18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मृत्युदण्डको भय

नियात्रा डा. टीकाराम पोखरेल June 25, 2025, 2:35 pm
डा. टीकाराम पोखरेल
डा. टीकाराम पोखरेल

सपनाको संसारको यात्रा नै हो विदेश भ्रमण, आमनेपालीका लागि । हरेक विदेश भ्रमण उत्साह हने गर्छन् सबै नेपालीका लागि । सामान्यतयाः मेरो लागि पनि उत्साहप्रद नै हुने गर्दछ । तर यसपटकको विदेश भ्रमणको सुरुवात भने मेरा लागि उत्साह भएन, कारण इच्छा विपरीतको भ्रमण थियो, अनि एक्लै पनि । जोश र जाँगर नचल्दानचल्दै पनि म हप्ताको अन्तिम दिन शनिबार बेलुकी ६.०० बजे इन्डोनेसियाको गन्तव्य तय गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बैङ्ककतर्फ प्रस्थान गरेँ । थाई एयरवेजको विमानद्वारा । विदेश यात्रा गर्दा रुट मिलेसम्म थाई एयरवेज मेरो छनौटमा नै पर्ने गर्छ ।

एसिया प्रशान्त क्षेत्रका राष्ट्रिय मानव अधिकार आयोगहरूको साझा मञ्च एसिया प्यासिफिक फोरम अफ नेसनल ह्युम्यान राइट्स इण्ष्टिच्युसन्सको आयोजनामा इन्डोनेसियाको जोग्जाकार्तामा आयोजना गरिएको यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका अधिकारको संरक्षण र सम्बद्र्धनसम्बन्धी घोषणापत्र (जसलाई जोग्जाकार्ता सिद्धान्त पनि भनिन्छ ) को कार्यान्वयन र प्रवद्र्धनमा राष्ट्रिय मानव अधिकार संस्थाहरूको भूमिका विषयक कार्यक्रममा नेपालको तर्फबाट भाग लिने प्रतिनिधिको रूपमा म यो भ्रमण गर्दै थिएँ । जोग्जाकार्ता प्रिन्सिपल घोषणा भएको इन्डोनेसियाको जोग्जाकार्तामा नै यो कार्यक्रम हुँदै थियो ।

काठमाडौँ छोड्नु अघि ब्लु डायमन सोसाइटीका मित्रहरूसँग भेट गरेको थिएँ, ब्लु डायमन सोसाइटीकै कार्यालयमा । यो कार्यक्रमका सरोकारवालाहरू यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरु नै थिए, नेपालमा जसको अधिकारको वकालत गर्ने अलि नाम चलेको संस्था थियो ब्लु डायमन सोसाइटी । जुन वर्गको अधिकारका सम्बन्धमा छलफल गर्न अन्तर्राष्ट्रिय मञ्चमा भाग लिन जाँदैछु छु, नेपालमा रहेका त्यस्ता सरोकारवालाहरूसँग भेटेर कार्यक्रममा भाग लिन जाँदा अलि बढी नै उपलब्धिमूलक हुने मलाई लाग्यो । ब्लु डायमण्डका सुनील, सुवास र प्रदीपसँगको भेट र छलफलबाट नेपालमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरुले भोग्नुपरेका समस्याहरूका बारेमा मलाई धेरै कुराको अवगत भयो । ती कुरा पछि जोग्जाकार्तामा भएको कार्यक्रममा समेत विश्वभरिबाट आएका सबै सहभागीहरूलाई मैले अवगत गराएँ ।

काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि बैङ्ककको सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलसम्मको झण्डै चारघण्टे यात्रा घरपरिवारसँगको विछोडको तीतो अनुभूतिमा नै बित्यो । रात्री उडान भएकाले जहाजबाहिर पनि अन्धकारबाहेक केही देखिएन । शून्य अनुभूति । त्यसमाथि पनि जहाजभरि विदेश भासिन तछाडमछाड गरिरहेका नेपालीहरूको लर्को देख्दा मलाई आफ्नै देशको अन्धकार भविष्यप्रति चिन्ता लागेर आयो ।

उफ्, कस्तो विडम्बना । नेपाल आमा सन्तान जन्माउँछिन्, हुर्काउँछिन्, बढाउँछिन् र शिक्षा दिएर योग्य बनाउँछिन् । जब होनाहार मान्छे बन्छ, तब थप र स्तरीय शिक्षा वा रोजगारीको नाममा त्यो होनाहार युवा विदेश जान्छ र उतै पलायन हुन्छ । अनि भन्छ– “धत् नेपाल । त्यस्तो देशमा पनि कोही फर्किन्छ ।“ देशलाई यसरी गाली गर्छ, मानौँ ऊ कुनै युद्धमैदानमा बहादुरी प्रदर्शन गर्ने लडाकुहरूलाई अर्ति दिँदैछ वा आफू नै बहादुरीको लडाइँ लड्दैछ । जहाजमा यस्ता थुप्रै भाग्यसँग हारेका र नियतिले विदेशिन बाध्य भएकाहरुसँग साक्षात्कार भयो, कोही अष्ट्रेलियाको यात्रा तय गर्दै थिए त कोही युरोपको, अनि कोही जापानतिर हानिँदै थिए त कोही अमेरिका, अनि कोही एसियाका खाडी मुलुकतिरै भए पनि चित्त बुझाउँदै थिए । जहाँ जान हिँडेका भए पनि सबैको अनुहारमा विजयको भाव प्रष्टै देखिन्थ्यो, मानौँ उनीहरूले तेस्रो विश्वयुद्धमा विजय हासिल गरेका छन् ।

जहाजमा उड्नेहरुमध्ये अधिकांश युवाहरु देश छोड्नु परेकोमा आफूलाई अभागी ठान्नु त परै जाओस् बरु अरु नेपाली जो विदेशको प्रवेशाज्ञा (भिसा) नपाएर काठमाडौँमा नै अलपत्र परेका थिए, तिनीहरूको भाग्यमा खोट लगाउँदै आफू भाग्यशाली भएको हाउभाउ गर्दै थिए । नियतिले बाहिरिएकाहरुमा पनि बेखुसी देखिँदैनथ्यो ।

रातको नौ बजे थाइल्याण्डको सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरियो । विमानस्थल ट्रान्जिटमा यत्रतत्र विदेश जान हिँडेका यस्ता थुप्रै नेपाली नवयुवायुवतीहरूसँग साक्षात्कार गर्दै र तिनीहरूको हाउभाउ हेदै रात बिताएँ । झण्डै सात घण्टा सुवर्णभूमि विमानस्थलको ट्रान्जिटमा बिताई भोलिपल्ट बिहान सात बजे म थाइ एयरवेजकै अर्को विमानबाट इन्डोनेसियाको राजधानी जकार्तातर्फ प्रस्थान गरें ।

थाइल्याण्डबाट जकार्तातिर लागेपछि भने रोमाञ्चकारी यात्रा प्रारम्भ भयो । समुन्द्रमाथि पैँतीस हजार फिटमा उड्दा एकप्रकारले रोमाञ्चित भइयो । समुन्द्रको बिचबिचमा देखिएका सानासाना टापुहरू, ती टापुहरूमा देखिएको मानव बस्ती र समुन्द्रमा कमिला झै देखिने जहाजहरूको दृष्य देख्दा अर्कै संसारमा पुगेको अनुभूति भयो । ती टापुका मानव बस्तीहरूलाई जहाजबाटै ओर्लेर एकपटक चुमौँ चुमौँ झैँ लाग्यो । ओहो । कस्तो सुन्दर संसार । सपनाको संसारमा पुगेजस्तो । त्यस्ता टापुहरूमा देखिएको मानव बस्ती देख्दा साँच्चै नै स्वर्गको टुक्रा फुत्त पृथ्वीमा खसेको हो कि भनेजस्तो अनुभूति भयो मलाई । प्रकृतिको कस्तो सुष्टि । लाग्यो साँच्चै यी टापहरू त मानव सभ्यतालाई ईश्वरले दिएका उपहारहरू नै हुन् । तर सपना झै एकैछिनमा ती टाप् र बस्तीहरू मेरो नजरबाट टाढा हुँदै थिए । जहाजको गतिसँगै ।

जकार्ता विमानस्थलमा पुगेपछि इन्डोनेसियाको अध्यागमनमा अध्यागमन क्लेरेन्सका लागि फारम भरी बुझाउनुपर्ने भयो । मैले फारम भरेर बुझाएको मात्र के थिएँ, त्यो फारममा त्यहाँका अधिकारीहरूले राम्रोसँग हेर्दा पनि नहेरी सोझै छाप ठोके र उक्त फारम मतिर नै तेर्स्याए । फारमतिर मैले हेरेको त ठूला अक्षरमा DEATH PENALTY (मृत्युदण्ड) भन्ने छाप लगाइएको रहेछ । मेरो त हंसले ठाउँ छोड्यो । अनुहार कालोनीलो भयो । उनीहरूले मलाई थमाएको कागज समात्न पनि सकिनँ । पछि विस्तारै समातेर हेरेँ । सबै बेहोरा पढेपछि थाहा भयो, त्यहाँ लागू पदार्थको ओसारपसारमा संलग्न भएको पाइएमा त्यो देशमा त्यस्ता व्यक्तिलाई सोझै मृत्युदण्ड हुने भनी सचेत गराइएको रहेछ । अरु सबै अक्षरहरू मसिनो अक्षरमा लेखी डेथ पेनल्टी भन्ने शब्दलाई भने हाइलाइट गर्दै ठूलो अक्षरमा राखी छाप बनाइएको रहेछ । पहिले आँखा ठूलो अक्षरमा मात्र परेर पो डरले मेरो हंसले ठाउँ छोडेछ । बल्ल ढुक्क भएँ । पछि त आफ्‌नो मूर्खताप्रति आफँैलाई हाँसो उठ्यो । एक्लै अलिकति सर्माएँ पनि । मैले केही अपराध नै गरेको थिइनँ, म किन डराएको होला ? यदि मैले मृत्युदण्ड हुने अपराध नै गरेको भए पनि अध्यागमन अधिकारीहरूले निर्णय त कहाँ गर्न सक्थे र मृत्युदण्डको ? त्यो निर्णय त पक्कै पनि अदालतले सुनाउथ्यो होला । म अनायासै मूर्ख भएछु ।

नसोचेको कुरा अचानक अगाडि आउँदा दिमागले पनि सोच्न सक्दो रहेनछ । भ्रमका कारण छोटो तनाव भोगियो । पछि सोचेँ– ओहो ! ’मलाई पो भ्रमको मृत्युदण्ड भएछ, तर सबैलाई त मृत्युदण्ड भ्रम हुँदैन, कसै न कसैलाई यस्ता देशहरुले मृत्युदण्ड दिन्छन् । कस्तो कानुन ? चाहे जोसुकैलाई होस् वा जतिसुकै जघन्य अपराध गरेको किन नहोस्, मृत्य्ुदण्ड जस्तो मध्ययुगीन बर्बरतापूर्ण सजाय आजको एक्काइसौँ शताब्दीमा आइपुग्दा पनि विद्यमान हुनु मानव सभ्यतालाई सुहाउने कुरा होइन । मानव सभ्यताको उपहास मात्र नभएर मानव अधिकारप्रतिको चुनौती पनि हो मृत्युदण्ड । एउटा क्रूरतापूर्ण अपराधको सजाय अर्को क्रूरता हुन सक्दैन ।’ तर के गर्ने हामीले जतिसुकै मन नपराए पनि मृत्युदण्ड रोक्ने तागत हामीसँग छैन । शत्तिशाली देश र शासकहरुले आफूखुसी कानून बनाएर मृत्युदण्ड त दिएकै छन् । कहिलेकाहीँ त शक्ति भएसम्म अरुलाई मृत्युदण्ड दिएर रमाउने शासकहरु आफू शक्तिहीन भएका दिन आफैँ मृत्युदण्डको सुलीमा चढेका उदाहरण पनि छन् ।

जकार्ता विमानस्थलमा अवतरण गरिसकेपछि मैले जोग्जाकार्ता जान अर्को एउटा आन्तरिक उडान समात्नुपर्ने थियो । त्यसका लागि मैले विमानस्थलमा टर्मिनल परिवर्तन गर्नुपर्ने थियो । एकजनासँग जकार्ताको अन्तर्राष्ट्रिय टर्मिनलबाट आन्तरिक टर्मिनलमा जाने दिशा सोधेको मात्र के थिएँ, दुई जना व्यक्तिले हामी पु¥याइदिन्छौं भन्दै मलाई पछ्याइहाले । मैले केही भन्न नभ्याउँदै उनीहरूले मलाई निकै पर पु¥याइसकेका थिए । टर्मिनल परिवर्तन गर्न दुई तला माथि जानुपर्ने रहेछ । एकैछिनमा तलामाथि चढ्ने लिफ्टतिर पु¥याए । लिफ्टमा ती दुईजना र म मात्र भएपछि भने असाध्य डर लाग्यो, लुटेरा हुन् कि भनेर । लिफ्ट रोकिनेबित्तिकै हतारहतार लिफ्टबाट बाहिर निस्केँ । अनि म आफैँ जानसक्छु भन्दै तिनीहरूबाट जबर्जस्ती उम्केँ । पछि थाहा भयो तिनीहरू लुटेरा त होइन रहेछन् तर मलाई सहयोग गरेको देखाएर पैसा माग्नेहरू रहेछन् ।

जकार्ता विमानस्थलमा सेवाका नाममा यात्रुहरुको तानातान र मगन्ते पारा देख्दा इन्डोनेसिया पनि झन्डै नेपालजस्तै लाग्यो । त्यत्रो अन्तर्राष्ट्रिय विमानस्थलमा पनि त्यस्ता पैसा माग्नेहरू हुँदा रहेछन् । त्यसो त इन्डोनेसियाको विमानस्थलमा समेत अमेरिकी डलर चलाउन सकिएन, इन्डोनेसियन पैसा साट्नुपर्ने भयो, । विमानस्थलमा मनि एक्सचेञ्चर कता छ भनी एक जना व्यक्तिलाई सोधेँ । उसले देखाउन त देखाइदियो तर देखाइदिए वापत पैसा मागिहाल्यो । कस्तो रहेछ, बोलेको पनि पैसा मागिहाल्ने । यो शताब्दी कतै पैसाको शताब्दी त होइन ?
जीवनमा हुन नसकेको करोडपति इण्डोनेसियामा पुगेर भइयो । तर सपनाको धनी । दुई युएस डलर साट्दा एक्काइस लाख इण्डोनेसियन रूपैँया प्राप्त भयो । जीवनमा एक लाख रूपैयाँ नगद कहिल्यै आफ्‌नो सम्पत्तिको रूपमा गोजीमा राख्न नपाएको मान्छे एकैपटक एक्काइसौँ लाखको मालिक हुँदाको क्षण मैले अत्यन्त अनौठो अनुभूति गरेँ । मसँग भएको सबै डलर साटेको भए त पचासौँ करोडको मालिक पो भइने रहेछ । तर यी सबै सपनामा धनी भएको जस्तो मात्र थियो । पच्चीस हजारभन्दा कममा केही पनि खरिद गर्न नसकिने । सोह्र लाखमा एउटा डिजिटल क्यामेरा खरिद गरियो । तीस हजारमा एउटा टाइ किनियो, ट्याक्सी चढ्दा पचास हजार तिरियो । फोन गर्दा चानचुनको नाममा रु. एकसय पचास फिर्ता पाइएन । जत्रो पैसा उत्रै मूल्य । खाली लखपति भएको भ्रम मात्र । तर कहिलेकाहिँ भ्रम पनि एकछिन भए पनि रमाइलो नै हुँदो रहेछ ।

जोग्जाकार्ता विमानस्थलमा पुग्दा होटलसम्म कसरी पुग्ने भन्ने अन्योल कायमै थियो । त्यसो त होटलले नै विमानस्थलमा रिसिभ गर्न गाडी पठाइदिन्छ भनेर कार्यक्रम आयोजकले मलाई पहिले नै जानकारी गराएको थियो, तर भएन त्यसो । न होटलले गाडी पठाइदियो न आयोजकहरू नै उपस्थित भए रिसिभगर्न । बरु म पुग्नुपर्ने फोनिक्स होटलसम्म पु¥याइदिने भनी तँतँ मम गर्दै ट्याक्सी चालकहरू मलाई तानातान गर्दै थिए । विचित्र लाग्यो तानातान देख्दा । फेरि उही नेपालकै एयरपोर्टमा भए झैँ अनुभूति ।

इन्डोनेसिया मूल रूपमा मुस्लिमहरूको बाहुल्यता भएको देश भए पनि हिन्दूहरूको पनि बसोबास रहेछ । खासगरी इन्डोनेसियाको बाली टापुमा हिन्दूहरूको ठूलो सङ्ख्यामा बसोबास छ भन्ने जानकारी पाइयो, तर समायाभावका कारण त्यहाँसम्म पुग्न भने सकिएन । जोग्जाकार्तामा पनि हिन्दूहरूका आराध्यदेव शिवको साढ़ेसहितको मन्दिर रहेछ । त्यो मन्दिरमा मलगायत विभिन्न देशबाट आएका कार्यक्रमका अन्य सहभागीहरू पनि पुग्यौँ । उक्त मन्दिरमा पुग्दा धेरै सहभागीहरूले नेपालको प्रसङ्ग चलाए । नेपालमा त्यस्ता मन्दिर प्रसस्तै भएकाले पनि भ्रमण अवधिभर ती मन्दिरहरूसँग नेपालका हिन्दु मन्दिरहरूको तुलना गर्दै पटक–पटक नेपालको प्रसङ्ग चलिरह्यो । एकजना इन्डोनेसियनले आफ्नो चित्र किनिदिन मलाई निकै अनुरोध गरे । म नेपाली भन्ने थाहा पाएपछि उनी आफू नेपाल पुगेको नाता जोड्न समेत पछि परेनन् ।

जोग्जाकार्ता सम्मेलनमा भाग लिन एसिया प्रशान्त क्षेत्रका मानव अधिकार संस्थाहरूमध्ये दक्षिण एसियाका मानव अधिकार संस्थाहरूबाट प्रतिनिधिको रूपमा नेपालको राष्ट्रिय मानव अधिकार आयोगलाई मात्र आमन्त्रण गरिएको थियो । त्यसमा नेपालको राष्ट्रिय मानव अधिकार आयोगको तर्फबाट म प्रतिनिधित्व गर्दै थिएँ । अन्तर्राष्ट्रिय मञ्चमा नेपालको मात्र नभएर सिङ्गो दक्षिण एसियाको नै प्रतिनिधित्व गरे झैँ मलाई गौरवको अनुभूति भयो । कार्यक्रमको अन्त्यमा एउटा प्रतिबद्धतापत्र जारी गर्ने प्रस्ताव भयो । तर मलेसियाको मानव अधिकार आयोगबाट सहभागी भएका त्यहाँका मानव अधिकार आयोगका आयुक्तहरूले प्रतिबद्धतापत्र जारी गर्ने कुरामा सहमति जनाएनन् । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यको सवालमा मलेसिया अलि सङ्कुचित नै रहेछ । उनीहरु यो वर्गप्रति अलि अनुदार नै हुँदा रहेछन् । तर उनीहरूले बहाना भने अरु केही बनाए र असहमति जनाए । अन्ततः प्रतिबद्धतापत्रको सट्टा गोष्ठीको निष्कर्षपत्र भनी जारी गरियो ।

चार दिनको इन्डोनेसियाको बसाई कति छिटो बित्यो, पत्तै भएन । जकार्ताबाट बैङ्कक फर्कँदा थाइ विमानबाट तल धर्तीमा देखिएको समुद्र र त्यो समुद्रमा देखिएका टापुहरूको दृष्यबाट म पुनः पुलकित भएँ । पैँतीस हजार फिटमाथिबाट तल धर्तीका मनोरम दृष्यहरूलाई क्यामेरामा कैद गरेँ, टाढाबाट त्यति स्पष्ट नभए पनि आफैँले खिचेको समुन्द्रको फोटो अरुलाई देखाउने लोभमा क्यामेरा फोटो नै फोटोले भरियो । इन्डोनेसियाबाट मलेसिया, सिङ्गापुरको आकाश हुँदै तीन घण्टाको उडान तय गरी पुनः बैङ्ककको सुवर्णभूमि विमानस्थलमा फिर्ति अवतरण गरियो ।

फर्कँदा सुवर्णभूमि विमानस्थलको सत्र घण्टे लामो ट्रान्जिट बसाई पनि यात्राको नयाँ अनुभव नै भयो । त्यसो त लामो ट्रान्जिट समय भएकाले थाइल्याण्ड पनि घुम्नुपर्ला भनी थाइल्याण्डको भिसाको लागि काठमाडौँमा नै प्रयास नगरिएको होइन, तर समयाभावको कारण निरर्थक नै भयो । भिसा नभए पनि त्यहाँ विमानस्थल बाहिरसम्म निस्कने अनुमति पाइन्छ कि भनी अध्यागमन अधिकारीहरूसँग अनुरोध गरें । आफ्नो सरकारी परिचयपत्र पनि देखाएँ । तर त्यो प्रयास पनि निरर्थक रह्यो ।

अघिल्लो दिन अपरान्ह दुई बजे बैङ्ककको विमानस्थलमा उत्रेको मान्छे म भोलिपल्ट बिहान दश बजे थाइ एयरकै जम्बोजेट चढेर दिउँसो एक बजे काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्री आफ्नै मातृभूमिको माटोलाई स्पर्श गरेँे । मातृभूमिमा टेक्न पाउँदा हर्षविभोर भएँ । एकपटक पुनः मैले विदेश भासिन हिँडेका ती धर्तीपुत्रहरूलाई सम्झेँ, जसलाई मैले थरीथरी रूप र रङ्गमा थाइ एयरवेज र बैङ्कक विमानस्थलमा भेटेको थिएँ ।

देशको भविष्यप्रति सोचमग्न हुँदै थिएँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चढेको गाडी मेरो घरको गेटमा पुगिसकेछ । “ऊ बाबा !” सानो छोराको यही आवाजले म झल्यास्स भएँ । बिपनाको संसारमा छिरिसकेछु ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।