18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

झापालीको कथासंग्रह ‘हिजाब’ खोल्दा

कृति/समीक्षा विमल लामिछाने July 2, 2025, 1:08 am
विमल लामिछाने
विमल लामिछाने

पत्रकारबाट कथाकारमा परिचय बदल्दै ख्याती कमाउन सफल ब्याक्तित्व गोपाल झापालीको कथा संग्रहको रुपमा पुस्तक निकाल्ने हुट्हुटी अलि पहिलेदेखिकै हो । झापाको कार्यक्षेत्र छोडेर काठमाण्डौ स्थानान्तरण भएपछिको समय भने उनकोलागि स्वीटएवल बनेछ ।

पेशा एउटै भएपनि कामको ब्यस्तताले पछिल्लो समय झापालीसँगको भेटघाट पातलिएको थियो । ‘पुस्तक लगभग तयार भइसकेको छ, तर समय ब्यस्तताले प्रकाशन गर्न भ्याएको छैन, अबको समयचाहीँ पुस्तकलाई नै दिनुपर्ला’ यो वाक्यांशसँगै काठमाण्डौ र झापाको खवर आदान प्रदान भइनसक्तै म्यासेन्जर अफलाइन देखाएको थियो ।

कुराकानी भएको लगभग दुई महिनापछि पत्रकार गोपाल झापालीको कथा संग्रह ‘हिजाब’ सार्वजनिक भएको सायद हप्तादिनपछि होला फोन मार्फत खवर आयो ‘सर, किताव लिएर दमक आएको छु भेट्नुपर्छ है, सानो अन्तरसम्बाद पनि छ सहकर्मीसँग तपाईँलाई विशेष निम्तो ।’ मैले सहज स्वीकारेँ । करिव एकघण्टाको अन्तरसम्बाद पछि झापाको उत्पादित प्याकेजिङ मोही पिएर हामी छुट्यौं । पुस्तक हात परेकै दिन पुस्तकका करिव आधाजसो कथा पढिसकेरमात्रै निदाएँछु । बाँकी कथाहरु भर्खरै पढिसकेँ ।

लामा तथा छोटा गरि २१ ओटा कथा संग्रहित सो पुस्तकमा धेरैजसो कथाहरु झापाकै सेरोफेरोका विषयवस्तु समेटिएका छन् । भुँडीपुराण प्रकाशनले प्रकाशन गरेको ‘हिजाब’ कथा संग्रह अहिले बजारमा आएको छ ।

२४२ पृष्ठ लामो सो कथा संग्रहमा अधिकांश कथाहरु यथार्थपरक र नेपाली समाजभित्रै भएका र हुने गरेका काल्पनिक विषयहरु पनि छन् । केही कथा भने स्वकल्पनाका आधारमा पनि लेखिएका जस्ता छन् । पहिलो कृति भएपनि यो कथासंग्रह दुईचारपटक किताव निकालिसकेका अनुभवी साहित्यकारहरुकै तुलनामा रहेको पाइन्छ । साहित्यिक पुस्तकबाट के सिक्ने ? वा पढ्दा के प्रेरणा मिल्यो ? त्यो पाठकको टेष्टमा भरपर्ने कुरा हो । यो संग्रहका सबैजसो कथाहरु पढ्न थालेपछि नछिचोलुनजेल किताव छोडेर हिँडिहाल्ने वा दिक्क लाग्ने खालका छैनन् । जसमध्ये पनि कथाहरु (हिजाव, सन्डे क्वीन, पठाओ ५३०१ र आमाको कोलम्बस) ले सम्पूर्ण कथा संग्रहलाई प्रतिनिधित्व गरेको अनुभूति पाठकलाई हुन्छ ।

यस कथा संग्रहको मुख्य कथा मानिएको ‘हिजाब’मा मुष्लिम समुदायभित्र महिलाहरुले गरेको विद्रोहलाई कथाका रुपमा उतार्न खोजिएको जस्तो देखन्छ । जहाँ एउटा गरिव सन्ततीले परिवार वियोगको पीडामा हुर्किनु, धनी परिवारकोमा बसेर जीउनुको बाद्यात्मक पीडादायी अवस्थालाई पनि उजागर गरिएको छ । हिजाबमा कथा सकिएर पनि कथाकारले कथा सकिएपछिका कुरा भन्दै दुई अनुच्छेद लेखेका छन् । जसमा कथाका पात्रबारे थप प्रष्ट्याउन प्रयत्न गरेका छन् ।

संग्रहको अर्को जीवन्त कथा छ, ‘सन्डे क्वीन’ । यो कथाले समाजले अहिले भोगिरहेको बस्तुगत यथार्थलाई मलिन तर सरल भाषामा चित्रण गरेको छ । कथा विद्यार्थी जीवनमा नानी बाबुहरुको झगडाबाट शुरु भएको छ, विद्यालय परिसरमा बुबाआमाको चिनजानपछि कथाका पात्रहरु नकुल र आइतवारीमा बढेको सामिप्यता, मोवाइल र प्र्रविधिको दुरुपयोगले परिवारमा उब्जाउने शंका, पार्ने असरलाई मसिनो गरी बुन्ने काम गरेको छ भने पछिल्लो समय पारिवारिक कलह बढ्दा आइतवारीमा आएको डिप्रेसनको प्रसंङ्ग हाम्रो समाजबाट रोजगारीमा विदेशिएका धेरै परिवारजनको अवस्थासँग मेल खान्छ । तथापी कथाको अन्त्यमा आइतवारीको मृत्यु पश्चात आइतवारीको छोरी रेस्मा र नकुलका छोरा सरद दाजु बहिनीको रुपमा परिणत गराएको प्रशंगले कथालाई थप जीवन्त बनाएको छ ।

संग्रहको अर्को कथा ‘पठाओ ५३०१’ काठमाण्डौंमा प्रयोग हुने यातायातको सानो साधन चालक र सेवाग्राहीविचको विषयलाई कथामा उतारिएको छ । पढ्दै जाँदा कथा नभएर कतै निवन्ध, कतै दैनिकी, कतै प्रेमपत्र जस्तो लागेपनि पढौं पढौं लाग्नेगरि पाठकको ध्यान खिच्न सक्नेगरी कला भरिएको छ । यस कथामा काठमाण्डौको बालाजु, गौशाला, दरवारमार्ग, रत्नपार्क, सुन्धारा सडक किनारामा कुद्ने पठाओको चालक र सेवाग्राहीको मनोविज्ञान र यात्राको क्रममा हुने कल्पना वा मनोभावविचको तादम्यतालाई कथाको रुपमा उतारिएको छ । यो कथा पढ्दै जाँदा अंग्रेजीको बाल कथा रिकरिङ ड्रीमको स्मरण हुन्छ । यस कथाका पात्रहरु प्रभाकर र प्रभा प्रकृति आफ्नो पेशाप्रति घृणा होलाकि भन्ने डरले आपसमा परिचय नखुलाउने, लगातार सम्पर्कमा रहेपनि अप्रत्यक्ष रुपमा एकले अर्कोको खोजी गरिरहने हुन्छन् । कथाले अन्त्यमा दुवै पात्र गायककार र कविलाई एउटै स्टेज दिन्छ, एकले अर्कोलाई बुझ्ने मौका पाउँछन् । कथाको विचविचमा आएका कविता र गजलरुपी टुक्राहरुले प्रितीको डोरीलाई अझ बलियो बनाउँदै श्रृगारिक लेप लगाउने काम गरेको छ । यसले नै कथालाई आकर्षक र चम्किलो बनाएको छ ।

यसैगरी आमाको कोलम्बस संग्रहको शुरुमै राखिएको कथा हो । यो कथाका पात्र विलियम गुरायन अमेरिकी नागरिकको रोलमा छन् । उनी आमा खोज्न नेपाल आएको कुरा कथामा उतारिएको छ । विराटनगर विमानस्थल र इटहरीस्थित पाँचतारे होटलको रहन सरहन, आसपासको सुकुम्बासी टोल, झापाका विभिन्न सहरहरुलाई कथामा छुवाइएको छ । खासगरी विलियमका बुबा नेपाल बस्ताको डायरीको कथा यसमा समेटिएको छ ।

यीबाहेक अरु कथापनि राम्रा र प्रेरणादायी नै छन् । ‘हनुमान हराएको सूचना’ कथामा नेपालमा जनयुद्ध उत्कर्षमा पुगेको बेला गाउँ कति त्रसित थियो, जनसेना र शाहीसेनाको दोहोरो मार खेप्नु निर्दोष सोझा नागरिकको बाद्यता थियो, यही बाद्यताविच कतिपय मुठीभर मान्छेहरु कथाका पात्र ‘हनुमान जी’ जस्ताहरुले कसरी मौकाको फाइदा उठाए । भन्ने विषयलाई कथाको रुपमा वर्णन गरिएको छ । संग्रहमा समेटिएका कथाहरु पागल खाना, चन्द्रलोक, दशको नोट, एक पावा मिश्री, लोकल बसको सीट, पार्टी प्रवेश, थोत्रो साधा टीभीलगायत सबै कथाहरु सन्देशमुलक छन् ।

केही सीमा र कमजोरी, शुद्धाशुद्धीमा त्रुटीका बाबजुद पनि पत्रकारिताको दौरानमा भेटिएका घटनाक्रम, आफ्नै जीवन र भोगाइलाई पनि पात्र परिवर्तन गरेर कथाकारले मेहनतका साथ यो पुस्तक बजारमा ल्याउन सफल भएका छन् । आम पाठकमात्रै नभएर म जस्तै कलमजिवीहरुकालागि समेत यो खुशी र गौरवको कुरा पनि हो ।

अढाई दशक अघिदेखि पत्रकारितामा क्रियाशील पत्रकार गोपाल गुरागाइँ (झापाली)ले पत्रकारिताकै दौडानका विभिन्न कालखण्डमा लेखिएका कथा तथा लघुकथाहरु समेटेर पहिलो कृतिका रुपमा सो संग्रह ल्याएपनि कथा संग्रह पढ्ने पाठकले यो पहिलो कृति भएको खल्लो अनुभव गर्नु पर्देन । संग्रह पढ्न लायक छ ।

झण्डै अढाई दशक देखि विभिन्न छापा तथा विद्युतीय माध्यममा रहेर खोज तथा अनुसन्धानमुलक फिचर, समाचार लेखनमा अलग किसिमको पहिचान बनाएका झापाको कमल ६ का स्थायीबासी मेरा मित्र गोपाल झापालीलाई साहित्यिक यात्रा सफलताको शुभकामना ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।