18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

असारे गीत

गीत भीम रानाभाट July 2, 2025, 1:30 am
भीम रानाभाट
भीम रानाभाट

हलगोरु, हलो बसाइँ सरे; बाउसे दाइ विदेश
छ लथालिङ्ग र भताभुङ्ग बनाउँछ को देश ?
बलियाजति दुबई र कतार कोही छैन मेलामा
छुपुमा छुपु धान रोप्नु छैन असारको बेलामा !

हली र बाउसे अरब पसे बालुवा चाल्नलाई
बुढा र बुढी, बाल र बच्चा परिवार पाल्नलाई
भ्रष्टाचार फल्यो यो देशैभरि दलाली फस्टायो
इमान–जमान, स्वाभिमान गिर्‍यो रोजगारी अस्तायो

आकाशमा छैन बादलु घेरो, हिमालमा हिउँ छैन
मनसुन आउला भलपानी छोपौं मल र बीउ छैन
जनताको भोट ? क्या भयो खोट अब के गर्ने हो ?
जुकाले जस्तै चुसेको चुस्यै लौ सुकेरै मर्ने हो !

न लाउनु खेती न गोडमेल सबैलाई हाईसुख !
बसीमा बसी पाइन्छ खान, को गर्छ यो दु:ख ?
यो देशमा कहिले चट्याङ परी वर्षला बादल ?
वर्षाले फोहोर बगाए मात्रै घन्कला मादल !!

भद्रकाली, पोखरा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।