18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

दुःखको सिमाना

कथा ओमप्रसाद शर्मा घायल June 29, 2025, 12:03 am
ओमप्रसाद शर्मा घायल
ओमप्रसाद शर्मा घायल

सुचित्रा र ऋषभ स्कुल पढ्दादेखिकै मिल्ने साथी हुन् । साथीको सम्बन्धबाट पनि माथि उठाउँदै समयले यतिखेर उनीहरुलाई प्रेमीप्रेमिकाको तहमा ल्याइपुर्‍याएको छ । एकअर्कावीचको सम्पर्क र सम्बन्धले निकै सघन भइसकेको उनीहरुको माया दुवैको जीवनको लागि अनिवार्यजस्तै छ । उच्च वर्गिय परिवारमा जन्मिएकी सुचित्रा र मध्यमवर्गिय परिवारमा जन्मिएको ऋषभ एकअर्कालाई प्रेम त गर्छन्, तर त्यही प्रेमको परिणाम उनीहरुलाई थाह छैन । प्रेम निश्छल हुन्छ यो सबैलाई थाह छ, तर यसको परिणाम कहिलकाहीँ निकै निर्मम र जटिल हुन्छ भन्ने कुरा धेरैलाई थाह छैन । फेरिपनि भविष्यको बाटोमा आउने तमाम चुनौतिलाई बिर्सेर प्रेमले आफ्नो बाटो निरन्तर बनाएकै हुन्छ । बनाएकै छ ।

यहाँपनि सुचित्रा र ऋषभ एकअर्कासँग जोडिन्छन् । प्रेम गर्छन् । दुखसुख, बाँड्छन्, एकअर्कालाई परेको अफ्ठेरोसफ्ठेरोमा सहयोग गर्छन् । समयको अध्याय एकपछि अर्को गर्दै निरन्तर अघि बढिरहन्छ । भित्तामा नयाँ क्यालेण्डर फेरिन्छ । सुचित्रा र ऋषभको कक्षा १२ सम्मको अध्ययन पनि पुरा हुन्छ ।

कक्षा १२ को नतिजा प्रकाशन हुन्छ । दुवैजना राम्रो अंकसहित उत्तिर्ण हुन्छन् । दुवैजना खुसी हुन्छन् । ऋषभ ईन्जिीनियरिङ अध्ययनको लागि भर्ना हुन्छभने सुचित्रा बाँकी अध्ययनको लागि अमेरिका जाने निर्णयमा पुग्छे । नभन्दै एकदिन सुचित्राको अमेरिका भिसा लाग्छ । ऊ अमेरिका प्रस्थान गर्छे । लामो स्कुले जीवन र यही समयखण्डमा भएको आपसी उठबससँगै सम्बन्धले निकै नजिक आइपुगेका उनीहरूबीच अबको स्वदेश र विदेशको भौतिक दूरी ऋषभलाई निकै असहज र नरमाइलो लाग्न थाल्छ ।

हेर्दाहेर्दै सुचित्रा एकदिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेर अमेरिका पुग्छे । यता ऋषभ निकै एक्लो अनुभव गर्न थाल्छ । वावु सरकारी कर्मचारी र आमा स्कुलको शिक्षिका हुन् । दुई बाबुआमाको एक्लो छोरा हो ऋषभ । सरकारी जागिरको व्यस्तता र घरव्यवहारको लोडले दुवै वावुआमासँग समय निकै कम छ । छोरा ऋषभसँग वस्ने, उसलाई बुझ्ने र उसको मनोविज्ञानमा जीवनको व्यवहारिक दीप बाल्ने फुर्सद पिता गौरीशंकर र आमा अनुराधासँग छैन । उसले नजिक ठानेकी सुचित्राको मायाबाट टाढिँदै जानु, बाबुआमासँग उसका लागि प्रयाप्त समय नहुनु र क्याम्पसमा अध्ययनको चाप बढि हुनुले पनि हिजोआज ऋषभ एकाङ्गीजस्तो भएको छ । सुचित्राबाट अलग भएको अनुभवमा ऊ निकै दुखी र निराश छ । उसलाई पढ्ने जाँगर पनि लाग्दैन । उसले फेसवुक मार्फत सुचित्रालाई वेलावखत सम्पर्क गर्छ । अध्ययनको व्यस्तताले होला सायद † सुचित्रा ऋषभसँग फेसबुक म्यासेन्जरमा पनि निकै कम कुरा गर्छे । आफ्नो व्यस्तता देखाउँछे । सुचित्राले फेसबुक म्यासेन्जर र भिडियोकलमा समय नदिएपछि ऋषभ सुचित्रासँग निकै रिसाउन थाल्छ । म्यासेन्जरमा अनावश्यक आरोपहरु लगाउँछ । सायद ऋषभको यही अनौठो व्यवहारका कारण सुचित्रा ऊबाट सँधैका लागि टाढा हुन्छे । एकदिन उसलाई फेसबुकबाटै ब्लक गर्छे । ऋषभको सबै सम्पर्कबाट हराउँछे । सामाजिक सञ्जाल र सबै सम्पर्कबाट सुचित्राले आफूलाई परित्याग गरेपछि ऋषभ झनै आक्रान्त र मर्माहत हुन्छ । आफूले सर्वश्व ठानेको मान्छेले अनायास गरेको यो निठूर व्यवहारले ऊ निकै अशान्त हुन्छ ।

घरदेखि क्याम्पस र क्याम्पसदेखि घरको दैनिकी फेरेर ऊ विस्तारै विस्तारै साथीभाईसँगको रङ्ग रमाइलोमा घुलमिल हुनपुग्छ । विहान अबेर उठ्ने, खाना खाने र क्याम्पस जाने तर क्लास हापेर साथीभाईहरुसँगको रमाइलोमा निर्भय र वेपर्वाह घुम्ने सोख उसमा बढेको छ । त्यसैले पनि यतिखेर उसको संगतमा छन् –स्कुल र कलेजमा फेल भएका किशोर किशोरीहरू । वेरोजगार युवाहरू र घरसमाजले लत्याएका र अरू क्षेत्रले नपत्याएका केही युवाहरू । उनीहरूको दिनचर्या कुलतको दलदलतिर धकेलिइरहेको छ दिनप्रतिदिन । ऋषभ पनि जीवनको उज्यालोलाई छोडेर त्यही दुर्व्यसनी र कुलतको अंध्यारोतिर पसिरहेको छ क्रमैसँग ।

तनाव छल्ने वहानामा ऊ दुर्व्यसनी र कुलतको झनै गहिराइमा धकेलिँदै जान्छ । साथी संगतीको भयानक सुरुङमार्गमा आफू धर्मराउँदै गएको पत्तै पाउँदैन उसले । व्यवहारतः दिनप्रतिदिन बदलिँदै गएको छोराको आनीबानीले वावु गौरीशंकर र आमा अनुराधा आत्तिन थाल्छन् । आफ्नो ममता र प्रेमको पर्खाल नाघेर बाहिरी भीडमा हेलिँदै गएको छोरा ऋषभसँग उनीहरूले कुरा गर्न खोज्छन्, सम्झाउने प्रयास गर्छन्, तर लागुऔषधको रसायनले मन र मस्तिष्क कब्जा गरिसकेको ऋषभ आफ्ना वावुआमासँगै झर्कोफर्को गर्न थाल्छ, ऊ घरमा कम बस्छ, कलेज पनि निकै कम जान्छ । एक्लै बसेर टोलाउँछ । र, कहिले नदीको किनारमा पुग्छ, कहिले पार्कमा पुग्छ, कहिले डान्सवार र कहिले क्लवमा देखिन थाल्छ ।
लागुऔषधको मात्रासँगै हिजोआज ऋषभको वैयक्तिक खर्च पनि निकै बढ्दै गएको छ । आफ्नो खर्च व्यवस्थापनको लागि उसले शुरूमा आमाको पैसा चोर्छ, खर्चको सीमा बढेपछि उसले वावुको पैसा चोर्न थाल्छ । आफन्तको पैसा चोर्न थाल्छ । घरका सामानहरु चोर्न थाल्छ । जसले गर्दा घरमा दैनिक झगडा पर्न थाल्छ । हिजोको एउटा शान्त र शालिन परिवार विस्तारै अशान्त र अराजक हुँदै जान्छ । घरमा कलह शुरु हुन्छ । छोरा ऋषभको वदलिँदो व्यवहार र विग्रँदो आनीवानीले आमा अनुराधा समेत मानसिक तनावमा हुन्छिन । उनी छोरालाई निकै सम्झाउने प्रयास गर्छिन, छोरासामु कहिले रुन्छिन्, कहिले हप्काउँछिन, कहिले फकाउँछिन्, तर विडम्बना आमाको यावत् प्रयत्नले पनि ऋषभलाई कुनै असर गर्दैन, ऊ आफ्नै सुरतालमा हिँड्छ, कुलतको ग्याङमा पुग्छ र ड्रग्सको वेसुरी रमझममा आफूलाई समर्पित गर्छ । उसले हिजोआज आफूलाई बिर्सिरहेको छ । बाबुआमा, आफन्त र समाजलाई पनि बिर्सिँदै सून्यतामा निस्फिक्री डुवाइरहेको छ आफ्नो सुन्दर भविष्यलाई ।

पछिल्लो समय ड्रगिस्टहरूको समूहमा एवं रितले सदस्यहरू थपिँदै जान्छन् । ड्रगिस्टहरूको संख्या बढ्दै गएपछि लागूऔषध कारोवारीहरूको चलखेल पनि थप सक्रिय हुन थाल्छ । यही गिरोहको संगतले एकदिन ऋषभ पनि साथीहरू सहित प्रहरीबाट समातिन्छ । छोरा समातिएपछि गौरीशंकरको पनि होश हवास उड्छ । आफ्नो एउटा छोरा लागुऔषध र दुर्व्यसनीको कारण प्रहरीको खोरमा पुगेपछि उनीहरूको जीवनमा दिउसै रात परेको अनुभव हुन थाल्छ । आमा अनुराधा थप मानसिक समस्यामा पर्छिन् । गौरीशंकर गुहार माग्दै कहिले प्रहरी, कहिले वकिल कार्यालय, कहिले नेता मन्त्रीकहाँ धाएर यसपालि निकै जोडबलले छोरा ऋषभलाई प्रहरी हिरासतबाट मुक्त गर्न सफल हुन्छन् ।

प्रहरी हिरासतबाट फर्केपछि पनि ऋषभको व्यवहार र आनीवानीमा कुनै परिवर्तन आएको छैन । ऊ अझै विग्रँदो अवस्थामा छ । घरमा बस्दैन । विहान सवेरै घरबाट निस्कन्छ र बेलुका अवेर घर फर्कन्छ । यो वीचमा कलेज त उसले लगभग जानै छोडिसकेको छ । अझै कतिदिन त ऊ बिहान घरबाट निस्केको राती घर पनि फर्किन्न । घरमा फर्केको दिन पनि वावुआमासँग झगडा नपरेको दिन हुँदैन । पारिवारिक द्वन्द्व झन्झन् बढ्न थाल्छ । यो तनाव र कलह एवं रितले बढ्दै जान्छ । हिजोको स्वर्गजस्तो घर आज यो परिवारका तीनैजना सदस्यका लागि यातनागृहमा परिणत भएको छ ।

हिजोआज ऋसभलाई जिन्दगी वेकार लाग्न थालेको छ । बाबुआमालाई पनि उसले सत्रुजस्तै देख्न थालेको छ । घर, समाज, आफन्त र साथीभाइहरुको आफ्नाप्रतिको बदलिँदो व्यवहारबाट निराश भएको ऋषभले अब बाँचिरहन उचित ठान्दैन । ऊ यो घर समाज, साथीभाई इष्टमित्र सबैलाई छोडेर जिन्दगीदेखि विदा हुने निश्चित गर्छ ।

एकदिन दिउसो मध्यान्हको समय छ । पिता गौरीशंकर अफिस गएका छन्, आमा अनुराधा स्कुल गएकी छिन् । ऋषभ घरमा एक्लै छ । उसलाई आज कोही साथीभाईसँग भेटघाट गर्ने मन पनि छैन । अघिपछिभन्दा थप तनावमा छ । त्यही समयमा उसले आत्महत्या गर्ने योजना बनाउँछ । सर्वप्रथम आफ्ना दुवै हातमा इन्जेक्सन हान्छ, अनि आफ्नै घरको कोठामा डोरीको पासो लगाएर झुण्डिने निश्चय गर्छ ।

श्रृष्टीको नियम पनि बडो विचित्रको छ । भाग्य र जीवनको हिसावकिताव गर्नेहरुले ऋषभको आयु लामै लेखेका थिए होलान् सायद † त्यसैले त्यो दिन पिता गौरीशंकर अनायास आफ्ना अफिसका साथीहरुलाई लिएर घरमा प्रवेश गर्छन् । गौरीशंकर घरमा प्रवेश गरेपछि उनले झ्यालबाट छोरा ऋषभको कोठातिर चियाउँछन्् । जहाँ ऋषभ अर्धचेतजस्तो अवस्थामा पङ्खामा डोरी कस्दै गरेको अवस्थामा देखिन्छ । छोरा ऋषभको आत्महत्याको योजना देखेर गौरीशंकर चिच्याउँछन् । थरथरी काँप्न थाल्छन् । उनको चिच्चाहटबाट उनीसँगै घरमा पुगेका उनका सहकर्मी साथीहरु पनि ऋषभको कोठातिर दौडिन्छन् । आत्महत्याको लागि पङ्खामा डोरी मिलाएर घाँटीमा सुर्केगाँठो पार्नै लागेको अवस्थामा सबैजनाले ढोका फोरेर कोठाभित्र छिर्छन् । ऋषभलाई त्यो आत्मअपराधको कर्मबाट रोक्छन् । ऋषभ यतिखेर ड्रग्सको असरबाट अर्धचेत अवस्थामा पुगेको हुन्छ । सबै जना सल्लाह गर्छन् । गाडी बोलाएर तुरुन्त अस्पतालतिर लैजान्छन् ।

समयमै अस्पताल पुर्‍याएको कारण यसपालि उ जीवनको जोखिमबाट सुरक्षित हुन्छ । तर मृत्युको लक्ष्य बनाएर जीवनदेखि भागिरहेको ऋषभ परिवार र समाजको निगरानीमा कतिदिन जीवित रहनसक्ला त्यो कसैलाई थाह छैन ।

दुईदिन अस्पतालको बसाईंपछि डिस्चार्ज लिएर ऋषभ घरमा फर्किन्छ । आमा बाबुले उसलाई पुनः सम्झाउने प्रयास गर्छन् । कुलतबाट मुक्त भयोभने उसका लागि उसले चाहेका सबै इच्छाहरु पुरा गरिदिने प्रतिवद्धता पनि गर्छन् । तर बाबुआमाको पुत्रमोहको करुणा र रोदनले ऋषभलाई कुनै असर गरेको देखिँदैन । एवं रितले उ कुलतको दलदलतिर भासिँदै जान्छ । ऋषभलाई कुलत र दुर्व्यसनीबाट छुटाउन आमाबाबु र आफन्तका अनेक प्रयास असफल भएपछि उसलाई एकदिन सुधारगृहमा पठाइन्छ । ऋषभ सुधारगृह पुग्छ । हिजोसम्म ड्रगिष्टहरुको भीडमा मोजमस्ती र विन्दास भएर मातिहिँड्ने ऋषभको सुधारगृहमा नयाँ दैनिकी शुरु भएको छ । त्यहाँ उसलाई आवस्यक पर्ने लागुऔषधको डोज छैन । शुरुशुरुमा त निकै तनावमा रहेको ऋषभ विस्तारै सुधारगृहको वातावरणमा आफूलाई समाहित गर्न अभिशप्त छ । त्यहाँ जीवनका सकरात्मक र रचनात्मक कुराहरु सिकाइन्छ । हिजोको कुलतको अँध्यारो सुरुङबाट समाजको उज्यालोतिर आएका पूर्व ड्रगिष्टहरुबाटै जीवनको बदलिँदो आयामको परिचय गराइन्छ । उनीहरुले हिजो बाँचेको समाजको नारकीय जीवन र वर्तमानको सार्थक र सुखद् जीवनको बीचको अन्तरकथा पनि त्यहाँ सुनाइन्छ । नयाँनयाँ कुराहरु देखाइन्छ । नयाँनयाँ कुराहरु सिकाइन्छ । ईश्वरीय वरदानको रुपमा प्राप्त गरेको मानव जीवनलाई समाजपयोगी र सच्चरित्रको बनाउन अनेकन उपायहरु वताइन्छ ।

ऋषभ सुधारगृहमा आएको तिन महिना पुरा भएको छ । उसमा केही सकरात्मक चेतना संचार भएको छ । तर आजपनि उसको मष्तिष्कमा दुईथरी विचारहरु मडारिरहेका छन् । ऊ एउटा बाटोमा जीवन देखिरहेको छ । सुधारगृहमा उसका गुरुहरुबाट सिकेको सत्कर्म, सत्विचार र सत्मार्गको बाटो । जहाँ उज्यालो छ, आफन्तहरु छन् र छन् जीवनका केही खुसीहरु । अर्कोतर्फ सम्झिन्छ निरासा, कुण्ठा र उत्तापको अग्नीकुण्ड । जहाँ जीवन फेरिपनि बेकार छ, बाबुआमा, आफन्त र इष्टमित्रहरुपनि स्वार्थी छन् । यिनै वैचारिक द्विविधाहरुको वीचमा उसलाई सुधारगृहबाट बाहिर ल्याइन्छ । फेरिपनि जीवनको अष्पष्ट र दिशाहीन मोडमा केही आशा र केही निराशा बोकेर ऋषभ घर फर्किन्छ ।

यो वीचमा गौरीशंकर र अनुराधाले छोरा केही सुध्रिएको अनुभव बोकेर आफ्नो नियमित कर्ममा व्यस्त हुन्छन् । शुरुवाती चरणमा केही असल विचार बोकेर घरमै सिमित रहेको ऋषभ विस्तारै आफ्ना पुराना साथीहरुको संगतमा आउन थाल्छ । बाबुआमा नभएको मौका छोपेर उसलाई घरमै भेट्न आउने पुराना साथीहरुसँगको कुराकानी र नियमित संगतले उसमा भर्खर मात्रै अंकुरित हुन थालेका असल विचारहरुमा पुनः भ्रमको पर्दा लाग्न थाल्छ । जीवनमा देखिन थालेका उज्याला किरणहरुमा अँध्यारोका बादलहरु मडारिन थाल्छन् । ऊ फेरिपनि पूर्ववत नारकीय बाटोमा पुग्छ ।

वास्तवमा यो वीचमा ऋषभले कल्पना गर्न थालेका र उसभित्र अंकुरित हुन थालेका असल विचारहरुलाई समातेर जीवन र जगत्को सही बोध गराउने असल मार्गनिर्देशकको कमी भएकै हो । आफ्नो सन्तानको भविस्यभन्दा पनि जागिर र पैसाको बढ्दो लालसाले पनि गौरीशंकर र अनुराधालाई बन्धनमुक्त गर्न सकेन । ऋषभको मनमा उत्पन्न आशा र निराशावीचको द्विविधात्मक सोंचलाई आशाको मार्गबाट समातेर जीवनको नयाँ दुनियाँमा लिएर जाने कुरामा गौरीशंकर र अनुराधा चुके नै ।

समय कुदिरहेको छ । ड्रगिष्टहरुको ग्याँङमा ऋषभको दैनिकी थप जटिल र कष्टकर अवस्थामा पुगेको छ । पटकपटकको उसको स्वच्छन्दपन र अटेरीले अत्तालिएका गौरीशंकर र अनुराधा झन् बढि मानसिक तनावमा छन् । एउटा छोरा जसलाई सुन्दर भविस्य दिने उनीहरुको सपना विस्तारै विस्तारै उनीहरुको मानसपटलबाटै स्खलित हुँदैछ । झर्कोफर्को गर्नु, रिसाउनु, खाना नखानु, विहानदेखि राती अवेरसम्म घरबाहिरै हुनु, दैनिक पैसा माग्नु नदिए आत्महत्याको धम्की दिनु यी सबै ऋषभका नियमित कार्यसूचीहरु हुन् । छोराले जे चाहेको गर्न दिने र उसलाई जीवित राख्ने कि उसको मागलाई वेवास्ता गरेर मर्न दिने ? गौरीशंकर र अनुराधालाई ठूलो धर्मसंकट छ । सन्तानको नाममा एउटा छोरो, आफूहरुको भविस्यको भरोषा, मर्नै त कसरी दिनु !

गौरीशंकर र अनुराधाले आफन्तहरुको सल्लाहमा फेरि एकपटक ऋषभलाई सुधारगृह पठाउने निर्णय गर्छन् । ऋषभलाई पहिलेभन्दा अझै राम्रो सुधारगृहमा पुर्‍याइन्छ । सुधारगृहमा पुगेपछि उसको दिनचर्या फेरि बदलिन्छ । शुरुवाती चरणमा आफ्नो पूर्ववत् क्रियाकलापबाट पछि फर्कन निकै गाह्रो भएपनि अन्तत्वगत्वा नयाँ परिवेशमा आफूलाई रुपान्तरण नगरि धरै पाउँदैन उसले । ऊ केही बदलिन्छ । यसपालिको उसको दैनिकी पहिलेभन्दा सुधारोन्मुख छ । त्यहाँपनि अध्यारोबाट उज्यालोमा फर्कने धेरै राम्रा दृष्टान्त र कथाहरु सुनाइन्छ । जीवनको महत्व बुझाइन्छ । जीवन अभिशाप होइन, ईश्वरले दिएको अनुपम उपहार र वरदान हो भन्ने शिक्षा दिइन्छ । त्यहाँ पनि पूर्व ड्रगिष्टहरुबाट आफूहरुले पहिले भोगेको नारकीय जीवन र ड्रग्समुक्त जीवनका बीचको तुलनात्मक पाठ पढाइन्छ । भुक्तभोगी र अनुभवी गुरुहरुको ठूलो काउन्सिलिङपछि उसभित्र पनि नयाँ तरङ्गहरु आउन थाल्छन् । उसले आफूलाई कुलतको दलदलले पुर्‍याएको नारकीय जीवन साँच्चीकै अबाञ्छित र घृणित थियो भन्ने आत्मबोध गर्न थाल्छ । गलत साथी र संगतीले बाबुआमा, परिवार र समाजका लागि आफू अभिशाप भएको आत्ममूल्याङ्कन गर्छ । बाबुआमालाई खुसीको बदलामा दुख र कष्टमात्रै दिएको आभास गर्छ । उनीहरुको पीडा सम्झन्छ । विगतमा आफूले खोसेका बाबुआमाका सबै खुसीहरु फिर्ता गर्न सकियोभने उनीहरुले बाँच्ने जीवन कस्तो सुन्दर होला भनि आंकलन गर्छ । सुधारगृहको आगनमा उसले आफ्नो मन सुधार्छ, मष्तिष्क सुधार्छ र यसपालि आफूलाई सम्पूर्ण रुपले सुधार्ने अठोट र संकल्प गर्छ ।

करिब पाँच महिनाको सुधारगृह बसाईपछि ऋषभ आज आफ्नो घर फर्किएको छ । योपटक घर फर्कँदा उसमा पहिलेको जस्तो कुनै द्विविधा छैन । ऊ पूर्ण रुपले बदलिएको छ । उसको बदलावसँगै उसले आमालाई गर्ने व्यवहार र बाबुलाई गर्ने व्यवहार बदलिएको छ । छोरामा अचानक आएको यो अस्वभाविक परिवर्तनबाट गौरीशंकर र अनुराधा छक्क छन् । अहिले ऋषभ बाहिर अनावश्यक घुमफिर गर्न जाँदैन । घरको काममा आमालाई सघाउँछ । कहिले काहीँ विगत सम्झन्छ र अलिकति दुखी हुन्छ । फेरिपनि अब त्यो नरककुण्डमा आफूमात्रै होइन अरुहरु पनि नजाउन् भन्ने कामना गर्छ । ईश्वर सम्झन्छ र बाबुआमा पनि ईश्वरकै अर्को रुप हुन् भन्ठान्छ । बाबुआमाको सेवा गर्छ, उनीहरुको आज्ञापालन गर्छ । घरसमाजमा असल कुराहरु गर्दै हिँड्न थाल्छ । उसमा आएको असाधारण र चामत्कारित परिवर्तनबाट समाजका अरु व्यक्तिहरुपनि छक्क पर्न थाल्छन् । हिजो घृणा गर्नेहरु अब उसलाई माया गर्न थाल्छन्, उसँग सल्लाह लिन थाल्छन् । उसमा आएका राम्रा विचार र सोंचले समाज उसको प्रशंसक बन्न थाल्छ । बाबु गौरीशंकर र आमा अनुराधा छोराप्रति समाजले गर्न थालेको विश्वासबाट निकै गौरवान्वित हुन्छन् ।

आफूलाई सम्पूर्ण रुपले बदलेर घर समाजका लागि आफैमा एउटा सन्देश बनेको ऋषभ अब मानसिक र शारीरिक रुपले समेत निकै आकर्षक भएको छ । ऊ पुनः क्याम्पस भर्ना भएर असल विधार्थीको परिचय बनाइसकेको छ । साथसाथै ऊ हिजो आफू बसेको सुधारगृहको आग्रहमा त्यहाँ आउने नयाँ ड्रगिष्टहरुलाई सुधार्ने शिक्षा दिने र काउन्सिलिङ गर्ने एउटा जिम्मेवार प्रशिक्षकको रुपमा जागिर समेत खान थालेको छ । कुनै समय जिन्दगीदेखि वाक्क भएर आत्महत्याको मूखमा पुगेको ऋषभ आज तिनै घर समाज, देशदुनियाँबाट दिक्क भएर मृत्युको मूखमा पुग्न लागेका सयौं किशोरकिशोरीहरुलाई मृत्युको मूखबाट तानेर जीवनको नयाँ बाटोमा हिँड्न सिकाइरहेको छ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।