाई अरबी मूलबाट फारसी,उर्दू,हिन्दी हुँदै नेपाली भाषामा भित्रिएको आगन्तुक विधा मानिछ ;जसले आज नेपालीयता बोकेर नेपाली साहित्यिक फाँटमा आफ्नो छुट्टै दरिलो अस्तित्व स्थापित गरेको छ र यो एउटा नेपाली साहित्यको लोकप्रिय विधा भएर अघि बढ़िरहेको छ।

गजलमा “बहर”-को मुख्य भूमिका रहेको हुन्छ ।बहर एउटा मात्रात्मक संरचना हो अनि यसैको आधारमा मिसराहरू(पङ्क्ति )लेखिन्छन् । भनिन्छ-बहरविना गजल हुँदैन । गजल बहरमा लेख्नु एउटा कठिन काम हो। बहरको सही ज्ञान नभएसम्म बहरमा गजल लेख्न सम्भव हुँदैन। बहरमा लेख्दा लय र नादलाई कायम राख्न गजल एउटै बहरमा लेखिनु पर्छ।विविध बहरमा लेख्दा गजलको सन्तुलन हराउँछ साथै गजल एउटा साङ्गीतिक गेय शैली हो र बहरले गजललाई गायनको आधार पनि तयार पारिदिन्छ पनि भनिएको पाइन्छ। उर्दू छन्द शास्त्रलाई फारसी भाषामा ‘अरूज़’ को संज्ञा दिएको छ अनि गजल रच्नलाई गजलकारले अरूज़को गजल सम्बन्धी नियमहरू बुझेर ती नियमलाई पूर्णतया पालन गर्नु अनिवार्य हुन्छ । त्यसैले पनि बहरविना गजल लेख्न सकिँदैन तथा बहरविहीन रचनालाई गजलको संज्ञा पनि दिन सकिँदैन भन्ने मान्यता देखिएको छ।

तर बहरविनाको गजल हुँदै हुँदैन भन्नु छन्दबिनाको कविता हुँदै हुँदैन भन्नु बराबर हो । छन्दोबद्ध कविता नियममा बाँधिएर लेखिने अनुशासनात्मक काव्यलेखन हो। त्यस्तै बहरयुक्त गजल पनि नियमबद्ध पद्यात्मक रचनाकै रूप हो। कविता पद्यात्मक मात्र हुँदैन अपितु गद्यात्मक पनि हुन्छ। गजल पनि बहरयुक्त मात्र नभएर बहरमुक्त पनि हुन्छ । बहरमुक्त अथवा बेबहरे गजलले गजलका बाह्य र आन्तरिक दुवै संरचनालाई अङ्गीकार गरेकै हुनुपर्छ। “भारतीय नेपाली ग़ज़ल” भित्र प्रतिष्ठित गजलगो मिलन बान्तवा लेख्छन् -“बहरबद्ध गजल लेख्दा हिज्जेगत त्रुटिहरू हुनसक्ने सम्भावना प्रशस्त रहन्छ”।

भारतीय गजललेखनको परिप्रेक्ष्यमा भन्नुपर्दा अचेल बहरविहीन गजल नै धेरै लेखिएका पाइन्छन् । यद्यपि बहरमा पनि राम्रा गजलहरू लेखिँदै छन्। नेपालतिर बेबहरका गजललाई चारु भनिने अवधारणा,विमर्श पनि अग्रसारित भएको देखिन्छ। डा. देवी पन्थीले “गजल सिद्धान्त र गजलको परिवर्तित स्वरूप चारु” शीर्षकयुक्त पुस्तक नै छापिसकेका छन्। उक्त पुस्तकमा उनी लेख्छन् – “अब नेपालमा नारी पुरुष दुवैले सिर्जना गरेका रचना बहरमा भए गजल र बेबहरमा भए चारु(राग,विराग,रागविराग)नामले मान्य हुनेछन्। काफिया, रदीफ मिलेका तर गजलका अन्य आन्तरिक र बाह्य तत्त्व नमिलेका रचना पनि चारु मानिनेछन् । .....अर्को शब्दमा बहरले पूर्णता नपाएका गजलको संरचनामा लेखिएका सबै रचनालाई चारु भनिनेछ।”

तर वर्तमान नेपाली गजललेखनको परिप्रेक्ष्यमा उपर्युक्त धारणा सर्वमान्य ठहरिन्न। वर्तमानमा बहरमुक्त गजलहरू नै धेरै लेखिएर पाठक-श्रोताप्रिय भएका देखिन्छन् साथै बहररहित गजलहरूलाई चारु होइन गजल नै मानिएका छन् ।

भारतीय नेपाली गजलसङ्ग्रह प्रकाशनको सूत्रपात खरसाङ महकुमाअन्तर्गत अवस्थित सिटोङबाट भएको हो सन् २००१ मा । सञ्जीव छेत्री र सन्तोष गुप्ताकृत “तरल मुटुहरू” ई० सन् २००१ मा छापिएको हो । “तरल मुटुहरू”-लाई भारतबाट छापिएको पहिलो गजलसङ्ग्रह मानिएको छ ।

भारतबाट सञ्जीव छेत्री र सन्तोष गुप्ताकृत “तरल मुटुहरू”-पछि खुसेन्द्र राईकृत ‘मेरा एकाउन्न गजल(सन्२००५),गोविन्द शाण्डिल्यकृत गजल गान्धार’(२००६),तिमी चाँदनी हौ, असीम सागरकृत ‘जून पोखिएको रात(सन् २००७),अस्तित्वका आवाजहरू(सन् २००८),भविलाल लामिछाने ‘भविलाल लामिछानेका दुइटा नज्म/केही गजल(२००७),जिन्दगी धेरथोर (२०१८),वीरेन्द्र खड्का,अनिलकुमार छेत्री, र सुवास श्रेष्ठकृत ‘गजल जल’(सन् २००८), सुवास श्रेष्ठकृत समुद्र रोएको साँझ(२०१०), फूलबारी (सन्२०१०),तिमी नै भन न(२०१२), रानी चरी(२०१३), बदनाम आँखाहरू(२०१७),दीपक पन्थकृत ‘पूर्णिमाको जून (२००८),रुद्र ढुङ्गेलकृत ‘अनुरागका अक्षरहरु (२००८), वीरेन्द्र खड्का एवं सुवास श्रेष्ठकृत ‘गजल-दीप’(सन् २००९),गोविन्द सिंह घतानीकृत ‘गोविन्देका गजल’(२००८) र ‘गोविन्देका १०८ गजल’(२०१४),लीलबहादुर छेत्री,बलराम सापकोटा र बुद्ध राईको गजल महक’(सन् २००९),धीरेन सङ्घर्षका ‘यो व्यथा(२००९),मनोरोग(सन् २०१०),मनको मझेरीमा (२०१२),दीपक ठताल ‘जलन’-कृत ‘गजल कानन’(२०१०),छुदेन काविमोकृत ‘केही घाउ केही मलहम’(सन् २०१०), अरुण साम्पाङ र सूरज सुब्बाकृत ‘कालो गुलाफ’(सन् २०१०),कमल रेग्मीकृत ‘ऋतु गीत’(सन् २०१०),कमलकोठी’(२०११),मिलन बान्तवाकृत ‘मनचरी(सन्२०१०),’हारहरू छन् र म जिउँदो छु’ (सन् २०२२),कर्ण विरहकृत ‘भक्कानिएका भावनाहरू(सन् २०११),निर्दोषिका तामाङकृत ‘स्मृतिका सौगातहरू’(सन् २०१२),स्वर्णिम लिम्बूकृत ‘पहिलो किरण’(२०१२),महेश दाहालकृत ‘भुलेर आफैलाई’(सन् २०१३),कृष्ण पी॰ ठटालकृत मनको दह’(२०१४),अर्पण राई-कृत ‘पतझड़का पातहरू (सन् २०१४),क्षेत्र ‘प्रेम’ मुखियाकृत ‘अनाकृत मर्म(२०१५),भाव मन्थन’,(२०१७),दिलमान राई ’चोट’कृत ‘गजल अञ्जली(सन्२०१६),जीविका अश्रुकृत ‘अक्षर प्रेम’(२०१६),’आकाश मेरो पनि’(सन् २०२२),जे॰बी॰रसाइलीकृत ‘लहना’(सन् २०१७),शब्द शिविर(सन् २०१७),जस योञ्जन ‘प्यासी’-कृत निर्माया तिमीलाई’(सन् २०१७),नोर्जाङ्ग स्याङदेनकृत ‘तिमी छौ किन जिन्दगी(सन् २०१७),रोशन राई ‘चोट’कृत ‘आफ्नै पीड़ाहरू (सन् २०१७),सन्जोक खवासकृत ‘अन्जान शहरमा छु’(सन् २०१७),उत्तम दंगाल र मनोहर शर्माकृत ‘गजल अंकुरण’(सन् २०१७),पी॰लकी शेर्पाकृत ‘केही रङ्ग केही रहर(सन् २०१७),गजल इरादा(२०२१),प्रेम विश्वकर्मकृत ‘गजल यात्रा’(सन् २०१२),श्रवण कुमार प्रधान ‘विवश’-कृत ‘स्वीकृतिका याम(२०२०),सङ्गम सुधाकृत ‘असीनाको फूल’(सन् २०२०),वसन्ती देवी पौडेलकृत ‘थोपा-थोपा जिन्दगी’(सन् २०२१),कृष्णनील कार्कीकृत ‘समयको भाग्यरेखा’ ,शैलेन्द्र समदर्शीकृत बाल गजलसङ्ग्रह ‘शुरुआत(सन् २०१०),उदय थुलुङकृत ‘सुनसान रेस्टुराँ’(सन् २०२२),दिल ठकुरीकृत ‘स्पन्दनका घाउहरू (सन् २०२२),सिमयोन सुकिताकृत ‘पिरतीको लगानी(सन् २०२२), ललित चाहारकृत “प्रेमाञ्जली”(२०२३), अजय थापाकृत ‘मधुरिमा’(सन् २०२३), राजु प्रधान ‘हिमांशु’-कृत ‘त्यो घाउको कथा(२०२४) प्रभृति गजलसङ्ग्रहहरू प्रकाशित भइसकेका छन् ।

भारतीय नेपाली गजललेखनको प्रसङ्गमा भन्नुपर्दा गजलको सैद्धान्तिक पक्षलाई केलाएर लेखिएको विश्लेषणमूलक र अनुसन्धानपरक पुस्तक अति नै न्यून देखिन्छ।यद्यपि गजल अध्येता एवं बाल गजलगो शैलेन्द्र समदर्शीका “गजल: सिद्धान्त र सिर्जनावलोकन”(२०१०), अनि असम नेपाली साहित्य सभाको “गजल सिद्धान्त र विकास यात्रा”(२०१६)लाई उदाहरणार्थ लिन सकिन्छ । प्रतिष्ठित कवि अनि गजलगो मिलन बान्तवाको सङ्कलन र सम्पादनमा साहित्य अकादेमीद्वारा प्रकाशित “भारतीय नेपाली गजल” पुस्तकले पनि भारतीय नेपाली गजलकार र उनीहरूका गजललेखनबारे धेरै प्रकाश पारेको छ। “गजललय”, “लालिमा” अनि “स्पर्श” नामक गजलप्रधान पत्रिकाहरूले पनि भारतीय गजल लेखनलाई धेरै टेवा पुरयाएर गजलकारहरूका गजलहरू पस्किने राम्रो काम गरिरहेका छन्। भारतीय नेपाली गजल लेखनका निम्ति यति नै पर्याप्त भने हुँदैन। पत्रिकाको प्रकाशनमा निरन्तरता रहनुपर्ने अपरिहार्यता अनुभूत गरिएको छ । यद्यपि सामाजिक सञ्जाल र अनलाइन पत्रिकातिर भने गजल पढ्न पाइरहेका छौँ।

भारतीय गजललेखनसम्बन्धी समीक्षा/समालोचना त अति नै न्यून पाइन्छ । यद्यपि राम्रा गजलहरू लेखिँदै छन्। उत्साही गजलकारहरू देखिँदै छन् । नयाँ नयाँ गजलहरू नवोदित गजलकारहरूले सामाजिक सञ्जालतिर पस्किँदै छन्। गजल दिवानहरू पनि छापिँदै छन्। तर उर्दू र हिन्दी गजलमा प्रयुक्त जाम, शाम, आम, मजबूर, बारात, सफर, इल्जाम, आवारा, एहसास,इन्तजार,दीवाना,निसार,इरादा,इश्क,मोहब्बत,शिकायत, बेचैन,मन्जिल, महफिल,कातिल,तमाम,फरार,आबाद,शराब,तराना प्रभृति शब्दहरूले भारतीय नेपाली गजलमा प्रविष्टि पाएका देखिन्छन्। नेपाली शब्द ढुकुटीमा बसेका शब्दहरूले पनि भारतीय नेपाली गजलमा ठाउँ पाएको हुनुपर्छ जस्तो लाग्छ मलाई।कोड मिश्रणको नाममा आगन्तुक शब्दको अधिक प्रयोग हुनु स्वागतयोग्य ठहर्दैन नै भन्नुपर्छ। मलाई त लाग्छ- गजल विधा आगन्तुक विधा भए तापनि नेपाली गजलले नेपालीयता बोकेकै असल हुन्छ अनि गजलमा नेपालीयता भित्राउन देशज शब्दहरूकै उचित प्रयोग हुनुपर्छ जस्तो लाग्छ । तर कहिलेकाहीँ काफियाले कोड मिश्रणलाई निम्तो दिन कर लगाउँछ कि? एकाध मिश्रण स्वीकार्य ठरिए पनि अधिक मिश्रण भने स्वागतयोग्य हुँदैन कि ?

गजलमा काफिया र रदीफमात्र मिलाएर हुँदैन तर भावलाई पनि बचाएको हुनुपर्छ भनिएका भनाइहरू पनि नपढ़िएका होइनन्।काफिया गजलको प्राणतत्त्व होइन,काफियाविना पनि राम्रा गजलहरू लेखिएका छन् पनि भनिएकै हो । तर जबसम्म सही काफियाको प्रयोग हुँदैन भावले मात्र गजलले खुराक पाउँदैन जस्तो लाग्छ। मलाई त काफिया त्यही पनि पूर्ण काफियासित रदीफ पनि रहेको भावपूर्ण गजल नै प्रिय लाग्छ। बहरविहीन गजल लेख्दा भाव, काफिया र रदीफलाई ध्यान दिनैपर्ने हुन्छ। रदीफ नलेखे पनि गजलले काफिया दोष बोक्नु भएन। बहरविहीन गजलमा काफिया र रदीफलाई प्रयोग नगर्दा गजल कविताजस्तो हुन्छ कि जस्तो पनि लाग्छ। भनिन्छ गजलले गेयात्मकता पनि सम्भरण गरेको हुनुपर्छ ।
गजलमा प्रेम प्रसङ्ग नआउनु भनेको गजलबाट हार्दिक कोमलता हराउनु जस्तै हुन्छ कि? प्रेयसीसितको कुराकानीबिना गजलको शृङ्गारिक/रुमानी आन्तरिक आर्तनादले फैलिनलाई स्वाधीन आकाश पाउँदैन जस्तो पनि लाग्छ । ऐकान्तिकता र चकमन्न अवस्थामा पनि त्यो अदेख पीड़ामय आन्तरिक आर्तनादले गजलको आकृतिमा आफूलाई ढाल्न सक्नुमा गजलको साकार रूप देखिन्छ कि ? यद्यपि आजभोलि गजलमा प्रेयसीसित मात्र रुमानी वार्तालाप हुँदैन। अपितु गजलले विषय विविधतालाई पनि अङ्गीकृत गरेको पाइन्छ। अत: गजलको विषयवस्तु व्यापक भएर गइरहेको देखिन्छ। त्यसरी गजलले पाठकअघि टेसिलो परिकार पस्किरहेको छ ;जुन स्वागतयोग्य मान्नुपर्छ।

गजल धेरै लेखिँदै छन्। काफिया दोषयुक्त र गजलको संरचनादेखि बाहिरिएको रचनालाई गजल भनेर सामाजिक सञ्जालतिर पस्किएको पनि देखिन्छ। तर काफिया मिलाउने कोशिशमा मात्र गजल हुँदैन। सर्जकले काफिया र रदीफ मिलाउँदा भावलाई मर्नु दिनु हुँदैन। प्रारम्भिक अथवा अभ्यासकालीन लेखनमात्र होइन निरन्तर लेखन पनि दोषमुक्त त हुँदैनन् नै भन्नुपर्छ। अप्रमाद रहने कोशिश गर्दागर्दै पनि प्रमादयुक्त भएकै हुन्छन् सिर्जनाहरू। तर प्रमादहरूको सिँढी उक्लिएर नै परिपक्वताको चुचुरोमा पुग्न सकिन्छ पनि ।गजलहरू तकाबुले रदीफ़ दोषयुक्त पनि भेटिन्छन्।

गजलसङ्ग्रहको प्रकाशनमा खरसाङ साह्रै पछि भने परेको छैन । भारतीय नेपाली गजलसङ्ग्रह प्रकाशनको सूत्रपात खरसाङ महकुमाअन्तर्गत अवस्थित सिटोङबाट सञ्जीव छेत्री र सन्तोष गुप्ताकृत “तरल मुटुहरू”-द्वारा ई० सन् २००१ मा भएको हो । “तरल मुटुहरू”-को प्रकाशनपछि खरसाङबाट गोविन्दसिंह घतानीकृत ‘गोविन्देका गजल’(सन् २००८) र ‘गोविन्देका १०८ गजल’(सन् २०१४),दीप ‘जलन’(दीपक ठटाल)-कृत ‘गजल कानन’(२०१०),जस योञ्जन ‘प्यासी”-कृत ‘निर्माया तिमीलाई’(२०१७),पी लक्की शेर्पाकृत ‘केही रङ केही रहर’(२०१८) र ‘गजल इरादा’(२०२१), ललित चाहारकृत “प्रेमाञ्जली”(२०२३),राजु प्रधान “हिमांशु:-कृत “त्यो घाउको कथा”(सन् २०२४) गजलसङ्ग्रहहरू प्रकाशित भइसकेका छन्। खरसाङमा पनि डाउहिल पथ निवासी गजलगोहरू क्रमश: गोविन्दसिंह घतानी,डा॰जस योञ्जन ‘प्यासी’,राजु प्रधान “हिमांशु”,पी लक्की शेर्पा,ललित चाहारबाट धेरै गजलहरू लेखिएका छन्।

यस लेखमा गजलकार ललित चाहारको गजलसङ्ग्रह “प्रेमाञ्जली”-बारे केही चर्चा गरिन्छ । गजलको अध्ययन-पठनमा लागेर आफ्नो अभ्यासकालीन गजल लेखनलाई निरन्तरता दिँदै प्रशस्त गजल लेखिसकेर मात्र गजलको सङ्ग्रह छपाउने आँट गरे डाउहिल निवासी गजल रचयिता रूबेणले। रूबेण भनेर मैले चिनेको गजलगो ललित चाहार बनी भारतीय नेपाली गजल साहित्यमा देखा परे सन् २०२३ मा । उनका गजलहरू सामाजिक सञ्जालमा पढ्न पाएकै हो। उनले आफ्नो पहिलो गजलसङ्ग्रहको शीर्षक राखें “प्रेमाञ्जली”।

‘प्रेमाञ्जली’-मा सर्जक ललित चाहारले पूर्ण,आंशिक,एक अक्षरी काफिया प्रयोग गरेका छन् साथै रदीफलाई चलाएका छन् । रदीफरहित गजलहरू पनि सिर्जना गरेका छन्।अर्थात् मुकफ्पा र मुअद्दस दुवै ढाँचामा रचित छन् उनका गजलहरू ।तखल्लुसको प्रयोग पनि पाइन्छ।तखल्लुस त्यति आवश्यक नरहे तापनि गजलकारहरूले त्यसको प्रयोग गर्ने गरेका छन् । ललित चाहारले तखल्लुसको प्रयोग अति कम गरेका छन्। उनका गजलहरूमा बिषयगत विविधता पनि पाइन्छ।उनले शृङ्गारिक भावलाई नै धेरै आत्मसात गरेका देखिन्छ।गजलको संरचनात्मक परिधिभित्रै रहेर गजल लेख्ने सत्प्रयास गरेका छन् गजलगो चाहारले । उनले आफ्नो पहिलो सङ्ग्रहमा नै पाठकअघि एक सय चालीसवटा गजलहरू पस्किदिएका छन्। विविध विषय र घटनाक्रमहरूलाई इङ्गित गर्दै लेखिएका उनका गजलहरूमा व्यङ्ग्यात्मकता पनि अङ्गीकृत पाइन्छ । तर उनले आफ्ना गजलहरूमा बिन्दास,बेलगाम,शाम,जाम, बदहाल,बबाल,सवाल,खयाल,न्यौछावर,जीहजुरी आदि जस्ता शब्दहरू पनि चलाएका छन्। मलाई लाग्यो - गजलगो चाहारले आफ्ना गजलहरूमा देशज शब्दहरू नै अधिक प्रयोग गरेका भए उचित हुन्थ्यो ।

उर्दू गजलको शीर्षक हुँदैन। त्यसरी गजलको शीर्षक नहुनुमा गजलको प्रत्येक शेरको कथ्य भिन्न हुन्छ र एउटा विशेष शीर्षकले विविध कथ्ययुक्त शेरहरूलाई प्रतिनिधितत्व गर्न सक्दैन भन्ने तर्क अग्रसारित भएको देखिन्छ। तर शीर्षकहीन असङ्ख्य गजलहरूको समूहबाट एउटा गजल खोजेर निकाल्नु पनि श्रमसाध्य कार्य हुन्छ पनि भनिएको पाइन्छ। कतिपय हिन्दी गजलकारहरूले कथ्यमा विविधता रहे तापनि गजलको शीर्षक राखेका देख्छौँ।भारतबाट नेपाली गजलका शीर्षकहरू राखेर गजल सङ्ग्रह छपाउने गजलगो हुन्-जस योञ्जन ‘प्यासी’। उनले आफ्ना गजलकृति “निर्माया तिमीलाई”-भित्र सङ्कलित प्रत्येक गजलको शीर्षक राखिदिएका छन्। ती शीर्षकहरू गजलका मिसराहरूका प्रारम्भ, मध्य, अन्तआदिका अंशबाट निकालेर शीर्षकका रूपमा राखिदिएका छन् । गजलगो गोविन्दसिंह घातनीले पनि “गोविन्देका १०८ गजल” गजल सङ्ग्रहभित्र गजलको शीर्षक नराखे तापनि गजलक्रममा भने प्रत्येक गजलको मतलाको अर्ध मिसरा देखाएका छन् । त्यस अर्ध मिसराले गजलको शीर्षककै काम गरेको छ भन्नुपर्छ। उर्दू गजलकै शीर्षकविहीन गजललेखन परम्परालाई सम्भरण गरेका छन् ललित चाहारले पनि ।अर्थात् उनले गजलको शीर्षक राखेका छैनन्।
गजल सर्जक चाहारका यस गजल सङ्ग्रहभित्र कस्ता छन् गजलहरू ? उदाहरणार्थ हेरौँ केही।

झूटको अट्टालिकामा नबस्नु एक दिन ढल्छ नै
अजम्बरी होइन यो शरीर एक दिन गल्छ नै

केवल हो पर्खाई , हुनेछ बिदाइ यहाँ एक दिन
निष्प्राण भएर लड़ेपछि एक दिन चिता जल्छ नै

स्मरण रहनु सक्छ बाँचेर छोड़े केही छाप यहाँ
मृत्युले पछयाई आएर यहाँ एक दिन छल्छ नै

भक्कनोहरू हुनेछन् एक दिन त्यो छातीभरि
सधैं एकनाश हुँदैन परिवर्तनको हावा एक दिन चल्छ नै

नकल गर्छ कागले हिँड्नु त्यो चाल हाँसको
अप्राप्तिको खेलमा यो ललितले यहाँ हात मल्छ नै

पूर्ण काफिया,रदीफ र तखल्लुस प्रयुक्त मुअद्दस ढाँचामा लिखित बहरमुक्त उक्त गजलले जीवनको क्षणभङ्गुरतालाई दर्शाइदिएको छ।

मुकफ्फा ढाँचामा लेखिएको उनको अर्को गजललाई हेरौँ:-


सानो छँदा जिन्दगी लाग्थ्यो परीकथाको कहानी
सधैँ हाँसी हाँसी जितेर ल्याउँथ्यो राजाले रानी

कल्पना हुन्थ्यो सधैँ आफै चढ़ेको सेतो घोड़ामा
जिन्दगी त हुँदोरैछ घामभन्दा धेर पानीपानी

मन नलगाऊ कहीँ कतै हानिमात्र गर्छ यसले
तिमीलाई के थाहा छ कस्तो छ उसको आनीबानी

दिन हुन्थ्यो सुनौलो रात्री त झनै स्वप्निल
हर रात देखिन्थ्यो सपनी,राजकुमारी छानीछानी

निभ्यो दीपक अब उसको जीवन अन्धकार छ
भाग्य खोटो लेख्ने नियति नै रैछ बेइमानी


केही लोक भाकामा रचित लाग्ने गजल पनि हेरौ-

कान्छी तिमीलाई भेट्नु आउँला सुर्ती पड्काउँदै
हाँसीखुशी जीवन बिताउँला सुर्ती पड्काउँदै

वल्लो गाउँ मेरो हो हुँदैन टाढा माइत जानलाई
माइती मान्नु हामी दुवै सँगै जाउँला सुर्ती पड्काउँदै

हेरिरहन्छु तिमी हिँड्ने बाटो कतै देखिहाल्छु भनी
देवीदेवता सीमेभुमे सबै हामी मनाउँला सुर्ती पड्काउँदै

बिसाइदेऊ तिम्रो मनको बह जति मेरो कानैमा
जीवनका गीत हामी सँगै मिली गाउँला सुर्ती पड्काउँदै

हा हा ही ही अनि पछि हुनेछ आ आ इ इ पनि
हाम्रो आफ्नै सुन्दर संसार बसाउँला सुर्ती पड्काउँदै

अब ललित चाहारका अन्य केही गजलका केही मतलाहरू उदाहरणार्थ पढौँ-

कसरी भनूँ म बाँचेको नै थिएँ तिमी आउनुअघि
सङ्केत सकिनँ केही पाउनु,आफैलाई डुबाउनुअघि

नआऊ तिमी मेरो सामु दिन ढलेको बेला
शरीरमात्र होइन मन पनि गलेको बेला

गाह्रो लाग्दैछ आफैलाई अटाउनु मान्छेको दुनियाँमा
सक्दिनँ अब आफैलाई नङ्ग्याउनु मान्छेको दुनियाँमा

केही मीठा शब्दहरू कानमा गुनगुन गर्ने मन छ
समयलाई रोक्नु सक्ने कोसित पो धन छ

हाँसोजति खोलाले माग्यो खोलामा बगाई आएँ
पीड़ामाझ पौड़िएर म त आकण्ठ अघाई आएँ

उपर्युक्त गजल र गजलका मतलाहरूबाट ललित चाहार एकजना उम्दा गजल लेख्नसक्ने गजलकार हुन् भनी स्पष्ट हुँदछ। यद्यपि प्रमादमुक्त भने छैनन् उनका कतिपय गजलहरू।‘प्रेमाञ्जली’-भित्र चयनित र सङ्कलित उनका कतिपय गजलमा काफिया दोहोरिएको भेटिन्छ भने कति गजलमा तकाबुले रदीफ दोष पनि देखिन्छ। कतिपय गजलमा काफिया दोष पनि भेटिन्छ। भूमिका लेख्ने क्रममा दोष सुधारार्थ सुझाउ पस्किए पनि गजलकारको शारीरिक रुग्णता र दीवान प्रकाशनको आतुरीमा प्रुफ रिडिङको समयमा कति सुधार गरिएको तर कति अदेख भएर त्रुटियुक्त हुन पुगेको भान भयो । अत: पुस्तक प्रकाशित भएर आउँदा एउटा गजलको मकतामा काफिया नै नमिलेको पनि भेटियो। रोगले धेरै आक्रान्त पारेको थिएछ र उनी ‘ढिलो भइसक्यो’ भनी दिनरात सकी नसकी खटेका थिएछन् भनी अहिले लख काट्छु ।उनी धेरै चिन्ता र चिन्तनग्रस्त पनि देखिन्थे।

आफ्नो गजलसङ्ग्रहको प्रकाशनबारे सर-सल्लाह गर्न ललित चाहार धेरै चोटि मकहाँ आए। मलाई उनको गजल सङ्ग्रहबारे भूमिका लेख्ने आग्रह गरे । पुस्तकको शीर्षक तय भएको थिएन। कुनै पनि शीर्षक राख्न सक्ने प्रकारले जसोतसो भूमिका लेखिदिएँ साथै आफनो सीमित ज्ञानले भेटेका केही दोषहरूबारे सुधारार्थ केही सुझाउ पनि दिएँ । उनले गजलसङ्ग्रहको शीर्षक ‘प्रेमाञ्जली’ राखे। पुस्तक छापिएर आएपछि उनी विमोचन कार्यक्रम कसरी गर्ने,क-कसलाई बोलाउने आदिबारे पनि सर-सल्लाह गर्न उनी मकहाँ आए । उनले फोनमा पनि मसित कुरा गरे । मलाई विमोचन कार्यक्रमको प्रमुख अतिथि बसिदिने ढिपी नै गरें। सबै तय भएर निमन्त्रणा-पत्र बाँड्ने काम चलिरहेको थियो । ‘प्रेमाञ्जली’भित्र सङ्कलित १४० वटा गजलहरूबाहेक उनले अन्य धेरै गजल लेखेका र चाँड़ै दोस्रो गजलसङ्ग्रह र कविताकृतिहरू प्रकाशित गर्ने अभीप्सा पनि पालेका थिए ।

गजल लेखनमा नै विशेष लागिपरेका गजलगो ललित चाहार भारतीय नेपाली गजललेखनको आकाशमा उदाएका थिए । उनले अन्य कृतिहरूको डीटीपी पनि गराउँदै थिए । खरसाङले पाएको थियो एकजना उदयीमान गजलगो र उनको प्रथम दीवान-ए-गजल “प्रेमाञ्जली”। उनी यसै गजलसङ्ग्रहको विमोचनका आयोजनहेतु खटिरहेका थिए ।अघिबाटै रुग्ण हुनाले उनी उपचाराधीन थिए र औषधि सेवन गर्दै आफ्नो गजलसङ्ग्रहको विमोचनका लागि दिनरात विचारमग्न भएर विमोचन कार्यक्रमका निमन्त्रणा बाँड्न व्यस्त पनि थिए।०२ अक्टोबर २०२३ को दिन सम्पन्न हुने तय भइसकेको थियो “प्रेमाञ्जली’ गजलकृतिको विमोचन। तर कस्तो भाग्य लिएर आएका थिएछन् चाहारले ! १८ सेप्टेम्बर २०२३ को दिन उनी मस्तिष्काघातले कोमामा पुगे। सबै स्थगित भयो । त्यस्तै अवस्थामा उनको परिवारको आग्रहले ०३ अक्टोबर २०२३ को दिन गोर्खा जन पुस्तकालयमा उनको गजलकृतिको विमोचन गरियो।सुचर्चित कवि श्री विनोद रसाइलीद्वारा सञ्चालित विमोचन समारोह समालोचक ऋषि राईको अध्यक्षता,साहित्यकार राजु प्रधान “हिमांशु”-को प्रमुख आतिथ्य तथा खरसाङका वरिष्ठ समाजसेवी,साहित्यकार क्रमश: श्रीमान् तिलक शर्मा,जी॰बी॰बल,विनोदप्रकाश शर्मा,एल॰डी॰मोक्तान,सुनौलो परिवार,डाउहिलका सभापति दावा लामा,ललित चाहारका सुपुत्र दीपङ्कर चाहार आदिको विशिष्ट आतिथ्यमा सम्पन्न भयो । आफ्नो पहिलो प्रकाशित कृतिको विमोचन कार्यक्रममा कृतिकार नै अनुपस्थित रहनुपरेको बेरमाइलो कार्यक्रम आयोजित भयो खरसाङमा ।शायद यस्तो विमोचन समारोह नेपाली साहित्यक पुस्तकको विमोचन कार्यक्रमको इतिहासमा नै पहिलोचोटि घटित भयो। रचयिता अस्पतालमा सिकिस्त अवस्थामा थिए। तर उनको पहिलो प्रकाशित कृतिको विमोचन भने सम्पन्न भयो उनको सुपुत्रको उपस्थितिमा । विमोचन समारोहपछि कोमामा नै भए तापनि उनलाई विमोचन कार्यक्रमको समाचार सुनाइयो ।उनले सुने सुनेनन् । बुझे बुझेनन् । थाहा भएन । कस्तो दैवसंयोग ! आफ्नो जन्मदिनमा नै एकजना गजल सर्जकको निधन भयो। अर्थात् २० अक्टोबर १९६२ मा जन्मिएका ललित चाहारको २० अक्टोबर २०२३ को दिन निधन भयो। रुग्णावस्थामा पनि उनी कृति प्रकाशनका निम्ति साह्रै खटेका र हतारिएका थिए । उनलाई त्यसरी अधीर भएको देखेको थिइनँ। त्यस्तो स्थितिमा ‘प्रेमाञ्जली’ प्रकाशित र विमोचित भयो ।

‘प्रेमाञ्जली’-को भूमिकामा लेखेको थिएँ -“रूबेण उर्फ ललित चाहारलाई अगणित बधाई । उनको गजलयात्रा सफल बनोस्।कुशल बनोस्। वाहवाही बटुल्दै अघि बढ़िरहोस् ।उनीबाट उम्दा गजलहरू सिर्जना भइरहोस् । अन्तर्मनबाटै शुभकामना।”

तर भारतीय नेपाली गजल साहित्यले ललित चाहारबाट अरू नयाँ गजलहरू पढ्ने अवसर फेरि फेरि पाउन सकेन । आफ्नो पहिलो गजलकृतिको विमोचन कार्यक्रम कृतिकार आफैले न हेर्न नै पाए, न विमोचन कार्यक्रममा व्यक्त भएका कुरा नै प्रत्यक्ष सुन्न पाए । आफ्नो प्रथम गजलकृतिको लोकार्पणको दिन केही ओझेलमा परेका वरिष्ठ साहित्य र सङ्गीत स्रष्टाहरूलाई सम्मानित गर्ने उनको वाञ्छा र सपना पनि पूरा भएनन्।खरसाङका उदयीमान गजलकार ललित चाहारको कोमामा रहेको अवस्थामा नै देहान्त भयो। मस्तिष्काघातले आक्रान्त हुनअघि आफ्नो प्रथम कृतिको प्रकाशनकार्य सम्पन्न गर्न उनी अति नै उत्साही भएका थिए। कम आयु लिएर आएका थिएछन् गजलगो ललित चाहारले । निभ्नलाई उज्यालो भएका थिएछन् उनी।

पुछारमा, “प्रेमाञ्जली” सन् २०२३ मा छापिए पनि धेरैले पढ्न पाएका छैनन् जस्तो लाग्यो । यस पुस्तकका लागि लेखिएको भूमिका सम्झिएँ। “प्रेमाञ्जली’ निकालेर पुन: पढ़ें। लाग्यो ‘प्रेमाञ्जली’-बारे केही चर्चा त गर्नैपर्छ। अत: केही योग र केही वियोग गरेर भूमिकालाई समीक्षाको रूप दिएर श्रद्धाञ्जलीस्वरूप पुनर्लेखन गरियो र गजलगो ललित चाहारलाई गजलअनुरागी पाठकअघि यसरी उभ्याउने धृष्टता नै गरियो । अस्तु।

डाउहिल,खरसाङ,भारत ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।