तिमीले कोरिदिएको घेरा
साँघुरो भो मलाई
दयामा फ्याँकेका अधिकार
बोझिलो भो मलाई
को हौ तिमी त्यस्तो
मेरो संसारको रेखा कोर्ने
तिमीसँग के छ त्यस्तो
मलाई केही दिन सक्ने ।
म त म हुँ, मेरै म
स्वामित्व तिम्रो कसरी भो
मानिस हुँ, मेशिन होइन
निर्देशन किन जरुरी भो
कसले रच्यो तिम्रो नियम
कसलाई त्यो खाँचो भो
तिमी बाँच, म बाँच्छु
यसमा किन आपत्ति भो ?
सक्छौ के जीवन दिन
मरेतुल्य पार्ने रहर कस्तो
सक्छौ मेरो बेगलाई रोक्न
बन्धक राख्ने चलन कस्तो
तिम्रो कानुन तोडेँ मैले
सक्छौ भने मलाई रोकी हेर
मेरो जिन्दगी बाँचें मैले
सक्छौ भने आऊ छेकी हेर ।
म त्यो विशाल आकाश हुँ
साम्राज्यमा अनन्त राज गर्ने
म त्यो धैर्यवान धरती हुँ
सारा प्रहार सामना गर्ने
म त सर्वव्यापी पवन हुँ
जहाँ चाहुँ वास गर्ने
बिचरा तिमी
फगत कृपा पात्र हौ
रेखा कोरेर मलाई थुन्न खोज्ने ।
काठमाडौँ